Saturday, December 14, 2024

-->

गणतन्त्र भारतमा राजतन्त्रात्मक शैलीको राजनीति

विरासतकै आधारमा शासन चलाउने राजघरानाले निर्वाचनमार्फत पनि शासन गरे, गरिरहेका छन् नै, राजनीतिमा वंशवादको चर्को आलोचना गर्दै राजनीति शुरू गरेकाहरूले नै वंशवादको निर्लज्ज अभ्यास गरे।

गणतन्त्र भारतमा राजतन्त्रात्मक शैलीको राजनीति

चुनावी राजनीतिमा राजवंश 
राणोजी रावले सन् १७२६ मा स्थापना गरेको सिन्धिया राजवंशले ग्वालियर रियासतमा भारत आजाद हुनु अघिसम्म त राजाकै रूपमा शासन गर्‍यो, गणतन्त्र भारतमा पनि तिनको ‘शासन’ बरकरार छ। भारत आजाद भएपछि राजा जिवाजीराव सिन्धिया कांग्रेसमा प्रवेश गरे, उनलाई मध्यभारतको गभर्नर बनाइयो। सन् १९५७ मा सम्पन्न आजाद भारतको दोस्रो आमचुनावमा जिवाजीरावकी महारानी विजयाराजे सिन्धिया कांग्रेसको टिकटमा गुना सिटबाट लोकसभामा पुगिन्, सन् १९६२ मा ग्वालियरबाट जितिन्। सन् १९६७ मा भारतीय जनसंघ (सन् १९८० मा भारतीय जनता पार्टीको नयाँ कलेवरअघिको पार्टी) बाट राजनीतिको दोस्रो इनिङ शुरू गरेकी श्रीमती सिन्धिया सन् १९८९, १९९१, १९९६ र १९९८ मा गुनाबाट लोकसभामा पुगेकी थिइन्। राणा प्रधानमन्त्री वीरशमशेरले धपाएका भाइ खड्गशमशेरकी नातिनी (छोरीपट्टि) हुन् विजया राजे।

श्रीमती सिन्धियाका छोरा माधवराव सन् १९७१ मा २६ वर्षको उमेरमा गुनाबाट जनसंघकै टिकटमा लोकसभाका लागि निर्वाचित भए। सन् १९७७ मा कांग्रेस समर्थित निर्दलीय उम्मेदवार भई ग्वालियरबाट चुनाव जितेका माधवराव १९८० मा विधिवत् कांग्रेस छिरेर १९८४ मा अटलबिहारी वाजपेयीलाई मात दिएपछि चर्चित चेहरा बने। साविक ग्वालियर रियासत क्षेत्रमा सिन्धिया घरानाको प्रभाव कस्तो रह्यो भने सन् १९७१ को ‘इन्दिरा लहर’मा पनि ग्वालियरका तिनै सिट जनसंघले जितेको थियो– विजया राजे भिण्ड, माधवराव गुना र अटलबिहारी वाजपेयी।

सन् २००१ मा आठ महिनाको बीचमा विजया राजे र माधवराव बिते पश्चात् माधवरावका छोरा ज्योतिरादित्यले बुवाको विरासत थाम्दै गुनाबाट २००४, २००९ र २०१४ मा कांग्रेसको टिकटमा लोकसभा पुगे। केन्द्रमा मन्त्री पनि भए। आफ्नो रियासत क्षेत्रमा नटआउट थियो सिन्धिया परिवार तर सन् २०१९ को भाजपा लहरमा आउट भएपछि ज्योतिरादित्यले पचाउन सकेनन् र भाजपा प्रवेश गरे। राज्यसभाको सदस्य बनाई केन्द्रीय क्याबिनेटमै प्रवेश गराइएका सिन्धिया अहिले गुनाबाटै लोकसभाको चुनाव लड्दैछन्। ज्योतिरादित्यका २८ वर्षीय छोरा महाआर्यमनसमेत चुनावी क्याम्पेनमा सहभागी भइरहेको देख्दा सिन्धिया घरानाको चौथो पिँढी पनि चुनावमार्फत ‘राजपाठ’ सम्हाल्न तयार देखिन्छ।  

विवाह गरी राजस्थानवासी भएकी विजया राजेकै माहिली छोरी वसुन्धरा राजे सन् २००३–२००८ तथा २०१३–२०१८ दुई कार्यकाल गरी १० वर्ष राजस्थानको मुख्यमन्त्री भइसकेकी छन्। त्यसअघि उनी लोकसभा सदस्य र केन्द्रमा मन्त्री पनि भइसकेकी थिइन्। विजया राजेकै कान्छी छोरी यशोधरा राजे मध्यप्रदेश सरकारमा मन्त्री रहिन्। धन्न विजया राजेकी जेठी छोरी उषा राजे पशुपतीशमशेर राणासँग विवाह गरी काठमाडौँवासी भएकीले भारतीय राजनीतिमा सक्रिय हुन् पाइनन्। बसुन्धरा राजेका छोरा दुष्यन्त सिंह लगातार पाँचौचोटी लोकसभा प्रवेशका लागि मैदानमा छन्।

भारत आजाद हुँदा ५६२ रियासत थिए। आजाद भारतमा विलयपछि कतिपय राजघरानाका प्रतिनिधि चुनावी राजनीतिमा होमिए। पटियाला राजघरानाका अन्तिम राजा यादवेन्द्र सिंहका छोरा क्याप्टेन अमरिन्दर सिंह दुईचोटी (२००२–२००७, २०१७–२०२१) कांग्रेसबाट पञ्जाबको मुख्यमन्त्री भए नै, श्रीमती प्रिनित कौरलाई पनि सन् १९९९ देखि नै लोकसभा सदस्य जिताए। सन् २००९–२०१४ मा त विदेश राज्यमन्त्री पनि भइन्। राघोगढ रजवाडाका दिग्विजय सिंहले दशकभरि (१९९३–२००३) क्षेत्रफलमा भारतकै ठूलो मध्यप्रदेश राज्यको मुख्यमन्त्री बने नै, छोरा जयवर्दन सन् २०१३ देखि कांग्रेसको टिकटमा राज्य विधानसभा सदस्य छन्, कमलनाथ नेतृत्वमा कांग्रेसको सरकार छँदा (२०१८–२०२०) मन्त्री पनि भए। यसअघि दिग्विजयका भाइ लक्ष्मणले पनि पाँचचोटी लोकसभा र तीनचोटी विधानसभाको चुनाव जितिसकेका छन्। 

