Thursday, May 02, 2024

-->

'एआई'को उपयोगिता र सम्भावना क्षेत्र

एआईमा आधारित विशेष नियन्त्रित च्याटबटले सामान्य रोगबारे परामर्श दिन सक्छ। पर्याप्त चिकित्सा सुविधा नभएका दूरदराजका ग्रामीण क्षेत्रमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन यसले मद्दत गर्छ।

एआईको उपयोगिता र सम्भावना क्षेत्र

सिक्ने, तर्क गर्ने र समस्याको समाधान गर्नेजस्ता मानव आधारित कौशल कुनै मेसिनमा विद्यमान हुनुलाई कृत्रिम बौद्धिकता (एआई) भनिन्छ। यसलाई 'यन्त्र बौद्धिकता' पनि भनिन्छ। यो मानिसद्वारा दर्साइने प्राकृतिक बौद्धिकता विपरीत हुन्छ। यसले यन्त्र र कम्प्युटरको वर्णन गर्नका लागि सोच, सिकाइ, तर्क र समस्याका हलजस्ता  ज्ञानसँग सम्बन्धित कार्यको नक्कल गर्छ। यसले कम त्रुटिबिना वास्तविक समस्याको हल गर्छ। एआईको उपयोगका असीमित सम्भावना छन्। भिडियो, अडियो, फोटो, चित्र र लेख तयार पार्नमा पनि एआईको प्रयोग भइरहेको छ। च्याटजीपीटी यस प्रकारको उपयोगको श्रेष्ठ उदाहरण हो। यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, कृषि, वित्त, यातायात, उत्पादन, बजार, साइबर सुरक्षा, विज्ञान प्रविधि, भौतिक उद्योग, सार्वजनिक क्षेत्र आदिमा पनि यसको प्रयोग भइरहेको छ या हुनेवाला छ। 

शिक्षा क्षेत्रमा एआईको प्रयोग
पहिलो, वैयक्तिक शिक्षणमा यसको प्रयोग हुने गर्छ। एआई एल्गोरिदमले विद्यार्थीको सिक्ने शैली, प्राथमिकता, शक्ति र कमजोरीको विश्लेषण गर्न सक्छ। यसबाट कुनै विद्यार्थीको सबल र दुर्बल क्षेत्रबारे जानकारी मिल्छ। सोहीअनुसार शैक्षिक सामग्री प्रदान गरी विद्यार्थीमा सुधार ल्याउन सक्छ। दोस्रो, इन्टलिजेन्ट ट्यूटर हो। एआई कार्य र परियोजनामा सहायताका लागि सञ्चालित ट्यूटर सिस्टमले विद्यार्थीलाई वास्तविक समयमा प्राप्त प्रतिक्रिया र मार्गदर्शनबाट कुनै परिचित मार्गदर्शन गराउन सक्षम हुन्छ। यसबाट विद्यार्थीले गतिशील रूपमा सिक्न सक्छन्।

तेस्रो, स्वचालित ग्रेडिङ हो। एआईले बहुविकल्पीय उत्तर भएका वस्तुगत प्रश्नको मूल्यांकन गरी ग्रेडिङ गर्न सक्छ। यसबाट कमजोर विद्यार्थीलाई सुधार्न सकिन्छ। चौथो, शैक्षिक सामग्री निर्माण। एआई पाठ्यक्रम र विद्यार्थीका आवश्यकताका आधारमा शैक्षिक सामग्री तयार गर्नमा सक्षम हुन्छ। यिनै क्विज, पाठ योजना र नयाँ अध्ययन सामग्रीका रूपमा प्रयोग हुन सक्छन्। यसबाट शिक्षकलाई अतिरिक्त विविध सामग्री प्राप्त हुन्छन् र विद्यार्थीलाई फाइदा हुन्छ। जटिल अवधारणाको समाधान गर्न र सजिलो भाषामा बुझ्न पनि एआई सक्षम हुन्छ। 

पाँचौँ, भाषा र अनुवाद। एआईले विद्यार्थीलाई उच्चारण र कुराकानी कौशलको अभ्यासमा मद्दत गर्न सक्छ। यसका साथै विश्वव्यापी शिक्षण सामग्रीलाई मूल भाषामा प्रस्तुत गरी पठनपाठन कार्यलाई थप सुगम बनाउनमा पनि यो सक्षम हुन्छ। छैटौँ, भर्च्युअल कक्षा हो। एआईको उपयोगबाट टाढा रहेका विद्यार्थीका लागि कक्षाजस्तै वातावरण बनाएर अनलाइनमा पढाउन सकिन्छ। यसबाट टाढाका विद्यार्थी घरमा बसेर नै स्कुलको अनुभव लिन सक्छन् र शैक्षणिक माहौलको निर्माण हुन्छ। सातौँ, आँकडाको सूक्ष्म विश्लेषण हो। यसले विद्यार्थीका पुराना प्रदर्शनयुक्त डेटाको प्याटर्न र विचारबाट विद्यार्थीमा भएको प्रगति र अवरोधलाई एआईले पहिचान गर्न सक्छ। यसको माध्यमबाट कक्षा, स्कुल, जिल्ला, राज्य या सम्पूर्ण देशमा शिक्षाको स्थितिलाई जान्न सकिन्छ। 

