Monday, April 29, 2024

-->

शहीदको सूचीमा नअटाएका गोपी च्यामे

शहीदहरूको लामो सूची प्रकाशित भइसक्दा पनि १९९९ सालको मध्यतिर राजबन्दीहरूलाई जेलबाट भगाउने र आफू पनि भाग्ने प्रयास गर्दा शासकको चरम यातनाबाट मृत्युवरण गरेका गोपी च्यामे शहीद घोषित हुन लायक भएनन्।

शहीदको सूचीमा नअटाएका गोपी च्यामे

राणा शासनको जगजगी थियो। राणाहरूको निरंकुश र जहानियाँ शासनलाई जरैदेखि उखेल्न संगठीत रूपमा आन्दोलनमा उत्रिएका राजबन्दीहरू कालकोठरीमा बन्दी जीवन भुक्तान गरिरहेका थिए। शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले ज्यान आहुति दिइसकेका थिए। राजबन्दीहरूमध्ये कसैले आजन्म अनि कसैले लामो अवधि जेल सजाय पाएका थिए।

अघिल्लो वर्ष ज्यान सजाय पाएका चार जना सहयोद्धाहरूको सम्झनामा राजबन्दीहरूले १९९८ सालदेखि शहीद दिवस मनाउन थालेका थिए। माघ महिनाको १० गतेदेखि १६ गतेसम्म एक हप्ता शहीद सप्ताहको रूपमा मनाइन्थ्यो। तर २००५ सालदेखि शहीद दिवस ठूलै रूपमा मनाउन शुरू गरियो। त्यस विषयमा राजबन्दी खड्गमान सिंहले आफ्नो संस्मरणमा लेखेअनुसार माघ १० गते राजबन्दीहरूले २ नं. ब्यारेक (खोर)को झ्यालमा सबै ठाउँमा दीपावली मनाए। तर राणाशासकले यसरी शहीद दिवस मनाउनेहरूलाई पिट्दै यातना दिन ज्यानमारा र डाका मुद्दा लागेर कैद भुक्तान गरिरहेकाहरूलाई प्रयोग गरे (डा. राजेश गौतम, 'नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषदको भूमिका' भाग १–२०६२ः२३२–३३)

यसरी नेपालमा शहीदहरूको सम्झना र सम्मान गर्ने परम्पराको शुरूआत भयो। तर पछिल्लो समय नेपालमा शहीदको सम्मान गरिँदैछ कि अपमान बुझिनसक्नु भएको छ। हालै सरकारले लामै सूची प्रकाशमा ल्याएर दुई हजार ६७४ जनालाई शहीद घोषणा गरेको छ। शहीदहरूको यति लामो सूची प्रकाशित भइसक्दा पनि १९९९ सालको मध्यतिर राजबन्दीहरूलाई जेलबाट भगाउने र आफू पनि भाग्ने प्रयास गर्दा शासकको चरम यातनाबाट मृत्यूवरण गर्न पुगेका गोपी च्यामे शहीद घोषित हुन लायक भएनन्। गोपीलाई शहीद घोषणा गरिनुपर्छ भनी सिफारिस गरिदिने पनि कोही निस्केनन्।

को हुन् गोपी च्यामे? 
१९९७ सालका राजबन्दीमध्ये एक कवि सिद्धिचरण श्रेष्ठले आफ्नो पुस्तक सिद्धिचरण श्रेष्ठका जेल संस्मरण (२०५२ः९७)मा उल्लेख गरेअनुसार गोपीको खास जात बाहुन हो। उनको घर कहाँ हो कसैलाई थाहा छैन। केटाकेटी उमेरदेखि नै उनी शहरमा देखा परे। मागेर खाए। मागेर निर्वाह नचलेपछि चोरी गरे। जेल परे। जेलभित्र पनि सरसफाइको काम गर्न थालेपछि उनलाई सबैले च्यामे सम्झन थाले र भन्न थाले- गोपी च्यामे।

