Wednesday, July 24, 2024

-->

कांग्रेसका ‘रोग’ र तिनको उपचार

कांग्रेसको सांगठनिक क्षमतामा पार्टीभित्र नै विश्वास हराउँदै गएको छ। भातृ र भगिनी संघ कसैका मान्छे भर्ती गर्ने ठाउँका रूपमा परिणत भएका छन्। सरकार र सत्ता जसरी पनि चाहिन्छ भन्ने मूल्य मान्यता हाबी छ।

कांग्रेसका ‘रोग’ र तिनको उपचार

खासगरी प्रत्येक चुनावी परिणामपछि फलानो पार्टी किन कमजोर या बलियो भन्दै अनेक खाले विश्लेषण मिडियामा आउँछन्। २०४६ को परिवर्तनयता धेरैजसो सत्ता वरपर रहेको नेपाली कांग्रेसका सन्दर्भमा पनि त्यस्ता विश्लेषण हुने गर्छन्। संघीय र प्रादेशिक चुनावी परिणाममा पहिलो हुँदाहुँदै पनि सत्ताबाहिर रहेको कांग्रेसबारे अहिलेसम्म त्यस्तै बहस जारी छ। जनताले पत्याउँदा पत्याउँदै पनि कांग्रेस आफ्नै कारणले बिग्रेको चर्चा हुने गरेको छ।   

उसो त हामी नेता कार्यकर्ता पनि "कांग्रेस सुध्रनुपर्छ र नसुध्रिए हामी सकिन्छौँ" भनेर आफैँलाई घुर्की पनि लगाइरहेका छौँ, तर सुध्रिनुपर्ने को र कसले हो? यसबारे हामीबीच उत्तिकै अन्योल छ। मूल्य र सिद्धान्तभन्दा धन र डनले मूलधारका भनिने सबै पार्टी संक्रमित भएको सत्य हो। कांग्रेस पनि अलग होइन। नयाँ र स्वतन्त्र भन्दै उदाएको दलको 'सेलिब्रिटी नेतृत्व' सहकारी प्रकरणमा गहिरोसँग फसेको छ। 

कुनै पनि मूल्यमा सत्ताप्राप्ति आजका दिनमा सबै दलको ध्येय हुने गरेको छ। उसो त सत्ताप्राप्त गरेर समाज र राष्ट्रलाई फरक दिशा दिने तथा देशलाई समृद्ध पार्ने सोच महान् हो। त्यसो त व्यवसाय, रोजगारी आदिको बाटो छाडेर समाज र देश बदल्न राजनीतिमा होमिने काम आफैँमा स्तुत्य हो, भलै केही मान्छेले यसलाई पनि व्यापार बनाएका छन्।  

बीपीका सपना, कथनी र करणी
कांग्रेस नेपाली राजनीतिको नेतृत्वदायी र अभिभावक शक्ति हो। गौरवपूर्ण इतिहासको विरासत बोकेको यो पार्टी कसरी बिग्रियो र कसले बिगार्‍यो? सत्तालाई सबै कुरा ठान्ने प्रवृत्तिले कांग्रेस बिग्रिएको हो। मुखमा लोकतन्त्र, बगलीमा निरंकुशता। कांग्रेस वृत्तमै यस खालका टिप्पणी हुने गर्छन्। सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल भनेर हामीले आफ्नो दलमाथि गर्व गर्दै नेतृत्व भने आफूलाई सर्वज्ञ ईश्वरझैँ ठान्ने गरेको छ। 

कांग्रेसको स्थापना विशिष्ट लक्ष्य र उद्देश्यका साथ भएको थियो। राणाशासनको अँध्यारो र जहानियाँ शासनबाट नेपाल र नेपालीलाई बाहिर ल्याउँदै जनताका हक स्थापित गर्नु मूल उद्देश्य थियो। संस्थापक बीपी कोइरालाको सबै नेपालीलाई आफूजस्तै बनाउने भन्थे। उनको सपना अहिले पनि सान्दर्भिक छ। 

उतिखेर नेपाली जनतालाई शिक्षा, स्वास्थ्य, राजनीतिक, सांस्कृतिक आर्थिक देखि मानिसले प्राप्त गर्ने सामान्य मानवअधिकारका कुनै पनि अधिकार प्रत्याभूत थिएनन्। पूरै देश अन्धकारमा थियो। जनताका लागि समय यति प्रतिकुल थियो कि सत्ता र परिस्थिति (छिमेकी शक्ति) समेत राणाकै अनुकूलमा थियो। लामो समयदेखि राणाहरूद्वारा शोषित/शासित जनताको सर्वांगीण विकासको ध्येयका साथ कांग्रेस जन्मेको थियो। 

