Monday, June 17, 2024

-->

गगन–रवि, जिदान–माटेराजी

गाउँ–गाउँमा बाटो र बिजुली पुग्दैमा, केबल टेलिभिजन र मोबाइल फोन र इन्टरनेट पुग्दैमा आर्थिक सुधार हुने होइन। यी त पुँजी सिध्याउने साधन पनि हुन्।

गगन–रवि जिदान–माटेराजी

संसारका सबै समुद्र जोडेर एउटै सिंगो समुद्र बनाउन पाए !
संसारका सबै रूखहरू जोडेर एउटै रूख बनाउन पाए !
संसारका सबै बन्चरोहरू मिलाएर एउटै बन्चरो बनाउन पाए !
संसारका सबै मान्छे बटुलेर एउटै मान्छे बनाउन पाए !
अनि संसारको त्यो एउटा ठूलो मान्छेले
त्यो  ठूलो बन्चरो उठाएर
एउटै बनेको विशाल रूख काटेर
सिंगो समुद्रमा झ्वाम्म फाल्यो भने,
समुद्रमा उठ्ने छाल कस्तो हुन्थ्यो होला?

कक्षा पाँचमा पढ्दाताक अंग्रेजी पढाउने शिक्षकले ‘एउटा छालको कल्पना’ शीर्षकको कविता उल्था गरेर सुनाउनु भएको कविता यस्तै थियो। कविता कसको हो, थाहा भएन। 

अब त्यही कविताबाट प्रभावित हुँदै यस्तो कविता लेखिहेरौँ है:

नेपालका सबै झ्यालखाना मिलाएर एउटै झ्यालखाना बनाउन पाए ।
नेपालका सबै अड्डा अदालतलाई एउटै अड्डा बनाउन पाए !
नेपालका सबै भ्रष्टाचार काण्डलाई जोडेर एउटै मुद्दा बनाउन पाए !नेपालका सबै भ्रष्टाचारीलाई समेटेर एउटै भ्रष्टाचारी उभ्याउन पाए !
त्यो ठूलो अड्डाले
त्यो अजंगको भ्रष्टाचारीलाई
कडा कारबाही गरेर
त्यो ठूलो झ्यालखाना पठाउन पाए!
जनताले लगाउने नारा कस्तो हुन्थ्यो होला?

राजनीतिको ‘बाघचाल खेल’मा आरोप प्रत्यारोप मात्र सुन्न बाध्य हामी भुईँ मान्छेले यति कल्पना त पक्कै गर्न पाइएला! 

फउल खेल्ने नेता : 'गो टु हेल'
सन् २००६ मा भएको फुटबल विश्वकप संस्करणको फाइनल खेल इटली र फ्रान्सबीच घमासान रूपमा चल्दै गर्दा फ्रान्सेली टिम कप्तान जिनेदान जिदानले इटालीका खेलाडी माटेराजीलाई टाउकाले छातीमा ठोकेर पछारिदिए। परिणाम अपेक्षित नै थियो, जिदानले रेडकार्ड पाए र मैदान छाड्नुपर्‍यो। पछि चर्चा चल्यो, “जिदानले फउल गर्नुका कारण माटेराजीको उक्साहट हो, माटेराजीले जिदानको स्वाभिमानमा ठेस लाग्ने गरी केही ‘खुसुरफुसुर’ गाली गरेका कारण जिदान उत्तेजित भए।” होला, माटेराजीले दुर्व्यवहार गरेकै होलान्, तर उनको गल्तीको कुनै दस्ताबेज छैन र उनको ‘गल्ती’विरुद्ध कुनै कारबाही भएन पनि। तर गल्तीको दस्ताबेजका रूपमा जिदानको हरकत सदा अंकित भयो। सायद जिदानले आफ्नो धैर्यता नगुमाएको भए एक–एक गोलको बराबरीमा चलिरहेको उक्त खेलमा अन्तिम जित फ्रान्सकै हुन्थ्यो कि!

