Friday, May 03, 2024

-->

खस समाज र मस्टो परम्पराका केही सन्दर्भ

इतिहासका अभिलेख अध्ययन गर्दा मस्टो परम्परा हिन्दु, इस्लाम, क्रिस्चियन बौद्ध आदि परम्पराभन्दा अघिदेखि नै प्रचलनमा रहेको ठहर हुन्छ। यस हिसाबले प्राचीन मस्टो उपासक खसहरू हिन्दु थिएनन्।

खस समाज र मस्टो परम्पराका केही सन्दर्भ

धेरैअघिको कुरो हो। अहिले भारतमा पर्ने कुमाउँ राज्यमा एक राजा थिए। राजा र उनकी रानीबाट सन्तान नभएकोले उनीहरू निकै चिन्तित थिए। त्यतिबेला उनीहरूले अहिले कर्णालीको मुगु जिल्लाको थार्प गाउँमा रहेको थानमा पुजिने देउताका धामीले आफूकहाँ ल्याइएका जस्तासुकै समस्या पनि समाधान गरिदिने कुरा सुने। चिन्तित राजारानीले कुमाउँबाट थार्पतिरको लामो यात्रा शुरू गरे। राजारानीको दुर्भाग्य के भइदियो भने उनीहरू गाउँ आई पुग्दापुग्दै थार्प थानका धामीको मृत्यु भयो। यो घटनाले विह्वल बनेका राजारानीको हालत देखेर थार्प थानका देउताले धामीलाई थोरै समयका लागि प्राण हालिदिएर बिउँताए। राजारानीले आफ्नैअगाडि धामी जागेको देखेपछि खुशी भई देउताको गुणगान गाएर धामीलाई आफ्ना वेदना सुनाए। देउताले धामीको माध्यमबाट राजारानीको पुकारा सुने। धामीलाई नै माध्यम बनाएर देउताले राजारानीलाई सन्तान दिने बचन दिए र उनीहरूलाई निश्चिन्त भएर दरबार फर्किन भने। केही समयपछि राजारानीका सन्तान भए। 

माथि वर्णित कथा पश्चिम नेपालको विशेषगरी कर्णालीका गाउँघरमा बुढापाकाबाट सुन्न पाइन्छ। पश्चिम नेपालका पहाडी बस्तीमा यात्रा गर्दै गर्दा देउराली, बाटाघाटा र गाउँका छेउछाउमा ध्यानपूर्वक आँखा लगाउँदा रुखका पोथ्रा, हाँगा, घरका खम्बा वा काठको लिंगोमा रातासेता कपडाका धजा बाँधिएको देख्न सकिन्छ। यस्ता रातासेता धजा गाउँघरमा कतै छानामा घुसारिएका, कतै भाटामा बाँधेको र कतै घरआँगनमै झुन्डाइएको दृश्य देख्न सकिन्छ। कतै–कतै धजा सँगसँगै घन्टका झुप्पा झुन्डाइएका भेटिन्छन्। यस्ता दृश्यले हामी खस समाजको गाउँबस्ती र यसैको सेरोफेरोमा उभिएको संकेत गर्दछन्। खस समाज अर्थात् मस्टो देउता मान्ने र पुज्ने समुदाय।

मस्टोको उद्भव
खस समाजमा मस्टोलाई 'देउता' मान्छन्। यहाँ देउता भनेको हिन्दु धर्मअनुसार पुकारिने 'देवता' होइन। हिन्दु धर्मअनुसार वर्णन गरिएका देवता मानिसजस्तै सशरीर रूपमा देखिन्छन्। मानिसजस्तै जन्मिने, सन्तान उत्पादन गर्ने र मान्छेले जस्तै जीवन जिउँछन्। मठमन्दिर र भक्तका घरमा यी हिन्दु देवताका मूर्ति, तस्वीर या चित्र देख्न पाइन्छ। तर मस्टो देउताको भने हिन्दु देवताको जस्तो कुनै आकृति, मूर्ति, तस्बिर वा चित्र हुँदैन। देवता राखिने घरलाई मन्दिर भनिएजस्तै मस्टो पुजिने ठाउँलाई माँडु वा थान भनिन्छ र थान भित्र मन्दिरमा जस्तो मस्टोको कुनै मूर्ति वा तस्बिर हुँदैन। मस्टो देउताको रूप कस्तो छ भनेर कतै दृश्यांकन गरिएको छैन। 

