Wednesday, November 06, 2024

-->

माइला–माइलीहरू गाउँमा रोकिने छाँट छैन

व्यापक आप्रवासनको यस युगमा माइला–माइलीहरू लामो ‘माइलेज’को यात्रामा छन्। उनीहरूको रोकिने छाँट छैन। हामीहरू नै रोकिएका छौँ र?

माइला–माइलीहरू गाउँमा रोकिने छाँट छैन

४२ सालमा एसएलसी परीक्षा सकेर जेठा दाइ अवसरको खोजीमा एकाध वर्ष काठमाडौँ आउँदै जाँदै गर्नुभयो। तीन घण्टा पैदल यात्रापछि, त्रिशूली जलविद्युत् परियोजना बनाउने मूल ध्येयसाथ बनेको अहिलेको पासाङल्हामु मार्ग हुँदै शायद बसको छतमा बसेर उहाँले काठमाडौँ–नुवाकोट गर्नुभएको थियो। केही समय काठमाडौँका पर्यटकलक्षित होटल आदिमा काम गरेका दाइ गाउँ र बाआमासँग न्यास्रिनुभयो र गाउँ फिर्नुभयो। ४५ सालमा सरकारी शिक्षकको जागिरे भएपछि दाइलाई काठमाडौँमा जागिर खोज्नुपर्ने लेठो रहेन। यो त्यतिबेला थियो, जतिखेर बिजुली, टेलिफोन र सडक गाउँमा पुगेकै थिएन भन्दा पनि हुन्छ।

‘मास्टरीमा इज्जत, पहुँच र कमाइ भेटिने’ युगमा उहाँले जागिर खाँदा देशमा वैदेशिक रोजगारीको लहर आउन अझै एक दशक बाँकी थियो। अहिले त त्यो लहर झन्डै आँधीमा बदलिएको छ। तथापि, उतिखेर पनि गाउँमा 'डिल्ली लाहुरे'हरू एकाध थिए, दिल्लीबाट फर्कँदा तिनको लवज गाउँलेभन्दा पृथक् हुन्थ्यो। 'अरे क्यानाम्-बहुत्' आदिबाट 'ओरिजिनल गाउँले लवज' टिप्न तिनलाई अरू केही महिना र वर्ष पर्खनुपर्थ्यो। काठमाडौँबाट झन्डै ८०/९० किलोमिटर दुरीमा रहेको गाउँको कुरा हो यो। यसबीच (४९ सालमा) एसएलसी परीक्षा सकेर माइला दाइ पनि काठमाडौँ छिर्नुभयो। माइला दाइलाई काठमाडौँ बिदा गर्दाको क्षण आमा भक्कानिँदा उहाँको अनुहार अनौठोसँग बदलिएको याद छ। 

दाइहरू रोजीरोटी र शिक्षाको सहजताका लागि काठमाडौँ छिरे/छिरेका थिए, पछि त्यसमा युद्धको झन्झट/त्रास पनि थपियो। २०५२ सालमा माओवादीले जनयुद्धको उद्घोष गर्दै ‘गाउँदेखि शहर घेर्ने रणनीति’ अघि बढाएपछि गाउँबाट शहर र शहरबाट विदेश जाने दर क्रमशः बढ्दै गयो।  

जेठो दाइले माइला दाइलाई शहर छिराउन यत्न गर्नुभयो। माइला दाइले म कान्छो भाइ र कान्छी बहिनीलाई शहर तान्न बल गर्नुभयो। बिहे गरेर ‘पराई घर’ गएका दिदीबाहेक सिंगो परिवार अन्ततः २०६५ सालमा काठमाडौँ भित्रियो। शिक्षक सेवा छिटो–छिटो निप्टाएर ठूल्दाइ पनि अन्ततः काठमाडौँ नै आउनुभयो। जन्मस्थानको फराकिलो आँगन र सफा हावा शहरमा छुटे पनि मजदुरी गरेरै भए पनि पेटभर खान पक्कै सहज भएर नै आम ‘आप्रवासी’झैँ हाम्रो परिवार शहरमा ‘थुप्रेको’ थियो। 

१५ वर्षको यसबीच भान्जा र नातिनी अमेरिका, जापान र अस्ट्रेलिया पुगिसके। अब बाँकी दुई दिदी पनि एकाध वर्षमा काठमाडौँ छिर्ने संकेत छ। यसरी एउटा परिवारका सारा शाखासन्तानले राजधानीनजिकैको गाउँ (हाम्रा गाउँमा सिँचाइ सुविधा छैन भन्दा हुन्छ) छाडेका छन्। अहिले त गाउँमा सिँचाइ पुग्ने ठूला गरा खेत भएकाहरू पनि शहर बजारमै भेटिन थालेका छन्।  