शिक्षक तथा नीति निर्मातालाई यसैको आधारमा उत्कृष्ट पाठ्यक्रम र रणनीति तयार गर्न सहयोग मिल्नेछ। आठौँ, गतिशील हस्तक्षेप हो। एआईले सिक्ने र कठिन वा शैक्षणिक चुनौतीका संकेतहरू पहिलै नै पहिचान गर्न सक्छ। यसबाट शिक्षक वा अभिभावकले विद्यार्थीको तुरुन्त मार्गदर्शन गर्न सक्छन्। नवौँ, शैक्षणिक च्याटबट र सहायक हो। एआईबाट सञ्चालित च्याटबटले विद्यार्थीका प्रश्नहरूको जवाफ दिन सक्छ। कक्षाबाहिर निर्देशन दिएर सिकाउने गतिलाई बढाउनमा यो सक्षम हुन्छ। दसौँ, लक्षित मूल्यांकन हो। एआईमा आधारित मूल्यांकनले प्रश्नको कठिनाइको आधारमा दिइएका जवाफको मूल्यांकन गर्न सक्छ। यसबाट कौशलको सटिक मूल्यांकन सम्भव हुन्छ। 

स्वास्थ्य सेवाको क्षेत्रमा एआईको प्रयोग
यसले स्वास्थ्य सेवाको क्षेत्रमा धेरै परिवर्तन ल्याएको छ। यसको मद्दतबाट चिकित्सकले उपचारमा धेरै सटिकता हासिल गरेका छन् र बिरामीको छिट्टै स्वास्थ्य लाभमा मद्दत पुगेको छ। स्वास्थ्य क्षेत्रमा यसको प्रयोगलाई अझ स्पष्ट रूपमा निम्नानुसार बुझ्न सकिन्छ। 

पहिलो, मेडिकल इमेजिङ हो। यसको उपयोग एक्स-रे, एमआरआई र सीटी स्क्यानजस्ता मेडिकल तस्बिरको विश्लेषण गर्नका लागि गरिन्छ। यसबाट स्वास्थ्यमा असामान्यताको पहिचान र शीघ्र निदानमा सहायता पुग्न सक्छ। मानवीय त्रुटि हुने सम्भावना पनि समाप्त हुनसक्छ। दोस्रो, डायग्नोस्टिक्स हो। एआईद्वारा सञ्चालित उपचार यन्त्रले ठूलो मात्रामा रोग आँकडा, जस्तो कि: लक्षण, चिकित्सकीय इतिहास र परीक्षण परिणामको विश्लेषण गर्न सक्छ। यसबाट जटिल रोगलाई सजिलैसँग चिन्न सकिन्छ र डाक्टरको समयको बचत पनि हुन्छ। 

तेस्रो, औषधिको खोज हो। एआईको उपयोग नयाँ औषधिको खोज र विकासको लागि भइरहेको छ। मेशिन लर्निङ ठूला डेटाबेसमा रासायनिक यौगिकको जैव-रसायनसँग प्रतिक्रियालाई बुझ्न सक्षम हुन्छन्। यसरी, एआई नयाँ औषधिको आविष्कार गरी हामीलाई ठूला रोगबाट बचाउन सक्षम हुन्छन्। चौथो, वैयक्तिक चिकित्सा हो। एआईले कुनै रोगको डीएनए, जीवनशैली र स्वास्थ्यको इतिहासको अध्ययन गरी आवश्यकताअनुसार उपचार प्रक्रिया बताउन सक्छ। यसबाट प्रभावकारी उपचारमा मद्दत मिल्छ र विपरीत परिणामबाट बच्न सकिन्छ।

पाँचौँ, भर्चुअल स्वास्थ्य सहायक हो। एआईमा आधारित विशेष नियन्त्रित च्याटबटले सामान्य रोगको सम्बन्धमा परामर्श दिन सक्छ। यसले दूरदराजमा बिरामीको उपचारको लागि मद्दत मिल्छ र स्वास्थ्य निगरानीमा पनि यसले सहयोग गर्ने नै भयो। पर्याप्त चिकित्सा सुविधा नभएका दूरदराजका ग्रामीण क्षेत्रमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन यसले मद्दत गर्छ। छैटौँ, रोगको भविष्यवाणी र रोकथाम हो। एआईले कुनै खास इलाकाका रोगीको रोग र प्याटर्नको आकलन गरी भविष्यमा हुने कुनै ठूलो रोगको सम्भावनालाई व्यक्त गर्न सक्छ। यसबाट समयभन्दा पहिले योजना बनाउन सहयोग मिल्न सक्छ। 

सातौँ, प्रशासनिक कार्य। परामर्शको समय, बिलिङ, मेडिकल कोडिङ र परिचालन दक्षतामा सुधार ल्याएर गल्तीलाई कम गर्नमा एआई सक्षम हुन्छ। यस प्रकार एआईले स्वास्थ्य हेरविचारमा प्रशासनिक सुधार पनि ल्याउन सक्छ। आठौँ, निगरानी र सुदूर हेरविचार हो। एआईले लैस पहिरनयोग्य 'ग्याजेट्स'को माध्यमबाट सुदूर इलाकाका बिरामीको निगरानी गर्न सकिन्छ। यसले बिरामीको स्वास्थ्य संकेतलाई पहिचान गरी उपचार गर्छ। पुरानो रोगको निगरानी गर्न यसबाट अझै सजिलो हुन्छ। 

