Wednesday, October 16, 2024

-->

कृत्रिम बौद्धिकता: मेसिनलाई मान्छेझैँ सोच्ने बनाउन सकिएला?

यन्त्रमा मान्छेकोझैँ दिमाग, चेतना र मानसिक अवस्था विद्यमान हुन सक्छन् त? भन्ने नै मुख्य दार्शनिक प्रश्न हो। यो अन्य दिमागी र चेतनाको कठोर समस्यासँग सम्बन्धित छ।

कृत्रिम बौद्धिकता मेसिनलाई मान्छेझैँ सोच्ने बनाउन सकिएला

कृत्रिम बौद्धिकता मानव बुद्धिको आवश्यकताअनुसार कार्य गर्न सक्षम प्रणाली र कार्यक्रम विकसित गर्ने अध्ययनको क्षेत्र हो। यसले दार्शनिक संसारमा पनि धेरै रुचि पैदा गर्छ, किनकि यसले मन, चेतना र सामान्यतः मानिसको प्रकृतिबारे धेरै प्रश्न उठाउँछ। दर्शनसँग कृत्रिम बौद्धिकताको घनिष्ठ सम्बन्ध हुन्छ, दुवैले धेरै अवधारणालाई साझा रूपमा पेस गर्छन्, दुवैले ज्ञान र मनको प्रकृति बुझ्ने प्रयास गर्छन्। र, यिनीहरूमा बुद्धि, क्रिया, चेतना, विज्ञान आदि सामेल हुन्छन्। 

एआईको एक दार्शनिक अवधारणा कार्यात्मकता हो। यसले मनलाई चाहे त्यो कुनै पनि पदार्थले बनेको भए पनि त्यसको कार्य र सन्दर्भमा बुझ्न सकिन्छ भन्ने मान्यता राख्छ। यो दृष्टिकोणबाट कृत्रिम बौद्धिकताले एल्गोरिदम र सूचना प्रक्रिया प्रणालीको माध्यमबाट मानव संज्ञानात्मक कार्यहरूलाई दोहोर्‍याउने प्रयास गर्छ। यसरी नै एआईको अर्को दार्शनिक अवधारणा द्वैतवाद हो। यसले मन (चेतना) र शरीरलाई अलग इकाई मान्छ। एआईको सन्दर्भमा यो विचारले एउटा यन्त्रमा चेतन मन हुनसक्छ र प्रामाणिक भावना वा विचारको अनुभव हुनसक्छ भन्ने सम्भावनामाथि प्रश्न उठाउँछ। 

यस्तै, एआईको अर्को दार्शनिक अवधारणा न्यूनीकरणवाद हो। यो दृष्टिकोणअनुसार मन र चेतना भौतिक र जैविक प्रक्रियाहरूको अधीनमा हुन्छन्। यस तर्कअनुसार एआईले चेतनाजस्तो अमूर्त अवधारणाहरूको सहायता नलिईकन मानव संज्ञानात्मक प्रक्रियाहरूलाई सटीक रूपमा दोहोर्‍याउन सक्छ। र, अर्को एआईको दार्शनिक अवधारणा आकस्मिकतावाद हो। यो दृष्टिकोणको मान्यताअनुसार मन र चेतना मानव मस्तिष्कजस्तो जटिल प्रणालीको प्रकटतम गुण हो। यो दार्शनिक धाराअनुसार एउटा मेसिनले आफ्नो चेतना पनि विकसित गर्न सक्छ, किनकि यो धेरै जटिल र परिष्कृत हुन्छ भन्ने सम्भावनामाथि प्रश्न उठाउँछ। 

एआई दर्शनले चेतना र मनको प्रकृतिलाई बुझ्न दार्शनिक आशय पत्ता लगाउँछ। यसको उद्देश्य बुद्धि र दिमागको प्रकृतिसँगै समाजको लागि एआईको नैतिक, सामाजिक र राजनीतिक प्रभावबारे आधारभूत प्रश्नहरूको जवाफ दिनु हो। एआईद्वारा उठाइएका जटिल प्रश्नहरू पत्ता लगाउन अन्तर्विषयगत क्षेत्र दर्शनशास्त्र, कम्प्युटर विज्ञान, संज्ञानात्मक विज्ञान, मनोविज्ञान र तन्त्रिका विज्ञान (न्युरोसाइन्स) मा आधारित हुन्छ। एआई दर्शन कृत्रिम बौद्धिकताको सैद्धान्तिक र व्यावहारिक दुवै पक्षसँग सम्बन्धित हुन्छ।

