Friday, October 11, 2024

-->

के हो भाइरल निमोनिया, कसरी जोगिन सकिन्छ?

वडाध्यक्ष मुकुन्द रिजाललाई शरीरमा अक्सिजन कम भएको शुरूमा महसुस भएन, सायद। भर्ना भइसकेपछि अक्सिजनको आवश्यकता बढ्न थाल्यो। अनि, एक्स-रे गर्दा निमोनिया भएको देखियो। त्यो भाइरल निमोनिया थियो।

के हो भाइरल निमोनिया कसरी जोगिन सकिन्छ

काठमाडौँ महानगरका वडाध्यक्ष मुकुन्द रिजालको दु:खद निधन भएको छ। मैले उहाँको जाँच गरेको होइन, तर स्वास्थ्य परीक्षणबारे जानकारी लिएको थिएँ। निमोनिया भएर उहाँको निधन भएको उपचार भएको अस्पताल ग्रान्डीले नै जनाइसकेको छ।

उहाँलाई पहिला साधारण ज्वरो आएको थियो। त्यसपछि शरीरमा असहज महसुस भएपछि अस्पताल जानुभएको रहेछ। साधारण जाँचका लागि जानुभएको उहाँ अक्सिजन घटेको कारण भर्ना हुनुभएछ। उहाँलाई भाइरल इन्फेक्सन भएको भन्ने कुरा आयो। राइनो भाइरस र इन्टेरो भाइरस संक्रमण भएको रहेछ। 

राइनो भाइरस भनेको राइनो एडिनो इन्फ्लुएन्जिया भाइरसजस्तै शुरूको भाइरस हो। यो भाइरसबाट हुने असर शरीरमा उस्तो महसुस हुँदैन, तर अक्सिजन कम भैराखेको हुन्छ। त्यस्तो अवस्थालाई 'ह्यापी अफोक्सिया' भनिन्छ। उहाँलाई यही भएको जस्तो लाग्छ।

उहाँलाई शरीरमा अक्सिजन कम भएको शुरूमा महसुस भएन सायद। भर्ना भैसकेपछि अक्सिजनको आवश्यकता बढ्न थाल्यो। अनि, एक्स–रे गर्दा निमोनिया भएको देखियो। त्यो भाइरल निमोनिया थियो।

फोक्सोमा संक्रमण भएपछि श्वासनली सुन्निन थाल्छ। फोक्सोको प्याराइक्रेन (हावा आवतजावत गर्ने नलीहरू) मा पनि असर गर्छ। प्याराइक्रेनमा निमोनिया बढ्दै गएपछि संक्रमण फैलिन्छ। निमोनिया त ब्याक्टेरिया पनि हुनसक्छ। भाइरसमा 'कमन' चाहिँ इन्फ्लुएन्जा, राइनो भाइरस, एडिनो भाइरसहरू हुन्। त्यस्तै, फंगल इन्फेक्सन वा फंगल निमोनिया हुनसक्छ। फंगस भनेको ढुसी हो। 

फोक्सोमा संक्रमण देखिसकेपछि शरीरका अन्य अंगमा पनि असर गर्न थाल्छ। भाइरल निमोनियापछि सेप्टिसेमिया हुन्छ। यो अवस्थामा फोक्सोका बाँकी भागमा निमोनिया संक्रमण बढ्ने हुँदा श्वास फेर्न अक्सिजनको आवश्यकता बढ्छ। त्यसका लागि भेन्टिलेटरमा राखिन्छ। भेन्टिलेटरमा शरीरका अन्य अंगहरू, जस्तो मिर्गौलामा असर गर्न थाल्छ। सेप्टिसेमियामा गएपछि रक्तचाप पनि घट्न थाल्छ। अनि, शरीरका अंगहरूमा रगतको  मात्रा कम पुग्न थाल्छ। मिर्गौलामा असर गर्ने हुनाले उहाँलाई डायलाइसिस पनि गरिएको रहेछ।

शरीरको रगतमै त्यो भाइरसको संक्रमण फैलियो। संक्रमण फैलिएर रक्तचाप घट्न थालेपछि त्यसलाई बढाउने औषधिहरू दिइयो। तर रक्तचाप फर्किएन र मुटुको चाल पनि घट्न थाल्यो। अनि, उहाँलाई 'सडन कार्डियाक एसिस्टोल' भएर मृत्यु भएको मैले थाहा पाएको हो।

यसरी निमोनियाले मान्छेको मृत्यु पनि हुनसक्छ। हामीलाई रुघाखोकी र ज्वरो आएको छ भने पनि हेलचेक्र्याइँ गर्नुहुँदैन। साधारणरूपमा लिएर छाड्न हुँदैन। चिकित्सकलाई जँचाउनु पर्छ। चिकित्सकको परामर्शपछि अक्सिजन पनि नाप्नुपर्छ। किनभने, कोभिड पनि 'रेस्पिरेटरी  भाइरस' नै हो। कोभिड संक्रमणमा पनि अक्सिजनको मात्रा घट्ने गर्छ।

