काठमाडौँ विश्वविद्यालयका स्नातक तह, बायोटेक्नोलोजीका विद्यार्थीलाई हरेक वर्ष भारतीय रेलमार्फत भारतका उत्तरदेखि दक्षिणसम्मका शहरमा औद्योगिक भ्रमणमा लैजाने गरिन्छ। रेलयात्राको समयसमेत जोड्दा भ्रमण अवधि १५–२० दिनसम्म रहन्छ। विद्यार्थीलाई लिएर म पनि यस्तो भ्रमणमा कोरोना महामारीअघि दुई र त्यसपछि एक पटक भारतका विभिन्न शहर घुमेको छु। भारतीय रेल/रेल्वेमा ३० दिनजति समय बिताएको छु। काठमाडौँबाट सबैभन्दा नजिकको भारतीय रेल्वे स्टेसन रक्सौल अथवा गोरखपुर पर्छ। रक्सौल पुग्न वीरगन्जबाट बोर्डर छिचोल्दा हुन्छ भने गोरखपुर पुग्न भैरहवाबाट बोर्डर पार गरे छोटो बसयात्रा गर्नुपर्ने हुन्छ।
भारतीय रेलमा चोरी र लुटपाटका घटना हुने कुरा जनमानसमा चल्ने गर्छ। चकलेट या प्रसाद खुवाएर बेहोस पारेर लुटेको, पाकेट काटेर पैसा चोरेको, लुटेराहरूले यात्रुमाथि कुटपिट गरी गरगहना र पैसा लुटेको घटना बेलाबेला सुनिन्छ। मैले भारतभर रेलयात्रा गर्दा दुई वटा चोरीका घटना बेहोरेको छु। एउटा घटना बिहारमा घटेको थियो। दुई जना जवान, साधारण देखिने युवा रेल चढे र हाम्रा महिला विद्यार्थीको समूहसँग कुराकानी गरेर 'दोस्ती' बनाए।
हामी कहाँबाट रेल चढेका थियौँ, कुन ठाउँ गइरहेका थियौँ, सबै पत्ता लगाए। जब रेल बिसौनीबाट हिँड्यो, एउटा महिला विद्यार्थीले च्यापेको झोला खोसेर एउटा युवा रेलबाट हाम फाल्यो। अर्को युवाले महिला विद्यार्थीलाई पहिलो युवाको पछि लाग्नबाट रोक्यो र पछि आफैँसमेत रेलबाट हाम फाल्यो। रेलले गति लिइसकेकाले हामीले चोर पक्रन सकेनौँ। अर्को घटनामा हातबाट कुनै यात्रुको मोबाइल फोन खोसियो। हामीसँगै हिँडेका यात्रुले बेहोरेको घटना थियो त्यो। पहिलेभन्दा अहिले प्रहरी र प्रविधिमार्फत 'सर्भिलियन्स' बढी भएकाले ठूला लुटपाटका घटनाभन्दा सानातिना चोरीचकारीका घटना बढी हुन सक्छन्। यो आफ्नै अनुमानको कुरा भयो।
अब चर्चा गरौँ, रेलका सिटहरूको। साधारणतया भारतीय रेलमा तीन प्रकारका सिट हुन्छन्: साधारण सिट जहाँ बस्न मात्र मिल्छ, स्लिपर सिट जहाँ राति खुट्टा पसारेर सुत्न मिल्छ, र वातानुकूलित 'स्लिपर सिट' जहाँ भारतको गर्मीमा एयर कन्डिसनको सुविधा उपलब्ध हुन्छ। बसमा सुत्नुभन्दा रेलमा सुत्नु धेरै सजिलो हुन्छ, बसमा जस्तो धेरै नउफार्ने र खुट्टासमेत पसार्न पाइने भएकाले। तर होटलमा सुतेजस्तो सहज भने यहाँ हुन्न, पृष्ठभूमिमा रेलको मन्द आवाज आउने, बत्ती पूर्ण रूपले बन्द नहुने तथा साँघुरो कक्ष हुने भएकोले। रेलमा चढ्दा औसत रातिको ५-६ घण्टा मात्र सुत्न सक्छु। भारतीय रेलको एउटा डब्बामा जम्मा ७२ वटा सुत्ने सिट हुन्छन्। एउटा डब्बामा ९ वटा कोठा हुन्छन्, हरेक कोठामा ८ सिट। हरेक कोठामा तल, माथि र बीचमा गरेर तीन तहमा खाट हुन्छन्।
एउटै कोठामा आठ वटा सिट हुने कारणले लामो यात्राका क्रममा भारतका विभिन्न क्षेत्रका समुदाय र परिवारसमेत देख्ने अवसर मिल्छ। यसपालि रक्सौलबाट हैदराबाद जाँदा उपचारका लागि हिँडेको मारवाडी परिवार, मुम्बईबाट दिल्ली जाने क्रममा भेटिएको मनाली घुम्न गइरहेको मराठी परिवार र दिल्लीबाट रक्सौल जाने क्रममा भेटिएको पन्जाबमा काम गर्ने बिहारी परिवार भेट्ने अवसर मिल्यो। रेलका कोठामा विभिन्न भाषा र वेशभूषाका, फरक खाना खाने र अनेकन् पृष्ठभूमिका मानिस भेटिनु अस्वाभाविक होइन। यसबाट भारतको भाषिक, जातीय र भेगीय विविधता बुझ्ने मौका मिल्छ।