मेसिन लर्निङ ज्ञान मीमांसाअनुसार मेसिन लर्निङ एल्गोरिदमले कुन अर्थमा सिक्छ?, प्रमाणबाट सिक्ने तर्कसंगत तरीका के हो?, उदाहरणबाट परिकल्पनासम्म कसरी पुग्न सकिन्छ?, के मेसिन लर्निङले इन्डक्सन समस्याको समाधान गर्न सक्छ?, औपचारिक रूपले अनिश्चितताअन्तर्गत कारण र तर्कको प्रतिनिधित्व कसरी गर्नुपर्छ?, के कृत्रिम तन्त्रिका संजालमा तार्किक प्रणालीअनुरूप अनुमान हुन्छ? यस्तै विभिन्न प्रश्नको समाधान खोज्ने प्रयास कृत्रिम बौद्धिकताको दर्शनले गर्छ। यसरी नै, कृत्रिम बौद्धिकताको व्याख्याअनुसार असल व्याख्याले के परिभाषित गर्छ? के स्पष्टीकरण, व्याख्या र औचित्यमा कुनै अन्तर हुन्छ? कुन स्थितिमा एआई निर्णयहरूको लागि स्पष्टीकरणको माग गरिन्छ? कुन अर्थमा केही एल्गोरिदम 'ब्ल्याकबक्स' हुन्छन् र अन्य हुँदैनन्? के व्याख्या र सटिकताको बीचमा कुनै सम्झौता हुन्छ? एआईलाई बढी पारदर्शी बनाउने तरीका कुन हो? पारम्परिक तार्किक एआई र समकालीन मेसिन लर्निङलाई कसरी जोड्न सकिन्छलगायत प्रश्नको समाधानमा एआई दर्शनको भूमिका हुन्छ। 

यस्तै, कृत्रिम एजेन्सी र एआईको नैतिकताअनुसार स्वायत्त एजेन्टहरूको तात्पर्य के हो? के स्वायत्त एआईमा चेतना हुनुपर्छ? के चेतनालाई औपचारिक रूपमा परिभाषित गर्ने कुनै तरीका छ? एउटा बुद्धिमान एजेन्टले क्रिया वा तर्कलाई कसरी परिभाषित गर्छ? एउटा बुद्धिमान एजेन्टले एक नैतिक एजेन्ट पनि हुनुपर्छ? के एआई प्रणालीमा नैतिक नियम लागू गर्न सकिन्छ?  सुरक्षा-महत्त्वपूर्ण डोमेनमा एल्गोरिदममाथि भर पर्न सकिन्छ? मेसिन लर्निङ एल्गोरिदमको पूर्वाग्रह के हो? मेसिन लर्निङ एल्गोरिदमलाई कसरी निष्पक्ष र सुरक्षित बनाउन सकिन्छजस्ता सवालको समाधानमा एआई दर्शनले महत्त्वपूर्ण भूमिका खेल्छ। 

एआई, दर्शन र विज्ञानबीचको सम्बन्धको क्षेत्रमा पनि एआई दर्शनको महत्त्वपूर्ण भूमिका हुन्छ। यसअनुसार एआई र विज्ञानको दर्शन एकअर्कोसँग कसरी सम्बन्धित हुन्छन्? उनीहरूले एक अर्कोबाट कसरी सिक्छन्? के 'मेसिन लर्निङ' सांख्यिकी तथा संज्ञानात्मक विज्ञानका लागि एक प्रचलित शब्द हो? यदि  होइन भने यसले के जोड्छ? मेसिन लर्निङले अन्य विज्ञानमा के भूमिका निभाउँछ? के मेसिन लर्निङले निकट भविष्यमा सांख्यिकीको स्थान लिन्छ वा हामीले जान्ने विज्ञानको स्थान लिन्छ? के कारण सम्बन्धी खोजलाई स्वचालित गर्न सकिन्छजस्ता प्रश्नहरूको समाधानमा एआई दर्शन महत्त्वपूर्ण हुन्छ। 

