‘प्लेब्वाई अफ द वेस्टर्न वर्ल्ड’ अर्थात् पश्चिमी दुनियाँको झिल्के। आइरिस नाटककार जेएम सिन्जको चिरपरिचित नाटक हो यो। अनि क्रिस्टी महोन यो नाटकको प्रतिनिधि झिल्के हो। कसरी यो झिल्के मायो भन्ने गाउँमा पुगेर रातारात नायक दहरिन्छ अनि केही समयमै कसरी उसको नायकत्व धूलिसात् हुन्छ भन्ने यस नाटकमा देखाइएको छ।
नाटकको शुरूआतमा ग्रामीण किसानले भरिएको एउटा शान्त गाउँ मायोमा अचानक थकित, त्रसित र भोकसँग जुधिरहेको एक निरीह युवा 'ल्याङ्फ्याङ' अवस्थामा आइपुग्छ। गाउँमा नयाँ व्यक्ति देखिएपछि स्थानीयले सोधखोज गर्छन्। आफ्नै बाउलाई मारेर भाग्दै यता आइपुगेको र आश्रय चाहिएको त्रिस्टीले बताएपछि मायोबासी तीनछक पर्छन्। यस्तो छोराले बाउ मारेको घटना कतै नसुनेका नदेखेका मायोबासीका लागि क्रिस्टी महोन एउटा आश्चर्य हुन्छ, मनमस्तिष्कमा गढ्छ, चर्चाको विषय बन्छ। रातारात ऊ मायोबासीमाझ नायकको रूपमा रूपान्तरित हुन्छ।
क्रिस्टीले मायोकै सबैभन्दा सुन्दरी केटी पेगिनकोमा काम र आश्रय पाउँछ। पहिलो रात जब पेगिन र अर्की विधवा महिलाले उसैका लागि झगडा गरेको सुन्छ, तब उसले मनमनै एउटा संवाद बोल्छ, ‘म पनि कति मूर्ख रहेछु, वर्षौं पहिला नै मैले किन बाउ मारेनछु।’ अब त पेगिन पागलझैँ उसको प्रेममा परिसकेकी हुन्छे। आफ्नो ‘मंगेत्तर’लाई पन्छाएर क्रिस्टीसँग विवाह गर्ने सपना बुन्छे।
अर्को दृश्यमा टाउकोमा पट्टी बाँधेको एक अधबैँसे अचानक मायोमा प्रवेश गर्छ। ऊ क्रिस्टीको बाउ महोन हुन्छ, छोरोको खोजीमा यता आइपुगेको हुन्छ। ऊ घाइते मात्रै भएको रहेछ। बाउले खोसेर त्रिस्टीलाई लाने भयो भनेर केही युवतीले उसलाई लुकाउँछन्। आफ्नो फन्टुस छोरो मायोमा आइपुगेपछि रातारात सबैको मनमा विराजमान भएको देखेर बाउ महोन छक्क पर्छ। तर, अन्तिम दृश्यमा जब बाउछोराको भेट हुन्छ, त्रिस्टी महोन एक्कासि बाउलाई मार्न जाइलाग्छ। पर अन्त कतै बाउ मारेर आउँदा मायोमा नायक दहरिएको क्रिस्टीलाई फेरि बाँचेर फर्किएको बाउलाई त्यत्तिकै छोड्ने हो भने उसको साख धूलिसात् हुन्छ भन्ने भ्रम हुन्छ।
क्रिस्टीका लागि यो कदम एकदमै महँगो पर्छ। मायोबासीले बाउछोरालाई छुट्याउँछन्, बाउलाई उठाउँछन्। ‘तलाईं फटाहा बाउमारा’ भन्दै क्रिस्टीको सत्तोसराप गर्छन्। पाता कस्छन्, पुलिसलाई बुझाउन तयार हुन्छन्। बाउचाहिँ आफै छोराको बाँधिएको पाता खोलिदिन्छ। पुलिसलाई नबुझाउन बिन्ती गर्छ। अन्ततः क्रिस्टी बाउसँगै गाउँ फर्कने हुन्छ। पेगिन डाँको छोडेर रुन्छे। विलाप गर्छे। क्रिस्टी पछाडि फर्कन्छ र भन्छ, ‘नरोऊ पेगिन, म तिमीलाई लिन छिट्टै आउँछु।’ जवाफमा पेगिन भन्छे, ‘तँ बाउमारासँग कसले बिहे गर्छ?’
