Saturday, April 27, 2024

-->

ऐतिहासिक क्षेत्र रिडी कसरी बन्यो रूरू?

रूरू गाउँपालिकामा पर्ने रूरूधामलाई स्थानीय अहिले पनि रिडी नै भन्छन्। रिडी नाम मगरको बसोबास र भाषासँग जोडिएको छ। तर रूरू भने वराह पुराणसँग जोडिएको नाम हो। यहाँ हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्छ।

ऐतिहासिक क्षेत्र रिडी कसरी बन्यो रूरू
तस्वीर स्रोत: गुल्मी न्युज

कास्की– गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रूरूक्षेत्र धाममा हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्छ। हिन्दूहरूले मान्ने नेपालका प्रसिद्ध चार धाममध्ये रूरूक्षेत्र पनि भएकाले यो धामको विशेष महिमा छ।

माघे संक्रान्तिमा पितृको विशेष सम्झनामा यहाँ मगर समुदायले खिचडी र खसआर्य समुदायले जल चढाउने चलन छ। रिडी खोलाको पानीले नुहाए शुद्ध हुइने जनविश्वास पनि छ। माघेसंक्रान्ति मेलाका लागि यो क्षेत्रलाई सिंगारिन्छ। यो वर्ष पनि मेलाको अवसरमा भक्तजनको भिड लाग्न थालिसकेको छ र यो क्षेत्र गुल्जार भएको छ।

२०७३ फागुन २७ गते गुल्मीका ६ गाविस मिलाएर रूरू गाउँपालिका घोषणा गरिएको थियो। २०७४ सालमा पहिलो स्थानीय तह निर्वाचनको लगभग एक वर्षपछि रूरूक्षेत्र गाउँपालिका नामकरण गरियो। रूरूक्षेत्र पौराणिक कथासँग सम्बन्धित नाम हो। प्राचीन कालमा देवदत्त ऋषिकी पुत्री रूरू कन्याले तपस्या गरेको पौराणिक कथासँग रूरूक्षेत्र धामको नाम जोडिएको छ। वराह पुराणमा उल्लेख भएको कथासार यस्तो छः

जब रूरू कन्याको अव्यर्थ तपबाट प्रसन्न भएर भगवान हृषीकेशले उनलाई वर माग्न भन्नुभयो, ती रूरू (मृग) द्वारा पालित कन्याले आफ्ना लागि केही मागिनन्। बरु उनले सारा संसारको उपकार र कल्याणका लागि दुई वटा वर मागिन् र भनिन्, “हे भगवान! हजुर आजदेखि उपरान्त सम्पूर्ण भक्तहरूको कल्याणका लागि चतुर्बाहु रूपले सदा सर्वदा यो क्षेत्रमा विराजमान हुनुहोस्, साथै यो क्षेत्र मेरो नामबाट रूरूक्षेत्रका रूपमा दिग्दिगन्त अनन्तकालसम्म विख्यात होस्।” 

भगवानले उनको इच्छानुसार यी दुईटै वर दिनुभयो र भन्नुभयो, “हे कन्ये! तिम्रो यो क्षेत्रमा जसले तीन दिन गण्डकी स्नान गरेर व्रत–उपवास बसी मेरो दर्शन–पूजन गर्छ, त्यो जानी–नजानी गरेका ब्रह्महत्यादि ठूला पापहरूबाट पनि मुक्त हुन्छ र पूतात्मा बन्दछ,” वराह पुराणमा भगवान् वराह भन्नुहुन्छ, “यति भनेर भगवान् हृषीकेश (विष्णु त्यहीँ अन्तध्र्यान हुनुभो। उता ती रूरूकन्या पनि भगवान्को वरदानअनुसार तीर्थकै रूप बनेर रहिन्। यसरी हे पृथ्वी! मैले तिमीलाई रूरूक्षेत्रको यो प्रसिद्ध गाथा र यो उत्तम रूरूमाहात्म्यश्रवण गराएँ।” (हाम्रो पुरुषार्थ ‘रूरूक्षेत्र विशेषांक’—कृष्ण ज्ञवाली, पृ. १८६)।

