तपाईंहाम्रो दिनचर्याको अधिकतम हिस्सा आजकल विगतको चर्चामै अलमलिएको छ। राज्यको हुनुपर्ने गति निर्बाध छैन, अझ भनौँ–बन्धकजस्तै बनेको छ। भविष्यको योजना र बहस त झनै अलप छ। सबैको अपेक्षा स्वाभिमान र समुन्नति छ, तर आचरण ठिक उल्टो छ। जुनसुकै विषयलाई निरपेक्ष नजरियाको लतमा समाज फस्दै गएको छ। नेतामा होस् वा जनतामा, आत्ममूग्धताको चढ्दो पारा रोकिने नामै छैन। कार्यशक्ति कुरा र कर्तव्यमै सीमित हुन पुगेको छ।
नेतामात्रै यी यावत् अवस्थाका कारक पक्कै होइनन्, साक्षी बसेका हामी जनता पनि उत्तिकै हिस्सेदार हौँ। हामी सबैको स्वमूल्यांकनपछि स्वधर्मको निर्वाहले नै देश बन्ने हो। आफूलाई देश बनाउने जादुगरी शक्ति प्राप्त भएजस्तो देखाउने अमुक व्यक्ति वा तिनले फ्याँकेका इन्द्रजालले हाम्रा समस्या कदापि हर्ने होइन। जस्तो कि, अहिले कतिपयलाई त्यस्तै कुनै तिलस्मी नेता आउँछ/हुन्छु र सबै बेथिति ठिक पार्छ/पार्छु भन्ने परेको छ, त्यसैको बाछिटा अहिले सडक, सदन र समाज सर्वत्र व्याप्त छ।
के कुरामा हामी प्रस्ट हुनैपर्छ भने देश अरू कसैले बनाइदिने होइन, हामी आफै बनाउने हो। त्यसैले अमुक नेता, अधिकारी वा अरू कसैमाथि कुनै प्रसंगमा टिप्पणी वा आरोपित गरिहाल्नुभन्दा अघि त्यसमा आफ्नो प्रासंगिकताबारे पनि एक पटक गम्नु आवश्यक हुन्छ। र, आफ्नो जिम्मेवारी अनि दायित्व निर्वाहमा आफू कहाँ छु भन्ने पनि मनन गर्नै पर्छ। राज्य सञ्चालकहरू जिम्मेवार होस् भन्ने चाहने, तर आफूले भने असल नागरिकको जिम्मेवारी नबोक्ने गलत संस्कारले हामीमा अजिबको कुण्ठा भरिदिएको छ र भरिएका कुण्ठा ओकल्न उत्प्रेरक बनिदिएका छन् हाम्रा नेताहरूका कृत्यहरू।
जनतामा गुम्सिएको कुण्ठा चुलिँदै आक्रोशमा रूपान्तरण हुँदैछ। राजनीतिक परिवर्तनपछिको अपेक्षा र सम्भावनाभन्दा निकै थोरै उपलब्धिले पनि स्वाभाविक रूपमा असन्तुष्टि जन्मायो। त्यसमाथि परिवर्तनका पहलकर्ता मानिएका नेतृत्वको राजनीतिक सिन्डिकेट र विचलनले जनमनमा आक्रोश थप्यो। अनि बहुरूपियाहरूलाई फस्टाउन पनि यो अवधि उर्वर रह्यो। यसरी फस्टाएकाहरूले नै असन्तुष्ट र आक्रोशितलाई मलजल गरेर जनमनलाई झनै हुर्काउन थाले। जसले अहिले डरलाग्दो स्वरूप ग्रहण गर्न थालेको छ। समयमै यो अवस्थामा विराम लगाउँदै जनतामा अपेक्षा पुनः ब्युँताउन सकिएन भने निम्तने भनेकै अनियन्त्रित अराजकताको चरण हो। जसका केही संकेतहरू देखिँदै पनि छन्। शुरूआती संकेतमै राज्य सञ्चालकहरू सचेत नहुने हो भने यो काबुभन्दा बाहिर जाने सम्भावना बलियो बन्दै जानेछ।
राजनीतिक नेतृत्वले नैतिक बल गुमाउँदा र जनतामा आशा जगाउन नसक्दा अराजनीतिक र अराजक व्यक्तिहरूको वर्चस्व हुँदै जानु अन्यथा होइन। यस्तो बेला केही त्यस्ता पात्रहरूको उदय र पुनरुदय पनि स्वाभाविकै हो, जो देशका यावत् समस्याहरू चुट्कीभरमा हल गर्ने दाबी मात्र गर्दैनन्। बल्की उनीहरू, आफूले मात्रै त्यसो गर्न सक्ने भाष्य पनि बनाउँछन्। फलतः धेरै हदसम्म आम मानिस बहकाउमा पनि पर्छन्। किनभने ती पात्रहरूले धर्म, राष्ट्रियता, चमत्कारजस्ता भावनात्मक कुरालाई आफ्नो अभिन्न अस्त्र बनाएका हुन्छन्। बेथिति र अराजकता अन्त्य गरेर नभई साथसाथै लगेर आफू माथि उकालिने उपाय बनाएका हुन्छन्। किनकि बेथिति र अराजकता भइरहे पो त्यसलाई भजाइरहन पाइयो।
