Sunday, April 28, 2024

-->

‘भगवन्’, मन्दिर कसरी धाऊँ?

‘निर्मितले स्वयं निर्माताकहाँ अर्को उसै/उनैको निर्माण लगेर चढाउनुको तादात्म्य नरहेको’ सो भजनको सार अत्यन्त दार्शनिकपूर्ण छ।

‘भगवन्’ मन्दिर कसरी धाऊँ

एकलौटी सरकारी ‘रेडियो नेपाल’ सुनेर हुर्क्यौं हामी। घरको भित्ता वा खाँबोमा किला गाडेर बुट्टेदार खोलभित्र झुन्ड्याएर राखिने रेडियोबाट हामीले अनेकन् नयाँ कुरा सुन्यौँ। बच्चु कैलाश, नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी, मेलवादेवी, अरुणा लामा, योगेश वैद्य, उदितनारायण झा, दीपा झा, डेनी डेङ्जोङ्पा, दीप श्रेष्ठ, मुरलीधर, अरुण थापा, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राई आदिका गीत पनि।

बिजुली नआइपुगेको त्योबेला ब्याट्री बचाईबचाइ, सकिएको ब्याट्रीलाई घाममा सुकाईसुकाइ भए पनि रेडियोबाट देशविदेशका खबर सुन्यौँ। २०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तन सिंहदरबारभित्रको पहिलेको ‘राजसी रेडियो’मा पनि अलिअलि छिर्‍यो, जसमार्फत प्रजातन्त्र र मानव अधिकार कुरा गाउँठाउँमा समेत सुन्न पाइयो। प्रजातन्त्र प्राप्तिपछि रेडियोमा हास्यव्यंग्य नाटक 'दिनप्रतिदिन', दाहाल यज्ञनिधिको 'साहित्य संसार'देखि पुरुषोत्तम दाहाल, हरिविनोद अधिकारी र कुन्दन अर्याललगायतले चलाउने घटना र विचार सुन्यौँ। बिहानै उठ्दा हामीले शंख ध्वनिसहितका अनेक भजनमध्ये भक्तराजका करिब दुई दर्जन बढी भजनहरू झन्डै डेढ दशकसम्म सुन्यौँ।

भक्तराजको ओजपूर्ण स्वरका कारण उनका सबैजसो भजन कानका लागि प्रिय छन्। जहाँसम्म अर्थ र सन्देशका कुरा छन्, धेरैजसो भजनका शब्दसार परमात्मा या भगवान‍्को पुकारा, तिनको महिमा हुन्। मिथक चरित्रको कल्पना गर्दै अलाप, विलाप, पुकारा र तिनको महिमामण्डन नै सारमा सबै धर्मका भजन हुन्। कतिपय मान्छेका लागि भजनकीर्तन जीवनका कष्टकर क्षण भुलाउने माध्यम पनि हुन्। कतिपय भजनमा संगीतको भव्यता भेट्न सकिन्छ।  

सम्भवतः मानव समाजको यही 'ट्रेजेडी' देखेर भौतिकवादी/अनीश्वरवादी कार्ल मार्क्सले 'क्रिटिक अफ् हेगेल्स फिलसोफी अफ् राइट' रचनामा सन् १८४४ मा भनेथे, ‘धार्मिक पीडा (उत्पीडन) एकै समय वास्तविक पीडाको अभिव्यक्ति पनि हो र वास्तविक पीडाको खिलाफ विरोध/प्रतिरोध पनि। धर्म उत्पीडितहरूको आह हो, हृदयहीन संसारको हृदय हो र निष्प्राण स्थितिको आत्मा हो। मान्छेहरूका लागि यो अफिम हो।’ 

