Friday, April 19, 2024

-->

६ दशकसम्म छाप्रो र ठेलामा चिया बेचेका रामकृष्णलाई जब ‘महानगर लाग्यो’

डिल्लीबजारको चौतारीमा काठमाडौँबाहिरबाट आएकाहरू बास बस्थे। रामकृष्ण शाहीले त्यहीँ चिया पसल चलाए। यसरी नै जीवन धानिरहेको ६ दशकपछि काठमाडौँ महानगरले उनको खानेमेलो नै बन्द गर्न ताकेता गरिरहेको छ।

६ दशकसम्म छाप्रो र ठेलामा चिया बेचेका रामकृष्णलाई जब ‘महानगर लाग्यो’
तस्वीरहरू : किसन पाण्डे/उकालो

काठमाडौँ– ६ दशकभन्दा लामो समय बिताएको छहारीको बास छुटाइदिने चेतावनीले ७९ वर्षीय रामकृष्ण शाही विक्षिप्त छन्। उनी रातभर निदाउन सक्दैनन्। स–सानो कुरामा चिढिन्छन्। महिना दिन भयो, उनको दुःखमय जीवनमा डर र त्रासको अर्को चोट थपिएको। 

उनी बस्दै गरेको डिल्लीबजार पिपलबोटमा महिना दिनअघि काठमाडौँ महानगरका प्रहरी आएर जीवन धान्ने एक मात्र सहारा ठेलागाडा हटाउन उर्दी लगाए। त्यसै दिनदेखि बुढेसकालमा अर्को दुःखले थिच्न थालेपछि उनी विक्षिप्त बनेका हुन्। 

ती बर्दीधारी नगर प्रहरीले भनेका शब्द उनको मनबाट हट्न सकेको छैन– “बुबा अब ठेला नल्याउनू होला।” उनको ६३ वर्ष लामो दुःख छाप्रे पसल र ठेलाकै सहारामा सहज बितेको थियो। तर अब विचलित भएका छन्। “त्यसपछि दुई–तीन पटक आए, उठाएर त लगेनन्, हटाउन चाहिँ भनिरहेका छन्”, उनी भन्छन्।

डिल्लीबजार पिपलबोटको छहारीमा १६ वर्षको छँदा पहिलोपटक शीतल ताप्न पुगेका रामकृष्णको चौतारोसँगको साइनो आजपर्यन्त छ। उनी त्यो चौतारो छाडेर अन्त जाने कल्पनासम्म गर्न सक्तैनन्। 

रामकृष्ण ती दिन सम्झिन्छन्, “यो चौराहमा चार वटा चौतारो थियो। तीन वटा अहिले पनि छ। एउटा चौतारोमा हजाम कपाल काट्न बस्थ्यो, बाँकी तीन वटामा टाढाटाढाबाट आएका यात्रीहरू खाना पकाउँथे, खान्थे र बास बस्थे।” 

बटुवाका आवश्यकतालाई हेरेर रामकृष्णले डिल्लीबजार उकालोको पिपल चौतारीमा पसल शुरू गरेका थिए। उनले त्यहीँ सानो छाप्रो बनाए। त्यसै छाप्रोमा चिया र चुरोट बेच्दै पूरै जीवन बिताए। आठ दशक लाग्दै गरेका उनको जीवन पिपलको छायाँमा हुर्कियो, बढ्यो र ढल्किदै छ।

चौतारीमै चिया र चुरोट बेच्दाबेच्दै उनले बिहे गरे। तर पहिलो पत्नीसँग लामो जीवन बिताउन पाएनन्। उनी चाँडै पत्नीवियोगमा परे। पछि प्राणमायासँग दोस्रो बिहे गरे। 

प्राणमायाबाट दुई सन्तान जन्मिए। चिया पसलको मात्र भरले सन्तान हुर्काउन गाह्रो थियो। सँगै रहेकी प्राणमायाले भनिन्, “त्यति बेला गलैँचा कारखानामा काम पाइन्थ्यो। बिहान साँझ मात्र पसलमा बस्थेँ, गलैँचा बुनेरै छोराछोरीलाई हुर्काएँ”

