Wednesday, May 08, 2024

-->

कैलाली–१ : रेशमको त्यो अप्रत्याशित जित, श्रीमती रञ्जिता उम्मेदवार बन्दा यसपालि पनि रोचक प्रतिस्पर्धा

२०७४ सालको आमनिर्वाचनमा भूमिगत रहेरै फराकिलो जित हासिल गरेका रेशम चौधरी यसपटक प्रतिस्पर्धामा छैनन्। तर, श्रीमती रञ्जिता नयाँ दल खोलेर उम्मेदवार बन्दा सत्ता गठबन्धन र एमालेलाई चुनौती बनेकी छिन्।

कैलाली–१  रेशमको त्यो अप्रत्याशित जित श्रीमती रञ्जिता उम्मेदवार बन्दा यसपालि पनि रोचक प्रतिस्पर्धा

टिकापुर (कैलाली)– कैलाली–१ को यसपटकको निर्वाचन माहोल बुझ्न २०७४ सालको आमनिर्वाचनबारे थाहा पाउनुपर्छ। त्यस बेला नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। परम्परागत रूपमा पनि कैलाली–१ लाई एमालेको बलियो क्षेत्रको रूपमा लिइन्थ्यो। गठबन्धनका कारण देशभर वाम उम्मेदवारहरूको जितको लहर चलिरहँदा त्यहाँबाट एमाले उम्मेदवार गरिमा शाहको जित सुनिश्चित मानिएको थियो।

तर, अप्रत्यासित नतिजा आयो। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार रेशम चौधरी भारी मतान्तरले विजयी भए। उनले ३४ हजार ३४१ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी शाहले १३ हजार ४०६ मत पाएकी थिइन्। कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाइन्। चौधरीले बाँकी सबै उम्मेदवारको मत जोड्दाभन्दा बढी मत पाएका थिए।

त्यतिबेला हत्याका फरार अभियुक्त थिए चौधरी। थरूहट आन्दोलनका क्रममा टीकापुरमा २०७२ भदौ ७ गते आठ प्रहरीसहित नौ जनाको हत्या भएको थियो। त्यस घटनामा चौधरीलाई मुख्य अभियुक्त बनाइएपछि उनी फरार थिए। उनी प्रचारप्रसारमा पनि उपस्थित थिएनन्।

अहिले चौधरी जेलमा छन्। पार्टी पनि छुट्टै छ। उनले श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा २०७८ माघ २० गते नागरिक उन्मुक्ति पार्टी खोलेका छन्। गएको स्थानीय तहको निर्वाचनमा उक्त पार्टीले क्षेत्र नं. १ मा पर्ने स्थानीय तहमा प्रभावशाली जित हासिल गरेको छ। टीकापुर नगरपालिकाको प्रमुखसहित दुई वटा वडा नागरिक उन्मुक्तिले जितेको छ। जोशीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित बहुमत चार वडामा पनि जित हासिल गरेको छ।

यो क्षेत्रमा पर्ने भजनी नगरपालिकाका दुई वडामध्ये वडा नं. ६ मा नागरिक उन्मुक्ति र ८ मा माओवादी केन्द्रले जितेका छन्। त्यस्तै जानकी गाउँपालिकाकाका वडा नं. १, ३, ४, ६ र ७ पनि यो क्षेत्रमा पर्छन्। जानकीका प्रमुख र उपप्रमुख जितेको नागरिक उन्मुक्तिले यो क्षेत्रमा पर्ने पाँचमध्ये चार वडा जितेको छ।

२०७४ सालको आमनिर्वाचनमा रेशम चौधरीले भारी मतान्तरले जित्नु र स्थानीय तहमा उनको दलले उत्साहजनक मत पाउनु प्रतिनिधिसभामा नागरिक उन्मुक्ति अध्यक्ष रञ्जिता बलियो उम्मेदवार भएको संकेत हो। उनलाई सत्ता गठबन्धनबाट कांग्रेसका रामजनम चौधरी र जसपाको समर्थनमा नेकपा एमालेका तपेन्द्र रावलले चुनौती दिइरहेका छन्। रावल टीकापुर नगरपालिकाको निवर्तमान प्रमुख हुन्।

