Saturday, April 27, 2024

-->

परको देशमा
साइबर सुरक्षा नेपालका लागि नयाँ क्षेत्र हो, सम्भावना छः सजन गौतम

‘स्नातक सकिएपछि नेटवर्किङमा काम गर्न थालेँ। विस्तारै सेक्युरिटीतिर लागेँ। जब फाइनान्स बुझेँ त्यसपछि म राम्रो साइबर सेक्युरिटी एक्सपर्ट भएँ भन्ने लाग्छ। किनभने मैले पैसा र प्रविधिलाई जोड्न सकेँ।’

साइबर सुरक्षा नेपालका लागि नयाँ क्षेत्र हो सम्भावना छः सजन गौतम
तस्वीरहरू: मनीष पौडेल/उकालो

दैनिक करिब दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, जस्तो– रोजगारी, व्यापार/व्यवसाय, शिक्षा, तालिम, विवाह आदि। यसरी जानेहरू कतिपय फर्किन्छन्, कतिपय उतैको नागरिक बनिसकेका छन्। उकालोले नियमित रूपमा उनीहरूबारे लेखिरहेको छ। यो दायरा थप फराकिलो बनाउन विभिन्न देश पुगेका नेपालीको कथा शृंखलाबद्ध रूपमा प्रकाशित गरिरहेका छौँ।


साइबर सुरक्षा विज्ञ तथा लगानीकर्ता सजन गौतमसँग यस क्षेत्रमा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ। उनले स्टार्टअप लगानीकर्ता र शैक्षिक संस्थाहरूसँग नजिकबाट काम गरिरहेका छन्। हाल उनी अमेरिकाको फ्युल एक्सेलेटरमा ‘इन्टरप्रेन्योर इन रेसिडेन्स’ छन्। यसअघि अर्भेस्ट बैंकका प्रमुख सूचना सुरक्षा अधिकृत (सीआईएसओ) थिए। उनले यसअघि सिटी र ईवाई जस्ता संस्थाहरूमा पनि काम गरे। विभिन्न अमेरिकी विश्वविद्यालयमा साइबर सुरक्षा विषयमा ‘स्पिच’ दिने उनी केहीमा बोर्ड सदस्यका सल्लाहकार पनि छन्। साइबर सुरक्षा तथा अमेरिका बसाइबारे सजन गौतमसँग उकालोका लागि किरण दहालले गरेको कुराकानीः  

तपाईं अमेरिका कहिले जानुभएको हो?
कक्षा १२ सक्काएपछि स्नातक पढ्न अमेरिका गएँ। नेपालमा मैले खोजेजस्ता कलेजहरू थिएनन्। भारत जाने विकल्प पनि थियो। तर त्यहाँभन्दा अमेरिका जान अलि सजिलो हो जस्तो लाग्यो। वास्तवमा त्यति बेला धेरै जना बाहिर गइरहेका थिए, मलाई पनि त्यही हावाले छोयो।

साइबर सुरक्षा नै पढ्छु भनेर अमेरिका जानु भएको हो कि अरू नै योजना थियो?
त्यतिबेला खास सपना थिएन। घरबाट फुत्किन पाउनु ठूलो कुरा हो जस्तो लाग्यो। अमेरिका पुगिसकेपछि आकांक्षा बढ्न थाल्यो। एकपछि अर्को आकाक्षांले मलाई यहाँसम्म ल्याइपुर्‍यायो। स्नातक सकिएपछि नेटवर्किङमा काम गर्न थालेँ। बिस्तारै सेक्युरिटीतिर लागेँ। जब फाइनान्स बुझेँ त्यसपछि म राम्रो साइबर सेक्युरिटी एक्सपर्ट भएँ भन्ने लाग्छ। किनभने मैले पैसा र प्रविधिलाई जोड्न सकेँ।

तपाईं सेक्युरिटी ‘स्टार्टअप’लाई अलि बढी जोड दिनुहुन्छ। यो भनेको के हो?
स्टार्टअपका लागि कुन समस्या समाधान गर्न खोजेको हो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। त्यो समस्या कहाँ–कहाँ छ भनेर बुझ्नुपर्छ। जुन समस्या अमेरिका वा बेलायतमा छ, त्यो नेपालमा नहुन पनि सक्छ। अथवा नेपालमा भएको समस्या अन्य ठाउँमा नहुन सक्छ। त्यस कारण बजार चिन्नुपर्छ। कुन समस्या समाधान गर्न खोज्दै हुनुहुन्छ, बजारको साइज कत्रो हो, प्रतिष्पर्धा कति छ, नियमकानून कस्तो छ, दक्ष जनशक्ति कति छ, जहाँ सामान उत्पादन भएको छ त्यहीँ बजार छ कि बाहिर छ लगायत विषय नै स्टार्टअपमा हामीले सिकाउने हो।