यति हुँदाहुँदै पनि चाखलाग्दो कुरो के छ भने मस्टोका १२ भाइ र नौ दिदीबहिनी रहेको बताइन्छ। यसअनुसार प्रत्येक मस्टोको पहिलो नाम फरक-फरक हुन्छ र पछिल्लो नाम मस्टो नै हुन्छ। जस्तै बुडु मस्टो, जुम्लाको बुडु गाउँलेले पुज्ने मस्टो। थार्प मस्टो, मुगुको थार्प गाउँलेले पुज्ने मस्टो। यसरी नामकरण भएका मस्टोका पहिलो नामलाई केलाउँदा उक्त नाम मस्टो अवस्थित ठाउँको नाम वा मस्टो आस्थावान‍्को कल्पनामा मस्टोको स्वभाव बुझाउने अर्थ बोकेको पाइन्छ। यथार्थमा मस्टोका २१ दाजुभाइ दिदीबहिनीहरू उही एउटै मस्टोका अनुयायीहरूले गरेका स्थानिक सरलीकरण हुन् भनेर बुझ्न सकिन्छ। 


पुर्खादेखिको एउटै थर, गोत्र र वंशको समुदाय बुझाउन 'कुल' शब्द प्रयोग गरिन्छ। कुल प्रणालीअनुसार प्रत्येक परिवार कुनै न कुनै कुलको सदस्य हुन्छ। जस्तै: थापा कुल, शाही कुल, रावल कुल र कामी कुल आदि। प्राचीन समयमा प्रत्येक कुलले सामूहिक हिसाबमा वर्षका कुनै निश्चित दिनमा कुलका अदृश्य संरक्षकलाई कुलको भलाइका लागि पुकारा गर्ने गरे। कुनै काम राम्रो होस्, खेतीबाली होस्, सन्तान असल होउन्, घरमा आगो नलागोस्, वनमा कुनै विपत् आइनलागोस्, टाढाको यात्रामा कहीँकतै दुर्घटना नहोस्, शत्रुले बिगार नगरून् आदि विषयमा यसरी अदृश्य शक्तिलाई पुकार्ने गरिन्थ्यो। कालान्तरमा सबै कुलले यसरी मान्ने र पुकार्ने संरक्षकलाई नै मस्टो देउता भनियो। 

इतिहासका अभिलेखहरूलाई अध्ययन गर्दा मस्टो परम्परा हिन्दु, इस्लाम, क्रिस्चियन बौद्ध आदि परम्पराभन्दा अघिदेखि नै प्रचलनमा रहेको ठहर हुन्छ। यस हिसाबले प्राचीन मस्टो उपासक खसहरू हिन्दु थिएनन्। हिन्दुहरूले पछि मस्टो परम्परा अँगालेका हुन्। अहिले हिन्दु धर्मावलम्बीहरूले मस्टो परम्परा पनि अवलम्बन गरेको पाइन्छ। यो अभ्यास सांस्कृतिक अन्तरघुलनले गर्दा भएको हो।

