Wednesday, May 01, 2024

-->

पुस्तकका कुरा
‘गिद्ध भएन भने महामारी फैलिन्छ’

'गिद्धले मरेको र सडेगलेको सिनो खाने भएकाले यसलाई अशुभ मान्ने चलन छ। गिद्ध घरमा बस्यो भने स्वस्तिशान्ति गर्ने प्रचलन विद्यमान छ। गिद्धप्रतिको यो गलत बुझाइ चिर्नुपर्ने आवश्यकता छ।'

‘गिद्ध भएन भने महामारी फैलिन्छ’

युवा संरक्षणकर्मी कृष्ण भुसाल १५ वर्षदेखि गिद्ध संरक्षण अभियानमा सक्रिय छन्। गिद्धबारे अनुसन्धानका क्रममा अफ्रिकासम्म पुगेका छन्। उनको पुस्तक ‘गिद्ध प्रकृतिका कुचिकार’ पनि प्रकाशन भएको छ। पुस्तकमा गिद्धको उत्पति, क्रमविकास र वितरण, आहार, प्रजनन र बानीबेहोरा, गिद्धको सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धलगायत विषय समेटिएका छन्। उनले पुस्तकमा गिद्ध हराउँदै जानुको कारण पनि खोतलेका छन्। हरेक वर्ष सेप्टेम्बर १ मा मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा अभियन्ता तथा अनुसन्धानकर्ता भुसालसँग उकालोका लागि मुकेश पोखरेलले गरेको कुराकानीः

गिद्ध संरक्षणमा तपाईं कसरी जोडिनुभयो?
औपचारिक रूपमा गिद्ध संरक्षणमा लागेको १५ वर्ष भयो। प्राणीशास्त्रमा स्नातकोत्तर गर्दादेखि नै गिद्ध संरक्षणमा जोडिएको हुँ। तर अप्रत्यक्ष रूपमा बच्चादेखि नै गिद्धसँग सामिप्यता बढ्यो। मेरो घर पश्चिम नेपालको अर्घाखाँची जिल्लामा पर्छ। त्यहाँ घर नजिकै गिद्धको बासस्थान थियो। सिनो खान आउने गिद्धहरू लखेट्ने, उडाउने गरेर बाल्यकाल बितेको थियो। पछि अध्ययनका क्रममा गिद्ध नै रोजेँ।

अन्य कतिपय जनावर पनि संकटापन्न छन्, तर गिद्ध संरक्षणमा नै लाग्नुको खास कारण के हो?
बच्चादेखि देख्दै आएको एउटा अनौठो र ठूलो चरा। समूहमा सिनो खाने। त्यो देख्दा एकदमै रोमाञ्चक लाग्थ्यो। ३०/३५ वर्षअघि गाउँमा प्रशस्त गिद्ध देखिन्थे। पछि त गिद्धहरू देख्नै मुस्किल हुन थाल्यो। यो कुराले मलाई छोयो। बिदामा घर जाँदा बच्चाकालमा लखेटेका गिद्धहरू देख्न नपाइने भयो। अनि गिद्धलाई के भयो र घटे भन्ने जिज्ञाशा आउन थाल्यो। 

स्नातकोत्तरमा कुनै एउटा विषयमा शोत्रपत्र तयार गर्नुपर्थ्यो। मेरो बुवा हजुरबुवाले अर्घाखाँचीको घेराभिर गिद्धको बासस्थान भएको बताउनुहुन्थ्यो। मलाई पनि त्यहाँ कस्ता खालका गिद्धहरू पाइँदारहेछन् भन्ने उत्सुकता जाग्यो। त्यसैले शोत्रपत्रका लागि गिद्धलाई नै रोजेँ। त्यसपछि चासो बढ्दै गयो र अध्ययन, अनुसन्धान तथा संरक्षणका काममा निरन्तर लागेँ।

तपाईंले भर्खरै ‘गिद्ध प्रकृतिका कुचिकार’ पुस्तक प्रकाशन गर्नुभएको छ। यो पुस्तकमा के छ? पाठकले किन पढ्ने? 
पुस्तकको मुख्य उद्देश्य आममानिसमा गिद्धबारे जानकारी पुर्‍याउनु हो। अझै पनि हाम्रो समाजमा गिद्धप्रतिको दृष्टिकोण सकारात्मक पाइँदैन। गिद्धले मरेको र सडेगलेको सिनो खाने भएकाले यसलाई अशुभ मान्ने चलन छ। गिद्ध घरमा बस्यो भने स्वस्तिशान्ति गर्ने प्रचलन विद्यमान छ। गिद्धप्रतिको यो गलत बुझाइ चिर्नुपर्ने आवश्यकता छ। गिद्ध अशुभ त हुँदै होइन, बरु प्रकृतिको कुचिकार हो। यो हानि गर्ने चरा होइन। मरेका जनावरको सिनो खाएर यसले प्रकृतिलाई स्वच्छ राख्छ। 

