Monday, May 06, 2024

-->

कतारमा अल थानी खानदानको शासन : देश निर्माणदेखि सम्पन्नतासम्मको यात्रा

१७औँ शताब्दीको शुरूमा प्रवेश गरेको अल थानी समूहले कतारलाई नियन्त्रण गरी शासन थालेको थियो। पछि अटोमन र बेलायती साम्राज्यले पनि शासन गरे। बेलायतबाट स्वतन्त्रता पाएको ५३ वर्षमै कतारले कसरी तरक्की गर्‍यो?

कतारमा अल थानी खानदानको शासन  देश निर्माणदेखि सम्पन्नतासम्मको यात्रा

काठमाडौँ– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौँ आएका छन्। नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता नेपालका तर्फबाट बारम्बार कतारको उच्चस्तरीय भ्रमण हुँदै आए पनि कतारी राज्यप्रमुख नेपाल आएको यो पहिलो पटक हो।

अन्य खाडी देशजस्तै कतारमा पनि राष्ट्र प्रमुख राजा हुन्छन्, जसलाई अमिर भनिन्छ। यो मुस्लिम बाहुल्य राष्ट्र हो। कतारको स्थापनादेखि नै अल थानी खानदानले शासन गर्दै आएको छ। नेपाल आएका ४४ वर्षीय शेख हमाद अल थानी कतारका आठौँ अमिर हुन्। उनका बुवा हमाद बिन खलिफा अल थानीले पद त्याग गरेपछि सन् २०१३ देखि उनी कतारका अमिर बनेका हुन्।

जम्मा ११ हजार ५८१ वर्गकिलोमिटर क्षेत्रफल भएको कतार नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश हो। तीन तिरबाट पानीले घेरिएको यो प्रायद्वीप बूढीऔँला आकारको छ। कतारको भूमि सिमाना साउदी अरेबियासँग जोडिएको छ भने बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र इरानसँग सामुद्रिक सिमाना साझा गर्छ। करिब ३० लाख जनसंख्या भएको यो देशका अधिकांश नागरिक पूर्वी क्षेत्र दोहामा बसोबास गर्छन्।

कतारमा राजनीतिक दलहरू प्रतिबन्धित छन्। त्यहाँको शासन व्यवस्था अमिरको नियन्त्रणमा छ। ४५ सदस्यीय सल्लाहकार परिषद् भए पनि वास्तविक शक्ति अमिरकै हातमा हुन्छ। 

कतारमा संगठन बनाउने वा हडताल गर्ने अधिकार अत्यन्तै सीमित छ। स्वतन्त्र मानवअधिकार संगठन छैनन्। त्यहाँको जनसंख्याको १० प्रतिशत मात्रै स्थानीय नागरिक छन् र उनीहरूले जन्मदेखि मृत्युसम्मका सबै काममा सरकारी सुविधा पाउँछन्।

यस्तो छ इतिहास
१७औँ शताब्दीको शुरूआततिर अल थानी आदिसासी समूह साउदीको उसाइगर गाउँबाट बसाइँ सरेर अहिलेको कतार क्षेत्रमा प्रवेश गरेको मानिन्छ। त्यतिबेला बहराइनको आधिपत्य भएको यस क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेर सन् १८४७ देखि अल थानी परिवारले शासन गर्न थाल्यो। त्यति बेलासम्म मोहम्मद बिन थानीको नेतृत्वमा थानी समूह अहिलेको कतारको राजधानी दोहामा बस्न थालिसकेको थियो।

त्यसपछि सन् १८७१ मा अलथानीको शासन अटोमन साम्राज्यको कब्जामा आयो। अटोमनलाई आफ्ना सेना फिर्ता गर्न लगाएर फेरि सन् १९१६ देखि बेलायतले साम्राज्य विस्तार गर्‍यो। कतारले १९७१ सेप्टेम्बर ३ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरी एक अलग सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा स्थापित हुन पुग्यो।

