विश्वका सबै इतिहासको लेखनमा तत्कालीन राजनीतिको प्रभाव प्रत्यक्ष वा परोक्ष रूपमा परेकै हुन्छ। त्यही समय तयार पारिएको इतिहासमा अझ बढी राजनीतिक आग्रह हुने देखिन्छ। हुन त यसमा लेखकको इमानदारिता र स्थापित इतिहास दर्शनको मान्यतालाई अंगीकार गरेमा राजनीतिबाट पृथक रहेर पनि समयको वस्तुनिष्ठ मूल्यांकन गर्न सकिन्छ। तर विविध कारणबाट तत्कालीन शासन वा राजनीतिबाट पृथक हुन नसकेको दृष्टान्त पाइन्छ। यसकारण सत्यतथ्य इतिहास आउन समय लाग्छ।
इतिहास लेखन विधामा निरन्तरता दिँदै जाँदा सत्यतथ्य नजिक भई सबै पक्षको समुचित विवेचना गर्न सहज हुन्छ। नेपालको इतिहास लेखनको निरन्तरताले पनि सत्यतथ्य मात्र उजागर नभई नवीन अवधारणा र मान्यतासमेत विकसित हुँदै जान्छ। आज विश्वकै इतिहास लेखन विधामा अनेकौँ नवीन अवधारणाहरू आउँदै जाँदा इतिहासको अध्ययनमा विकसित मुलुकले सर्वाधिक प्राथमिकता दिन थालेका छन्।
नेपाली जनमानसमा धेरै कालसम्म इतिहास भनेको शासकको गुणानुवर्णन गर्ने, बखान गर्ने, आफ्ना कुलवंशको महत्त्व देखाउने तथा युद्ध र सन्धिका दस्तावेजका रूपमा हेरिन्थ्यो। वंशावली, ऐतिहासिक उपन्यास, नाटक तथा कथाहरू नै इतिहास हुन् भन्ने दुविधा थियो। राजा महाराजाकै दरबारिया पण्डितहरूले आफ्ना शासकहरूको अतिसयोक्तिपूर्ण गुणानुवर्णनबाट तथ्य, कथ्य र मिथ्यको मिश्रण हुँदा इतिहासको मर्म र मान्यताप्रति प्रहार भएको थियो। तत्कालीन समयको विविध स्रोत प्रयोग गर्दा तथ्य र कथ्य छुट्टिँदै जान्छ र गएको पनि छ।
नेपालको इतिहास अंशतः भए पनि प्रामाणिक रूपमा लिच्छवि कालसम्म पुगिन्छ। उक्त कालको उत्तरार्धदेखि अभिलेख र विदेशीहरूको वर्णनको स्रोतमा त्यस कालको इतिहास लेखन अगाडि बढेको पाइन्छ। लिच्छवि कालमा राजा, राजपरिवार सम्भ्रान्त तथा उच्च भारदार तथा हुनेखानेले मात्र अभिलेखहरू राखेका छन्। ती सबै अभिलेखमा जोजससँग सम्बन्धित थिए, उनीहरूकै गुणानुवर्णन गरिएको छ। मानदेव, शिवदेव, अंशुबर्मा, उदयदेव, नरेन्द्रदेव, जयदेव आदि राजाको पालाका अभिलेखमा स्तुतिगानले प्राथमिकता पाएको छ। अभिलेखहरूमा तत्कालीन समयको राजनीतिक, सामाजिक तथा आर्थिक पक्षमा प्रकाश त पारिएको छ तर अभिलेखहरूबाट प्रवाह गरेको सूचनाकै आधारमा त्यस समयको वस्तुनिष्ठ मूल्यांकन हुन सक्दैन।
