चुनावी घोषणापत्रलाई ‘संकल्पपत्र’ वा ‘प्रतिबद्धतापत्र’ लेख्ने चलन त छिमेकमा चलेकै थियो, हाम्रामा पनि छ। भारतीय जनता पार्टी (भाजपा)ले त भख्खरै सम्पन्न लोकसभा चुनावको घोषणापत्रलाई ‘मोदीको ग्यारेन्टी’ भन्दियो।
भोट भाजपाकै नाममा त मागिएन भने चुनावी गठबन्धन ‘एनडीए’ त परको कुरा भयो। कुन क्षेत्रमा को उम्मेदवार गौण थिए, सबै चुनाव क्षेत्रमा मोदी मात्रै थिए। भाजपाका उम्मेदवारहरूलाई सम्भवतः मोदीकै नाममा भोट माग्ने निर्देशन थियो, सबैले त्यसै गरे पनि। उत्तर प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा मुख्यमन्त्री योगी आदित्यनाथको नाम बिकाऊ हुनसक्थ्यो, तर उनको नाममा भोट माग्ने इजाजत थिएन। यसै पनि कोभिडको भ्याक्सिन कार्डमा मोदीको फोटो, प्रधानमन्त्री गरिब कल्याण योजनाअन्तर्गत दिइने चामलको बोरामा उनकै फोटो भइरहेको अवस्थामा चुनावका प्रचार सामग्रीमा उनको मात्रै फोटो हुने नै भयो। ‘तपाईं दिल्लीमा जताबाट गुज्रिनुस्, अरू ग्यारेन्टी नभए पनि मोदीको फोटो देखिने ग्यारेन्टी छ है,’ मोदी आलोचक अभियन्ता भन्न मिल्ने पत्रकार रविशकुमारले व्यङ्ग्य कसेका थिए।
‘मोदीलाई चार सय पार चाहिन्छ, नत्र यी विपक्षीहरूले राममन्दिरमा बाबरी ताल्चा ठोक्दिने छन्,’ चुनावी भाषणमा खुद मोदी भन्ने गर्थे।
‘हामी’ शब्द मोदीको शब्द कोषबाट हराएको थियो, ‘म, मोदी’ मात्रै समेटिएको थियो। मोदीले ह्यान गर्यो र त्यान गर्नेछ भन्ने सुनिन्थ्यो।
‘यी विपक्षीहरू दलित–आदिवासीको आरक्षण काटेर मुसलमानलाई बाँड्न चाहन्छन्,’ उनले भनेका थिए, ‘मोदीले हुनदिने छैन, दलित आदिवासीको आरक्षणका लागि मोदी आजीवन लड्नेछ।’
‘पहिलेका सरकारहरू सरकारी गोदाममा बरु अन्न सडाउँथे, गरिबलाई बाँड्थेनन्’ विपन्न परिवारलाई प्रतिसदस्य ५ किलोको हिसाबले किलोको ३ भारुमा चामल र २ भारुमा गहुँ दिइने प्रधानमन्त्री कल्याण योजनाबारे भाषणमा उनी भन्थे, ‘मोदीको कमाल हेर्नुस्, तपाईंहरूले मोदीलाई भोट दिनुभयो, जिताउनु भयो, मोदीले अनाजका सारा गोदाम तपाईंहरूका लागि खोल्दियो।’ (विपन्नलाई राशनको ग्यारेन्टी गर्ने खाद्य सुरक्षा कानून सन् २०१३ मा मनमोहन सिंह नेतृत्वको सरकारले पारित गर्दा गुजरातका तत्कालीन मुख्यमन्त्री मोदीले प्रधानमन्त्रीलाई पत्र लेखेर विरोध गरेको प्रमाणसहित कांग्रेसले यो योजनाको जसमा आफ्नो दाबी ठोकेको छ।)
मोदी यतिमै रोकिएनन्।
अब मोदीलाई भगवान्को अवतारै भनिन थाल्यो। ‘देशका लागि अवतार हुन्,’ भख्खरै हिमाञ्चल प्रदेशको मण्डी क्षेत्रबाट भाजपाको टिकटमा लोकसभा चुनाव जितेकी बलिउड स्टार कंगना रनावतले भनेकी थिइन्, ‘मोदी साधारण मनुष्य त हुँदै होइनन्।’ अर्को कोहीले भन्यो, ‘मलाई यो भन्न संकोच छैन, प्रधानमन्त्रीमा कुनै दैवशक्तिको कृपा छ।’