लन्डनस्थित रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्सका मध्यपूर्व मामिला विशेषज्ञ पिटर सालिसबरी भन्छन्, “एउटा परिवारले सानो टुक्रा जग्गामा शासन गरिरहेको थियो। यसको आफ्नै कुनै विशेष महत्त्व थिएन। यसलाई लामो समयदेखि साउदीको प्रान्त मानिन्थ्यो। तर समय क्रममा कतारले यस क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सफल भयो।”

तेलबाट कमाल
स्वतन्त्र भएपछि पनि साउदीकै एक हिस्साका रूपमा चिनिने कतार एकाएक विश्वको शक्ति राष्ट्र बन्नुमा प्राकृतिक तेलको स्रोत प्रमुख मानिन्छ। सन् १९५० मा यहाँ धेरै ठाउँमा तेल र ग्यासको भण्डार फेला परेको थियो। यसपछि कतारको भविष्य फरक देखियो।

विश्वमा कतारको हैसियत बढ्दै गएपछि यहाँ विदेशी लगानीकर्ता आउन थाले। सन् १९५० मा यहाँको जनसंख्या २५ हजारभन्दा कम थियो। सन् ७० को दशकमा यो संख्या एक लाख पुग्यो। अंग्रेजहरूबाट स्वतन्त्रता प्राप्त गरेपछि एक इस्लामिक राष्ट्र बन्यो र जनसंख्या पनि बढ्यो।

बिस्तारै कतारले तेल र ग्यासबाट आफ्नो अर्थतन्त्रको जग बलियो बनाउन थाल्यो। विश्वभर कतारको व्यापारको दायरा बढ्यो। तेलबाहेक माछाको व्यापारले यहाँको अर्थतन्त्रलाई थप गति दियो।

ग्यास बेचेर कमाएको पैसाले कतारको सौम्य शक्तिको महत्वाकांक्षालाई बढावा दियो। उसले अल जजिरा स्याटेलाइट न्युज नेटवर्क स्थापना गरेर आमसञ्चारमा अरब स्प्रिङका समयमा अरब विचारहरू प्रचार गर्न मद्दत गर्‍यो। सन् १९९४ मा कतार एयरवेज पनि सञ्चालनमा ल्यायो जुन संसारकै उत्कृष्ट एयरलाइन्समध्येमा पर्छ।

त्यतिमात्र होइन, कतारले सन् २०२२ को विश्वकप फुटबलको आयोजना गरेर अलग्गै छाप छोडेको छ। तर त्यस क्रममा कतारले श्रमिकको शोषणको आरोप लागेको छ। कतार श्रमिकका लागि अन्य देशमा भर परेको छ। नेपालबाट पनि वैदेशिक रोजगारमा कतार जाने धेरै छन्। विश्वकप फुटबलका लागि रंगशाला बनाउँदा र अन्य काममा श्रम शोषण भएको आरोप कतारमाथि लागेको थियो।

खाडीमा एक्लिएको तर बलियो कतार
बेलायतले छाडेसँगै कतारमाथि साउदी अरबको हालीमुहाली बढ्न थालेको थियो। कतारमा सुरक्षाको जिम्मा र विदेश नीति साउदीले नै तय गर्थ्यो। कतारका क्रियाकलापमा साउदीले हस्तक्षेप गरिरहन्थ्यो। 

जब अहिलेका कतारी अमिरका बुवा (पूर्वअमिर) शेख हमद सन् १९९५ मा सत्तामा आए उनले साउदी अरबको प्रभावबाट कतारलाई अलग बनाए। त्यसपछि साउदीसँग कतारको सम्बन्ध बिग्रियो। कतारसँग बलियो सेना थिएन, पर्याप्त जनसंख्या पनि थिएन। त्यसपछि कतारले अमेरिकी सेनालाई आफ्नो भूमिमा सैन्य अखडा राख्न आग्रह गर्‍यो जसको लागि अमेरिकी सेनालाई ठूलो रकम दियो। त्यहीँबाट साउदीसँग मनमुटाव शुरू भएको थियो।

अरब स्प्रिङपछि त झन् कतार अरब देशहरूबाट एक्लियो। कतारले इजिप्टको मुस्लिम ब्रदरहुड र इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीसहित सन् २०११ को अरब स्प्रिङमा इस्लामिक सेनाहरूलाई समर्थन गरेको थियो। सन् २०१३ मा राष्ट्रपति मोर्सीलाई सेनाले पदच्युत गरेपछि कतार र अन्य खाडी देशहरूबीच तनाव शुरू भयो।