अभिलेखकै आधारमा शासकलाई प्रजाप्रेमी, सुधारवादी, धार्मिक वा सहिष्णु भनेर विशेषण दिने इतिहासकारको भनाइ तर्कसंगत छैन। कसैकसैले लिच्छवि काललाई नै ‘नेपालको स्वर्णयुग’ भनेर इतिहास दर्शनको मान्यता विपरीतका टिप्पणीसमेत गरेको पाइन्छ। राजाका सबै अभिलेखहरूमा दरबारिया पण्डितकै भाषा रहेको हुँदा प्रशंसा त हुने नै भयो। यही आधारमा लिच्छवि कालमा संस्कृत भाषा सबैको बोलचाल र लेख्य भाषा थियो भन्ने तर्कलाई पनि सहजै स्वीकार गर्ने स्थिति छैन।
नेपालका लिच्छवि शासकहरूले आफूलाई वैशालीका शासकहरूसँग जोड्ने गरेका छन्। तर वैशालीका लिच्छवि वंशसँग सम्बन्ध भएको खास प्रमाण भेटिएको छैन। पछिल्ला कथित लिच्छवि राजाहरूले आफ्नो गरिमा बढाउन लिच्छविकुलकेतु बनाएका हुनसक्ने सम्भावना छ। यस सन्दर्भमा कथित लिच्छविकालकै इतिहास पनि सोधखोज र प्राप्त सामग्रीहरूको सम्परीक्षण हुनु आवश्यक छ। अभिलेखहरूको आधारबाटै तत्कालीन शासकहरूलाई देवत्वकरण गर्न किमार्थ उपयुक्त हुने छैन।
माध्यमिक कालमा आएर नेपालको इतिहासका स्रोतमा पनि अभिवृद्धि भएको छ। त्यस कालमा अभिलेखका अलावा पुरातात्त्विक एवं साहित्यिक स्रोतहरू समेत उपलब्ध छन्। थ्यासफु र कोलोफोन छन्। विदेशीहरूको वर्णन पनि पाइन्छ। यति हुँदाहुँदै पनि शासकहरूको अतिशयोक्तिपूर्ण वर्णन गरिएको छ।
जयस्थिति मल्ल, यक्ष मल्ल, प्रताप मल्ल, भूपतीन्द्र मल्ल तथा सिद्धिनरसिंह मल्लको समयका लेखोटहरूमा ती राजाहरूलाई देवत्वकरण गरिएको छ। जयस्थिति मल्लले लागू गरेको सामाजिक सुधारले समाजमा परेको प्रतिकूल प्रभावको मूल्यांकन गरिनु आवश्यक छ। जात अनुसारको पेसा विभाजन गर्दा समाजमा आजसम्म पनि अनेकौँ अन्त्यहीन वादविवाद सृजना भएका छन्। यक्ष मल्लले राज्य विभाजन गरी आफ्ना छोराहरूलाई भाग लगाउँदा कालान्तरमा यही कारणले मल्ल शासनकै अवसान भयो। अतः मल्ल राजाहरूको राम्रा नराम्रा कार्यहरूको वस्तुनिष्ठ मूल्यांकनसमेत हुन सकेको छैन।
मल्ल कालका उपलब्ध स्रोतकै आधारमा शासक वरिपरि इतिहास लेखिएको छ तर जनताको इतिहासको सर्वथा अभाव छ। खसिया मल्ल राज्यको हालसम्मको इतिहासमा शासकहरूको वर्णनमा नै इतिहास केन्द्रित रहेको पाइन्छ। काठमाडौँको मल्ल र खसिया मल्लको शासनकालमा नेपालमा सामाजिक र आर्थिक क्षेत्रमा धेरै उल्लेख्य कार्य भए। त्यसै बेलाका कला तथा वास्तुकलालगायत सांस्कृतिक धरोहरले हालसम्म पनि नेपालकै श्रीवृद्धि गरेका छन्। तर जनता (हाल प्रचलित शब्द भुईंमान्छे)को इतिहास भने अधुरो र अपूरो नै छ।