भगवान्कै अवतरसरह बनाइएपछि समर्थक मात्र होइन, पार्टीकै उपल्ला नेताहरू पनि मोदीका भक्तजस्तै सुनिए। मध्य प्रदेशमा लामो समय मुख्यमन्त्री रहेका शिवराज सिंह चौहानले देशले मोदीका रूपमा भगवान्बाट वरदान प्राप्त गरेको टिप्पणी गरेका थिए। ‘दुनियाँभरका नेता लाइन लागेर मोदीजीसँग हात मिलाएर फोटो खिचाउँदै थिए,’ दिल्लीमा आयोजित जी–२० को बैठकको प्रसंग झिक्दै गृहमन्त्री अमित शाहले मोदीको प्रशस्ति गाए, ‘फोटोको पृष्ठभूमिमा कोर्णाकको सूर्यमन्दिर भएकाले मन्दिर एकाएक विश्वविख्यात बन्यो।’
अब पालो मोदीको। ‘परमात्माले कुनै उद्देश्यले मलाई पठाएका हुन्, यही काम फतह गर्न परमात्माले ऊर्जा दिएका हुन्, मार्गदर्शन पनि गर्छन्,’ चुनावकै दौरान दिएको टेलिभिजन अन्तर्वार्तामा मोदी भन्छन्, ‘कुनै दैवीशक्ति, ईश्वरीय शक्तिबिना यो सम्भव छैन।’
मोदी थप्छन्, ‘त्यो उद्देश्य पूरा भएपछि परमात्माले मेरो काम पनि पूरा गर्नेछन्। म परमात्मामा पूरै समर्पित छु।’
पत्रकार सोध्छन्, ‘परमात्माको उद्देश्य के थियो?’
मोदी जवाफ दिन्छन्, ‘परमात्माले पत्ता खोल्दैनन् नि, ममार्फत काम मात्रै गराउँछन्।’ ‘मेरो प्रत्यक्ष संवाद नहुने भएकाले परमात्मासँग अगाडि के काम गराउनु छ भनेर सोध्न पनि त सक्तिनँ,’ यसो भन्दै मोदीले परमात्माभन्दा चाहिँ आफूलाई सानै देखाए।
‘म विश्वस्त भइसकेँ, मलाई परमात्माले पठाएका हुन्,’ बनारसमा गंगा नदीमा डुंगामा उभिएर दिएको अन्तर्वार्तामा मोदी थप्छन्, ‘यो ऊर्जा बायोलजिकल (जैविक) शरीरबाट प्राप्त हुँदैन, ईश्वरलाई मबाटै कुनै काम लिनपर्ने भएकाले प्राप्त भएको हो।’
मोदीले आफूलाई देउता नभई देवदूतसम्म दाबी गरिरहेका बेला उनकै पार्टीका प्रवक्ता तथा उडिसाको पुरीबाट उम्मेदवार सम्बित पात्राले ‘भगवान् जगन्नाथ नै मोदीका भक्त हुन्’ भन्दिए। पुरीमै जगन्नाथको प्रख्यात मन्दिर छ। भाजपासँग प्रतिस्पर्धा गरिरहेको उडिसाको सत्तारुढ बिजु जनता दलले चुनावी मुद्दा बनाउन थालेपछि पात्रा ‘गल्तीले जिब्रो चिप्लियो’ भन्ने स्पष्टीकरण दिएर उम्किए। पात्राले चुनाव पनि जिते।
सन् २०१४ मा पहिलोचोटि प्रधानमन्त्री भएपछि मोदीले आफू देशको प्रधानमन्त्री नभई प्रधानसेवक हुँ भनेर वाहवाही लुटेका थिए। प्रधानसेवक हुँ भन्ने मोदीलाई तिनै पात्राले ‘देशका बाप’ भनेका थिए। स्पष्टीकरण दिइरहन परेको थिएन। भगवान् जगन्नाथ नै मोदीको भक्त हुन भनेपछि चाहिँ स्पष्टीकरण दिनपर्यो।