मान्छे किन धर्म/ईश्वरको बाटोमा लाग्छन् भन्ने कुरा बुझाउने यो शक्तिशाली भनाइ हो। 

संसारका अनेक कुनाकाप्चाका मानव पुर्खाले कल्पेका अनेकानेक ईश्वर छन्, तर हामीले अजमाएका भगवान् साँच्चै छन् या छैनन् कसैलाई पत्तो छैन। तैपनि अनेकन् ताप, पीडा, दुःख, शोषण र वेदनाले छटपटिइरहेका मान्छे कतै साकार या कतै निराकार ईश्वरको कल्पना गरिरहेका छन्, तिनलाई पुकारिरहेछन्। भगवान् अस्तित्वमा रहेको र तिनले हामीलाई दया-कृपा गरिरहेको, हाम्रा गतिविधि नियालिरहेको भ्रम पालिरहेछन्। उद्वेलित मान्छे 'जगत् निर्माता भगवान्'को एक झलक पाइन्छ कि भनेर अनेकन् हर्कत गरिरहेका भेटिन्छन्। भगवान‍्को दर्शन कसो नपाइएला भन्दै आफ्नै या अरूको ज्यानसमेत लिनेहरू छन्, आफ्नो शरीरलाई अनेक तरहका कष्ट दिने, पशुबलि चढाउने लगायतका अनौठा हर्कत गर्ने पनि भेटिन्छन्।

भगवान् या ईश्वरसँग सम्बन्धित विश्वास परम्परा, जसलाई हामी आम रूपमा 'धर्म' भनेर चिन्छौँ, त्यसले मान्छेका लागि अफिम (पेनकिलर)को काम गरी नै रहेछ, जबकि अफिम आफैँमा घातक लागुऔषध हो। आजको जस्तो विकसित र व्यवस्थित अध्ययनबाट 'पेनकिलर' र एनेस्थेसियाको विकास नभएका अवस्थामा अफिमलाई कतिपय मानव समुदायमा पेनकिलरकै रूपमा प्रयोग गरिएको बुझिन्छ। 

अफिमको सेवन गर्नेबित्तिकै उपयोगकर्तालाई अत्यन्त उत्साहको अनुभव हुन्छ। शरीर लठ्ठिन्छ र केही क्षण शारीरिक पीडा हटेको भ्रम उपयोगकर्तालाई हुन्छ। एकाध पटक प्रयोग गरेपछि यसको लत बढ्छ र त्यसले अन्ततः श्वासप्रश्वास ढिलो हुन्छ, रिँगटा लाग्ने, कमजोरी, बेहोस हुने, कोमामा पुग्ने र मृत्युसमेत हुने सम्भावना हुन्छ। सारमा भन्दा अफिम हितकर छैन। तरै पनि अनेकन् समस्या र रहस्य पर्गेल्न नसक्दा निरुपाय मान्छे धर्म नामको अफिम सेवन गरिरहेछ। 

अघिल्लो शताब्दीभन्दा मानव जीवन आजका दिन धेरै अर्थमा सम्मानपूर्वक र स्वतन्त्र भए पनि गरिब, निमुखा र अल्पसंख्यकमाथि सत्ताको अन्याय, शक्तिशाली र प्राय: धनपतिको शोषण, सम्पत्तिको असमान वितरण आदि कारण संसारभर मान्छे अझै उत्पीडित छन्, अन्धविश्वासमा छन्। शिक्षा-ज्ञान अझै पनि खास जाति र वर्गको 'प्रिभिलेज' र पहुँचमा ज्यादा छ।  

यस्तो अवस्थामा 'अफिम सेवन'को क्रम घट्दो भए पनि जारी छ। एकातर्फ भगवान‍्ले आफ्नो अवस्था सहज बनाइदेलान्, रोग, अशिक्षा र गरिबीबाट मुक्ति देलान् भन्दै प्रार्थनालयमा 'सहाराविहीन संसार' चिच्याइरहेछ। अर्कोतर्फ ईश्वर र सहाराविहीन संसारबीचको दूतको दाबी गर्दै पुरोहित, मुल्ला, लामा, पादरीहरू धर्मलाई धन्दाका रूपमा चलाइरहेका छन्। 

