Wednesday, July 24, 2024

-->

तलेजुको हार फर्काउन नेपालको गृहकार्य पूरा भैसकेको छ : एरिन एल. थोम्सन

‘यहाँ हजारौँको संख्यामा अझै पनि मठमन्दिर, मूर्तिहरू छन् जुन अवलोकन गर्दा अलौकिक आनन्द लाग्छ। तर तिनै सम्पदा निजी संग्रहकर्ताको घरमा पुगेपछि त्यसको अर्थ र महत्त्व त्यति रहँदैन। अहिले यस्तै स्थिति छ ।’

तलेजुको हार फर्काउन नेपालको गृहकार्य पूरा भैसकेको छ  एरिन एल थोम्सन

चोरी भएर देशबाहिर पुगेका मूर्ति फिर्ता हुने प्रक्रियाले केही वर्षयता गति लिन थालेको छ। यसबीच नेपाल हेरिटेज रिकभरी क्याम्पेन, लस्ट आर्ट्स अफ नेपाल,  पुरातत्व विभागलगायत सरोकारवालाले आफ्नो तवरबाट सम्पदा फिर्ताको लागि योगदान दिइरहेका छन्। नेपाल हेरिटेज रिकभरी क्याम्पेन सल्लाहकार समितिकी सदस्य तथा न्यूयोर्कस्थित जोन जे कलेजकी प्राध्यापक एरिन एल. थोम्सनको अग्रसरतामा पाटनस्थित पट्को टोलको लक्ष्मी–नारायण मूर्ति फिर्ता भएको थियो। फिर्ता भएर समुदायमा पुनस्र्थापित हुनेमध्ये उदाहरणीय मानिन्छ, लक्ष्मीनारायण मूर्ति। सम्पदा घरफिर्तीको अभियानबारे उकालोका लागि प्रबिता श्रेष्ठले गरेको कुराकानी :

मूर्ति फिर्ताको अभियानमा नेपालसँग कसरी जोडिनुभयो?
म ‘आर्ट एन्ड क्राइम’ विषयको प्रोफेसर हुँ। मैले कला र इतिहास (ग्रिक र रोमन एन्टिक्युटिज)मा पीएचडी गरेँ। यसबीच मलाई लाग्यो, मैले यो क्षेत्रमा काम नै पाउँदिन होला। क्लासिक आर्ट इतिहासकारको रूपमा निकै कम काम पाइन्थ्यो। त्यसपछि मैले कानून पनि अध्ययन गरेँ, छोटो समय कर्पोरेट वकिल बनें। अनि मात्रै न्यूयोर्कस्थित जोन जे कलेजमा पढाउन थालेँ।

अध्यापनमा मेरिडेननीयन एन्टिक्युटिज्, पूर्वीय सभ्यताका मुलुक तथा इराकबाट लुटिएका प्राचिन कलावस्तुमा काम गर्न थालेँ। युद्धमा ध्वस्त भएको ‘डेलिभर्ड डिस्ट्रक्सन अफ आर्ट‘ कलावस्तुको पनि अध्ययन गरेँ। ग्वान्तानामो बेमा कैदीहरूले बनाएको चित्रकला प्रदर्शनी पनि गरेँ। त्यसैबीच, मलाई कला–सम्पदा बिषयक एक प्रदर्शनीमा अध्येता जोय लिन डेभिसले आमन्त्रण गरिन्। त्यस क्रममा उनले नेपाल सम्पदा पुनस्र्थापन अभियान सम्बद्ध कनकमणि दीक्षितबाट नेपाली कलाकृतिको इतिवृत्ति ज्ञान हासिल गरेकी रहिछन्।

