Monday, April 29, 2024

-->

इजरायल–हमास युद्धमा हुथीको प्रवेशः अन्तर्राष्ट्रिय शान्ति व्यवस्थामा खलबल

लाल सागरमा सशस्त्र समूह हुथीको आक्रमणले सामुद्रिक व्यापारमा बाधा सिर्जना भएको छ। यसैबीच अमेरिका र बेलायतसहितको गठबन्धनले हुथीमाथि आक्रमण गर्दा विश्व शान्ति नै खलबलिने विज्ञहरूको भनाइ छ।

इजरायल–हमास युद्धमा हुथीको प्रवेशः अन्तर्राष्ट्रिय शान्ति व्यवस्थामा खलबल
जहाज अपहरण गरेपछि रमाउँदै हुथी विद्रोही

गत नोभेम्बर २० मा लाल सागरमा हुथी समूहले इजरायली कार्गो सिप (पानी जहाज)लाई अपहरण गरेको भिडियो सार्वजनिक भयो। उक्त भिडियोमा हुथीका लडाकु गोली प्रहार गर्दै हेलिकप्टरबाट उत्रिन्छन् र जहाजमा कब्जा जमाउँछन्।

लगत्तै हुथी सशस्त्र समूहका प्रवक्ता याह्या सारी इजरायलसम्बद्ध सबै जहाज हुथीका लागि वैध लक्ष्य बन्ने बताउँदै एक्समा लेख्छन्, “गाजाविरुद्धको आक्रमण, गाजा र वेस्ट बैंकका हाम्रा प्यालेस्टिनी भाइबहिनीमाथिको घृणित अपराध बन्द नभएसम्म इजरायली शत्रुविरुद्ध हाम्रो सैन्य कारबाही जारी रहनेछ।”

विगत तीन महिनादेखि इजरायल–हमास युद्ध जारी छ। त्यसको असरका कारण मध्यपूर्वमा प्रमुख व्यापारिक मार्ग मानिएको लाल सागर क्षेत्र तनावग्रस्त छ। अर्बौंको कारोबार बिथोलिएको छ। समुद्री वाहकहरूले विगत केही हप्तामा ठूला ढुवानी कम्पनीका २०० अर्ब अमेरिकी डलर बराबरको मालसामान फर्काइसकेका छन्।

रणनीतिक ढुवानी मार्गमा बढ्दो तनावपछि चिनियाँ सरकारी स्वामित्वको जहाज कम्पनी कोस्कोले लाल सागर हुँदै इजरायलमा ढुवानी स्थगन गरेको छ। विश्वका ठूला ढुवानी जहाज कम्पनी मइर्स्क, ह्यापाग लोइडले पनि लाल सागर भएर गरिने व्यापारमा रोक लगाएका छन्।

लाल सागरको प्रवेशबिन्दुमा अवस्थित देश यमनको सशस्त्र संगठन हो हुथी। प्यालेस्टाइनको गाजा क्षेत्रमा हमासको नियन्त्रणमा आएजस्तै हुथीले यमनको अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। हुथीलाई इरानले समर्थन गरेको बताइन्छ र साउदी अरेबिया हुथीविरुद्ध वर्षौंदेखि लडिरहेको छ। हुथीको आतंकले सामुद्रिक व्यापारमा ठूलो बाधा सिर्जना भएको छ। 

तर शुक्रबारदेखि अमेरिका र बेलायतले संयुक्त रूपमा हुथीमाथि आक्रमण थालेका छन्। इजरायलले गाजामा प्रत्याक्रमण गरिहरेका बेला अमेरिका र बेलायत हुथीसँग लड्न आफ्नो सहयोगी इजरायलको पक्षमा उभिएका हुन्। यी देशहरूले हुथीलक्षित हवाई आक्रमण शुरू गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हुथी विद्रोहीले गत वर्ष नोभेम्बरदेखि लाल सागर हुँदै आवतजावत गर्न जहाजलाई निशाना बनाउँदै आएको र यो आक्रमण उनीहरूविरुद्धको प्रतीकात्मक कारबाही भएको बताएका छन्। यता, बेलायती प्रधानमन्त्री ऋषि सुनकले रोयल एयर फोर्सका लडाकु विमानको सहयोगमा हुथी सैन्य क्षेत्रलक्षित आक्रमण गरिएको बताएका छन्। उनले यी आक्रमणलाई सीमित, आवश्यक र आत्मरक्षाका लागि लिइएको कदमका रूपमा ख्याख्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्डले गठबन्धन राष्ट्रहरूको सहयोगमा हुथी विद्रोहीका क्षेत्रमा आक्रमण गरेको जनाएको छ। गत वर्षको डिसेम्बरमा अमेरिकाले लाल सागर र गल्फ अफ एडेनमा उत्पन्न सुरक्षा चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्ने उद्देश्यले बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, स्पेनलगायत दश देश समेटेर समृद्धि गार्डियन नामक बहुपक्षीय अभियान शुरू गरेको थियो।