कृत्रिम बौद्धिकता दर्शनले,  के यन्त्रले समझदारीपूर्वक काम गर्न सक्छ? के यसले कुनै पनि व्यक्तिले सोचेर हल गर्ने कुनै पनि समस्यालाई हल गर्न सक्छ?  के मानव बौद्धिकता र यन्त्र बौद्धिकता समान हुन्छ? के मानव मस्तिष्क अनिवार्य रूपले एक कम्प्युटर हो? के एउटा यन्त्रमा मानिसमै भएझैँ मानसिक अवस्था र चेतना हुन सक्छ? के यसले चीजहरू कस्ता छन् भन्ने कुरा महसुस गर्न सक्छजस्ता विभिन्न प्रश्नको जवाफ दिने काम गर्छ। यी प्रश्नहरूले एआई शोधकर्ता, भाषाविद्, संज्ञानात्मक वैज्ञानिक र दार्शनिकहरूका अलग-अलग क्षेत्रलाई दर्साउँछन्। यी प्रश्नहरूका वैज्ञानिक उत्तरले बौद्धिकता र चेतनाको परिभाषामा निर्भर गर्छन्।

मानिसले आफ्नो बुद्धिको उपयोग गरेर सबै समस्याको समाधान गर्न सक्ने यन्त्र बनाउन सम्भव छ कि छैन भन्ने प्रश्नले भविष्यमा कुन यन्त्रले यी सबै काम गर्न सक्षम हुन्छ र एआई अनुसन्धानको दिशालाई मार्गदर्शन गर्ने दायरालाई परिभाषित गर्छ भन्ने कुरा निर्धारण गर्छ। यो केवल यन्त्र-व्यवहारसँग सम्बन्धित छ र मनोवैज्ञानिक, संज्ञानात्मक वैज्ञानिक र दार्शनिकहरूका हितका मुद्दामा यसले बेवास्ता गर्छ। यी प्रश्नको उत्तर दिन कुनै यन्त्रले वास्तवमा मानिसले जसरी सोचिरहेको छ भन्ने कुरामा कुनै फरक पर्दैन। 

एआई दर्शनसँग सम्बन्धित अनेकन् प्रस्तावहरू हामीमाझ छन्। एआइसम्बन्धी ट्यूरिङ सम्मेलनअनुसार यदि यन्त्रले मानिसजसरी नै बुद्धिमानीपूर्वक व्यवहार गर्छ भने यो मानिसको रूपमा बुद्धिमान हुन्छ। डार्टमाउथ प्रस्तावअनुसार सिक्ने हरेक पक्ष वा बौद्धिकताको कुनै पनि अन्य विशेषतालाई यति सटीक रूपमा व्याख्या गर्न सकिन्छ कि यसलाई अनुकरण गर्नको लागि एउटा यन्त्र बनाउन सकिन्छ। 

न्युवेल र साइमनको भौतिक प्रणाली परिकल्पनाअनुसार एक भौतिक प्रणालीमा सामान्य बुद्धिमान कामकारबाही आवश्यक पर्छ। सरेलको बलियो एआई परिकल्पनाअनुसार उचित इनपुट र आउटपुटसँगै उचित प्रोग्रामिङ गरिएको कम्प्युटरलाई दिमागीकरण गर्न सकिन्छ। एउटा यन्त्रले सामान्य बुद्धि प्रदर्शन गर्न सक्छ, मस्तिष्कको अनुसरण गर्न सक्छ। 

हबर्ट ड्रेफसको तर्कअनुसार यदि तन्त्रिका तन्त्रले मानिससँग यसलाई मान्ने हरेक कारणयुक्त भौतिकशास्त्र र रसायनशास्त्रका नियमको पालना गर्छ भने मानिसको व्यवहारलाई पुनः उत्पन्न गर्न केही भौतिक उपकरणसहित तन्त्रिकातन्त्र सक्षम हुनुपर्छ। सरेलका अनुसार सैद्धान्तिक रूपमा कुनै पनि कम्प्युटरद्वारा कुनै पनि अनुकरण (नक्कल) गर्न सकिन्छ। यसरी निष्कर्षको रूपमा कुनै प्रक्रियालाई प्राविधिक रूपले गणना मान्न सकिन्छ। 