सन् १५५९ मा द्रव्य शाहले लमजुङबाट पृथक भई गोरखा राज्य स्थापना गरेपछि त्यस वंशका सबै राजाहरूकै गुणगान गरिएको इतिहास पाइन्छ। यसै वंशका पृथ्वीनारायण शाहले गोर्खाबाट विजय अभियान सञ्चालन गरी नवनेपाल निर्माणको जग बसाए। उनको सैनिक परिचालन कार्यको उनका उत्तराधिकारीहरूले पनि निरन्तरता दिँदा हालको नेपाल राज्य बन्न गयो।
पृथ्वीनारायण शाहदेखि हिजो राजतन्त्र हुँदासम्म शासकको वरिपरि नेपालको इतिहास घुमिरह्यो। यस कालमा लेखिएका सबै कृतिमा राजनीतिको प्रत्यक्ष प्रभाव परेको छ। शासकलाई खुशी बनाउन लेखिने कृतिबाट यथार्थ इतिहास खुल्दैन भनेर जान्नेहरूले नै लेखेको ‘इतिहास’ इतिहास नभई स्तुतिगान हुन पुग्यो। अर्कोतिर राजाहरूको कमीकमजोरी खोतल्ने प्रयास गर्नेहरू तिरस्कृत र दण्डित हुने भएकाले पनि केही विद्वान्हरूले ‘दण्डवते’ नीति लिए। पृथ्वीनारायण शाहको त तत्कालीन दरबारिया पण्डितहरूले देवत्वकरण नै गरे। अन्य व्यक्तित्व इतिहासकारहरूले पनि गुणानुवर्णनमा नै बढी प्रश्रय दिए। बाबुराम आचार्य सूर्यविक्रम ज्ञवाली जस्ता विद्वान् पनि शासकीय प्रभावमै परे।
शाह वंशका सबैभन्दा योग्य शासक पृथ्वीनारायण नै थिए। उनको गुण बिर्सनु हुँदैन तर मूल्यांकन गर्दा गुण र दोष दुवै देखाउनुपर्छ। पृथ्वीनारायण शाहले अन्तिम कालमा बोलेको भनिएको प्रकाशित दिव्य उपदेशलाई गायत्री मन्त्र बनाउने प्रयास भयो। यो इतिहास दर्शनको मर्ममाथिको प्रहार हो।
पृथ्वीनारायण शाहका उत्तराधिकारीहरू एकाध मात्र योग्य देखिए। प्रतापसिंह शाह विलासी र तान्त्रिक थिए, राज्य सञ्चालनमा कुनै रुचि नराख्ने प्रवृत्तिका थिए। यसको कारण दरबारिया षड्यन्त्रको राजनीति अभ्युदय भयो। प्रतापसिंह शाहको अल्पायुमा नै मृत्यु हुँदा नाबालक रणबहादुर शाह राजा भए। जुन कारणले पनि षड्यन्त्रकारी राजनीतिले मलजल पायो। रणबहादुर शाहले वयस्क भएपछि गर्न हुने/नहुने सबै कार्य गरे। स्थापित राजकीय मान्यता विपरीत गीर्वाणलाई आफू जीवित हुँदै राजा घोषणा गरे। कान्तिमतीको मृत्युपछि त उनले अनेकौँ अवाञ्छित क्रियाकलाप गरे। तर चित्तरञ्जन नेपाली जस्ता विद्वान्हरूले रणबहादुर शाहलाई योग्य शासकका रूपमा चित्रण गरे।
यस्तै भीमसेन थापालाई पनि देवत्वकरण गर्ने प्रयास भएको छ। भीमसेन थापाका गुण र दोष दुवैको आधारमा विश्लेषण हुनु अपेक्षित नै छ। नेपालको राजनीति अस्थिर हुनुमा र जंगबहादुरको अभ्युदय हुनुमा तत्कालीन शासक नै उत्तरदायी थिए। तर यस संगीन विषयमा लेखकहरू खुल्न नसक्नु पनि राजनीतिक प्रभावकै कारण हो।