रेलमा धनाढ्य व्यापारीदेखि मागेर गुजारा गर्नेहरू पनि प्रशस्त भेट्न पाइन्छ। 'पानी बोतल, पानी बोतल, चाय चाय'को आवाजले वातावरण गुञ्जायमान हुन्छ। कोही चना बेच्न आउँछन् त कोही समोसा। खाना बेच्नेहरू पनि प्रशस्त भेटिन्छन्। लुगाफाटो र सस्ता गहना बेच्नेहरू पनि भेटिन्छन्। भिखारीमध्ये कोही आफ्नो अपांगता त कोही बालबालिका बोकेर यात्रुहरूसँग दयाको याचना गर्दै हुन्छन्। कोहीकोहीचाहिँ यात्रु वरपरको भुईं पुछिदिएर समेत पैसाको याचना गर्छन्। महिलाको भेषमा आएका पारलैंगिक पुरुषहरू ताली बजाउँदै र कतिपय अवस्थामा धम्क्याउँदैसमेत पैसा माग्छन्। पैसा नदिएमा यी महानुभावहरू गालामा म्वाइँ खानेदेखि यात्रुलाई अन्य तरिकाले लज्जित तुल्याउँदै पैसा झार्न पछि पर्दैनन्।
४०–५० घण्टा लामो यात्रामा चिया र समोसा मात्र खाएर पेट भर्न सकिने कुरा भएन। कुनै–कुनै स्टेसनमा दाल-भात-तरकारी, रोटी-तरकारी, बिरयानी, इडली-डोसा पनि मगाउन मिल्छ। कुनै–कुनै रेल स्टेसनमा यस्ता परिकार तयार गरिन्छ। स्टेसनमा रेल लामो समय रोकिने अवस्थामा बाहिरका कतिपय रेस्टुरेन्टबाट खाना मगाउन पनि सकिन्छ। भारतीय रेला सेवाको 'आईआरसीटीसी' एप डाउनलोड गरेर आफ्नो पीएनआर नम्बर र रेलको सिट नम्बर राखी नजिकैको रेल्वे स्टेसनमा खाना मगाउन सकिन्छ। यसका लागि इन्टरनेट चाहिने नै भयो। धेरै जसो भारतीयहरू भने रेलको खाना मन पराउँदैनन्। त्यस कारण कतिपयले आफैँ खाना बोकेर ल्याएका हुन्छन्।
पानी, खाना अनि चिया खपत गरिसकेपछि निक्लेको फोहोर फाल्ने राम्रो व्यवस्था भारतीय रेल्वेमा छैन। स्टेसन आउन्जेल फोहोर जम्मा गर्ने र स्टेसनमा फोहोरदानी छ भने फाल्न सकिन्छ। तर व्यावहारिक रूपमा सो सम्भव हुँदैन। जम्मा गर्दागर्दै फोहोरको थुप्रो हुन सक्छ। रेल धेरै समय स्टेसनमा नरोकिन पनि सक्छ। प्राय: सबै यात्रुले फोहोर या त रेलबाहिर हुर्याउँछन् या त अव्यवस्थित तरिकाले रेलको डब्बाभित्रै फाल्छन्। बेलाबखत रेल्वेका कर्मचारी आई डब्बाका कोठाहरू बढार्छन्, तर समग्रमा फोहोरको व्यवस्थापन राम्रोसँग हुन नसकेको देखिन्छ। शौचालयको व्यवस्था रेलमा हुन्छ, यदाकदा 'कमोड'को व्यवस्था रेलभित्र हुन्छ। 'वास बेसिन' र पानीको पनि सुविधा हुन्छ। पानी चुहिने, बाथरुम फोहर हुने समस्या धेरैजसो रेलका साझा समस्या हुन्।
भारतका रेल्वे स्टेसनहरू सानादेखि ठूला सबै आकारका छन्। अहिलेसम्म म घुमेका स्टेसनमा रक्सौल, गोरखपुर, हैदराबादको काचिगौडा, बेङ्गलोरको केएसआर, गोआको माडगाउ, मुम्बईको दादर र छत्रपति शिवाजी महाराज, दिल्लीको आनन्द विहार र पाहारगञ्ज, हुब्ली, जोधपुर पर्छन्। यिनीहरूमा सबैभन्दा ठूलो शायद मुम्बईको छत्रपति शिवाजी महाराज स्टेसन नै पर्छ। भारतका रेल्वे स्टेसन कलात्मक हिसाबले बनाइएका छैनन्। यी स्टेसनले आकासे पानी छेक्छन्, यात्रुलाई किराना सामान बेच्छन् र सामान्य भोजन गराउँछन्। भारतका स्टेसनहरू आफ्नो काम पक्कै गर्छन्, तर भड्किला छैनन्।