वंशवादको विरोधमा राजनीति शुरू गर्नेहरू
विरासतकै आधारमा शासन चलाउने राजघरानाले निर्वाचनमार्फत पनि शासन गरे, गरिरहेका छन् नै, राजनीतिमा वंशवादको (नेहरूकी छोरी इन्दिरा गान्धीले गद्दी सम्हालेपछि) चर्को आलोचना गर्दै राजनीति शुरू गरेकाहरूले नै वंशवादको निर्लज्ज अभ्यास गरे। राममनोहर लोहियाको शिष्य भई राजनीति शुरू गरेका अनि आफ्नो पार्टीको नामै समाजवादी पार्टी राखेका मुलायमसिंह यादव त दुई वर्षअघि बिते, उनको परिवारका पाँच जना उत्तरप्रदेशबाट लोकसभा पुग्न चुनावी प्रतिस्पर्धामा छन्, सबै समाजवादी पार्टीको टिकटमा।

उत्तर प्रदेशको मुख्यमन्त्री रहिसकेका छोरा अखिलेश कन्नौजबाट मैदानमा छन्। सन् २०१२ मा राज्य विधानसभा चुनाव जितेपछि मुलायमले ३८ वर्षीय छोरालाई मुख्यमन्त्री बनाएका थिए। अखिलेश मुख्यमन्त्री भएपछि रिक्त कन्नौज सिटबाट पार्टीले अखिलेशकी श्रीमती डिम्पललाई उम्मेदवार बनाई लोकसभामा पुर्‍यायो। डिम्पल यो चुनावमा मैनपुरीबाट उम्मेदवार छिन्। सन् २०१९ मा कन्नौजबाट चुनाव हारेकी उनलाई मुलायमसिंहको निधनबाट रिक्त मैनीपुरीको उपचुनावमार्फत लोकसभा पुर्‍याइएको थियो। मुलायमसिंहका भाइ अभयरामका छोरा धर्मेन्द्र आजमगढबाट उम्मेदवार छन्। अर्का भाइ शिवपालका छोरा आदित्यले बदायुँबाट लोकसभामा पुग्न प्रयत्नरत  छन्। मुलायमको परिवारका कम्तीमा २० जना जिम्मेवारीसहित समाजवादी पार्टीको राजनीतिमा सक्रिय रहेको बताइएको छ।  

सन् १९७० को दशकमा वंशवादसमेत मुद्दामा जयप्रकाश नारायणले थालेको इन्दिरा गान्धी विरोधी आन्दोलनबाट छात्र राजनीति शुरू गरेका थिए लालुप्रसाद यादवले। त्यही छात्र आन्दोलन चर्किंदै गर्दा श्रीमती गान्धीले ‘इमर्जेन्सी’ घोषणा गरेपछि आन्तरिक सुरक्षा सम्बन्धी (मिसा) कानूनअन्तर्गत जेलमा रहेका बेला घरमा जन्मिएकी छोरीको नाम मिसा भारती जुराइदिए। उनै लालुप्रसाद बिहारमा वंशवादको राजनीतिलाई यसरी मजबुती प्रदान गरिरहेका छन् कि छोरी मिसा पाटलीपुत्र र रोहिणी आचार्य सारणबाट राष्ट्रिय जनता दल (राजद) को टिकटमा लोकसभा उम्मेदवार छन्। यसअघि सन् २०१४ र २०१९ उम्मेदवार भई पराजित भइसकेकी मिसा २०१६ देखि माथिल्लो सभा (राज्यसभा) सदस्य छिन्। लालुप्रसादलाई किडनी दान गरेकी रोहिणीले किडनी दाता छोरीको रूपमा सहानुभूति बटुल्न खोजिरहेकी छन्। उनको प्रधान चुनावी मुद्दा बाउलाई किडनी दान नै छ।    

सन् १९९७ मा ‘चारा घोटाला’ मा अभियोगपत्र दायर भई राजीनामा गर्नुपर्ने भएपछि आफ्नै श्रीमती राबडीदेवीलाई मुख्यमन्त्री बनाएका थिए। पार्टी (जनता दल) सहमत नभएपछि पार्टी नै फुटाएर राजद बनाई राबडीदेवीलाई मुख्यमन्त्रीको ताज पहिर्‍याएका थिए। “तिमीले भोलि मुख्यमन्त्रीको सपथ लिनु छ, तयारी शुरू गर्नु,” द ब्रदर्स बिहारीमा संकर्षण ठाकुर लेख्छन्, “अब राबडी रुन थाल्छिन् र कोठाबाट बाहिरिन्छन्।” राबडीदेवीले मुख्यमन्त्री पदलाई कहिल्यै ‘इन्ज्वए’ गर्न सकिनन्। र यो कुरा प्रकट गर्ने मौका कहिले पनि छाडिनन्। ‘गाह्रो छ, साहेबको अर्डर भएकाले यो झण्झट उठाइरहेको छु,’ उनी भन्ने गर्थिन्, ‘कहाँ ठेल्दिए मलाई।’

सन् २०१३ मा चारा घोटालामा दोषी ठहरिई सार्वजनिक ओहोदाका लागि अयोग्य ठहरिएका लालुप्रसादले उत्तराधिकारी तेजस्वीलाई दुइचोटी बिहारको उपमुख्यमन्त्री बनाइसकेका छन्। उनले कान्छा तेजस्वीलाई उत्तराधिकार दिए पनि विरासत धान्न नसक्ने देखेका जेठा तेजप्रतापलाई समेत विधानसभा सदस्य र पार्टी सत्तामा रहँदा मन्त्री पद दिएर नाखुश हुन् दिएका छैनन्। छोराले सम्हालेको मन्त्रालयको अधिकारीहरूसँग छलफल गर्दा छोरा  तेजप्रतापलाई कोठाबाहिर पठाई लालुप्रसाद आफैले छलफल गरेका पनि छन् (द ब्रदर्श बिहारी, संकर्षण ठाकुर)। हुन् पनि तेजप्रतापबारे मिडियामा आउने न्युज, भिडियो हेर्दा उनी नेपालभन्दा चारगुणा जनसंख्या भएको बिहारको मन्त्री हैन, वडाअध्यक्ष हुन् लायक पनि लाग्दैनन्।

तेजस्वीको क्रिकेटर बन्ने मिहिनेतले खासै उपलब्धि दिएन। सन् २००८–२०१२ मा इण्डियन प्रिमियर लिग (आईपिएल) टिम ‘दिल्ली डेयरडेभिल्स’ मा समावेश भए पनि बेञ्चमै बिताएका तेजस्वीले झारखण्ड टिमबाट एकाध फस्र्ट क्लास म्याच खेल्न त पाए, प्रदर्शन निराशाजनक रह्यो। सन् २०१३ मा क्रिकेटलाई अलबिदा गरेर राजनीतिमा छिरेका उनी दुई वर्षपछि नै बिहारको उपमुख्यमन्त्री बन्न सफल भए।     