तर श्रेष्ठले उल्लेख गरेजस्तो चोरीको आरोपमा गोपी जेल परेका थिएनन्। श्रेष्ठसँगै त्यसबेला बन्दी जीवन बिताइरहेका अर्का राजबन्दी गणेशमान सिंहले उल्लेख गरेअनुसार एक च्यामखल महिला (च्यामिनी)सँगको सम्बन्धका कारण जातिच्यूत गरेर उनलाई च्यामखल बनाइएको थियो। त्यहीँ अपराधमा उनलाई ६ वर्षको कैद ठेकिएको थियो। त्यसबेला राज्यले करार गरेको 'अछुत' भनिने जातसँग संसर्ग गर्नेले जातिच्यूत र कैद गरी दोहोरो सजाय भोग्न पर्थ्यो। जन्मले बाहुन भए पनि च्यामखलको रूपमा जेल प्रवेश गरेकाले जेलको चर्पी र नाला सफा गर्ने काम उनैको थियो (गणेशमान सिंह, 'मेरा कथाका पानाहरू' (खण्ड १)–२०६७ः११०)

राजबन्दीहरूले उनलाई फेरि बाहुन नै बनाइदिने आश्वासन दिएका थिए (गौतम, २०६२ः१९२)। यस्तो आश्वासनबाट गोपीले उत्साहित भएर राजबन्दीहरूसँगै आफ्नो मुक्तिका लागि पनि सोचविचार गर्न थालेका थिए।

गोपीको शरीर दुब्लो पातलो र आफ्नो उमेरभन्दा पाको देखिन्थ्यो। उनी २६–२७ वर्षका थिए। उनको शारीरिक अवस्थाले उनको आर्थिक अवस्था पनि थाहा पाउन सकिन्थ्यो। उनी होचो नै थिए, यदि मोटाएको भए पुड्को देखिन्थे। एउटा इष्टकोट, कसैको जडाउरीजस्तो एकसरो झुत्रो भोटो सुरूवाल र डम्बरकुमारीको टोपी उनको पहिरन थियो (श्रेष्ठ, २०५२ः९७)

यसरी गोपीले च्यामखल महिलासँगको प्रेममा पर्दा जात पतित भई जेल सजाय भुक्तान गरिरहेका थिए।

प्रेम गर्दा पाएको सजाय
राणाकालमा जंगबहादुरले वि.सं. १९१० मा लागू गरेको मूलुकी ऐनअनुसार दण्ड सजाय हुन्थ्यो। मूलुकी ऐन यस्तो कानून हो, जसले जातका आधारमा सजायको व्यवस्था गरेको छ। यो ऐनले नेपालका जातिहरूलाई मासिने, नमासिने, छोइछिटो हाल्न पर्ने र नपर्ने आदि तोकेर कानूनी रूपमा जातिभेदलाई मान्यता दिएको छ। यो ऐनले छोइछिटो हाल्नु पर्नेमा 'सबैको जुठो खाने' भन्दै नेवारभित्रको च्यामखललाई सबैभन्दा सानो जात करार गरेको छ। मूलुकी ऐन १९१० मा लेखिएको छ, “उपल्ला जातदेषि पोढ्या तकको जुठो षानाले सबै जातभंदा सानु च्याम्हा षलकको जात।”

छोइछिटो हाल्नु पर्ने भनी कानूनी रूपमा करार गरिएकासँग तथाकथित उच्च जातका व्यक्तिको विवाह, प्रेम वा लसपस भए त्यस्ता व्यक्तिलाई जातीय रूपमा पतित गर्नुका साथै त्यहीँ कसुरमा दण्ड सजायको व्यवस्था गरिन्थ्यो। 

यीमध्ये उदाहरणका लागि एउटा दण्ड सजायको व्यवस्था यस्तो थियो, “उपाध्या राजपुत जैसी क्षेत्री तागाधारी जात र नमासिन्या मासिन्या मतुवाली जातले छोया छिटो हालनु पर्न्या जातको ११ वर्ष नाघ्याका सधवा वीधवा कन्यासित घुरषापि सुत्यो भन्या. भात पानी वोर्‍याको भया पनी नभया पनी अ‍ैन वमोजिंम्को अंस सर्वस्व गरी १ वर्ष कैद गरी जौना जातका स्वास्निसित घुरषापि सुत्याको छ उसैजातको १ अक्षर वाञाँ गालामा षोदी भात पानी वाहेक गरि छोडि दिनु आफु भंदा ठुला जातसित घुरषापि सुतन्या स्वास्निलाइ मासि दिनु।”