धामी: देउता र मानिस बिचको सेतु
मस्टो पूजाको थिति बसेपछि कालान्तरमा मस्टो र मस्टो अनुयायीबीच दोहोरो सम्बन्ध स्थापित गर्न एउटा माध्यमको आवश्यकता भयो। यसैअनुसार जो व्यक्तिले अदृश्य मस्टो देउता र व्यक्तिबीच वार्तालाप गराउन सक्छ, त्यस्तो चामत्कारिक व्यक्तिलाई धामी पदवी दिइयो। यहाँनेर रोचक कुरा के छ भने संसारमा प्रचलित कैयौँ धामीझाँक्री परम्परामा धामी बन्नका लागि धामीगुरुसँग तन्त्रमन्त्र विद्या सिक्नु आवश्यक ठानिन्छ। तर मस्टो परम्परामा मस्टो देउताद्वारा नै निश्चित व्यक्तिलाई धामी तोक्ने बताइन्छ। यसरी निश्चित व्यक्तिलाई धामी तोकिएको जनाउ दिने कार्य मस्टोका माध्यम मानिने धामीबाटै हुन्छ। कुनै कुनै अवस्थामा मस्टोको 'अदृश्य संकेत'द्वारा पनि हुन्छ भन्ने मानिन्छ। जस्तै: मस्टो देउता कुनै व्यक्तिको सपनामा आई मस्टोले ठहर गरेका धामीलाई उसले पालन गर्नुपर्ने नियम र आचरण सिकाउँछन्, ती व्यक्तिले राम्ररी नियम पालन गरेमा देउताले उसलाई धामी बनाउँछन्। 

धामी र देउताधारण
धामीको दिनचर्या अरू साधारण व्यक्तिले बिताएझैँ नै बित्छ। तर उसले चोखीनीतिका विशेष नियम र जिम्मेवारी पालन गर्नुपर्ने हुन्छ। धामीले टुपी पाल्नुपर्ने, आहारबिहारमा ध्यान दिनुपर्ने र 'छोईछाइ नगर्ने'लगायतका अभ्यास पर्छन् र जिम्मेवारीमा थानको संरक्षण, खस समुदायका मानिसहरूको हेराइकोराइ (परामर्श) गर्ने आदि पर्छन्। धामीले चोखीनीतिका नियम पालन नगरे उसले देउताधारण गर्न सक्दैन भन्ने ठानिइन्छ। प्रस्ट के हुनुपर्छ भने धामी पद हो । धामी आफैँमा देउता होइन, अर्थात् धामीले सधैँ देउताधारण गरेको हुँदैन। मस्टो अनुयायीले देउतालाई समस्या सुनाउन चाहेर धामीलाई अनुरोध गरेमा धामीले देउता बसाल्ने निर्णय गर्छन्। यसअनुसार धामी घरकै चोखो ठाउँमा विशेष आसनमा बस्छन्। यस्तो आसन चोखो राडी वा यस्तै प्रयोजनमा मात्रै प्रयोग हुने ओछ्याउनी हुन्छ। 

आसनको अघिल्तिर चामल र घण्ट राखिन्छ। धूप बालिन्छ। त्यसपश्चात् धामीले मस्टो देउतालाई आइदिन पुकारा गर्छन्। जब देउता आएर धामीको शरीरमा प्रवेश गर्छन्, घुँडा भाँचेर टुक्रुक्क बसेका धामी पलेटी कस्छन्, बेस्सरी काँप्न थाल्छन्। धामीको मुखबाट देउता बोल्छन्। अब देउता र त्यहाँ उपस्थित व्यक्तिबीच वार्तालाप सुरु हुन्छ। समस्या भएका व्यक्तिले समाधान खोज्न आफ्ना कुरा धामीमार्फत देउतालाई सुनाउँछन्। कुरा सुनिसकेपछि देउताले समस्या समाधानको लागि धामीको मुखबाटै विधि सुनाउँछन्। सामान्य समस्या भए कुनै विधि नगरी धामीको शरीरमा प्रकट भएका देउताले दिएको चामलका गेडा ग्रहण गर्दा मात्र पनि समाधान हुन सक्छ। यी देउताले दिएका चामलका गेडालाई देउताका दाना भनिन्छ। यो सम्पूर्ण प्रक्रियालाई धमेलो गर्ने अथवा देउता बसाल्ने पनि भनिन्छ। 