गत महिना मात्र, संयुक्त राष्ट्र सुरक्षा परिषद्मा एक प्रस्ताव ल्याइएको थियो, जसमा लाल सागरमा सामान बोकेका जहाजहरूमा आक्रमण रोक्न हुथी विद्रोहीहरूलाई अपिल गरिएको थियो। त्यसपछि पनि हुथीको आक्रमण नरोकिएपछि अमेरिका र बेलायतले कारबाही थालेका हुन्।

अहिले जारी आक्रमणमा यी गठबन्धन देशहरूले मिलेर हुथीको राडार प्रणाली, वायु रक्षा प्रणाली र हतियार भण्डारलाई निशाना बनाइरहेका छन्। साथै, हवाई तथा ड्रोन आक्रमण, क्रुज मिसाइल र ब्यालिस्टिक मिसाइल आक्रमण हुने ठाउँहरूलाई पनि निशाना बनाइएको छ।

सेन्ट्रल कमान्डका अनुसार हुथी विद्रोहीले गत वर्ष अक्टोबर १७ यता लाल सागरको अन्तर्राष्ट्रिय समुद्री लेनमा रहेका २७ जहाजमा आक्रमण गरेका छन्। लाल सागर र अडेनको खाडीमा रहेका जहाजमाथि ब्यालिस्टिक मिसाइल आक्रमण भएको हो। अन्तर्राष्ट्रिय सामुद्रिक मार्गहरूमा भएका यी आक्रमणका कारण करिब ५५ देश प्रभावित भएका छन्।

सेन्ट्रल कमान्डले अन्तर्राष्ट्रिय व्यापार र इजरायल–हमास युद्धमा अस्थिरता फैलाउन हुथी जिम्मेवार रहेको आरोप लगाएको छ। सेन्ट्रल कमान्डका कमान्डर जनरल माइकल एरिक कुरिल्लाले भनेका छन्, “यी गैरकानूनी र खतरनाक हमला असैह्य छन्। उनीहरूलाई जबाफदेही बनाइनेछ।”

हालसम्म प्राप्त जानकारीअनुसार अमेरिका र बेलायतको संयुक्त आक्रमण यमनको राजधानी साना, रेड सागरको होडेडा बन्दरगाह, उत्तर–पश्चिममा हुथी विद्रोहीको गढ मानिने धामार र सदालगायतका स्थान लक्षित थियो।

इरानले हुथीमाथि भइरहेका आक्रमणको निन्दा गरेको छ। हुथीका प्रवक्ताले पनि आक्रमणको कुनै औचित्य नभएको र इजरायलका लागि गइरहेका जहाजमाथिको आक्रमणलाई जारी राख्ने बताएका छन्। एक हुथी विद्रोही अधिकारीले अमेरिका र बेलायतलाई यो आक्रमणका लागि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। यमनको ठूलो भूभाग हुथी विद्रोहीको नियन्त्रणमा छ। उनले इजरायलविरुद्ध लडिरहेको प्यालेस्टिनी लडाकु समूह हमासलाई समर्थन गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय शान्ति व्यवस्थामा खलबल
गठबन्धन पश्चिमा देशहरू यस कारबाहीको उद्देश्य तनाव अन्त्य र लाल सागरमा स्थिरता पुनर्स्थापित गर्नु बताउँछन्। हुथी पक्षबाट अहिलेसम्म कुनै जवाफी हमला भएको छैन।

