Monday, April 29, 2024

-->

राष्ट्रवादी हुने कि देशभक्त?

नयाँ पुस्ताले पुरानो राष्ट्रवादको अवधारणाभन्दा देशप्रेमको अवधारणा बोक्नुपर्छ। पहाडी–शाहवंशीय–हिन्दू–ब्राम्हण–क्षेत्रीभित्रको पनि धनी वर्ग मात्रै अट्ने राष्ट्रवादले हाम्रो हित गर्दैन।

राष्ट्रवादी हुने कि देशभक्त

राष्ट्रवादको व्याख्या लामो हुनसक्छ, तर जब एउटा सांस्कृतिक समुदायले सत्ता कब्जा गर्छ, त्यही समुदायको हितअनुकूल भूगोल, राजनीति र राज्यसत्तामाथि सामूहिक अन्ध धारणा विकसित हुन्छ, त्यसलाई राष्ट्रवाद भन्न सकिन्छ। 

नेपालको सन्दर्भमा राजतन्त्र, सनातन हिन्दू धर्म, सामन्तवादको लामो परम्परा, गोर्खाको शाहवंशीय शासक वर्ग, उनीहरू नजिकको भाषा (पुरानो खस भाषा, जुन अहिले परिमार्जित खस भाषाका रूपमा स्थापित छ), भेषभुषा, गोर्खालीले राज्य जित्दाखेरीका बहादुरीका कथा र वीरभावको समष्टि नै आजको नेपाली राष्ट्रवादको आधार हो। 

यसको अर्थ अहिलेको नेपाली राष्ट्रवाद पृथ्वीनारायण शाहदेखि शुरू हुन्छ। तर त्यसको ठोस रूप चाहिँ महेन्द्र शाहकै पालामा विकसित भयो। नेपाली राष्ट्रवादका प्रचलित चिह्नहरू खुकुरी, टोपी र एकै खालको भेषभुषा आदि हुन्। पहिलेका राजा–रजौटा पनि खुकुरीलगायत मौलिक चिह्नहरूमा गर्व गर्थे, तर तिनलाई राजनीतिक वर्चस्व या शासनको आधुनिक विचारधारामा जोड्ने काम महेन्द्रले गरे। त्यसको प्रचार गरेर राजनीतिक शक्तिमा रूपान्तरण गरे।  

पहिलेपहिले लड्न जाँदा त्रिकोणात्मक झण्डा बोकेर जाने चलन थियो। त्यस्तो झण्डालाई 'महावीरे झण्डा' पनि भनिन्छ। त्यो झण्डाको समेत राजनीतिक प्रयोग भयो। अहिले नेपाली झण्डामा पनि दुई त्रिकोण छ। हिन्दूहरू एउटा त्रिकोणवाला झन्डालाई धार्मिक झण्डाका रूपमा फहराउँछन्।

हाम्रा शासक पनि उतैबाट आएका कारण राष्ट्रवाद पनि उतैबाट आयो। शासकहरूले उतैबाट राजसी र धार्मिक परम्परा बोकेर आए। पोसाक र भाषासमेत त्यतैबाट लिएर आए। यता, आएपछि पहिलेको भाषा र संस्कृतिमा यताका अन्य संस्कृति र भाषाहरूसमेत मिसिए र पहिलेको मौलिक स्वरूप परिमार्जन भयो। 

तर आजका दिनमा राष्ट्रवाद आवश्यक छैन। नोबेल पुरस्कार विजेता चर्चित साहित्यकार रवीन्द्रनाथ टेगोर राष्ट्रवादविरोधी थिए। उनले राष्ट्रवादविरुद्ध खुलेर लेखेका छन्। राष्ट्रवादी भावनाले विश्व मानवको कल्पना र विचारधारालाई खण्डित पार्ने, त्यसले समग्र मानवीय चेतनालाई संकीर्ण बनाउँछ भन्ने उनको धारणा थियो। राष्ट्रवादले मानिस मानिसबीच संकीर्णता उत्पन्न गर्ने, दूरी बढाउने र एक आपसलाई शत्रुका रूपमा उभ्याउँछ भन्ठान्थे उनी। टेगोर खुला रूपमा आफूलाई अन्तर्राष्ट्रियवादी बताउँथे। अहिले त समग्र विश्व एक अर्कासँग जोडिएको छ। पहिलेभन्दा अझै बृहत् रूपमा विश्व एक अर्कासँग जोडिएका छन्।   

राष्ट्र अर्थात् राजाको जग्गा
पुरानो परिभाषामा जाने हो भने राष्ट्रको अर्थ हुन्छ, राजाको जग्गा। राजाको प्रत्यक्ष नियन्त्रणमा भएका जग्गाहरूलाई राष्ट्र भन्ने चलन थियो पहिले। चाणक्यका साहित्य र इशापूर्व चौथो पाँचौँ शताब्दीका अन्य लेखनमा त्यस्तो भेटिन्छ। पछि हिट्लरले एक खालको राष्ट्रवाद जन्माए। पुरानो राष्ट्रवादको समयमा खास जाति (विशेष नश्लीय समूह) एकै क्षेत्रमा बसोबास गर्थे। अर्को समूह अर्को खास क्षेत्रमा बस्थे। फरक फरक नश्ल फरक फरक ठाउँमा बस्थे। 