यदि, गिद्ध भएन भने प्रकृति फाहोर हुन्छ। त्यसकारण मानिसहरूलाई विभिन्न प्रकारका रोग, जस्तै– आउँ, हैजालगायत महामारी लाग्न सक्छ। सिनो यत्तिकै सड्यो भने जल, जंगल, जमिन प्रदूषण हुन्छ। त्यसलाई रोक्ने कुचिकार गिद्ध नै हो। यसले हामीलाई निःशुल्क सेवा पुर्‍याइरहेको छ। यी विषय बुझाउन मैले पुस्तक लेखेको हुँ। यो पुस्तक दुई खण्डमा बाँडिएको छ। पहिलो खण्डमा गिद्ध के हो? किन घटे? यिनीहरूलाई जोगाउन के गर्नुपर्छ? लगायत विषय उल्लेख छ। दोस्रो खण्डमा १५ वर्षको अवधिमा मैले अध्ययन अनुसन्धान गर्ने क्रममा देखेको र भोगेको विषय समेटेको छु।

गिद्ध र मान्छेबीचको सम्बन्ध कस्तो हो? गिद्धको संख्या किन घट्यो त?
२०४६ सालअघि नेपालमा धेरै गिद्ध थिए। २०४६ सालपछि भने पशुपालन बढ्यो। गाईबस्तु बिरामी हुँदा उपचार गर्न थालियो। उपचारका लागि डाइक्लोफेनिक औषधिको प्रयोग गरियो। त्यो औषधि गिद्धको लागि एकदमै हानिकारक हो। डाइक्लोफेनिक खुवाइएका पशुको मृत्युपछि त्यो सिनो खाँदा ठूलो संख्यामा गिद्धहरू मरे।

गिद्धको संख्यामा ह्रास आएपछि विभिन्न महामारीहरू फैलिन मद्दत पुग्यो।  हाम्रै कारणले गिद्धहरू घटे र त्यसको असर हामीले भोगिरहेका छौँ। त्यसैले गिद्धलाई जोगाउने काम पनि हाम्रै हो। अर्को कुरा, मरेका जनावरको सिनो मात्र खाने र त्यसमध्ये पनि ९० प्रतिशत सिनोको खपत गर्ने एउटा मात्र प्राणी गिद्ध हो। कुकुर र स्यालजस्ता अन्य जनावरले सिनो त खान्छन्, तर ३० देखि ४० प्रतिशत मात्र सक्छन्। त्यसले गर्दा पनि गिद्धहरू जोगाउनुपर्छ।

नेपालमा अहिले गिद्धको संख्या कति होला?
४० वर्षअघि नेपालमा १६ लाख गिद्ध भएको अनुमान छ। त्यसबेला भारतमा यो संख्या करिब ४ करोड भएको अनुमान गरिन्छ। तर, अहिले नेपालमा गिद्धको संख्या करिब २० हजारमा झरेको अनुमान छ। सन् २००० देखि २०११ सम्मको अध्ययनले नेपालमा डंगर र सानो खैरो गिद्ध क्रमशः ९१ र ९६ प्रतिशतले घटेको देखाएको छ। सन् २०१२ देखि २०१८ सम्मको अध्ययनले ती प्रजातिका गिद्धहरूको संख्या घट्ने दर रोकिएर अलिकति सुधार भएको देखिन्छ। यी अध्ययनका आधारमा गिद्धको संरक्षण हुन थालेको मान्न सकिन्छ। यसको मुख्य कारण पशु उपचारका लागि प्रयोग गरिने डाइक्लोफेनिकमा लगाइएको प्रतिबन्ध नै हो। सन् २००६ देखि यो औषधिमा प्रतिबन्ध लगाइएको छ।

गिद्ध संरक्षणमा कस्ता चुनौती छन्?
गिद्धलाई जोगाउने चुनौती भनेको दुखाइ कम गर्न प्रयोग गरिने औषधि नै हुन्। डाइक्लोफेनिकलाई प्रतिबन्ध लगाइए पनि अन्य खालका औषधि बजारमा छन्। अर्को कुरा, सिनोमा विषहरू राख्ने अर्को चुनौती हो। गिद्धलाई लक्षित गरेर नराखिए पनि त्यसका कारण गिद्धहरू मरिरहेका छन्। जस्तो, दुई वर्षअघि नवलपरासीमा सिनो खाँदा एकै ठाउँमा ७० वटा गिद्ध मरे। तेस्रो कारण, विद्युत प्रासरणको लाइन र ठूला संरचनाका कारण त्यसमा ठोक्किएर पनि गिद्धहरू मरिरहेका छन्। ठूला रूख नासिदो अवस्थामा छन्। त्यसैले ठूला रूखमा गुँड लगाउने गिद्धलाई समस्या छ। गिद्ध संरक्षणका लागि सचेतना जरुरी छ।


सम्बन्धित सामग्री