Sunday, April 28, 2024

-->

सिर्फ एक बन्दा काफी है
नाबालिग बलात्कारी बाबाविरुद्धको मुद्दा जिताउने ‘बन्दा’

प्रतिवादी पक्षका वकिल बालिकालाई बालिग भएको प्रमाणित गर्ने प्रयासमा लाग्छन्। उनीहरूले स्कुल भर्ना हुँदाको कागजात पेश गर्छन्। तर वादी पक्षका वकिल सोलंकीले ६ वर्ष मुद्दा लडेर बाबालाई जेल पठाएरै छाड्छन्।

नाबालिग बलात्कारी बाबाविरुद्धको मुद्दा जिताउने ‘बन्दा’
तस्वीर : theredsparrow.in

सन् २०१३ को एक रात तीन व्यक्ति कमलानगर थाना, दिल्ली छिर्छन्। एक पुरुष र दुई महिला छन्। उनीहरूमध्येकी किशोरी प्रहरीसामु केही लेख्दै छिन्। यसैबीच प्रहरी इन्चार्ज र वरिष्ठ अधिकारीबीच मेसेज आदानप्रदान हुन्छ,

"सर, केस हाई प्रोफाइल छ।"

"क्राइम?"

"रेप अफ माइनर"

"पोक्सो"

ती अधिकारीले स्वास्थ्य परीक्षणपछि 'अफआईआर' दर्ता गर्न निर्देशन दिन्छन्। यसैबीच पीडित प्रहरी थानामा आइपुगेको सूचना चुहिन्छ र थानाबाहिर पत्रकारको भिड जम्मा हुन्छ।

महिला प्रहरीले किशोरीलाई स्वास्थ्य परीक्षणका लागि जानुपर्ने बताउँदै सलले मुख ढाक्न आग्रह गर्छिन्। किशोरी दोधारको स्थितिमा बुवाआमाको अनुहार हेर्छिन्। बुवाले ढाक्ने संकेत गरेपछि सलले मुख ढाकेर बाहिर निस्किँदै गर्दा ती किशोरीले आफ्नो परिचय सार्वजनिक गर्छिन्-

"मेरो नाम नुर सिंह हो। मेरो उमेर १६ वर्ष। म बाबाको छिन्डवडा आश्रमको स्कुलमा पढ्छु। एक दिन अचानक मेरो स्वास्थ्यमा समस्या देखिन्छ। आश्रमकी साधिका मिनाले ममा भूतप्रेतको प्रभाव रहेको बताउँछिन्। यसको निवारणका लागि बाबालाई भेट्न सुझाउँछिन्। वार्डेनले कुराकानी भइसक्यो भनेर बाबाकहाँ पठाउँछन्। बाबाले मेरो प्राइभेट पार्टमा टच गरे। यसले मलाई अन्त्यतै पीडा भयो। म त्रस्त थिएँ।"

ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि लाँदै गरेको दृश्यको फ्रेम बाबाको आश्रममा पुगेर खुल्छ, जहाँ सयौँको संख्यामा उपस्थित आफ्ना भक्तहरूलाई उपदेश दिन्छन्, "मनको जेलबाट मुक्त हुनु नै मानवजीवनको परमउद्देश्य हो," बाबा अगाडि भन्छन्, "यस्तो परिस्थिति उत्पन्न नहोस् जसले यहाँको शान्ति भंग होस्।"

तर त्यति नै बेला प्रहरीको टोली उनको आश्रम प्रवेश गर्छ। प्रहरीलाई छिटोभन्दा छिटो बाबालाई समात्नु छ। भिड जम्मा भएपछि उत्पन्न हुने परिस्थितिले सबै योजना बिथोल्नुभन्दा पहिला प्रहरीले बाबालाई समात्न चाहछन्।

प्रहरीले आफूलाई समात्न लागेपछि बाबाले भिडलाई उक्साउने उद्देश्य राख्दै भन्छन्, "यी सबै कुरा बहुत होसियारीपूर्वक बनाइएको हो। यसका पछाडि ठूलाठूला मानिसहरू लागेका छन्। एक पटक जेल जाँदा के हुन्छ? एउटा नयाँ अनुभव मिल्ला नि।"

यतिकैमा प्रहरीले उनलाई समातेर गाडीमा हालेर लैजान्छ। बाबाको गिरफ्तारीबाट उग्र बनेका शुभेच्छुकलाई रोक्न जोधपुरमा कर्फ्यु लगाइन्छ।