एलन न्यूवेल र हर्बर्ट साइमनको प्रस्तावअनुसार प्रतीक हेरफेर मानव र यन्त्र दुवैको बुद्धिको सार हो। उनीहरूका अनुसार एउटा भौतिक प्रतीक प्रणालीमा सामान्य बुद्धिमान कारबाहीका आवश्यक र पर्याप्त साधन हुन्छन्। यसको तात्पर्य के हो भने मानव सोच एक प्रकारले प्रतीकको हेरफेर हो, किनभने एक प्रतीक प्रणाली बौद्धिकताका लागि आवश्यक हुन्छ। र, यन्त्र बुद्धिमान हुन सक्छ, किनकि एक प्रतीक प्रणाली बौद्धिक जानकारीका लागि पर्याप्त हुन्छ। यो स्थितिको अर्को संस्करण दार्शनिक ड्रेफसले व्याख्या गरेका थिए। उनले यसलाई मनोवैज्ञानिक धारणा भने। औपचारिक नियमानुसार दिमागलाई जानकारीको विट्समा चलाउने डिभाइसको रूपमा हेर्न सकिन्छ। 

यन्त्रमा मान्छे‍कोझैँ दिमाग, चेतना र मानसिक अवस्था विद्यमान हुन सक्छन् त भन्ने कुरा नै मुख्य दार्शनिक प्रश्न हो। यो अन्य दिमागी समस्या र चेतनाको कठोर समस्यासँग सम्बन्धित छ। जोन सरेलका अनुसार बलियो कृत्रिम बौद्धिकताले मानव मस्तिष्कलेझैँ काम गर्न सक्छ। सरेलले यो स्थितिलाई कमजोर कृत्रिम बौद्धिकता भन्ने कुराबाट अलग गरे। एक भौतिक प्रतीक प्रणालीले समझदारीपूर्वक काम गर्न सक्छ। सरेलले कमजोर एआईबाट बलियो एआईलाई अलग गर्न सर्तहरू राख्न थाले। 

उनको तर्कअनुसार एक कम्प्युटर प्रोग्रामले वास्तवमा मानव मष्तिस्कजसरी नै काम गरे पनि यसले केके काम गर्छ, कस्तो परिणाम ल्याउँछ भन्नेजस्ता विषय नै जटिल दार्शनिक प्रश्न हुन्। त्यसको उत्तर दिनु आवश्यक हुन्छ। धेरै एआई शोधकर्ता कमजोर एआई परिकल्पनामा सहमत भएको देखिन्छन् भने बलियो एआई परिकल्पनालाई त्यति वास्ता गरेको देखिँदैन। इगोर अलेक्जेन्ड, स्टेन फ्र्यांकलिन, रोन सन र पेन्टी हाइकोननजस्ता एआई शोधकर्ताहरू बौद्धिकतामा एक आवश्यक तत्त्व चेतना हो भन्ने मान्छन्, यद्यपि चेतनाको उनीहरूको परिभाषा बौद्धिकता निकट छ। 

दिमाग र चेतना शब्दको उपयोग विभिन्न तरीकाले गरिएको पाइन्छ। बर्गसनका अनुसार चेतना जीवन र विशेष रूपले दिमागमा अवस्थित अदृश्य र ऊर्जावान् तरल पदार्थ हो। विज्ञान-कथा लेखकहरूका अनुसार पूर्ण रूपले मानव चरित्रको रूपमा प्रस्तुत गरिने एक यन्त्रमा बुद्धि, इच्छा, अन्तर्दृष्टि, गर्व र अन्य कुरा पनि सामेल हुन्छन्। दार्शनिक, तन्त्रिका वैज्ञानिक (न्युरोलोजिस्ट) र संज्ञानात्मक वैज्ञानिकले दिमाग र चेतनालाई बढी सटिक र सांसारिक भनेका छन्। तिनीहरूले मानिसका धारणा, सपना र दैनिक अनुभवलाई सन्दर्भका रूपमा पेस गर्छन्। दिमागको दर्शनमा चेतना एक शास्त्रीय समस्याको नवीनतम संस्करण हो, जसलाई दिमाग-शरीरको समस्या भनिन्छ। सरेलका अनुसार वास्तविक मानसिक अवस्था र चेतनाको आवश्यकता वास्तविक मानव मस्तिष्कको वास्तविक भौतिक-रासायनिक गुण हुन्छ। उनका अनुसार मस्तिष्क र न्युरोन्सका विशेष कारणले दिमागलाई जन्म दिन्छन्।

