बिहानै उनको दफ्तरमा पुग्दा रामजनम हजारा आफ्नो ठेला मर्मत गर्दै थिए। रौतहट घर भएका उनी घोराही दाङ बस्न थालेको दशक नाघिसक्यो। अघिल्लो हप्ता झिसमिसे बिहानी हिँडाइमा उनी र म सडकका दुई किनारामा समानान्तर रूपमा हिँडिरहेका थियौँ। उनी ठेला गुडाउँदै थिए, म खाली सडक नाघ्दै उनीसँगै जोडिएँ। शुरूमा केही असहज मानेका उनी पछि बिस्तारै खुले।
कवाडी संकलनको काम गर्ने उनी तीन सन्तानका पिता हुन्। बिहानै नजिकैको होटलवालाले दिनहुँ जम्मा गरिदिने बियरका बोतल, कार्टुन, 'सिंगल युज' पानीका बोतलले भरिएको ठेला गुडाउँदै थिए। दिउँसोको प्रचण्ड गर्मीमा निकै सकस हुने हुँदा उनले यो काम बिहानलाई सारेका रहेछन्। कवाडी संकलनको कामकै सिलसिलामा आफ्ना काकासँग घोराही हानिएका उनी यतै 'जमेका' छन्।
चारतिरको भित्तो टिनको, छानो पनि टिनको। यही टिनको कटेरोमा पाँच जनाको जहान गुजारा गर्छन्। बिहान सात बजे नै चरक्क पोल्ने गर्मी छ। “राति १ बजेपछि मात्र सुत्छौँ। टिनको बक्साभित्र सुत्न सक्ने अवस्था रहँदैन। एक बजे सुत्ने परिवार बिहान ८ नबजी उठ्न सक्दैनन्। आफू भने परिवार पालनको मूल भारीले थिचेपछि झिसमिसेमै उठेर काममा लाग्छु,” रामजनम हातमा 'शुद्ध प्लस' माड्दै दुखेसो गर्छन्, “भान्छा, सुत्ने ठाउँ, सरजाम राख्ने ठाउँ, पूजाकोठा सबै त्यही टिनकै बक्सा हो। खाना पकाउन निक्कै 'तकलिफ' हुन्छ, पसिना छुट्छ। दूध, तरकारी केही बेरमै बिग्रिहाल्छ।”
भित्री मधेशमा पर्ने दाङको घोराहीमा यतिखेर शुद्ध तराईमा झैँ चर्को गर्मी छ। प्रचण्ड गर्मीका कारण वर्ष दिनमा आफ्नो श्रमयोग्य समयको करिब १ महिना जति समय निष्क्रिय बस्नुपर्ने अवस्था आइलागेको उनी बताउँछन्। चर्को धूपमा काम गर्दा बिरामी भएपछि नै उनी यो निष्कर्षमा पुगेका हुन्। काम गर्ने समयमा काम गर्न नसके गुजारा कसरी गर्ने? यो समय (१८ ज्येष्ठको बिहानी) उनको मोबाइल फोनमा बजिरहेको एफएम रेडियोले समाचार फुकिरहेको थियो “अघिल्लो दिन २४ घण्टाभित्र भारतको बिहार राज्यमा 'हिटवेभ'का कारण १४ जनाले ज्यान गुमाए।” यो त समाचारमा सुनिएको कुरा मात्र भयो। यस्तो चरम गर्मीका कारण विश्वभर ज्यान गुमाउने, बिरामी हुने, श्रमयोग्य समयमा निष्क्रिय बस्न बाध्य हुने श्रमिक मजदुरको संख्या असंख्य छ।
हरेक वर्ष गर्मी बढिरहेको उनले अनुभव गरी नै रहेका छन्, तर किन बढेको भन्नेमा उनी बेखबर छन्। जलवायु परिवर्तनले निम्त्याएको यो संकटमा उनको भूमिका अत्यन्त नगण्य छ। बरु कवाडी संकलन कार्यबाट उनले पर्यावरणीय ह्रास हुनबाट केही हदसम्म जोगाएका छन्। कवाडी सामग्रीको पुनः प्रयोग, दिगो प्रयोग र प्रशोधनपश्चात् कच्चापदार्थको रूपमा प्रयोग गर्दा यसले ताजा स्रोतसाधनको प्रयोगमा केही मात्रामा भए पनि नियन्त्रण/कम गर्छ। रामजनमलगायत पिँधका विपन्न ६० प्रतिशत पृथ्वीवासीले जलवायु परिवर्तन हुनमा जति भूमिका खेलेका छन्, त्योभन्दा बढी त सबैभन्दा सम्पन्न १ प्रतिशतले भूमिका खेलेका छन्।