बुद्ध धर्मको जातक कथामा पनि रूरूको उल्लेख पाइन्छ। बुद्धले रूरू मृगका रूपमा पुनर्जन्म पाएर लोककल्याणका काम गरेका थिए। तर यो कथा अहिलेको रूरू क्षेत्रसँग सम्बन्धित होकि होइन भन्ने निश्चित छैन।

जनबोलीमा ‘रिडी’
जनबोलीमा अहिले रूरू नभई रिडी नाम नै चल्तीमा छ। पाल्पाबाट गुल्मी प्रवेश गरेपछि पुगिने बजारको होर्डिङ बोर्डमा रिडी नै लेखिएको छ। स्थानीयहरू अहिले पनि रूरू मेला होइन रिडी मेला भन्छन्। सरकारी कागजातहरूमा रूरूलाई अधिंकाश ठाउँमा रिडी उल्लेख गरिएको पाइन्छ। रिडी खोला हाइड्रोपावर, रिडी बहुमुखी क्याम्पस यसका थप उदाहरण हुन्।

रूरू नाम पौराणिक भए पनि रिडीको नाता इतिहाससँग छ। कुनै समय रिडीमा मगरहरूले बसोबास गरेको र उनीहरूले नै रिडी नामकरण गरेको इतिहासकारहरूको भनाइ छ। नेपाल मगर संघमा क्रियाशील अध्येता बमकुमारी बुढा मगर रिडी नदीको नामबाट यस क्षेत्रको नामकरण गरिएको बताउँछिन्। उनका अनुसार पश्चिम अठार मगरातमा ‘रि’को अर्थ पानी हुन्छ। त्यस्तै, पूर्व बाह्र मगरातमा पानीलाई ‘डि’ भनिन्छ।

तस्वीर: किसन पाण्डे/उकालो


मगर भाषामा भेगीय भिन्नता छ। एक ठाउँमा एउटा अर्थ लाग्ने शब्द अर्को ठाउँमा भिन्दै अर्थ लाग्छ। अठार र बाह्र मगरातको सीमारेखा रिडीबाटै छुट्टिने भएकाले पनि रिडी मगर भाषाबाट राखिएको बमकुमारीको भनाइ छ।

पौराणिक कथामा उल्लेख भएको देवदत्त ऋषिकी छोरीको नाम रूरू पनि मगर भाषाबाटै राखिएको हो। “रिडी र रूरू दुवैको अलग अलग अर्थ छ। रूरू भनेको मानिस जम्मा हुने ठाउँ हो,” उनले भनिन्। 

मगर भाषामा ठाउँअनुसार विविधता छ। इतिहासका जानकार मीनप्रसाद ज्ञवाली पनि रूरू पौराणिक र रिडी मगर भाषाको नाम भएको बताउँछन्। “रिडी भनेको मगर भाषाको नाम हो र अहिले पनि यही नाम प्रचलित छ,” उनी भन्छन्।

अलौकिक कुरालाई इतिहासले विश्वास नगर्ने उनको भनाइ छ। रिडीको इतिहास राजा मणिमुकुन्द सेनसँग जोडिने उनी बताउँछन्। पाल्पाली राजा मणिमुकुन्द सेनले पाल्पापट्टीको भागमा ५०० वर्षअघि ऋषिकेशको मन्दिर बनाएका थिए। 

ज्ञवालीका अनुसार १५औँ शताब्दीमा मणिमुकुन्द सेन नुहाउन नदीमा पस्दा एउटा ढुंगामा ठोक्किए। ठोक्किएको ढुंगा छाम्दा मान्छेको आकृति भेटियो। उनले उचाल्न खोजे पनि सकेनन्। सिपाही लगाउँदा पनि निकाल्न सम्भव भएन। राति सपनामा भगवानले उनलाई भनेछन्, “त्यो मेरो मूर्ति हो, तिमीले मलाई मन्दिर बनाएर स्थापना गराएर राख्नू।” 


त्यही कारण मणिमुकुन्द सेनले त्यहाँ मन्दिर बनाएको जनविश्वास भएको ज्ञवाली बताउँछन्। सेनवंशी राजाको पालामा रिडीमा धेरै मठमन्दिरका संरचना बनेको पाइन्छ।
मणिमुकुन्द सेनको पालाअगाडिबाटै रिडी नाम प्रचलनमा आइसकेको ज्ञवाली बताउँछन्। परापूर्वकालबाटै कालिगण्डकीलाई पवित्र नदी मानिएको र रिडी पनि परापूर्वकालबाटै चलेको उनको भनाइ छ।