यदि मस्तिष्क एक प्रकारको कम्प्युटर हो भने कम्प्युटर बुद्धिमान र जागरूक दुवै हुन सक्छ, कृत्रिम बौद्धिकताको व्यावहारिक र दार्शनिक दुवै प्रश्नको जवाफ दिन सक्छ। एआईको व्यावहारिक प्रश्नको सन्दर्भमा कम्प्यूटेशनलिज्म (संगणनावाद) का केही संस्करणले के दाबी गर्छन् भने तर्क केही पनि होइन, बरु गणना हो। अर्को शब्दमा हाम्रो बुद्धि गणितजस्तै गणनाको रूपमा प्राप्त हुन्छ। यो भौतिक प्रतीक प्रणालीको परिकल्पना हो र यसको तात्पर्य कृत्रिम बौद्धिकता सम्भव छ भन्ने हो। एआईका दार्शनिक प्रश्नको सन्दर्भमा-के यन्त्रमा दिमाग, मानसिक अवस्था र चेतना हुन सक्छ? संगणनावादले के दाबी गर्छ भने मानसिक क्रियाशीलता केवल कम्प्युटर प्रोग्रामको कार्यान्वयन हो। 

 

के यन्त्रमा भावना हुनसक्छ भन्ने अर्को एआई दर्शनसम्बन्धी महत्त्वपूर्ण प्रश्न हो। विद्वानहरूका अनुसार यन्त्रमा दया, सुन्दरता, मित्रता, पहलकदमी, हास्य भावना, प्रेम, स्वाद, आदि हुँदैनन्। यदि भावनालाई केवल व्यवहारमा त्यसको प्रभावको सन्दर्भमा वा कुनै जीवभित्र कार्य गर्ने तरीकाको रूपमा परिभाषित गरिन्छ भने भावनालाई एक तन्त्रको रूपमा हेर्न सकिन्छ, जुन एक बुद्धिमानले आफ्ना कार्य उपयोगितालाई अधिकतम बनाउन उपयोग गर्छ। मोरावेका अनुसार सामान्य रूपमा रोबोट असल मानिसहरूबारे धेरै भावनात्मक हुनेछन्। भय तात्कालिकताको स्रोत हो। सहानुभूति असल मानव-कम्प्युटर कुराकानीको एक आवश्यक घटक हो। उनका अनुसार रोबोटले मानिसलाई स्पष्ट रूपले निस्वार्थ तरीकाले खुशी बनाउने कोसिस गर्नेछन्, किनभने यिनीहरूले सकारात्मक सुदृढीकरणबाट रोमाञ्चकता प्राप्त गर्नेछन्। 

भावनालाई व्यक्तिगत गुणको सन्दर्भमा पनि परिभाषित गर्न सकिन्छ। प्रश्न के हो भने यन्त्रले वास्तवमा भावना महसुस गर्छ कि गर्दैन वा यसले केवल कार्य मात्र गर्छ। के एउटा यन्त्र सचेत हुन सक्छ? के एउटा यन्त्र स्वयं जागरूक हुन सक्छ? जागरूकतालाई स्वयं कहिलेकाहीँ आवश्यक मानव सम्पत्तिको नामको रूपमा उपयोग गरिन्छ, जसले एक चरित्रलाई पूर्ण रूपले मानव बनाउँछ। के यन्त्र रचनात्मक हुन सक्छ? ट्युरिङका अनुसार पर्याप्त भण्डारण क्षमतासँगै कम्प्युटरले विभिन्न तरीकाका खगोलीय संख्यामा व्यवहार गर्न सक्छन्। सामान्यतः नयाँ तरीकाबाट गठबन्धनको लागि विचारहरूको प्रतिनिधित्व गर्न सक्ने कुरा कम्प्युटरको लागि पनि सम्भव हुन्छ। 