छोरा तेजस्वीलाई आफूजस्तै ‘तेजस्वी’ बनाइराख्न लालुप्रसाद अरू तेजतर्रार नेतालाई देखिसहँदैनन्। सन् २०१९ को लोकसभा चुनावमा त्यति बेला भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) मा रहेका युवा नेता कन्हैयाकुमार (अहिले दिल्लीमा कांग्रेस उम्मेदवार) बिहारको बेगुसरायबाट भाजपाविरोधी गठबन्धन (त्यति बेला यूपीए, अहिले इण्डिया) को उम्मेदवार बन्ने तयारी गरिरहँदा लालुप्रसादले पहिले नै आफ्नो पार्टी राजदको उम्मेदवार घोषणा गर्दिए। सत्ताविरोधी भोट राजद र सीपीआईमा बाँडिएपछि भाजपाका गिरिराज किशोर सिंहको जित फगत औपचारिकता हुन् गयो। भाषणाबाट दर्शक/स्रोतालाई प्रभाव छाड्नसक्ने कन्हैयालाई बिहारमा तेजस्वीभन्दा लोकप्रिय नहोस् भनेर पनि उनले चुनावअघि नै हार सुनिश्चित गराएको विश्लेषण गरिएको थियो। 

यसपालि कांग्रेसको टिकटमा पुर्णियाबाट चुनाव लड्ने तयारी गरिरहेका पप्पु यादव पनि उनको यही स्वभावको सिकार भए। राजदको उम्मेदवार घोषणा गर्दिहाले, कसैलाई टिकट नदिन कांग्रेसलाई मनाए। अन्ततोगत्वा पप्पुले स्वतन्त्र उम्मेदवारी दिनपर्‍यो। आपराधिक छवि भए पनि बिहारमा पप्पु प्रभावशाली यादव नेता भएकाले तेजस्वीको तेज कम नहोस् भनेर लालुले षडयन्त्र गरेको पटनाका पत्रकार कन्हैया बेलारीले बताएका छन्।

पार्टीमा परिवारको पकड कस्तो छ भने, राज्यसभामा मन्त्रमुग्ध पार्ने भाषण गर्ने प्रोफेसर मनोज झा १० कक्षामा ‘ड्रपआउट’ तेजस्वीको ‘दूरदृष्टि’को बखान गरिरहन्छन्। “यिनीहरूले जातको राजनीति गरिरहेका छैनन्, परिवारको राजनीति गरिरहेका छन्,” चुनावी रणनीतिकार प्रशान्तकिशोर भन्ने गर्छन्, “लालुजीले जातको राजनीति गरेको भए काबिल यादव छान्थे, जब काबिल नभए पनि छोरालाई नेता बनाउँछन् भने जातको राजनीति कहाँ भयो?”  

‘वंशवाद विरोधी’ भाजपामा वंशवाद 
भाजपाले वंशवादको राजनीतिलाई मुख्य मुद्दा बनाउँदै आएको थियो नै, अहिलेपनि बनाइरहेकै छ। तैपनि उसले सुषम स्वराज (स्वर्गीय) की छोरी बाँसुरी स्वराजलाई दिल्लीबाट उम्मेदवार बनाएको छ। सडक दूर्घटनामा दिवंगत महाराष्ट्रका नेता गोपीनाथ मुण्डेकी छोरी पंकजा मुण्डे विधानसभा सदस्य (एमएलए), राज्य सरकारमा मन्त्री बनाउँदै यसपालि ‘बढुवा गरी’ लोकसभाको टिकट दिएको छ। उनी भाजपा राष्ट्रिय कार्यकारिणीको सचिव पनि हुन्। आफ्नै भाइले हत्या गरेका भाजपा नेता प्रमोद महाजनकी छोरी पुनम महाजन सन् २०१४ र २०१९ को चुनावमा मुम्बईबाट जितेर लोकसभा पुगिन्। प्रमोद महाजन र गोपीनाथ मुण्डे नातामा जेठान–ज्वाइँ थिए।   

अटलविहारी वाजपेयी–लालकृष्ण आडवाणीकालीन भाजपाका ‘अलटाइम फेबरेट’ कोषाध्यक्ष वेदप्रकाश गोयल वाजपेयी सरकारमा मन्त्री पनि बने, छोरा पियूष गोयलले केन्द्रीय सरकारमा विभिन्न मन्त्रालय सम्हाल्दै अहिले राज्यसभामा भाजपा नेता छन्। केन्द्रमा रक्षामन्त्री रहेका भाजपाका पूर्वअध्यक्ष राजनाथ सिंहका छोरा पंकज उत्तर प्रदेश विधानसभामा छन्, प्रदेश भाजपाका महासचिव पनि हुन्। हिमाञ्चल प्रदेशमा मुख्यमन्त्री रहिसकेका प्रेमकुमार धुमलका छोरा अनुराग ठाकुर केन्द्रमा मन्त्री छन् नै, मुख्यमन्त्री ‘इन वेटिङ’ मानिन्छन्। बाबरी मस्जिद ध्वशं गरिँदा उत्तर प्रदेशका मुख्यमन्त्री रहेका कल्याण सिंहका छोरा राजवीर राज्य सरकारमा मन्त्री छन्। हजारीबागबाट सन् २०१४ र २०१९ को चुनाव जितेका जयन्त सिन्हाले बुवा यशवन्त सिन्हा मोदीको भाजपासँग गम्भीर मतभेद राख्दै तृणमूल कांग्रेसमा गएपछि यसपालि चुनाव नलड्ने घोषणा गरे। दिल्लीको मुख्यमन्त्री रहिसकेका बुवा साहिबसिंह बर्माको नाममा सन् २०१४ र २०१९ मा टिकट पाई पश्चिम दिल्ली संसदीय क्षेत्रबाट जितेका परवेशसिंह बर्माको पनि यसपालि टिकट चैट भएको छ।

प्रधानमन्त्री मोदी भाजपामा वंशवादको राजनीति नरहेको तर्क गर्छन्। “राजनीतिमा सक्रिय अभिभावकका सन्तान राजनीतिमा सक्रिय हुन्ु, चुनावी प्रतिस्पर्धा गर्नु, जित्नु एउटा कुरा हो,” एउटा अन्तर्वार्तामा मोदी भन्छन्, “पार्टीको कमान्ड/कन्ट्रोल नै एउटा परिवारको हातमा हुन् अर्को।” भाजपामा कसैले टिकट पाए पनि पार्टी नै परिवारको हुने कल्पना पनि गर्न नसकिने उनी बताउछन्। जम्मु–कश्मीरको राजनीति परिवार नियन्त्रित दुई वटा पार्टीको वरपर घुमिरहेको उनले टिप्पणी गरेका छन्। पञ्जाब–हरियाणा, उत्तर प्रदेश, झारखण्ड, तमिलनाडुमा पनि एउटै परिवारको पार्टी हाबी रहेको बताएका छन्।