समय कालसँगै बीपीसहित संस्थापक नेताहरूले देखेका सपनाको आकार बढ्दै गयो, नेपालीका आकांक्षा फेरिँदै गयो। तर नेता र नेतृत्वले त्यसलाई बिर्सिँदै गए। 

जनमुक्तिका लागि २००७ सालमा लड्दै गर्दा कांग्रेसले धेरै ठूलो सपना वा भीमकाय योजना जनमाझ प्रस्तुत गरेको थिएन, केही सामान्य योजना र सपनामा मात्र थियो। बीपी कोइरालाले प्रस्तुत गर्नुभएको केही सपना सार्थकताको नजिक थियो। 

बीपीले यति नै भन्नुभएको थियो कि हामी यस्तो प्रजातन्त्र र व्यवस्थाको कल्पना गर्छौं कि जनता/जनार्दनको बलमा कोही पनि नेपाली जनता भोका नांगा वा अशिक्षित नरहुन्। देशमा सडक बाटोघाटो र अस्पताललगायत मानव जीवनलाई सुखी बनाउने कुनै पनि कुराको अभाव नहोस्। यसलाई प्रजातान्त्रिक समाजवादको परिभाषामा समेटिएको थियो। 

२००७ सालको सम्झौताले परिपक्वता प्राप्त गर्न २०१५ सालसम्म पर्खनु पर्‍यो वा संघर्ष गर्नुपर्‍यो। २०१५ सालमा बालिग मताधिकारको प्रयोगबाट नेपालमा पहिलोपल्ट नेपाली जनताले आफ्नो जनप्रतिनिधि चुन्ने अवसर प्राप्त गरे। जसबाट नेपाली कांग्रेसलाई सुविधाजनक बहुमतप्राप्त भएको थियो। 

बीपी कोइरालाको नेतृत्वमा पहिलो जन निर्वाचित सरकार निर्माण भई देशमा विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य र रोजगारीको उपयुक्त योजनाहरू प्रस्तुत गर्दै बीपीले आगामी १५ वर्षमा आम नेपालीको हैसियत आफ्नो जत्तिकै बनाउने प्रतिबद्धता लिनुभएको थियो। दुर्भाग्य, सरकारमा सुविधाजनक बहुमतमा कोइराला रहनु भए पनि राज्यसत्ताको अन्य संरचनाहरूमा राणाका अवशेष बाँकी थिए। 

राजा महेन्द्रलाई कांग्रेस जनतामा लोकप्रिय बन्दै गएको र चुलिँदै गरेको बीपीको राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तित्व मन परेको थिएन। त्यसैले उनी बीपी र प्रजातन्त्रविरुद्ध षड्यन्त्र गर्न थाले। जसअनुसार २०१७ पुस १ मा बीपीको जननिवार्चित सरकारलाई अपदस्त गरेर उनीलगायत कांग्रेस नेताहरूलाई जेल हाली मुलुकमा निर्दलीय पञ्चायत ल्याइयो। त्यसपछि बीपीका सम्पूर्ण जीवन जेलमा नै बितेपछि उनले गर्न सक्ने थोरै कुरा शेष रहे। त्यसैले भनिन्छ: बीपीसँग देश बनाउने सपना थियो, तर पर्याप्त समय भएन। आजका कांग्रेस नेतासँग समय छ, देश बनाउने सपना छैन। 

आजको कांग्रेस 
सैद्धान्तिक र राजनैतिक विचारको जगमा उभिएर आफ्नो नीति र कार्यक्रममा केन्द्रित भएर आफ्नो उद्देश्य प्राप्तिका लागि अगाडि बढ्दा र अविचलित रहँदासम्म वा अडिग रहँदासम्म मात्र कुनै पनि राजनीतिक दल सान्दर्भिक र आकर्षक देखिँदो रहेछ। 

आजको कांग्रेसमा विचार र सिद्धान्तको स्खलन व्यापक छ। प्रजातान्त्रिक समाजवादको चुरो विरलै कुनै नेता कार्यकर्तालाई थाहा छ। सेता हिमाल पग्लेर काला पहाड बन्दा जसरी तिनको सौन्दर्य हराउँछ, सिद्धान्त र विचार पग्लिएको हाम्रो दलभित्र पनि त्यही हाल छ। कांग्रेस त्यस्तै उराठलाग्दो स्वरूप लिएर चौबाटोमा चमत्कार कुरेर पर्खिराखेको जस्तो देखिन्छ। 