नवौँ, सर्जरीमा रोबोटिक्सको प्रयोग हो। एआईयुक्त रोबोटको मद्दतले कुनै त्रुटि बिना नै जटिल अपरेसन गर्न सम्भव हुन्छ। यसबाट गल्ती कम भई बिरामीको मृत्युमा सुधार हुनेछ। यसको माध्यमबाट जटिल अपरेसन गर्नमा मानवको तुलनामा यन्त्र धेरै बढी क्षमतायुक्त साबित हुनसक्छ। दसौँ, औषधिमाथि नियन्त्रण हो। एआईले बिरामीलाई दिइने औषधिको मात्राको कमी वा बढीलाई आँकडाको आधारमा बताउन सक्छ। यसको साथै बिरामीले समयमा औषधि लिएको छ वा छैन भन्नेजस्ता जानकारी जुटाउन सक्नेछ। 

तर यसको सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गर्नु अत्यन्तै आवश्यक हुन्छ। यसको प्रयोगको लागि नैतिक पक्षलाई बढवा दिइनु आवश्यक हुन्छ। डेटाको गोपनीयता र नियामक ढाँचा पनि हुनुपर्छ। क्यान्सरजस्ता पुराना रोगदेखि लिएर रेडियोलोजीसम्म सटीक नतिजाको लागि एआईको प्रयोग हुन्छ। पाथएआई (PathAI) यसको एक उदाहरण हो। यसको मद्दतले क्यान्सर डायग्नोसिसको सटीक डेटा प्राप्त हुन्छ र उपचारमा मद्दत मिल्छ। त्यसरी एआई माइक्रोसफ्टको मद्दतले भयानक रक्तरोगको सटीक डेटा लिन सकिन्छ। 

कृषिमा एआई प्रयोग  
एआईको मद्दतले किसानले आफ्ना निर्णयलाई राम्रोसँग सूचित गर्न मौसमको स्थिति, तापक्रम, पानीको उपयोग, माटोको स्थितिजस्ता कारकको विश्लेषण गर्न सक्छन्।  एआईको उपयोगले वाली र पशुधनको उत्पादकता बढाउन मद्दत मिल्छ। सम्भावित खतरा र  समाधान पहिचान गर्न तथा आकस्मिक चुनौती सामना गर्नमा यो सहयोगी हुन्छ। एआई प्रविधिको उपयोग संसाधनको उचित उपयोग र बढ्दो विश्वव्यापी जनसंख्यालाई खाद्य सुरक्षा प्रदान गराउन गर्न सकिन्छ। 

दोस्रो, वाली निगरानी र प्रवर्द्धन हो। एआई एल्गोरिदम, ड्रोन र स्याटलाइट इमेजको मद्दतले चुनौतीको समाधान गर्न किसान सक्षम हुन्छन्। यो प्रविधिबाट बालीको स्वास्थ्यको आकलन, कीरा-फट्याङ्ग्रा र रोग पत्ता लगाउन र माटोको शुष्कता र पोषक तत्त्वको स्तर, खराब बिरुवामा पोषणका रोगजस्ता कारकको सजिलैसँग निगरानी गर्न सकिन्छ। लक्षित निर्णय लिन यी जानकारी किसानका लागि सहयोगी हुन्छन्। यसरी एआईको उपयोगबाट कीटनाशकको उपयोग कम हुन्छ र कृषि उत्पादन बढ्छ। तेस्रो, सटीक कृषि प्रणाली हो। कृषिमा एआईको उपयोगको यो स्वरूप सबैभन्दा अनौठो छ। यसले खेतीको सटीकतालाई बढाउँछ। एआई सञ्चालित सेन्सर, जीपीएस प्रविधि र स्वचालित यन्त्रमार्फत खेतको सटीक मानचित्रण गरी खेतका अलग-अलग हिस्सामा माटो, वाली स्वास्थ्य, शुष्कता र उर्वरताको स्थितिको जानकारी लिन सकिन्छ। 

जानकारी प्राप्त भएपछि खेतका विभिन्न इलाकामा आवश्यकताअनुसारका उपाय लागू गर्न सकिन्छ। यसरी एआईबाट सञ्चालित सटीक खेतीबाट अनुकूल संसाधन विभाजन, कम लागत र न्यूनतम पर्यावरणीय प्रभावजस्ता लाभ प्राप्त हुन्छन्। यसको प्रयोगबाट कुन इलाकामा कुन प्रकारका वाली अनुकूल छन्, कहाँको जमिन उर्वर छ, कहाँ पोषक तत्त्वको आवश्यकता छ, कुन इलाकामा सिँचाइको आवश्यकता छ र कुन इलाकामा शुष्कता कम बेसी छ, आदिजस्ता कुरा पत्ता लगाउन सकियो। 