नेपालजस्तो मुलुकमा यस्ता स्टार्टअप जरूरी छन्?
एकदमै जरूरी छन्। नेपालमा जनसंख्या वृद्धि भइरहेको छ र मानिसमा दक्षता पनि छ। पहिला जनसंख्या बढ्नुलाई नराम्रो मानिन्थ्यो, अहिले धेरै जनसंख्या हुनु वरदान मानिन्छ। नेपालमा शिक्षाको अवस्था राम्रो छ, सम्भावना पनि धेरै छ। कहिलेकाहीँ हामी नकरात्मक कुरा मात्र देख्छौँ। तर समस्याको सूची बनाएर हेरौँ त, १० वटा समस्या छन् भने ती सबैको समाधान तत्काल गर्नैपर्छ कि चार वटा मात्र समाधान गर्दा पनि काम चल्छ! नेपालमा काम गर्न सकिने स्थिति छ। मान्छेहरू नेपालमा नियम/कानून छैन, राजनीति खराब छ, भ्रष्टचार छ भन्छन्। तर यस्तो समस्या त संसारभर छ। यसले नेपालमा स्टार्टअपको वातावरण बनाउन रोकेको छ? छैन नि! 

अहिले नेपाल आउँदा मैले धेरै युवापुस्तासँग कुरा गर्ने मौका पाएँ। उनीहरू दृढ छन्, समस्या समाधान गर्न खोजिरहेका छन् तर एकअर्कामा राम्रोसँग समन्वय गरिरहेका छैनन्। छुट्टछुट्टै काम गर्न खोजिरहेका छन्। १५ जनासँग इन्क्युबेटरबारे कुरा गरेँ होला। सबैका आआफ्नो इन्क्युबेटर छन्। मेरो सल्लाह छ– पहिला सबै जना मिल, संयुक्त रूपमा एकदुई वटा इन्क्युबेटर बनाऊ, पछि त्यसबाट फुटेर बेग्लाबेग्लै काम गरे हुन्छ। शुरूमै झगडा गर्न थाल्दा कम्पनी उकास्न गाह्रो हुन्छ।

साइबर सुरक्षाका सन्दर्भमा नेपालमा कतिको चुनौती देख्नुहुन्छ?
आन्तरिक रूपमा यहाँको प्रणाली कस्तो छ भन्ने मलाई खासै जानकारी छैन। तर यहाँ अवसर धेरै छ। एउटा फ्रेमवर्क बनाउनुपर्छ। हामीलाई साइबर सेक्युरिटी फ्रेमवर्क बनाउन धेरै उदाहरण तयार भइसकेका छन्। अमेरिका, अस्ट्रेलियालगायत देशका उदाहरण लिन सकिन्छ।

हामी अनुसाशित छैनौँ– यो सबैभन्दा ठूलो चुनौती हो। एकदमै धेरै बोल्छौँ, भाषण गर्छौं, आश्वासन दिन्छौँ तर त्यसमा फलोअप गर्दैनौँ। हामी जे गर्ने भन्छौँ त्यसलाई प्राथमिकतामा राखेर काम गर्छौं कि गर्दैनौं? त्यसको कार्यतालिका बनाउछौँ कि बनाउदैनौँ? कुन सकियो, कुन सकिएन भनेर हाम्रो चासो रहन्छ कि रहँदैन? यस्ता कुरालाई खासै ख्याल गरेको देखिँदैन। साइबर सेक्युरिटीमा काम गर्ने हो भने ‘ट्र्याकिङ’ र ‘रिपोर्टिङ’ एकदमै जरूरी हुन्छ। नत्र हामी डेलिभर गर्छौं भनेर अरूलाई के आधारले भन्ने? मसँग ‘५० जना मान्छे छन्, मलाई प्रोजेक्ट दिनू’ भनेर कसैले पनि दिँदैन। त्यसकारण डकुमेन्टेसन एकदमै जरूरी हुन्छ।

साइबर सुरक्षामा नेपालभन्दा अमेरिका कसरी भिन्न छ?
अमरिकाले पनि विस्तारै प्रगति गरिरहेको छ। त्यहाँ पनि साइबर सेक्युरिटीको फ्रेमवर्क बनाएको धेरै भएको छैन, सन् २०१३ तिर शुरू गरेको हो। हामी धेरै पछाडि छैनौँ। अमेरिकामा जटिलता छन् किनभने ठूलो देश हो। हरेकजसो राज्यका छुट्टाछुट्टै नीतिनियम छन्। तर प्रगति भने गरिरहेको छ।

अमेरिकाका हरेक राज्यलाई आफ्नो हिसाबले कानून बनाउन दिइएको छ कि केन्द्रले बनाएको कानूनलाई पछ्याउनुपर्छ?
साइबर सुरक्षाको विषयमा संघीय सरकारले व्यवस्थापन गर्छ। राज्यहरूले त्योभन्दा कडा बनाउन सक्छन् तर कमजोर बनाउन सक्दैनन्। जस्तो, क्यालिफोर्नियाले संघीय कानुनभन्दा अलि कडा बनाउन पाउँछ तर संघीय सरकारले तोकेको आधार रेखाभन्दा तल जान पाउँदैन। त्यहाँ संघीय कानून नै पर्याप्त छ, त्यसकारण कमै राज्यहरूले मात्र त्यसमा फेरबदल गरेका छन्।