मोदीले इशारा गरेको जम्मु–कश्मीरको ‘नेशनल कन्फरेन्स’ भारत आजाद हुनुअगावै शेख अब्दुल्लाले गठन गरेको पार्टी हो, जसमा शेखपछि छोरा फारुख अब्दुल्ला अनि फारुखका छोरा उमर अब्दुल्लाले नेतृत्व गरी जम्मु–कश्मीरको मुख्यमन्त्री, केन्द्रमा मन्त्री भइसकेका छन्। मुफ्ती मोहम्मद सइदले सन् १९९९ मा स्थापना गरेको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) को नेतृत्व छोरी महबुबा मुफ्तीको हातमा छ, उनी पनि मुख्यमन्त्री भइसकेकी छन्। 

सन् २००० देखि उडिसामा अनवरत मुख्यमन्त्री नवीन पटनायक छैटौँ कार्यकालका लागि मैदानमा छन्। स्वतन्त्रता सेनानी तथा दोस्रो विश्वयुद्ध लडेका पाइलट बिजु पटनायक आजाद भारतको पहिलो प्रधानमन्त्री नेहरूको सुरक्षा सल्लाहकार थिए। सन् १९६० को उत्तरार्धमा कांग्रेस विभाजन भएपछि कांग्रेस विरोधी धारको राजनीतिमा सक्रिय उनी मुख्यमन्त्री र केन्द्रीय मन्त्री पनि भए। सन् १९९७ मा बिजुको निधनपछि अमेरिकामा बसोबास गरिरहेका नवीन भारत फर्किई बुवाको क्षेत्रबाट उपचुनाव जितेर लोकसभा पुगे। जनता दलबाट अलग्गिएर बिजु जनता दल स्थापना गरेर भाजपाको गठबन्धनमा समावेश भई अटलविहारी वाजपेयी सरकारमा मन्त्री पनि भए। सन् २००० को राज्य विधानसभा चुनाव जितेर मुख्यमन्त्री बनेपछि उनी नटआउट छन्।

मोदीका अनुसार यस्ता परिवारवादी पार्टी लोकतन्त्रको सबैभन्दा ठूलो दुस्मन हो। किनकि यसले लोकतन्त्रको मूलभूत सिद्धान्तकै ख्याल गर्दैन। पार्टीभन्दा परिवार सर्वोपरी हुनपुग्छ। पार्टी बचोस्/नबचोस् परिवार बच्नुपर्छ। राजनीतिको लोकतन्त्रीकरणको लागि परिवार पन्छाउनै पर्छ। 

कुस्ती संघको अध्यक्षसमेत रहेका भाजपा सांसद ब्रजभूषण शरण सिंहविरुद्ध यौन उत्पीडनको गम्भीर आरोपसहित कुस्तीका केही राष्ट्रिय खेलाडीहरू नै आन्दोलनको अखडामा उत्रिए पनि मोदी सरकारले गम्भीरतापूर्वक लिएन नै, उल्टै उत्पीडित महिला पहलवानहरूलाई बदनाम गर्न उसका प्रचार संयन्त्र सक्रिय रहे। भाजपाबाट लोकसभामा जितको ह्याट्रिक गरिसकेका सिंहलाई टिकट दिन लाजमर्दो हुने भएपछि उनका छोरा करणभूषण सिंहलाई उत्तरप्रदेशको कैसरगन्ज क्षेत्रबाट टिकट अर्पण गरेको छ। उनीविरुद्ध दिल्लीको एउटा अदालतले पाँच पहलवानको मुद्दालाई सुनुवाइ योग्य ठहर्‍याइसकेको छ।

“कुनै पार्टीमा बाउ पनि सांसद थियो, छोरा पनि भयो भनेर त्यो पार्टी परिवारको हुँदैन,” मोदीले भनेका छन्।

विमान दुर्घटनामा सञ्जय गान्धीको निधन (सन् १९८०) पछि पत्नी मेनका गान्धीले नेहरू–गान्धी वंशको उत्तराधिकार दाबी गरेकी थिइन्। इन्दिरा गान्धीले पाइलट पेसामै रमाइरहेका जेठा छोरा राजीवलाई उत्तराधिकारी बनाएपछि बगावत गरेकी मेनका भाजपाबाट लोकसभा सदस्य छन्। उनी नवौंचोटी लोकसभा पुग्न प्रतिस्पर्धारत छन्। सन् २००९, २०१४ र २०१९ मा मेनका र बरुण आमाछोरालाई टिकट दिएको भाजपाले यसपालि बरुणको टिकट चैट पारिदिएको छ।

वंशवादले लाभ पाएका नेतालाई स्वीकार गर्ने, वंशवादी पार्टीसँग गठबन्धन गर्ने कुरामा पनि भाजपाले ‘जे आउँछ  मज्जाले पचाउँछ’कै नीति अख्तियार गरेको छ। हेमवतीनन्दन बहुगुणाको विरासतमा राजनीति गरिरहेकी रीता जोशी बहुगुणा तथा जीतेन्द्रप्रसादका छोरा जितिनप्रसाद (उत्तरप्रदेश), बलराम जाखडका छोरा सुनील (पञ्जाब) लाई स्वागत गरी टिकट/जिम्मेवारी दिएकै छ। यो सूचीमा शिशिर अधिकारीका छोरा सुवेन्दु अधिकारी (पश्चिम बंगाल), एसआर बोम्मईका छोरा बसवराज बोम्मई (कर्नाटक) पनि पर्छन्। पारिवारिक पार्टीलाई गठबन्धनमा राख्न पनि अप्ठेरो मानेको छैन। कर्नाटकमा देवगौडा परिवारको जनता दल (एस) सँग गठबन्धन छ। यसअघि ठाकरे परिवारको शिवसेनासँग महाराष्ट्रमा गठबन्धन थियो। पारिवारवादमै चलेको तेलुगु देशम पार्टीसँग जारी लोकसभाका साथै राज्य विधानसभा चुनावमा भाजपाको गठबन्धन छ। 

