Monday, April 29, 2024

-->

महिला मुक्तिका यी आयाम, यी बाटा

छोरीहरू बौद्धिक रूपमा कमसल हुन्छन्, त्यसैले नेतृत्वदायी भूमिका दिनु हुँदैन भन्ने भाष्य व्याप्त छ। अर्कोतर्फ, छोराहरू बलिष्ठ हुन्छन्, उसकै नेतृत्वमा समाज अगाडि बढ्नु पर्छ भन्ने बुझाइ स्थापित गरिएको छ।

महिला मुक्तिका यी आयाम यी बाटा

-प्रेम गैरे 'क्वान्टम'

जब मानव समाज जंगली युगको सिकारी र घुमन्ते अवस्थामा थियो, त्यही समय हतियारको आविष्कार भयो। प्रजननको जैविक जिम्मेवारी नभएको पुरुषले स्वाभाविक रूपमा सिकार गरी त्यसलाई वासस्थानमा ल्याउने दायित्व र सुविधा प्राप्त गर्‍यो। मुख्य उत्पादक शक्ति प्रकृति भए तापनि हतियारले मानवजाति र विशेषगरी पुरुष प्रजातिलाई शक्तिशाली बनाउँदै लग्यो। 

यसरी कबिला युगमा सबैभन्दा बूढी हजुरआमाको नेतृत्वमा रहेका अर्थात् मातृसत्तात्मक व्यवस्थाका मानव हुल क्रमशः पितृसत्तात्मक बन्ने परिस्थिति बन्न पुग्यो। हतियारले पैदा हुन पुगेको ‘श्रम समयको बचत’ले मानव समुदाय जिउँदा वन्यजन्तु घरमा थुपारी पाल्तु जनावर हुर्काउने चरण: पशुपालनको युग हुँदै अब कृषि युगमा प्रवेश गर्छ। करिब ८ हजार वर्षअघि कृषि युगमा प्रवेश गरेसँगै महिला जातिमाथि पितृसत्ताको दमन व्यापक हुन थाल्यो।

आफूले ओगटेको जमिन आफ्नै पुरुष सन्तान दर सन्तानसम्म पुर्‍याउने नियोजित उद्देश्यसहित अन्य कबिलाका महिला अपहरण गरी जबरजस्ती बन्दी बनाउने प्रचलन प्रारम्भ भयो। यही बर्बरताको निरन्तरताले नै विवाह संस्था जन्मियो। सामन्तवादी व्यवस्थामा आइपुग्दा हजारौँ वर्षको निरन्तर दमन, शोषण र प्रशिक्षणमार्फत धर्म र संस्कारको आडमा अब पितृसत्ताले महिला स्वयंलाई 'दोस्रो दर्जाको लिंग'को दर्जामा पुर्‍यायो।  

पछिल्लो पाँच सय वर्षको आसपासबाट शुरू भएको पुँजीवादी युगमा आइपुग्दा महिला मुक्तिका सन्दर्भलाई रूपमा हेर्दा प्रगतिशील देखिए तापनि सार र अन्तर्यमा भने बिसको उन्नाइस भएको पाइँदैन। घरको चार भित्ताको काल कोठरीमा नारकीय जीवन बाच्न अभिसप्त बहुसंख्यक महिला आँगन हुँदै बजारसम्म त पुगे, तर अझै पनि सुन्दरीको भेषमा तिनको वस्तुकरण भइरहेकै छ। यो दुष्चक्र कहिलेसम्म घुमिरहने र रोकिने हो अत्तोपत्तो छैन।

मुक्तिका हिजोका प्रयत्नहरू
समयको मापन र उत्पीडनको घनत्वका हिसाबले क्रमशः सबैभन्दा लामो र बाक्लो पितृसत्तात्मक उत्पीडनबाट मुक्ति पाउन कति असफल प्रयत्नहरू सयौँ पुस्ताका महिलाले गरे होलान्। त्यसको लेखाजोखा राख्ने कुनै मेसिन वा दस्ताबेज भण्डार गर्ने प्रणाली हामीसँग छैन। वर्गीय उत्पीडनभन्दा पुरानो र बढी पीडादायी यो लैंगिक उत्पीडनको घाउबाट उन्मुक्ति पाउन प्रतिरोधी चित्कार बुलन्द पार्ने सबै ज्ञात अज्ञात परिवर्तनकामी पात्रहरू स्मरणयोग्य छन्। 