टेलिभिजनमा जोधपुरमा कर्फ्यु लागेको, भक्तहरूको भनाइ उद्धृत् गर्दै बाबालाई फसाइएको खबर आइरहँदा वकिल पीसी सोलंकी बिहानी पूजामा व्यस्त छन्। उनी अदालत पुग्छन् जहाँ ती बाबालाई पनि उपस्थित गराइन्छ। बाबाका भक्तहरूको भिड छिचोली नसक्नु छ। बाबामाथि न्यायाधीशले 'सेक्सन ७/८ अफ द प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सिफ एक्ट २०१२' (पोक्सो)सहित कैयौँ यौन दुर्व्यवहारसम्बन्धी कानूनी धारा लगाउँछन्। उनले बाबालाई सोध्छन्, "गिल्टी अर नट गिल्टी?"

बाबाको दाबी हुन्छ, "नट गिल्टी। म निर्दोष छु।"

सरकारी वकिलले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा अभियुक्त अपराधमा संलग्न देखिने दलिल पेस गर्दै १५ दिन प्रहरी हिरासतमा राख्न पाउनुपर्ने माग गर्छन्। प्रतिरक्षामा उत्रिएका वकिलले उल्टै प्रहरीको अनुसन्धान र दिल्ली प्रहरीले बाबामाथि लिएको उजुरीमाथि सवाल उठाउँछन्। तर न्यायाधीशले १५ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिन्छन्। 

अदालती प्रक्रिया चलिरहँदा जब सरकारी वकिल नै आर्थिक लेनदेनमा लागेको भेद खुल्छ तब पीडितका बुवाआमामाथि आशंका उत्पन्न हुन्छ। उनीहरूले प्रहरीलाई सबै विवरण सुनाएपछि प्रहरीले नै एक वकिलकहाँ पठाउँछन्। ती कोही नभएर उनै पीसी सोलंकी हुन्छन्। पोक्सोबारे जानकार उनले तीन जनासँग एकएक गरी सोधपुछ गर्छन्। त्यसपछि बालिकालाई भन्छन्, "हौसला राख्नुपर्छ छोरी। के थाहा अदालतमा के के सोध्छन्।"

मुद्दाको सुनुवाइ अगाडि बढ्छ। प्रतिवादी पक्षका वकिल बालिका माइनर (नाबालिग) नभई मेजर (बालिग) थिइन् भन्ने प्रमाणित गर्न भरमग्दुर प्रयत्नमा लाग्छन्। प्रमाणका रूपमा स्कुल भर्ना हुँदाताकाको कागजात पेश गर्दै जुबिनाइल र पोक्सो चार्ज हटाउन माग गर्छन्। तर सोलंकीले उनी माइनर भएको कागजात र कानूनी आधार पेस गर्छन्।

ती शक्तिशाली बाबाविरुद्ध मुद्दा लडेर बालिकालाई न्याय दिलाउने सोलंकीबाट प्रेरित फिल्म ‘सिर्फ एक बन्दा काफी है’को कहानी यसरी नै अगाडि बढेको छ। उनले ६ वर्षसम्म मुद्दा लडेर ती बालिकालाई न्याय दिलाउन गरेको संघर्ष फिल्ममा देखाइएको छ। सत्य घटनालाई आधार बनाएर जी स्टुडियो र विनोद भानुशाली स्टुडियोको सहलगानीमा निर्माण गरिएको फिल्मको निर्देशन अपूर्व सिंह कार्कीले गरेका हुन्।

आशाराम बापुको अपराधमा फिल्म
यो फिल्ममा पीसी सोलंकीको भूमिकामा मनोज बाजपेयी छन्। किशोरी नुरका रूपमा अद्रिजा सिन्हा, बाबाको भूमिकामा सूर्यामोहन कुल श्रेष्ठ, विपक्षी वकिलका रूपमा विपिन शर्मालगायत कलाकारले अभिनय गरेका छन्। फिल्मलाई सन् २०१३ देखि २०१८ बीचमा फ्रेम गरिएको हो। यही समयमा भारतीय धर्मगुरु आशाराम बापुमाथि नाबालिग बलात्कार मुद्दा चलेको थियो। उनी दोषी ठहर भई आजीवन कारबासको सजाय पाएका थिए।