भारतीय रेल चढ्दा यहाँको गरिबी टड्कारो देखिन्छ। भारतको कुनै पनि शहरमा स्टेसनभित्र र बाहिर पातलो कपडा ओछ्याएर अथवा त्यो पनि नओछ्याई मानिसहरू सुतिरहेको देखिन्छ। रेलको स्लिपर र एसी कक्षमा 'भुईंमा सुत्ने' यात्रु त चढ्दैनन् तर कहिलेकाहीँ विपन्न यात्रुहरू त्यहाँ पनि आइपुग्छन्। हामी बेङ्गलोरबाट गोवाको माडगाउँ आउँदा राति साधारण कक्षमा नअटेर स्लिपर कक्षतर्फ आएका केही यात्रु भेट्यौँ। रेलको टीटी (टिकट जाँच्ने सरकारी व्यक्ति)ले तिनीहरूलाई हप्काइरहेको थियो। आफ्नो कक्षमा जान भनिरहेको थियो, तर उनीहरू मानिरहेका थिएनन्। शायद साधारण कक्षमा एकदमै भिड थियो। मध्यरातसम्म झगडा गरेर उनीहरू आखिरमा स्लिपर कक्षको भुईंमा नै सुते। तन्ना ओछ्याएर आफ्नो पाँचवर्षे छोरीसँगै सुतेकी महिलाको दृश्यले साह्रै नमजा लाग्यो। तर आखिर उनीहरू निदाए। त्यस्तो अप्ठ्यारोमा समेत कसरी निदाउन सकेका उनीहरू!
यात्रा सकिइसकेपछि होटलसम्म पुर्याइदिन स्टेसनबाहिर ट्याक्सीको लाम हुन्छ। यी ट्याक्सी ड्राइभरहरू सधैँ नै पुरुष हुन्छन्। समूहमा सामान बोकेर एकत्रित भएका हामीहरूको वरिपरि दसौँ ट्याक्सी ड्राइभर जम्मा हुन्छन्, मोलतोल र तानातान गर्न थाल्छन्। यात्राबाट थकित हामीहरूमा त्यसले थप तनाव सिर्जना हुन्छ।
भारतीय रेल्वे भारतजत्तिकै ठूलो र विविध छ। धेरै समतल जमिन भएको भारतलाई पूर्वदेखि पश्चिम अनि उत्तरदेखि दक्षिणसम्म जोडेको छ। भारतीय रेलवेले भारतीयहरूलाई जागिरसँगै विपन्नभन्दा विपन्नलाई यातायात सुविधा दिलाएको छ। भारतीय सेनापछि भारतको यो दोस्रो ठूलो रोजगारदाता हो। भारतीय रेल्वेको इतिहास १५० वर्षभन्दा पुरानो छ। पहिले कोइलाबाट तातो बाफ निकालेर सञ्चालन हुने रेलहरू आजकल प्रायः बिजुली शक्तिबाट सञ्चालन हुन्छन्। भारतीय रेल्वेको सबैभन्दा ठूलो योगदान भनेको गरिब यात्रुलाई यातायातको सुविधा दिलाउनु हो। दिल्लीबाट रक्सौल हवाईजहाजबाट यात्रा गर्दा पाँच हजार आईसी लाग्छ भने स्लिपरबाट यात्रा गर्दा ५०० आईसी। एसी रेलमा यात्रा गर्दा जम्मा १५ सय आईसी भए पुग्छ। उत्तरदेखि दक्षिणसम्मको पाँच शहरको हाम्रो यसै महिनाको यात्रा पनि १० हजार नेपाली रुपैयाँमा सम्भव भएको थियो।
समुन्नतिका खुड्किलाहरू पार गर्दै अगाडि बढेको भारतमा रेल्वेको सान्दर्भिकता अब कहिलेसम्म रहिरहला? हवाईजहाजको यात्रा निश्चित रूपमा छोटो र सुविधाजनक भए पनि अझै पनि त्यो आमभारतीयका लागि अति महँगो छ। विभिन्न भारतीय हवाईजहाज कम्पनीहरूले बढीभन्दा बढी एयरबस र बोइङ खरिद गरेको समाचार आइराख्दा रेल्वेको यातायात त घट्ने होइन भन्ने प्रश्न उब्जन सक्छ। अमेरिकामा लामो दूरीको यात्रा गर्न रेल्वेभन्दा हवाई यातायातको प्रयोग बढी हुने गर्छ। सम्भ्रान्त हुँदै गएको भारतमा पनि त्यसो नहोला भन्न सकिन्न, तर अमेरिकास्तरको समुन्नतिको लागि धेरै दशक लाग्ला। त्यसो हुँदा कमसेकम ५० वर्षसम्म लामो दूरीको यात्रामा रेल यातायात नै भारतीयको प्राथमिकतामा पर्नेछ। आगामी वर्षहरूमा यात्रुको संख्यामा कमी आए पनि सामान ढुवानीमा भने रेल्वेको सान्दर्भिकता नघट्ने अनुमान लगाउन सकिन्छ।
भट्टराई काठमाडौँ विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उपप्राध्यापक हुन्।