Wednesday, July 24, 2024

-->

उत्कृष्ट लय, संगीत र गायकीमा बनेको एउटा नश्लीय गीत

गीतको आरोह–अवरोहमा संगठित शब्द र तिनका अर्थले नेपालको विविधतालाई कतै सम्बोधन गर्दैन। यो गीतिकविता परम्परागत एक नश्लीय विचारको स्वादिलो भजन मात्र बन्न पुगेको छ।

उत्कृष्ट लय संगीत र गायकीमा बनेको एउटा नश्लीय गीत

नेपाल नरहे नेपाली रहन्नन्? हिमालको उचाइले नेपालीको उचाइ बढाएको हो? सन्झ्याल नरहे संसार चियाउन सकिन्न? मादल नरहे नाच्न सकिन्न? अन्य तालबाजामा नाच्दा हुन्न? मानव सभ्यताको मुहान हिमाल मात्रै हो? दशैँ, तिहार, चुट्का, ख्याली मात्र नेपाली सांस्कृतिक धरोहर हुन्? तराईलाई सुनको टुक्रा, हिमाललाई हिराको उपमा दिएर हाम्रो आँत भरिन्छ? 

अँध्यारोबाट उज्यालो, उज्यालोबाट अँध्यारो प्राकृतिक बनोटको सन्तुलन हो। प्रकृति सञ्चालनको निरन्तर नियम हो। उज्यालो नरहने/हराइजाने कुरा कोरा कल्पना हो।

कक्षा ११ र १२ मा नेपाली भाषा विषय शिक्षणको पाठ्यक्रममा पढाइने एउटा मार्मिक कविता छ। ‘राष्ट्रकवि’ माधव घिमिरेले लेखेको यो कविताको शीर्षक हो, ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे।’ यो कवितालाई वरिष्ठ संगीतकार नातिकाजीले संगीतमा कुँदेर गीतमा ढालेका छन्।

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको।
ए कहाँबाट संसार हेर्छौ सन्झ्यालै नरहे।।

गीतको बोल/मुखडा र अन्तरा शब्द संयोजनको हिसाबले बेजोड छ। सुगम संगीतको रसायनले गीतलाई उत्तिकै कर्णप्रिय बनाएको छ। गायकी लय पनि सहज छ। एक पटक सुन्नासाथ लय समाएर सुसेल्न सकिन्छ। तर यो रचनाको अन्तर्यमा बग्रेल्ती प्रश्नहरू छन्। ती प्रश्नको उत्तर खाप्दा नेपाल र नेपालीको हित अनुकूल देखिँदैन।

गीतको आरोह–अवरोहमा संगठित शब्द र तिनका अर्थले नेपालको विविधतालाई कतै सम्बोधन गर्दैन। सिंगो यो गीतिकविता परम्परागत एक नश्लीय विचारको स्वादिलो भजन मात्र बन्न पुगेको छ।

नेपालबाहिर नेपाली
कविले रचेको (वास्तविक अर्थमा कथेको) जस्तो नेपाल रहँदा मात्र नेपाली रहने भन्ने हुँदैन। भारतलगायत विश्वभर नेपालीहरू छन्। त्यहाँ नेपाल नामको कुनै भूगोल छैन, हुने कुरा पनि भएन। यद्यपि नेपालीहरू, नेपाली भाषी नेपाली (वा गोर्खा), प्रवासी नेपाली, एनआरएन नेपाली (वा डायस्पोरा) आदि नामबाट नेपाली रहेकै छन्।

भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई मान्यता दिलाएर नेपाली भाषाको उन्नयनमा लागेकै छन्। डायस्पोरा नाममा नेपाली साहित्य सिर्जना गरेर विश्वभर फैलाइरहेका छन्। अतः नेपाली त्यति बेलासम्म अस्तित्वमा रहनेछन् जति बेलासम्म तीनको भाषा, सभ्यता र संस्कृति जीवन्त रहनेछ।

नेपालको विविधता
मोटोरूपमा नेपाली चार नश्ल (आर्य, मंगोल, अष्ट्रो र द्रविड) तथा चार भाषा (भारोपेली, भोट–बर्मेली, अष्ट्रो र द्रविड) परिवारका असंख्य जाति समुदायहरू हुन्। मोटामोटी उल्लेखित नश्ल र भाषा परिवारका समुदायको विविधतापूर्ण अनेक भाषा, सभ्यता, संस्कृति नै नेपाली राष्ट्रिय पहिचान हो। यही बहुपहिचानको सम्मान नै नेपाली पहिचान हो। 