मोहम्मद मोर्सी हिजबुल्लाहका सदस्य थिए, जसलाई धेरै अरब देशहरूले चरमपन्थी संगठन मान्छन्। साउदी अरेबिया, बहराइन र यूएईले २०१४ मार्चमा आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै कतारबाट राजदूतहरू फिर्ता बोलाएका थिए।

पछि २०१८ डिसेम्बरमा कतारले पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक)बाट बाहिरिने निर्णय गरेपछि अरब देशहरू झन् आगो भए। साउदी अरबले त आफ्नो जमिन र आकाश दुवैमा कतारलाई प्रतिबन्ध लगायो। त्यस बेला साउदीले लगाएको नाकाबन्दी अहिलेसम्म कायम छ। 

यस्तो नाकाबन्दीका बावजुद साउदीलगायत देशबाट आयात गर्दै आएको सामग्रीमा कतार निकै कम समयमै आत्मनिर्भर बन्यो। खाडी देश कतारले कृषि उत्पादन पनि निर्यात गरिरहेको छ। इरान र रुसपछि कतार विश्वको तेस्रो ठूलो प्राकृतिक ग्यास भण्डार भएको देश हो। यससँगै पेट्रोलियम पदार्थको ठूलो भण्डार छ। यो प्राकृतिक ग्यासमा छैटौँ ठूलो निर्यातकर्ता हो।

कतार उच्च मानव विकास सूचकांक भएको देशमा गनिन्छ। कतारमा दुबई, साउदी अरेबिया र अमेरिकाभन्दा धेरै धनी मानिस बस्छन्। त्यहाँ हरेक तेस्रो व्यक्ति करोडपति छन्।

यस पटक कतारका अमिर अल थानी काठमाडौँ आउँदा नेपालका विभिन्न सञ्चारमाध्यमले उनले चढेको हवाइजहाजबारे चर्चा गरिरहेका छन्। उनीसँग संसारकै अत्याधुनिकमध्ये मानिने निजी जहाज ‘ए३४०–५००’ छ। यसको कलसाइन ‘आमिरी–६’ हो। यसको उत्पादन एयरबस कम्पनीले गरेको हो। चार इन्जिन भएको यो जहाजको मूल्य अहिले २६ करोड १० लाख अमेरिकी डलर (करिब साढे ३४ अर्ब रुपैयाँ) पर्छ।

विश्व राजनीतिमा भूमिका
अन्तर्राष्ट्रिय राजनीतिमा कतार अहिले पनि चर्चामा आइरहन्छ। विभिन्न युद्धका दुई पक्ष मात्र नभई ‘आतंकवादी’ मानिने समूह र विभिन्न देशबीच मध्यस्थकर्ताको भूमिका निभाउँछ। 

कतिपय युद्धरत पक्षको ‘मुखिया’को भूमिका कतारले निभाइरहेको देखिन्छ। अहिले जारी इजरायल हमास युद्धमा पनि कतार मध्यस्थकर्ताको भूमिकामा छ। कतार र प्यालेस्टाइनको सम्बन्ध राम्रो छ। त्यही कारण अहिले प्यालेस्टाइनले बन्धक बनाएका विदेशको रिहाइका लागि कतारमार्फत अनुरोध गर्ने गरिएको छ। कतारी अमिर अल थानीको भ्रमणमा पनि प्लालेस्टाइनले बन्धक बनाएको र अहिलेसम्म बेपत्ता रहेका नेपाली विपीन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन्।

अफगानिस्तान र तालिबानबीचको शान्ति वार्तामा पनि कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो। कट्टरपन्थी समूह हमास र तालिबानसँग अमेरिकालाई वार्तामा बसाउन पनि कतार नै मध्यस्थकर्ता बनेको थियो। जसको परिणामस्वरुप सन् २०२१ मा अफगानिस्तानबाट अमेरिका फिर्ता भएको थियो।

–एजेन्सीहरूको सहयोगमा


सम्बन्धित सामग्री