एक सय चार वर्षे राणा कालमा लेखिएका पुस्तकमा शासकीय प्रभाव परेकै थियो। जंगबहादुरकै छोरा पद्मजंगको विषय, ३२ सालको रोजनाम्चा, भोटको सबाई जस्ता विषयमा बढाइचढाइ गरेका छन्। हुँदा हुँदा त कुँवरहरूले आफ्नो वंशलाई भारतीय प्रसिद्ध राजपुतसँग जोड्ने प्रयास गरे। वीरशमशेरको स्तुतिगान गर्ने पनि कम भएनन्। चन्द्रशमशेरले त पत्रकार पी ल्यान्डनलाई बोलाई सबै सामग्री उपलब्ध गराई आफ्नो गाथा नै लेख्न लगाए। जुद्धशमशेरले पनि ईश्वरीप्रसादलाई आफ्नो जीवनी र कार्यविवरण लेख्न लगाए। तथापि, उल्लिखित कृतिहरूको आफ्नै महत्त्व छ। ती इतिहासका स्रोत हुन्, इतिहास भने होइनन्।
२००७ सालको परिवर्तनपश्चात् राणा शासनको नकारात्मक पक्षमा मात्र उजागर गर्ने प्रयास भए। राजालाई उचालेर राणालाई खसाल्ने कार्य भए। राजा त्रिभुवन र महेन्द्रको स्तुतिगान गर्ने शृङ्खला नै चल्यो। यतिसम्म कि राजा त्रिभुवनको शालिकलाई शहीदगेटमा चार शहीदको शालिकभन्दा माथि राखियो, जबकि उनकै आदेशबाट ती चार शहीदहरूले मृत्युदण्ड पाएका थिए। हो, यसमा राजा त्रिभुवनको मुख्य हात थिएन तर नैतिक जिम्मेवारी त अवश्य थियो। यस विषयमाथि कसैले प्रकाश पारेनन्। राजा त्रिभुवन आफ्नै व्यक्तिगत स्वार्थका लागि हो अथवा नेपाललाई एकतन्त्रीय जहानिया राणा शासनबाट मुक्त गर्न हिन्दुस्थान पुगेका हुन्, यस विषयमा पनि बहस चलेन।
२००७ सालको आन्दोलनबाट श्री ५ को हैसियत बढ्न गई राजसत्ता क्रमशः शक्तिशाली हुँदै गयो। संविधानसभाको निर्वाचनबिना नै २०१५ सालको संविधान आयो। यसै संविधानअनुसार निर्वाचित सरकारले कामै गर्न नपाई २०१७ पुस १ गतेको घटना भयो। नेपाल महेन्द्रपथतर्फ अग्रसर भयो। त्यसपछि राजा महेन्द्रको प्रशंसा, स्तुतिगान र देवत्वकरण गरी संसदीय व्यवस्थाको सत्तोसराप गरेर बोल्ने लेख्नेहरूको दौड चल्यो। राजाको गुणगान गरी राष्ट्रभक्त देशभक्त देखाउने स्वनामधन्य बुद्धिजीवीहरूको ठूलै जमात देखापर्यो। २०१७ देखि २०४६ सालसम्म पनि राजाहरूको प्रशंसाबाहेक अन्य कृति आउनै सकेनन्। इतिहास लेखन विधामा ‘भाट’ प्रवृत्ति मौलायो। राजा, राजसंस्था र राजपरिवारका विषयमा स्तुतिगानबाहेक अरू आउन सक्ने वातावरण नै भएन। तत्कालीन समयमा भएका अनपेक्षित घटनाका विषयमा खुलेर लेख्ने साहस गर्ने कमै भए।