तिनीहरूमा भूगोल, राजनीतिक शक्ति र प्राकृतिक सुविधाका लागि एकआपसमा टकराब हुँदा सुरक्षा पनि आफ्नै समूह र समुदायमा हुन्थ्यो। अहिलेजस्तो राष्ट्रवाद त्यहाँ नभए पनि समुदायको हितको कुरा भने जोडिएको हुन्थ्यो। राष्ट्रवादको विकासको क्रमचाहिँ त्यहीँबाट शुरू भयो। पछि त्यही क्रममा राज्यसत्ताहरू जन्मे र विकसित भए। त्यसपछि एक आपसमा टकराब पनि हुन थाले। त्यस कुराले एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइको अवसर पनि दियो। 

कुनै समय दक्षिण एशियाका मान्छेहरू मादागास्कारसम्म लडाइँ लड्न जान्थे, किनकि सम्राट् अशोकको राज्य त्यहाँसम्म फैलिएको थियो। युनानका सिकन्दरका मान्छेहरू भारतसम्म लड्न आए। सिन्धीको किनारमा सिकन्दरले शहर नै बनाए। सिकन्दरका सेनापति सिलुकस थिए। उनकी छोरीको चन्द्रगुप्तसँग बिहे नै भयो। यसबाट के पनि बुझ्न सकिन्छ भने पुरानै समयदेखि राष्ट्रिय समुदायहरू अन्तरघुलित हुँदै थिए। 

खास विशिष्ट अवसरमा, राज्यसत्ता जन्मँदै जाँदा अरू राज्यसत्ताबाट आफूलाई सुरक्षित राख्न राष्ट्रवादी भावनाहरू जन्मन र जन्माउन थालिए। हामीकहाँ पनि शाहवंशीहरू आएर सत्ता कब्जा गरे। उनीहरूले भाषिक, धार्मिक र राजनीतिक वर्चस्व राख्ने क्रममा राष्ट्रवादको भ्रूण बीजारोपण गरे। आधुनिक राज्यसत्ता जन्मेपछि तिनमा संघर्षहरू हुन थाले र राष्ट्रवाद जन्म्यो। 

पुरानो जमानामा अहिलेको जस्तो चरित्रको राष्ट्रिय भावना थिएन। जस्तो कि: हिन्दूहरू राजा हुन्थे। उसका पक्षबाट मुसलमानहरू लड्न जान्थे। मुसलमान बादशाहहरू हुन्थे, उनका सिपाही हिन्दू पनि हुन्थे। यसको अर्थ उतिखेर अहिलेजस्तो जड थिएन राष्ट्रवाद, जबकि अहिले जड हुँदै गइरहेको छ। 

आधुनिक राज्यको विकाश भएपछि मूल रूपमा युरोपबाट राष्ट्रवादको अवधारणा आयो। राष्ट्रिय राज्यको अवधारणा बलियो हुँदै गएपछि राष्ट्रवादी भावनाहरू फैलन थाले। भारत स्वतन्त्र भएपछि उसले राष्ट्रवादको एउटा अवधारणा ल्यायो। त्यस राज्यमा वर्चस्व जमाउने दाउको रूपमा राष्ट्रवाद नयाँ नयाँ किसिमबाट आउन थाल्यो। चाहे युरोपको राष्ट्रवाद होस् या भारतमा मोदीको राष्ट्रवाद अथवा नेपालकै सन्दर्भमा केपी शर्मा ओलीको राष्ट्रवाद, यी सबै फरक भेरिअन्टका राष्ट्रवाद हुन्।  

ग्रेटर नेपाल र अखण्ड भारत
पछिल्लो समय काठमाडौँ महानगर प्रमुख बालेन्द्र (बालेन) शाह 'ग्रेटर नेपाल'को नक्सा आफ्नो कार्यकक्षमा टाँसेर चर्चामा आए। भारतले नयाँ संसद् भवनमा 'अखण्ड भारत'को भित्तेचित्र राखेपछिको प्रतिक्रियापछि उनले यो कदम चालेका होलान्, तर यस मामलामा बालेन अबोध छन्। 

काठमाडौँमा जन्मेका उनका बा तत्कालीन राजाका आयुर्वेदिक चिकित्सक पनि थिए। बालेन धार्मिक पनि होलान्। उनका बा तराईमा जन्मे पनि उनको व्यक्तित्व काठमाडौँमा राजशाहीहरूकै प्रभावमा निर्माण भएको हो। त्यसो हुँदा, उनका लागि राष्ट्रवाद स्वाभाविक भयो होला, जसरी हामी पनि सानो हुँदा विद्यालयमा 'महेन्द्र माला' पढ्थ्यौँ र त्यसको प्रभावमा पर्थ्यौं। हामी 'त्यहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ' जस्ता भ्रमपूर्ण गीतहरू गाउँथ्यौँ। जे पस्किइन्थ्यो, त्यो खानु हाम्रो विवशता हुन्थ्यो। बाल मस्तिष्कमा हालिएका त्यस्ता साहित्यले पछि व्यक्तित्व निर्माण गर्ने गर्छ। बालेनको हकमा त्यही भएको हो। 

