Tuesday, April 30, 2024

-->

इतिहास
राणाकालका क्रान्तिकारी पण्डित

असनमा पुराण वाचन गरेर समसामयिक राजनीतिक चेतना जागरण गर्ने पण्डित मुरलीधरलाई शुक्रराज शास्त्रीसँगै पक्राउ गरिएको थियो। केही समयमा जेलबाट छुटेपछि मुरलीधर बनारसतिर निर्वासित भएका थिए।

राणाकालका क्रान्तिकारी पण्डित

राणाहरूको हुकुमी शासनको उकुसमुकुसबाट मुक्तिका खातिर गोप्य रूपमा राजनीतिक गतिविधिहरू सञ्चालन भइरहेका थिए। राणाविरुद्ध मुख खोलेरै विरोध गर्न नसकेकाहरू पनि भित्रभित्रै मुर्मुरिँदै थिए। राणाविरुद्ध अन्तिम प्रहारको तयारी भइरहेको थियो।

राणाविरोधी क्रियाकलाप सतहमा देखिन थाल्यो। शुक्रराज शास्त्रीले इन्द्रचोकमा गरेको भाषण, उनले बोलिसक्नासाथ गंगालालले गरेको राणाविरोधी अर्को भाषण राणाहरूको निमित्त ठूलै चुनौतीका रूपमा देखा पर्‍यो। यसरी शुक्रराज शास्त्री र गंगालाललाई भाषण गर्ने माहोल बनाइदिने व्यक्ति चाहिँ तत्कालिन चर्चित पण्डित मुरलीधर भट्टराई थिए।

शुक्रराज शास्त्रीले भारतमा महात्मा गान्धी र सुभासचन्द्र बोसलाई भेटेर फर्केपछि नेपाली भाषा प्रकाशिनी समितिबाट उनको जागिर खोसियो। राणाहरूले उनलाई आफ्नै घरमा नजरबन्दमा राखे। त्यसबेला उनको आर्थिक अवस्था निक्कै नाजुक हुन पुगेको थियो, साथै स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको थियो।

त्यसैले आफ्नो आर्थिक तथा स्वास्थ्य अवस्थालाई दर्शाउँदै शुक्रराजले राणाहरूलाई ‘यदि, अनुमति पाए कलकत्ता गएर आफ्नो रोगको औषधोपचार पनि गराउने र पेट पनि भर्ने मौका पाउने थिएँ। मानिसले मानिसको जस्तो व्यवहार गरियोस्, त्यो पनि कमसेकम भगवानको लागि’ भन्दै निवेदन दिएका थिए। तर राणाहरूबाट उनले सोचेजस्तो जवाफ पाएनन्। जसले गर्दा नागरिक अधिकार समितिको तर्फबाट अध्यक्षको हैसियतले भाषण गरी नजरबन्द तोड्ने निर्णय गरे (डा. राजेश गौतम, ‘नेपालको प्रजातान्त्रिक आन्दोनलमा नेपाल प्रजा परिषद्को भूमिका’ भाग १–२०६२ः७८)

नेपाली भाषा प्रकाशिनी समितिको पहिलेको नाम ‘गोरखा भाषा प्रकाशिनी समिति’ थियो। समितिको रेखदेख पहिले सरदार राममणिले गर्दै गरेकोमा उनी हटेपछि त्यहाँका ‘असिस्टेन्ट डाइरेक्टर’ केशरबहादुरले नेतृत्व गरे। पछि, जुद्धशमशेरले मृगेन्द्रशमशेरसँग बुझेर बालकृष्ण समलाई त्यहाँको जिम्मेवारी दिएका थिए। त्यसैबेला समितिको कार्यालयमा आएर शुक्रराज शास्त्री समितिमा खाली रहेको ‘मास्टर’ पद या अर्को कुनै जागिर पाउन बराबर कुरा गर्थे। उनैले सरदार राममणिको समयको ‘सुपरिटेन्डेन्ट’को सट्टा नेपाली भाषाअनुसारको अध्यक्ष पद बालकृष्ण समका लागि सुहाउँदो हुने कुरा पनि गर्थे। 