कोभिड पीसीआर पोजिटिभ भएर मान्छेहरू घरमा आइसोलेसनमा बसे। त्यतिबेला कहिलेकाहीँ रिँगटा लाग्ने, शरीर कमजोरी हुने, गलेको जस्तो अनुभव हुने, खोकी नजाने भयो। हामीले बिरामीको अक्सिजन नाप्दा ८० सम्ममा झरिसकेको हुन्थ्यो। त्यसलाई 'ह्याप्पी हाइपोक्सिया' भनिन्छ। त्यसैले कोभिड होस् वा सामान्य रुघाखोकी अक्सिजन आफैँले नाप्नुपर्छ। अक्सिमिटर औषधि पसलमा किन्न पाइने हुँदा घरैमा राख्नुपर्छ। अक्सिजन कम भए तुरुन्तै एक्स–रे गर्नुपर्ने हुनाले अस्पताल गइहाल्नुपर्छ।

निमोनिया भयो भने त्यसले लक्षण देखाउँछ। जस्तो, शरीर एकदमै थाक्ने, कमजोरी महसुस हुने, खान मन नलाग्ने, चक्कर आउने, श्वास फेर्न कठिनाइ अनुभव हुने र श्वासप्रश्वासको गति बढ्ने हुन्छ। त्यसैले साधारणतया अन्दाज लगाउन सक्छौँ। तर सन्चो भैसक्यो भनेर हेलचेक्र्याइँ गर्ने बानी हुन्छ। पेलेरै अफिस, स्कुल जाने गर्छौं।

सामान्य रुघाखोकी लागेर ज्वरो आएको र ठीक भैहालेको पनि हुनसक्छ। धेरैलाई त भाइरल ज्वरो घरमै उपचार गरेर पनि ठीक हुन्छ। तर शरीरमा असहज अनुभव भयो भने जँचाउन जानुपर्छ। 

निमोनियाको प्रभाव व्यक्तिमा पनि भर पर्छ। कहिलेकाहीँ साधारण इन्फ्लुएन्जा रुघाखोकी भाइरसले पनि जटिल बनाइदिन्छ। वडाध्यक्ष रिजालजस्तै इन्फ्लुएन्जाबाटै  भेन्टिलेटरमा गएर मृत्यु भएका पनि धेरै हुन्छन्। युवा अवस्थामै मृत्यु भएका पनि धेरै छन्। रोग प्रतिरोधात्मक क्षमता व्यक्तिपिच्छे फरक हुन्छ। धूम्रपान र मद्यपान गर्नेलाई निमानियाले धेरै छिटो आक्रान्त गर्छ। दीर्घरोगी वा कुनै औषधिको खाइरहेको अवस्था छ, मिर्गौला रोगी हुनुहुन्छ, गर्भवती हुनुहुन्छ भने पनि निमोनियाले चाँडै असर गर्छ।

निमोनिया श्वासप्रश्वासबाट सर्ने रोग हो। कोरोना महामारीले हामीलाई धेरै सिकाएर गएको छ। महामारीपछि मास्क लगाएर हिँड्ने, भिडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, धूम्रपान तथा मद्यपानबाट टाढा बस्ने, स्वस्थ र सफा खानेकुरा खाने, आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नेलगायत कुरा सिकाएको छ। यसलाई ध्यान दिएमा कतिपय रोगबाट जोगिन सकिन्छ। 

दीर्घरोगी, गर्भवती र लामो समयसम्म औषधि प्रयोग गरिरहेका मान्छेहरूले भने भ्याक्सिन लगाएर पनि केही हदसम्म निमोनियाबाट बाँच्न सकिन्छ। निमोनियामा हामीले गरेको अध्ययनमा बालबालिका र दीर्घरोगी बढी संक्रमित भएको देखिन्छ। त्यस्तै धूम्रपान तथा मद्यपान गर्ने र भिडभाडमा बढी जाने भएको कारण महिलाभन्दा पुरुष बढी संक्रमित छन्। जोखिममा पनि पुरुष नै बढी छन्।

अहिले कोरोनाका बिरामीहरू न्यून संख्यामा फलोअपमा आइरहनु भएको छ। 'पोस्ट कोभिड सिड्रोम'हरू 'रिकभर' भइरहेको छ। कोभिड भएर दुईतीन महिना अक्सिजनमा बसेको इतिहास भएकाहरूको एक्स–रे गर्दा 'साइब्रेसिस सिन्ड्रोम'हरू रिकभर भएको देखिन्छ।

(त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. बमसँगको कुराकानीमा आधारित।)


सम्बन्धित सामग्री