Sunday, April 28, 2024

-->

प्रेम-प्रणय: सूत्र होइन, सहयात्रा

चर्चित अनुहारको  क्षणिक आदर्शभन्दा निकै सुन्दर छन् आम मान्छेका संघर्षपूर्ण वैवाहिक जीवनका कहानी।

प्रेम-प्रणय सूत्र होइन सहयात्रा

अहिले प्रणय (विवाह) मौसम हो। अनि अर्को संयोग, यही याममा अंग्रेजी पात्रो र पश्चिमा प्रचलनको ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस) पनि पर्छ। बजारले अहिले त प्रणय सप्ताहसमेत मनाइरहेको छ। आखिर, बजारलाई चकलेट, खेलौना, पुतली र कार्डलगायतका उपहार आदि बेचेर पैसासमेत कमाउनु छ। 

विश्वविख्यात अंग्रेजी कवि जोन किट्सको प्रख्यात पंक्ति छ- ‘अ थिङ अफ ब्युटी इज ए जोय फरएभर।’ यो हरफलाई विश्वेश्वरप्रसाद कोइरालाले गरेको भावानुवादचाहिँ मलाई सबैभन्दा मीठो लाग्छ। कोइरालाले आफ्नो पुस्तक ‘आत्मवृत्तान्त’को कुनै सन्दर्भमा यसरी उल्था यसरी गरेका छन्– ‘क्षणभरको सौन्दर्यानुभूति जीवनभरका लागि आनन्ददायी हुन्छ।’ छोटो, तर कति मीठो! यही मीठो हरफ ‘क्षणभरको सौन्दर्यानुभूत‍ि जीवनभरका लागि आनन्ददायी हुन्छ’ भन्नेवाला 'थिम'को बारम्बार व्याख्याचाहिँ विष्णु सापकोटाकृत उपन्यास ´अडिएका पाइल´मा पनि पढ्न पाइन्छ! 

मान्छेको जीवनमा संघर्ष, दुःख र अप्ठ्यारो कहिले आउला भनेर कुर्नु पर्दैन। संघर्ष, दुःख र असजिलो यस्तो ज्याद्रो चिज हो, यसले मान्छेलाई जसरी पनि खोज्छ र भेटाउँछ। हामीले मिहिनेतपूर्वक खोज्नुपर्ने, भेटाउनुपर्ने र जोगाउनुपर्ने त खुशी र सुख हुन्। जसरी भए पनि ठेगाना पत्ता लगाएर आइहाल्छन् दुःख। त्यसैले हामीले जोगाउनुपर्ने ती चिज हुन् हो, जसले जीवनभर कुनै न कुनै हिसाबले आनन्दित बनाउँछन्। बालापनका सुन्दर सम्झना, पढाइमा पास हुँदाको खुशी, रमाइलो यात्रा, जागिर वा व्यावसायिक शुरूआत र सफलतापछिको खुशी। प्रेम, विवाह, सन्तान, सन्तानप्रतिको माया र उनीहरूको सफलता। 

जीवनका यिनै क्षण नै सुख र खुशी खोज्न सघाउने दियालो हुन्। समाज र साहित्यबारे उत्तर आधुनिक विमर्शको कुरा गर्दा एउटा शक्तिशाली मान्यता के छ भने ‘द इन्ड अफ ग्रेट न्यारेटर’ अर्थात् महान् कथावाचकको अन्त्य। कुनै पात्र विशेषको महान् गाथा लेख्नु, सुन्नु र उक्त गाथाले निरन्तरता पाइराख्नु, त्यो हिजोको कुरा हो। तर अहिले दुनियाँ फरक गतिमा दौडिरहेको छ। महान् नायक (नायकत्व)को पगरी बुन्ने र भत्किने सिलसिला अचेल असाध्यै छिटोछिटो भइरहेको छ। आदर्श व्यक्ति र आदर्श जीवनशैलीका सीमारेखाको निर्माण र विघटनका लागि प्रत्येक व्यक्ति खुलस्त हुनसक्नु, अनि कुनै आममान्छे वा पात्र पनि महान् नायक बन्न सक्छ भन्ने विचार निर्माणको जग नै सायद महान् नायकको अन्त्यको अन्तर्य हो। 

जस्तै: राजनीतिको ठूलो नेताले टेलिभिजन अन्तर्वार्तामा गर्ने दिक्कलाग्दा तर्कभन्दा चिया पसलमा जुटेर गफ गर्दै गरेका आम मान्छेका राजनीतिक गफ र तर्क कहिलेकाहीँ अब्बल हुन्छन्। ‘सेलिब्रेटी’को ताज बोकेको कुनै नामुद कलाकारको कलालाई टक्कर दिँदै कुनै आम मान्छे सामाजिक सञ्जालको खुलामञ्चमा उदाउन सक्छ। धनी, चर्चित, सुन्दर, सम्पन्न र सेलिब्रेटीको प्रेम, विवाह, पारिवारिकका रोचक किस्साभन्दा आम मान्छे र आम जोडीको हुनसक्छ। आम मान्छेका कथा सतहमा आउन पाउनु वा आउन सक्नु नै महान् नायकको अन्त्य त हो नि। होइन र? 