बालेन तार्किक भइदिएको भए र उनले विवेक प्रयोग गरेको भए राष्ट्रवादका चर्को स्वर आजको समयमा ठीक होइन भन्ठान्थे। राजशाहीसँग लडेका जनताका कुरा र राजनीतिक विचार बुझ्थे। परम्परागत सोच बोकेका कारण उनले नक्सा राखेका हुन सक्छन्। अर्को, यस्तै काम गरेपछि चर्चित हुन सकिन्छ कि भन्ने कोणबाट पनि उनले 'नयाँ नक्सा' राखेका होलान्। 

तर 'ग्रेटर नेपाल' र 'अखण्ड भारत' दुवै सांस्कृतिक विस्तारवादकै रूप हुन्। भारतीय विदेशमन्त्री जयशंकरले विवादित नक्साबारे जवाफ दिँदै ‘यो राजनीतिक नक्सा होइन, सांस्कृतिक नक्सा हो’ भने। यदि सो नक्सा सांस्कृतिक हो भने किन उनीहरू उक्त नक्सामा दक्षिण एशियामा मात्रै सीमित छन् त? मादागास्करसम्म समेटेर किन नक्सा बनाउन सक्दैनन्? जबकि उनीहरू त्यसलाई अशोककालीन नक्सा भन्छन्। अशोक त कुनै बेला मादागास्करसम्म पुगेका थिए। 

सतलजबाट शुरू भएर सिक्किमसम्मको न नक्सा हो 'ग्रेटर नेपाल'को। यति इतिहासै हेर्ने हो भने त यो नक्सा अझै सानो भयो। कुनै राजाले नेपाली भूमिलाई रामेश्वरमसम्म पनि पुर्‍याएका थिए भन्ने ऐतिहासिक कथनहरू छन्। 

यसको मतलब 'ग्रेटर नेपाल' र 'अखण्ड भारत' विचारधाराको आधार भूमि एउटै हो। 

भत्कँदैछन् संकीर्णता
नयाँ पुस्ताले पुरानो राष्ट्रवादको अवधारणाभन्दा देशप्रेमको अवधारणा बोक्नुपर्छ। नेपालमा प्रवाह भएको राष्ट्रवादमा केबल पहाड मात्रै देखिन्छ। पहाडी–शाहवंशीय–हिन्दू–ब्राम्हण–क्षेत्रीभित्रको पनि धनी वर्ग मात्रै अट्ने राष्ट्रवादले हाम्रो हित गर्दैन। यसमा अन्ततः शाहवंशीय शासक वर्गको राष्ट्रवाद देखिन्छ। केही मान्छेहरूले दाबी गरेजस्तो पृथ्वीनारायण शाहले आर्जेको नेपाल मात्र होइन यो। पूर्वपश्चिम, मधेश, पहाड, बाहुन, दलित, यादव, मुसलमानहरू जति पनि नेपालमा बस्छन्, ती सबैले रगत बगाएर निर्माण गरेको नेपाल हो।

सात सालदेखि हरेक राजनीतिक परिवर्तनमा यहाँका सबै जातजाति र लिंगले रगत बगाएर बनाएको अहिलेको गणतन्त्र नेपाल हो। यो कुनै जातीय विशेष समुदायको राष्ट्र होइन। यो सबै राष्ट्रियताहरू एक ठाउँमा बसेको देश हो। राष्ट्रमा कुनै एक जाति विशेषको मात्रै वर्चस्व हुन्छ। देशमा सबै जातिहरू हुन्छन्। त्यसो हुँदा हामीलाई देशभक्ति आवश्यक छ, राष्ट्रवाद होइन। तब मात्रै सबैले यो देशमा आफ्नो स्वामित्व महसुस गर्न सक्छन्। 

देशभक्तिको अवधारणासमेत कमजोर हुँदै गइरहेका छन्। २१औँ शताब्दीमा यस्ता धारणा तल्लोस्तरका चिन्तनका उपज हुन्। त्यसो हुँदा 'वसुधैव कुटुम्वकम्' (पृथ्वीवासी सबै आफन्त हुन्) भन्ने अवधारणा नै सबैभन्दा राम्रो हो। सारा विश्व एउटै परिवार हो भन्ने धारणातिर सनसनै संसार उन्मुख छ। त्यसो हुँदाहुँदै पनि व्यवहारमा भने देशहरू रहेसम्म देशभक्ति आवश्यक छ। खास गरी गरिब देशहरूले साम्राज्यवादी र ठूला देशहरूबाट आफ्ना सीमा बचाएर अगाडि बढ्नुपर्ने बाध्यता छ। 


सम्बन्धित सामग्री