मृगेन्द्रशमशेरले शुक्रराज शास्त्रीको प्रस्ताव स्वीकृत गरे। शुक्रराजले नै गोरखा भाषा प्रकाशिनी समितिको नाम समय सुहाउँदो नेपाली भाषा प्रकाशिनी समिति राख्न उचित भएको प्रस्ताव राख्दा त्यो पनि स्वीकृत भयो (बालकृष्ण सम, ‘मेरो कविताको आराधन’–२०५४ः३५०)

तर भारतमा महात्मा गान्धी र सुभासचन्द्र बोसलाई भेटेर आएपछि शुक्रराज शास्त्रीको जागिर खोसियो, उनी नजरबन्दमा परे। नजरबन्दबाट मुक्तिका लागि इन्द्रचोकमा भाषण गर्दा देशको राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रका विषयमा बोल्दै राणा सरकार र व्यवस्थाको आलोचना गरे। गंगालालले पनि राणाहरूको विरोधमा जोशिलो भाषण गरे। यस घटनाको भोलिपल्टै शुक्रराज पक्राउ परे। अर्को दिन उनलाई तीन वर्षको जेल सजाय तोकियो। उनीसँगै असनमा पुराण भनी जनचेतनाको प्रचार गरेको अभियोगमा पण्डित मुरलीप्रसाद उपाध्यायलाई पनि जेल हालियो। उनी केही समयपछि छुटे र बनारस गई बसे (गौतम, २०६२ः७९)

पण्डित मुरलीप्रसाद उपाध्याय। तस्वीर स्रोत: छोरा विश्वबल्लभ

शुक्रराज शास्त्रीले इन्द्रचोकमा १९९५ मंसिर ११ गते शनिबार भाषण गरेका थिए। एक घण्टा जतिको भाषणमा उनले गीता विषयक व्याख्या पनि गरेका थिए। यसको भोलिपल्ट उनलाई ‘कमान्डर इन चिफ’को गारतले पक्राउ गरेर सिंहदरबारमा लगी थुनिए। मंसिर १५ गते बुधबार साँझ ५ बजे नेल ठोकी उनलाई जेल हालिएको ‘नयराज पन्तको डायरी’मा उल्लेख छ (महेशराज पन्त, ‘राजधानी’ दैनिक वर्ष १२, अंक २३०–२०६९ माघ १५ः७)

शुक्रराज शास्त्रीसँगै असनमा पुराण वाचन गर्दा पण्डित मुरलीधर उपाध्यय (भट्टराई) पनि जेल परे। पन्तको डायरीअनुसार त्यो समयका प्रसिद्ध पुराणवाचक पण्डित भट्टराई १९९५ मंसिर १२ गते पक्राउ परेका थिए। उनको पुराणवाचन प्रभावकारी थियो।

असनमा उनले भनेको कथा सुन्न आउने मानिसहरूको जहिले पनि भिड लागिरहन्थ्यो। एक रात कवि सिद्धिचरण श्रेष्ठ र उनका साथीहरू मुरलीधरको कथा वाचन सुन्न गएका थिए। गुलाफी पेच (हल्का व्यंग्य)का साथ अन्यायको विरोध गर्नु पनि एउटा ठूलो धर्म भएको उनले बताए। कथा सिद्धिएपछि गंगालाल आफू बसेको ठाउँबाट जुरुक्क उठेर कथावाचक (पण्डित मुरली)लाई अभिवादन गर्न पुगेका थिए (सिद्धिचरण श्रेष्ठ, ‘सिद्धचरणका जेल संस्मरण’–२०५२ः४१)

यसरी पुराण वाचन गरेर समसामयिक राजनीतिक चेतना जागरण गर्ने पण्डित मुरलीधर शुक्रराज शास्त्रीसँगै पक्राउ परेका थिए। केही समय जेल बसेर छुटेपछि उनी बनारसतिर निर्वासित भएका थिए।

