Monday, December 02, 2024

-->

विश्व नजर अड्किएका दुई युद्ध

युक्रेनी शरणार्थीलाई शरण तथा सहयोग गर्ने पश्चिमाले प्यालेस्टिनीमाथि पक्षपात गरेकै छन्, प्यालेस्टिनीलाई शरण दिने कुरामा अरब राष्ट्रहरूले समेत अग्रसरता देखाएका छैनन्।

विश्व नजर अड्किएका दुई युद्ध

हमास आंतककारी समूहको एउटा डफ्फाले २०२३ अक्टोबर ८ का दिन दक्षिण इजरायली सीमाका १० शहर तथा बस्तीमा अकस्मात् प्रवेश गरेर अन्धाधुन्ध आक्रमण गरे। त्यस दिन एकातिर आतंककारीहरू नरसंहार गर्दै थिए भने अर्कातर्फ हमासले सत्ता सञ्चालन गर्दै आएको गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट प्रहार गरिँदै थियो। उक्त दिन इजरायली भूमिलक्षित १० हजारभन्दा बढी रकेट प्रहार हमासले प्रहार गरेका थियो। 

आक्रमणकारीले बालबालिका, महिला तथा वृद्धवृद्धा गरी एक हजार २०० नागरिकको निर्मम हत्या गरे। २५० इजरायलीलगायत अन्य मुलुकका नागरिकलाई अपहरण गरे। उक्त आक्रमणमा इजरायलमा अध्ययन तथा कार्यरत १० नेपाली मारिए। हमासले अपहरण गरेका गैरइजरायली नागरिकमध्ये एक नेपाली युवा विपिन जोशी पनि पर्छन्। हालसम्म हमासले १०५ बन्दी रिहा गरेको छ, रिहा गरिएकामध्येमा विपिन परेनन्। अपहरण गरिएका २७ बन्दीको हमासले हत्या गरेको आरोप छ। इजरायली सेनाले हमासविरुद्ध गरेको कारबाहीमा परेर अपहरणकारीले बन्दी बनाएका तीन इजरायली नागरिक मारिएको समेत पुष्टि भएको छ। 

अप्रत्याशित रूपमा हमासले गरेको आक्रमणबाट इजरायली मात्र होइन विश्व नै अचम्मित भयो। उक्त बर्बर आक्रमणविरुद्ध इजरायलले के-कस्तो कदम चाल्ला भनेर विश्वले नियाल्दै गर्दा इजरायली डिफेन्स फोर्स (सेना) ले अक्टोबर १० का दिन उत्तरी गाजा क्षेत्रमा हवाई आक्रमण गरेर सैनिक कारबाही शुरू गर्‍यो। विगत ९० दिनयता अत्यन्त बाक्लो जनसंख्या (घनत्व) भएको गाजा क्षेत्रमा इजरायली आक्रमण जारी छ। 

हमासको घोषित उद्देश्य इजरायल राष्ट्रको नामेट हो। इजरायली घोषित नीति सके हमासलाई सखाप तुल्याउने अन्यथा उसको सैनिक क्षमता नष्ट पर्ने हो। आणविक हतियार सम्पन्न इजरायली सेनाको बहादुरी तथा विनाशकारी क्षमता उक्त राष्ट्रको स्थापना कालदेखि (१९४८) प्रमाणित हुँदै आएको छ। हमास नेतृत्वलाई पनि इजरायलमा आक्रमण गर्नुपूर्व अरिंगालको गोला चलाउँदाको परिणामबारे अवगत नहुने कुरै भएन। 

इजरायलसँग प्यालेस्टिनीको स्वशासित क्षेत्र गाजा तथा वेस्ट बैंक ध्वस्त पार्ने शक्ति जतिसुकै धेरै भए पनि सर्वसाधारण नागरिक तथा हमास सदस्य को हो भनेर पहिल्याउने क्षमता छैन। कुनै यस्तो बम आविष्कार भएको छैन, जसले निश्चित शत्रुको पहिचान गरेर त्यसलाई ध्वस्त पार्न सकोस्। हमासको रणनीति सकेसम्म सर्वसाधारणको आडमा (ह्युमन सिल्ड) शत्रुलाई आक्रमण गर्ने हो। इजरायलको अस्तित्व मेटाउने हमासको उद्देश्यका सामुन्ने सर्वसाधारण 'घुन' हुने नै भए।  

विगत तीन महिनादेखिको इजरायली आक्रमणले हमासको सैन्य शक्ति कति घटाएको छ त्यो आकलन गर्न कठिन छ। युद्धमा परेर बिसौँ हजारको संख्यामा प्यालेस्टिनीहरू भने मारिएका छन्। मारिनेमध्ये बालबालिका तथा महिलाहरूको संख्या अपार भएको अनुमान छ। इजरायली बमबारीका कारण उत्तरी गाजा क्षेत्रका प्राय: सबै भौतिक संरचना ध्वस्त भएका छन्। सुरुङ सञ्जाल यसमा अपवाद छ। हालै जारी गरेको इजरायली सैनिक विज्ञप्तिअनुसार उसले उत्तर गाजा क्षेत्रमा रहेको हमासको संगठन नष्ट गर्न सफल भएको छ। हमास गोरिल्ला पछ्याउँदै इजरायलले गाजाको अन्य क्षेत्रतर्फ आक्रमण बिस्तार गर्ने निश्चित छ।