अठारौँ शताब्दीको उत्तरार्धमा बेलायतकी मेरी वोल्स्टोनक्राफ्टदेखि पेरिसका गरिब तथा श्रमजीवी महिलाहरूले गरेको विद्रोह पुरुषप्रधान समाजको बर्खिलाप थियो। १९औँ शताब्दीको मध्यतिर नेदरल्यान्डको कपडा कारखानाका श्रमिक महिलाहरू दासप्रथाविरोधी मसाल सल्काउँदै थिए भने कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सहरू 'कम्युनिस्ट घोषणापत्र'को प्रतिपादनमा कसिएर लागेका थिए। सन् १८४८ को सो घोषणापत्रले संसारका शोषित र उत्पीडित जनसमुदाय आन्दोलित हुने क्रम शुरू हुँदै थियो भने ५० देखि ६० को दशकमा कारखानाको यान्त्रिकीकरणले पुँजीपति र सर्वहारा वर्गको फासला दैनन्दिन बढाउँदै थियो।

१) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ
समाजमा अन्याय र अत्याचार जति बढ्दै जान्छ, पिँधमा पारिएका तप्का अन्यभन्दा बेसी दमनमा पर्दछन्। यही थिचोमिचोको प्रतिरोध स्वरूप सन् १८५७ मार्च ८ मा अमेरिकामा सुती कपडा उद्योगका महिलाहरू कार्यघण्टाको कटौतीको मागसहित सडकमा उत्रिए। सन् १८६८ मा कार्ल मार्क्सले महिलाको रोजगार क्षेत्रमा अवसरको सुनिश्चितता र शिशु स्याहार लगायतको व्यवस्था गरिनुपर्ने माग जोडदार रूपले राखे। साथै श्रमिक महिलाहरूलाई विश्व श्रमिक आन्दोलनमा सहभागीताका निम्ति आह्वान गरे। 

सन् १८८९ मा पेरिस सहरमा श्रमिकहरूको ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो, जसले 'समान कामको समान ज्याला' भन्ने मुद्दालाई जबरजस्त उठान गर्‍यो। महिला अधिकारका बारेमा न्यायोचित र व्यवस्थित ढंगले विषय उठान भएको यो नै ऐतिहासिक परिघटना थियो। सन् नब्बेको दशकबाट महिला मताधिकारको माग गर्दै आएका संगठनहरू शक्तिशाली हुने क्रम बढ्न थाल्यो र परिणामतः प्रथम पटक न्युजिल्यान्डका महिलाहरूले सो अधिकार प्राप्त गरे। सन् १९१० मा डेनमार्कको कोपनहेगनमा १७ देशका सयको संख्यामा उपस्थित समाजवादी श्रमिक तथा राजनीतिक महिला प्रतिनिधिहरूद्वारा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन सम्पन्न गरे। 

सोही सम्मेलनले सन् १८५७ मा निकालिएको महिला श्रमिकको जुलुसलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव पारित गर्‍यो, जसको प्रस्तावक क्लारा जेट्किन थिइन। सन् १९१७ मा रुसको युद्धकालीन समयमा महिलाहरूले 'ब्रेड एन्ड पिस' अर्थात् रोटी र शान्तिको मागसहित जारशाही सत्ताविरुद्ध जुलुस प्रदर्शन गरेका थिए। त्यही घटनापश्चात् केही दिनमै क्रूर जारशाही शासनको अन्त्य भयो र लेनिनको नेतृत्वमा समाजवादी सत्ता निर्माण हुन पुग्यो। महिलालाई मताधिकारसहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई राजकीय महत्त्व दिँदै लेनिनले यससम्बन्धी लेखसमेत लेखेका थिए। जब सोभियत संघको विघटनले समाजवादी सत्ता गल्दै र ढल्दै जान थाल्यो, यस क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्दलाई कुटिल ढंगले मेटाउँदै ‘अन्तर्राष्ट्रिय महिला दिवस’का रूपमा मान्यता दियो।

२)नेपाल सन्दर्भ
२०औँ शताब्दीको उत्तरार्द्धबाट योगमाया न्यौपानेको पहलकदमीले सतीप्रथाको उन्मुलनलगायत माग राखी राणाशासनलाई दिएको चुनौतीलाई नेपालको महिला मुक्ति आन्दोलनको कोसेढुंगो मान्न सकिन्छ। राणाशासनको अन्त्य, प्रजातन्त्रको स्थापना र मताधिकारको मागलगायतका माग उठाइ राणाविरुद्ध लागेका मंगलादेवि सिंह, सहाना प्रधानहरूको प्रयत्नहरूलाई कम आँक्न मिल्दैन। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नेपाली इतिहासको सन्दर्भ नियाल्दा विसं. २०१७ देखि पहिलो पटक अनौपचारिक ढंगबाट यो अवसरलाई मनाउन शुरू गरेको देखिन्छ। 