जोय लिनले डालस संग्रहालयमा रहेको लक्ष्मीनारायण (वासुदेव–कमलाजा) मूर्तिबारे पनि बताइन्। यसबारे मैले लेखेर र बोलेर अमेरिकी समुदायकोे ध्यानाकर्षण गराउन चाहेँ। मलाई लक्ष्मीनारायण भनेर उच्चारण गर्नै पनि ६ महिना लाग्यो। त्योबेला ट्वीटर थ्रेडमा लक्ष्मीनारायणबारे बुझेसम्मको ब्रिफिङ लेखेकी थिएँ। त्यसबीचमा न्युयोर्क सिटी आर्ट पब्लिकेशनको हाइपरएलर्जीका प्रमुख सम्पादकले यसबारे लेख तयार गर्न अनुरोध गरे। लेख प्रकाशन भएको २४ घण्टा नबित्दै डालस संग्रहालयले ‘हामी उक्त मूर्तिको प्रदर्शनी रोक्छौँ, पर्याप्त प्रमाणसहित आउनुहोला’ भनेर सूचना पठायो। त्यसपछि थप अध्ययन शुरू भयो। यसरी कला, इतिहास, कानून हुँदै म मूर्ति फिर्ताको अभियानमा जोडिन पुगेँ।

यो अभियानअन्तर्गत कुन–कुन देशमा काम गरिरहनु भएको छ?
मैले नेपालसहित इराक, कम्बोडिया र अमेरिकी संग्रहालयलाई हेरिरहेकी छु। आफ्नो सम्पदा घर फिर्ती गराउन नेपाल र कम्बोडियामा सरकार तथा नागरिक समाज एकै स्थानमा देखिन्छन्। यी देशमा सरोकारवाला निकाय र जनता मिलेर काम गरेको पाएकी छु।

यसमा कानूनी पाटोले कतिको महत्त्व राख्छ?
यस्तो प्रक्रियामा कानूनभन्दा पनि बढी ‘नेगोसिएसन’ महत्त्वपूर्ण लाग्छ। कानूनी प्रक्रिया थाहा भए पनि यो मामलामा आपसी समन्वय र समझदारीको बढी अर्थ रहन्छ। लक्ष्मीनारायण मूर्ति सन्दर्भमा डालस संग्रहालयले कानूनीभन्दा पनि ‘फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन’ (एफबीआई)को अनुसन्धान प्रक्रियालाई अघि बढाएको थियो। यद्यपि यस्तो सम्पदा पहिचान तथा फिर्तीमा केही अन्तर्राष्ट्रिय कानून भने पक्कै आकर्षित हुन्छन्। जस्तै, अहिले म ‘म्यानहटन डिस्ट्रिक अटर्नी’ कार्यालयसँग काम गरिरहेकी छु। मूर्ति तथा पुराना सम्पदाको हकमा न्यूयोर्कमा ठूलो बजार छ। ‘मूर्ति चोरिएको हो कि वा गैरकानूनी रूपमा निर्यात भएको थियो? कानूनी व्यवस्था कस्तो थियो?’ आदि पक्षमा खोजबिन रहन्छ। यस्तै, सम्पदा उत्पत्तिको थलो र गन्तव्य मुलुक दुवैतर्फको कानूनी व्यवस्था जान्नैपर्ने हुन्छ। नेपालका कानून व्यवसायी सञ्जय अधिकारीलगायतसँग संवाद भएपछि मैले नेपालको कानूनी प्रक्रिया बुझेकी हुँ र त्यही आधारमा अमेरिकामा कानूनी पाटोका दुई पक्षीय आधारलाई स्पष्ट पार्ने काम गर्दै आएकी छु । 

हालै नेपालमा भएको सम्पदा पुनर्स्थापनाबारेको ‘रिइन्स्टिच्युसन अफ हेरिटेज’ गोष्ठीमा सहभागी हुनुभयो, यो गोष्ठीको अन्तर्राष्ट्रिय प्रभाव कस्तो हुन्छ?
गोष्ठी आर्कषक र अर्थपूर्ण थियो। मैले के देखेँ भने, नेपाली समुदाय सम्पदाप्रति लगाव मात्रै राख्दैनन्, आशावादी पनि देखिन्छन्। सबैजना आफ्ना सम्पदा घरफिर्तीका लागि लागेको पाएँ। आफ्नो सरोकार र समस्यालाई उठाउने तथा आफ्ना तर्कवितर्क प्रस्तुत गर्ने सहभागीको शैली सह्रानीय थियो, मैले स्वस्थ वाद–प्रतिवाद सुनेँ। 