धामीको व्यक्तित्व र आचरण 
धामीको सबैभन्दा प्रमुख विशेषता लामो लटा पारिएको टुप्पी धारण हो। कोही धामीको टुप्पी लगभग १ मिटर वा योभन्दा पनि लामो हुनसक्छ। कोही धामीले देउता हेराउन आएकाहरूले चढाएको चाँदी वा सुनको तारले टुप्पी बेरेका हुन्छन्। देउता बसेको बेलाबाहेक अघिपछि कुनै पनि धामीले टाउको मुडुलो राखी टुप्पी देखाउँदैनन्। टोपी वा फेटा बाँधेर टुप्पी लुकाउँछन्। धामीले प्रायजसो दौरा, सुरुवाल कोट र टोपीजस्ता परम्परागत पोसाक लगाउँछन्। आजभोलि सर्ट, पाइन्ट र टोपी लगाएको पनि देख्न सकिन्छ। धामीले चोखीनीति कायम राख्नुपर्ने भएकाले अशुद्ध मानिइने खानेकुरा खाँदैनन्। उनीहरूले सार्वजनिक रूपमा खाना खाने ठाउँहरूमा खाँदैनन्। धामीले मरेको शरीरलाई छुनु हुँदैन र १३औँ दिनसम्म मृतकको घरमा प्रवेश गर्नु हुँदैन भन्ने ठानिइन्छ। यसैगरी, महिनावारी भएको महिलालाई छुन हुँदैन र सुत्केरी भएर ११ दिन नपुगेको महिलाले छोएको खाना र पानी खाए देउता रिसाउँछन् र धामीलाई संकट आइलाग्छ भन्ने अन्धविश्वास पनि छँदैछ। यस्तो बेला धामीले  देउतालाई खुशी पार्न कडा परिश्रम गर्नुपर्छ र देवताले धामीलाई आदेश गरेअनुसार दण्ड तिर्नुपर्छ भन्ने गरिइन्छ। 

मस्टो देउताको पूजा गर्ने पर्व 
वर्षभर मुख्यतः तीन वटा अवसरमा मस्टो देउताको पूजा गर्ने गरिन्छ। ती हुन्, वैशाखे पूर्णिमा, साउने पूर्णिमा  र मंसिरे पूर्णिमा। ठाउँ विशेष र कुल विशेषमा देउता पुजिने पूर्णिमा माथि उल्लेख गरिएको भन्दा १ र २ महिना तलमाथि पर्ने गरेको पनि पाइन्छ। पूर्णिमाको दिनमा सम्बन्धित कुलका सबै परिवारका सदस्यहरू आफ्नो कुल देउताको थानमा भेला हुन्छन्। थाननजिक घर भएका परिवारका सबै सदस्य थानमा सहभागी हुन्छन्। टाढाको गाउँमा बसाइँ सरेका परिवारबाट अनिवार्य रूपमा परिवारको कम्तीमा एक व्यक्तिले घरपरिवारको प्रतिनिधित्व गर्छन्। देउता पुज्न धामीलाई सहयोग पुर्‍याउन उही कुलबाट देउताद्वारा चुनिएको पुजारी हुन्छन्। पुजारीले थानमा पूजा गर्न सबै तयारी गर्छन्। प्रत्येक थानमा मूल धामी र उनका अधीनस्थ अरू धामी पनि हुन्छन्। अघिल्ला दिनदेखि नै सबै धामी कडा व्रत बस्छन्। तर व्रतको अवधिबारे देउता पुज्ने पूर्णिमाको पूजा गर्ने ठाउँ र कुलअनुसार कति अघिदेखि व्रत बस्ने भन्नेबारे फरक चलन छन्। 