तर गोपीले च्यामखल महिलासँग प्रेम गरेबापत जात पतित गरिनुका साथै ६ वर्षको जेल सजाय पाएका थिए। 

राजा जयस्थिति मल्लले चौधौँ शताब्दीमा निर्माण गरेको थितिबाट जंगबहादुरले बनाएको मुलुकी ऐन १९१० स्पष्ट रूपमा प्रभावित छ। जयस्थिति मल्लले चार  वर्ण ३६ जातको थिति बाध्ने काम गरेका थिए। उनले बाँधेको थितिमा विवाहसम्बन्धी उल्लेख गर्दा 'पोडिनी, च्यामिनी र कुलुनी जातका स्त्रीलाई यीभन्दा उपल्ला जातका पुरुषले स्वास्नी तुल्याए उही जात हुन्छ। प्रायश्चित छैन। नजानी भूल परी बिग्रे तुरुन्त २४० दण्ड गर्नू' भन्ने उल्लेख छ ('प्राचीन नेपाल', सङ्ख्या १६–साउन २०२८ः२०)

राजा जयस्थिति मल्लले यस्तो थिति निर्माण गर्दा बकनिह्मबाट कीर्तिनाथोपाध्याय, कान्यकुञ्जबाट रघुनाथ झा र मिथिलाबाट श्रीनाथ भट्ट, महीनाथ भट्ट, रामनाथ झालगायत ब्राह्मण शास्त्रज्ञ ल्याएका थिए। उनीहरूकै सल्लाह र सहयोगमा उनले यस्तो थिति निर्माण गराएका थिए। उनीहरूको बुद्धि प्रयोग गरी उनले नियम कानून चलाए (देवीप्रसाद लंसाल, 'भाषा वंशावली' द्वित्तीय भाग–२०२३ः३८)

राजा जयस्थिति मल्ललाई थिति निर्माण गर्न सहयोग गर्ने ब्राह्मणहरूले स्वभाविक रूपमा 'मनुस्मृति'मा उल्लेख भएको नीतिलाई अनुशरण गर्ने नै भए। मनुस्मृतिले ठूलो र सानो भनिएका जातिबीचको विवाहलाई ठूलो अपराध मानेको छ। मनुस्मृतिमा लेखिएको छ, “ब्राह्मण तथा क्षेत्रीयले जस्तोसुकै आपत परे पनि शुद्रालाई पत्नी नबनाउनू भनी बताइएको छ। द्विजातिले मोहवश निम्न जातकी कन्यासँग विवाह गरेमा सन्तानसहित कुल नै शुद्रत्वमा पुग्दछ।” (मोहनप्रसाद सापकोटा (अनु.) “।।श्री।। मनुस्मृति”–२०७८ः८१)

यिनै मनुस्मृति, जयस्थिति मल्लको थिति र जंगबहादुरले बनाएको मुलुकी ऐनले तोकेअनुसार जातिभेदको ठूलो मारमा परेको च्यामखल महिलासँग प्रेममा पर्दा गोपी बाहुनबाट झरेर च्यामे मात्र भएनन् उनलाई तत्कालीन सरकारले ६ वर्षको कैद सजाय तोक्यो। उनले जेलभित्र शौचालय सफा गर्ने काम गर्न पर्‍यो। 

जेलब्रेकको परिकल्पनाकार गोपी
त्यहीँ जेलमा गोपीले राणा शासनको जरो उखेल्ने आन्दोलनमा उत्रिदा कैद र ज्यान सजाय पाएका राजबन्दीहरूलाई भेट्ने र संगत गर्ने अवसर पाए। उनले जेलब्रेक गरेर राजबन्दीहरूलाई भगाउने र आफू पनि भाग्ने योजना बनाउन थाले। उनलाई राजबन्दीहरूले फेरि च्यामखलबाट बाहुन बनाइदिने आश्वासन दिएका थिए भन्ने प्रसंग माथि परिसकेको छ।