अघिल्लो हप्ता साहरुख खानको टिम कोलकता नाइट राइडर्सले आईपीएल ट्रफी जितेकोमा रामजनम दंग छन्। उनी फुर्सद हुँदा (तातेको टिनको बक्साभित्र सुत्न नसकेको समयमा) आफ्नो मोबाइलमा साहरुख–ऐश्वर्य राय अभिनियत देवदास दोहोराइरहन्छन्। तर उनी जसका फ्यान हुन्, तिनीहरूकै कारण उनले आफ्नो श्रमयोग्य समयमा पनि काम गर्न नसकी निष्क्रिय बस्नुपरेको छ, तर उनलाई यो सेलिब्रिटी-जलवायु परिवर्तनको सम्बन्ध थाहा छैन।
उनले देवदास हेरिरहँदा ऐश्वर्य राय भने स्रोतको चरम दुरुपयोग गर्दै विचित्र (बढी स्रोतसाधन दोहन गरेर बनाइएका) का परिहर लगाएर कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा उत्रँदै थिइन्। यकिन तथ्यांक नभेटिए पनि रामजनमका आदर्श शाहरुख र ऐश्वर्यलगायतको कार्बन फुटप्रिन्ट उनको तुलनामा दशौँ हजार गुणा बढी छ। तिनीले चढ्ने प्राइभेट जेट, प्रयोग गर्ने बिलासी सामग्री, फेसन तथा सौन्दर्य सामग्री, प्रयोगविहीन ग्याजेटको संकलनको सोख, अत्यधिक ऊर्जा खपत गर्ने निजी आवासलगायतको मार भोगिरहेका छन् रामजनमहरू। तर आफ्ना फ्यानप्रति के यी सेलिब्रेटी संवेदनशील छन् त? अहँ बिलकुल छैनन्।
उसो त कार्बन फुटप्रिन्टकै कुरा शिक्षित समुदायलाई समेत बुझाउन कठिन छ।
धर्तीमा यसअघि पाँच पटक महाविनाश (आम रूपमा सबै जीव वनस्पतिको नास) का घटना भए। तर वैज्ञानिक अध्येताहरू भन्छन् – “छैटौँ महाविनाश प्राकृतिक कारणले नभई मानवीय गतिविधिका कारण हुनेछ। यो महाविनाश जलवायु परिवर्तनको जुवामा नारिँदै अघि बढ्दै छ। जुवा नार्ने हली सम्भ्रान्त, सेलिब्रेटी, बिलासी र महाधनी हुन भने जुवामा नारिनेचाहिँ गरिब, मजदुर, किसान हुन्।“ यो महाविनाशमा अकस्मात् विस्फोट भई प्रजातिहरू विलुप्त हुने छैनन्। यो किस्ताबन्दीमा हुनेछ। र, सम्भवतः पहिलो किस्ताको भुक्तान प्रक्रिया अहिले चली नै रहेको छ। विश्वभर (अ) प्राकृतिक मौसमी विपत्तिका घटनाको तीव्रता व्यापक छ।
गत मे महिनाको मध्यतिर अफगानिस्तानको बाग्लान, बदाखसान प्रान्तमा भारी वर्षा पछिको बाढीमा १८० भन्दा मानिसको मृत्यु भयो। हजारौँ घाइते भए। ९ हजार बढी घरहरू नष्ट भएसँगै स्कुल, बाटो र पुलहरूमा क्षति पुग्यो। यसका धेरै कारणमध्ये प्रमुख कारण जलवायु परिवर्तन भनिएको छ।
चिन्ताजनक के छ भने अफगानिस्तानजस्ता विपन्न देशमा आपत्कालीन उद्धार क्षमता निकै फितलो छ। यस्तो अवस्थामा जसले भाग्यभरोसा ज्यान जोगाउन सक्यो, ऊ बाँच्यो। जसले त्यसो गर्ने सकेन उसले महाविनाशको किस्ता स्वरूप आफ्नो ज्यान कुर्वान गर्यो। असक्त, बालबालिका, वृद्धवृद्धा महाविनाशको किस्ता बुझाउनेको लाइनमा पहिलो पंक्तिमा हुनेछन्।
धनी, औद्योगिक र ’विकसित’ देश/कम्पनी, खरबपति, सेलिब्रेटी र बिलासी जीवनयापन गर्ने सम्भ्रान्तका कारण सिर्जित सम्भावित महाविनाशबाट प्रताडित हुनेहरूको पहिलो पंक्तिमा यिनै रामजनम हजारालगायत श्रमिक, मजदुर, किसान र विपन्न समुदाय छन् भने यसका कारक देश र धनी सम्भ्रान्त पुछारमा छन्।