१९९४ सालमा शुक्रराज शास्त्रीले असनबाट महाबौद्ध जाने गल्लीमा रहेको राजलाल कलवारको घरमा स्थापना गरेको ‘नेपाल नागरिक अधिकार समिति’मा पण्डित मुरलीधर पनि सदस्य थिए। समितिमा राजलाल कलवार, केदारमान व्यथित, आनन्दराज, शंकरप्रसाद शर्मा र गंगालाल श्रेष्ठ सदस्य थिए (गौतम, २०६२ः७१)।

मुरलीको जासुसीमा नायव बडागुरुज्यू
बनारस निर्वासनमा रहेका पण्डित मुरलिधरको गतिविधि नियाल्न राणाहरूले उनको पछाडि जासुस लगाएका थिए। त्यसबेला पटनाबाट छापिने जनता साप्ताहिकले नेपालका राणाविरुद्धका लेख तथा समाचारहरू प्रकाशित गरेर राणाहरूको मथिंगल खराब बनाएको  थियो। जनता साप्ताहिकका सम्पादक रामवृक्ष बेनीपुरीसँग नेपाल प्रजा परिषद्का तर्फबाट दशरथ चन्दले सम्पर्क बढाएका थिए। 

जनतामा सन् १९३८ जुन २० (१९९५ असार)मा ‘नेपालमें राणाओंद्वारा जनताका शोषण’ शीर्षकमा १९९० सालको महाभूकम्पबाट पीडित जनतालाई दिएको ऋण असुल गर्ने राणा सरकारले अपनाएको अन्याय, अत्याचारपूर्ण व्यवहार र नीतिबारे लेखिएको थियो (गौतम, २०६२ः७५)

यसरी जनता साप्ताहिकमा धमाधम राणाविरोधी लेखहरू प्रकाशित भएपछि राणा सरकार आफ्नै प्रयासबाट लेखकहरूको नाम पत्ता लगाउने प्रयास गर्न थाल्यो। तर सफल हुन सकेन। त्यसपछि, प्रधानमन्त्री जुद्धशमशेरका छोरा बहादुरशमशेर आफैँ पटना गई जनता साप्ताहिकका सम्पादक रामवृक्ष बेनीपुरीलाई ५० हजार रूपैयाँ घुस दिने प्रलोभन देखाई आफ्नो पक्षमा पार्ने असफल प्रयाससमेत गरेका थिए (गौतम, २०६२ः७७)

यस पत्रिकामा लेख्ने वा समाचार प्रकाशन गर्ने नेपालीहरूबारे जान्न र बारम्बार खबर लिन राणाहरूले ‘भिक्षुक’ उपनामका व्यक्तिलाई खटाएका थिए। उनको खास नाम बटुकप्रसाद उपाध्यय भट्टराई हो। उनले बनारसमा निर्वासित पण्डित मुरलीधरबारे जासुसी गरेर राणाहरूलाई खबर गर्ने गरेका थिए।

उनले तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरलाई पठाएको पत्रमा बनारसमा जवाहरलाल नेहरू आएको बेला उनीसँग पण्डित मुरली र काशीबहादुर (उदय पत्रिकाको सम्पादक) दुई जनाले नेपाली समुदायको तर्फबाट भेट गरेको र आधा घण्टासम्म ‘नेपालमा कांग्रेसले हस्तक्षेप गरोस्’ भनी अनुरोध गरेको उल्लेख गरेका छन्। कांग्रेसको सम्मेलनमा पण्डित मुरली र अन्य केही नेपालीले प्रतिनिधित्त्व गरी नेपालको विषयमा प्रस्ताव राख्ने प्रयाससमेत गरिरहेको उनले पत्रमा उल्लेख गरेका छन्। यदि, प्रधानमन्त्रीले आफूलाई विश्वास गर्ने भए पण्डित मुरलीलाई ब्रिटिश कानून लगाएर भए पनि गिरफ्तार गराउनलगायत अन्य पाँच प्रस्ताव फत्ते गराउन पर्याप्त खर्चको माग पनि गरेका छन् (गौतम, २०६२ः परिशिष्ट नम्बर ५ः५–६)