यस्तो मुक्तिको योजना मनमनै बुनेका गोपी शुरूमा गणेशमान सिंहको सम्पर्कमा पुगे। शुरूमा गणेशमानलाई जेलबाट छुट्न लाग्दा केही माग्न आएजस्तै लागेको थियो। तर ६ वर्षको कैद सजाय पाएको उनको तीन वर्ष कैद भुक्तान हुन बाँकी नै थियो। गोपी आफू त्यसरी सम्पर्कमा आउनुको कारण भरे राति आएर भन्ने वाचा गरेर गणेशमानसँग बिदा भए। रात छिप्पिएपछि गोपी गोलघरको ६ फिट अग्लो पर्खालबाट खुत्रुक्क ओर्लेर आइपुगे। उनले त्यसबेला गणेशमानसित भित्रैबाट पर्खालमा प्वाल पारेर राजनीतिक बन्दीहरूलाई भगाउने योजना सुनाए।

उनले आफूले गर्ने कामको नियमित जानकारी इशाराले गर्ने आश्वासन पनि दिए। त्यो बीचमा गणेशमानलाई के शंका थियो भने गोपीले पैसा मागेर हैरान पार्नेछन्। तर उनले ६ महिनामा केवल तीन पैसा मात्रै मागे। योजना बनाएको भोलिल्टै गोपीले गणेशमानलाई पूरा एक हात सकिएको इशारा गरे। कहिलेकाहिँ उनी तीनचार दिन देखा पर्दैनथे। त्यसपछि फेरि झुलुक्क देखिन्थे अनि हाउभाउ र नाप देखाएर दुई हात प्वाल पार्न सकिएको सन्देश दिन्थे। एक दिन उनले पर्खाल प्वाल पार्ने काम सकिएको खबर गरे र तयार भएर बस्ने सल्लाह इशाराले दिए (सिंह, २०६७ः१०९)

पर्खाल प्वाल पार्ने गोपीको काइदा गजबको थियो। कसैले सुइकोसम्म पनि नपाउने गरी पर्खालसँगैको ढलबाट एकएक वटा इँटा झिक्दै गइरहेका थिए। उनी आधा रातको कुनै बेला इँटा झिक्थे र त्यसमाथि एक टुक्रा टिन राखी फोहर मैलाले छोपिदिन्थे। उनी आफैँ कराएर खबरदारीको नारा लगाउँथे। उनी बडो चलाखीपूर्वक काम गरिरहेका थिए (श्रेष्ठ २०५२ः९९)

गोपीले पर्खाल प्वाल पारिसकेको जानकारी प्राप्त भएपछि गणेशमानलगायत राजबन्दीहरूको खुशीको सीमा रहेन। भाग्ने तयारीमा केदारमान व्यथित, चन्द्रमान सैंजु, पुष्करनाथ उप्रेती, हरिकृष्ण श्रेष्ठ, चुडाप्रसादलगायत थिए। उनीहरूले साइत गरेरै जेलबाट भाग्ने योजना बनाउन सगुन खाने निर्णय गरे। सगुनका लागि बहाना बनाएर चौकीदारसँग रक्सी मगाए। तर समय घर्किसकेकाले रक्सी ल्याउन सम्भव भएन। त्यसपछि अण्डा, सुकेको माछा र दही झिकाएर उनीहरूले सगुन तयार पारे। हातमा सगुन लिएर, लुगा फेरेर उनीहरू भाग्न तयार अवस्थामा थिए। तर त्यतिकैमा बाहिर गुरुरुरु आवाज आयो। एकैछिनमा 'गोपीचा... गोपीचा...' भन्ने आवाज आयो। पोल खोलिइसकेको थियो। गोपी पक्राउ परिसकेका थिए (सिंह, २०६७ः१११–१२)

राजबन्दीहरूको जेलब्रेक गरी भाग्ने योजना असफल हुन पुग्यो। योजना असफल भए पनि गोपीले जेलब्रेकसम्बन्धी महत्त्वपूर्ण परिकल्पना मात्र गरेका थिएनन्, बडो चलाखीपूर्वक कार्यान्वयन गर्ने प्रयास पनि गरेका थिए।