नेपाली राजनीतिमा झिल्केगिरी
मायो गाउँ र हाम्रो मुलुकबीच पनि केही निश्चित समान परिवेश छन्। समय सधैँ एकनासले चल्ने मायोमा स्थानीयको जीवन पनि एकनासको छ। मानिसका दैनिकी उस्तै निस्सार र दिक्कलाग्दो छ। हाम्रोमा पनि दशकौँदेखि समस्याहरू उस्तै छन्। भ्रष्टाचार, बेथिति, बेरोजगारी, सरकारी सेवाका झन्झट र ढिलासुस्ती, राज्यको गैरजिम्मेवारी, परम्परागत राजनीतिक दल र नेताका अकर्मण्यता सबै उस्तै छन्। समग्रमा भन्नुपर्दा राजनीतिक नेतृत्वले यहाँका आम नागरिकमा कहिल्यै उत्साह र उमंग जगाउन सकेको छैन। यो दिग्दारी र निस्सारलाग्दो निराशाको चक्रमा पेलिएका आम नागरिकलाई केही न केही आशाको त्यान्द्रो चाहिएको थियो।
र, यत्तिकैमा एक्कासि पश्चिमी गाउँबाट झिल्के क्रिस्टी महोन मायो गाउँमा झुल्केझैँ टेलिभिजन पत्रकारको स्वरूपमा नेपाली परिवेशमा पनि अचानक एक ‘नायक’ उर्फ झिल्के देखा पर्छन्। टेलिभिजनको पर्दामा मुलुकका तमाम बेथिति र राजनीतिक तथा प्रशासनिक उच्च ओहदामा विराजमानहरूको अकर्मण्यतामाथि प्रश्न तेर्साएपछि उनी पनि मायोको क्रिस्टीझैँ रातारात हामीमाझ ‘हिरो’ दहरिन पुग्छन्।
संयोग नै मान्नुपर्छ, क्रिस्टीझैँ हाम्रो झिल्के पनि पश्चिम (अमेरिका)मा लामो समयको बसोबासपश्चात् नेपाल फर्किएका थिए। क्रिस्टी त पश्चिममा बाउ मारेर मायोमा आइपुगेको थियो, तर हाम्रो झिल्केको दाबीअनुसार उनी ठूलो नाम र दाम त्यागेर मुलुक बनाउने हुटहुटी बोकेर नेपाल छिरेका थिए। यद्यपि, अमेरिकामा हाम्रो झिल्केले खेपेका पटक–पटकका बैंकिङ कसुरका लफडा अनि अघिल्लो श्रीमतीसँग पारपाचुकेबिना नै अन्य सम्बन्धहरू विस्तार गरेका समाचार यहाँसम्म आइपुग्दा समेत झिल्के निरन्तर हामीमाझ नायक नै दहरिइरहे। दोहोरो नागरिकता र राहदानीलगायत कसुरमा उन्मुक्ति र सुविधा मात्र पाएनन्, दुई–दुई पटक प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक बहुमतले विजयी भए। ‘ठगो भने ठगो त, अमेरिकाकै बैंकलाई ठगो, यहाँ अरू नेताले मुलुकै बेचेर खाँदा त भइरहेको छ,’ उनका मतदाताको आवाज थियो यो।
सायद ‘नायक’का कसुर पनि करामतमा बदलिन्छन्। त्यसैले त यिनलाई दोहोरो नागरिकता र राहदानी, अशोभनीय तौरतरिकाको पत्रकारिता, आफ्नै सहकर्मीको सन्दिग्ध मृत्यु, बिहेइतर सम्बन्धलगायत लफडामा कहिल्यै कानूनी र नैतिक रूपमा जबाफदेही हुन परेन। यहाँका धेरै ‘मायोबासी’ उनको बचाउमा ढाल बनेर उभिए। किनकि धेरै मायोबासीका लागि उनी असली ‘नायक’ हुन्। यही नायकत्वकै बलमा उनी एकदमै छोटो समयमा यो मुलुकको गृह तथा उपप्रधानमन्त्री बनिसकेका छन् भने अर्कोतिर उनको झिल्केगिरी वा ‘नायकत्व’पनि क्लाइमेक्सतिर डोहोरिइरहेको छ।