राणाको जासुसले जासुसी गरेका विषय खुल्ने केही पत्रहरू इतिहासकार दिनेशराज पन्तले ‘वि.सं. १९९५ को नेपालको राजनीति विषयका केही अप्रकाशित पत्र’ शीर्षकमा प्रकाशनमा ल्याएका छन् (‘पूर्णिमा’ पूर्णांक ७५–मंसिर २०४५ः२०–४०)

यी पत्रहरूअनुसार त्यसबेला राणा सरकारले ती भिक्षुक उपनामका बटुकप्रसाद उपाध्यय भट्टराईलाई जासुसका रूपमा खटाएका थिए नै, यसैगरी तत्कालीन नायव बडागुरुज्यू हेमराज शर्मा (पाण्डे) र टेकराज (गुरुज्यू खलककै सदस्य) आदि पनि खटिएका थिए। उनीहरूले बनारसमा रहेर पण्डित मुरली र जनता पत्रिकामा लेख्नेहरूबारे जुद्धशमशेरलाई जाहेर गर्ने गरेका थिए।

नायव बडागुरुज्यू हेमराज पाण्डेले पठाएको एक पत्रअनुसार त्यसबेला शंकरशमशेरले उनीहरूलाई सुवर्ण तुला दानका लागि बनारस बोलाएको बुझिन्छ (पन्त, २०४५ः२०)। यहीँ सन्दर्भमा जासुसको रूपमा काम गर्ने भिक्षुक पनि सिमराबाट बिदा भई कलकत्ता आइपुगेको हेमराजले जाहेर गरेका छन्। 

यस्तै, अर्को पत्रमा हेमराजले पण्डित मुरलीको बारेमा उल्लेख गरेका छन्। पत्रमा हेमराज पाण्डेले लेखेका छन्, “सुवर्ण तुलाको द्रव्य लिन आएका ब्राह्मणलाई त्यहाँ नजाऊँ भनी मुरलीले हटकतैमा झन् त्यसको असर केही पर्न सक्थ्यो। ठाउँ र मौका नपरी कुनै कुरा ठीक हुनसक्दैन। हेर हेर तिमीहरूले पाउन लाएकोमा नजाऊ भनी हट्किदिने कस्तो खराप मानिस अगी भनी कोही मानिसद्वारा काशिमा कुरा उठाउन पनि लगाएको छु। मुरली सारै खराप मानिस हो भनी भिक्षुकले अघिबाटै जाहरे पनि गरेको हुँ। ञैले त बनारसमा बाइसिकल चढेर यताउति गई दौढी वक्तृत्ता दिने पो भएछ।” 

अर्को पत्रमा नेपालीहरूले जवाहरलाल नेहरू बनारस आउँदा उनीसँग भेट गरेको विषयमा तथा जनता पत्रिकामा लेख लेखाउने व्यक्तिका बारेमा पनि हेमराजले जुद्धशमशेरलाई जाहेर गरेका छन्। पत्रमा भनिएको छ, “जवाहरलाल नेहरू बनारसमा आएको बेला नेपालीहरूले भेट गरी हाम्रो नेपालमा पनि यस्तो यस्तो छ कांग्रेसबाट ख्याल रही हाम्रो नेपालको पनि सुधार हो भनी कुरा गरेमा हाँसेर हुन्छ भनी जवाहरलाल नेहरूले भनेको सुनेको कुरा गुरुराज भोगेन्द्रराजका छोरा टेकराजले लेखी पठाएका थिए, यस्तो लेख लगाउने नेपाली बनारसमै वा कलकत्तामै यो मानिस छ। मुरली पनि यसमा सामेल थिए भन्ने सुनिएको छ। आज कार्यालयमा को को गएका थिए बुझ्न लगाउँछु” भन्ने उल्लेख छ (पन्त, २०४५ः३६)