चरम यातना र शहादत
खासमा गोपीले साथमा लिएको लामो कपाल पाल्ने अर्को च्यामेले चौकिदारकहाँ गएर सबै पोल खोलिदिएछ। त्यसपछि भाग्ने ठाउँमा कडा पहरा राखियो। पिट्दै ठोक्दै पाता कसेर गोपीलाई फलामको चक्कामा बाँधियो र चौकिदार, नाइके, सिक्टरहरू हड्बडाएर कराएको सुनिन थाल्यो (श्रेष्ठ, २०५२ः९९)।

यसरी राजबन्दीहरूको भाग्ने योजना असफल हुनुमा गोपी च्यामेको पनि केही कमजोरी रहेछ। त्यस दिन गोपीले अलि बढी गाँजा खाएको रहेछ। साँझतिर निद्रा लागि सुत्न जाँदा उनले नजिकैको अर्को साथीलाई भाग्ने निश्चय गरेको समयतिर उठाइदिने कुरा बताई उसलाई समेत लैजाने कुरा गाँजाको सुरमा सुनाएछन्। ती साथीले चौकीदारलाई गएर सबै बताएछ। तुरुन्तै गोपी च्यामे र भीमबहादुर पोडे समातिए। तर उनीहरूले अति कुटाई खाए तापनि गणेशमानलगायत राजबन्दीहरूको नाम पोलेनन् (गौतम, २०६२ः१९२)

यसबाट गोपीको इमान्दारिता स्पष्ट हुन्छ। उनले आफू सुरक्षित हुन जेलबाट भाग्ने योजना बनाएका राजबन्दीहरूको एकएक गरेर नाम पोलिदिएका भए स्थिति के हुने थियो ? अनुमान गर्न सकिन्छ।

गोपी समातिएपछि अड्डाका मानिसहरूले राजबन्दीहरूको तलासी लिए। आङ छामे। कोठा–कोठाको एकएक वस्तु टक्टक्याउँदै उठाएर हेरे। जसको नेल सिक्री खुकुलो थिए, ठोकेर कस्न थालियो। राजबन्दीहरूले गोपीमाथि कोर्राको वर्षा भएको सुने। उनलाई भद्रगोलबाट सेन्ट्रल जेलमा सारियो। दुई महिनापछि खबर आयो, बेस्सरी मार परेकोले गोपी बिरामी छन्, अब बाँच्ने आशा छैन। पछि सुनियो गोपी मरे रे (श्रेष्ठ, २०५२ः९९–१००)

यसरी गोपीले जात पतित हुँदै, कारावासको सजाय भोग्दै, राणा शासनको जग उखेल्न कम्मर कसेका राजबन्दीहरूलाई जेलबाट भगाउने योजनालाई कार्यान्वयन गर्दै, अन्तमा योजना सफल हुन नसक्दा पाएको चरम यातनाका कारण गोपीले मृत्युवरण गर्न पुगे। राजबन्दीहरूलाई जेलबाट भगाउन साहस गर्नु र त्यहीँ कसुरमा चरम यातना भोग्दा पनि कुनै पनि राजबन्दीबारे पोल नखोल्नु गोपीको महान इमान्दारिता थियो। उनको यो कार्य निरङ्कुश राणा शासकविरुद्धकै कदमप्रतिको निष्ठा र सहयोग थियो।

शहीद घोषणा नगरिनुको कारण
उनलाई शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालालसँगै शहीद घोषणा गरिनुपर्थ्यो। त्यसबेला अभिजात्यवर्गको प्रतिनिधित्त्व गर्ने निर्णायकहरूले बाहुनबाट जात पतित भएर च्यामखल बनाइएका गोपीलाई शहीद घोषणा गर्न आवश्यक ठानेनन्। 