विश्वविजेता दाबेदारीको संघारमै पुगेर पनि जिदान निस्तो र खलपात्र मात्र बने। त्यसैले नियत/नियति दुबैसँग जुध्न धैर्यता चाहिने रहेछ। हामीजस्ता सर्वसाधारणले राजनीतिमा कसले उक्साउँदै छ र को उत्तेजित हुँदैछ भन्ने ठ्याक्कै किटान गर्न त कठिन छ, तर  केचाहिँ पक्का हो भने राजनीतिमा यतिखेर निकै फउल खेल भइरहेछ। राजनीतिभित्रको ´फउल खेलको` महँगो मूल्य चुकाउनु पर्ने हामीले जनताले नै हो। तसर्थ, फउल  खेल्ने नेताहरूलाई हामी जनताले यति भन्ने हक त पाइन्छ होला नि?

नीतिकथाको एउटा प्रसंग
सर्वशक्तिमान् ´देवता` र मूर्ख ´राक्षस`बीचको झगडा र दाउपेचबाट आजित भएपछि एक पटक देवता र राक्षसबीच सम्झौता भयो। जसअनुसार राक्षसहरूमध्ये कसैले कठोर तपस्या गर्ने र आचरण सुधार गरेर सत्मार्गमा आउने हो भने ´देवभूमि`मा शासक बन्ने अवसरसहित तपस्वी राक्षसले चिताएको एउटा माग देवताले पुरा गर्नै पर्ने सर्त रह्यो। राक्षसमध्येका एकले घनघोर तपस्या गरेर सर्त पूरा गरे छन् र देवता पनि प्रसन्न भएछन्। 

अब पूर्वशर्तबमोजिम राक्षसको एउटा माग सर्वशक्तिमान् देवताले पुरा गर्नुपर्ने नै भयो। देवताले सोधे, "तिम्रो घनघोर तपस्याबाट म खुशी छु, अब माग, तिमिलाई म कस्तो चमत्कार गरेर देखाइदिऊँ?"

राक्षस अलिबेर घोरियो, र देवतालाई भन्यो, "हे देवता, तिमी यदि साँच्चिकै सर्वशक्तिमान् हौ र मेरो तपस्याको पुरस्कार दिन नै चाहन्छौ भने "यो लोकमा कसैले पनि आरोहण गर्न नसक्ने नयाँ शिखर बनाइदेऊ!"

देवतालाई आइपर्‍यो धर्मसंकट। राक्षसले भनेबमोजिम नयाँ शिखर नबनाऊँ- आफ्नै इमानमाथि प्रश्न उठ्ने भो, अब कसैले पनि आरोहण गर्न नसक्ने शिखर कसरी बनाऊँ?" आफै पनि चढ्न नसक्ने शिखर बनाएपछि आफैबाट आफ्नो ´सर्वशक्तिमान्` हुनुको हक गुम्ने भयो। 

देवतालाई कस्तो आपत्। त्यस्तै आपत् वा अक्करमा परेका छौँ हामी नेपाली जनता। भन्न त भनिरहेकै हुन्छन् सबै दल र सबै नेता, "जनता नै सर्वेसर्वा, जनता नै देवता।" चुनावमा सामेल नहौ,  भोट नहालौँ देवता नहोइने डर, भोट हालौँ, राक्षसको तपस्या पूरा हुने! निस्सन्देह, देवता हुने हक त जनताकै हो।

´मूर्ख/ राक्षस` हुनुको स्वभाव र उनीहरूको मूर्खता हामीले कोकसबाट भोग्नु परेको छ? सरकार चलाउनेलाई ‘मूर्ख’ सम्झिनु भो भने उत्तर गलत होइन! तर सरकार इतरका दल/ नेताहरूलाई पनि ‘मूर्ख/ राक्षस’को उपाधिबाट विमुख गर्नुभयो भने त्यो झन् ठूलो अन्याय हुनेछ। ‘राक्षसहरू’ले  हामी जनतालाई ‘देउता’ बनाएरै बिताउने भए!