विस‌ं‍. ०३४ बाट पारिजातको संयोजकत्वमा गोप्य रूपमा यो दिवसलाई वैचारिक र राजनीतिक तहबाट बहस र छलफलमा ल्याउँदै मनाउन शुरू गरियो। अहिलेको परिप्रेक्ष्यमा पश्चगामीहरू आमजनतालाई 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस' र 'अन्तर्राष्ट्रिय महिला दिवस'को दिग्भ्रममा पार्न सफल देखिन्छन्। त्यसो हुँदा श्रमिक पक्षधरता बोक्ने परिवर्तनकामी शक्तिहरूले श्रमिक महिलाद्वारा निर्मित त्यागपूर्ण इतिहासको सही र तथ्यगत दिवसलाई मान्यता दिनु र जनतामाझ यथार्थ  प्रचारप्रसार गर्नु आजको दायित्व हुन आएको छ।

आज र अबका प्रयत्नहरू
संसारभर नै महिलालाई हेर्ने सामन्तवादी अवधारणालाई पुँजीवादी व्यवस्थाले सहवरण गर्दै आफ्नो बनाइसकेको छ। पितृसत्तावादी अवधारणाले महिलालाई १) सुन्दर प्रजाति, २) भोग्या वस्तु र ३) बौद्धिक एवं शारीरिक असक्षमता भएको प्रजातिको रूपमा देख्छ। पितृसत्तावादले पुरुष प्रजातिलाई शक्तिशाली र शासकको वर्गमा स्थापित गर्छ भने महिलालाई सुन्दर र शासित वर्गका रूपमा। यौनतुष्टी पूरा गरिदिने 'सेक्स टोय' र काम गर्ने 'रोबट'का रूपमा महिलाको समाजमा अन्य परिचय कम छ भने पुरुषचाहिँ भोक्ताका रूपमा चित्रित छ। केटी मान्छे बौद्धिक रूपमा कमसल हुन्छन्, त्यसैले यिनीहरूलाई नेतृत्वदायी भूमिका दिनु हुँदैन भन्ने भाष्य व्याप्त बनाइएको छ। अर्कोतर्फ, केटा मान्छे बौद्धिक र शारीरिक हिसाबले बलिष्ठ हुन्छ, त्यसैले यसैको नेतृत्व र निर्देशनमा सम्पूर्ण समाज अगाडि बढ्नु पर्छ भन्ने बुझाइलाई दह्रो तरिकाले स्थापित गरेको पाइन्छ।

त्यसो हो भने के गर्ने त? पहिलो, पितृसत्तात्मक हैकमवादी अवधारणालाई समतामूलक अवधारणाले विस्थापन गर्ने। दोस्रो, वैचारिक भ्रष्टीकरणद्वारा निर्देशित हुँदै मातृसत्ताको वकालत गर्ने अतिवादीहरूबाट शैशवकालीन महिला मुक्ति आन्दोलनलाई सुरक्षण गर्ने। तेस्रो, महिला मुक्तिको आन्दोलनलाई फुटकर जस्तै: लैंगिक समस्या, प्रजनन अधिकार, घरेलु हिंसा, बलात्कार,आदिलगायतको समस्याको रूपमा मात्रै देख्ने छद्म सुधारवादी र असली पश्चगामी तत्त्वको निर्मम प्रतिरोध गर्नैपर्छ। 

चौथो, महिला मुक्तिलाई सम्पूर्ण मानव मुक्तिको विषय मान्ने र आर्थिक, राजनीतिक तथा सांस्कृतिक पाटापक्षबाट मुक्तिको द्वार ठम्याउने। पाँचौँ, नवयुगको नयाँ जागरणको आन्दोलनमा महिला सहायक नभई मूल हिस्सेदारी शक्ति हुने, साथै यसको अनुपस्थिति र निष्क्रियतामा आन्दोलनको दिशा तय गर्न नसकिने भन्ने वैचारिकीलाई आत्मसात् गर्ने। यी यावत् मुद्दालाई भावुकताको विषय बनाउने होइन। वैचारिकताको कठोर, पहारिलो, पानीढलो हुँदै सुधारवादी र परिवर्तनधारी लैंगिक अल्पसंख्यक, महिला र पुरुष लिंगीलगायत समग्र समाज तीव्र गतिमा अग्रगमनको दिशातर्फ लागौँ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभेच्छा।


क्वान्टम वैज्ञानिक समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य हुन्।


सम्बन्धित सामग्री