फिल्म अभियुक्तविरुद्ध लागेको दुष्कर्मको आरोपमाथिको सुनुवाइमा केन्द्रित देखिन्छ। साक्षीको हत्यादेखि अभियोगलाई कमजोर पार्न दिइएको प्रलोभन तथा धम्कीबारे पनि देखाइएको छ। फिल्म धेरैजसो अदालतको बहसमा केन्द्रित छ।

फिल्ममा मुख्यगरी विपक्षीतर्फका वकिलले बालिकालाई ‘बालिग’ ठहर्‍याउन कसरी अनेकन् नक्कली प्रमाण खडा गरेका थिए र बालिकाका तर्फबाट मुद्दा लडिरहेका वकिल सोलंकीले ती खडा गरिएका प्रमाण कसरी धुजाधुजा पारेर बाबालाई जेल पुर्‍याए भन्ने प्रसंगहरू छन्।

बीबीसीले उल्लेख गरेअनुसार भारतमा पोक्सो कानून अस्तित्वमा आएपछिको फिल्मले आधार बनाएको वास्तविक घटना सबैभन्दा हाईप्रोफाइल मुद्दा थियो। यसमा कथित सन्त आशाराम बापुविरुद्ध नाबालिग बलात्कारलगायतका आरोप लगाइएको थियो। यो मुद्दामा पीसी सिलंकीले पीडितका तर्फबाट बहसपैरवी गरेका थिए। करिब ६ वर्ष नै सुनुवाइ चलेपछि आशारामलाई दोषी ठहर गरिएको थियो।

आशारामका तर्फबाट भारतका चर्चित कानून व्यवसायी राम जेठमलानी, सुब्रमण्यम स्वामी, मुकुल रोहतगी, केटीएस तुलसी, सिद्धार्थ लुथरालगायतले बहस गरेका थिए। यसका बाबजुद पीसी सोलंकीले बजबुतीसँग मुद्दा लडेर पीडितलाई न्याय दिलाउन सफल भए।

आशाराम यति शक्तिशाली थिए कि उनको चरणस्पर्श गर्नका लागि भारतका प्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री गभर्नरलगायत उच्च ओहोदाका व्यक्तिहरू लालायित हुन्थे। उनका प्रवचन सुन्न मरिहत्ते गर्थे। यस्ता व्यक्ति जो नाबालिगमाथि कुकर्मको आरोपमा जेलमा पर्छन् र सजायबाट बच्न आफू नपुंसक भएको दाबी गर्छन्। जेलभित्र पनि जेलरलगायतका व्यक्तिलाई भस्म गर्दिने धम्की दिन्थे।

आशाराम बापुको उदय
सन् १९४७ मा भारत–पाकिस्तान विभाजनअघि सिन्धमा एक बालक आफ्नो परिवारका साथ बस्थे। पाकिस्तान र भारत छुट्टिएपछि उनीहरू भारतको गुजरातको अहमदाबादमा आएर बस्न थाल्छन्। परिवार गरिब थियो, रोजीरोटीका लागि उनका बुवा दाउरा तथा कोइला बेच्ने काम गर्थे। ती युवकको नाम थियो आसूमल सिरूमलानी।

तिनै बालक पछि गए आशाराम बापुबाट परिचित भए। उनले औपचारिक रूपमा ४ कक्षाभन्दा अगाडिको पढाइ गरेनन्। १५ वर्षको हुँदासम्ममा खराब संगतमा लागेर गुजरातमा रक्सीको तस्करी थाले। रक्सीको तस्करीकै क्रममा उनको भेट गुजरातका त्यतिबेलाका नामी महाराजसँग भयो। उनका साथमा केही समय बिताएपछि आफ्नो अलग बाटो समाते।

भक्तिमार्ग समातेका उनले सन् १९७२ मा पहिलोपटक अहमदाबादबाट १० किलोमिटर टाढा रहेको मोटेरा गाउँमा आश्रम बनाए। त्यसपछि उनको आश्रमसँगै नामको पनि चर्चा चुलियो। उनी आसूमलबाट आसूराम हुँदै आशाराम बन्दा भक्तहरूले आशाराम बापुका नामले बोलाउन थाले। उनी यति चर्चित बन्छन् कि पूरै देशका नेताहरू तथा मन्त्री किन नहुन्, आशारामको आश्रम धाउँथे।

