Tuesday, December 03, 2024

-->

विभेद भोग्नेले नै किन गर्छन् विभेद?

राजनीतिक र सामाजिक चेत भएकालाई त सहजै अपमानजनक सम्बोधन गरिन्छ भने उत्पीडन र वञ्चितीकरणमा परेका दलित तथा अपांगता भएका महिलाप्रति तिनले कस्तो व्यवहार गर्लान्?

विभेद भोग्नेले नै किन गर्छन् विभेद

हाम्रो समाजमा कसले कसलाई सम्मान र अपमान गर्ने भन्ने विषय मानिसको शरीर, अनुहार, पहिरन, व्यक्तिको जात, भूगोल, लिंग र पदअनुसार सम्बोधन गर्ने अभ्यास छ। त्यहीअनुसार कति झुक्ने, कति मर्कने र कस्तो व्यवहार भन्ने अभ्यास छँदैछ। तर सचेत व्यक्तिले बारम्बार एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने सम्मान/विभेदको आधार कसैको शरीर, जात, पहिचान हुनुहुन्न भनेर धेरै अघियता भन्दै आएका छन्।

एक सार्वजनिक कार्यक्रममा सहभागी हुन गत मार्च ५ मा म र एक जना साथी जागरण मिडियाको कार्यालय पुग्यौँ। हामी पुगेकै समयमा एक जना अपरिचित महिला पनि त्यहाँ पुगिन्। माथिल्लो तलाको कार्यालय नछिरी हामी भुईंतलाको कोठामा पस्यौँ। उनी पनि हामी भएकै कोठामा आइपुगिन्। हामी तीनै जना तीनतिर टेबलवरपर भएर बस्यौँ। कुर्सीमा बस्नेबित्तिकै मैले मास्क खोलेँ। त्यतिन्जेलसम्म ती महिलासँग हाम्रो चिनजान पनि भएको थिएन।

उनले मेरो अनुहार हेर्दै धेरै प्रश्न गरिन्, "अनुहारमा किन यति धेरै चायाँपोतो आएको? तपाईं विवाहित हो कि अविवाहित? यस्तो पोतो त विवाहितको अनुहारमा मात्र आउँछ। डाक्टरलाई देखाउनु भयो कि भएन? कुनै क्रिम प्रयोग गर्नुभएन? चिटिक्क मिलेको अनुहार छ। पोतो नभएको तपाईं सुन्दर देखिनुहुन्थ्यो। केटी मान्छे चिटिक्क पर्नुपर्छ, अलि अलि मेकअप गर्नुपर्छ।” यस्तै अनावश्यक प्रश्न गरेर ती महिलाले मलाई हैरान गरिन्। उनी प्रश्न गर्दै थिइन्, मैले बीचमै रोकेर उनको परिचय सोधेँ। उनी पेसाले पत्रकार रहेछिन्, पहिचानले मधेशी दलित।

विवाहित महिलाको मात्र चायाँपोतो हुने कुरा वैज्ञानिक रूपमा पुष्टि हुने कुरा होइन। त्यसमाथि उनको प्रश्नले मेरो मन दुखायो। उनको त्यसखाले चेतना र बुझाइ आफैँमा निम्छरो थियो। उनको चासोलाई स्विकार्ने हो भने महिलाले केबल सुन्दरतामा ध्यान दिनुपर्‍यो। सशक्तता र सक्षमता तपसिलमा पर्ने कुरा भए। हामी महिला मेकअपले सुन्दरी हुने कि क्षमताले सक्षम भन्ने प्रश्न उठायो। उनको चेतनास्तर कम भयो र उनले त्यस्तो टिप्पणी गरिन्। तर अन्य महिलाको पहिरनका आधारमा तिनको मूल्यांकन गर्ने खुद महिला दलित अधिकारकर्मीसमेत देखेको छु।

गत मार्च १, २ र ३  मा अपांगता भएका महिलाको राष्ट्रिय कार्यक्रम ठमेलको एक होटलमा सम्पन्न भयो। कार्यक्रममा सातै प्रदेशका अपांगता भएका सबै समुदायका महिला सहभागी थिए। त्यो कार्यक्रममा स्वयंसेवीका रूपमा म सहभागी हुने मौका पाएँ। मलाई जहाँसम्म लाग्छ, नेपालमा अपांगता भएका महिलाको पहिलो सम्मेलन थियो त्यो। तीनदिने कार्यक्रम मेरा लागि नयाँ ज्ञान आर्जन गर्ने थलो बन्यो। त्यहाँ विभिन्न समुदायका अपांगता भएका महिलाको अनुभव सुन्न पाएँ। अर्कोतिर, महिला र दलित महिलाको क्षेत्रमा कार्यरत कतिपय अधिकारकर्मीलाई झनै नजिकबाट चिन्ने अवसर पनि मिल्यो।

कार्यक्रमको दोस्रो दिन बिहान खाना खादै थिएँ। एक जना अधिकारकर्मी मकहाँ आइपुगिन्। ठूलो ठूलो उनले स्वरमा भनिन्, “तिमी छिटो खाएर माथि जाऊँ, कार्यक्रम अब शुरू हुन्छ।” उनको सम्बोधनले मलाई अपमानको महसुस भयो। यस्तै भाषा प्रयोग गरेर अरूलाई पनि तिनले अपमानित गर्छिन् जस्तो लागेर उनलाई त्यहीँ केही प्रश्न गरेँ: 

 – तपाईं दलित महिलाको क्षेत्रमा काम गर्ने व्यक्ति होइन?

– हो।

– दलित-महिलाजस्तो संवेदनशील संस्थामा काम गर्ने तपाईंले कसैलाई अकारण 'तिमी' किन भन्नुभयो? 