राजनीतिमा आउनुअघि उनी प्रबन्ध निर्देशक भएको टेलिभिजनले सर्वसाधारणले बचत गरेको सहकारीको ठूलो हिस्सा गैरकानूनी ढंगले अपचलन गरेका प्रमाण पनि बाहिरिइरहेका छन्। यसमा उनी स्वयंको पनि रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भइसकेको छ भने आफ्नै सत्ताको बलमा सहकारी कसुरको प्रतिवादीको सूचीबाट भने उनको नाम गायब छ। टाढा कसुर गरेको सुन्दा हिरो मान्ने तिनै स्थानीयले तिनको पसिनाको कमाई अपचलन गर्दा उनैलाई पुनः हिरो मानिरहन्छन् या दुत्कार्छन् त्यो पनि आगामी समयले तय गर्नेछ। सिन्जको झिल्के क्रिस्टीलाई पनि स्थानीयले टाढाका बाउ मारेर आउँदा हिरो बनाउँछन्, तिनकै अगाडि बाउ मार्न झम्टँदा भने सत्तोसराप गर्छन्। अन्ततः अझ मायोबासीले क्रिस्टीलाई पाता कस्दा त्यसलाई खोलेर उन्मुक्ति दिने उसकै बाउ महोन हुन्छ, जसरी अहिले हाम्रो झिल्केलाई उन्मुक्ति दिने काम परम्परागत दलकै शीर्ष नेताबाट भइरहेको छ, जसलाई गाली गरेकै भरमा उनी उदाएका थिए।
त्यसो त क्रिस्टी महोनले झैँ हाम्रो झिल्केले पनि उपप्रधानमन्त्री हुँदासमेत आफ्नो 'फर्मुला' र रवैयामा कुनै बदलाव ल्याएका छैनन्। चाहे त्यो अघिल्लो उनको विवादास्पद पत्रकार सम्मेलन होस् या संसद्मा उनको पछिल्लो सम्बोधन– पदीय जिम्मेवारीसमेत भुलेर दिइएको सो अभिव्यक्ति सुन्दा लाग्छ, अब उनको झिल्केगिरी लगभग समाप्तिको चरणमा छ। उनी पनि क्रिस्टीझैँ लोकप्रियताको शिखरबाट रसातलतिर भासिइँदै छन्।
झिल्केगिरीले पुर्याउने गन्तव्य त्यहीँ नै हो। यसको आयु छोटो हुन्छ। कुनै फर्मुला या हत्कण्डा मच्चाएर लाइमलाइटमा आएको झिल्केलाई ठूलो भ्रम के हुन्छ भने उसको त्यस्तै सूत्रले सधैँ काम गरिरहन्छ। फलतः लोकप्रियताको शिखरमा पुगेपछि तिनले उस्तै पारा र रवैयामा देखाइराख्छन् र अन्ततः रसातलमा भासिन्छन्। अब पनि हाम्रो झिल्केप्रति कसैको दिलचस्पी बाँकी छ भने त्यो तिनै केही वर्षयता बिचौलिया र ठगी धन्दाबाट केही स्थिर आर्थिक हैसियत बनाएका र उनीजस्तै सस्तो लोकप्रियताको खोजीमा उनको पछि लागेको एउटा निश्चित अवसरवादी समूह मात्र हो। र, झिल्केको अवसानपछि तिनको यो अभीष्ट भने तत्कालका लागि समाप्त हुनेछ। आम मतदातामाथि त झिल्केप्रतिको मोह अब लगभग सकिइसकेझैँ देखिन्छ।
नायक: एक भ्रम
खासमा नायक अमूर्त कुरा हो, जसको कुनै अस्तित्व छैन। समाज कुनै व्यक्तिविशेषको तागतको भरमा अघि बढ्ने वा रूपान्तरित हुने होइन, समाज त सामूहिक प्रयत्न र निर्णयबाट चल्ने गर्छ। बहुदलवादी समाजले त झनै व्यक्तिविशेषको नायकत्व स्विकार्दैन। हाम्रो बहुलवादमा आधारित लोकतान्त्रिक समाजवादले पनि कुनै नायकलाई चिन्दैन, कुनै तिलस्मी नायकको परिकल्पना गर्दैन।