यस्तो कामले अन्तर्राष्ट्रिय तहमा पनि प्रभाव पार्छ नै। जस्तो, सम्पदा पहिचान र उत्पत्तिको अधिकारसम्बन्धी विषयमा मसहित धेरैले अन्तर्राष्ट्रिय जर्नलहरूमा लेख लेखेका छन्। ती लेखमा कम्बोडिया, इटालीसँगै नेपालको पनि नाम बारम्बार आइरहेको थियो, जसले अमेरिकी सरोकारका निकायलाई प्रभावित गर्‍यो नै, विश्व मानचित्रमा त्यति आइनसकेको नेपालको सम्पदा इतिहास र मूर्ति घरफिर्तीको विषयमा धेरैको नजर पर्न थाल्यो। केही व्यक्ति र सानो समूहबाट शुरू भएको नेपालको सम्पदा घरफिर्ती अभियानले आज अन्तर्राष्ट्रिय चेतना र चासो बढाइसकेको छ।

कतिपय सन्दर्भमा पुरातत्वका पदाधिकारी ‘नेपालमा मूर्ति वा सम्पदासम्बन्धी अध्ययन गर्न आउने विदेशीले अनुमति नलिई काम गर्छन्’ भनेर आरोप लगाउने गरेका छन् नि?
यस विषयमा म पनि आश्चर्यमा छु। खासमा हामी जस्तो आगन्तुकलाई कहाँ, कसरी गएर के–के प्रक्रिया गर्ने भन्ने जानकारी हुँदैन। हामीलाई पनि सहज रूपमा जानकारी उपलब्ध गराउनु आवश्यक छ। यसका साथै नेपालीहरू निकै उदार (सहजै सहयोगी बनिदिने) स्वभावले पनि केही समस्या ल्याएको हुनसक्छ। आफ्नो सम्पदा, सम्पत्तिबारे कसैले सरोकार राखेमा अलिक गहिराइमा गएर प्रतिप्रश्न भने गर्नैपर्छ। उदारपनाले कहिलेकाँही अप्ठ्यारो निम्त्याउन सक्छ। 

यसअघि, उकालो वार्तामा स्विस अध्येता उल्रिच भोन स्क्रोडरले ‘नेपाल सरकारले मूर्ति घरफिर्तीका लागि उचित व्यवस्था र प्रक्रिया मिलाउनु पर्ने’ भनेका थिए। तपाईंको रायमा नेपालमा सम्पदा घरफिर्ती प्रक्रियाका कठिनाइलाई कसरी हेर्नुभएको छ?
हो, प्रक्रिया र पद्धतिमा काम हुनुपर्छ भन्ने कुरा सही हो। म पनि त्यही भन्ठान्छु। तर हरेक पटक पद्धतिले काम हुँदैन। एउटै देशमा पनि फरक–फरक तरिकाले मूर्ति फिर्ताको लागि पहल हुन सक्छ। उदाहरणका लागि, त्यही सम्पदा संग्रहालयबाट वा निजी संग्रहकर्ताबाट फिर्ता ल्याउन भिन्न पहल र प्रक्रिया हुन सक्छ। यो त प्राथमिकताको विषय हो। व्यवस्थित प्रणालीको विकास हुनु राम्रो हो, एउटा निश्चित पद्धति बसाल्न सके सम्पदा चोरीका आरोपी वा दोषी पहिल्याउन पनि सकिन्छ। तर पद्धती त्यतिकै तयार गर्न पनि मुश्किल हुन्छ नै।