रामकृष्ण डिल्लीबजार वरपरका रैथाने हुन्। तत्कालीन समाजका तथाकथित उपल्लो जात भन्नेहरूले ‘कसाई’ भनी गर्ने भेदभावबाट उनी पनि अछुतो थिएनन्। समाजले पनि त्यतिकै हेप्ने, पुख्र्यौली पेशा गर्ने सामर्थ्य नभएपछि पिपलबोटको फेदमा पसल थाप्न पुगेको विगत उनले सुनाए।

रामकृष्ण दम्पतीले वर्षौं प्रयोग गरेको ठेला अहिले थन्क्याएका छन्। ती सामान अहिले दुई वटा झोला र चाउचाउका दुई वटा कार्टुनमा अट्छ। केही चुरोटका खिल्ली, ललिपप, मास्क लगायतका सामान प्याक गर्छन्। हरेक दिन पिपलबोटको फेदमा प्लास्टिक बिछ्याएर त्यसमाथि राख्छन्।

“दुई फल्याक भएको ठेलामा चियादानी र पसलका सामान सजिल्यै अट्थ्यो। ताल्चा लगाउन मिल्ने हुँदा यही छाडेर घर जान्थ्यौं।” प्राणमायाले विगत सम्झिइन्।

चौतारीमा बसेर पकाएको चियाको बाफसँगै रामकृष्णले मुलुकमा आएका अनेकन राजनीतिक र सामाजिक परिवर्तन देखे र भोग्दै छन्। त्यसैअनुसार आफूलाई बदल्दै पनि गएका छन्।

अघिल्लो स्थानीय निर्वाचनमा मेयर बनेका विद्यासुन्दर शाक्यको पालामा पनि पसल राख्न बनाएको छाप्रो भत्काइएको थियो। किन छाप्रो भत्काएर उनीहरूलाई हटाइयो भन्ने अहिलेसम्म थाहा पाएका छैनन्। छाप्रो भत्काइदिएपछि उनीहरूले ठेलामा पसल चलाएका थिए। 

गएको वैशाखपछि काठमाडौँ महानगर सम्हाल्न आएका मेयर बालेन्द्र शाहले त उनको ठेलागाडा नै खोस्ने भएका छन्। “के गरेर बाँच्ने गरिबले, गरिबलाई भोकभोकै मार्ने  हो!” कुरा गर्दागर्दै उनी आक्रोशित भए, “बरु एकैचोटि मार।”  

रैथाने भन्नु मात्र हो, उनसँग बसेको ठाउँको लालपूर्जा छैन। सरकारले गरिब मार्दै गरेको उनको ठहर छ। अझ काठमाडौँसँगै उनको असन्तुष्टि छ। उनी भन्छन्, “गरिबको सन्तानले एक दुई पैसा कमाएर बाँच्न नपाउने भइयो।”

पिपलबोट चौतारोमा बस्दाबस्दै राजनीति र समाज धेरै फेरियो, तर उनको जीवन उस्तै छ। त्योबेला चार दाममा पसल चल्थ्यो। नजिकै भीम धारो थियो। अहिले धारो सडकपारि परेको छ। “बाटो, घर बनाउने र बढाउने गर्दा भीम धारो चार ठाउँमा सारियो। अहिले पनि हप्तामा दुई दिन पानी आउँछ”, उनी भन्छन्।

रामकृष्णको १६ वर्षे युवावस्थाबाट शुरू भएको पाइला अहिले सुस्त गतिमा उही डिल्लीबजार पिपलबोटतिर लम्किरहेको हुन्छ। बुढ्यौलीले छपक्कै छोपिसकेको छ, तै पनि पसल छाड्न सकेका छैनन्। 

यी वृद्ध दम्पती दिनभर पसलमा बस्छन्। पसल पनि छाप्रो हुँदै ठेला र ठेलाबाट प्लास्टिकका झोलामा पोको परेको छ।

“हामी उनीहरूसँग लड्न सक्दैनौँ”, प्राणमायाले दुर्बल स्वरमा भनिन्।


सम्बन्धित सामग्री