यद्यपि, अस्तित्वमै नभएको ‘नायक’ खोज्न अभिशप्त छ नेपाली समाज, बाध्य छ नेपाली राजनीति। खासमा इतिहासले नै विभिन्न 'डिस्कोर्स' सिर्जँदै जनमानसमा राजनीतिक नायकप्रतिको मोह सिर्जिदिएको छ। ६२–६३ को जनआन्दोलन र राजनीतिक परिवर्तनपश्चात् मुलुकले झन्डै दशक नयाँ संविधान दिन नसकेको संक्रमणकालीन अवस्थाताका राजधानीको एउटा प्रबुद्ध वर्ग वकालत गर्दै थियो, ‘देशमा अब जंगे शासन चाहिन्छ।’ आज पनि नेपाली समाजको एउटा ठूलो हिस्सा यस्तै ‘नायक’को उदयको लालसा पालिरहेको छ। कुनै एक व्यक्तिको स्वेच्छाचारी सनक र निरंकुशताले सबै बेथितिको अन्त्य गर्छ भन्ने भ्रम बोकेर बसिरहेको छ।
शक्तिको प्रभावबाट ग्रसित नेपाली इतिहासले मात्र होइन, प्रत्यक्ष–अप्रत्यक्ष हाम्रा बौद्धिक व्यक्तित्वको सिर्जनाले समेत कुनै एक राजनीतिक नायकको वकालत गरिरहेकै छन्। उनीहरू निर्धक्कसँग ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ भन्दै यो देशका तमाम संकट पार लगाउने, जनताका हरेक समस्याबाट उन्मुक्ति दिलाउने जादुको छडी लिएको नायकको अपेक्षा गरिरहेकै छन्। अन्ततः यो भाष्यले पनि हामीलाई पुर्याउने भनेको हाम्रो आफ्नै लोकतान्त्रिक प्रणालीप्रतिको अविश्वास र व्यक्तिकेन्द्रित राजनीतितिर नै हो, भलै परम्परागत दलहरूको व्यक्तिकेन्द्रित राजनीतिले मुलुकलाई यो हविगतसम्म पुर्याइसकेको छ। दूरगामी दृष्टिकोण सहितको राजनीतिक नेतृत्वले मुलुक र राजनीतिलाई सही दिशातिर त डोर्याउँछ। यद्यपि, यसमा पनि कुनै एक झिल्केको भन्दा पनि सुझबुझसहितको नेतृत्वमा आमसंयन्त्र या प्रणालीकै भूमिका विशेष हुने गर्छ।
खासमा नायकको अस्तित्व स्वैरकाल्पनिक उपन्यास, नाटक र सिनेमामा हुन्छ। लोकगाथामा हुन्छ, पौराणिक कथामा हुन्छ र खेलकुद, संगीतलगायत लोकप्रिय संस्कृतिमा हुन्छ। र, आधुनिक विश्वमा नायकले फगत मनोरञ्जन प्रदान गर्छ, मुक्ति दिँदैन। जोसेफ क्याम्पवेलले 'द हिरो विथ अ थाउजेन्ड फेसेज'मा संसारका हरेक सभ्यताले कसरी नायकको अवधारणा सिर्जेका छन् तथा तिनीबीचका समानता एवं नायकका विभिन्न स्वरूप र आरोह अवरोहबारे यथेष्ट चर्चा गरेका छन्। हाम्रै पौराणिक कथामा पनि असंख्य नायक छन्। उदाहरणका लागि दानवीय शक्तिलाई परास्त गर्ने कृष्ण नायकमध्येका पनि आदर्श हुन्, जसको मोहमा हिन्दूको सिंगो सभ्यता र समाज बाँधिएको छ। अनि यो समाजले पनि तमाम समस्याबाट मुक्ति दिलाउने कृष्णरूपी नायकको अपेक्षा गरिरहेकै छ। तर, विडम्बना कृष्णको लालसामा अल्झिरहेको यो समाजले पटक–पटक विष्णुको अवतार हुँ भन्दै आफूलाई खास भगवान् दाबी गर्ने पौण्ड्रुक वासुदेवरूपी झिल्केहरू पाउँदै आएको छ।
लोकरिझ्याइँ कि झिल्केगिरी?