जागरण र चेतना आइसके पनि सम्पदा चोरीको क्रम त जारी देखिन्छ नि?
यो भनेको प्रमुखतः जनचेतनाकै कुरा हो। अबको लागि यस्ता बहुमूल्य वस्तु कुन स्थानमा छन् भन्ने योजना तय हुनुपर्छ, ‘इन्भेन्ट्री’ जस्तो । बहुमूल्य सम्पदा बिक्रीवितरण आदिबाट कुनै प्रकारको फाइदा हुन नसक्ने सूचना पनि प्रवाहित गर्नुपर्छ। उनीहरू दण्ड सजायको भागिदार हुनुपर्छ भन्ने आधार पनि स्पष्ट पार्नैपर्छ। यसका लागि शिक्षा र चेतना महत्त्वपूर्ण हुन्छ। सम्पदा संरक्षण गर्न सकेमा अर्थोपार्जन (पर्यटकीय वा अन्य) गर्न सकिनेबारे जानकारी दिन सक्नुपर्छ। 

तपाईंको विचारमा नेपाल यस्तो बहुमूल्य सम्पदा हराउने/चोरिने देशको कुन स्थानमा पर्छ ?
नेपाल निकै उच्च स्थानमा छ। मैले एक ऐतिहासिक दस्तावेज पढ्दा काठमाडाँै उपत्यकामा मानिसभन्दा बढी देवीदेवताबारे उल्लेख भएको पाएकी छु। यहाँ हजारौँको संख्यामा अझै पनि मठमन्दिर, मूर्तिहरू छन् जुन अवलोकन गर्दा अलौकिक आनन्द लाग्ने गरेको छ। तर तिनै सम्पदा निजी संग्रहकर्ताको घरमा पुगेपछि त्यसको अर्थ र महत्त्व त्यति रहँदैन। अहिले यस्तै स्थिति छ।

नेपाललगायत देशबाट चोरी भएका सामग्रीबारे पश्चिमा समाजले कस्तो रूपमा बुझ्ने गरेको छ, जस्तो— कुनै बहुमूल्य वस्तु, वृहत चित्रकला, सग्लो मूर्ति मात्रै वा त्यो भन्दाबाहिर? अथवा, चोरी हुने वस्तुको कुनै निश्चित परिभाषा गरिएको छ? 
अधिकांशले सोच्दा सामान्य रूपमा यस्तै आधुनिक, पुरातन चित्रकला वा सामग्री मात्रै भनेर सोच्छन्। ग्रिस, रोमजस्ता देशमा देवीदेवता पुज्ने संस्कार वर्षौंअघि सेलाइसक्यो। सम्पदाजन्य वस्तुहरू त्यहाँबाट हराए पनि त्यसलाई ‘मिस’ गर्ने कोही छैनन्। 

यदि तपाई ‘आर्ट–क्राइम’ भनेर स्फेसिफिक हुनुहुन्छ भने आममानिसले टम क्रुजले जस्तो जेलिएका तार र लेजरबीचबाट चोरिँदै ल्याएको सामग्री भन्ठानिरहेका हुन्छन्, जुन सत्य होइन। हर कोहीसँग लेजर पद्धति हुँदैन, सुरक्षा र संरक्षण सबैतिर उस्तै हुँदैन। संग्रहालयभित्रकै सुरक्षा पनि राम्रो हुन्छ भन्ने हुँदैन। प्रायःजसो संग्रहालय स्रोत अभावमा सानो खर्चमा चलेका हुन्छन्, र अधिकांश ऐतिहासिक भवनमा बसेका हुन्छन्। त्यस्ता जीर्ण भवनमा लुटपाट सजिलै हुन सक्छ। अर्कातिर, प्रदर्शनीमा रहेका कलावस्तु, मूर्ति चोर्नु भनेको मूर्ख योजना हो, ती आममानिसको प्रदर्शनीमा हुन्छन् नै। चोरी भएका ती वस्तुको फोटो सामाजिक सञ्जाल, सार्वजनिक क्षेत्र सबैमा फैलाउँछन्। यस्ता वस्तु कतै बिक्री गर्दा वा स्थानान्तरण हुँदा तत्कालै ध्यानाकृष्ट भइहाल्छ। 