– आज तपाईंले सुट लगाउनुभएका कारण अलि सानी देखिनुभयो, त्यसैले बहिनीझैँ लाग्यो र तिमी भनेको हो।

– अनि भाषा प्रयोगको मर्यादा हुन्छ भन्ने थाहा छ कि छैन? ...।

यो प्रश्नमा उनी रातोपिरो मुख लगाएर अनुत्तरित भइन्। 

एक दिन मैले लगाएको पहिरनबाटै मेरो 'जज' गरी विभेदकारी भाषा प्रयोग गर्ने उनले गुन्योचोलो लगाउने गाउँका दिदीबहिनीलाई कसरी सम्बोधित गर्छिन् होला? उनमा सामन्तवादी चेतनाको कति गहिरो छाप परेको होला? अझै अपांगता भएका महिलासँग उनले कस्तो भाषा प्रयोग र व्यवहार गर्छिन् होला? हुनलाई आखिर उनी मेरै उमेरकी थिइन्। फरक यति थियो, म सामान्य सुटमा थिए। उनी लामो कोट र पाइन्टमा।

उनीसँगै रहेकी अधिकारकर्मीले पनि उनकै अनुसरण गरिरहेकी थिइन्। अघिपछि अनेकौँ अधिकारबारे गम्भीर भएर बोल्ने तिनको चेतना र तिनले अरूमाथि गरिरहेको 'सम्बोधनको विभेद' सम्झेर उदेक लाग्यो। तिनले गरेको सम्बोधनबाट विभेदभित्रको विभेद बुझ्ने मौका मिल्यो। 

राजनीतिक र सामाजिक चेत भएकालाई त तिनले सहजै अपमानजनक सम्बोधन गर्न हिचकिचाइनन् भने अन्य उत्पीडन र वञ्चितीकरणमा परेका तथा अपांगता भएका दलित महिलासँग तिनले कस्तो व्यवहार गर्लान्? अन्य कति होलान् आत्मसम्मान र अधिकारका कुरा गर्दै मान्छेलाई अपमानित गर्दै हिँडिरहेका अधिकारकर्मी?

सँगै रहेकी धना परियारले पनि यो सबै हेरिरहनुभएको थियो। उहाँले भन्नुभयो, “धेरै छन् यसरी मान्छेलाई खसालेर बोल्नेहरू। अधिकारकै क्षेत्रमा काम गर्नेले नै मान्छेको रूप, पहिरन र क्षेत्रका आधारमा बोल्दाखेरि नै विभेद, अपमान र तिरस्कार गर्ने भएका कारण यस्ता कार्यक्रममा पनि जाऊँ कि नजाऊँ भन्ने लाग्छ।” धनाको कुरा सुनेपछि विभेद भोग्नेले विभेद गर्ने व्यवहारप्रति मनमा आक्रोशको आगो दन्कियो। 

दलितलाई कथित उपल्लो जातले प्रयोग गर्ने सम्बोधन ‘त’ र ‘तिमी’ हामीले सुन्दै आएका छौँ। आजभोलि पनि परिचय नहुँदासम्म तपाईं भनेर बोल्ने गैरदलित दलित हो भन्ने थाहा पाउनेबित्तिकै सम्बोधन परिवर्तन गर्न पुग्छन् र तपाईं भन्नेले तिमी र तिमी भन्नेले त भन्न थाल्छन्। दलितहरूले कहिल्यै तपाईंको दर्जामा भाषागत सम्मान पाउने स्थिति समाजमा अझै छैन। सम्बोधनमा पनि सधैँ सबैभन्दा तल्लो दर्जामा अपमान र विभेद खपेर बस्नुपरेको छ। विभेद भोग्नेले नै विभेद गर्न तम्सिएको देख्दा अधिकार र आत्मसम्मानका अनेकन् गौरवपूर्ण लडाइँहरूको नै अपमान भएको महसुस भयो।

उसो त, नेपालमा 'इन्टरसेक्सनलिटी' (विभेदहरू एक अर्कामा अन्तरसम्बन्धित छन् भन्ने अवधारणा)को सवाललाई बहसमा ल्याउने उद्देश्य बोकेको त्यो कार्यक्रम राष्ट्रियस्तरको थियो। अपांगता भएका महिलाको आत्मसम्मान र अधिकारको कुरा त्यहाँ भइरहेको थियो। अपांगता भएका महिलाको मुद्दालाई राज्य तहसम्म कसरी पुर्‍याउने भन्ने विषयमा त्यहाँ गहन छलफल, बहस र अन्तर्क्रिया भएको थियो। सोहीअनुसार महिलाभित्र पनि अपांगता भएका महिला त्यसैमा कुन वर्ग, समुदाय, क्षेत्र भूगोल र अपांगताको किसिमलाई समेट्ने गरी तिनको विषयलाई भुईंतहबाट उठाउनुपर्छ भन्ने कार्यक्रममा सहभागी सबै अपांगता भएका महिलाको एउटै विचार थियो। 

कार्यक्रम त्यति महत्त्वपूर्ण भए तापनि कार्यक्रमका हर्ताकर्ताहरूको सो हाल थियो। समाजले तिनलाई परपीडन र उत्पीडन मात्रै गरेको थिएन, त्यो सिकाएको थियो। तर सम्बोधन र व्यवहारको तन्नम् अभ्यास नछाडीकन यिनीहरू अधिकार र आत्मसम्मानबारे अरूलाई पढाउँदै थिए। यो आफैँमा नमिल्दो कुरा थियो। यति तन्नम अभ्यास गर्नेहरूले कमसेकम आफूलाई अधिकारवादी नभन्नुहोला।


नेपाली अधिकारकर्मी हुन्। 


सम्बन्धित सामग्री