चौथो, जलवायु पूर्वानुमान। हामीसँग ठूलो मात्रामा ऐतिहासिक मौसम डेटा र वर्तमान जलवायुको प्याटर्न उपलब्ध छ। एआई यी सबैको विश्लेषण गरी सटीक जलवायु पूर्वानुमान गर्नमा सक्षम हुन्छ। एआई जनित पूर्वानुमानको उपयोगबाट किसानले विपरीत मौसमी घटनाको समय पूर्व योजना बनाउन सक्छन्। र, किसानले कुन बाली लगाउने भन्ने कुरा छनौट गर्न सक्छन्। यसरी एआईले किसानलाई जलवायु परिवर्तनको सामना गर्नमा समेत समक्ष बनाउँछ। पाँचौँ, पशुधन प्रवर्द्धन हो। योग्यतम सेन्सर र एआई सञ्चालित एनलिटिक्सले जनावरको स्वास्थ्य, व्यवहार, भोजन र मल त्याग प्रतिरूपको निगरानीमा मद्दत गर्छन्। यी जानकारीले रोग शीघ्र पत्ता लगाउन, उचित खाद्य योजना र उत्कृष्ट प्रजनन प्रथालाई सक्षम बनाउँछ। 

यसबाट पशुधनको स्वास्थ्यमा सुधार हुन्छ र उत्पादकतामा वृद्धि हुन्छ। छैटौँ, खाद्य सुरक्षामा एआईको प्रयोग हो। खाद्य सुरक्षा सुनिश्चित गर्न आपूर्ति श्रृंखलाको कुशल प्रवर्द्धन आवश्यक हुन्छ। एल्गोरिदम स्टकको उपलब्धि, मागको स्थितिमा परिवर्तन, इत्यादि डेटाको विस्तृत विश्लेषण गर्न एआई सक्षम हुन्छ। यसरी यसले भविष्यमा माग प्रतिरूपको भविष्यवाणी गरी रसद र वितरण प्रक्रियालाई आवश्यकताअनुसार अनुकूल बनाउँछ। यस प्रकार, एआईले खाद्य आपूर्तिमा सुधार ल्याई खाद्यान्नको कमी वा प्रचुरताबाट हुने नोक्सानीलाई कम गर्छ। सातौँ, कृषि रोबोटिक्स हो। एआई कम्पनीले कृषिका कैयौँ काम सजिलैसँग गर्ने गरी रोबोटको विकास गरिरहेका छन्। यस प्रकारका रोबोटलाई घाँसपराल सँगेल्न र तीव्र गतिमा बाली काट्नका लागि प्रशिक्षित गरिन्छ। यी रोबोट बालीको गुण जाँच्न र घाँसपराललाई अलग गर्दै बाली प्याक गर्नमा सक्षम हुन्छन्। यी रोबोटले कृषिमा श्रमको कमीको समस्या समाधान गर्न पनि सक्षम हुन्छन्। 

वित्तीय क्षेत्रमा एआईको प्रयोग 
एआईले वित्तीय क्षेत्रमा महत्त्वपूर्ण रूपमा पाइला जमाएको छ। यसबाट वित्तीय संस्थानको सञ्चालन, डेटा विश्लेषण र आफ्ना ग्राहकलाई सेवा प्रदान गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन आएको छ। वित्तीय क्षेत्रमा एआई प्रविधिको एकीकरणबाट प्रक्रिया अत्यधिक कुशल भएका छन्, निर्णय लिने कुरामा सुधार भएको छ र ग्राहकका अनुभवमा सन्तुष्टि वृद्धि भएको छ। 

वित्तीय क्षेत्रमा एआईको प्रयोगलाई अझ स्पष्ट रूपमा यसरी पनि बुझ्न सकिन्छ। पहिलो, छलकपट र रोकथाममा यसको प्रयोग हो। एआईमा आधारित एल्गोरिदमले वास्तविक समयमा शंकास्पद गतिविधि र असामान्य प्रारूप पत्ता लगाएर वित्तीय लेनदेनमा हुने गडबडीलाई पक्रिन मद्दत गर्न सक्छ। यसबाट ग्राहकको पैसा सुरक्षित हुन्छ र छलकपटको रोकथाम गर्न सहयोग मिल्नेछ, साथै वित्तीय संस्थाप्रति ग्राहकको भरोसा बढ्नेछ। दोस्रो, ग्राहक सेवा र च्याटबट हो। एआईबाट सञ्चालित च्याटबट र भर्चुअल असिस्टेन्टको उपयोग व्यक्तिगत ग्राहक सहायता प्रदान गर्न, सोधपुछको उत्तर दिन र सामान्य बैंकिङ प्रश्नको समाधान गर्नको लागि गरिन्छ। ग्राहकलाई सन्तुष्ट बनाउन र कारोबार विस्तारको लागि यो उपयुक्त हुन्छ। 