आशारामले केही वर्षको अन्तरालमै ४०० भन्दा बढी आश्रम, १७ सय बाल संस्कार केन्द्र, ५० बोर्डिङ स्कुल, ३० भन्दा बढी गुरुकुल, १४ सय जति अनेक समिति, हजारभन्दा बढी अन्य केन्द्रहरूसहितको साम्राज्य खडा गरेका थिए। हजारौँ एकड जमिन कब्जा गरेर ती संस्थाहरू खडा गरेको उनीमाथि आरोप थियो। यो अवधिमा उनका करोडौँको संख्या शिष्य तथा भक्त थिए।

आशाराम बापु। तस्वीर : prabhasakshi.com

एकपछि अर्को कुकृत्य
भारतीय सञ्चारमाध्यमलाई आधार मान्दा आशारामले सन् २००८ सम्ममा ३६ वर्षको अवधिमा १० हजार करोड भारुको सम्पत्ति जोडेका थिए। यसैबीच सन् २००८ मा उनले शुरूआतमा खोलेको आश्रममा दुई शिष्यको मृत्यु भएपछि विवादमा तानिए। उनीहरूको शव आश्रम नजिकैको साबरमती नदीमा भेटिएको थियो। उनीहरूमाथि जादुटुनाका क्रममा ज्यान गएको बताइएको थियो। त्यतिबेला गुजरातमा नरेन्द्र मोदीको सरकारको थियो। यो मामिलालाई छानबिन गर्न मोदी सरकारले न्यायाधीश डीके त्रिवेदी नेतृत्वको कमिसन बनाएको थियो।

यो कमिसनले शिष्यको मृत्यु भएको मामिलामा आशाराम र उनका छोरा नारायण साईलाई सफाइ दिएको थियो भने आश्रम प्रशासनलाई दोषी ठहर गरेको थियो। त्यसपछि मध्यप्रदेशको छिनवाडामा रहेको आशारामको गुरुकुलमा पनि यस्तै घटना दोहोरियो। यस्ता घटनामा प्रहरीले अनुसन्धान गरे पनि आशाराम राजनीतिक सम्बन्धका कारण उम्किने गर्थे।

भक्तहरूमा उनको प्रभाव यस्तो थियो कि सन् २०१० जुनमा एउटा मिडियाले 'स्ट्रिङ अप्रेसन' गरेर आशारामको वास्तविकता उजार गर्दा पनि कुनै असर परेन। तर सन् २०१२ मा उनका आश्रममा पढ्दै आएका, ११ र १२ को परीक्षा दिने तयारीमा रहेका करिब ६०० किशोरी आश्रम छाडेर भागेको रिपोर्ट बाहिरियो। कोही आ–आफ्नो घर पुग्छन् भने कोही बेपत्ता हुन्छन्।

घरमा पुगेका किशोरीहरूले आफ्ना परिवारका सदस्यहरूलाई आश्रममा आफूहरूमाथि ज्यादती भएको गुनासो गर्छन्। त्यसपछि आशारामका आश्रमहरूमाथि आशंका व्यक्त गर्दै मिडियाहरूले खबर प्रसारण गर्न थाल्छन्। 

विवादमै घेरिरहेका बेला सन् २०१३ मा हरिद्वारमा आशारामको एउटा प्रवचन कार्यक्रम हुन्छ, त्यहाँ मध्यप्रदेशको छिनवाडामा पढ्ने बालिकाहरूलाई लगिन्छ। त्यहाँ आशारामको नजर एक बालिकामाथि पर्छ। उनले सेविका शिल्पीलाई ती बालिकालाई आफ्नो सेवाका लागि पठाउन भन्छन्। आशारामले बोलाएको थाहा पाउँदा ती बालिका अत्यन्त खुशी थिइन्। उनका बुवाआमा पनि आशारामलाई भगवानका रूपमा पुज्थे। उनको परिवार आशारामको यस्तो अन्धभक्त थिए कि ऋणै लिएर आफ्नो शहरमा आशारामको आश्रम बनाएका थिए।

बुवाले ती बालिकासहित आफ्ना तीनमध्ये दुई छोराछोरीलाई आशारामका गुरुकुलमा पढ्न पठाएका थिए। उनको ट्रान्सपोर्टको व्यवसाय थियो र आफ्नो कमाइको हिस्सा आशाराम ट्रस्टलाई दान गर्थे। तर यस्ता भक्तकी छोरीमाथि आशारामको कुविचार पलाएको थियो।