कांग्रेसका चौधरी २०७४ सालको निर्वाचनमा बाहेक २०४८ यता कैलाली–३ बाट लगातार सांसद् जितिरहेका छन्। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा भने समानुपातिक प्रणालीमार्फत चुनिएका थिए। २०७४ सालको आमनिर्वाचनमा उनी क्षेत्र नं. ३ मा पहिलोपटक पराजित भए। उनी पूर्व स्वाथ्यमन्त्री पनि हुन्।

गएको स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनलाई पराजित गर्दै कैलाली–१ मा पर्ने सबै स्थानीय तह प्रमुख जितेको हुनाले यसपटक प्रतिनिधिसभामा पनि जित हासिल हुने नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितको दाबी छ। “हामीले उठाएको मुद्दालाई यहाँका मतदाताले वैशाखमा भएको स्थानीय निर्वाचनमै अनुमोदन गरिसकेका छन्। संघीय निर्वाचनमा पनि अनुमोदन गर्छन्”, उनले भने, “पुराना भनिएका पार्टीबाट समृद्धि सम्भव छैन। अबको शक्ति भनेकै हामी हौँ।”

तर, गठबन्धन दलका नेताहरू भने स्थानीय तह र संघीय चुनावको प्रतिस्पर्धा नै फरक हुने बताउँछन्। सत्ता गठबन्धनका कार्यकर्ता पूर्वमन्त्री चौधरीले चुनाव जिते मन्त्री बन्ने भन्दै प्रचार गरिरहेका छन्। कांग्रेस कैलालीका सचिव नृप सुनार भने चौधरी गठबन्धनको साझा उम्मेदवार भएकाले सहजै जित हासिल गर्ने दाबी गर्छन्।

“रामजनम चौधरी यहाँबाट सांसद भइसकेका नेता हुनुहुन्छ। प्रदेशतर्फ रणबहादुर रावल मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ। त्यसैले गठबन्धनको बलमा हामी जित्छौँ”, उनले भने, “नागरिक उन्मुक्ति पार्टीसँग अरू केही अजेन्डा छैन। स्थानीय तहमा त रेशमलाई छुटाउँछौं भनेर भोट मागिएको थियो।” 

नागरिक उन्मुक्तिले टीकापुर घटनाका बन्दीको रिहाइको मुद्दा अघि सारेर मत मागिरहेको छ। गठबन्धनका उम्मेदवार भने रामजनमले जिते मात्रै रेशमलगायत छुट्ने भन्दै मत मागिरहेका छन्। 

उता, एमाले थारू समुदायको मत नागरिक उन्मुक्ति र सत्ता गठबन्धनमा बाँडिने हुँदा आफूहरूको जित हुने आकलनमा छ। “दुवैतर्फका उम्मेदवार थारू समुदायका मत आफूतिर तान्ने प्रयासमा छन्। त्यसको फाइदा हामीलाई नै हुन्छ”, एमाले टीकापुर नगर कमिटीका एक नेता भन्छन्, “स्थानीय तहमा हामीले पाएको मतभारका आधारमा हामी तेस्रो हौँ। तर, चुनावमा जित निकाल्ने गरेर अघि बढेका छौँ।” एमाले उम्मेदवार रावल आफूले टीकापुरको नगरप्रमुख हुँदा गरेको कामको जनताले मूल्यांकन गर्दै मत दिने बताउँछन्।

कैलाली–१ को प्रदेशसभातर्फ गठबन्धनबाट (क) मा एकीकृत समाजवादीका दीर्घराज सोडारी र (ख) मा कांग्रेसका रणबहादुर रावल उम्मेदवार छन्। नागरिक उन्मुक्तिबाट (क) मा कैलाश चौधरी र (ख) मा लक्ष्मणकिशोर चौधरी तथा एमालेबाट (क) मा भगतराम चौधरी र (ख) मा द्धारिका न्यौपाने उम्मेदवार छन्। प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभाका दुईवटै क्षेत्रमा गरेर २० जना चुनावी प्रतिस्पर्धामा छन्।


सम्बन्धित सामग्री