लोकतन्त्र भनेको मुलुक र जनताका तमाम समस्या सम्बोधन गर्ने दीर्घकालीन पद्धति, प्रणाली र व्यवस्था हो, सदाबहार प्रक्रिया हो। यस्तो व्यवस्थामा कुनै मूक–अमूक व्यक्तिले मुलुक र जनताका तमाम समस्याबाट मुक्ति दिलाइदिन्छ भन्ने अपेक्षा गर्नु या कुनै व्यक्तिमा निर्भर हुने अवस्था आउनु भनेको लज्जाको विषय मात्र होइन, लोकतन्त्रकै संकट पनि हो।
नेपाल मात्र नभई अन्य धेरै मुलुक नायकको तृष्णामा छटपटाइरहेका छन् र कुनै मूक–अमूक झिल्केलाई आफ्नो भाग्य विधाताका रूपमा उभ्याइरहेका छन्। अर्जेन्टिनामा राष्ट्रपतिका रूपमा हाभियर मिलेईको उदय यसको पछिल्लो दृष्टान्त हो। यो प्रवृत्तिलाई लोकप्रियतावाद वा लोकरिझ्याइँको राजनीतिको रूपमा अर्थ्याइने गरिएको छ। तर यसलाई लोकरिझ्याइँको राजनीति भन्न मिल्दैन। लोकरिझ्याइँको राजनीतिले नागरिकलाई अधिकतम सेवा सुविधा र लोकप्रिय 'स्किम' अघि सारेर मतदातालाई प्रभावित पार्ने गर्छ। त्यहाँ पनि निश्चित अजेन्डा, उद्देश्य र त्यसलाई पूरा गर्ने तौरतरिका र दृष्टिकोण हुन्छ। सबै समस्या म पार लगाउँछु, सबैभन्दा माइकालाल मै हुँ भनेकै भरमा मतदाता प्रभावित हुन्छन् भने यो झिल्केगिरी मात्रै हो।
खैर, राजनीतिमा 'गुन्डागिरी' र दादागिरी भोगेका नेपाली नागरिक केही समयका लागि यो झिल्केगिरीतिर आकर्षित हुनु कुनै आश्चर्यको विषय भएन। तर, यस्ता झिल्केगिरीले केही समय रमिता मात्र पस्कने हुन्, किनकि झिल्केगिरी एकदमै छोटो हुन्छ, झिल्केका आकस्मिक उत्थान या पतन दुवै फगत एक राजनीतिक तमासा मात्रै हो।
हामीले परिकल्पना गरेको लोकतान्त्रिक पद्धतिले प्रणालीलाई चिन्छ, संरचनालाई चिन्छ, संस्थागत निर्णयलाई चिन्छ, कुनै व्यक्तिवादी चरित्र वा राजनीतिक ‘नायक’प्रति यसले कुनै अपेक्षा राख्दैन। राजनीतिक प्रणालीलाई बेवास्ता गर्दै कुनै तिलस्मी नायकको लालसामा तल्लीन नेपाली भूमि बर्तोल्त ब्रेख्तले भनेजस्तै वास्तवमै दुःखी भूमि हो, जसलाई आफैप्रति अनि आफूले पुस्तौँ लडेर ल्याएको व्यवस्थाप्रति नै विश्वास र भरोसा छैन।
जहाँसम्म जेएम सिन्जको 'झिल्के’को कुरा छ, म्याक्सिम गोर्कीले यसलाई नायकत्व या नायकसँगको आशक्तिप्रतिको ब्यंग्यका रूपमा अर्थ्याएका छन्। सिन्जको यो नाटक सन् १९०७ मा प्रदर्शन हुँदा आयरल्यान्डको एबी थिएटरअघि दंगा भड्किएको थियो। नायकको अस्तित्वमाथि प्रश्न उठाएकोमा आइरिस राष्ट्रवादी नाटकको विरोधमा उत्रेका थिए। नाटकमा क्रिस्टीले पटक पटक भगवान्को नाम लिन्छ, त्यस्तो फन्टुसको मुखबाट ईश्वरको नाम भजाएकोमा रोमन क्याथोलिकले पनि नाटकको घोर विरोध गरेका थिए। क्रिस्टीले झैँ हाम्रो झिल्के पनि पटक–पटक राष्ट्र र भगवान्को नाम भजाएर सर्वसाधारणको भावनामा खेलिरहेकै छन्। राष्ट्रिय झन्डादेखि गौतम बुद्धको विम्बलाई पनि ‘मास म्यानिपुलेसन’कै लागि पटक–पटक दुरुपयोग गरेका छन्। अब भविष्यमा यी सबै प्रपञ्चलाई नागरिकले फगत एक (अ)राजनीतिक तमासाका रूपमा मात्रै सम्झिरहनेछन्।
(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)