शुरूमा भेट्न बोलाउँदा अत्यन्त कृतज्ञ देखिएकी बालिका आशारामसँगको भेटेपछि बिरक्तिन थालिन्। आशाराम भने ती बालिकाप्रति यति मुग्ध भइसकेका थिए कि, उनलाई मनाउन आफ्नो विश्वासपात्र सेविका शिल्पीलाई हरिद्वारको आश्रमबाट मध्यप्रदेशको छिनवाडा गुरुकुलमा पठाउँछन्। ती बालिकामाथि कुविचार राखेका आशारामले शिल्पीलाई फोन गरेर दबाब दिन्छन्।

यता जोधपुरस्थित आफ्नो आश्रममा २०१३ अगस्ट ९, १० र ११ मा तीन दिनको कार्यक्रमको आयोजना गर्न अह्राउँछन्। यसबीचमा शिल्पीले ती बालिकालाई भूतप्रेतको प्रभाव परेको र बाबालाई भेट्नुपर्ने भन्दै आशारामकहाँ पठाउने जुक्ति निकाल्छिन्। तर बालिकाले अस्वीकार गरेपछि उनका बुबाआमालाई फोन गरेर बालिकामाथि भूतप्रेतको प्रभाव परेको र उनलाई बाबाकहाँ लानुपर्ने बताउँछिन्। बुवाआमाले नै बालिका लिएर जोधपुर पुग्छन्।

आशाराम आफ्नो तीनदिने प्रवचन सकेर जोधपुरमै बालिकाको प्रतीक्षामा हुन्छन्, भक्तहरू उनी बसेको फार्म हाउसलाई एकान्त कुटियाका भन्थे। त्यहाँ बिजुली बत्ती थिएन। अन्य अतिरिक्त वस्तुहरू केही पनि थिएनन्। केबल एउटा खाट मात्र थियो।

तीनै जनालाई आशारामले अह्राएका मानिसहरूले उनको फार्म हाउसमा पुर्‍याउँछन्। उनीहरूलाई पहिलो दिन यतिकै राखिन्छ। दोस्रो दिन आशारामले तीनै जनालाई भेटेर बालिकाको उपचार भोलिपल्ट गर्ने आश्वासन दिन्छन्। अगस्ट १५ का दिन दिउँसो बालिकाको उपचारको प्रक्रिया शुरू गर्छन्।

शुरूआतमा आशारामले बुवाआमाका सामु नै बालिकालाई मन्त्र भन्दै फुकफाक गर्छन्। तर त्यसपछि उनले बालिकामाथि भूतप्रेतको प्रभाव गहिरो रहेको र एक्लै उपचार गरेर समाधान निकाल्नुपर्ने बताउँछन्। उनले बालिकालाई एकान्त कुटियामा लिएर जान्छन्।

पहिला त बुवाआमा बालिकालाई एक्लै आशारामसँग जान दिन मान्दैनन्। तर उनीहरूलाई आशारामका सेवकहरूले आश्वस्त पारेपछि छोरीलाई पठाउन राजी हुन्छन्। केहीबेरपछि बालिका बाहिर निस्किन्छिन्। त्यसदिन त्यहीँ बसेर भोलिपल्ट उनीहरू जोधपुरबाट घर फर्किन्छिन्। तर आशारामको कुटियाबाट निस्केपछि बालिका चुपचाप हुन्छिन्।

अगस्ट १८ का दिन बालिकाले आमासामु आफूमाथि भएको आपत् बताउँछिन्। उनीहरू यसबारेमा आशारामसँग नै कुराकानी गर्ने भन्दै अघिल्लो प्रवचन हुने स्थान दिल्ली पुग्छन्। आशारामले दिल्लीको रामलीला मैदानमा प्रवचन दिने कार्यक्रम थियो। त्यहाँ पुगेर घण्टौँ प्रतीक्षा गर्दा, पटक–पटक अनुनयविनय गर्दा पनि आशारामलाई भेट्न दिइँदैन। बरु उल्टै उनका सेवकले प्रवचनस्थलबाट भगाइदिन्छन्। अगस्ट २० को राति उनीहरू कमलानगर प्रहरी थानामा रिपोर्ट दर्ता गर्न पुग्छन्। एजेन्सीको सहयोगमा।


सम्बन्धित सामग्री