Friday, December 02, 2022

-->

सत्तामा अनेक विचारकाहरू पुगे, शासनको तरिका बदलिएन

राजनीतिमा हस्तक्षेप गर्न चाहनेले वैकल्पिक पार्टी खाेल्ने, यिनै पार्टीहरूभित्र असल नेतृत्वकाे विकल्प खाेज्ने तथा पुस्तान्तरणकाे प्रयास गर्ने हाे।

सत्तामा अनेक विचारकाहरू पुगे शासनको तरिका बदलिएन

पछिल्ला तीन चुनावमा जुन पार्टीलाई मैले भोट हालेँ, त्यो पार्टीसँग पनि मेरो लगाव रहेन। आफूले मत दिएका पार्टीहरूले जनअपेक्षा पूरा गरेजस्तो नलागेपछि यो चुनाव (२०७९) मा चाहिँ पार्टीभन्दा पनि व्यक्ति छानेर भोट हाल्ने अवस्था आयो। आफूले सही ठानेको व्यक्ति जुनसुकै पार्टीको भए पनि उसले जितोस् भन्ने लागेपछि भोट हालियो। तर आफूलाई 'ठिकै लागेको' पार्टीलाई समानुपातिकमा भोट हालेँ। पहिले पहिले जुनस्तरको नशा पार्टीप्रति हुन्थ्यो, यो चुनावमा त्यो उत्रियो। 

पुराना पार्टीहरूले आन्दोलन हाँके, उहापोहयुक्त्त क्रान्ति गरे र राजनीतिक व्यवस्था बदले। आन्दोलन र संघर्षबाट आएका दल र तिनका नेताहरूप्रति जनताले भर गरेर मत दिए। परिवर्तन ल्याउन भूमिका खेलेका पार्टीलाई विश्वास गरेर उनीहरूले आफ्नो पक्षमा मतदान गरे। व्यवस्था त परिवर्तन भए, तर राज्यको काम गर्ने तौरतरिका आममानिसलाई पुर्‍याउन र त्यसले दिने सेवासुविधा तथा सुरक्षामा दलहरूले परिवर्तन ल्याउन सकेनन्। सरकार सञ्चालन गर्दा होस् या प्रतिपक्षमा रहँदा, दल र दलका प्रतिनिधिहरूले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सकेनन्। राज्यबाट प्राप्त हुने सेवा सुविधामा आममानिसको जनजीवनमा राणा र राजाको शासनमा भन्दा तात्त्विक फरक आएन। आर्थिक तथा शैक्षिक अवस्थाहरूमा केही सुधार भएकै हो, तर राज्यको कारणले त्यसो भएको थिएन। अन्य विभिन्न कारणले जनताको जीवनमा बदलाव आएको हो। 

पार्टीसँग सिद्धान्त, अजेन्डा, संगठन र नेतृत्व हुन्छ। तर सबैभन्दा महत्त्वपूर्ण पार्टीको नेतृत्व नै हो। पार्टीको अजेन्डामा 'हामी फलानो काम गर्छौं, तिलानो सुधार गर्छौं' भनेर कागजमा उल्लेख गरिन्छ। अजेन्डाहरूकै आधारमा संगठन बनाइएको हुन्छ। तर अजेन्डा कार्यान्वयन गर्ने जिम्मा त फेरि पनि नेताकै हो। हाम्रा नेताहरूमा आफ्ना दलका अजेन्डा सम्पन्न गर्ने क्षमता देखिएन। त्यसो भएपछि पार्टीले तय गरेको सिद्धान्त काम लाग्ने भएन, कागजमा मात्रै सीमित रहे अजेन्डा। नेताहरूको सफलता र असफलताका कारण स‌ंगठन तन्कने या खुम्चने भयो। आजको आम निराशाले परम्परागत दल हाँक्ने नेताहरूको असफलता प्रष्टन्छ। भन्नुको अर्थ आजको निराशाको प्रमुख कारण नेताहरूकै असफलता हो। 

परम्परागत राजनीतिक दलका नेताहरूसँग उतिखेरको राजनीतिक व्यवस्था बदल्ने योजना र म्याप थियो। उतिखेर निर्दल थियो, बहुदल ल्याउन पार्टी र नेताहरू लडे। राजासहितको बहुदलबाट गणतन्त्रमा मुलुकलाई लैजान, पुरानो निर्वाचन प्रणालीलाई संशोधन गर्न तथा एकात्मक राज्यलाई संघात्मक बनाउन लागे। उनीहरू सफल पनि भए। यी सबै राजनीतिक रूपान्तरणका अजेन्डाहरू थिए र तत् विषयमा नेताहरू प्रष्ट थिए। तर आन्दोलन सफल भएर सत्तामा पुगेपछि, सत्ताको रोडम्याप हाँक्ने कुशल रणनीति भने उनीहरूमा भएन। सत्तामा मरीचमान सिंह आए पनि शेरबहादुर, प्रचण्ड या उपेन्द्र यादवहरू आए पनि सत्ताको काम गर्ने तौरतरिकामा कुनै बदलाव आएन। मुख्य समस्या त्यही देखियो। 