धमेलो 
कुनै व्यक्तिले धामीलाई भेट्ने र देउतालाई आफ्ना समस्या राखेर समाधानका उपाय पत्ता लगाउने सम्पूर्ण प्रक्रियालाई धमेलो भनिन्छ। वर्षमा ३ पटक माथि उल्लिखित पूर्णिमामा देउता पुज्ने समारोहको मुख्य आकर्षण धमेलो हो। पुजारीले थानभित्र देउताको पूजा गर्नेबित्तिकै तिनै पुजारीले देउतालाई धामीमा प्रवेश गर्न फलाकी-फलाकी बोलाउँछन्। यसरी पुजारीले पुकारा गरेर बोलाएपछि देउता धामीको शरीरमा चढ्नासाथ धामी थरी/कम्बलमा चढ्छन्। धामी अब आफ्नो सम्पूर्ण शरीर बेजोडले हल्लाउन थाल्छन्। शरीरमा देउता चढेकोले उनी काँप्न थाल्दछन्। यस अवस्थामा धामी अब सामान्य व्यक्ति रहँदैनन्। त्यसपछि धमेलो सुरु हुन्छ। 

सयौँको भीडबाट प्रत्येक देउता मान्ने व्यक्तिले पालैपालो केही चामल र भेटी लिएर धामीलाई दर्शन गर्न जान्छन् र थरीमा दाना राखेर धामीलाई ठूलो सम्मानसाथ अभिवादन गर्छन्। वास्तवमा यस घडीमा आगन्तुकले त्यो धामीलाई केहीबेर अघिका आफूजस्तै सामान्य व्यक्तिलाई भेटिरहेको ठान्दैनन्। उनले देउता भेटेको ठान्छन्। उनले धामीका रूपमा रहेका देउतासँग आवश्यक परामर्श गर्छन्। आफ्नो समस्या वा आफ्नो घरपरिवारमा लागेको रोगदोख सुनाउँछन्। उपाय वा समाधान माग्छन् । धामीले घरमा फर्केर केही विधि गर्न सल्लाह दिन्छन्। आगन्तुकले धामीबाट दाना प्राप्त गर्छन्। धामीले हस्तान्तरण गरेका यी चामलमा समस्या समाधान गर्ने, व्यक्ति र परिवारमा समृद्धि ल्याउने शक्ति हुन्छ भन्ने ठानिइन्छ। 

तसर्थ, सहभागीहरूले पूरै विश्वाससाथ आफ्नो घरमा देउताले दिएका दाना लैजान्छन्। परिवारका प्रत्येक सदस्यले आफूलाई परेको कुनै पनि समस्याबाट छुटकारा पाउनको लागि ती देउताका दाना खाने गर्छन्। यदि आगन्तुक आफैँ बिरामी छन् भने उनी धामीको नजिक पुग्छन्  र धामीको अगाडि झुक्छन्। धामीले व्यक्तिको ढाडमा हात राख्छन्, उसको लामो टुप्पीले उसलाई रक्षात्मक प्रहार गर्छन्, घण्टीले उसको पिठ्युँ ढकढकाउँछन् र बिरामीलाई चामलका केही दाना फुकेर तत्काल खान दिन्छन् । बिरामी मानिस कृतज्ञतापूर्वक आफू निको हुँदै छु भन्ने पूर्ण विश्वास लिएर फर्कन्छन्। 

धमेलोमा यो परामर्श दिनभर चल्छ र राति अबेरसम्म पनि पाहुनाको आवश्यकताअनुसार चल्छ। यहाँ धामीको शरीरमा बस्छन् भन्ने ठानिएका देउता र अनेक व्यक्तिबीच हुने कुराकानी सबैको लागि खुला नै हुन्छ। यसको मतलब प्रत्येक व्यक्तिले सुनाएका समस्या र धामीले दिएका समाधान सबैले सुन्न पाउँछन्। थानमा धमेलो सकिएपछि मुख्य धामी र अन्य सहयोगी धामीहरू मन्दिरको आँगनमा प्रवेश गर्छन् र दमाईंहरूले बजाएको चर्को बाजामा नाच्न थाल्दछन्। अन्य समुदायमा जस्तो खस समुदायका धामीले ढ्यांग्रो बजाउँदैनन्। बरु खस समाजकै दमाईं जातिका मानिसलाई देउता पूजामा आमन्त्रित गरिन्छ र तिनीहरूले दमाहा, झ्याली, सनाहीजस्ता बाजा बजाउँछन्। 