कांग्रेसको सांगठनिक क्षमतामा कांग्रेसकै विश्वास हराउँदै गएको छ। त्यसैले भातृ र भगिनी संघहरू केबल कसैका मान्छे भर्ती गर्ने ठाउँका रूपमा परिणत भएको छ। व्यवहारको चेपुवामा विचार थिलथिलो भएको छ। सरकार र सत्ता जसरी पनि चाहिन्छ भन्ने मूल्य मान्यता हाबी छ। वैचारिक मानिसको पार्टीमा आकर्षण घट्दो छ। धन, डन र सामाजिक जीवनमा र आर्थिक सामाजिक, राजनीतिक चरित्रविहीनको आकर्षण बढ्दो छ। जसले कांग्रेसलाई नयाँ जीवन दिन सक्दैन। यो मनोवृत्तिबाट आज कांग्रेस चल्ला, भोलि कांग्रेस चल्दैन। 

अहिले कांग्रेस र क्रान्तिकारिता दुई अलग विषयझैँ देखिने गरी पनि यो पार्टी क्रान्तिबाट जन्मेको हो। र, आजको संविधान पनि कांग्रेसकै नेतृत्वमा लेखिएको हो। तर संविधानमाथि अहिले दक्षिणपन्थीले निरन्तर प्रहार गर्ने गरेका छन्। त्यसो हुँदा ठूलो बलिदानबाट  प्राप्त यो व्यवस्था र यसका मूल्य जोगाउन कांग्रेस नै जिम्मेवार बन्नुपर्ने देखिन्छ। पार्टीभित्रै समेत दक्षिणपन्थीहरू जुर्मराउनु कांग्रेसको अर्को चुनौती हो। 

भोलिको कांग्रेस 
कांग्रेसको शुरूआततिरको सांगठनिक संरचनाको तस्वीर हेर्ने हो भने विधि र विधानमा कतै समावेशिताको नाममा विशेष व्यवस्था थिएन। तर व्यवहारमा समावेशिताको सुन्दर पक्ष संगठनको सुन्दर तस्बिरमा कतै छुटेको थिएन। भूगोल, धर्म, संस्कृति, जातजाति वा भाषा वा अवसरका दृष्टिकोणमा सबैलाई अवसर प्राप्त थियो। 

सबै तह र तप्काको समस्या र दृष्टिकोणलाई सुन्ने र मनन गर्ने राजनीतिक संस्कृतिको बलियो उपस्थिति थियो। आज त्यो छैन। हिजो तलको कुरा सुनिन्थ्यो, आज माथिकाले आदेश सुनाउँछन् मात्र। समावेशिताको उपयोग भुईं मान्छेले होइन, पहुँच र पावरले गर्छ। अवसर र समान वितरण विमुख छ पार्टी। सांगठनिक बल र पार्टीको योजना-कार्यक्रममा नेतृत्वले भरोसा गर्दैन। तमाम कारणले जनता र कार्यकर्तामा पार्टीप्रति एक किसिमको वितृष्णा पैदा भएको छ। 

यी सबै विकृति उल्ट्याउन चाहन्छ आजको पुस्ता, जसले जन–जनमा कांग्रेस पार्टी भरोसायोग्य र विश्वासयोग्य बनोस्। अवसर, भनसुन, द्रव्य-छुनछुन, नातावाद र कृपावादले नभएर योग्यता, क्षमता, योगदान र योजनाका आधारमा पार्टी अघि बढाउनु आजको मुख्य उद्देश्य हो। आजको कांग्रेस, युवा, महिला, आदिवासी, जनजाति, दलित, मधेशी, मुस्लिम, थारू र अल्पसंख्यकलगायत सबै समुदायको बनोस् भन्ने माग नययुवाको हो। 

जबसम्म कांग्रेस आम समुदायले भरोसा गर्न लायक बन्दैन, तबसम्म लोकतन्त्र बलियो हुन सक्दैन। लोकतन्त्र बलियो नहुँदासम्म जनताका राजनीतिक, आर्थिक र सामाजिक अधिकार बलियो हुँदैन। अबको कांग्रेसलाई देश र जनतालक्षित बनाउने काम युवा पुस्तामा आएको छ। त्यसका लागि कांग्रेसभित्रका तमाम लोकतान्त्रिक युवाले हातेमालो गर्नुपर्छ। यस अवस्थामा कांग्रेस यस युगको मूल्य बोक्ने पार्टी बन्नुपर्छ। 

(दाहाल कांग्रेसका युवा नेता हुन्। यहाँ व्यक्त विचार उनका निजी हुन्।)


सम्बन्धित सामग्री