“ग्रुपमा लेख्न नसकेर यहाँ आ'को है।” भर्खरै आमा बन्नुभएकी एक जना महिलाले आफूले मेसेज गर्नुको कारण शुरूमै खुलाउनुभयो। उहाँ शिक्षित र आर्थिक रूपले सक्षम परिवारको बुहारी हुनुहुन्छ। तर गर्भवती अवस्थामा उहाँले भोग्नुभएका शारीरिक र मानसिक पीडाले भने आजसम्म पनि उहाँलाई बिझाइराख्दो रहेछ।
गर्भवती अवस्थामा तथा बच्चा जन्माइसकेपछि तपाईंले के कस्ता मानसिक तनाव भोग्नुभयो? यो प्रश्न हाम्रा सामाजिक सञ्जालहरू र सामाजिक सञ्जाल फेसबुकमा उपलब्ध किशोरी, युवती र महिला गरी ६१ हजारभन्दा बढी सदस्य रहेको ‘वमन्स रुम रिलोडेड’ (डब्ल्यूआरआर) र १५ हजारभन्दा बढी विवाहित महिला मात्रै सदस्य रहेको ‘वि बुहारी (बुहारी ग्याङ)’ मा हामीले सोधेका थियौँ।
त्यहाँ धेरैले आफूले गर्भवती र सुत्केरी अवस्थामा भोग्नुपरेका मानसिक समस्या शेयर गर्नुभएको थियो। ग्रुपमा सार्वजनिक रूपमा आफ्नो अनुभव व्यक्त गर्न असहज लागेपछि, यो अनुभव त्यही ग्रुपकी एक जना सदस्यले हामीलाई व्यक्तिगत रूपमा मेसेज गरेर शेयर गर्नुभएको हो।
नेपालबाहिर बस्ने उहाँ गर्भवती हुँदा श्रीमान्बाट चारपाँच पटक शारीरिक हिंसामा पर्नुभएको रहेछ। साथै, गर्भवती तथा सुत्केरी अवस्थामा अत्यावश्यक भावनात्मक र मानसिक साथको झिनो अनुभूतिसम्म नपाएको हामीलाई शेयर गर्नुभयो। तर यस्तो अनुभूति भोग्ने उहाँ एक्लो भने हुनुहुन्न।
हामीले सोधेको प्रश्नमा आएका मेसेज र कमेन्टलाई मात्रै आधार मान्ने हो भने पनि, गर्भावस्था र सुत्केरी अवस्थामा अनेकन् तिता मानसिक र भावनात्मक पीडाबाट गुज्रिएकाहरूको संख्या प्रशस्त छ। कोही आफ्ना पीडा फुकाइहाल्न सक्छन्, कोही धक मान्दै त्यस्ता पीडा फुकाउने प्रयत्न गर्छन्, कोही फुकाउनै चाहँदैनन् त कोहीले त्यस्ता पीडा पनि हुन्छन् र तिनलाई फुकाउनुपर्छ भन्नेसम्म अनुभूति गर्दैनन्।
हामी आफैँले पनि गर्भवती र सुत्केरी अवस्थामा त्यस्ता थुप्रै मानसिक र भावनात्मक पीडाको अनुभूति गरेका छौँ, जसको सम्झनाले मात्रै पनि मन अमिलो अनि आँखा रसिला बनाउँछ। आफूले अर्को एउटा सिर्जना यो सुन्दर संसारमा ल्याइरहँदा, आफू हुनुको अस्तित्व नै हराएको अनुभूति आमा बन्दै गरेका र भर्खर आमा बनेका अधिकांशको समान भोगाइ रहेछ।
जब हामीले आफ्ना अनुभूति र हामीलाई आएका अनुभूतिहरू केलायौँ, यो भोगाइ झनै जायज पायौँ:
“बच्चा जन्माएपछि सबैको ध्यान बच्चातिर हुँदा कस्तो पिर पर्थ्यो। मेरो ‘डेलिभरी’ पछि नि केही स्वास्थ्य समस्या थिए, तर सबैले नानीले दुःख पाई, आमा त बरु ठूली छभन्दा मेरो जीवनको मूल्य शून्य भएजस्तो लाग्थ्यो।”
“बच्चा जन्मेपछि आफूलाई कसैले सम्झिने रहेनछन्। सबैलाई बच्चा मात्रै प्यारो, आमाको बाल मतलब।”
“जसले पनि बच्चालाई मात्रै एटेन्सन दिँदा बच्चासँग पनि ‘इरिटेड’ हुन्छ। आफू ‘हेल्पलेस’ भइने रहेछ।”
“अप्रेसन गरेर बच्चा निकाल्नेलाई के थाहा बच्चा पाउँदा हुने दुःख। अप्रेसन गरेका आमालाई त बच्चाको माया नै हुन्न। पाउँदा दुःख पाको भा पो।”