१७औँ शताब्दीतिर युरोपका कैयौँ राष्ट्रमा आर्थिक अवस्था जर्जर हुँदा केही त्यस्ता पात्रहरूको उदय भएको थियो, जसले त्यहाँका जनतालाई धर्म र चमत्कारको मायाजालमा पारेका थिए। भेनिसका फ्रान्सेस्को ग्युसेप बोरी एक उदाहरण हुन्। उनले सन् १६५३ तिर सिंगो युरोपका जनतालाई आफूलाई ईश्वरीय शक्ति प्राप्त भएको, मानिसको आत्मासँग साक्षात्कार गर्न सक्ने, धातुलाई सुन बनाउने फिलोसपर स्टोन (पारसमणि) को खोज गर्ने र चमत्कार गरेर जनताका दुख हर्नेलगायत गफ दिएर भ्रमित पारेका थिए।
त्यसबेला जादुटुना र चमत्कारको कुरा गर्नेहरूमाथि इटलीको सरकार कडा हुन्छ। गफास्टक बोरीमाथि भेनिसमा सरकारी निगरानी बढेपछि त्यहाँबाट भागेर युरोपका अन्य राष्ट्रहरूमा पुगेका हुन्छन्। बोरीका अन्धभक्तहरू धेरै त थिए नै, प्रतिष्ठित र धनाढ्य व्यक्तिहरूसमेत उनका अनुयायी भएका थिए। तिनैमध्येकी एक स्विडेनकी तत्कालीन रानी पनि थिइन्। अन्तिम २० वर्ष भेनिसको जेलमा बिताएका बोरीलाई उनले निकै सहयोग गरेकी थिइन्। यतिसम्मकी उनले अन्तिम दिनसम्म पनि बोरीलाई भेटेर पारसमणिको खोजीका लागि भन्दै आर्थिक सहायता गरिरहिन्।
बोरी भागीभागी हिँडिरहँदा र जेलमा पर्दा उनीप्रति सहानुभूति राख्नेहरू कतिसम्म भन्थे भने- "यशु क्रिस्टलाई पनि यसरी नै लखेटिन्थ्यो। यसैगरी थुनिन्थ्यो र यातना दिइन्थ्यो।" अर्थात् कतिपय जनता बोरीको गफबाट यति विघ्न प्रभावित भएका हुन्छन् कि उनलाई ईश्वरकै रूप ठानिरहेका हुन्छन्।
हामीकहाँ पनि आर्थिक जर्जरता र अराजकतालाई औजार बनाएर बोरीजस्ता गफास्टकहरू (नयाँ, पुराना दुवै) गलतफहमी सिर्जना गरिरहेका छन्। यिनीहरू सही नहुँदाहुँदै पनि मौजुदा राजनीतिक व्यवस्थाका पहलकर्ताहरू भने दबाबमा छन्। तिनकै कारण मुख्य राजनीतिक दलका नेताहरू सहीलाई सही र गलतलाई गलत भन्नसम्म नैतिक रूपले कमजोर भइरहेका छन्। किनभने बोरी जस्ताहरूले सिर्जेका गलतफहमीबारे बोल्दा यिनका कमजोरीहरू पनि खोतलिन्छन्। यिनका आश्वासन, प्रतिबद्धता र गलत आचरणहरूबारे पनि प्रश्न उठ्छन्।
हामीले देखे/बुझेकै छौँ, राजनीतिक उपलब्धि हासिल गर्न योगदान गरेका कैयौँ उल्लेख्य अनुहारहरू बेदागी भई रहनबाट चुकेका छन्। त्यसैले पनि वास्तविक रूपमा जनताका मुद्दाहरू ओझेल परेका छन्, विषयान्तर हुन पुगेका छन्। मुद्दाहरू खासमा गफ र डरको चक्रमै मात्र फन्को मारिरहेका छन्। अर्थात्, वास्तविक मुद्दाले फराकिलो दायरामा बहस र संवादको मौका पाएकै छैन। फलतः स्वस्थ राजनीतिक प्रतिस्पर्धाको मूल्यमान्यता खिइँदै गएको छ।