नेपालजस्तो देशका हकमा यस्ता पहिचान रहने मूर्ति फिर्ता हुन गाह्रो हुन्छ, कारण संवाद र वार्ताको स्थिति सहजै भैरहेको हुन्न। यस्ता वस्तुको माग हुने बजार क्षेत्रसम्म यी चोरिएका सामग्री हुन् भनेर जानकारी पुगिरहेको स्थिति हुन्न। अमेरिकामा रहेर अध्येता जोय लिन डेभिसले सम्पदा पुनर्जागरण र संरक्षणबारे बाँढिरहेको जनचेतना निकै अर्थपूर्ण छ, यस्ता प्रभावकारी काम निरन्तर हुनुपर्छ। 

नेपालमा सम्पदाजन्य कलावस्तुलाई हेर्ने नियमकारी निकाय नहुँदा वा यसको यथेष्ट पहिचान नभएकै कारण यी सामग्री विश्वबजारमा पुगेका हुन् त ?
यसका विभिन्न कारण छन् जसलाई व्याख्या गर्न मुश्किल छ। केही साना आकारका सम्पदा, मास्टरपिस कला/चित्र सहजै बाहिर लैजान मिल्छ। तर गुम्बा, मन्दिरलगायत भण्डारण क्षेत्रबाट पनि कलावस्तु हराउन सक्छन्। विशेष अवसरमा मात्रै बाहिर ल्याइने कतिपय पुरातात्विक सामग्रीलाई त्यही घडीमा चोर्ने वा साटफेर गर्ने उपाय अपनाइएको हुन सक्छ। अझ अध्ययनको नाममा आउने विदेशी संग्रहकर्ता भण्डारणको पहुँचसम्म पुगिरहेका हुन सक्छन्। 

चोरीका थप प्रयास र उपाय तब सशक्त बन्छ, जब यस्ता कुराको अभिलेख राखिएको हुँदैन। सन् १९८० को दशकसम्म क्यामेरा (डिजिटल पद्धति) नहुँदा यस्ता धेरै वस्तु हराउनुमा त्यही रेकर्ड नराखिनुलाई प्रमुख कारण मानिन्थ्यो । त्यसबेला क्यामेरालगायत प्राविधिक वस्तुको पहुँच नहुनु र अभिलेखीकरण प्रबन्ध (आइडिया) नहुँदा सामग्री चोरिएका वा हराएका हुन्। यसरी रेकर्ड नरहँदा जो जससँग मूर्ति छ, उसले आफूले चोरेकोभन्दा पनि खरिद गरेको भनेर आफू सुरक्षित हुने उपाय अवलम्बन गर्न सक्छ। कतिसम्म भने प्रहरीमा रिपोर्ट गरिएको पनि हुँदैन। त्यसमाथि मठ, मन्दिर, गुम्बामा सबैको सहजै पहुँच हुँदा र नेपालीको उदारपना(स्वभाव)ले पनि चोरिने/हराउने अवस्था उब्जिएको हो। अहिले त सीसीटीभी, फलामे बारसहितको घेराउ गर्ने चलन बढेको छ।

चोरिएका यस्ता सम्पदा कहाँ र कसरी पुग्छन् ?
म पनि अभिलेख अनुसन्धानबाट यसखालको ट्रेन्डलाई ‘ट्रेस’ गर्न खोजिरहेकी छु। अक्सन (बिक्री/लिलामी)का क्याटलग वा निजी संग्रहकर्ताको क्याटलग अध्ययनको स्रोत हुनसक्छ। कतिपय संकलनकर्ता तथा डिलर्सले आफ्ना संकलन अभिलेखसहित संग्रहालयमा सूचना छाडेर जाने गरेका छन्। 

