Friday, October 11, 2024

-->

महामारीकालको महत्त्वपूर्ण अर्काइभ

हामी नेपाली (राज्य संयन्त्र र जनता) समस्या र त्रासदीलाई छिटै भुल्छौँ या संकटबाट निकै ढिलो पाठ सिक्छौँ? २०७२ वैशाख १२ को भूकम्प र २०७६ पछिको कोभिड महामारी नै हेरे पुग्छ।

महामारीकालको महत्त्वपूर्ण अर्काइभ

कोभिड–१९ अथवा कोरोना भाइरस भन्नेबित्तिकै आजका दिनमा तपाईंको मनमा कस्तो दृश्य दौडिन्छ? कोभिड भाइरसको उद्गम चीनको उहान शहरको समाचार पढ्दा, सुन्दाको समय याद छ? २०७६ माघको मध्य जाडो समय, चिनियाँ शहर उहानमा त्यहाँको सरकारले लकडाउन गरेको समाचार सुन्दा धेरै नेपालीलाई लागेको हुँदो हो– त्यति टाढा शहरको समस्या हाम्रा लागि ‘एकादेशको कथा’ हुनेछ। तर त्यस्तो भएन। २०२० जनवरी २३ अर्थात् २०७६ माघ ०९ मा उहान शहरमा लगाइएको लकडाउनको ‘कपी पेस्ट’ भोग्न हामीले धेरै समय कुर्नुपरेन। २०२० मार्च २४ (२०७६ चैत्र ११)मा नेपालमा पनि लकडाउन शुरू भयो।

सामाजिक अनुसन्धान पद्धतिका सन्दर्भमा आगमन र निगमन विधिलाई महत्त्वपूर्ण मानिन्छ। आगमनबारे मानवीय र सामाजिक कोणबाट अझ सरल रूपमा बुझ्न कोभिड–१९ महामारी सबैभन्दा उपयुक्त घटनाक्रम हो। जनसंख्याका हिसाबले विश्वकै ठूलो देश चीन नै कोरोना ‘आउटब्रेक’को उद्गम बन्नु संयोग हो, तर कोरोना महामारीसँग लड्न चीनले चालेका कदमहरू भने बाँकी विश्वका लागि  महामारीलाई सामान्यीकरण गरेर व्यवस्थापन गर्न सघाउ पुर्‍याउने खालका थिए। महाशक्ति राष्ट्र अमेरिका र सिंगो युरोप कोरोना संक्रमणबाट झन्डै हायलकायल भइरहँदा कोरोना सामना गर्दै चीनले स्थापना गरेको ‘आगमन’ बिम्ब कति पालना भयो?

नेपालमा कोरोनाका कारण सिर्जित ‘सह–समस्या’हरू के–के हुन्? कोरोना संकटले नेपालमा छ्यापेका अनेकन् बाछिटाको दस्ताबेज बनेर आएको छ किताब ‘कोभिड : नसोचेको-नभोगेको सङ्कट’। पत्रकार दिपा दाहालले लेखेको यो किताबमा विशेषज्ञ सल्लाहकारका रूपमा डाक्टर अनुप सुवेदीसमेत उपस्थित छन्।

हामी नेपाली (राज्य संयन्त्र र जनता) समस्या र त्रासदीलाई छिटै भुल्छौँ? या संकटबाट निकै ढिलो पाठ सिक्छौँ? उदाहरणका लागि धेरै पछाडि फर्किनुपर्दैन। २०७२ वैशाख १२ को भूकम्प र २०७६ पछिको कोभिड महामारी नै हेरे पुग्छ। बितेको नौ वर्षमा हामीले भोगेका यी दुई विपद्ले दिएको त्रासदी र क्षति आजका दिन स्मरण गर्दा सजिलै भन्न सकिन्छ: पाठ सिक्नुको सट्टा संकटलाई विस्मृत बनाउन हामीलाई सजिलो लाग्छ। त्रासद समयलाई कुनै बेला फर्केर हेर्न मन लाग्यो भने ती दिनहरूको बेलिबिस्तार हो यो किताब।

