पछिल्ला केही दशकमा भारतमा अनेकौँ बाबाको तीव्र रूपमा उदय भयो। यसअघि पनि तिनको सामाजिक क्षेत्रमा उपस्थिति हुने गर्थ्यो तर अहिलेजस्तो प्रभाव बिरलै हुन्थ्यो। तिनको बढ्दो सामाजिक र राजनीतिक दबदबा एकदमै भयावह छ।
केही बाबाहरू अनेकौँ कर्तुतमा संलग्न छन्, ‘दैवी आवरण’का कारण तिनको अपराध छायामा पर्ने गरेको छ, अनदेखा गर्ने गरिएको छ। शंकराचार्य जयेन्द्र सरस्वतीको आश्रममा उनका कामदार शंकर रमणको हत्या भयो। सत्यसाईं बाबाको प्रशान्ति निलयमा एक जनाको हत्या भएको थियो। गुरमीत राम रहीमका अपराधलाई पत्रकार छत्रपति रामचन्द्रले प्रकाशमा ल्याए, सोही कारण रामचन्द्रले आफ्नो जीवन गुमाउनुपर्यो। तर, अन्ततः राम रहीम कानूनको पन्जामा परे र अहिले जेलमा छन्। यो अलग कुरा हो कि उनी धेरैजसो ‘परोल’मा बाहिरै रहने गरेका छन्।
आसाराम बापू अनेकन् अपराध गर्दागर्दै लामो समयसम्म कानूनको हातबाट बचिरहेका थिए। तर अहिले उनी बलात्कारको आरोपमा जेलमा छन्। यसै समय बागेश्वर धाम नामक अर्का बाबा भारत र आसपास अति लोकप्रिय छन्। यी केही उदाहरण मात्र हुन्। भारतमा यस्ता अनगिन्ती बाबा/माता छन् जो अन्धविश्वासको पासोमा मान्छेलाई मन्त्रमुग्ध बनाइरहेका छन्। यिनीका साथमा यति धेरै सम्पत्ति छ कि गनिसाधे छैन।
अरू दुई चर्चित बाबाको पनि उल्लेख गर्न आवश्यक छ। एक हुन् श्री श्री नामबाट समेत चिनिने रविशंकर, जसले सन् २०१६ मा आफ्नो महोत्सवका लागि भन्दै यमुना नदीको वातावरण नै ध्वस्त बनाएका थिए (सन् २०१६ मार्चमा 'आर्ट अफ् लिभिङ' नामक आध्यात्मिक संस्थाका संस्थापक यिनले दिल्लीको यमुना नदीको बाढी क्षेत्रमा वर्ल्ड कल्चर फेस्टिबलका नाममा भिड बटुलेर नदीको बहावस्थललाई पूर्ण रूपमा ध्वस्त बनाउन भूमिका खेले। पछि सरकारद्वारा स्थापित विशेषज्ञ समितिले सो कुरा उल्लेख गर्यो, जबकि आयोजकले बिलकुलै फरक दाबी थियो। विशेषज्ञ समितिले बनाएको रिपोर्टअनुसार यमुनाको बाढी क्षेत्रलाई पारिस्थितिक पुनर्वास गराउन मात्रै १० वर्ष लाग्ने र त्यसो गराउन १३.२९ करोड भारतीय रुपियाँ लाग्ने बताइएको थियो। सं.)
आरएसएस-समर्थित आन्दोलन, जसमा अन्नाहजारेसमेत थिए, त्यसमा समेत श्री श्री सम्मिलित थिए।
अर्का हुन्, बाबा रामदेव। रामदेवले आफ्नो करियर योग गुरुको रूपमा शुरू गरे। त्यसलाई बिस्तार गर्दै यिनले पतञ्जलि नामबाट ठूलो व्यापार/व्यवसाय शुरू गरे। आयुर्वेदिक उत्पादन बनाउने र बेच्ने यस कम्पनीले बिस्तारै चाउचाउदेखि लुगाकपडासमेत बेच्न थाल्यो। पतञ्जलिकै कारण रामदेव व्यापारिक 'टाइकुन'को अग्र श्रेणीमा स्थापित भए। रामदेव र उनीका निकट मित्र आचार्य बालकृष्णले पतञ्जलिको ठूलो साम्राज्य स्थापना गरे। यिनका सबै आयुर्वेदिक उत्पादनको बडो धूमधामसाथ प्रचार भयो र मिडियाको एउटा ठूलो वर्ग उनको उपलब्धिबाट प्रभावित भयो।
बालकृष्ण आचार्य र रामदेवको जोडीको शैक्षिक योग्यताबारे धेरै थाहा छैन। भारतमा धेरै आयुर्वेदिक मेडिकल कलेज छन्, तर तिनीहरूबाट यी दुईले कुनै डिग्री लिएका छन् भन्ने कुरामा शंका छ। बहुराष्ट्रिय कम्पनीहरूले स्वदेशी उत्पादक/व्यवसायलाई चुनौती खडा गर्दै छन् भन्ने कथनको आवरणमा नै हुनुपर्छ, यिनका अभ्यासहरूलाई कसैले पनि चुनौती दिएन।