देउता र धामीको शक्ति देखाउन धामीहरूले आगोमाथि हिँड्ने, उम्लिएको खाना पकाउने तेलमा हात डुबाउने, चामलको दानालाई हत्केलाभित्र मिचेर खरानी बनाउने र आगोमा तताइएको तातो रातो पन्युलाई सिधै आगोबाट निकालेर चाट्नेजस्ता 'चमत्कारी' खेल प्रदर्शन गर्छन्। मस्टो देवताले थप रमाइलो गर्न चाहे मूल धामीले देउताका वाहन जगाउँछन्। वाहन भनेका मस्टो देउताका सहायक हुन्। मूल धामीले वाहन जगाउन चाहे व्यक्तिको शरीरमा चामलको दाना छर्कन्छन्। त्यसपछि धामीले छर्केका चामलका दाना लागेका भीडका व्यक्तिहरू मैदानबीच आउँछन् र उनीहरू जोससाथ काँप्न थाल्छन्। यति बेला 'वाहन जागेका' व्यक्तिलाई सामान्य व्यक्तिजस्तो मानवजन्य होस हुँदैन भन्ने गरिन्छ। 

अब वाहनहरू पनि दमाईंले बजाएको बाजाको धुनमा नाच्न थाल्छन्। तिनीहरू पनि आगोमाथि कुद्छन् र रातो बलिरहेको कोइलाहरू नाङ्गो खुट्टाले कुल्चेर धुलोपिठो पार्छन्। अन्तमा, धामीले फेरि एकपल्ट वाहन जागेका सबैमा चामलको दाना छर्कन्छन्, तिनीहरू सबै शान्त हुन्छन् र सामान्य अवस्थामा फर्किन्छन्। यसरी धमेलोको रमाइलो समाप्त हुन्छ। पूर्णिमा पूजा खस समाजमा गाउँसरहमा लाग्ने अन्य मेलापर्वजस्तै हो। धमेलो हेर्न गाउँ र छिमेकी गाउँका सबैजसो जम्मा हुन्छन्। महिलाहरूले रोटी, पुरी पकाउँछन् र देउता मान्न आएका पाहुनालाई पेटभरि खुवाउँछन्। माथि भनिएका तीन पूर्णिमाको अवसरमा मात्र नभई अन्य कुनै पनि दिनमा धामीसँग विशेष अनुरोध गरी देउता बसाल्ने र परामर्श गर्न सकिन्छ, संक्षिप्त प्रकारको धमेलो गर्न सकिन्छ।   

बली र भेटी
मस्टोको अस्तित्व एउटा मात्र भएको भनेर चित्रण गरिएको छ, अर्थात् मस्टो देउता एउटा मात्र छन्। तर चाखलाग्दो कुरा के छ भने मस्टो फरक फरक रूपमा मानिएका र पुजिएका छन्। माथि नै भनिसकियो कि फरक मस्टोका स्थानिक नाम अनुयायीहरूले मस्टोलाई अर्थाएका स्वभावजन्य हुन्। मस्टोलाई चढाइने वस्तुको आधारमा मस्टोका मुख्य गरी दुई रूप छन्: दाह्रे मस्टो र दुधे मस्टो। दाह्रेको शाब्दिक अर्थ हो तीखा र विशाल दाँत भएको। दाह्रे मस्टोले पशुपक्षीको रगतको बली स्वीकार गर्छन् भन्ने ठानिइन्छ। दुधे मस्टोले जिउँदो जनावरको बलि स्वीकार गर्दैनन् भन्ने मानिइन्छ। दुधेको अर्थ दूध मन पराउने भनेर बुझिन्छ। दाह्रे मस्टो र दुधे मस्टोका थान फरक–फरक ठाउँमा हुन्छन्। देउता पुज्ने पूर्णिमाका दिन दाह्रे मस्टोको थानमा सयौँ बाख्रा, बोका कुखुरा ल्याई देउतालाई बली चढाउने गरिन्छ। पुजारीले बाख्रा समात्छन्, घाँटीमा दाह्रा गाड्छन्, रगत चुस्छन् र देउतालाई चढाउँछन्। यस्तो खालको अभ्यासलाई अचेल जनावर अधिकारवादीहरूले अनुचित र अमानवीय भन्दै आलोचना गर्न थालेका छन्।