कोरोना कहरको त्रासद समय ‘सन्निकट इतिहास’ बनिसकेको छ। हिजो कोरोना त्रासदको चरमोत्कर्षका बेलालाई कतिपय हुनेखानेले ‘लङ होलिडे’ मनाएझैँ गरे। बिहान, दिउँसो र बेलुका भान्सामा पाकेका अनेकन् परिकारमा रमाएका तस्वीरका साथ सामाजिक सञ्जाल तताए, तर त्यति नै बेला दिनभर काम गरेर त्यहीँ दिनको जोहो गर्नुपर्ने मजदुरले शहर छोडेर ‘लङ वाक’मा आफ्नो थलो भेटाउन हिँड्ने पीडा, जेब्रा झोला, चामल र सिमेन्टका बोरामा लत्ताकपडा पोको पारेर भारतमा मजदुरी गर्न गएका श्रमिकहरू देश फर्किँदा सीमामा रोकिनु पर्दाको पीडा, मतलबी निजी अस्पताललगायत कैयौँ विषय हामीले भोगेको कलिलो विगत हो। त्यो अर्थमा हाम्रा लागि कोरोना केबल त्रासदी नभई पाठ पनि थियो। यो पाठ हामी जनता र हामीलाई शासन गर्ने राज्यसत्ता र संयन्त्रका लागि कति महँगो हुन गयो? त्यसको केस्राकेस्री केलाउन पर्दा या मन लाग्दा यो किताब अगाडि राख्न जरुरी ठहरिने छ।

‘कोरोनाको सन्त्रासबाट शक्तिशाली या गरिब कुन देश अछुतो रह्यो र सबै देश भुमरीमै त थिए नि’ भनेर त्यो कालखण्डलाई सामान्यीकरण गर्ने हो भने त कुरा चार लाइनमै सकिन्छ, तर धनी या शक्तिशाली देशको कुरा नगरी गरिब र ‘निम्छरा’ देशहरूकै सापेक्षतामा हाम्रो स्वास्थ्य प्रणाली र प्रशासन संयन्त्रले कति जनमुखी काम गर्‍यो र विपत्ति सामना गर्न यो राज्य कति सक्षम रहेछ भनी केलाउँदा हाम्रो गन्ती ‘पुछारबाट पहिलो’ जस्तै हुन आउँछ।

कोरोनाको महामारीबाट बच्न लकडाउन गरिएको हो, सबैको आग्रहअनुसार नै सिमाना बन्द गरिएका हुन्, तर यी सबै कुरा ‘वार्षिक क्यालेन्डर’मा परेका योजनाजस्ता निर्णय थिएनन्। त्यो समय एक भवितव्य थियो तर त्यही भवितव्यमा पनि कति प्राविधिक, कति व्यावहारिक र कति मानवीय बन्ने भन्ने कुराले राज्यको संवेदना छामिने रहेछ। यस्ता कुराको निर्क्योल गर्न सक्नेगरी हाम्रो राज्यप्रणाली अझै ‘सिभिलाइज’ भएको रहेनछ, कोभिड महामारीको दौरमा हामीले अनुभूति गरेको निकै नमिठो पाठ हो यो। किताबलाई यही नमिठो भोगाइको सिलसिलेवार घटना विवरणको पोयो भन्दा हुन्छ।

दशगजामा अलपत्र सयौँ नेपालीलाई ‘लकडाउन भन्दाभन्दै किन हिँडेको?’ भनी अड्को थाप्ने राज्य र प्रशासन। फाटेका चप्पल, एकसरो कपडा र सिमेन्टका बोरा र प्लास्टिकमा पोको पारेका झिटीगुन्टासँगै गुजुल्टी परेका जनसाधारणका मलिन अनुहार। मजदुरी गर्न जानुको बाध्यता र मजदुरी थलोको वासस्थान-बाध्यताको झझल्को दिने ती दृश्य। सरकारी निकायको सुस्त कार्यसम्पादन, समन्वय र प्रभावकारी सञ्चारको अभाव। राम्रो काम भए जस लिने होड, जनदबाब खेप्नुपर्ने खालको काम भए एउटा निकायले अर्को निकायतर्फ औँला देखाइदिने कुसंस्कारबाट जनता सधैँ प्रताडित हुनुपर्ने सनातनी समस्या। सरकारी निर्णयलाई निकम्मा बनाउन बिचौलिया र ‘बनिया कमान्डर’हरूको चर्को सक्रियता। सरकारी अधिकारीको कमजोर निर्णय क्षमताको मूल्य ‘निम्छरा’ जनताले नै चुकाउनु पर्ने विडम्बना।