राजनीतिका तीन स्वरूप हुन्छन् : आन्दोलन, निर्वाचन र सत्ता। तर सत्ताको राजनीतिमा परम्परागत दलहरूले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेनन्। प्राथमिकताहरू निर्धारण गर्न सकेनन्। एकपछि अर्को नेताहरू सत्तामा पुगे र बिग्रिए। नेपाली राज्यको संरचना, स्वभाव र चरित्र जस्तो छ, त्यसमै मिल्न थाले। नेपालको स्थायी सत्ता अर्थात् प्रशासन, न्यायपालिका र सुरक्षा संयन्त्रलाई हाम्रो राजनीतिले परिवर्तन गराउन सकेन। स्थायी सत्ताको आधारभूत चरित्र नै अदक्षता र भ्रष्टाचारी हो, समयमै काम गर्न नसक्ने हो। तर स्थायी सत्ता बदल्ने विषय कुनै पार्टीको अजेन्डा नै बन्न सकेन। स्थायी सत्ताको परिवर्तन आवश्यक छ भनेर हाम्रो नेतृत्वले  बुझेन या बुझ्नै चाहेन। 

गएको तीस वर्षको लामो संसदीय अभ्यासमा हामीले विभिन्न पार्टीका प्रदर्शन हेर्याैं। तर जोसुकै प्रधानमन्त्री भए पनि ६ महिना या ८ महिना प्रधानमन्त्रीको कुर्सीमा बसेपछि कुनै न कुनै भ्रष्टाचार या कमिसनका काण्डहरू बाहिर आउन थाले। जुनसुकै क्रान्तिकारी पार्टीको सरकार भएपनि ६ महिनामा हुने काम सम्पन्न गर्न एक वर्ष लाग्ने, दुई वर्षमा सकिने प्राेजेक्ट पाँच वर्षमा सकिने, कुनै आयोजनामा अनुमान गरिएको बजेटभन्दा पाँच गुणा खर्च हुने रोग कायम रह्यो। 

भ्रष्टाचार र अनियमितता कायम रहने, जनताको जीवनमा कुनै बदलाव ल्याउन नसक्ने यो अदक्ष स्थायी-सत्तालाई बदल्न अब पार्टीको नेतृत्वमा पनि पुस्तान्तरण आवश्यक देखियो। दुखेका कुरा, पुस्तान्तरणमा यिनीहरूको रुचि देखिएन। त्यसको मतलब युगअनुसारको राजनीति नबुझेको जस्तो देखियो नेपाली नेताहरूले। राज्यलाई सञ्चालन गर्ने तौरतरिकामा पार्टी असफल भएपछि मान्छेहरूले 'पार्टी पार्टी' भन्दै सधैँ भोट हाल्ने कुरा पनि भएन। 

म मधेशको आन्दाेलनमा लागेको, राज्यको पुनर्संरचना माग गर्ने र पहिचानवादी मुद्दा बोक्ने मान्छे हुँ। ६४ यता सोही रुझानका आधारमा पार्टी छानेर भोट दिएको व्यक्ति हुँ। मैले यो चुनावमा पनि चुनावमा उम्मेदवार छान्दा मधेसका तथा सामाजिक न्यायका कुरा गर्ने र पुरानो पुस्ताभन्दा युवा पुस्तालाई प्राथमिकता दिएँ। त्यसो हुँदा मैले छानेको उम्मेदवारको तिनले अहिलेका राजनीति र समाजका समस्या पनि बुझ्न सकुन्। तदारुकताका साथ काम गर्न सकुन्। सक्रिय र सृजनशील भएर काम गरून्। आम मतदाताका रूपमा यसो गरेर मैले यसो गरेर मैले विकल्प खोजेको हुँ। र, राजनीतिमा हस्तक्षेप गर्न चाहनेले वैकल्पिक पार्टी खोल्ने, यिनै पार्टीहरूभित्र असल नेतृत्वको विकल्प खोज्ने तथा पुस्तान्तरणको प्रयास गर्ने हो। समाज त्यस दिशातर्फ जाँदैछ भन्ने संकेत यो चुनावले पनि गरेको छ।

(कुराकानीमा आधारित।)


सम्बन्धित सामग्री