अर्काथरीले दूध वा दूधमा पकाएका खानेकुरा चढाएर दुधे मस्टो पुज्दछन्। 

गाउँबस्तीमा मस्टो देउतासँगै विभिन्न किसिमका दुष्ट आत्माको पनि अस्तित्व हुन्छ भन्ने मानिइन्छ। अर्थात् हिन्दु परम्परामा विपरीत शक्ति राक्षस भएजस्तै मस्टो परम्परामा देउताको विपरीत शक्ति भूतप्रेत आदि हुन्। उदाहरणका लागि, पहिरोमा परेर वा अग्लो डाँडाबाट भिरमा लडेर वा रुखबाट खसेर कुनै पुरुष वा महिलाको असामयिक मृत्यु भएमा तिनीको आत्माले मुक्ति पाउँदैन र तिनीहरूको आत्मा भूत, प्रेतको रूपमा भौँतारिइरहन्छ। भूत, प्रेतको दुष्ट प्रभाव परेमा मानिसलाई टाउको दुख्ने, शरीर दुख्ने जस्ता समस्या हुन्छन्। कुनै व्यक्तिलाई त्यस्तो शंका लागेमा देउता बसालेको बेला धामीले त्यस व्यक्तिलाई भूतप्रेतको दुष्ट प्रभाव परेको ठहर गरी धामीले भूतप्रेतलाई पिठो, कालो कपडाको धजा र पहेँलो अक्षता आदि बली दिन लगाउँछन्। यसरी भूतप्रेतको दुष्ट प्रभाव हट्छ। यसरी मसाने, भूत, प्रेतजस्ता दुष्ट आत्माहरूलाई धामीले यथोचित विधि गरेर पन्छाउन सक्छन् भन्ने विश्वास यस परम्परामा छ। 

धामी चयन र निरन्तरता
धामीको मृत्यु भएमा मस्टो देउताले अर्को धामी आफैँ रोज्छन् भन्ने मानिइन्छ। धामीको मृत्युपछि एक वर्षसम्म जुठो बारिन्छ र अर्को धामी चयन हुँदैन। एक वर्षपछि मस्टो देउताले उही कुलबाटै अर्को व्यक्तिलाई धामीको रूपमा रोज्ने बताइन्छ। प्रायजसो धामीकै जेठो छोरा रोजिन्छ, तर जेठो नै वा धामीकै घरपरिवारबाट नरोजिन पनि सक्छ, तर कुल भने दिवंगत धामीकै हुन्छ। 

मस्टो उपासक: खस
मूलतः खस जाति नै मस्टो उपासक हुन्। आधुनिक नेपालमा खस जाति खासमा कर्णाली क्षेत्रका मूल बासिन्दा हुन्। मूल रूपमा तिनीहरू गैरवैदिक आर्य जनजाति थिए। इतिहासको अध्ययन गर्दा तिनीहरू खासमा काकेसाइड हुन्। तिनीहरू मध्य एसिया (काकेशस) बाट पहिले मध्य हिमालयको भेगतिर बसाइँ सर्दै आइपुगेका थिए र त्यसपछि पूर्वतिर सरेका थिए। नेपालको खसान भेग अर्थात् खसको भूमि, इतिहासको कुनै समयमा सबैभन्दा ठूलो साम्राज्य थियो। तिब्बतको पश्चिमी भाग, कश्मीरसम्मको सम्पूर्ण पश्चिमी पहाडी भेग, पूर्वमा कालीगण्डकी नदी र दक्षिणमा तराईसम्म खस साम्राज्य फैलिएको थियो। हाल खसहरू गण्डकी पारिदेखि महाकाली वारिसम्म छरिएर बसेका छन् भने हालको कर्णाली प्रदेशको पहाडी भेगमा खसको बाक्लै बसोबास छ। 