तेस्रो, क्रेडिट जोखिम मूल्यांकन हो। एआईबाट सञ्चालित सफ्टवेयर कुनै ऋणदाताको ऋणको सटीक आकलन गर्न सफल हुन्छ। यो विश्लेषणले ऋणदातालाई त्रुटिको जोखिम कम गर्न सहायता दिन्छ। यसको एआईले धेरै क्षेत्रमा विश्लेषण गर्छ। चौथो, एल्गोरिदम ट्रेडिङ हो। एआई र एमएल (मेसिन लर्निङ) ले एल्गोरिदम ट्रेडिङ रणनीतिलाई साकार बनाइ ट्रेडिङमा क्रान्ति ल्याइदिएको छ। यसले एकसाथ ठूला बजार डेटाको विश्लेषण गरी उच्च गतिले ट्रेडलाई कार्यान्वयन गर्न सक्छ। यसबाट दक्षतामा सुधार हुन्छ र उत्कृष्ट प्राप्ति (लाभ)को सम्भावना हुन्छ। पाँचौँ, व्यक्तिगत वित्तीय योजना हो। एआईबाट सञ्चालित मञ्च कुनै व्यक्तिको वित्तीय डेटा, लक्ष्य र जोखिम सहनशीलताको विश्लेषण गर्नमा सक्षम हुन्छ। यस्तो कार्य विभिन्न सन्दर्भमा पुराना र नयाँ आँकडाको आधारमा सम्भव हुन्छ। यसैअनुरूप लगानीको सल्लाह दिन र वित्तीय योजना बनाउन एआईले सक्छ। यसले लगानी व्यवस्थापन र पोर्टफोलियोमा सुधारजस्ता काम पनि गर्न सक्छ। 

छैटौँ, वित्तीय विश्लेषणमा प्राकृतिक भाषा प्रशोधन (प्रोसेसिङ) हो। यसमा मिडिया, सोसल मिडिया र अन्य मञ्चमा भइरहेका कुराकानीको विश्लेषण गरिन्छ। ठूलो परिमाणमा उपलब्ध डेटाको मद्दतले यसबाट बजारको प्रवृत्ति र भावनात्मक पक्षसमेत सूक्ष्म रूपमा परीक्षण गरी भविष्यवाणी गर्न सकिन्छ। यसको आधारमा बजारका सम्भावित गतिविधि आकलन गरिन्छ र त्यसैअनुरूप निर्णय लिइन्छ। सातौँ, कानूनी निगरानी हो। एआई शंकास्पद लेनदेनलाई आकलन गरी मनी लाउन्डरिङजस्ता मामिलाको पहिचानमा सहयोगी हुन्छ। सरकारी निकायहरूले  यस्ता मामिलामा एआईको सहायताबाट ठूलो स्तरको कामलाई केही समयमै गर्न सक्छ। 

आठौँ, आर्थिक स्थिति पहिचानमा यसको खुबी हो। कुनै क्षेत्रमा तीव्र मन्दी पहिचान गर्न एआई सक्षम हुन्छ। यसरी, यसले मानिसको खरिद क्षमता र बचत दरको आकलन गर्न सक्छ। एआई  विभिन्न क्षेत्रका गतिविधिको आकलन गरी कुनै देशको आर्थिक स्थितिलाई व्यक्त गर्न सक्षम हुन्छ। कृत्रिम बौद्धिकको प्रयोगबाट वित्तीय लेनदेनमा हुने अनियमिततालाई कम गर्न सकिन्छ। व्यापार प्रारूपमा दुर्भावनाबाट हस्तक्षेप गर्ने मानिसमाथि लगाम लाउन सकिन्छ। 

यातायातको क्षेत्रमा एआईको प्रयोग
एआईले परिवहन उद्योगमा युगान्तकारी परिवर्तन ल्याएको छ। यसबाट दक्षता, सुरक्षा र स्थिरतामा वृद्धि भएको छ। परिवहनमा एआईको प्रयोगलाई हामी अझ यसरी बुझ्न सक्छौँ। पहिलो, स्वायत्त सवारीसाधनमा प्रयोग हो। एआईको उपयोग सबैभन्दा बढी स्वचालित सवारीसाधनमा हुने सम्भावना छ। तर अहिले केही कम्पनीले मात्र यस प्रकारका सवारीसाधन बनाएका छन्। भविष्यमा यस प्रकारका सवारीसाधन बढी नै आउने सम्भावना छ। बाटो बताउने, भीडबाट निक्लने र तीव्र तथा कम गतिमा चल्नेजस्ता निर्णय लिनमा एआई सक्षम हुन्छ। यसले सेन्सर र क्यामराको मद्दतले सडकको गतिविधिको जानकारी जुटाउँछ। यसरी एआईको मद्दतले व्यक्ति सवारी चलाउने समय अन्यत्र क्षेत्रमा खर्च गर्न सक्छ। 

दोस्रो, यातायात व्यवस्थापन हो। एआईको प्रयोग स्मार्ट ट्राफिक व्यवस्थापनमा हुन्छ। यसले भीडअनुसार बाटो खोल्ने वा बन्द गर्ने संकेत दिन सक्छ। यसको साथै एक दिनमा अलग अलग समयको क्रममा ट्राफिकमा हुने परिवर्तनको प्रारूपलाई पहिचान गरी योजना बनाउन मद्दत गर्न सक्छ। तेस्रो, मार्ग अनुकूलन हो। एआईको प्रयोगबाट बाटोको भीड, मौसम र तीव्रताजस्ता जानकारी सजिलैसँग उपलब्ध हुन्छन् र यसपछि अन्य सहायक मार्गबाट यात्रा सम्पन्न गर्न सकिन्छ। यसले समय र श्रम बचाउँछ। चौथो, कार्गो र लजिस्टिक्समा यसको प्रयोग हो। 

