Friday, April 19, 2024

-->

ठेला र साइकल जफत गरेर सिधै कवाडमा, महानगर प्रहरी भन्छ- काठमाडौँमा कुनै ठाउँ दिँदैनौँ

सडकमा व्यवसाय गर्नेका साइकल र ठेला जफत गरेर महानगरले सिधै कवाड बनाउने गरेको छ। महागर प्रहरीले जफत गरेका सामान अपचलन गर्ने र माग्न जानेलाई अमर्यादित व्यवहार गर्ने व्यवसायीको गुनासो छ।

ठेला र साइकल जफत गरेर सिधै कवाडमा महानगर प्रहरी भन्छ- काठमाडौँमा कुनै ठाउँ दिँदैनौँ
तस्वीरहरू: किसन पाण्डे/उकालो

काठमाडौँ- शुक्रबार दिउँसो ३ बजेको थियो। देवकुमार साह ठेलामा फलफूल बेच्न हाँडीगाउँतिर निस्के। बिहान-बेलुका उनको हातमुख जोर्ने मेलो नै यही हो।

ठेला लिएर साह धन्यन्तरी मन्दिरतर्फ मात्र के बढेका थिए, काठमाडौँ महानगरपालिकाको गाडी आइपुग्यो। नगरप्रहरीले देवकुमारको ठेला गाडीमाथि चढाइहाले। ठेला लगे पनि फलफूल फिर्ता दिन उनले हारगुहार गरिरहे। तर, नगरप्रहरीले उनको कुरै सुनेनन्। उल्टै हप्काए। उनले गाडी पछ्याउने कोशिश त गरे, तर धेरै टाढासम्म पछ्याउन सकेनन्।

“मुख्य सडकमा त ठिकै छ, तर गल्लीमा त ठेलामा फलफूल बेच्न दिए हुने नि। गल्लीमा न जाम हुन्छ, न फुटपाथ,” देवकुमार भन्छन्, “सटरको भाडा तिर्ने पैसा भएको भए किन ठेला गुडाएर बस्थेँ? यतिको कमाइले पनि घरखर्च चलाउन समस्या भइरहेको छ। बालेन आएपछि हामी एकदमै दु:ख पाइरहेका छौँ।”

देवकुमारको स्थायी घर सप्तरीस्थित फत्तेपुर हो। उनी २०५३ सालमै काठमाडौँ आएका थिए। पहिला पनि महानगरले ठेला नलगाउन भन्ने गरे पनि दु:ख नदिएको उनी बताउँछन्।

भारतस्थित मोतिहारीका पप्पु महतो र अर्जुन महतो पनि शुक्रबार दिउँसो ३ बजे साइकलमा फलफूल बोकेर हाँडीगाउँतिर साइकल गुडाउँदै थिए। उनीहरू बोहनी गर्न ग्राहकको पर्खाइमा थिए। तर, ग्राहकको साटो महानगरको गाडी आइपुग्यो।

उक्त गाडी देख्नासाथ उनीहरू साइकल जोडले कुदाएर भाग्न थाले। तर, नगरप्रहरीले उनीहरूलाई भेटिहाल्यो। दुवै जनाको मालसामानसहितको साइकल जफत गरेर गाडीमा राखे।

आफ्नो साइकलमा २० हजार रुपैयाँभन्दा बढीको फलफूल भएको पप्पुको दाबी छ। “हामी त बेरोजगार मान्छे, कहाँ जाने? घर परिवार पाल्नलाई भए पनि फलफूलको व्यवसाय गरौँ भनेर सोचेको थिएँ, तर महानगरले गरी खान नदिने भए,” उनी भन्छन्, “नगरप्रहरीले न साइकल नै फिर्ता दिए, न फलफूल। दुवै खोसेर लगिदिँदा आफ्नो केही नभएको महसुस हुन्छ र छोराछोरी घरपरिवारको चिन्ता लागेर आउँछ।”

ठेला र साइकल खोसेर महानगरपालिकाको महानगर प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना इकाई टेकु पुर्‍याइयो। ठेला र साइकल खोस्ने बेला नगरप्रहरीले उनीहरूलाई साँझ ६ बजे आउन भनेका थिए। देवकुमार, पप्पु र अर्जुन भनेकै समयमा टेकु पुगे।

सोहीअनुसार उनीहरू महानगर पुगेका थिए, तर न साइकल र ठेला फिर्ता पाए न फलफूल नै। बरू नगरप्रहरीका अपशब्दले लज्जाबोध गरे।

देवकुमार, पप्पु र अर्जुनको ठेला र साइकल लगेको प्रत्यक्ष देखेका रामबहादुर गुरूङ महानगरको यो कदमविरुद्ध गुनासो पोख्छन्। “मुख्य सडकमा नभई गल्लीमा साइकल र ठेला राखेर फलफूल बेच्दा महानगरको के बिगारिरहेका थिए यिनीहरूले? यो महानगरको ज्यादती नभएर अमानवीय व्यवहार हो,” गुरूङ भन्छन्, “कसैले परिवार पाल्नलाई गरेको दु:खमाथि महानगरले गरेको यो भद्दा मजाक हो। सक्छ भने ठाउँ प्रदान गरेर व्यवस्थापन गरोस्, सक्दैन भने गरीखान देओस्।”