बाहिर जाने नेपालीहरू साइबरको क्षेत्रमा अलि बढी आकर्षित भएको सुनिन्छ। यस्तो किन भइरहेको छ?
एक त यो नयाँ क्षेत्र हो। दोस्रो, धेरै तलब आउने कामहरूमध्ये यो पनि एक हो। तेस्रो, ग्ल्यामर पनि भयो। चौँथो, यसले धेरै विषय समेट्छ। विभिन्न पक्ष समेटिने भएकाले जुन क्षेत्रका मानिस पनि यसमा आउँछन्। मानौँ, तपाईं मानविकी संकायको विद्यार्थी हुनुहुन्छ भने पनि साइबर सुरक्षामा जोडिन सक्नुहुन्छ। यस्ता कारणले यो क्षेत्रप्रति लगाब बढेको होला।

नेपालमा साइबर सुरक्षामा खासै भविष्य देखिँदैन भन्ने पनि छन् नि?
मान्छेलाई थाहा नभएको होला। नेपालमा एकदमै ठूलो अवसर देख्छु। यही पनि धेरै संस्था खुलिसकेका छन्।

हाम्रा संस्थाहरूले साइबर सुरक्षालाई खासै ख्याल गरिरहेका छैनन्। इच्छाशक्ति नभएको हो कि स्रोधसाधन?
इच्छाशक्ति मात्र होइन, सूचना पनि नभएको होला। यसमा धेरै स्रोतसाधन लाग्दैन। पैसाकै कारण साइबर सुरक्षा गर्न नसकिने हैन। साइबर सुरक्षामा लगानी गरेर तुरून्त प्रतिफल देखाउन सकिँदैन। हाम्रो सोचाइ ‘इन्स्युरेन्स’ खरिद जस्तो छ। दुर्घटना भयो भने इन्स्युरेन्सले तिर्ला, दुर्घटना भएन भने पैसा खेरा गयो। त्यस्तै, केही गरी ह्याक भएन भने साइबर सेक्युरिटीमा गरिएको खर्च बेकार भयो! यस्ता सोचाइले साइबर सेक्युरिटीलाई हल्का ढंगले लिइएको छ।

नेपालमा अहिले धेरै थरि परिचयपत्र प्रयोगमा आइरहेको छ। पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनैपर्ने भनिएको छ। साइबर सेक्युरिटीको दृष्टिकोणबाट धेरै परिचयपत्र हानिकारक हुँदैन?
अनावश्यक डेटा संकलन गर्नु भनेको जोखिम निम्त्याउनु हो। नागरिकता चाहियो, राष्ट्रिय परिचयपत्र चाहियो र अरू पनि केही परिचयपत्र छन्। यति धेरै परिचयपत्र किन चाहियो? नागरिकको यति धेरै सूचना किन संकलन गरिएको हो भन्ने मैले बुझेको छैन।

तपाईं आफ्नो करियरमा के कस्ता तनाव र झण्झट ब्यहोर्नुपरेको छ?
तनाव थरिथरिका हुन्छन्। एक त समस्याको पहिचान गर्नु नै चुनौती हो। समस्या के हो भनेर आफैँले बुझेको हुँदैन, नबुझेकै आधारमा मैले धेरै पटक गलत विचार अरूलाई थोपरेको छु। गलत बाटो गएपछि गलत नतिजा आउँछ। आफूसँग विज्ञता नभएपछि अरूलाई बुझाउन पनि सकिँदैन।

अब तपाईं नेपाल फर्किएर यतै बस्ने सम्भावना छ?
अमेरिका नफर्किने गरी तुरून्त नेपाल आउने सम्भावना छैन। तर वर्षमा तीन महिना नेपाल बस्ने मेरो इच्छा छ। त्यो कसरी सम्भव होला भनेर टुंगो लागेको छैन।

नेपालबाट अमेरिका पुगेकाहरूसँग तपाईंको सम्पर्क पक्कै होला। उनीहरू नेपाल फर्किने विषयमा कस्तो धारणा राखेको पाउनुहुन्छ?
लामो समय अमेरिका बसेका नेपालीले अब नेपाल फर्किन केही आधार छ कि भनेर खोजेको देख्छु। नेपालमै केही गर्न सकिन्छ कि भनेर सोच्न थालेको पाउँछु। उनीहरू रिटायर्ड भएर फर्किने होइन कि, त्योभन्दा पहिला नै आउन चाहन्छन्। धेरैले एकअर्कालाई भेट्दा ‘नेपाल फर्कियो भने केही गर्न सकिन्छ?’ भन्ने प्रश्नमा घोत्लिन्छन्। यो ट्रेन्ड विगतमा भन्दा अहिले बढेको छ।


सम्बन्धित सामग्री