शुरूआत र संस्थागत गर्ने ‘नेहरू राजवंश’
भारतमा राजनीतिक वंशवादको शुरूआत र संस्थागत गर्ने श्रेय ‘नेहरू राजवंश’लाई नै जान्छ। जवाहरलाल नेहरूले छोरी इन्दिरालाई राजनीतिमा ल्याए नै, माथि उक्लिने भर्‍याङ पनि बनाइदिएका थिए। पिएन हक्सर र रोमेश थापरले नेहरूबाट इन्दिरामा राजवंशीय स्थानान्तरणलाई सहज बनाइदिए। दुवै इंल्यान्डमा पढेका थिए, उतै  चर्को समाजवादी बनेका थिए। कुलीनका प्रतिनिधि थिए। हक्सर त श्रीमती गान्धीका प्रधान सचिव नै भइहाले, सेमिनार पत्रिकाका संस्थापक सम्पादक थापर किचेन क्याबिनेट सदस्य मानिन्थे। श्रीमती गान्धीको सल्लाहकारमा उत्तर प्रदेशका रजवाडा दिनेश सिंहका साथै कम्युनिस्टको रूपमा राजनीति शुरू गरेका इन्दरकुमार गुजराल पनि थिए, जसले कांग्रेस समर्थित गठबन्धन सरकारको प्रधानमन्त्री भई राजनीतिक जीवन अन्त्य गरे (सञ्जय बारु, इण्डियाज पावर एलिट)। 

श्रीमती गान्धीले महत्त्वाकांक्षी छोरा सञ्जयलाई राजनीतिमा ल्याइनन् मात्रै उनलाई राजपाठ नै सुम्पिदिइन। पदीय जिम्मेवारी र दायित्वमा नरहँदै सञ्जय र उनको चण्डाल चौकडी नै सत्तामा सबैभन्दा प्रभावशाली थियो। सन् १९७५ मा इमर्जेन्सी नै सञ्जयको उक्साहटमा लगाएकी थिइन् भन्ने एकथरिको विश्लेषण छ। अर्काथरिले सिद्धार्थशंकर रेलाई यसको मुख्य जिम्मेवार ठान्छन्। जेहोस्, इमर्जेन्सीमा प्रेसमा सेन्सरशिपदेखि जबर्जस्ती परिवार नियोजनसम्म सञ्जयकै योजना थियो। राजनीतिमा सञ्जयको दबदबाको कारण पनि उनको निधनपछि राजीवलाई  उत्तराधिकारीका रूपमा राजनीतिमा प्रवेश गराउन स्वभाविक र सुगम बन्न गयो।

रायबरेली र अमेठी नेहरू–गान्धी परिवारको रियासतझँै रहेको यहाँका उम्मेदवार र चुनावी नतिजाले देखाउँछ। जारी लोकसभा चुनावमा कांग्रेस नेता राहुल गान्धीले प्रतिस्पर्धा गरिरहेको रायबरेली सिटबाट भारतको पहिलो र दोस्रो लोकसभा चुनाव (सन् १९५२, १९५७) मा उनका हजुरबुवा फिरोज गान्धीले लोकसभाको यात्रा तय गरेका थिए। फिरोज लोकसभाको दोस्रो कार्यकाल पूरा नहुँदै सन् १९६० मा बिते। सन् १९६७ को चुनावमा इन्दिरा गान्धीले पहिलोचोटी लोकसभा चुनावका लागि श्रीमानकै क्षेत्र रोजिन्। १९७१ को चुनाव श्रीमती गान्धीले ६६ प्रतिशत मतसहित जित्न त जितिन्, यही चुनावको लफडाले भारतलाई इमर्जेन्सीसम्म पुर्‍यायो। 

चुनाव हारेका संयुक्त सोसलिस्ट पार्टीका राजनारायणले चुनावमा धाँधली गरेको आरोप लगाई हालेको मुद्दामा इलाहाबाद हाइकोर्टले श्रीमती गान्धीले धाँधली गरेको ठहर्‍याएपछि इमर्जेन्सी लगाएकी थिइन्। इमर्जेन्सीपछि सन् १९७७ मा भएको चुनावमा राजनारायणले श्रीमती गान्धीलाई मात दिए। सन् १९८० को चुनावमा श्रीमती गान्धीले पुनः चुनाव जितिन्। यसपालि भारतीय जनसंघबाट नाम परिवर्तित भारतीय जनता पार्टीले ग्वालियरकी महारानी विजया राजे सिन्धियालाई श्रीमती गान्धीविरुद्ध उतारेको थियो। आन्ध्र प्रदेशको अर्को सिटबाट समेत चुनाव जितेकी गान्धीले छाडेपछि रायबरेलीमा भएको उपचुनावमा उनकै भदा अरुण नेहरूले जिते। श्रीमती गान्धीको हत्यापछि सन् १९८५ मा पनि अरुण नै रायबरेलीबाट जित दर्ज गर्न सफल भए। 

सन् १९८९ र १९९१ को चुनावमा नेहरू–गान्धी परिवारले रायबरेलीको लागि शिला कौल (जवाहरलाल नेहरूकी श्रीमती कमला नेहरूकी भाइ बुहारी) लाई टिकट दियो, जितिन्। सन् १९९६ मा शिला कौलकै छोरा विक्रम कौल र सन् १९९८ मा छोरी दीपा कौललाई चाहिँ रायबरेलीका मतदाताले जमानत जफत हुनेगरी चौथो स्थानमा पुर्‍याइदिएका थिए। सन् १९९९ मा राजीव गान्धीकै पाइलट साथी सतिश शर्माले रायबरेली सिट कांग्रेसको झोलामा ल्याए। सन् २००४ देखि लगातार सोनिया गान्धीले रायबरेलीको प्रतिनिधित्व गरिरहेकी छन्। यसपालि सोनियाले राज्यसभाको बाटो संसद्को यात्रा तय गरेपछि राहुल गान्धी हजुरबुवाको पालादेखिको पारिवारिक सिट सम्हाल्न पुगेका छन्।    

सन् १९६७ मा बनेको अमेठी संसदीय क्षेत्र १९७७ मा सञ्जय गान्धीले रोजेका थिए, जहाँबाट उनी १९८० मा चुनाव जिते। उनको निधनपछि राजीवले सन् १९८९ सम्म अमेठीको प्रतिनिधित्व गरे। राजीवको हत्यापछि उनकै पाइलट साथी पारिवारिक सहयोगी क्याप्टेन सतिश शर्माले अमेठीको प्रतिनिधित्व गरे। सन् १९९८ मा शर्मा भाजपा उम्मेदवारसँग पराजित भए। सन् १९९९ मा सोनिया गान्धीले जितेको अमेठीमा २००४, २००९ र २०१४ को लोकसभा चुनाव राहुलले जिते, २०१९ मा भाजपा उम्मेदवार स्मृति इरानीसँग हारे। अहिले परिवारको तर्फबाट अमेठीमै काम गरिरहेका किशोरीलाल शर्मालाई कांग्रेसको उम्मेदवार बनाइएको छ। 