देवदूत र भगवान्कै अवतार बनाइएका मोदीका ‘अच्छे दिन’ सजिलै आएको थिएन। सन् १९९५ मा गुजरातमा बहुमतको सरकार चलाइरहेका बेला मुख्यमन्त्री केशुभाई पटेलविरुद्ध पार्टीकै शंकरसिंह बाघेलाले विद्रोह गरेपछि सुलहका लागि तेस्रो व्यक्ति सुरेश मेहतालाई मुख्यमन्त्री बनाउनुका साथै वाघेलाकै शर्तअनुसार महासचिव नरेन्द्र मोदीलाई गुजरातबाट निष्कासन गरिएको थियो।
सन् १९९८ मा भएको विधानसभा चुनावमा बहुमत प्राप्त गरी केशुभाई पटेलको नेतृत्वमा भाजपाले बहुमतको सरकार त बनायो, तर गुजरातले एकपछि अर्को विपदको सामना गरिरहेको बेला मोदीलाई चाहिँ लट्री लाग्यो। लोकसभा र विधानसभाका एक-एक चुनावमा भाजपा उम्मेदवार नराम्ररी पराजित भएपछि केन्द्रीय नेतृत्वले नजिकिँदै गरेको राज्य विधानसभा चुनावमा हारिने निष्कर्ष निकाल्दै मोदीको घर वापसीको निर्णय लिएको थियो, मुख्यमन्त्रीका रूपमा।
सन् २००२ फेब्रुवरी २७ को नरसंहारले मोदीको भाग्य मात्रै होइन, इतिहास नै बदल्दियो। त्यो दिन राममन्दिर निर्माण अभियानमा सहभागी हुन पुगेका स्वयंसेवकहरू (कारसेवक) सहित अयोध्याबाट अहमदाबाद फर्किरहेको साबरमती एक्सप्रेस हिन्दुबहुल गुजरातको मुस्लिमबहुल गोधरा स्टेसनमा रोकियो। स्थानीय मुस्लिम समुदायको भिडले रेलका डिब्बाहरूमा आगो लगाइदियो, ५९ जना कारसेवक जलेर मरे। भोलिपल्ट विश्व हिन्दूपरिषद्ले गुजरात बन्दको आयोजना गर्यो। बिहानैदेखि गुजरातमा दंगा भड्कियो। दंगामा मारिने १२ सय ७२ जनामा ७९० मुसलमान थिए, २५४ हिन्दू। २२८ बेपत्तालाई पछि मृत घोषित गरियो। लगभग एक लाख मुस्लिम र ४० हजार हिन्दू विस्थापित भए।
गोधरा नरसंहार अनि तत्पश्चात् भड्किएको साम्प्रदायिक दंगाले गुजरातमा हिन्दू–मुस्लिम ध्रुवीकरण तीव्र भयो। जातमा विभाजित हिन्दू समाज एक भएपछि २००३ को विधानसभा चुनावमा शानदार जितसहित मोदीले पदमा निरन्तरता दिए। २००७ को चुनाव उनैले जिते, २०१२ को चुनाव जितेर ह्याट्रिकै गरे। सन् २०१२ को चुनाव जितेपछि चाहिँ प्रधानमन्त्री बन्ने महत्त्कांक्षासाथ आफूलाई ‘प्रोजेक्ट’ गर्न थाले। देशव्यापी दौडाहा गरेर विकासको ‘गुजरात मोडेल’को मार्केटिङ गरी राष्ट्रिय नेताको पहिचान बनाए।
प्रधानमन्त्री त २०१४ मा भए, त्यस अघिदेखि नै उनलाई महान् बनाउन किस्सा/कहानी गढ्ने काम भइरहेको थियो। २०१४ को लोकसभा चुनाव जितेपछि प्रधानमन्त्रीको पदभार सम्हाल्न अदाणीको निजी विमानमा सवार भई दिल्ली आएका मोदीले बाल्यकालमा रेलमा चिया बेचेको कथा वाचन भइरहेको थियो। देशका लागि घर–परिवार त्यागेको कथा सुनाइराखिएको थियो, गौतम बुद्धलाई सम्झाउने गरी। हिमालयमा तपस्या गरेको कहानी रचिए। कतै ४० वर्षसम्म त कतै ३५ वर्ष भिक्षा मागेर जीवन चलाएको ‘स्टेटमेन्ट’ उनैले दिएका छन्। सन् २०२१ को पश्चिम बंगाल चुनावमा रवीन्द्रनाथ टैगोरको जस्तै दाह्री पालेर मोदी चुनावी प्रचारमा उत्रिएका थिए।
सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी आफूलाई हिरो बनाउने पहिलो छिमलको नेतामा पर्छन् मोदी। ब्रान्ड मोदीको निर्माणमा ठूलो लगानी भएको छ। मूलधारको मिडियालाई बसमा राखेर आफ्नो प्रवर्द्धन गराउने शिल्प उनले मुख्यमन्त्री हुँदा नै गर्न थालेका हुन्। मिडियालाई युज, मिसयुज र अब्युज गर्नसक्ने नेता कहलाउँछन् मोदी। दुई कार्यकाल प्रधानमन्त्रीको रूपमा भारतीय मिडियालाई युज गरे नै, मिसयुज पनि (खासगरी २४ घण्टे न्युजच्यानल र हिन्दीभाषी अखबार) पनि खुब गरे। यस्ता मिडिया मोदीको भक्तिगानमा लिन रहे, टोक्ने दाँत विपक्षीमाथि प्रयोग गरे। आलोचना गर्ने मिडियालाई अब्युज गर्न आनाकानी गरेनन्। हिन्दीभाषी न्यूज च्यानललाई उनले आफ्नो भजनमण्डली नै बनाइदिए। आलोचना गर्ने ‘एनडीटीभी’मा आयकरको छापा हानियो। पछि त उनकै खासमखास अदाणी ग्रूपले सो टिभीमा ‘होस्टाइल टेकओभर’ गर्यो।
दुई कार्यकाल प्रधानमन्त्री हुँदा उनले पत्रकार सम्मेलन गरेनन्, यस्तै चुनावका बेलाबाहेक उनी अन्तर्वार्ता पनि विरलै दिन्छन्। तैपनि मिडिया उनको मुठ्ठीमा छ। पत्रकार (खासगरीकन टेलिभिजनका न्यूज एंकर) उनीप्रति नतमस्तक हुन्छन्। पत्रकारभन्दा पनि एउटा भक्त भई उनलाई प्रश्न गर्छन्। अन्तर्वार्ताका क्रममा टेलिभिजन पत्रकारले सोधेका केही नमूना प्रश्न र प्रशस्तिगान पढौँ।
‘म बनारसमा थिएँ, तपाईंको आरती उतार्न आएकी एक जना महिलाले मलाई सोधिन् –उहाँ को हो थाहा छ? मैले भनेँ, प्रधानमन्त्री नरेन्द्र मोदी। महिलाले भनिन्, उहाँ नरेन्द्र मोदी हैन, महात्मा मोदी हो। के तपाईंलाई यसको जिम्मेवारीबोध हुन्छ मोदीजी?’
‘यो चुनाव त तपाईंका लागि फगत फर्मालिटी हैन र मोदीजी?’
‘हालत यस्तो छ मोदीजी, २०२९ को चुनावमा त साढे चार सय पार हुनेछ।’
‘तपाईं सन् २०२४ को चुनावको मात्र तयारी गरिरहनु भएको छ कि २०२९ को पनि मोदीजी?’
‘हेर्नुस् त मोदीजी चुनावै भएको छैन, हामी तपाईंको अर्को कार्यकालको कुरा गर्न थालिसक्यौँ।’
‘उत्तर होस् वा दक्षिण, पूर्व हो या पश्चिम, सबैतिर एउटै न्यारेटिभ छ नरेन्द्र मोदी।’
‘भोट त सबैतिर मोदीलाई गइरहेको छ, किनकि मोदीको त ग्यारेन्टी छ नि।’
‘मोदीजी, पाकिस्तानबाट भिडियो आइरहेको छ, तपाईं त्यहाँको पनि प्रधानमन्त्री बन्नुस् भनेर।’
‘सबैजना यति सजिलै जितिरहेको बेला मोदीजी किन यति मिहिनेत गरिरहेका होलान् भन्दैछन् मोदीजी।’
‘यति ऊर्जा कहाँबाट आउँछ मोदीजी?’