सत्ता आफैमा समस्या
बितेका ३० वर्षमा पच्चिसैभन्दा ज्यादा सरकार बने होलान्। ती सबै सरकारले देश विकास र जनजीविका उन्नत बनाउने 'गफ' दिए र जोजसले सरकार गिराउने कसरत गरे, उनीहरूको रटान पनि देश विकास र जनजीविकाकै कुरा रह्यो। आखिर देशको अवस्था कस्तो छ? भुक्तमान जनताको सुस्केरामा देश रोइरहेछ। राजनीतिक प्रयोग र संक्रमणका नाममा देश-राजनीति धमिलो बनिरहँदा गरिब-निमुखा झनझनै पिँधमा परिरहे। २०४७ सालयता बनेका सबै सरकारको औसत आयु एक वर्ष पनि भएन। ती सबै सरकारको सामान्य चर्चा मात्र गर्दा पनि ठुलै ठेली तयार हुन्छ। जनताको ‘सोच र शंका’ अब बल्ल घनघोर रूपमा  सुरु हुँदैछ। सरकार र प्रतिपक्षलाई यो कुरा हेक्का छ?

राणा शासन, प्रजातन्त्र प्राप्ति, निर्दलीय पञ्चायती व्यवस्था र पुनः प्रजातन्त्र प्राप्तिदेखि गणतन्त्र सम्मको झन्डै सात दशकको समय पार गरिसक्दा नेपाली जनताले प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि भनेको सोच्ने र विचार निर्माण गर्ने क्षमता नै हो। अझ पछिल्लो समयमा त विभिन्न प्रकारका सामाजिक सञ्जालले विचार निर्माण र प्रश्नहरूको ‘कचहरी’लाई निकै ठूलो मझेरी प्रदान गरेको छ। तर विडम्बना, विचार निर्माण र शंका गर्ने तरिकामा ज्यादै  ध्रुवीकरण भएको आभास हुँदैछ। विचार र बहसमा हामी झनझनै लिलिपुट बन्दैजाँदा बिचार-बहसको ठाउँ आक्रोश, आरोप र गाली लिँदै गएको विषयलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ।

देशमा कानुनी राज भएको हुँदो हो त सहकारी, चिया बगान, टीकापुरलगायत बेथितिका बिम्ब बनेका अनेकन् ‘काण्ड’ राज्यका सम्बन्धित निकायहरूले गरिरहेका हुने थिए। सदनमा, सडकमा र सामाजिक सञ्जालको भित्तामा पक्षविपक्षको ‘वान्ता’ कुल्चिनुपर्ने थिएन।

जर्ज अर्वेलको 'एनिमल फार्म'वाला ‘सबै जनावर बराबर हुन्, र केही जनावर ज्यादा बराबर हुन्’ भनाई नेपाली राजनीतिक बेथितिका लागि सधैँ मेल खान्छ। किनभने धेरैजसो मान्छे टिप्पणी गर्छन्, “सबै नेता फटाहा हुन् र केही नेता ज्यादा फटाहा हुन्।” 

जनमतले ‘पुरस्कृत र दण्डित’ गरेका राजनीतिक दल र दलका नेताहरूले नीति र नैतिकताको सामान्य ‘पासमार्क’ हासिल गर्न हम्मे पर्दा राजनीति झनै फोहरमा परिणत हुँदैछ। त्यही फोहरमा डुबुल्की मार्दै नेताहरू एक अर्काको जिउमा हिलो छ्याप्न तल्लीन छन्।