शहरबाट ठूलो हवाईजहाज चढेर अलि पर जाँदा झनै ढुक्कले खानलाउन सकिने ठहर छ धेरैको। बसपार्क वरपरका होटलमा भिसा कहिले खस्छ भन्दै पर्खिरहेका छन् माइला–माइलीहरू। शहरमै बसिरहेका माइला–माइली पनि निरन्तर कन्सल्टेन्सी र म्यानपावर धाइरहेछन्। ‘उमेर पुगेपछि’ माइतीघर छाडिजानेहरू बिरलै देशान्तर हुन्थे। अहिले त माइलीहरू पनि खोला तरिवरी प्लेनको टिकट काट्न थालेका छन्।

यस्तैमा गाउँ सम्झाइदिएर मनै भारी बनाउने गीतले ‘सामाजिक सञ्जाल' पिटिरहेको छ। कवि गीतकार श्रवण मुकारुङको शब्द रहेको ‘राई माइलाले गाउँ छोड्यो रे’ बोलको गीतमा गाउँ छाडेर हिँड्नेहरूको बाटो कसैले गएर छेकिदियो हुन्थ्यो भन्ने आशय छ। राई माइलाले गाउँ छाडेपछि खेत कसले खन्छ, कलिया (बिहेको हर्ताकर्ता)को बन्छ, सन्चो बिसन्चोमा के छ भनेर कसले भन्छ, को मलामी जान्छ भनेर गीतमा चिन्ता छ र यो पनि भनिएको छ: 

एउटा मान्छे जाँदा
एक्लै कहाँ जान्छ
उल्ले गाउँदै हिँड्ने
गीत पनि लान्छ
बिन्ती तर्न नदेऊ 
उल्लाई अरुण खोला

हाम्रातिर त्रिशूली र तादी तरेर गाउँ छाडिन्छ, पूर्वका गाउँलेहरू अरुण, तमोर र सुनकोशी तर्छन्। खोलै तरेर कतिले यश बटुलेका छन्, कतिले धनको ऐश्वर्य। गाउँ छाडेर कसैको जीवन झन् कष्टपूर्ण भएको पनि होला, तर औसत रूपमा गाउँ छाड्नेको शैक्षिक र आर्थिक अवस्था सुध्रिएको देख्न सकिन्छ। गाउँ र शहरमा बस्नुमा व्यक्तिको शारीरिक/मानसिक स्वास्थ्यमा कति फरक पर्छ, तथ्यांक विश्लेषणसहितको अध्ययनको विषय हुनसक्छ त्यो, तर सहज जीवन, अवसर र ‘समृद्धि’का लागि विश्व नागरिक आफन्त र प्रियजनका फोटा मोबाइलमा बोकेर आफ्ना खोला, नदी र महासागर तर्दै बिरानो शहर/मुलुक छिरेका छन्।

‘समृद्धि’का लागि तिनले तोते बोली छाडेर, फक्रँदो ओठ र अँगालो बिर्सेर (विवश भएर) र अस्ताउँदो सूर्यको लालीमा पिँढी–खाट छाडेर हिँडेका छन्। यसरी बलिया माइला–माइलीले गाउँ छाड्दै गर्दा गाउँको बैँस पक्कै हराएको छ। गाउँका लोकसंस्कृति दुब्लाएका छन्।  थातथलो थोत्रिएका छन्। चौतारीका ढुंगामा लेउ लागेका छन्। यात्रुका पाइलाले पहिले खुँदिएका बाटो मेटिएको छ।  

कवि-साहित्यकारले मात्रै होइन, राज्यले समेत, कथनीमै सही, पहिलेदेखि नै गाउँ समृद्ध होस् भन्ने चाहेको बुझिन्छ। "म अब गाउँ फर्कन्छु, यही माटोमा सुन फलाउँछु" भन्ने आशयका धेरै गीत पञ्चायत र प्रजातन्त्रकालमा सरकारी रेडियो र टेलिभिजनमा बजे। त्यही भावना विस्तार भएरै पञ्चायतमा 'गाउँ फर्क राष्ट्रिय अभियान'समेत चल्यो। तर गाउँहरूमा हामीले बिरलै सुन फलाउन सक्यौँ। सुन र नुनसमेत बेसाउन मुगलान पस्नुपर्‍यो। लक्ष्मीप्रसाद देवकोटाको कालमा सुन कमाउन गएका मदनको उनकी आमा र श्रीमतीसँग भएको वियोगकथा हामीले पढ्यौँ। गाउँ छाड्नुको वियोगान्त कथा अचेल हामी 'काठको बाकस'मा पढ्छौँ। 