“नर्मल डेलिभरी गरेकाले त भोलिपल्टै ठम्ठम्ती हिँडेर घर जान, भातसात आफैँ पकाएर खान सक्छन्...हामी त सुत्केरीमा नि घाँस दाउरा गर्थेम्।”
यी केही प्रतिनिधि उदाहरणले पनि गर्भवती अवस्था र सुत्केरी अवस्थाकी महिलाले भोग्ने मानसिक उतारचढावलाई बुझाउँछ। तर, त्यस्ता उतारचढावको सिलसिला यस्ता अनुभूतिमा मात्रै सीमित छैन। यो अवस्थामा हर्मोन असन्तुलित हुँदा देखिने शारीरिक, मानसिक, भावनात्मक समस्यालाई नजरअन्दाज गरेका उदाहरण प्रशस्त छन्।
महिलाको स्वास्थ्यवस्था बेवास्ता गर्दै आफ्ना नजिककाहरूले प्रहार गर्ने शारीरिक र मौखिक पीडा, अन्यसँग तुलना गरेर व्यक्त गर्ने अपमानजनक र भद्दा टिप्पणी, शारीरिक क्षमतालाई नबुझी हतारमा औँल्याइदिने कमीकमजोरी आदिले पनि गर्भवती र सुत्केरी महिलालाई अनेकन् तनावसँग जुध्न विवश बनाउँछ। हरेक गर्भवती महिलाको शरीर फरक हर्माेन, फरक संवेदना, फरक अनुभूति र तीसँग जुध्ने फरक शैलीको हुन्छ। यो सबैसँग मिल्नैपर्छ भन्ने हुँदैन। तर यस्तो सत्यलाई अनदेखा गरेर या नबुझेर गरिने तुलनात्मक लेखाजोखा र त्यस अनुसारको व्यवहारले गर्भवती र सुत्केरी महिलालाई विचलित बनाउँछ।
यदि महिलाले बच्चा जन्माउनासाथ स्तनपान गराउन सकिनन्, आमाको दूध आएन/अपुग भयो वा आएर पनि बच्चाले खाएन भने उनको क्षमतालाई खिसीटिउरी गर्ने, अनेकन् लाञ्छना लगाउने, अन्य आमासँग तुलना गरेर नमिठा वचन प्रयोग गर्ने त हामी आफैँले थुप्रै पटक भोगेका छौँ:
“बट्टाको दूध खुवाउनेलाई छोराछोरी जन्माएको के महत्त्व? बट्टाकै दूध ख्वाउने भए हामीले नै लगेर पाल्छौँ।”
"बच्चाले आमाको दूध नखाने भन्ने हुन्छ र? ख्वाउन जान्नुपर्यो नि आमा भएसी त!”
“दूध नआउने भन्ने नि हुन्छ? हाम्रो पालाँ त्यत्तिका छोर्छोरीलाई ख्वाएकै हो, अहिलेकाले नाटक गर्छन्।”
“मेरी छोरीको त छर्छर्ती दूध आउँथ्यो, छिर्काले भित्ता छुन्थ्यो। यसको खै के भाको हो?”
मजाक गरेको बहाना बनाएर ओठ लेप्र्याउँदै परिवारकै अन्य महिला सदस्य, श्रीमान्, नजिकका आफन्त, नातागोता, आदिले प्याच्च लगाउने यस्ता वचन र नमिठा भोगाइले महिलालाई निरीह मात्रै बनाउँदैन, आफ्नैहरूसँग बारम्बार क्रोधको भारी र अविश्वासको दूरी बढाउँछ। यस्तो अवस्थालाई हामीले सामान्य ठानेर गर्ने व्यवहार तथा तुलना, दिने अभिव्यक्ति आदिले भने एउटा महिलालाई गहिरो डिप्रेसन (चरम अवसाद) मा मात्रै धकेल्दैन, मृत्यु अंगीकार गर्नसम्म बाध्य बनाउँछ। त्यस्ता उदाहरण हाम्रै वरपर प्रशस्त छन्।
२०७९ भदौमा झापा घर र चितवन माइती भएकी एक जना सुत्केरीले नारायणी नदीमा हाम्फालेर मृत्युको बाटो रोजिन्। पछि सञ्चारमाध्यममा उनका परिवारका सदस्यले शेयर गरेको कुराबाट थाहा भयो, उनलाई पोस्टपार्टम डिप्रेसन भएको रहेछ। बुवाआमा र श्रीमान्ले चिन्ता गर्लान् भनेर मनको पीडा मनमै राखेर उनी संसारबाट बिदा भइन्। यो घटनाले केही समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गर्भावस्था र सुत्केरी अवस्थामा हुने अवसाद अर्थात् ‘प्रिनेटल र पोस्टपार्टम डिप्रेसन’ चर्चा र विचार–विमर्श पनि भए। पछि सो विमर्श सेलाएर गयो।