‘तपाई किन थाक्नुहुन्न मोदीजी?’
‘सारा भारत सोध्छ, तपाईं यति रिल्याक्स कसरी रहनुहुन्छ मोदीजी?’
‘यत्रो कन्फिडेन्स, बाफ्रे बाफ तपाईंमा नर्भसनेस नै छैन मोदीजी?’
‘तपाईंको कटाक्ष र वान लाइनर यादगार रहनेगर्छ मोदीजी।’
तपाईंले ‘सेन्स अफ प्राइड’ भारतीयमा भर्नुभयो, र हिन्दूहरूमा पनि मोदीजी।
‘इन्डिया टिभी’का मालिकसमेत रहेका पत्रकार रजत शर्माले लिएको अन्तर्वार्तामा दर्शकले पठाएको चिठी भन्दै सुनाएको लाइनले चाहिँ भारतीय पत्रकारिता मोदी भक्तिमा कतिसम्म लिन छ र प्रतिपक्षलाई कस्तो हेयभावले हेर्छ भन्ने देखाउँछ:
‘हले हले होजाये प्यार, अब की बार चार सय पार
दिल की भँवर करे पुकार, अब की बार चार सय पार
चटनी के बिना ढोकला बेकार, अब की बार मोदी सरकार
नतिजो के बाद राहुल होंगे फरार अब की बार मोदी सरकार’
मोदीले मिडियाबाट भक्तिरसका यस्ता बेसुरा प्रश्न/प्रशस्तिगान शुरूमै पाएका होइनन्। गुजरात दंगापछि मिडिया (खासगरीकन अंग्रेजी माध्यमका) का लागि उनी खलनायक नै थिए। अमेरिकाले उनलाई भिसा दिनै इन्कार गरिदियो। दंगापछि गुजरात पुगेका तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयीले त पत्रकार सम्मेलनमा ‘विदेशमा भारतको इज्जत छ, जसमा मुस्लिम देश पनि पर्छन्। सोच्दै छु म यी देशमा अब कुन मुख देखाऊँ?’ भनेका थिए। मुख्यमन्त्री मोदी पनि उपस्थित सम्मेलनमा पत्रकारले सोधे, ‘मुख्यमन्त्रीलाई के सन्देश दिनुहुन्छ?’ ‘उनले राजधर्म पालन गरून्,’ वाजपेयीको जवाफ थियो।
गुजरातमा २००२ को विधानसभा चुनाव जितेपछि कन्फडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई)को कार्यक्रममा मुम्बईमा उपस्थित थिए मोदी। अक्सफोर्डमा इतिहास प्राध्यापन गर्ने बानाजी जयरसले मोदीका सम्मुख ‘गुजरात नरसंहारकर्ता’ भन्दै चिच्याए। ‘तपाईंका हातहरू खुनले लतपतिएका छन् मुख्यमन्त्री’, सुरक्षाकर्मीले हात समातेर सभाहलबाट निकालिँदा निकालिँदै उनी चिच्याएका थिए। ‘मजबुत कानून र न्यायव्यवस्थाबेगर मजबुत अर्थतन्त्रको कल्पना गर्न सकिँदैन मुख्यमन्त्री,’ भन्दै खुनले हात लतपतिएको व्यक्तिलाई अतिथि बनाएकोमा जयरस फिक्की सीआईआई नेतृत्वप्रति पनि बर्सिए।
जवाफमा मोदी भन्छन्, ‘म अपराधी हुँ भने फाँसीमा चढाइदिनुहोला, आभारी हुनेछु।’ (मृत्युदण्ड खारेज भएकै जुगौँ बितेको हाम्रा देशका गृहमन्त्री रवि लामिछाने पनि बातबातमा प्रमाणित भए फाँसीमा चढाइदिनुहोला भन्छन् है)। लगत्तै, दिल्लीमा भएको सीआईआई बैठकमा राहुल बजाजले गुजरातको अवस्थालाई लिएर मोदीलाई प्रश्न गरेका थिए। दोस्रोचोटि मुख्यमन्त्री भएपछि मोदी ‘भाइब्रेन्ट गुजराज’को नारासाथ गुजरातमा लगानी भित्र्याउन प्रयत्नरत थिए।