हमासको आक्रमणमा परेर १२ सय इजरायल निवासी मारिए। प्रतिउत्तरको इजरायली आक्रमणमा परेर २० हजारभन्दा बढी प्यालेस्टिनी नागरिक हताहत भएका छन्। विस्थापित संख्यालाई मध्यनजर गर्ने हो भने इजरायलतर्फ कुल जनसंख्याको २ प्रतिशत तथा गाजाको हकमा कुल जनसंख्याको ८२ प्रतिशत नागरिक विस्थापित भएका छन्। गणितीय अनुपातमा हिसाब गर्दा इजरायलको १२ सय नागरिक अमेरिकाको ४५ हजार नागरिक बराबर हो। अर्कोतर्फ, २०  हजार प्यालेस्टिनी २८ लाख अमेरिकी बराबर हो। 

मानवीय क्षतिको हिसाबमा इजरायली होस् अथवा प्यालेस्टिनी, दुवैको महत्त्व एकै हुन्छ। यस वास्तविकतालाई पश्चिमा राष्ट्रहरू; विशेष गरी इजरायलको हितैषी राष्ट्र अमेरिकाले अनदेखा गर्दै आएको छ। इजरायलको पक्षमा उभिँदा संयुक्त राष्ट्रसंघीय मूल्यमान्यता सबै लत्त्याइएको छ। 

गाजामा हुँदै गरेको नरसंहारलाई कुनै पनि तर्क, जस्तै: "इजरायली भूमिमा आतंकवादीले आक्रमण गरेपछि इजरायलका निमित्त विकल्प नै के रह्यो?" ले ढाक्न सकिँदैन। 'आतंककारीविरुद्धको युद्ध'को आवरणमा मानवीय तथा भौतिक क्षतिलाई अनदेखा गर्न पाइँदैन। निहत्था सर्वसाधारणको हत्या अन्तर्राष्ट्रिय युद्ध कानूनविरुद्ध हुन्छ। यस अर्थमा पश्चिमा राष्ट्रले इजरायली आक्रमणको समर्थन गर्नु तिनै राष्ट्रहरूको प्रभावमा तर्जुमा गरिएका युद्ध अपराध हो।

गाजा क्षेत्रमा जारी इजरायली आक्रमणले ओझेलमा पार्न थालेको युद्ध हो, रुसले युक्रेनमाथि विगत झन्डै दुई वर्ष (फेब्रुअरी २४, २०२२) देखि गर्दै आएको हमला। रुसी राष्ट्रपति पुटिनले 'विशेष सैनिक कारबाही' नाम दिएको उक्त आक्रमणमा रुसले युक्रेनको झन्डै २५ प्रतिशत भूभाग हडप्दै आएको छ। आक्रमणमा परेर १० हजारभन्दा बढी युक्रेनी नागरिक हताहत भएको अनुमान गरिन्छ। विस्थापित हुने युक्रेनी नागरिकको संख्या १ करोड ३० लाख नाघेको छ। जसमध्ये ६० लाखले विदेशी भूमिमा शरण लिँदै छन्। इजरायलीझैँ रुसी आक्रमण पनि अवैध तथा मानवताविरुद्धको अपराध हो।

इजरायलले आतंककारीले गरेको बर्बर आक्रमणविरुद्ध प्रतिउत्तरमा गाजा क्षत्रमा हमला गर्दै छ। रुसी राष्ट्रपतिले युक्रेनको निर्वाचित सरकारलाई 'नवनाजी' घोषणा गरेका छन्। अनि युक्रेनले पश्चिमा मुलुकसँग बढाएको सामीप्य विशेष गरी नेटो सैनिक गठबन्धनप्रतिको सदस्यता ग्रहण गर्ने अभिप्रायलाई रुसी सुरक्षाको चुनौती ठहर गरेका छन्। दुवै युद्धको अन्त कहिले हुने हो, त्यसको अनुमान गर्न कठिन छ। युद्धले मानवीय तथा भौतिक क्षति निरन्तर बढाएकै छ। रुसी आक्रमणमा भएको क्षतिपूर्तिका निम्ति पश्चिमा राष्ट्रहरूमा रोक्का गरिएको रुसी पुँजी परिचालन गर्ने वैधताबारे चर्चा हुँदैछ। इजरायलीहरूको पुँजी भने कतै पनि रोक्का गरिएको छैन। प्यालेस्टाइनमा हुँदै गरेको विनाशको क्षति पूर्ति कसले गर्ने?  