तर प्रत्यक्ष देखिने/सुनिने प्रिनेटल र पोस्टपार्टम डिप्रेसनका यस्ता एकाध घटनाबाहेक अधिकांश घटना भने डिप्रेसनको दलदलसँगै दबिएरै जान्छ। कोही अनेकन् प्रयासपछि त्यो दलदलबाट उठ्न सफल हुन्छन्। कोही भने दलदलको गहिराइमा पुगेर स्वास्थ्य, सम्बन्ध, समाजसँग नै दूरी बढाउँदै अन्य समस्याको भुमरीमा नमिठो विगतसँगै रुमलिन बाध्य हुन्छन्। समस्याको जड आमा बन्दै गर्दाको मानसिक स्वास्थ्यवस्था भए पनि हाम्रो सामाजिक बुझाइ र सोचाइले त्यो जडमा टेकेर समस्या समाधानको विकल्प खोज्न हत्तपत्त रुचाउँदैन।
गर्भवती तथा सुत्केरी अवस्था कुनै महिलाका लागि मात्रै नभई उनको सिंगो परिवारका लागि संवेदनशील अवस्था हो। यस अवस्थामा हुने शारीरिक, मानसिक, भावनात्मक परिवर्तनले आमा, बच्चा र पूरा परिवारको समग्र विकासमा ठूलो अर्थ राख्छ। सामान्य बिरामी हुँदा र कहिलेकाहीँ दैनिक जीवनमा केही तलमाथि हुँदा मात्रै पनि हाम्रो मनमा अनेकन् कुराले डेरा जमाउँछ। मानसिक रूपमा कमजोर महसुस गर्छौँ।
झन् गर्भावस्था र सुत्केरी अवस्थामा त महिलामा सँगसँगै हरेक प्रकारको परिवर्तन भइरहेको हुन्छ। उनले बाँच्दै आएको एक प्रकारको दैनिकीमा अकस्मात् अनेकन् परिवर्तन आइदिन्छ। नसोचेका शारीरिक र मानसिक स्वास्थ्य समस्या सामना गर्नुपर्ने हुन्छ। नयाँ जिम्मेवारी थपिँदै गइरहेको हुन्छ। तर यस्ता परिवर्तनलाई लिएर अधिकांश महिलाका श्रीमान्, परिवारका अन्य सदस्य, नातागोता, सामाजिक सम्बन्धमा जोडिएका शुभेच्छुक र सामाजिक संरचना संवेदनशील छैन। उनीहरू धेरैलाई यो अवस्थालाई संवेदनशीलताको दृष्टिले हेर्नुपर्छ भन्ने कुराको चेत नहुन सक्छ। चेतना भएका पनि धेरैले यसलाई आत्मसात् गर्नै चाहन्नन्।
मानसिक स्वास्थ्य समस्या व्यक्तिले चाहेर वा नचाहेर हुने स्वास्थ्यवस्था होइन। ससाना घटना, अनुभूति, भावना, आदिले पनि मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ। अझ गर्भवती र सुत्केरी अवस्थामा त शरीरमा हर्मोनको उतारचढावले यस्ता भावना आउनु स्वाभाविक मानिन्छ। तर आएका भावना र देखिएका मानसिक स्वास्थ्य समस्यालाई हल्का रूपमा लिँदा वा बेवास्ता गर्दा भने त्यसको परिणाम भारी पर्न सक्छ।
गर्भवती अवस्थाको पहिलो १३ हप्तासम्म एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनका साथै रगतको मात्रा पनि बढेको हुन्छ। यो अवस्थामा शरीर थकित हुने, स्तनलगायत शारीरिक अंगमा दुखाइ महसुस हुने, छिटोछिटो पिसाब लाग्ने, वाकवाकी लाग्नेलगायत समस्या देखिन्छन्। यस्ता समस्याले एउटी गर्भवती महिलामा अनेकन् भावना सँगै आइरहेको हुन्छ, जसले एक प्रकारको डर, जिज्ञासा, उत्सुकता र अनौठो अनुभूति दिलाइरहन्छ।
यस्तै, गर्भावस्थाको दोस्रो त्रैमासिकमा पेटभित्रको भ्रूण बढ्दै जाँदा शरीरमा चिलाई र दुखाइको महसुसले शरीरमा अनेकन् भाव पैदा गराउँछ। र, तेस्रो त्रैमासिकमा पेटभित्रको बच्चा ठूलो भइसकेकाले असहज महसुस हुने, डेलिभरीको चिन्ताले मनमा डर र जिज्ञासा हुने आदि हुन्छ। यस्ता अवस्थामा महिलालाई श्रीमान्, परिवारका सदस्य, नजिकका व्यक्तिको साथ सहयोग र सकारात्मक ऊर्जाको विशेष महत्त्व राख्छ। तर, तिनै कुराको कमी भयो भने नजानिँदो तरिकाले महिलाले मानसिक तनाव भोगिसकेका हुन्छन्।