एआईद्वारा जहाजी मार्ग, गोदाम व्यवस्थापन र आपूर्ति श्रृंखलासँग सम्बन्धित आँकडा विश्लेषण गर्न सकिन्छ। यसबाट गतिशील आपूर्तियुक्त मार्ग र तरीका पहिल्याउन सकिन्छ। यसबाट आपूर्ति श्रृंखलाको मार्ग र गति तीव्र हुन्छ। पाँचौँ, सवारी पार्किङ समाधान हो। एआईको प्रयोगबाट स्मार्ट पार्किङ प्रविधि अपनाउन सकिन्छ।

यो प्रविधिले इन्धन र श्रमको पनि बचत गर्छ। यसको प्रयोगले चालकले पार्किङको लागि स्थान खोज्दै समय बरबाद गर्नु पर्दैन। छैटौँ, संकटकालीन स्थितिमा एआईको प्रयोग हो। संकटकालीन स्थिति, प्राकृतिक विपद् वा अन्य महत्त्वपूर्ण घटनामा एआईमार्फत सहज यातायात सञ्चालन सम्भव छ। संकटग्रस्त इलाकाबाट भीडलाई टाढै राख्न र राहत स्थलमा आपत्कालीन सेवा शीघ्र पुर्‍याउन एआई सहयोगी हुन्छ। 

बजारीकरण र विज्ञापनको क्षेत्रमा एआई
उद्योग, बजारीकरणसम्बन्धी संस्थान र कम्पनीले ग्राहकका आवश्यकता बुझ्न जरुरी हुन्छ। उत्पादनको गुणस्तरीयतालाई बदलिँदो समय र उपभोक्ताको आवश्यकताअनुसार बदल्न जरुरी हुन्छ। यी सबै कार्यमा पनि एआई सहयोगी हुनसक्छ। यसलाई यसरी हामी अझ स्पष्ट रूपमा बुझ्न सक्छौँ। पहिलो, ग्राहकको वर्गीकरणमा यसको प्रयोग हो। एआई एल्गोरिदमले उपभोक्ताका प्राथमिकता, व्यवहार र जनसंख्याको आधारमा डेटा विश्लेषण गरी तिनीका आवश्यकता पहिचान गर्न सक्छ। एक समान आवश्यकता भएका ग्राहक पहिचान गरेपछि त्यसअनुरूप उत्पादन र विज्ञापन बनाउन सकिन्छ। 

यसरी एआई व्यापारको विकासमा सहयोगी साबित हुन्छ। दोस्रो, सिफारिसमा यसको प्रयोग हो। एआई सञ्चालित इन्जिनले ग्राहकका अघिल्ला रेकर्डअनुसार उत्पादन वा सेवाको सुझाव दिन्छ। यसले ग्राहकको खोजी र खरिद आँकडाको आधारमा पनि खास उत्पादनका विज्ञापन देखाउँछ। यसबाट उत्पादकको विक्रीमा तीव्रता आउँछ र कम्पनीको मुनाफामा पनि बढ्छ। तेस्रो, गतिशील मूल्य।

एआईले कुनै वस्तुको उपलब्धता, आपूर्ति र मागका आँकडामा दृष्टि दिन्छ र यसको आधारमा यो उत्पादन र सेवाको मूल्य घटाउन/बढाउन सक्षम हुन्छ। यस्तो अभ्यास अन्य क्षेत्रमा पनि गर्न सकिन्छ। चौथो, डिजिटल आकलन हो। एआईले सोसल मिडिया डेटाबाट ब्रान्ड वा उत्पादनप्रति भावनालाई पक्रन सक्षम हुन्छ। यसले उपभोक्तालाई तिनका आवश्यकताअनुसार डिजिटल विज्ञापन पस्कन्छ। यसबाट ब्रान्डको विक्री र प्रचारमा सुधार हुन्छ।  

उत्पादन उद्योग, इकमर्स र एआई एप्लिकेसनमा एआई 
उत्पादन उद्योगमा राखिने यन्त्र एआईको प्रविधिबाट परिपूर्ण हुन्छन्। यसबाट गल्ती हुने सम्भावना मात्र शून्य हुँदैन, बरु तिनीले अपेक्षाकृत लामो समयसम्म काम गर्न सक्छन्। यसको परिणामस्वरूप कम्पनीको म्यानुफ्याक्चरिङ खर्चमा कमी आउँछ र वस्तुको उत्पादनमा पनि अपेक्षाकृत कम लागत आउँछ। यसबाट वस्तुको बजार मूल्य कम हुन्छ र महँगीमा कमी आउँछ। एआईबाट ग्राहकसँग अत्यन्तै कुशलतापूर्वक संवाद गर्न अनुमति दिने इन्जिन बनाउन सकिन्छ। यसले च्याटबट र भर्चुअल सपिङ असिस्टेन्ट अनलाइन खरिद विक्रीको अनुभव उत्कृष्ट बनाउन मद्दत गर्छ।