गोपीलाई शहीद घोषणा नगरिनुको खास कारणबारे इतिहासकार गौतम (२०६२ः१९२–९३) ले राखेको धारणा निक्कै चित्त बुझ्दो छ। उनी लेख्छन्, “राजबन्दीको नाम नबताई कुटाई खाएर मर्ने उनी च्यामे नभएर बाहुन वा क्षेत्री वा नेवार वा अरू कुनै उच्च जातिको भएको भए वा प्रजातन्त्रका लागि नमरेर अरू कुनै कुराको लागि मरेको भए उनको नाम पनि नेपालमा शहीदहरूको सूचीमा भेटिने थियो। तर त्यस्तो समाजमा गोपी च्यामेको जन्म भयो, जहाँ नाम कमाउन, ठूलो काम गर्न ठूलै कुलमा जन्मिन आवश्यक थियो र त्यसैले गोपी च्यामेको बलिदानको कुनै कदर भएन।”

राणाशासन ढलेपछि प्रजातन्त्र आयो। पञ्चायती व्यवस्था आयो। फेरि प्रजातन्त्र आयो। देशमा राजनीतिक परिवर्तनले निरन्तरता पाउँदा लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा छ, नेपाल। राज्यले पटक पटक लामो सूची बनाएर शहीद घोषणा गरिसकेको छ। तर यो लामो सूचीमा गोपी च्यामेको नाम आजसम्म देख्न पाइएको छैन।

शहीद घोषित हुन अहिले राजनीतिक दलको सिफारिस, दबाब समूह वा सम्बन्धित परिवारको माग वा आवाज आवश्यक पर्छ। राजनीतिक दलको सदस्यता वा निकटता शहीद घोषणाको लागि बलियो आधार बनेको छ। तर कुनै पनि राजनीतिक दलसँग साइनो सम्बन्ध नभएका गोपीलाई इतिहासको तथ्यले शहीद घोषणा गर्न दबाब दिइरहेछ। यद्यपि, अहिलेका नीति निर्माताहरूलाई इतिहासको तथ्यको अध्ययन र त्यसको निफननाफन गर्ने फुर्सद नै कहाँ छ र?

यदि गोपीका आफन्तजनहरू भइदिएका भए उनीहरूले उनलाई शहीद घोषणा गर्न माग गर्थे होलान्। तर एक च्यामखल महिलासँग प्रेम गर्दा जात पतित भई जेल सजाय पाएका गोपीको परिवार निर्माण हुन पाएन। उनकै सहयोगमा जेलबाट भाग्न तयार रहेका तत्कालीनराजबन्दी सिद्धिचरण श्रेष्ठ (२०५२ः१००) गोपीले राणाहरूको चरम यातनापछि जेलमै मृत्युवरण गरेको घटनाबारे लेख्छन्, “उसको घर ठेगानसम्म पनि हामीलाई थाहा छैन। बागमती वा विष्णुमती किनारामा कतै लगेर उसको लाश जलाइयो होला। उसको कोही छैन। उसको लाशसँगसँगै दुई थोपा आँसु चुहाउने कोही पनि भएन। ऊ जस्तै कोही गरीब तथा समाजबाट थिचिएको व्यक्तिले एक छाक जाँड रक्सी खाने मौका हो भनी उसको लाश बोकेर लग्यो होला। समाजमा परिरहेको बेथिति निवारण गर्ने राजनीतिक कार्यकर्ताहरूलाई सम्झेर उनीहरूको निम्ति बलिदान हुने गोपीको लागि दुई थोपा आँसु बहाउने कोही भएन।”

गणेशमान सिंह (२०६७ः११४)ले गोपीलाई यसरी सम्झेका छन्, “जेलभित्र कैदीबन्दीहरूबीच राजबन्दीहरू कसका लागि जेल परेका हुन् भन्नेबारेमा आपस्तमा बरोबर कुरा भइरहन्थ्यो। आफूलाई कसले अन्याय गरेको छ, त्यो छुट्याउने विवेक हरेक मानिसमा हुन्छ– गोपीमा पनि त्यो थियो भन्ने मान्नुपर्छ। उसको अन्तरमनले राजबन्दीहरू देश, जनता र हामीजस्तै पीडितहरूका लागि लडेका हुन् भन्ने ठहर नगरेको भए त्यति जोखिमपूर्ण काम उसले गर्ने थिएन।”


सम्बन्धित सामग्री