अमेरिकामा सन् १९९० को दशकयता यस्ता वस्तुको लागि बिरलै बजार, उत्साह र लगाव देखिन्छ। कतिपय सम्पदा फिर्ता हुनुमा अघिल्लो पुस्ताले संकलनमा राखेका सामग्री अहिलेको पुस्ताको रुचिमा नपरेका हुनसक्छन्। मेरो आफ्नै अध्ययन र दाबी होइन तर सुनेको आधारमा विशेषतः चीनमा यसको ठूलो बजार बनिरहेको छ। साथै खाडी मुलुकमा पनि यो क्रम चलिरहेको छ, जहाँ कानूनी उपाय वा सूचना (मिडिया)मार्फत पनि सम्पदा दाबी (रिक्लेमिङ) गर्न कठिन छ।

आज मूर्ति र सम्पदाहरू फलामे बारमा कैद भएका छन्। यसमा सम्बन्धित निकायले दिन नसकेको सुरक्षाको छनक पाइँदैन र? 
यो यहाँको बाध्यता हो, त्यो राम्रैसँग बुझ्न सकिन्छ। यसको अर्थ, घरफिर्ता भएका सबै मूर्तिको अवस्था फलामे बारमै छ भन्न मिल्दैन। पाटनको लक्ष्मीनारायणको हकमा कुनै छेकबार देखिन्न, सबैका लागि खुला छ। त्यहाँ सीसीटीभीको सुरक्षा मात्रै छ। त्यो मन्दिर मूर्ति नजिक म आफैँ पुग्दा पनि स्थानीयबासीले ‘यहाँ किन आएको ?’ भन्ने खालको सचेतना बढेको देखिन्छ। 

घरफिर्ती भैरहेका मूर्तिले यथास्थानमा बस्न पाएका छैनन्। प्रतिरूप मूर्ति बनाएर पूजा भैरहेको छ। यस्तो स्थिति किन आएको हुनसक्छ?
यो त स्थानीय समुदायले गर्ने निर्णयको कुरा हो। यसमा मेरो सरोकार रहन्न। एउटा कुरा के निश्चय हो भने, पश्चिमा जगत ‘तिमीहरू मूर्तिको अध्यन, आइकोनोग्राफी आदि बुझ्नै सक्दैनौ’ भनेर लेक्चर दिनमै व्यस्त रह्यो। उनीहरूले ‘यस्ता बस्तुको संरक्षण र सुरक्षामा दक्खल राख्न सक्दैनौ’ भनिरहे। यथार्थमा जसरी मूर्ति हराउने, चोरी हुने क्रम पुस्तौँसम्म भएको थियो, त्यसरी नै फिर्ता भएका मूर्ति पुनस्र्थापित गर्न लामो बहस र आत्मविश्वास चाहिन्छ। यसमा पनि समय लाग्छ।

विश्वको दुई धुव्रको लागि एकसाथ काम गरिरहँदा र मूर्ति फिर्ताजस्तो असहज लाग्ने काममा संयोजन कसरी गरिरहनु भएको छ?
अहिलेका लागि सबैभन्दा मुख्य कुरा प्राथमिकता कुन विषयलाई दिने भन्ने हो। सम्भावित दाबीहरू अनेकन छन्। यो भनेको कुनै भव्य चकलेट पसलमा गएर कुन चकलेट खाने भन्ने छनौट गर्नुजस्तै हो। यी काम गर्ने क्रममा जानकारी, सूचना आउँदा एकैसाथ बिचौलिया, डिलर्स, संकनलकर्ताबारे पनि बिस्तारै जानकारी निस्किरहेको हुन्छ। आउने दिनमा कुनै मूर्ति लिलामीमा गए त्यसबारेको सूचना, प्रमाण र जानकारी अगाडि नै संग्रहित गर्न सके यो फलदायी हुन्छ। यसले  माहोल बढाइरहेजस्तो लाग्छ। 