मानवशास्त्री डोरबहादुर विष्ट खस जातिबारे सोध गर्नकै लागि नेपालको खसान भेग बसे। उनका अनुसार खस जाति नेपालको सबैभन्दा ठूलो जनजाति हो। खस जातिको आफ्नै भाषा छ, आफ्नै भौगोलिक प्रदेश छ, आफ्नै परम्परा छन्। खसले कुनै देवीदेवता पुज्दैनन् र बाहुनलाई पुरेत मान्दैनन्। विष्टले आफ्नो सोधपुस्तकमा लेखेका छन्, "आजकल खस जातिका मानिसहरू हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट, सल्यान, दैलेख, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र पश्चिम नेपालका अन्य पहाडी भेगमा बस्छन्। तिनीहरूका थर अधिकारी, ऐडी, बस्नेत, भण्डारी, विष्ट, बुढा, बोहरा, धामी, खड्का, महत, महतरा, राउत, रावल, रोकाय, थामी, थापा आदि हुन्छन्। खसहरूले आफ्नै जातिका धामी परम्पराका देउता पुज्छन्। यिनीहरूका देउता मस्टो हुन्। तर हिन्दु परम्पराका देवदेवी कुनै पनि पर्दैनन्। यिनीहरूले वैशाखे पूर्णे, साउने पूर्णे र मुंसिरे पूर्णेमा थानमा जम्मा भएर आफ्नो देउतालाई धामीको माध्यमबाट पुज्छन्।"

प्राचीन हिन्दु लिखतहरूमा काश्मीर र नेपालबीचको भागलाई खस र यहाँका बासिन्दालाई खस भनिएको छ। प्राचीन हिन्दु अभिलेखअनुसार किराँतहरू झैँ खसहरूलाई पनि गैरहिन्दु मानिएको छ। अहिले खस समाजमा पाइने बाहुन, क्षेत्री, दमाई, कामी भनिने थरहरू खासमा वैदिक हिन्दु जाति होइनन्। देवताको यज्ञ लगाएर वैदिक पूजा गर्ने बाहुन, क्षेत्री आदिका थरी र यिनै थरीसँग मिल्ने मस्टो देउता मान्ने खस समाजका थरीबीच खास भिन्नता छ। 

कर्णालीको खस समाजमा हिन्दु धर्म मान्नेहरूले मनाउने चाडबाड र हिन्दु आर्यहरूले गर्ने तीर्थ, व्रत, वैदिक पूजाआजा र यज्ञको चलन पछिल्लो समयमा देखासिकीले गर्दा चलनमा आएको हो। अहिले सांस्कृतिक अन्तरघुलनले गर्दा सबै छ्यासमिस भएकोले गैरहिन्दु खस र हिन्दु आर्य छुट्याउन अलमल परेको छ। अझ पछिल्ला समयमा दक्षिणबाट कट्टर हिन्दु धर्म र तिब्बतबाट बोन-बौद्ध धर्मको प्रभावले मस्टो संस्कृति र यसको अभ्यासलाई प्रभावित गरेको छ। हिन्दु र बौद्ध धर्मको प्रभावको बाबजुद खसहरूको मस्टो पूजन र धामीप्रथा एक महत्त्वपूर्ण मौलिक संस्कृति हो। आधुनिकीकरणका कारण पश्चिम नेपालमा धामी संस्कृति लोप हुने जोखिममा छ। तथापि खसहरूले देखाएको अनुकूलन क्षमताले खस समुदायको सामाजिक जीवनमा मस्टो परम्पराले अझै पनि गतिशील भूमिका खेलिराखेकै छ।


लेखक समाजशास्त्री हुन्।


सम्बन्धित सामग्री