कवाडमा परिणत भए ठेला र साइकल
शुक्रबार ठेला र साइकल नपाएपछि अर्को दिन पनि उनीहरू महानगर पुगेका थिए। तर, शनिबार भएकाले 'आज दिन नमिल्ने' भन्दै फर्काइयो। आइतबार बिहानै पुग्दा उनीहरूलाई २ बजेपछि मात्र फिर्ता गर्न मिल्ने बताइयो।

२ बजे पुग्दा शुरूमा त कार्यालयभित्र प्रवेश नै नदिइएको पप्पु बताउँछन्। साँझ भइसकेपछि मात्र उनीहरूले प्रवेश पाए। तीनै जनाको गरी समग्रमा १५ हजार रुपैयाँ बरारबको सामान मात्र उनीहरूले फिर्ता पाए। २५ हजार बराबरको सामान प्रहरीहरुले अरूको भएको बताउँदै नदिएको र आफूहरूलाई कार्यालय परिसरबाट अपमानजनक तरिकाले निकालेको पप्पुले बताए।

महानगर प्रहरीले फिर्ता दिएको फलफूलसहित पप्पु, देवकुमार र अर्जुन।

महानगर प्रहरीले केरा र अंगुर अरूकै भएको भन्दै आफूहरूलाई नदिएको पप्पु बताउँछन्। “प्रहरीले केरा र अंगुर खाइरहेको म आफ्नै आँखाले देखेँ। किनेर त के खान्थ्यो होला? हाम्रै खाइरहेको थियो,” उनी भन्छन्, “धेरथोर खाए भने पनि केही छैन, तर कम्तीमा खाएर हाम्रो साइकल फिर्ता गरिदिए हुन्थ्यो।”

केही सामान फिर्ता पाए पनि उनीहरूले ठेला र साइकल पाएका छैनन्। ठेला र साइकलबारे सोध्दा नगर प्रहरीले 'छैन जा, अब फेरी खोसेर ल्याउनु नपरोस्' भन्दै अमर्यादित भाषा प्रयोग गरेको देवकुमार बताउँछन्।

नगरप्रहरी भने ठेला र साइकल फिर्ता दिए उनीहरू कहिल्यै नसुध्रिने र फुटपाथमा व्यापार चलाइरहने बताउँछन्। “साइकल र ठेला फिर्ता दियौँ भने उनीहरू हामीलाई टेर्दै टेर्दैनन्। भोलिदेखि हामीलाई हेपिहाल्छ,” एक नगर प्रहरीले भने, “त्यसैले साइकल र ठेला दिनुहुँदैन भनेर हामीले भाँचेर कवाडको चाङमा मिसाइसक्यौँ।”

जफत गरेका साइकल र ठेला महानगर प्रहरीले तत्कालै भाँचेर कवाड बनाएर थुप्य्राउने गरेको छ। यसरी ‍राखेका कवाड पछि लिलामी गराउने एक जना महानगर प्रहरीले बताए।

‘महानगरभित्र ठेला र साइकलको लागि कुनै ठाउँ छैन’
महानगर प्रहरी बल आन्तरिक प्रशासनका एक प्रहरी निरीक्षक महानगरकै आदेशले जफत गरिएका ठेला र साइकल फिर्ता नदिने गरिएको बताउँछन्। “हामीलाई फिर्ता दिने आदेश छैन। महानगरले खोसेर यही थन्काउन भनेको छ,” ती प्रही निरीक्षकले भने, “अहिलेसम्म यहाँ आएको सामान फिर्ता भएको छैन। फिर्ता हुने कुरा पनि आउँदैन। फिर्ता दिने नै हो भने हामी किन खोसेर ल्याउँथ्यौँ र?”

काठमाडौँ महानगर प्रहरी प्रमुख एसपी राजुराज पाण्डेले महानगरलाई साइकल र ठेलारहित बनाउने अभियान चलिरहेकोले फिर्ता नदिइने बताउँछन्। ठेला र साइकलमा व्यवसाय गर्नेलाई महानगरले देख्न पनि नचाहेको उनी बताउँछन्। “जफत गरिएको ठेला र साइकल हामी कुनै हालतमा फिर्ता दिदैँनौं, त्यो कि त कवाडमा जान्छ, कि लिलामी हुन्छ,” उनी भन्छन्, “महानगरसँग साइकल र ठेलाको लागि हामीसँग जग्गा खाली छैन, त्यसैले हामी उनीहरूलाई जग्गा उपलब्ध गराउन सक्दैनौं।”

तर, देवकुमार अझै आफ्नो ठेला पाइएलाकी भन्ने आशा छ। पहिलादेखि नै फलफूलकै व्यवसाय गरिरहेको हुनाले अरू व्यवसाय गर्ने योजना बनाएका छैनन्। 

“सकेसम्म अर्को ठेला किन्छु, र फेरि व्यवसाय शुरू गर्छु। बाँच्नलाई भए पनि कमाउनु त पर्‍यो,” उनी भन्छन्, “फेरि लिएर गए भने कि काठमाडौँ छोडेर जान्छु, कि अरू नै केही सोच्छु।”


सम्बन्धित सामग्री