तलेजु भवानीको हारको विषयमा पर्याप्त प्रमाण पुर्‍याउँदा पनि घरफिर्तीमा किन ढिला भइरहेको छ?
यो हरेक मुद्दामा निर्भर हुने कुरा हो। ढिलासुस्ती किन भैरहेको छ भन्ने मलाई थाहा छ, तर अमेरिकी अधिकारी (वा, सिकागो म्युजियम)बाट यसबारे जवाफ नआइकन म बोल्न मिल्दैन। यति भन्न सक्छु— काम भइरहेको छ। यसमा नेपालको पक्षबाट गर्न बाँकी केही छैन। 
यसबाहेक, अन्य केशमा कतिपय अवस्थामा साँच्चै नै ढिलाइ गरिएको छ। यसमा एउटा के पनि हुन सक्छ भने आफूसँग रहेको सामग्री ढिलाइ गर्दा मूर्तिका साक्षीहरूको आयु कम रहने र यो अवधिमा चलखेल गर्न सकिने हुन्छ। 

वर्षौंसम्म आफ्नो संग्रहमा विदेशी सम्पदा राखेपछि र त्यसबारे सूचना बाहिर आएपछि सम्बद्ध संग्रहालयले माफी माग्दै फिर्ता गरेको उदाहरण पनि छ। यसबारे के भन्नुहुन्छ?
हो, गत वर्ष वासिन्टन डिसीको स्मिथसोनियन संग्रहालयले अफ्रिका, इजिप्टजस्ता देशबाट उपनिवेशको समयमा ल्याएका मानिसका अवशेष(अस्थिपंजर) लगायत महत्त्वपूर्ण वस्तु संकलन गरी राखेकोमा माफी मागेको छ। यो मानव इतिहासको कुरासँग जोडियो। मूर्ति फिर्ताको विषयमा पनि यस्तै बहस शुरू भइरहेका छन्। 

आशा गरौँ— पवित्र मानिएका देवीदेवताका मूर्ति, कलावस्तुको सवालमा पनि संग्रहालयहरूले त्यसरी नै एकदिन माफी माग्नेछन्। पक्कै कुनै समय आउला— मूर्ति अध्ययन, पुनर्स्थापना र सुरक्षाको लागि विशेष कोष छुट्टिएला तर अहिलेको प्राथमिकता अर्कै हो। योबेला हामीलाई मूर्ति फिर्ता चाहिएको छ कि क्षतिपूर्ति? माफी माग्नु एक ठाउँमा रह्यो भने आर्थिक सहयोग अझ महत्त्वपूर्ण हुन्छ। तर क्षतिपूर्तिको मात्रै कुरा गरिदियो भने सम्पदा घरफिर्तीको लयमा सुस्तता आउन सक्छ। यहाँ संकलनकर्ताहरू कुनै सम्पदा फिर्ता दिँदा ढुवानी खर्च बेहोर्न पनि मानिरहेका छैनन्, यसकारण प्राथमिकता तय हुनैपर्छ।  

एक अमेरिकी अध्येताका रूपमा नेपालको लागि यसरी काम गर्दा कतैबाट शंका वा अन्य कुनै ‘पुसब्याक’ पाउनु भएको छ?
एक सन्दर्भमा भर्जिनिया म्युजियम अफ फाइन आर्टबाट एसियाली आर्ट क्युरेटरसँग रहेका केही नेपाली कलावस्तुको संग्रहको रेकर्ड मसँग मागेको थियो। उनीहरूको कुराकानीमा मेरो लेखबारे पनि चर्चा भएको रहेछ। मूर्ति फिर्ता अभियानमा मेरो क्रियाकलापलाई अमेरिकीबाट आवश्यकताबिनै र सहयोग नमागी ‘ह्वाइट प्रिभिलेज’ देखाइएको ट्याग दिएको थियो। यस्तो पुसब्याक मैले अमेरिकीबाटै पाएको छु। म नेपाल आउँदा मलाई पुस–ब्याक महसुस भएन। यसले मलाई अचम्मित गरेको थियो। मलाई लागेको थियो— यति खुला र उदार हृदय पनि राख्नु हुन्न, अलिकति शंकाको घेरा त रहनैपर्छ।


सम्बन्धित सामग्री