के यन्त्र उदार वा शत्रु हुनसक्छ भन्ने प्रश्नलाई दुई रूपमा प्रस्तुत गर्न सकिन्छ। शत्रुतालाई कार्य वा व्यवहारको सन्दर्भमा परिभाषित गर्न सकिन्छ। प्रश्न के छ भने के उत्कृष्ट बुद्धिमान र पूर्ण रूपले स्वायत्त यन्त्रहरू खतरनाक हुन्छन् भन्ने कुरालाई विस्तारपूर्वक जाँच र व्याख्या गरिएको छ। एउटा मुद्दा के छ भने स्वायत्तता र बौद्धिकताको जानकारीका कारण यन्त्र  धेरै छिटो खतरनाक हुनसक्छ। वर्नर विङका अनुसार केही वर्षमा नै कम्प्युटर अचानक मानिसको तुलनामा हजारौँ वा लाखौँ गुना बुद्धिमान बन्नेछन्।

उनका अनुसार मानिसका लागि केही हदसम्म वा सम्भवतः धेरै खतरनाक हुनसक्छ। यसलाई उनले एआईको एकवचनवादी दर्शन भनेका छन्। विशेषगरी रोबोटलाई स्वायत्त कार्यको जिम्मा दिइएको सन्दर्भमा केही विशेषज्ञ र शिक्षाविद्हरूले सैन्य युद्धको लागि रोबोटको उपयोगमाथि प्रश्न उठाएका छन्। स्वायत्त निर्णय लिने क्षमताको प्रभावमा रोबोट अधिक जटिल हुन्छन्, त्यसकारण यो कुरामा सम्बन्धितले विशेष ध्यान दिनुपर्छ। कृत्रिम बौद्धिकताको उन्नतिका लागि यसमा कार्यरत वैज्ञानिकले यो मुद्दाबारे अध्ययन सुरु गरिसकेका छन्। उनीहरूले मानव कुराकानीको अनुकरण गर्न सक्ने भाषा अधिग्रहण डिभाइसजस्ता कार्यक्रमको विकास गर्ने प्रयत्न गरिरहेका छन्। 

केहीले मित्रवत् कृत्रिम बौद्धिकता बनाउने आवश्यकतामाथि जोड दिएका छन्। यसको अर्थ के हो भने एआईमा पहिलेदेखि भएको प्रगतिमा यसलाई आन्तरिक रूपले अनुकूल र मानवीय बनाउने प्रयास जरुरी हुन्छ। कृत्रिम बौद्धिकताको अर्को दार्शनिक प्रश्न, के यन्त्रमा आत्मा हुनसक्छ भन्ने हो। आत्माको अस्तित्वमा विश्वास गर्नेहरू सोच मानिसको अमरआत्माको कार्य हो भन्छन्। ट्यूरिङले यसलाई धार्मिक आपत्ति भनेका छन्। 

यसरी दार्शनिक दृष्टिकोणले एआईले बुद्धि र चेतनाको प्रकृतिबारे कैयौँ प्रश्न उठाउँछ। एआई प्रणाली बढी उन्नत हुँदै जाँदा यो मानिस बराबर वा त्योभन्दा पनि उत्कृष्ट बुद्धिको स्तरमा कसरी पुग्न सक्छ भन्ने सवाल उठ्छ। यसले के एआई वास्तवमा आत्मजागरूक हुनसक्छ र संसारको आत्मपरक अनुभव प्राप्त गर्न सक्छ भन्ने प्रश्न उठाउँछ। 

यसको अतिरिक्त यदि एआई मानिस जसरी नै सोच्न र तर्क गर्न सक्षम भयो भने मन र मानव स्वभावको हाम्रो अवधारणामा यसको के प्रभाव पर्छ भन्ने महत्त्वपूर्ण प्रश्न एआई दर्शनले उठाउँछ। अहिले कृत्रिम बौद्धिकताले चेतना, बुद्धि र मनको प्रकृतिबारे नयाँ दार्शनिक प्रश्नहरू सिर्जना गरिरहेको छ। यी प्रश्नले एआई दर्शनमा बढ्दो रुचि पनि पैदा गरिरहेको छ।

(गिरी संस्कृति, दर्शन र इतिहास अध्ययन, लेखन तथा अनुवादमा संलग्न छन्।)


सम्बन्धित सामग्री