राजनीतिक परिवर्तनका लागि संघर्ष गरेकाहरू, जो नैतिक र सामर्थ्यवान् छन्, यदाकदा उनीहरू निर्भीक भई डटिरहेका त छन्, तर उनीहरू गफास्टक र तिनका अन्धभक्तहरूको तारो बनेका छन्। अर्थात् उनीहरूलाई पनि जसरी हुन्छ, अनैतिक र सामर्थ्यहीन दर्साउने दुष्प्रयास भइरहेको छ। हुन त यो देखिएकै हो कि, जब कसैले सत्यसँग स्वस्थ प्रतिस्पर्धा गर्ने हिम्मत राख्दैन, तब ऊ विपक्षी र फरक मतप्रति घृणा गर्न थाल्छ, फैलाउन थाल्छ। हाम्रो राजनीतिमा दिनहुँ उचालिँदै गएका गालीगलौज, आरोप प्रत्यारोप र प्रतिशोधपूर्ण व्यवहारले पनि यो कुरा प्रस्ट्याउँछ।
हाम्रो समाज एक हदसम्म यसको जिम्मेवार हो। हामी कुनै व्यक्ति होस् वा नेता, हरेक तरहले निष्कलंक खोज्छौँ। मौजुदा अवस्थामा नेता नैतिक र कानुनी रूपले बेदाग भएर मात्र पूर्ण हुँदैन, विगत पनि निक्खर खोजिन्छ। अनि एक व्यक्तिले एउटै विषयमा अनेक चित्त बुझाओस् भन्ने अपेक्षा राखिन्छ। अमुक व्यक्तिमाथि यति धेरै अपेक्षा राखिन्छ कि ती अपेक्षाभित्र निहित हरेक तत्त्वहरू कसैमा भइदिने हो भने सो व्यक्ति साधारण मानिस नै रहिरहँदैन। सायद भगवान् नै ठहरिन्छ! तर आफूले रुचाएको वा आफूले नरुचाएको भन्दा फरक मत राख्नेका हकमा भने कलंक नै भए पनि निधार थाप्ने तत्परता भेटिन्छ। एउटा अमुक मानिसमा असीमित गुणहरू खोजेर सो व्यक्तिबाट सोहीअनुरूपको अपेक्षा राख्ने, तर आफूले मन पराएको नेताको खराब पक्षलाई समेत सद्दे देख्न थालेपछि अन्ततः पाउने भनेको निराशा नै हो, छाउने अँध्यारो नै हो।
कुनै अमुक नेता/व्यक्तित्वले कुनै सन्दर्भमा गल्ती वा कमजोरी गर्यो भने उ सम्पूर्ण रूपमा अयोग्य ठानिन्छ। उसको गल्ती वा कमजोरी अक्षम्य भइदिन्छ। उसका विगतका उल्लेख्य योगदानसमेत बिर्सिइदिइन्छ। उसका सकारात्मक र नकारात्मक पक्षबारे संश्लेषण वा विश्लेषण गर्न जरुरी ठानिँदैन। यतिसम्म कि उडन्ते आरोप लाग्नेबित्तिकै समेत अर्को पक्षले आरोपितलाई अपराधी नै करार गरिइदिइसक्छ। गल्ती वा कमजोरीको पुस्ट्याइँ वा मापनअनुसार व्यवहार विल्कुलै हुँदैन।
यसो हुनुमा हाम्रा नेता/व्यक्तित्वहरूको अपारदर्शी र अहंपूर्ण जीवनशैली अनि उनीहरू स्वयंले समाजमा फैलाएको घृणाको राजनीति नै कारक देखिन्छ। राजनीतिमा आम जनताको भावना र चाहनामाथिको अनादर अचाक्ली हुँदा जनमन अत्यन्तै नकारात्मक भइसकेको छ। कसैमाथि कुनै आरोप लाग्यो वा नैतिक, कानुनी रूपले अप्ठेरो आइपर्यो भने खोजीनिती नै नगरेर गलत ठहर्याइदिने र खुच्चिङ भनिहाल्ने प्रवृत्ति बढ्दो छ। स्वतन्त्र राय वा निष्पक्ष धारणा त भेटिनै छाडेको छ। विचार निर्माणकर्ता भनिएका ‘बुद्धिजीवीहरू’ पनि भीडको रुचिमा ढल्न पुगेका छन्, यथार्थ बोल्न बिर्सिएका छन्।