प्रतिरक्षा र सुरक्षा प्रणालीमा एआई
रक्षा क्षेत्रमा एआई तीव्र रूपमा प्रासंगिक भएको छ। यसमा सैन्य अभियानका विभिन्न पक्ष बदल्ने क्षमता हुन्छ। अहिले सेनाका अलगअलग तालिममा अटोमेटिक गाडी, ड्रोन र रोबोट विकसित गर्न एआईको उपयोग गरिएको छ। यो सिस्टमले मानिसलाई प्रत्यक्ष हस्तक्षेप नगरीकन सैन्य प्रशिक्षण, निगरानी, लक्ष्य प्राप्ति र युद्ध सञ्चालनको कार्य गर्न सक्छ। एआईको मद्दतले केन्द्रीय डेटाबेससँगै अनुहारको पहिचान, अपराधको प्याटर्नको रूपमा अनुमान सीसीटीभी फुटेजको विश्लेषणद्वारा शंकास्पद व्यक्तिको पहिचान गर्न सकिन्छ। यसरी एआई अहिले प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण घटक बनेको छ। रक्षासँग जोडिएका कैयौँ प्रकारका एआई एप्लिकेसनले सैन्य क्षमता र रणनीतिक निर्णयमा धेरै गुणा सुधार ल्याउँछन्। रक्षाको क्षेत्रमा एआईका केही प्रमुख उपयोगलाई यसरी बुझ्न सकिन्छ। 

पहिलो, हतियारको क्षेत्रमा यसको प्रयोग। मानवरहित हवाई यान, ड्रोन र स्वचालित स्थल वाहनको निर्माण एआईको उपयोगबाट सम्भव छ। यी सिस्टमले मानवीय उपयोग कम गरिदिन्छन् र सेनालाई सैन्य परीक्षण, निगरानी र सम्भावित खतरालाई पहिचान गरी त्यसको सामना गर्न सहायता मिल्छ। दोस्रो, साइबर सुरक्षामा यसको प्रयोग हो। एआईले सैन्य नेटवर्क र संवेदनशील जानकारीको सुरक्षा गर्न सक्छ। तेस्रो, पूर्वानुमानित व्यवस्थापनमा प्रयोग हो। एआईले सेन्सरको उपयोगबाट कुनै उपकरणको वास्तविक स्थिति र असफल हुने सम्भावना पत्ता लगाउन सक्छ। यसबाट रक्षा उपकरणलाई समयमै मर्मत गर्न सकिन्छ र युद्ध क्षेत्रमा हुने नोक्सानबाट बच्न सेनालाई मद्दत मिल्नेछ। 

चौथो, रणनीतिक योजनामा यसको प्रयोग। एआईले रक्षा विश्लेषक र रणनीतिकारलाई विभिन्न परिदृश्यको अनुकरण गर्न र सम्भावित परिणामको भविष्यवाणी गर्न सहायता गर्छ। ऐतिहासिक डेटाबाट सैन्य अभियानको लागि रणनीतिक योजना बनाउन र निर्णय लिन सहायता गर्न सक्छ। पाँचौँ, सिग्नल र चित्र प्रोसेसिङमा यसको प्रयोग हो। एआईबाट सञ्चालित यो प्रविधिको उपयोगबाट युद्ध क्षेत्रका विभिन्न चित्र र सेन्सरको विश्लेषण गरिन्छ। यसबाट दुस्मनको उपस्थिति, हतियारको क्षमता र भौगोलिक चुनौतीसँग सम्बन्धित जानकारी एवम् सम्भावित परिणामको जानकारी प्राप्त हुन्छ। यसबाट सैन्य कमान्डरलाई रणनीति बनाउन बहुमूल्य अन्तर्दृष्टि प्राप्त हुन्छ। 

छैटौँ, लजेस्टिक्स आपूर्तिमा प्रयोग हो। एआईले उपभोग, परिवहन र उपलब्ध संसाधनका आँकडाको विश्लेषण गरी आपूर्तिसँग जोडिएका सम्भावित चुनौतीसँग सावधान गराउँछ। यसबाट रक्षा उपकरणका लजेस्टिक्सुमा पनि सहायता मिल्छ। सातौँ, लक्ष्य भेदनमा यसको प्रयोग। विरोधीको महत्त्वपूर्ण जमघट, सञ्चारतन्त्र र हतियार क्षेत्र पत्ता लगाएर नष्ट गर्नमा एआईले महत्त्वपूर्ण भूमिका खेल्छ। यसबाट सञ्चालित वाहन वा विमानलाई टाढा राखेर रिमोटबाट पनि निर्देशन दिन सकिन्छ। यसरी नै विरोधीको रेडियो फ्रिक्वेन्सी पहिचान गरी त्यसलाई अवरोध गर्ने, महत्त्वपूर्ण कार्यको लागि बायोमेट्रिक पहिचान सुनिश्चित गर्नेजस्ता कामको लागि एआईको प्रयोग गर्न सकिन्छ। अन्तर्राष्ट्रिय सीमा सुरक्षा र खतरनाक क्षेत्रमा रोबोट तैनाथ गरी कुनै मानवीय क्षति बिना नै राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न सकिन्छ। 