कोभिड १९ महामारीताका मामला अझै पेचिलो भयो। एकातर्फ सरकारले ठूलो रकम पुनेस्थित भारत बायोटेकमार्फत कोभ्याक्सिन निर्माणमा सहयोग गर्यो। अर्कोतर्फ, महामारी फैलिएको एक महिनाभित्रै रामदेवले आफूहरूले कोरोनाको उपचार र रोकथामका लागि ‘कोरोनिल’ नामक औषधि बनाएको दाबी गरे। रामदेवले उतिखेर त्यसमा डब्ल्यूएचओको स्वीकृति रहेको दाबी गरे। तर सो कुरा गलत रहेको भन्दै भारतको आयुष मन्त्रालयले चुनौती दिएपछि यिनले आफ्नो दाबी सच्याउँदै 'कोरोनिल डब्ल्यूएचओको दिशानिर्देशमा विकसित भएको' बताए। (त्यसको केही समयलगत्तै कुनै पनि परम्परागत औषधिको प्रभावकारिताबारे आफूहरूले प्रमाणित नगरेको विश्व स्वास्थ्य संगठनले प्रस्ट पारेको थियो।)
दुई क्याबिनेट मन्त्रीहरू; डा. हर्षवर्धन र नितिन गडकरीको उपस्थितिमा कोरोनिलको 'कम्बो प्याक'को धूमधामसाथ रामदेव र बालकृष्णले प्रचार नै शुरू गरे। डा. हर्षवर्धन आफै आधुनिक (प्रमाण आधारित) चिकित्सक हुन्। भारतमा अहिले अहिले पनि पुरातन प्रणालीको अन्धा–प्रशंसा हुने गरेको छ।
हल्कादेखि मध्यम गम्भीरताका एक सय बिरामीमा सो 'औषधि'को परीक्षण गरिएको र केही दिनमै कोरोना परीक्षण नेगेटिभ आएको रामदेवले दाबी गरे। उनले औषधि परीक्षणका लागि केही चिकित्सकसँग सम्झौता गरेकोसमेत बताए। आधुनिक चिकित्सामा औषधिहरू बिरामीको उपचारका लागि प्रयोगमा ल्याउनुपूर्व बायोकेमिकल विश्लेषण, पशुमाथि औषधिको परीक्षण र पर्याप्त साइज नमूनाहरूको 'क्लिनिकल डबल ब्लाइन्ड ट्रायल' गर्नै पर्ने हुन्छ। तर रामदेवले त्यसको पालन गरेनन्।
आफ्नो व्यापारिक सफलताबाट अति उत्साहित भएका उनले अधिकांश गोदी मिडिया (भारतको सत्ताको संरक्षणप्राप्त मिडिया, जसको काम विपक्षीलाई गोद्ने (प्रहार गर्ने) भएकाले तिनलाई गोदी मिडियासमेत भनेर व्यंग्य गर्ने गरिन्छ) ले तारिफ गरे। उल्लासमा उनले आधुनिक चिकित्सालाई 'बेकारको विज्ञान' भन्नसमेत भ्याए। उनको टिप्पणीबाट आक्रोशित इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले उनीविरुद्ध मुद्दा दायर गर्यो, जसको हालै भारतको सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। अहिले उनले आधुनिक चिकित्साको खिल्ली उडाएकोमा आईएमएसँग माफी मागेका छन्।
भ्रष्टाचारविरुद्ध भन्दै रामदेव अनशन बसेको पुराना क्षण सम्झौँ। उनले आफूसँग ‘योग शरीर’ भएको र लामो समयसम्म आफू भोकै बस्न सक्ने दाबी गरे। तर केही दिनमै उनको अवस्था बिग्रियो र उनलाई आधुनिक चिकित्सा अपनाइने अस्पताल भर्ना गरियो। त्यस्तै, आचार्य बालकृष्ण गम्भीर बिरामी हुँदा सन् २०१९ मा एलोप्याथिक अस्पतालको आईसीयूमा नै भर्ना हुनुपरेको थियो।
पछिल्लो पटक सर्वोच्च न्यायालयको चेतावनीपछि पनि रामदेवको फर्मले भ्रामक विज्ञापन प्रचार जारी राख्यो। उनलाई अदालतले बोलायो। अदालत पुगेर उनले गम्भीर ढंगले क्षमायाचना गरे। अदालतले उनको माफी स्वीकार गर्न अस्वीकार गर्यो र उनलाई आफ्नो बाटो सुधारेर फेरि अदालतमा आउन भन्यो। (यसैबीच, अप्रिल १६ का दिन अदालतसामु उपस्थित भएर रामदेव र बालकृष्णले आफूहरूले सार्वजनिक रूपमा क्षमायाचना गर्ने बताए र अदालतले यही केसलाई लिएर आउँदो अप्रिल २३ मा अर्को सुनुवाइ राखेको छ। -सं.)