दुवै युद्धमा पक्षमा राष्ट्रहरूले अख्तियार गरेको नीति विभेदकारी छन्। रुसले युक्रेनमाथि गरेको आक्रमणलाई स्वतन्त्र सार्वभौमिक राष्ट्रविरुद्धको सैनिक कारबाहीको संज्ञा दिँदै चौतर्फी भर्त्सना गरिँदै छ। अर्कोतर्फ इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणका विषयमा मौन धारण गरिँदै छ। रुसमाथि आर्थिक नाकाबन्दी गर्न जुर्मुराउने राष्ट्रहरू गाजा क्षेत्रमा मानवीय सहयोग रोक्ने इजरायलविरुद्ध आवाज उठानसमेत अघि सर्दैनन्। 

गोरा जातिको बाहुल्य भएको पश्चिमा राष्ट्रले युक्रेनी शरणार्थीलाई शरण तथा सहयोग गर्ने कुरामा कुनै कन्जुस्याइँ देखाएनन्, तर इजरायली आक्रमणमा विस्थापित भएर जीवित रहन कठिन अवस्था भोग्दै आएका प्यालेस्टिनीलाई उनीहरू शरण दिने अग्रसरता देखाउन सकेका छैनन्। पश्चिमा राष्ट्रहरूले त पक्षपात गरे गरे, विस्थापित प्यालेस्टिनीहरू अरब नागरिक हुँदाहुँदै पनि अरब राष्ट्रहरूले समेत सहयोग गर्ने अग्रसरता देखाउन सकेका छैनन्। 

त्यसो त, सम्पन्न राष्ट्रहरूको टेलिभिजन क्यामेराले नपच्छ्याएको मानव निर्मित अनिष्ट पीडित नागरिकको संख्या सानो छैन। आन्तरिक विस्थापित हुने मानव संख्या सात करोडभन्दा बढी भएको अनुमान 'इन्टर्नल डिस्पेल्स्मेट मोनेटरिङ सेन्टर'ले गरेको छ।  संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगका अनुसार सन २०२३ को अन्तसम्म ११ करोडभन्दा थियो शरणार्थी संख्या। विस्थापित हुने चाहे ती राष्ट्रिय सिमानाभित्रका हुन् अथवा अन्तर्राष्ट्रिय सिमाना पार गरेका हुन्, ती मानव नै हुन्। तर पनि मानवीय हैसियतमा विभेद हुनु वास्तवमै अशोभनीय तथा निन्दनीय कार्य हो।

यहुदी तथा अरबका निमित्त बेग्लाबेग्लै राष्ट्र अनिवार्य छ भन्ने बोध भएर नै सन् १९४८ देखि दुई राष्ट्रको अवधारणा विश्व समुदायले प्रस्तुत गर्दै आएको हो। अरब भूमिमा इजरायल राज्य स्थापनालाई अरबहरू, विशेष गरी प्यालेस्टिनीहरूले स्वीकारेका छैनन्। भलै, इजरायलको जनसंख्याको २० प्रतिशत अरब भए पनि यी दुई समुदायबीच सहअस्तित्वको सम्भावना देखिँदैन। 

दुई हजार वर्षभन्दा बढी राज्यविहीन भएर भौँतारिँदा यहुदी समूहले भोगेको कष्टप्रति विश्व समुदाय, विशेष गरी हिजो तिनै यहुदीलाई लखेट्ने पश्चिमा राष्ट्रहरू संवेदनशील छन्। तिनले स्मरण नगरेको अथवा प्राथमिकता नदिएकाचाहिँ इजरायलको स्थापना कालदेखि विस्थापित भएका अरब शरणार्थीहरू हुन्। 

सोभियत युनियनको विघटनलाई ऐतिहासिक दुर्घटना ठहर गर्ने रुसी राष्ट्रपतिको उद्देश्य त्यति अस्पष्ट छैन। भूशक्ति राष्ट्र रुसले हिजो गुमाएको भूभाग जोर्नतर्फ उनी अग्रसर छन्। हेक्का रहोस्, रुसले जर्जिया (२००८) तथा युक्रेन (२०१४, २०२२) माथि आक्रमण गरेर ती राष्ट्रहरूको भूभागमा कब्जा जमाएको छ। त्यसो हुँदा रुसका छिमेकी राष्ट्रहरू ऊबाट भयभीत छन्। पश्चिमा राष्ट्रहरू पनि रुसको बिस्तारवादी नीतिबाट त्रस्त छन्। यही कारणले गर्दा उनीहरू रुसविरुद्ध मोर्चाबन्दीमा जुटेका छन्। अर्कोतर्फ, इजरायलविरुद्ध मोर्चाबन्दी गर्दै उसको अस्तित्व नष्ट गर्न अग्रसर भएका राष्ट्रहरूले पराजय भोग्नु पर्दा (१९४८, १९६७, १९७२) इजरायलसँगै सम्बन्ध बिस्तार गर्न अग्रसर भएका छन्। यस प्रयासको मूल्य यतिखेर प्यालेस्टिनीहरू चुकाउँदै छन्।


सम्बन्धित सामग्री