मान्छे ‘नोस्टाल्जिया’मा बाँच्ने विचित्रको प्राणीजस्तो लाग्छ। एकैछिनपछिको 'ठिकाना' नभएको यो प्राणी विगतका स्मृतिमा छमछम नाच्छ। 'गाउँठाउँ हाम्रै बाल्यकालमा झैँ रहिरहुन्' भन्ने एक अव्यवहारिक मनोदशा  बोकेर हिँड्छ, जबकि हामी आफैँ आफ्नो थातथलोमा सधैं बस्न सक्दैनौँ/सकिरहेका छैनौँ। त्यसो हुँदाहुँदै पनि गाउँलेहरूले चिटिक्क सिँगारिदिएको पुरानै समयको गाउँ र थातथलो चाहिएको छ हामीलाई।

कवि श्रवण मुकारुङकै कुरा गरौँ, बाआमा पुरुष सन्तानमध्ये उनी जेठा हुन्। कान्छा राजन मुकारुङ। भोजपुरको दिल्पाबाट काठमाडौँ छिरेका दुवै दुवै भाइको शहरमा साहित्यिक यश छ। माइला जिता मुकारुङ भोजपुर सदरमुकाममा वकिल पेसा गर्छन्। घरका सबै भाइ यसरी अन्ततः'देशान्तर'मा छन्। "मनभरि गाउँको माया हुँदाहुँदै चाहेर पनि कोही फर्किने अवस्था छैन, " श्रवण स्वयं भन्छन्, पर्यटकझैँ आक्कलझुक्कल 'सिक' भएर गाउँ जानु अलग कुरा। 

कवि श्रवणझैँ धेरै विश्व नागरिक आफूले गाउने गीतसमेत बोकेर 'अज्ञातभूमि' लागिरहेछ। 'बिरानो ठाउँ'मा पुगेर आफ्ना धुन बजाइरहेका छन्, काठमाडौँ उपत्यकाको धिमे र बाँसुरी क्यानडा र अमेरिकामा बजेझैँ। कतिपय मान्छे भन्छन्, "गाउँमा अवसर नभएर मान्छेहरू शहर र विदेश पसे।" तर खाडी, मलेसिया, अमेरिका र युरोप (खामअयु) का जस्तै अवसर हाम्रा गाउँशहरमा सिर्जना गर्न सम्भव छ? सानोतिनो कुटीर उद्योग गाउँतिरै बनाउन हामीले सक्यौँ भने पनि खामअयुको जत्तिकै आम्दानी तिनले पाउन सम्भव छ? भावना र अर्थको यो द्वन्द्व वास्तवमै पेचिलो छ।  

वर्ल्ड माइग्रेसन रिपोर्ट २०२४ का अनुसार सन् २००० देखि २०२२ सम्म अन्तर्राष्ट्रिय रेमिट्यान्समा १२८ अर्ब अमेरिकी डलरबाट ८३१ अर्ब अमेरिकी डलर (६५० प्रतिशतभन्दा बढी वृद्धि) भएको देखाएबाट  अन्तर्राष्ट्रिय आप्रवासन मानव विकास र आर्थिक वृद्धिको संवाहक रहेको बुझिन्छ। उसो त यो आर्थिक समृद्धिले निम्त्याएको वातावरणीय विनाशको अर्को पाटो पनि छँदैछ। 

सोही प्रतिवेदनअनुसार विश्वव्यापी आप्रवासी जनसंख्याको आकार सन् १९७० को लगभग ८.४ करोडबाट सन् १९९५ मा १६.१ करोड र त्यसपछि सन् २०२० मा २८.१ करोडमा पुगेको देखाउँछ। २८ करोड हाराहारी भन्नु इन्डोनेसियाको जनसंख्या जत्ति नै हो, जबकि इन्डोनेसिया विश्वको चौथो धेरै जनसंख्या भएको राष्ट्र हो।

व्यापक आप्रवासनको यस युगमा माइला–माइलीहरू लामो ‘माइलेज’को यात्रामा छन्। उनीहरूको रोकिने छाँट छैन। हामीहरू नै रोकिएका छौँ र?


सम्बन्धित सामग्री