पुनः जेल चलान र सजाय
राणाशासकविरुद्ध भूमिगत रूपमा राजनीतिक संगठनका रूपमा नेपाल प्रजा परिषद्् स्थापना भएपछि यसले आफ्नो गतिविधि गर्न शुरू गर्‍यो। राणाविरुद्ध काठमाडौँमा पर्चा छरियो। १९९७ असार ९ गते काठमाडौँको गणेशस्थान, नरदेवी, क्षेत्रपाटी, भेडासिंह, इन्द्रचोक, जुद्धसडक, रणमुक्तेश्वर, धरहरा, भोसिको, महाबौद्ध, भोटाहिटी, कमलाक्षी,, कमलपोखरी, डिल्लीबजार, ज्ञानेश्वर, नक्साल, मालीगाउँ, बानेश्वर, भक्तपुर, पाटन, जावलाखेल आदि ठाउँमा पर्चा  छरिएको थियो (गौतम, २०६२ः९८)

प्रजा परिषद्ले चार पटकसम्म यस्तो पर्चा छर्ने काम गर्‍यो।

पर्चा काण्डपछि राणा सरकारले नेपाल प्रजा परिषद्का सदस्य भएको आशंकामा यसअघि समातेर छाडिएका आर्यसमाजी, मलामी गुठी, नेपाल नागरिक अधिकार समिति एवम् अन्य धार्मिक तथा सामाजिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई १९९७ असोज अन्तिम साताबाट गिरफ्तार गर्न थालियो। यसैक्रममा अभि नागरिक अधिकार समितिको अगुवाईमा काठमाडौँमा कार्यक्रम सञ्चालन गर्दा गिरफ्तार भई पछि छुटेका पण्डित मुरलीधर र उनले पोलेका व्यक्तिहरूलाई पनि राणा सरकारले गिरफ्तार गर्‍यो (गौतम, २०६२ः११८–११९)

उनलाई पक्राउ गरेर सिंहदरबारको पालभित्र राखिएको थियो। सिद्धिचरण श्रेष्ठलाई राखिएको दुईचार पाल पर्तिर उनलाई राखिएको थियो। उनी संस्कृतका विद्वान थिए। असनमा उनले भन्ने गरेको पुराण सुन्न मानिसहरूको असाध्यै भिड लाग्थ्यो। उनी पुराण भन्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूसित सम्बन्ध जोडेर कथा बनाउँथे। यसअघि पनि कुनै राजनीतिक षड्यन्त्रमा लागेको आशंकाले उनलाई दुई वर्ष जेल राखिएको थियो (श्रेष्ठ, २०५२ः२०)

यसरी जेल सजाय भएका पण्डित मुरलीधर र शुक्रराज शास्त्रीबारे जुद्धशमशेरले एउटा छुट्टै मन्तव्य राखेका थिए। यसलाई ‘श्री ३ महाराजबाट शुक्रराज र पं. मुरलीले उपद्रव गरेको बारेमा बक्सेको स्पीच्’ भन्ने गरिएको छ। यसमा जुद्धशमशेरले शुक्रराज शास्त्री र पण्डित मुरलीधरले महात्मा गान्धी र जवाहरलाल नेहरूलाई भेटेको विषयमै आफ्नो मन्तव्य केन्द्रीत गरेका छन्। 

जुद्धले शुक्रराजलाई कडा सजाय दिने संकेत गरेका छन्। उनले शुक्रराजलाई ‘भारतमा कांग्रेसका ठूला नेताबाट केही सहयोग नपाएपछि भारतका तल्ला दर्जाका बदमास सोसलिस्टको सिकावटमा लागी गोरखपुरमा कुलका मानिससङ्ग सम्बन्ध राखी उनीहरूका मत सल्लाह बमोजिम नेपालमा आन्दोलन गर्न खोजेको’ आरोप लगाएका छन्। 