भगवान‍्लाई त्यो चढाउ अथवा मेरो आश्रममा फलानो वस्तु लिएर आऊ भन्दै ठगिरहेछन्। कम्प्युटर युगमा नयाँ 'अर्बपति गडमेन'हरू उदाएका छन्। केनेथ कोपल्यान्ड, सद्गुरु र जाकिर नाइकजस्ता नयाँ युगका तथाकथित मुक्तिदाता आफ्नो प्रवचनसँगै धूप, माला, तेल, जन्तर, पुस्तक बेचेर 'सहाराविहीन संसार'लाई 'फल्स सेन्स अफ् सेक्युरिटी' (सुरक्षाको भ्रम) दिइरहेछन्। भन्नुको अर्थ अफिमको ब्रान्डिङ नयाँ–नयाँ स्वरूपमा भइराखेकै छ।   

यति लामो पृष्ठभूमि भक्तराजले गाएको र खेमराज केशवशरण (शरणले रेडियो नेपालमा लामो समय धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए, जो वि.सं. २०७४ सालमा ८१ वर्षको उमेरमा बिते) ले रचेको एउटा 'रेडियो नेपालकालीन' भजनका सन्दर्भका लागि हो। 

 भगवन्, दर्शन कसरी म पाऊँ?
सबतिर तिम्रै बास म देख्छु, मन्दिर कसरी ठम्याऊँ?
भुवन बगैँचाका प्रभु माली, कस्तो फूल चढाऊँ?
सबतिर तिम्रै सौरभ चल्छ, धूप नयाँ कुन ल्याऊँ?
सब हो तिम्रो, के छ र मेरो, प्रभुमा भोग लगाऊँ?
ज्योतिर्मयकै ज्योति छ सबतिर, आरती के म सजाऊँ?
सबतिर तिम्रै स्नेह छ बग्दै, तीर्थ नयाँ कुन धाऊँ?
तीर्थहरूका तीर्थ स्वयं छौ, के अभिशेख गराऊँ? 

विसं १९९५ तिर झन्डै यस्तै खालको प्रश्न लक्ष्मीप्रसाद देवकोटाले यात्री कवितामा 'कुन मन्दिरमा जान्छौ यात्री?' भन्दै गरेका थिए। धर्मका नाममा चलेका कर्मकाण्ड र तीर्थव्रतिप्रति यो भजन पनि गम्भीर प्रश्न हो। मान्छेहरू धर्मका नाममा सिर्जित अनेक देवालय र तीर्थहरू धाउँछन्, जबकि यो सारा जगत् नै परमेश्वर भगवान् वा ईश्वरबाट भएको तर्क उनीहरू गर्छन्। जब यो जगत् नै परमेश्वरबाट निर्मित हो र कण–कणमा यदि ईश्वर छन् भने ईश्वरबाटै निर्मित मान्छे खास कुनै देवालय या प्रार्थनास्थल धाउनुको अर्थ के? घचेटाघचेट गर्दै, लाइनमा झगडा गर्दै प्रमुख मूर्ति/'अमूर्ति' हेर्ने या छुने के प्रयोजन?  

जगत‍्का सारा रूख, फूल र बुट्यान ईश्वरकै रचना हो भने त्यही फूलपाती र फल लगेर देवस्थलमा चढाउनुको के अर्थ? देवस्थल बनाउनुकै के प्रयोजन? सबै स्वाद र वासना उनकै कृपामा निर्मित हो भने धूप बाल्दै परमात्मालाई प्रभावित पार्नुको के लाभ? पानी दिने पँधेरालाई नै पानी चढाउने यो कस्तो पाखण्ड?

सबै उज्यालोका कारण स्वयं भगवान् नै हुन् भने खासखास स्थान र अवसरमा बत्ती बाल्नुको कारण के? 'निर्मितले स्वयं निर्माताकहाँ अर्को उसै/उनैको निर्माण लगेर चढाउनुको तादात्म्य नरहेको' सो भजनको सार, अत्यन्त दार्शनिकपूर्ण छ। ईश्वरका नाममा अर्बौं खर्चिए भौतिक संरचना बनाउने र कर्मकाण्डमा धेरै धन खर्चने कतिपय आस्तिक/धार्मिक जनहरूले यो भजनको सन्देश सार मनन गर्दा जगत् झनै सुखमय नै हुँदो हो। 

भक्तराज आचार्यप्रति हार्दिक श्रद्धाञ्जली।


सम्बन्धित सामग्री