छैटौँ महाविनाशको पहिलो किस्ता भुक्तान गर्नेमा असंख्य निरीह प्राणी पनि छन्, वनस्पति पनि छन्। मेक्सिकोको तबास्को प्रान्तको जंगलमा प्रचण्ड गर्मी र हिट वेभ (लु) का कारण अहिलेसम्म १३८ भन्दा बढी हाउलर प्रजातिका बाँदर तड्पिँदै मरे। अमेरिकी महादेशमा पाइने यो प्रजातिका सुन्दर हुलियाका यी बाँदर ठूलो स्वर निकाल्छन् र धेरै हिँडडुल गर्न रुचाउँदैनन्। आफ्नो समूहमा सामान्यतया एकै थलोमा बस्छन्।
समाचार संस्था एपीको समाचारअनुसार प्रचण्ड गर्मी सहन नसकी रुखबाट फल वा पात पतिंगर खसेजस्तैगरी बाँदर भुईँमा खसेर तड्पिँदै प्राण त्यागिरहेका छन्। यसमा शिशु बाँदरको संख्या उल्लेख्य छ। त्यहाँ तापक्रम ४७ डिग्री पुगेको छ। यो त एक बबुरो जनावर न पर्यो, मान्छे भएको भए लु छल्ने केही उपाय खोज्दा हुन्। तैपनि केही स्थानीय उद्धारकर्ताले सकेको उद्धार गरे। तर यिनको यो चीत्कार कसले र कतिन्जेल सुनेर साध्य होला?
डिस्कभर म्यागेजिनअनुसार केवल मानवीय गतिविधिका कारण धर्तीबाट वार्षिक ३० हजारभन्दा बढी प्रजातिहरू विलुप्त हुन्छन्। दक्षिण अमेरिकी महादेशमा अवस्थित अमेजन जंगल क्षेत्रमा १० महिनाअगाडि (सेप्टेम्बर अन्तिमतिर) अहिलेसम्मकै भीषण गर्मी र सुख्खा आइपर्यो। अत्यधिक गर्मीले अमेजन क्षेत्रका नदीको पानी तातेपछि करिब १२० भन्दा बढी डल्फिन तड्पँदै मरे। युट्युबमा यस्ता हृदयबिदारक दृश्य प्रशस्तै भेटिन्छन्। वैज्ञानिकहरूले यस्तो अवस्था सन् २०३० पछि आउने अनुमान गरेका थिए, तर २०२४ नसकिँदै यो भयावह अवस्था आइसक्यो।
यसका लागि हरेक पृथ्वीवासीको जीवनशैली जिम्मेवार छ। तर नेपालका राउटे समुदायको तुलनामा वर्षमा २० दिनभन्दा बढी समय निजी जेटमा उड्ने अमेरिकन गायिका टेलर स्विफ्टको जीवनशैली यसका लागि लाखौं गुणा बढी जिम्मेवार छ। उनको निजी जेटले निकाल्ने ताप, धुवाँ र उनको महँगो बिलासी जीवनशैली तयार गर्दा उत्पादन हुने उत्सर्जन यो वातावरणीय तबाहका लागि जिम्मेवार छ। नर्थ सेन्टिलिन आइल्यान्डमा बस्ने सेन्टिलिन आदिवासीभन्दा स्पेस एक्समार्फत अन्तरिक्ष पर्यटन गराउने खर्बपति एलन मस्क यसका लागि करोडौँ गुणा जिम्मेवार छन्। प्रतिव्यक्ति औसत कार्बन उत्सर्जनको आधारमा एक औसत नेपालीको तुलनामा एक औसत अमेरिकन ५३ गुणा बढी जिम्मेवार छ। तर वास्तविकता के हो भने हाम्रो खपत शैली पनि घट्नेवाला छैन। यसर्थ, आउँदा दिन विश्व नागरिकका लागि अझै अँध्यारा छन्। विपन्नका लागि महाकठिन छ। तापमान वृद्धि र जलवायु परिवर्तनले अझै कस्ता भयावह दिन निम्त्याउने हो? धर्तीको सबैभन्दा ’बुद्धिमान प्राणी’को बुद्धि कहिले आउने हो? सम्झिँदा मात्रै पनि भाउन्न हुन्छ।
अघिल्लो महिना लेखक खगेन्द्र सङ्ग्रौलाले एक लेखमा भनेका छन्, “मानिस एकै पटक मर्दैन, किस्ता–किस्तामा मर्छ, जब मानिसले प्राण त्याग्छ त्यो उसको मृत्युको अन्तिम किस्ता हो।”
(आचार्य दाङमा रहेर उद्यम गर्छन्।)