यस्तै, उनले ‘शुक्रराजले नसके म सक्छु भनी पण्डित मुरलीले बनारसका स्टेसनमा गई पण्डित जवाहरलाललाई ढोग गरी नेपालमा प्रजालाई दुःख छ भन्ने कुराको मानपत्र दिलाए पनि उसले वास्ता नराखेको’ भन्ने धारणा व्यक्त गरेका छन्। यी दुवैले इन्द्रचोकमा मानिस जम्मा गरी भड्काउने भाषण गरेको  र ६ वर्षको जेल सजाय दिएको पनि जुद्धले उल्लेख गरेका छन्। यो नरम सजाय भएको भन्दै ‘यो जेल गएपछि छापामा गीता सुनाउनेलाई कैद गरे भन्ने छापियो। त्यहाँदेखि अनेकन छापियो। अब यस्तालाई नरम सजाय दिइराख्न हाम्रो मनासय भएन’ भनी कडा सजाय दिनेतर्फ संकेत गरेका छन् (श्रेष्ठ, २०५२ः१४४)

१९९७ माघ ६ गते सबै अभियुक्तउपर गरिने सजायको फैसला सुनाइयो। फैसलाअनुसार पण्डित मुरलीले सर्वश्व नहुने गरी जन्मकैदको सजाय पाए। पक्राउ गरिएकामध्ये चार जना शुक्रराज, धर्मभक्त, दशरथ र गंगालालले ज्यान सजाय पाए। मृत्यूदण्डबाट बचेर जेलमा रहेका सबै कैदीहरूलाई २००७ माघ १० गते रिहा गरियो। रिहा हुने राजबन्दीको संख्या ८० थियो। उनीहरूको भव्य स्वागत गरियो (गौतम, २०६२ः२४८–२४९)

पण्डितको घरको दुःखसास्ती
राणाकालका यी क्रान्तिकारी पण्डित गोरखाबाट काठमाडौँ आएका थिए। त्यसबेलाको उनको क्रान्तिकारी कदम थियो अन्तरजातीय विवाह। उनले काठमाडौँकै नेवार महिलालाई विवाह गरेका थिए।

पण्डित मुरलीधर जेलमा रहँदा उनका बालक छोरा ईश्वर (कवि ईश्वरबल्लभ) आफ्ना बाबुलाई भेट्न जेलमा गइरहन्थे। त्यहाँबाट फर्कंदा कैदीले पाउने चामल, नुनको पोको टाउकोमा बोकेर फर्कंन्थे। बाटामा भेटिएका बटुवाहरू आआफैँमा भनिरहेका हुन्थे, “होइन, यो केटाको त सानैमा केश फुले नि, कैदीको नून बोकेर ल्याउँछ नि त!” (देवेन्द्र भट्टराई, ‘स्रष्टा र समय’–२०६२ः१८९)

जेलबाट बाहिर आएपछि पण्डित मुरली र उनकी पत्नीबीच सामान्य घरेलु भनाभनपछि एक रात उनकी पत्नीले खुकुरीले घाँटी सेरिएर आत्महत्या गरिन्। उनकी पत्नीले आत्महत्या गरेको रात कहालीलाग्दो थियो। कोठाभरि रगतको आहाल थियो। त्यस रात ईश्वरबल्लभले खुकुरीको रगत पखाल्ने र बालक भाई विश्वबल्लभलाई फुल्याउने काम गरेका थिए (भट्टराई, २०६२ः१८९)

उनले पछि ‘मेरो आमाले आत्महत्या गरेको देश’ कविता लेखेका थिए। उक्त कविता मदन पुरस्कार प्राप्त उनको कृति ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’मा समावेश छ।

उनै कविका बाबु तथा क्रान्तिकारी पण्डित मुरलीधर भट्टराईको निधन २०१८ सालमा भएको थियो।


सम्बन्धित सामग्री