साइबर सुरक्षामा एआईको प्रयोग 
साइबर सुरक्षासँग सम्बन्धित उपाय बलियो बनाउन र बढ्दो साइबर खतराबाट सुरक्षा गर्न एआईको महत्त्वपूर्ण भूमिका हुन्छ। साइबर सुरक्षामा एआईका केही महत्त्वपूर्ण उपयोगलाई यसरी स्पष्ट बनाउन सकिन्छ। पहिलो, पहिचान वा रोकथाम हो। एआईमा सञ्चालित साइबर सुरक्षा प्रणाली आक्रमणको प्रारूप, नेटवर्क ट्राफिक, उपयोगकर्ताको व्यवहार र 'सिस्टम लग'को प्रारूप तथा विसंगगति पहिचान गर्न सक्षम हुन्छ। यसले कुनै पनि त्रुटिलाई शंकास्पद र खतराको रूपमा चित्रित गर्न सक्छ, जसमा मानव श्रमको धेरै कम आवश्यकता हुन्छ। एआईद्वारा गतिशील प्रतिक्रियाबाट मेववेयर, रेन्समवेयर र फिसिङजस्ता खतरा तुरुन्तै रोक्न सकिन्छ। 

दोस्रो, प्रमाणीकरणमा एआईको प्रयोग हो। एआईद्वारा सञ्चालित प्रमाणीकरण प्रणालीले उपयोगकर्ताको व्यवहार, डिभाइसको जानकारी र सन्दर्भको विश्लेषण गरी वैधता जाँच्न सक्छ। यसरी यसले केबल सम्बन्धित व्यक्तिलाई मात्र महत्त्वपूर्ण जानकारीसम्म पहुँच सुनिश्चित गर्छ र अनधिकृत पहुँचमा रोक लगाउँछ। तेस्रो, कमजोरीको व्यवस्थापन हो। एआई विभिन्न डेटाको उपयोग गरी सफ्टवेयर र सिस्टममा कमजोरीको पहिचानमा गर्न सक्षम हुन्छ।

यसले फायरवाल प्रणालीसँग जोडिएका कमजोरी पनि विश्लेषण गर्न सक्छ। यसले वास्तविक समयमा योसँग जोडिएका चीजको जानकारी दिएर सम्भावित खतराबाट बचाउन सक्षम हुन्छ। चौथो, रिपोर्टिङ हो। एआईले कुनै नेटवर्कमा भएको साइबर आक्रमणको प्याटर्न र डेटाको आकलन गरी विस्तृत डेटा दिन सक्छ। यसले कुनै खास भूभाग वा डिभाइसबाट भइरहेको खतरा पहिचान गरेर मद्दत गर्छ। आक्रमणको तरिका र गम्भीरतापूर्वक जोडिएका जानकारी यसले उपलब्ध गराउन सक्छ। यसरी, यसबाट साइबर सुरक्षा अधिकारीले रणनीति बनाउन महत्त्वपूर्ण जानकारी यसको सहायताले प्राप्त गर्न सक्छन्। 

सार्वजनिक क्षेत्रमा एआईको प्रयोग 
एआई र मेसिन लर्निङको लाभको कारण सरकारी संगठनको बढ्दो संख्याले तिनलाई उत्कृष्ट निर्णय लिने प्रयोजनका लागि प्रयोग गर्दै छ र तिनीलाई नियोजन गर्न शुरू गरिरहेको छ। एआईले सरकारलाई उत्कृष्ट नीति बनाउन, उत्कृष्ट निर्णय लिन, नागरिक र समुदायसँग सञ्चार र कुराकानी बढाउन तथा सार्वजनिक सेवाको गुणात्मकतामा तीव्रता ल्याउन/सुधार गर्न मद्दत गर्न सक्छ। सरकारी संग्रह कम गर्न, लागत कम गर्न, स्रोतसाधनको कमी हटाउन, कर्मचारीलाई अल्छ्याइँबाट मुक्त गर्न, अवलोकन सटीकतामा सुधार गर्न, प्रक्रिया र प्रणालीको बौद्धिकता बढाउन एआईको उपयोग गर्न सकिन्छ।

एआई अन्य विभिन्न क्षेत्रमा पनि प्रयोग गरिन्छ। कम्प्युटर गेम, प्राकृतिक भाषा प्रोसेसिङ, एक्पर्ट प्रणाली, दृष्टि प्रणाली, वाक पहिचान, हस्तलिपि पहिचान, मनोरञ्जन र बुद्धिमान रोबोटजस्ता विविध क्षेत्रमा एआईको उपयोग हुनसक्छ। अहिले विज्ञान प्रविधिको क्षेत्रमा अभूतपूर्व रूपले यसको प्रयोग हुँदै गएको छ। 


गिरी संस्कृति, दर्शन र इतिहास अध्ययन/लेखन/अनुवादमा संलग्न छन्।


सम्बन्धित सामग्री