सरकारी निकायहरूले संकटका बेला प्रभावकारी सञ्चार र पारदर्शिताको औचित्य नबुझ्दा अनेक सामाजिक सञ्जाल प्रयोगकर्ताको ‘इन्डिभिजबल’ रिपोर्टिङमा देश रुमल्लिन पुगेको दुर्दान्त समय चियाउन यो किताबले मद्दत गर्छ। महामारी संकटकै कारण नेपालमा कति जनाको ज्यान गयो भनेर विश्लेषण गर्न कोभिडबाट मृत्युसम्बन्धी आँकडा नै समस्याग्रस्त छ। पुस्तकले यही भन्छ। मृत्युसम्बन्धी तथ्यांक नेपालमा मात्र होइन, अरू देशमा पनि समस्याग्रस्त रह्यो। तर संकट सामनार्थ जुन किसिमको तयारी र ‘डेलिभरी’ हामीले प्राप्त गर्‍यौँ, त्यसले हाम्रो राज्यसंयन्त्र, स्वास्थ्यप्रणाली, निजीकरण र उदार अर्थतन्त्रको बलमा खडा भएका निजी स्वास्थ्य संस्थाको क्षमता र नियत,  शासनप्रशासन र स्थानीय सरकारको मखुन्डो एकसाथ उतारिदियो।

सामान्य अवस्थामा निजी अस्पतालको रवैया यस्तो हुन्थ्यो कि सम्पूर्ण औजार, उपचार विधि-पद्धति, विज्ञता र व्यवस्था सबै निजी अस्पतालमा मात्र सम्भव छ। क्षमता र दक्षताका हिसाबले सरकारी अस्पताललाई निकै पछाडि छोडेको दाबी उनीहरू गर्थे। कोभिडको दबदबाका बेला जब स्वास्थ्य सेवा दिने संस्था, संरचना र संयन्त्र सबैभन्दा ज्यादा एकजुट र किफायती हुनुपर्ने थियो, त्यही संगिन समयमा अनेक बहाना गर्दै निजी अस्पतालका ढोका बन्द हुँदै गए। निजी क्षेत्रले स्वास्थ्यका नाममा ‘नाफाखोरी’ मात्र चलाए, सरकारी निकाय र सरकारी अस्पताल त यसै पनि ‘कुपोषण’को सिकार थिए नै। हरेक सरकार बेथितिको साक्षी बन्दै आउनुको मूल्य जनताले तब चुकाउनु पर्दो रहेछ, जब संकट साँच्चिकै ढोकैमा आएर आफ्नो दस्तखत छोड्न चाहन्छ। निजी अस्पतालले नैतिकताका गुमाएको त्यो समय यो किताबमा फेला पार्न सकिन्छ।

मूलधारका सञ्चारमाध्यमले दुःखी-असहायका खबर, ओझेलमा परेका कुरा, प्रशासनले नदेखेको या नजरअन्दाज गरेका कैयौँ घटना बाहिर ल्याएकै हो। समाचार प्रभावकै आधारमा ती कतिपय समस्याको निरूपण पनि भएको होला, तर नेपालको विकास सूचकांक र धरातलीय यथार्थका हकमा हाम्रो पत्रकारिता अझै पनि ‘सुगम मार्ग’मै अल्झेको छ। सुगम पत्रकारिताको एउटा दृष्टान्त जोड्न चाहन्छु। त्यो बेला लकडाउनसँगै अत्यावश्यक सामानको उपलब्धताबारे खुबै चिन्ता थियो। त्यस्तो त्रासदीमा अलिकति ‘हुने खाने’ वर्गले पक्कै पनि एक कदम अगाडि सोचेर केही दिन, हप्ता या महिना दिनसम्मलाई पुग्ने गरी दैनिक उपभोग्य सामग्रीको जोहो गरिसकेका थिए। तैपनि ‘अनलाइन अर्डर’मार्फत सामान घरमै पुर्‍याइदिने नाममा भाटभटेनीका धनाढ्य मालिक मीनबहादुर गुरुङले त्यो बेला सबैभन्दा धेरै तलब बुझ्नेमध्येका ‘सेलिब्रेटी बैंकर्स’ अनिल केशरी शाहको घरमा सामान पुर्‍याएको कुरा समाचार बन्यो, बनाइयो। 