रिडी मगरात क्षेत्रमा पर्छ।। माघे संक्रान्तिमा मगरहरूले पितृलाई खिचडी चढाउनुका साथै आफ्नो भेषभुषासहित नाच प्रदर्शन गर्छन्। रिडी खोला पारि कालीपारे नाच नाचिन्छ। मगरहरूको बढी बस्ती भएको ठाउँ कालिपार स्याङ्जामा पर्छ।

संस्कृतिविद् डा. मीन श्रीस गुल्मीमा मगर भाषा नबोलिए पनि अधिकांश नाम मगर भाषाबाटै राखिएको बताउँछन्। तर रिडी आसपास भने मगर भाषा बोलिन्छ। रिडीबाट पश्चिमतिर खाम भाषा र रिडीबाट पूर्वतिर ढुट बोलिन्छ। उनका अनुसार मगर भाषामा रिको अर्थ बेतजस्तो बाँसको प्रकार पनि हुने र खोलाको नजिक बेत बाँस भएकाले रिडी भन्न थालिएको जनश्रुति छ।

बग्दै जाँदा विभिन्न रूपमा परिणत हुने कालिगण्डकी नदी भारत पुग्दा गंगामा मिसिन्छ। यसको मुहान मुस्ताङमा छ र मुक्तिनाथ भएर बग्दै आउँछ। ब्राह्मण समुदाय पढ्नका लागि बनारस जाने चलन थियो। त्यसो हुँद रिडीको प्रचार भारतमा भएको र विभिन्न किम्बदन्तीबाट ठाउँको नामकरण गरिएको श्रीस बताउँछन्।

यहाँ कतिपय मगरहरूले पितृको र कसैले कुलायन पूजा गर्छन्। रिडीमा मगरहरूले मौलिक परम्पराअनुसार पितृलाई खोलामा गएर पानी चढाउने चलन पनि रहेको उनको भनाइ छ। काठमाडौँमा लिच्छिवी शासन हुँदा त्यसको उत्तराद्र्धमा इतिहासमा मगर गण्डी वा मग्गर विषय भनेर भेटिने उनी बताउँछन्।

राणाकालमा यो क्षेत्रलाई मगरात भनिने पनि श्रीसले बताए। “मेरो बाजे मुखिया हुनुहुन्थ्यो। मेरो जिजुबाजेको कागजपत्र भेटिएको छ, ३३ सालमा श्री मगर गुरुङ वंशावली भनेर दिल्लीमा छापिएको रहेछ,” उनी भन्छन्, “हाम्रो बाजेले काठमाडौँमा बुझाएको करमा श्री मगरात गुल्मीका फलाना फलाना भनेर बाजेको विवरण लेखिएको छ।”
राणाकालमै मगरात राज्य लेखिए पनि पञ्चायतपछि भने मगरात लेख्न छोडिएको उनले बताए।

इतिहासविद् एमएस थापा मगरले गुल्मी र पाल्पा मगर क्षेत्र भएकाले पनि मगर भाषाबाट रिडी नाम राखिएको बताउँछन्। रिडीमाथि असारे र कालिपारमा मगर समुदायको बसोबास छ। “पछि रूरू भनेर आर्यकरण भयो। गाउँपालिकाको नाम संस्कृतिकरण भएका छन्। त्यो चलन भारतमा पनि चलेको छ,” उनी भन्छन्, “दिल्लीको नजिकको नाम गुणगाउँ थियो। अहिले गुरुगाउँ भने। संस्कृतिलाई अतिक्रमण गर्ने काम भइरहेको छ।”

प्राडा केशरजंग बराल सिधै मगर भाषाबाट राखिएको नामहरू अतिक्रमित हुँदै आएको बताउँछन्। पाल्पा तानसेन पनि तानसिङबाट अपभ्रंश हुँदै बनेको उनको भनाइ छ। त्यसैले रिडीलाई पनि परिवर्तन गरेर रूरू बनाइएको उनी बताउँछन्।


सम्बन्धित सामग्री