अभिनेताबाट नेतामा रूपान्तरित सुनिल दत्त सन् २००५ मा बितेपछि छोरी प्रिया दत्तले उपचुनाव जितिन्, सन् २००९ को चुनाव मुम्बईकै अर्को क्षेत्रबाट जितिन्। सन् २०१४ र २०१९ को लोकसभा चुनावमा चाहिँ मुम्बई नर्थ सेन्ट्रल सिटमा अर्को विरासतवाली पुनम महाजनसँग पराजित भई राजनीतिबाट साइड लागेकी छन्। दुईचोटी लोकसभा चुनाव जितिसकेकी पुनमको पनि यसपालि टिकट चैट भएको छ।  

“मलाई मात्र नभन्नुहोला है,” वंशवादबारे निकै अघि सोधिएको एउटा प्रश्नको उत्तरमा राहुल गान्धी भन्छन्, “अखिलेश, स्टालिन, अनुराग इभन अभिषेक बच्चन पनि डायनास्ट हुन् है।”

पाइलट पेसा छाडेर सञ्जय गान्धीको चण्डाल चौकडीका रूपमा राजनीतिमा जमेका राजेश पाइलट केन्द्रमा मन्त्री भइसकेका थिए, कांग्रेसमा राजनीतिक भविष्य पनि उज्जवल नै देखिन्थ्यो। सडक दुर्घटनामा निधन भएपछि राजनीतिमा प्रवेश गरेका छोराले युवावयमै केन्द्रीय मन्त्री, राजस्थान प्रदेश कांग्रेसको अध्यक्ष, राजसंस्थानमा उपमुख्यमन्त्रीको जिम्मेवारी पाइसकेका छन्। अहिले केन्द्रमा महासचिव छन् भने चुनाव प्रचारमा प्रियंका गान्धीसँगसँगै देखिन्छन्।    

दक्षिणमा पनि वंशवाद 
अन्नादुरैले स्थापना गरेको डीएमकेको नेतृत्व सन् १९६९ मा एम करुणानिधीले सम्हालेयता यो पार्टी उनकै परिवारको नियन्त्रणमा छ। अहिले छोरा एमके स्टालिन तामिलनाडुको मुख्यमन्त्री छन्। तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनका छोरा उदयनिधी स्टालिन उनीपछि नेतृत्व गर्ने निश्चित जस्तै छ। करुणानिधीले सन् २००९ मा आफू मुख्यमन्त्री छँदा स्टालिनलाई उपमुख्यमन्त्री बनाएका थिए।

सन् २०१२ मा पञ्जाबको मुख्यमन्त्री भएपछि प्रकाशसिंह बादल मुख्यमन्त्री भएपछि सुखबिर बादल उपमुख्यमन्त्री भएका थिए। सुखबिर नै अहिले शिरोमणी अकाली दलका अध्यक्षसमेत हुन्। सुखवीरकी श्रीमती हरसिमरट कौर बादल सन् २००९ देखि भटिण्डाबाट लोकसभामा छिन्। सन् २०१४ देखि २०२० मा किसानसम्बद्ध विधेयकमा असहमति राखेर राजीनामा गर्नु अघिसम्म केन्द्रमा मोदी मन्त्रिमण्डलको सदस्य पनि । 

आन्ध्र प्रदेशबाट अलग तेलांगना राज्य बनाउन आन्दोलन गरेका के चन्द्रशेखर राव सन् २०१४ मा तेलांगना राज्य स्थापनापछि भएको चुनावमा स्वभाविक रूपमा चुनाव जिते, मुख्यमन्त्री भए। उनले छोरा केटी रामारावलाई उत्तराधिकारी बनाएका छन्। उनको पार्टी भारत राष्ट्र समिति (यसअघि तेलांगना राष्ट्र समिति) को प्रेसिडेन्टमा चन्द्रशेखर राव छन् भने चेयरपर्सन केटी रामाराव। काकाको सरकारमा रोज्जा मन्त्रालय चहार्दै बिताएका चन्द्रशेखरका भतिज टी हरीश राव केही महिनाअघि भएको चुनावमा बीआरएसको पराजयसँग एमएलएमा खुम्चिएका छन्।

कर्नाटकमा चारचोटी मुख्यमन्त्री भइसकेका भाजपा नेता बीएस येदुयेरप्पाले पोहोर विधानसभा चुनावअघि चुनावी राजनीतिबाट बिदा भएको घोषणा गरे, छोरा विजयेन्द्रलाई कर्नाटक भाजपाको अध्यक्ष बनाए। अर्का छोरा राघवेन्द्र लोकसभा सदस्य हुन्, जारी चुनावमा पनि भाजपाका उम्मेदवार छन्। प्रधानमन्त्री र मुख्यमन्त्री भएका एचडी देवगौडाका छोरा एचडी कुमारस्वामी पनि कर्नाटकका मुख्यमन्त्री भए। देवगौडालाई पाँचचोटी लोकसभा पुर्‍याउने हस्सान सिटबाट बहालवाला सांसद नाति प्रज्जवल रेवन्ना बलात्कार, यौन दुव्र्यवहारको आरोपमा फरार अभियुक्त हुन्। अर्का नाति निखिल कुमारस्वामी विधानसभामा छन्। एसआर बोम्मई र बसवराज बोम्मई बाउ–छोरा मुख्यमन्त्री बन्ने कर्नाटकको दोस्रो जोडा हो।   

वंशवादी राजनीतिको ‘राजधानी’ हरियाणा 
पञ्जाबबाट छुट्याई हरियाणा बनाइएदेखि नै यहाँको राजनीतिमा तीन लाल (देवीलाल, वंशीलाल र भजनलाल) को इर्दगिर्द घुम्यो। तीन परिवारको वर्चश्व कस्तो रह्यो भने जारी लोकसभा चुनावमा वंशीलाल र भजनलाल परिवारको कोही पनि चुनावी प्रतिस्पर्धामा नहुँदा ‘हेडलाइन’ बने। तीन लालबाहेक हुड्डा परिवार पनि कम्ता छैन। हरियाणालाई भारतमा वंशवाद राजनीतिको राजधानी भन्दा हुन्छ। 