होम डेलिभरीको त्यस्तो समाचार चर्चाले ‘आज कमाएर आजै खानुपर्ने’ वर्गलाई गिज्याएझैँ लागेको थियो। युरोप/अमेरिकाबाट फर्केका सुम्निमा तुलाधर, वन्दना राणा, अनिल शाहपुत्री लगायत पठित र कामकाजीहरूको ‘सेल्फ क्वारेनटाइन’ र ‘लकडाउन अनुभव’ सञ्चारमाध्यममा डायरीका रूपमा आएका थिए। यस्तोमा जरुरी थियो  विदेशबाट मजदुरी गरी नियमित बिदामा घर फर्केका मजदुरले क्वारेनटाइन र आइसोलेसनका नाममा भोगेको अन्योल चिर्न र सहजीकरण गर्न सघाउ पुर्‍याउने खालका समाचार। त्यो अर्थमा हाम्रो पत्रकारिताले सकेसम्म सुगम मार्ग रोज्न खोजेकै हो। 

लेखक दाहाल स्वयं पत्रकार हुनु, कोभिडकालमा खटेर काम गरेको नाताले आफ्नो पुस्तकमा ‘आफूलाई जोखिममा पारेर भए पनि महामारीजस्तो संकटमा तथ्यपरक सूचना प्रवाहमा सम्झौता गरेको  देखिन्न’ भन्दै पत्रकार र मिडियाका सम्बन्धमा लेखिनु पत्रकारिताको ‘सहधर्मी’ बचाउका रूपमा लिऊँ। तर यही किताबका ‘विशेषज्ञ सल्लाहकार’ डाक्टर अनुप सुवेदीले ‘सञ्चारमाध्यमका संवाददाता र सम्पादकले पनि विभिन्न स्रोतबाट आउने सूचनालाई साधारण विज्ञान साक्षरताकै कसीमा नै भ्रामक या सही खुट्याउन सकिने अवस्थामा समेत आफ्नो धर्म निर्वाह गर्न नसकेको पटक–पटक देखियो’ भन्दैगर्दा किताबभित्र विश्लेषणको विरोधाभास देखिन्छ।

यद्यपि सार्वजनिक चासोमा ‘वाच डग’को काम पत्रकारले जति अरूले गर्न सक्दैनथ्यो। त्यो संकटमा न्यूनतम सुरक्षा तयारीसाथ पत्रकार पनि कुन तहसम्म फिल्डमै खट्न सक्यो? त्यसको पनि शक्ति र सीमा अवश्य थियो। ती कुरा पनि किताबमा प्रशस्त छन्।

विज्ञहरूले भन्न थालिसके, ‘डाटा (तथ्यांक) नै अबको शक्ति हो।’ विश्व ‘डिजिटल’ युगमा हिँड्दै गर्दा अबको ठूलो सम्पत्ति तथ्यांक नै हो। कोभिडबारे विश्व अनुभव अध्ययन गर्दा पनि थाहा हुन्छ, जो तथ्यांकमा चुस्त थिए, उनीहरू व्यवस्थापनमा सफल देखिए। कोरोना भाइरसको उद्गम देश चीन जनसंख्याको हिसाबले विश्वकै ठूलो देश हो। उति ठूलो जनसंख्यालाई कोरोना महामारीको समयमा सन्तुलन गर्न सक्नुमा चीनको ‘कडा अनुशासन’ त हो नै, त्योभन्दा माथि राष्ट्रिय तथ्यांकको आधारमा व्यवस्थापन गर्नु पनि हो। हङकङ, दक्षिण कोरिया, जापान, सिंगापुर, न्युजिल्यान्ड, भियतनामलगायत देशले ‘डेटाबेस’का आधारमा गरेको चुस्त काम अनुकरणीय देखियो। 

ल भैगो, सम्पन्न देशसँग नेपालको तुलना नगरौँ, सम्पन्न देशले जंगलका रूख बिरुवाको समेत गणना गर्ने हुँदा हाम्रो देशको तथ्यांकले कम्तीमा मान्छेको हिसाब त राखोस्। लकडाउन गरिनु अनिवार्य थियो, तर लकडाउन अवधिमा राज्यले न्यूनतम सुविधा दिनै पर्ने वर्गको चुस्त डाटा राख्न सकेको खै? दैनिक ज्यालादारी, असंगठित मजदुर, वृद्धवृद्धा, दीर्घरोगी, सहयोगापेक्षीलगायत सहयोग गर्नै पर्नेको देशव्यापी तथ्यांक खै? केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमार्फत जनताको दैलोमा सरकार पुगेको कुरा धेरै गरिए, तर जब संकटमा सरकार चाहिने थियो, तब न डेटा थियो,  न योजना नै।  