यस्तै, बच्चा जन्माएको २/३ दिनपछि महिलाले चिडचिडाहट र तनाव महसुस गर्नु सामान्य हो। यो अवधिमा महिलालाई ‘बेवी ब्लुज’ लक्षणहरू; बिनाकारण रुन मन लाग्ने, सुत्न असहज हुने, भर्खर जन्म दिएको बच्चाको राम्रो ख्याल गर्न सकुँला कि नसकुँला भनेर आफ्नै क्षमतामा प्रश्न गर्नेलगायत समस्या हुन्छन्। शरीरमा प्रोजेस्टेरोन हर्मोन परिवर्तन हुँदा यस्तो समस्या हुने गर्छ। हर्मोनल कारणबाहेक शारीरिक थकान, स्तनपान गराउन समस्या आदिले पनि महिला सुत्केरी अवस्थामा मानसिक समस्याको जोखिममा हुन्छन्। बेवी ब्लुजको समस्या केही महिलालाई बच्चा जन्माएको २ हप्तामा हराएर गए पनि कतिपयमा भने पछिसम्म रहन्छ र पोस्टपार्टम डिप्रेसनमा परिणत हुन्छ।
जोन हपकिन्स मेडिसिनको वेबसाइटमा प्रकाशित ‘बेवी ब्लुज र पोस्टपार्टम डिप्रेसन: मुड विकार र गर्भावस्था’ शीर्षकको लेखमा उल्लेख भएअनुसार पोस्टपार्टम डिप्रेसनले ज्यान जोखिममा पनि हुनसक्छ, तर यसलाई समयमै पहिचान गरेर उपचार गर्न पनि सकिन्छ। कोही महिलामा भने पोस्टपार्टम डिप्रेसनको समस्या गम्भीर प्रकृतिका हुने गर्छन्। विशेष गरी पहिल्यैबाट चिन्ता तथा अवसाद अर्थात् ‘एन्जाइटी र डिप्रेसन’ भएका महिला, आफ्नो परिवारमा पोस्टपार्टम समस्या भोगिसकेको महिला वा वंशाणुगत पोस्टपार्टम डिप्रेसन भएका महिलामा यसको जोखिम बढी हुन्छ।
विश्व स्वास्थ्य संगठनले सन् २०२३ को मार्चमा प्रकाशन गरेको ‘डिप्रेसिभ डिसअर्डर (डिप्रेसन)’ शीर्षकको ‘फ्याक्टसिट्स’ अनुसार संसारका लगभग २८ करोड मान्छेलाई डिप्रेसन छ भने डिप्रेसनको समस्या पुरुषको तुलनामा महिलालाई लगभग ५० प्रतिशत बढी सामान्य छ। यसैगरी, विश्वभर १० प्रतिशत गर्भवती तथा सुत्केरी महिलामा डिप्रेसनको समस्या छ।
नेपालमा पहिलोपटक गरिएको मातृ मृत्युसम्बन्धी अध्ययनअनुसार नेपालमा मातृ मृत्युका विभिन्न कारणमध्ये आत्महत्या गरेर मृत्युवरण गर्ने महिलाको संख्या ६ प्रतिशत छ। यो संख्यालाई हेर्दा गर्भवती तथा सुत्केरी भएपछि महिलाहरू मानसिक स्वास्थ्यसम्बन्धी समस्यामा पर्छन् भन्ने प्रस्ट हुन्छ।
यी विभिन्न घटनाक्रम, अध्ययन तथा तथ्यांकले देखाएअनुसार गर्भावस्था तथा सुत्केरी अवस्था संवेद्य र नाजुक अवस्था हो। यो अवस्थामा महिलालाई शारीरिकसँगै मानसिक तथा भावनात्मक साथ, माया, हेरचाह र आफ्नोपनको अनुभूति अत्यावश्यक हुन्छ। आमा र बच्चा दुवैको स्वस्थ जीवनका लागि र परिवारमा खुशी महसुस गराउन यस्ता व्यवहारले विशेष भूमिका खेल्छन्। त्यसैले गर्भावस्था र बच्चा जन्माइसकेपछिको मनोवैज्ञानिक अवस्था स्वीकार गर्न, खुलेर कुरा गर्न र त्यो अवस्थामा महिलाले भोग्ने मनोसमस्यालाई निरुत्साहित गर्न सबैले हातेमालो गर्न कन्जुस्याइँ नगरौँ।
(लेखकद्वय यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)