मोदीको नाममै प्रतिस्पर्धा गरेको भख्खरै सम्पन्न चुनावमा भाजपा अपेक्षित सफलताबाटै टाढै रह्यो। विभिन्न सर्भेहरूले चुनावमा मोदीको नामैले ५–६ प्रतिशत भोट भाजपाको खातामा बढिरहेको आँकडा निकालेका थिए। झन्डै १४ प्रतिशत भोट मोदीको नाममा स्विङ भइरहेको भनिएको हरियाणामा यसअघि सबै १० सिट जितेको भाजपाबाट यसपालि ५ सिट कांग्रेसले खोसिदिएको छ। मोदीको नाममै चुनावी नतिजा निस्किन्छ भनेर त्यहाँका मिडिया र सर्भे कम्पनीहरूले गढेको न्यारेटिभ गलत साबित हुँदैछ। चुनावी नतिजाले मोदीलाई प्रधानमन्त्रीमा निरन्तरता दिन सफल भए पनि यो उनको राजनीतिक अवसानको ‘टर्निङ प्वाइन्ट’ हुनसक्छ। यसअघिका दुई चुनावमा प्रधानमन्त्रीको चेहरा भए पनि अहिलेजसरी उनकै नाममा लडिएको थिएन।
२०१४ को लोकसभा चुनावमा उनको जितमा २०१२ देखि भारतमा चलेको भ्रष्टाचारविरोधी अभियानले धेरै काम गरेको थियो। यस्तै, २०१९ अघि पुलवामा घटना र त्यसपछि भारतले पाकिस्तानको बालासोरमा गरेको एयरस्ट्राइकपछि भारतमा देखिएको राष्ट्रवादी उभारमा उनी सजिलै चुनावी नतिजा आफ्नो पक्षमा पार्न सफल भएका थिए। उनकै नाममा लडिएको चुनावमा भाजपाले यस अघिभन्दा ६३ सिट गुमाएको छ। मिडियालाई मुठ्ठीमा राखेर आफ्नाबारे थरिथरिका कथा/किस्सा रच्दै सर्वसाधारणलाई गुमराहमा राख्न सफल उनका लागि युट्युब च्यानलहरू चुनौती बनेर आएका छन्।
उनले गढेका कथा–कहानीको फ्याक्ट चेकगरी वास्तविकता पस्किने प्लाटफर्म तयार भएका छन्। चियावाला, देशका लागि घर–परिवार त्यागेका जस्ता कथा र उनको जीवनशैलीसँग कति अमिल्दो छ भनेर देखाइदिने वैकल्पिक मिडिया तयार भएको छ। भाजपाको वेग बहुमतको आँकडा (२७२) बाट ३२ सिट वरै घ्याच्च रोकिएको कारण मोदी यसअघिजस्तो सर्वशक्तिमान प्रधानमन्त्री हुने छैनन्। तेलुगु देशम पार्टी (टीडीपी) र जनता दल युनाइटेड (जेडीयू) जस्ता खासमा सेक्युलर र मुस्लिम जनाधार पनि भएका दलहरूको वैशाखीमा चल्नपर्ने भएपछि हिन्दूत्वको अजेन्डामा सरकार चलाउन सम्भव हुनेछैन।
चुनावी नतिजाको अनुमानमा हावा खाएका चुनावी रणनीतिकार प्रशान्तकिशोरले ताजा अन्तर्वार्तामा एक वर्ष मोदीमाथि कुनै संकट उत्पन्न नहुने दाबी गरेका छन्। “छ महिनाभित्र महाराष्ट्र, हरियाणा र झारखण्डमा विधानसभा चुनाव हुँदैछन्,” उनी भन्छन्, “ती चुनावका नतिजाले मोदीमाथि चुनौती आइपर्ने या हट्ने निर्क्योल गर्नेछन्।”
(उकालोमा प्रकाशित विचार लेखकका निजी हुन्।)