यो किताब पढ्दा यस्ता यावत कमजोरीहरूको पोको फुकाएझैँ हुन्छ। यो किताब आफैमा पूर्ण अनुसन्धानमूलक कृति होइन। लेखक स्वयंका  रिपोर्टिङ, पत्रपत्रिकाका सन्दर्भस्रोत, विज्ञसँगका कुराकानी र सरकारी निकायबाट प्राप्त सीमित सूचना र तथ्यांकमा टेकेर संकटका बहुआयामिक पाटामा वर्णन गरिएको किताब हो। तथ्य, तथ्यांक, योजना र समन्वयका सन्दर्भमा देश कहाँकहाँ चुक्यो? बिनापूर्वाग्रह यो किताब पढ्ने हो भने नीतिगत तहमा बस्नेका लागि आगामी दिनमा निर्णय प्रक्रियालाई वस्तुनिष्ठ बनाउन काम लाग्छ।

संकटका बेला स्वास्थ्य सेवामा पहुँचको प्रभाव, सार्वजनिक क्वारेनटाइनको बेहाल अवस्था , सरकारी सेवाको उदाङ्गोपन , लापरवाह निजी क्षेत्र, शैक्षिक क्षेत्रको देखिएको अस्तव्यस्तता, वित्तीय मनोमानी, थिलथिलो उद्योग, व्यवसाय, होटेल  रेस्टुरेन्ट र पर्यटन क्षेत्र, संकटमा पनि दाउपेचमा अलमलिएको राजनीतिलगायत कैयौँ विषयले  किताबमा प्रशस्त ठाउँ पाएको छ। संकटका बेला तथ्यमा टेकेर कुरा गर्नु, रोग निदान वा उपचार पद्धति र सफल व्यवस्थापनका सम्बन्धमा ‘केस स्टडी’ गर्नु त छँदै छैन, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूलाई ज्ञाताका रूपमा प्रस्तुत गर्दै लोकरिझ्याइँको खेती गर्ने ‘सो कल्ड’ विज्ञहरूलाई पनि डाक्टर अनुप सुवेदीले तथ्यमा टेकेर झटारो हानेका छन्। विशेषज्ञ सल्लाहकारका रूपमा अनुप सुवेदीको लामो ‘अतिथि आलेख’ले कोभिडकालको विमर्शलाई प्राविधिक उचाइ दिएको छ।

उहान कोभिडको उद्गम थियो, त्यहाँ फसेका नेपालीको उद्धार सामरिक र मनोवैज्ञानिक हिसाबले पनि अनिवार्य थियो, सरकारले उद्धार गर्‍यो पनि, तर त्यही उद्धारको नजिर समातेर ‘विदेशमा रहेका अरू नेपालीलाई सरकारले उहानका विद्यार्थीलाई झैँ उद्धार गर्न सकेन। अरूमाथि विभेद भयो’ भनेर सामान्यीकरण गर्नुचाहिँ व्यवहारिक विश्लेषण होइन।

पुस्तक लेखन मिहिनेतको काम हो। लेखिएको किताबको व्यावसायिक मूल्य हुन्छ। सबैभन्दा ज्यादा भुइँ मान्छेले कस्ट भोगेको कोरोना कहरबारे लेखेर व्यावसायिक रूपमा किताब निकाल्दा नेरू १५०० चाहिँ चर्को ठहरियो। हुन त किताब लेखेर व्यावसायिक रूपमा छाप्न दिएपछि मूल्य तोक्ने प्राधिकार लेखकसँग रहने कुरा भएन। फाइन प्रिन्ट र बारबरा पिस फाउन्डेसनजस्ता बलिया संस्थाको सहकार्यमा छापिएको किताबमा ‘किताबी ग्लामर’लाई धेरै मिहिनेत परेर मूल्य अधिक भएको हो कि? 

त्रासदपूर्ण समयको उत्खनन गर्नुपर्दा यो किताबी एउटा अनिवार्य ‘रिफरेन्स’ हो। डाक्टर सन्दुक रुइतको शब्दमा यो किताब ‘महामारी कालखण्डको अर्काइभ’ हो।

(लेखक स्वतन्त्र पत्रकार हुन्।)


सम्बन्धित सामग्री