यसमध्ये कुनै एक नश्ल, एक भाषा, एक सांस्कृतिक समुदायको एकल पहिचानले समग्रतामा प्रतिनिधित्व गर्दैन। यो गीतिकविताले यस्तै एक नश्लीय विचारको प्रक्षेपण गरेको छ। हिमाल, पहाड, तराई, दशैँ, तिहार, सन्झ्याल, मादल, सूर्योदयको प्रतीक शब्द प्रयोग गरेर बहुपहिचानयुक्त ‘नेपालीत्व’लाई गीतिकविताले खारेज गरेको छ।

ए कति राम्रो बिहानीपख घामको रेखी हो 
सभ्यता पहिलो संसारमा फैल्यो हिमालदेखि हो।
बिम्झौँला कहाँ पूर्वको पैलो उज्यालै नरहे
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।।

हिमाल, पहाड, तराई यी तीन किल्लाभित्रको भूगोलले मात्र नेपालीको रक्षा गर्दैन। यो भूगोलभित्र एकत्व मनोविज्ञान हुन जरुरी छ। क्षेत्रीय अखण्डता, स्वाधीनता जस्ता विषयको व्यवस्थापन बहुपहिचानयुक्त स्वाभिमानले गर्ने हो। नेपाली भनेको यिनै नश्ल, भाषा, सभ्यता, सांस्कृतिक परिवारको कुल जोड हो। 

नेपालीको अन्तरसम्बन्ध विविधतापूर्ण पहिचानको एकत्व हो। यसैलाई हामी राष्ट्र भनेर चिन्छौँ। एकल भाषा, सभ्यता र संस्कृतिको सम्मान राष्ट्रिय पहिचान होइन। यसैले बीपी कोइरालाले बेलैमा भनेका थिए, “राष्ट्र भनेको कुनै भूभागको ढुंगा, माटो, खोलानाला र साँधसीमा होइन, त्यहाँ बस्ने जनताको सभ्यता र मनोभाव हो।”

विगतका गलत पाठ र नयाँ संविधान
विगतको राजतन्त्रात्मक संविधानले राष्ट्रको परिभाषा नै गलत गरेको हुँदा यस्ता उच्छृङ्खल पाठ पढ्न बाध्य बनाएको थियो। साहित्यमा मात्र नभई सामाजिक बनोट र सहिष्णुताबारे पनि बेतुकका र अनर्थपूर्ण पाठ पढाएर दिग्भ्रमित बनाइयो।

२०१९ सालको संविधानमा राष्ट्रको परिभाषा यस्तो थियो, “जुन सुकै धर्म, वर्ण, जातको भए पनि राजमुकुटप्रति आस्थाद्वारा एकताको सूत्रमा आबद्ध समस्त नेपाली जनता समष्टीरूपमा एक राष्ट्र हो।” राजमुकुटमा आस्था राख्नेबाहेक नेपाली वा राष्ट्रका रूपमा रहेनन्। 

२०४७ सालको प्रजातान्त्रिक संविधानमा केही फरक परिभाषा आयो तर त्यो पनि अमूर्त र अपुग थियो। माथिकै परिभाषामा थप नयाँ ‘नेपालको राष्ट्रिय स्वतन्त्रता र अखण्डताप्रति आस्थावान्’ हुने नेपाली जनतालाई राष्ट्रको दर्जा दिइयो। यिनै संविधानले दिएको राजनीतिक निर्देशन नेपालको शैक्षिक पाठ्यक्रममा आजपर्यन्त छ।

तर २०६३ सालको अन्तरिम संविधान र २०७२ सालको नयाँ संविधानले लगभग एकै भाषामा राष्ट्रको परिभाषा गरेका छन्। पछिल्लो संविधानको धारा ३ ‘राष्ट्र’मा लेखिएको छ, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त..... एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।” 

पछिल्लो पटक राष्ट्रको परिभाषा नेपाली सामाजिक बनोटअनुसार वैज्ञानिक ढंगमा गरियो। तर शैक्षिक पाठ्यक्रम तदनुकूल भएन। यसर्थ, संविधानले निर्देशन गरेको प्रस्थान बिन्दु विपरीतको शिक्षा पद्धतिले दिने दीक्षा नकारात्मक हुनु स्वाभाविकै हो। वर्तमानको उपलब्धिलाई नकारेर उही पुरानो बन्दीबस्तीको आकर्षणमा झुम्मिने नयाँ तथा पुराना पुस्ता देखिनु अनौठो होइन।

माधवप्रसाद घिमिरेले रचेको उक्त गीतिकविता त प्रतिनिधि उदाहरण हो। खोज्दै जाने हो भने यस्ता उदाहरण बग्रेल्ती भेटिन्छन्, जहाँ कर्णप्रिय लय, आकर्षक संगीत र गायकी हुन्छन्। तर शब्दहरूले नेपालको विविधतालाई कतै सम्मान गरेको हुँदैन।

(उकालोमा प्रकाशित विचार लेखकका निजी हुन्।)


सम्बन्धित सामग्री