यो प्रकरणको यी विवरण आफ्ना ठाउँमा छन्। तर लामो समयदेखि आस्थामा आधारित ज्ञान र त्यसमा आधारित औषधिको प्रयोग झनै बढ्दै गएको छ र प्रमाण आधारित आधुनिक चिकित्सा पद्धतिको उल्टै अवमूल्यन गर्ने चेष्टा गरिएको छ। आधुनिक चिकित्सालाई कमजोर देखाउनुपर्ने यो कस्तो अहंकार? परम्परागत र 'हजुरआमाका औषधि' पनि धेरै अनुभवजन्य हुन्छन् भन्ठान्छ आस्थाआधारित ज्ञान। तर चुरो कुरा के हो भने आधुनिक चिकित्सा प्रणाली प्रमाण र पियर रिभ्यु (सहकर्मीहरूको समीक्षा) मा आधारित छ। आधुनिक ज्ञान निर्मम समीक्षा र आलोचनाबाट गुज्रँदै विकसित हुन्छ। यही कुराले नै यसको सुधार हुने गरेको छ, सोही कारण आधुनिक चिकित्सा हाम्रा लागि उपयोगी हुने गरेको हो।
तर आस्था/विश्वासमा आधारित उपचार प्रणालीलाई आलोचनाभन्दा माथि राखिने गरेको छ। धेरै बाबाहरूको आफ्नै उपचार प्रणाली छ। आधुनिक चिकित्सा प्रणाली भने थप विकसित प्रणाली स्विकार्दै अघि बढ्छ। तर रामदेव जस्ताहरू धार्मिकता(पवित्रता)को फाइदा उठाउँछन्, आफूलाई आलोचनाभन्दा माथि रहेको ठान्छन्। रोग र औषधिको मनलागी व्याख्या गर्छन्। कुनै बेला रामदेवले आफूसँग क्यान्सर र एड्सको समेत उपचार रहेको दाबी गर्दै भनेका थिए, ‘आधुनिक पद्धतिसँग के छ?’ उनले समलैंगिकतालाई समेत रोग ठान्दै त्यसलाई निको पार्न सक्ने दाबीसमेत गरेका थिए।
अहिलेसम्म रामदेवसँग ‘सिस्टम’ (सत्ता) को संरक्षण छ। यसले उनलाई आधुनिक चिकित्सालाई उडाउने अवसरसँगै आफ्ना ‘आफ्नो’ प्रणालीबारे तर्कहीन दाबी गर्ने अहंकार दियो। तर के कारण यिनलाई आस्थामा आधारित अनेकन् दाबी गर्दै मोजमस्ती गर्ने अवसर मिल्यो त?
पछिल्ला केही दशकमा धर्मको नाममा भारतमा राजनीतिको उदय भएको छ। यो (आजको भारतको राजनीति) प्राचीन भारतीय ज्ञान प्रणालीहरूमा समेत आधारित छ। यस्ता ज्ञान प्रणालीलाई आलोचनात्मक रूपमा हेर्नुपर्ने तर्कवादी र विज्ञान पक्षधरको माग रहन्छ। डा. नरेन्द्र दाभोल्कर, गोविन्द पानसरे, एमएमजस्ता मान्छेहरूले यस्तै माग गर्ने गरेका थिए। यस्ता विषयलाई विज्ञान र तर्कको कसीमा राख्नुपर्ने तिनको अडान थियो। कलबुर्गी र गौरी लंकेशहरूले तर्कशील समाजका पक्षमा बोलेकै कारण ज्यान गुमाउनु पर्यो।
यो त्यस्तो समय हो, जतिखेर 'आस्था आधारित ज्ञान'को चकाचौंधमा तर्कसंगत सोच र अभ्यासलाई कमजोर बनाइँदै छ। शैक्षिक पाठ्यक्रममा समेत 'भारतीय ज्ञान प्रणाली'को नाममा आस्था-आधारित कुराहरू नै हिस्सा बन्दै छन्। बाबा रामदेव आस्था-अन्धविश्वासको 'कम्बो'ले घेरिएको समाजको लक्षण हुन्। खैर, यतिखेर चिकित्सा क्षेत्रमा बढ्दै गएको ‘बाबा’ प्रवृत्तिलाई सर्वोच्च अदालतले थोरै भने पनि रोक लगाएको छ।
(दवायरडटआईएनमा प्रकाशित पुनियानीको लेखको भावानुवाद। लेखक भारतको 'सेन्टर फर स्टडी अफ् सोसाइटी एन्ड सेक्युलरिजम'का अध्यक्ष हुन्।)