हुथीले भने प्यालेस्टाइनतर्फ जाने इजरायली जहाजलाई निशाना बनाइरहने बताएको छ। साथै यमनले आफ्नो आक्रमणको डरले प्यालेस्टाइन र गाजालाई समर्थन गर्न बन्द गर्ने भन्ने सोच्नु अमेरिका र बेलायतका लागि गलत भएको प्रतिक्रिया जनाएको छ। 

अमेरिकाको आक्रमणले हुथी नरोकिने अन्तर्राष्ट्रिय मामिलाका जानकार तथा इजरायलका लागि भारतीय पूर्वराजदूत दीपक बोहोरा बताउँछन्। हुथी बाहिरी शक्तिबाट चलेको र सितिमिति नरोकिने उनको भनाइ छ।

“जब १९९० मा हुथी विद्रोह शुरू भयो, त्यतिबेला म त्यो क्षेत्रमा थिएँ, उनीहरू फाटेको अरबी पोसाक लगाएर आउने गर्थे, तर अहिले यति शक्तिशाली कसरी भए त?,” जी न्युजसँगको अन्तर्वार्तामा उनी भन्छन्, “योसँग यसरी अत्याधुनिक हतियार आउनुमा बाहिरी शक्तिको सहयोग छ, हुथीले चीन र इरानबाट सहयोग पाएको छ।”

इरान र चीनलाई ट्याकल नगरेसम्म यो क्षेत्रमा शान्ति नहुने उनको दाबी छ। यसबाट कसैलाई फाइदा भएको छ भने त्यो पश्चिमी जहाज निर्माता कम्पनीलाई भएको उनको तर्क छ। अमेरिका र बेलायतले मध्यपूर्वमा हात हालेर थप समस्या निम्त्याएको उनी बताउँछन्।

“मध्यपूर्वमा जसले हात हाल्यो त्यो जलेको छ, बेलायत र अमेरिका पनि मध्यपूर्वको लडाइँमा जल्ने देखिन्छन्,” उनले भनेका छन्।

टर्कीका प्रधानमन्त्री रिसेप इर्डोगनले बेलायत र अमेरिकाको आक्रमणले लाल सागरमा रक्तपात निम्त्याउने बताएका छन्। उनले एक्समा लेख्दै भनेका छन्, “अन्तर्राष्ट्रिय अदालतले न्याय दिनेछ र इजरायली कदमको निन्दा गर्नेछ।”

हुथीको दुस्मन तथा अमेरिकाको निकट मानिएको साउदी अरेबियाले भने अमेरिका र यसका अन्य गठबन्धन साझेदारहरूलाई संयमितता अपनाउन र मामिलालाई थप चुलिनबाट जोगिन भनेको छ। साउदी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लाल सागर मार्गको सुरक्षाले विश्वको हित हुने जनाएको छ।

“साउदी अरबले लाल सागर क्षेत्रको सुरक्षा र स्थिरता कायम राख्नुको महत्त्व बुझेको छ, किनभने यस मार्गको सुरक्षाले विश्वको हितलाई असर गर्छ,” विज्ञप्तिमा भनिएको छ, “यस क्षेत्रको अवस्थालाई ध्यानमा राख्दै, हामी यस विषयमा संयम अपनाउन र मामिलालाई उग्र हुनबाट जोगिन आग्रह गर्दछौँ।”

रुसले पनि हुथीमाथि भएको आक्रमणको निन्दा गरेको छ। रुसी राष्ट्रपति भलादिमिर पुटिनका प्रेस संयोजक दिमित्री पेसकोभले यो आक्रमणलाई अन्तर्राष्ट्रिय नियमविरुद्ध भएको बताएका छन्। हुथीलाई लाल सागरमा जहाजमाथि आक्रमण नगर्न क्रेमलिनले बारम्बार भन्दै आएको पनि उनले जनाएका छन्।

संयुक्त राष्ट्र संघको कुनै जनादेशबिना नै यमनमा आक्रमण भएको र यो अमेरिका र उसका सहयोगीहरूले गरेको गैरकानूनी साहसिक कार्य भएको उनको भनाइ छ। रुस इराननिकट सहयोगी हो, जसले हुथीलाई हतियार, तालिम तथा समर्थन गर्दछ।

एजेन्सीहरूको सहयोगमा


सम्बन्धित सामग्री