देवीलालको परिवारका चार जनाले लोकसभा चुनाव प्रतिस्पर्धा गरिरहेकोमा तीन जना एउटै क्षेत्र हिसारमा भिडिरहेका छन्। यहाँ देवीलालका छोरा रणजीत सिंह चौटालालाई भाजपाले टिकट दिएको छ। देवीलालकै जेठो छोरा ओमप्रकाश चौटालाकी बुहारी नैना चौटाला (अजयकी श्रीमती) जननायक जनता पार्टी (जेजेपी) को उम्मेदवार छन्। देवीलालकै अर्का छोरा परताप सिंह चौटालकी बुहारी सुनैना चौटाला इण्डियन नेशनल लोकदलको उम्मेदवार छिन्। यहाँ भाजपाबाट आकांक्षी कुलदीप विश्नोइ र कांग्रेसबाट टिकटको दावेदार कुलदीपका दाजु चन्दरमोहनले टिकट नपाएपछि वंशीलालको परिवारमुक्त चुनाव हुन लागेको छ। 

सन् २००५ मा सुरेन्दर सिंह हेलिकप्टर दूर्घटनामा निधन भएपछि छोरी श्रुती चौधरी विरासत धान्न मैदानमा आइन्। उनले सन् २००९ को लोकसभा चुनाव कांग्रेसको टिकटमा जितिन्। सन् २०१४ र २०१९ लोकसभा चुनावमा पराजित श्रुतीलाई कांग्रेसले यसपालि  टिकट दिएन। ओमप्रकाश चौटालाका छोरा अभय आईएनएलडीको कुरुक्षेत्र उम्मेदवार छन्। 

पारिवारिक विरासतले हरियाणालाई कतिसम्म गाँजेको छ भने ओमप्रकाशका छोराद्वय अजय र अभयबीच विवाद चुलिएपछि इनेलोद चोइटिएको थियो। जेजेपी बनाएर सन् २०१९ को हरियाणा विधानसभा चुनावमा होमिएका दुष्यन्त (अजयका छोरा) ले ९० सदस्यीय सभाको १० सिट जित्न सफल भए, कसैको बहुमत नआएको विधानसभामा सबैभन्दा ठूलो दल भाजपाले जेजेपीसँग मिलेर सरकार  बनाएको थियो।

हरियाणामा तीन लाल परिवारको वर्चश्व बुझ्न विगतका केही घटनाक्रम हेरौं। सन् २००४ मा भजनलालका  छोरा कुलदीप विश्नोईले भिवानीमा वंशीलालका छोरा सुरेन्द्र सिंहलाई हराउँदा देवीलालका नाति अजय चौटाला तेस्रो स्थानमा चित्त बुझाउन बाध्य थिए। 

सन् १९८९ मा केन्द्रमै विश्वनाथ प्रताप सिंह सरकारमा उपमुख्यमन्त्री रहेका देवीलाललाई सन् १९९१, १९९६ र १९९८ मा हारको ह्याट्रिक चखाउने भुपिन्दरसिंह हुड्डाको परिवार पनि तीन लालभन्दा कम्तीको हैन। भुपिन्दरका बुवा रणवीर सिंह हुड्डा नै हरियाणा राज्य बन्नुअघि सन् १९५२ र १९५७, १९६२ को लोकसभा चुनाव जितेका थिए। केन्द्रीय मन्त्री पनि भए। छोरा भुपिन्दर तीनचोटी लोकसभा सदस्य जित्नुका साथै दुइचोटी  (२००५ र  २००९) मुख्यमन्त्री भइसकेका छन्। सन् २००५ मा भुपिन्दर मुख्यमन्त्री बनेपछि रिक्त रोहतक सिटमा उनका छोरा दीपेन्दरले जिते, अहिलेसम्म लगातार जितिरहेकै छन्। मोदी लहरले पनि रोहतकमा हुड्डा परिवारको जितलाई छेक्न सकेको छैन। बाउ हुड्डा सोनीपतबाट प्रतिस्पर्धा गरेका छन्। सन् २००५ मा मुख्यमन्त्री नदिइएपछि भजनलालले दुई वर्षपछि जनहीत कांग्रेस ज्वाइन गरे।

पाँचचोटी मुख्यमन्त्री बनेका ओमप्रकाश चौटाला र जेठा अजय शिक्षक भर्ती घोटालामा दोषी ठहर भई जेलसमेत गइसकेका छन्। दिल्ली हाइकोर्टले सन् २०१३ मा गरेको १० वर्ष जेलसजायलाई सर्वोच्चले दुई वर्षपछि तत्कालीन कार्यान्वयन  गर्न आदेश दिएपछि जेलमुक्त भएका हुन्। अदालतबाटै दोषी ठहर भइसके पनि परिवारिक राजनीति खासै प्रभावित भएको देखिँदैन। जसरी लालुप्रसाद चारा घोटालामा दोषी ठहर भई जेल सजायमै रहे पनि उनको पारिवारिक विरासत हल्लिएको छैन ।  

तीन लाल र हुड्डा परिवारको झैँ दबदबा नभए पनि हिसारमा छोटुरामको परिवार पनि प्रभावशाली छ। स्वतन्त्रता सेनानी तथा अविभाजित पञ्जाबका अगुवा किसान नेता छोटुरामका नाति वीरेन्दर सिंहले सन् १९८४ र १९८९ हिसारबाट जितेका थिए, अहिले छोरा बृजेन्द्र सिंह हिसारबाट लोकसभा सदस्य छन्। 

अविवाहित महिला, दलित–आदिवासी, आन्दोलनबाट उदाएका पनि परिवारवादी 
विवाहै नगरेका महिला नेतृ भएपछि त वंशवादको यस्तो राजनीति दुत्कारिने अपेक्षा गरिनहुन्थ्यो तर भएन। अविवाहित ममता बनर्जीले स्थापना गरेको तृणमूल कांग्रेस (टीएसी) मा भदा अभिषेक बनर्जी फुपूपछि प्रभावशाली नेता मानिन्छन्। दलित नेता काशीरामले सरकारी अधिकृत (आईएएस) बन्न गृहकार्य गरिरहेकी मायावतीलाई राजनीतिमा आउन उत्प्रेरित गरे, आफूले सार्वजनिक पद नलिई मायावतीलाई अघि सारे। 

मायावतीले चाहिँ केहीअघि भदा आकाश आनन्दलाई पहिला पार्टी (बहुजन समाज पार्टी)को राष्ट्रिय संयोजक अनि उत्तराधिकारी घोषणा गरिन्, कुनै राजा/महाराजाले आफ्नो उत्तराधिकारी घोषणा गरेजस्तै। लोकसभा चुनाव प्रचारमा आक्रामक भाषण गरिरहेका आकाशलाई उनले राष्ट्रिय संयोजक र उत्तराधिकारीबाट बेदखल गरेको घोषणा गरेकी छन्, नेतृत्वका लागि परिपक्व नभइसकेको भन्दै। अविवाहित जे जयललिताको निधन (सन् २०१६) पछि उत्तराधिकारीको रूपमा उनकै घनिष्ट शशीकला नटराजनले पार्टी र सरकारको नेतृत्व दाबी गरेकी थिइन्। भ्रष्टाचारमा दोषी ठहरिएका कारण उनले नेतृत्व गर्न भने पाइनन्।   