भुईं तहको अवस्था सधैँ उस्तै
बितेका २० वर्षको ‘तथ्यांक’ हेर्ने हो भने केही केही कुरामा सन्तोष लिन सकिएला, तर ग्रामीण बस्तीमा पुगेर गरिबको अनुहार हेर्‍यो भने सरकारी, गैरसरकारी तथ्यांकलाई विश्वास गर्न पटक्कै सकिँदैन। निम्न र निम्न-मध्यम वर्गका नेपालीहरू दिनरात काम गरेको गर्‍यै छन्। बौद्धिक र शारीरिक दुवै खाले श्रम गर्न तीस लाखभन्दा धेरै नेपाली विदेश गएका छन्। तैपनि अन्य देशको तुलनामा हाम्रो देशमा प्रतिव्यक्ति आय बढ्न सकेको छैन। केही नयाँ खाले रोजगारी, सडक र सञ्चारको पहुँच अनि रेमिट्यान्सको प्रभावले गर्दा ग्रामीण भेगमा पनि खानपान र रहनसहनमा फरकपन ल्याएको छ। सोही कारण मानिसहरू सुविधाप्रति लालायित हुँदै छन्, तर यो टिकाउ छैन। 

अर्थतन्त्र कृषिमा आधारित भनिए पनि हाम्रोमा कृषिमा आधुनिकीकरण हुनै सकेन। औद्योगिक क्षेत्र पनि त्यति चाँडो फस्टाउन नसकेका कारण उत्पादकत्व जहाँको त्यहीँ रह्यो। देशमा पहुँच भएकाहरूको मात्र स्तरबृद्धि भयो। धनी अझै धनी बन्दै छन् र गरिब झन‍्पछि झन् गरिब बन्दै छन्। धनी र गरिबको सबै कमाइलाई औसतमा लैजाँदा नेपालका गरिबको पनि आय बढेको होला, तर शुद्ध गरिबको शुद्ध आय बढेको छैन।

राजधानी र मोफसलका शहरहरूमा जनसंख्या र घरबस्ती तीव्र गतिमा वृद्धि भएको आधारमा गरिबी घटेको सतही अनुमान लगाउने गरिन्छ तर शहर र गाउँको आर्थिक असन्तुलन झनै बढ्दै छ। नेपाली कांग्रेस वा कम्युनिस्टले पटक–पटक राज्य सञ्चालनको अवसर पाउँदा उल्टै देशको ‘दोहन’ गरे। ती सबै सम्झँदा पनि रिँगटा लाग्छ।

गाउँ–गाउँमा बाटो र बिजुली पुग्दैमा, केबल टेलिभिजन र मोबाइल फोन र इन्टरनेट पुग्दैमा आर्थिक सुधार हुने होइन। यी त पुँजी सिध्याउने साधन पनि हुन्। बाटो, बिजुली पुगेजस्तै आधुनिक कृषिप्रणाली पनि भित्र्याउन सक्नुपर्थ्यो, शिक्षामा समान अवसर सिर्जना गर्नुपर्थ्यो। अनि शहरकेन्द्रित लगानी मनोविज्ञानलाई निरुत्साहित गर्न ग्रामीण भेगमा पनि लगानी बढाउनुपर्थ्यो। नीतिनिर्माताले यी पक्षको ख्यालै गरेनन् वा नीति बने पनि कार्यान्वयनमा पक्षपात भयो।

देश अहिलेसम्म जसरी चलेको छ, त्यसैगरी चल्न दिने हो भने संघर्ष गर्न सक्ने त रूपान्तरित होलान्, नसक्नेहरूले कखरासमेत पढ्न पाउने छैनन्, खानै नपाएर भोकले सिद्धिने छन्। हामी नेपाली आर्थिक अवस्थामा तलमाथि भए पनि अहिलेसम्म सामाजिक सद्भाव र गठिलोपनमा गौरव गर्दै आएका छौँ। हाम्रो सद्भावलाई कोट्याउने र कचल्टाउने अनेक चेष्टा भइरहेका छन्, चाहे त्यो राजनीतिक मुद्दाका नाममा होस् या धर्म परिवर्तनका नाममा। केपी ओली, पुष्पकमल दाहाल, गगन थापा, विश्वप्रकाश शर्मा, रवि लामिछाने, स्वर्णिम वाग्लेलगायत नेतालाई बोधार्थ दिएर अरू सबै नेताहरूलाई जोडसँग भन्न मन छ, ‘नेता हो, कुराले चिउरा भिज्दैन।’

(लेखक स्वतन्त्र पत्रकार हुन्।)


सम्बन्धित सामग्री