अप्ठेरो अवस्थासँग जुझिरहेको कुनै आरोपित व्यक्ति सम्भावित निर्दोष हो वा उसमाथि लागेका आरोप मनगढन्ते हुन् भने पनि राय राख्ने चेष्टा विरलै हुन्छ। आरोपितका सबल पक्षहरूसँग साक्षात्कार गरेको व्यक्ति पनि वास्तविकता वा आफ्नो विश्वसनीय बुझाइबारे चुप्पी तोड्न चाहँदैन। भीडको ठहर वा तत्कालको परिस्थिति मात्र हेरेर आफ्नो धारणा नबनाउन वा व्यवहार नजताउन व्यक्ति स्वयं स्पष्ट होला। तर त्यही कुरा आम जनतालाई बुझाउने सवालमा भने अस्पष्ट भइदिन्छ, अर्थात् वास्तविकता बुझाउने प्रयत्न नै गर्दैन। किनभने त्यसो गर्दा कैयौँले गलत ठहर्याइसकेको व्यक्तिको पक्षधरता लिएको बात लाग्छ भन्ने डरले उ ग्रसित हुन्छ। बरु उल्टो, गफास्टक र तिनका अनुचरहरू अनापसनाप अतिरञ्जनामा उल्झाइरहेका हुन्छन् हामीलाई।
गल्ती वा कमजोरीहरू सबै एकै हुँदैनन्। नियत र नियतिको कसीमा गल्ती वा कमजोरीहरूको स्तर निर्धारण हुन्छ। जबसम्म हामी गल्ती कमजोरीको स्तर मापन गर्दै बुझ्ने चेष्टा गर्दैनौँ, तबसम्म कसैप्रति पनि उचित व्यवहार जताउन सक्दैनौँ। पूर्वाग्रही आँखा जबसम्म बन्द गर्दैनौँ, तबसम्म सत्यतथ्य देख्न र लेख्न-बोल्न सक्दैनौँ। सबै गल्ती कमजोरीलाई एउटै डालोमा राखेर दृष्टिकोण बनाउने पेरिफेरीमा न्यायोचित व्यवहार नगण्य हुन्छ। परिबन्द, प्रभाव, प्रलोभन, दबाबमा पारेर वा अख्तियारी दुरुपयोग गरेर लाभ लिनेले गरेको अपराध अनि अज्ञानता, अपरिपक्वता वा बेपरवाहीका कारण हुन पुगेको अपराधलाई एउटै करार गर्नु संगतिपूर्ण हुँदैन।
यस्ता परिदृश्यहरूमा हाम्रा नेताहरू पनि लगभग मौन बसिदिन्छन्। किनभने जनताको घनीभूत सोचाइलाई चुनौती दिने आँट नेताहरूमा छैन। उनीहरूको सोचविपरीत बोल्दा एउटा ठूलो हिस्सा भड्किने डरले आवश्यक विषयमा समेत नेताहरू बोलिदिँदैनन्। हुन त ती नेतै होइनन्, जो जनतालाई सत्मार्ग देखाउन सक्दैनन्। जनतालाई सही र गलत के हो, सम्झाइबुझाइ आफ्नो मतमा हिँडाउन सक्ने पो नेता! जनताको गलत बुझाइप्रति समेत मौनता साँधेर त्यसैअनुसार बोलीव्यवहार गर्ने त केको नेता? नेता भनेको देशलाई दृष्टि दिने मात्र होइन कि जनताको दृष्टिकोण बदल्न सक्ने पनि हुनुपर्छ। यसमा नेता-जनता दुवै प्रस्ट हुनै पर्छ। अर्थात् हामी सबैले सत्यतथ्यबाट किञ्चित डग्नु हुँदैन, भलै त्यसको स्वर/आकार सानो किन नहोस्।
स्वामी विवेकानन्दले भन्नुभएको थियो, "मरेको माछा पानीको धारातिरै बहन्छ, जिउँदो माछा धाराको विपरीत पौडन्छ। यदि तपाईं जिउँदै हुनुहुन्छ भने गलतको विरोध गर्न सिक्नुस्।" यो उद्धरणप्रति हामी र हाम्रा नेताहरूले गम्भीरतापूर्वक मनन गर्नु जरुरी भइसकेको छ। थिर तलाउको बीचमा ठुलो ढुंगा फ्याँक्दाझैँ हाम्रो राजनीति तरंगित छ अहिले। फलतः झस्किएका र बहकिएका माछारूपी हामीहरू दिसाहीन पौडिरहेका छौँ। तरंग जब क्रमशः थिर हुँदै जानेछ, तब हामीले जिउँदो माछाझैँ पानीको धारातिर (सत्यको साथमा) नबगी धरै छैन। अन्यथा हामी रूपमा जिउँदो ठहरिए पनि सारमा फेरि पनि मरेतुल्य नै हुने छौँ।
बाँकी, वसीम बरेलवीको यो शेर कतिले सुन्नुभएको पनि होला:
उसूलों पे जहाँ आँच आये टकराना जरुरी है
जो जिन्दा हो तो फिर जिन्दा नजर आना जरुरी है
(सिद्धान्तमा कतै आँच आयो भने त्योसँग जुझ्न जरुरी छ
यदि तपाईं जिउँदै हुनुहुन्छ भने जिउँदो देखिन जरुरी छ)
(झा नेपाली कांग्रेसका युवा नेता हुन्।)