झारखण्ड मुक्ति मोर्चा गठन गरी अलग आदिवासीबहुल राज्यको आन्दोलनमा बिताएका सिबु सोरेनको माग सन् २००० मा आएर पूरा त भयो, मुख्यमन्त्री बनिहाल्न पाएनन्। पछि तीनचोटी मुख्यमन्त्री भए पनि उनको कार्यकाल १० दिन, १४३ दिन र १५२ दिनको रह्यो। अर्थात् तीनचोटी जोड्दा पनि वर्ष दिन पुग्न सकेन। तर उनको लगानीबाट उनका सन्तानले लाभांश पाए। 

छोरा हेमन्त सोरेन दुइचोटी मुख्यमन्त्री बनिसके। सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून लगाई मोदी सरकारले गत जनवरीमा जेलमा जाक्नुअघि उनले मुख्यमन्त्रीको रूपमा चार वर्ष पूरा गरिसकेका थिए। यसअघि सन् २०१४ मा पनि डेढ वर्ष मुख्यमन्त्री भएका थिए। भाइ वसन्त सोरेन झारखण्ड सरकारमा मन्त्री छन्। श्रीमती कल्पना मुर्मु सोरेन विधानसभा उपचुनावमा प्रत्याशी छन्। हेमन्तकी विधवा भाउजु सीता सोरेनलाई भाजपाले लोकसभाको टिकट दिएको छ। नरसिंह राव सरकारलाई विश्वासको मत दिन लेनदेन गरिएको त त्यही पैसामा हिस्सा मागेपछि पीएकै हत्या गरेको अभियोगमा जेलसजाय तोकिएका ८० वर्ष नाघेका शिबुचाहिँ राज्यसभा सदस्य छन्।

बंगलादेशी घुसपैठको विरोधमा छात्र आन्दोलनमार्फत उदाएर असम गण परिषद् गठन गरी ३३ वर्षको उमेरमा भारतकै सबैभन्दा युवा मुख्यमन्त्री (सन् १९८५) भएका प्रफुल्लकुमार मोहन्ता पहिलो कार्यकालमै आर्थिक मामिलामा काफी बदनाम भए। दोस्रो कार्यकाल (१९९६–२००१) का क्रममा श्रीमती जोयाश्री गोस्वामीलाई राज्यसभा सदस्य बनाए।

बाल ठाकरेले स्थापना गरेको पार्टीमा भतिजा राज ठाकरे दाबेदार सुनिन्थे। राजको बोल्ने शैली, आक्रामक तेवर बाल ठाकरेकै जस्तो थियो। अझ उनी पनि कार्टुनिष्ट नै थिए। तर छोरा उद्धवलाई नै उत्तराधिकारी बनाउने निधो गरी बाल ठाकरेले किनारा लगाइदिएपछि सन् २००६ मा राजले महाराष्ट्र नवनिर्माण सेना गठन गरे। उनले खासै चुनावी सफलता हासिल गरेका छैनन्। उद्धवले मुख्यमन्त्री रहँदा छोरा आदित्यलाई शक्तिशाली मन्त्री बनाई अघोषित उत्तराधिकारी बनाइसकेका छन्।

‘पुराना जति सब खराब, हामी स्वच्छ राजनीति गर्छौं’ भनेर आएको आम आदमी पार्टी (आप) पनि ‘उही ड्याङको  मूला’ देखिएको छ। मदिरा घोटालाको अनुसन्धानका क्रममा मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमा पुगेपछि राजनीतिमा सक्रिय नदेखिएकी उनकै श्रीमती सुनिता केजरीवाल दिल्लीमा आपको राजनीतिको केन्द्रमा देखिइन्। प्रेसलाई सम्बोधन गर्नेदेखि जारी लोकसभा चुनावको प्रचारमा श्रीमती केजरीवाललाई नै अघि सारियो। आपका एक से एक नेताहरू पनि ‘पाय लागु भाभीजी’ भन्दै निर्देशन माग्न उनको निवास पुगेको देखियो।

आफू प्रान्तमा मुख्यमन्त्री रहँदा श्रीमतीलाई लोकसभा/राज्यसभामार्फत केन्द्रमा पठाउने, उस्तै परे केन्द्रीय मन्त्रिमण्डलमा पार्ने हुटहुटी धेरैमा देखिन्छ। नेपालीभाषी नरबहादुर भण्डारी सिक्किमको मुख्यमन्त्री छँदा दिलकुमारी भण्डारी सन् १९८५ र १९९१ मा सिक्किमबाट लोकसभा सदस्य जितेकी थिइन्।

सन् २०१४ को लोकसभा चुनावमा जनता दल युनाइटेड (जदयु) बिहारबाट बढारिएपछि मुख्यमन्त्री नितिशकुमारले नैतिकताको आधारमा राजीनामा गरी महादलित भनिने मुसहर समुदायका जीतनराम माझीलाई ११ महिना मुख्यमन्त्रीको पगरी पहिर्‍याइदिएका थिए। तिनै माझीले पनि ज्वाइँ देवेन्द्र माझीलाई उत्तराधिकारी बनाएका छन्।  

महाराष्ट्रको पवार परिवारको राजनीतिक झगडा चुनावमा देखिँदैछ। महाराष्ट्रका पावरफुल नेता शरद पवारले लोकसभामा जित्दै आएको बारामती सिटमा सन् २००४ देखी छोरी सुप्रिया सुलेले जित्दै आएकी छन्। शरदले नै राज्यको राजनीतिमा अघि सार्दै आएका भतिजा अजित पवारले गत वर्ष परिवारमा विद्रोह गरी पार्टी फुटाएर भाजपा सम्मिलित सरकारमा उपमुख्यमन्त्री बनेका थिए। बारामती सिटमा सुप्रियाविरुद्ध भाजपा गठबन्धनको उम्मेदवारका रूपमा अजितकी श्रीमती सुनेत्रालाई उतारिएको छ– मुकाबिला भाउजु–नन्दबीच छ।

जनादेश इसबार का 
बनकर आया यक्ष 
धूल–धूसरित हो गए’  
वंशवादके वृक्ष

भनेर लेखेका त छन्, थुप्रै रियासतलाई विलय गराई बनेको भारतीय संघमा तिनै रियासतकै झझल्को दिनेगरी ‘राजवंश’ बढ्दै गएका छन्, वंशवाद झनझन फल्दै–फुल्दै गइरहेको छ।


सम्बन्धित सामग्री