२०४६ सालको आन्दोलनको उपलब्धिका कारण राजाको भूमिका संवैधानिक मात्र हुन पुग्यो। यसपछि शाह राजाहरूका विषयमा अलिक खुलेर बोल्ने/लेख्ने वातावरण तयार भयो। तर शासकको स्तुतिगान गर्ने परम्पराले भने निरन्तरता नै पायो। जब राजाको सट्टा नेताको स्तुतिगान गर्ने परिपाटी विकास भयो तब ठूला पार्टीका नेता तथा मठाधीशहरूलाई देवत्वकरण गर्ने कार्यको थालनी भयो। राम्रालाई राम्रा नराम्रालाई नराम्रा भनी मूल्यांकन गर्ने बोल्ने लेख्ने सीमान्तकृत हुँदै गयो। २०४७ सालदेखि आजसम्म विभिन्न पार्टीका नेताहरूको गुणानुवर्णन गरिएका कृति बग्रेल्ती छन्। तसर्थ तत्कालीन समयको निष्पक्ष लेखाजोखा नै हुन सकेन। तर ती कृतिको महत्त्व नै नभएको भने होइन। ती सबै कृतिले नेपालको तत्कालीन इतिहासमा महत्त्वपूर्ण प्रकाश पारेका छन्।
तत्कालीन समय र राजनीतिको सेरोफेरोमा इतिहास लेखन सहज भने छैन। त्यसैले सरकारी प्रलेखहरू २५ वर्षसम्म सार्वजनिक नगर्ने प्रचलन छ। लिच्छविले किरातलाई, मल्लले लिच्छविलाई, शाहले मल्ललाई गाली गर्ने परम्परामा पूर्वाधिकारीको कमी कमजोरीलाई उजागर गरी उत्तराधिकारीसाुम आफूलाई महत्त्वपूर्ण देखाउने होड नै चलेको देखिन्छ। यसले गर्दा पूर्वाधिकारीमाथि प्रकाश पारेर निर्बल पक्ष बाहिर आउँदा अर्को पक्ष प्रसन्न हुने र सबल पक्ष प्रकाशमा आउँदा कुँढिने गर्छन्। यसै कारण राम्रो र नराम्रो दुवै पक्षको वस्तुनिष्ठ मूल्यांकन गर्न समय लाग्ने हुन्छ।
लिच्छवि कालका राजा मानदेवले आफ्नै पिता धर्मदेवको हत्या गरेको प्रसंग उठाउने लेखकले पञ्चायत कालमा पनि हप्की खानुपरेको थियो। सत्तामा छउन्जेल देवत्वकरण गर्ने, सत्ताबाट विमुख भएपछि उल्टो दानवीकरण गर्ने परिपाटी नेपाली इतिहास लेखनमा पाइन्छ। यो कुरा ०६२–६३ पश्चात् नेपालको राजतन्त्र र दरबार तथा राजाहरूबारे आएका प्रकाशनबाट प्रस्ट हुन्छ। बजारमा खपत हुने चटपटेदार कृतिहरू आउने गर्दा पाठक भने अलमलमा पर्ने गरेका छन्। हिजो राजतन्त्र हुँदा देवत्वकरण गरिएकालाई आज राजतन्त्र समाप्त हुँदा मिथ्या दोषारोपण गर्ने कार्य भइरहेको छ। आज आएर हिजोकै दिन पो राम्रा थिए कि भन्ने चर्चा सुनिन थालेको छ।
प्राप्त सामग्री र अन्य स्रोतहरू पहिचान र अन्वेषण गरी इतिहास दर्शनको मान्यता अनुरूप नेपालको विविध पक्षमा इतिहास तयार गर्ने चुनौतीलाई इतिहासकारहरूले अनुसरण गर्नुपर्ने भएको छ। यसले गर्दा हिजोको राजनीतिको प्रभावमा लेखिएका कृतिहरूको विवेचना मात्र होइन, नयाँ अवधारणा पनि विकास हुनेछ। अब जनताको इतिहास लेखन कार्यले सर्वाधिक प्राथमिकता पाउनै पर्छ। यसबाट इतिहास शासक वर्गको प्रशंसाको पुलिन्दा होइन भन्ने तथ्य स्थापित हुनेछ। यस चुनौतीलाई अवसरका रूपमा बदल्न इतिहासकार र त्यस विषयका प्राध्यापकहरूको ध्यान पुगोस्।