सहयात्रामा सुखभन्दा संघर्ष ज्यादा छ भन्ने मूल कुराकै चर्चा गरौँ। मन पराए पनि नपराए पनि हामी बाँचेको समाजमा प्रेम दिवसका रूपमा भ्यालेन्टाइन डे प्रवेश गरेको छ। पश्चिमा समाजमा प्रेम र विवाहबीचको सामाजिक अनुबन्धन र वैधानिक दूरी निकै कम छ। त्यो दूरीको आयु हाम्रोभन्दा उनीहरूको सरदर छोटो हुन्छ भन्ने बुझिन्छ। हाम्रो समाजमा अझ पनि प्रेम र विवाहबीचको दूरी अलि लामो छ। प्रेम, प्रणय र विवाहलाई एकै ठाउँमा राखेर सम्बन्धको सारांश निकाल्नुपर्‍यो भने तपाईं के रोज्नुहुन्छ? मचाहिँ विवाह रोज्दै छु है। 

प्रेमपछिको विवाह पनि प्रेमकै निरन्तरता हो। विवाहपछि झनै मीठो प्रेम विकसित हुन सक्छ, होइन त? त्यसो भए विवाहलाई प्रेमको वैधानिक संरचना माने पनि भयो। विवाह औपचारिक र वैधानिक संस्कार हो। त्यसो हुँदा विवाहको माध्यमबाट बनेका जोडीको सम्बन्ध पनि औपचारिक हुनुपर्छ? या जोडी आफ्नो दाम्पत्य यात्रामा अनौपचारिक र उदात्त भएको बेस? यसमा मतैक्य हुन त गाह्रो छ, तर मेरो विचारमा अर्धऔपचारिक भनौँ वा अर्धउदात्त हुनुमै बडो आनन्द छ। आफ्नो दाम्पत्य यात्रालाई अर्धऔपचारिक बनाएर हिँड्नुहोस् त, तपाईंको यात्रा सम्बन्धझैँ नभएर साथी साथीझैँ जस्तो बन्ने छ। 

खगेन्द्र संग्रौलाको 'वसुन्धरा' कथाको प्रसंग जोड्न चाहन्छु। संग्रौलाको उक्त कथामा दुई अलग जोडीको जीवनशैली र मनोवैज्ञानिक चर्चा छ। एउटा जोडीको दाम्पत्य यात्रा संघर्ष र नोकझोकसहित खस्रो मिजासपूर्ण प्रेममा चलेको हुन्छ। अर्को जोडीचाहिँ लोकले देख्दा असाध्यै मिठास, सुखद र औपचारिक रूपमा चलेको हुन्छ। श्रीमतीलाई घरको कामबाहेक अरू गर्न नपार्ने श्रीमान्, लगाउन र खान मन लागेको चिज श्रीमानले खोजीखोजी घरमै ल्याइ पुर्‍याउने। श्रीमतीले घुमाउरो इसारामा सिनेमा हेर्ने रहर गर्दा हलमा किन जानु भन्दै डेक र क्यासेट नै किनेर घर ल्याइदिने श्रीमान्। 

खासमा, अलिक नोकझोक र अमिलो-पिरो खालको दाम्पत्य भएका पहिलो जोडीको जीवनमा सम्बन्धको सारांश कहिल्यै नसुक्ने महझैँ कुटकुट जम्मा हुँदै गएको हुन्छ। अनि सुन्दर र सुखद देखिने दोस्रो जोडीको जीवनमा भित्रभित्रै चुक जमेको हुन्छ। कथाको उत्कर्ष र अन्त्य यस्तो हुन्छ कि सुखद र सुन्दर देखिने दोस्रो जोडीको श्रीमती आफ्ना श्रीमानको औपचारिक रवैया र अविश्वासका कारण आफ्नै घरछेउ पर्खाल बनाउन ढुंगा खसाल्ने ट्रक ड्राइभरसँग भागेर वैधानिक श्रीमानसँगको औपचारिक नाता तोड्छिन्। 

अरूका लागि कृत्रिम मिठासमा बाँचिदिनु सजाय हो, आफ्नै लवजमा बाँच्नु र हाँस्नु त्यो सुख हो। कथाको भाषा र सिलसिला फरक थियो होला, मैले बुझेको सार त्यही हो। हामीले देखेका छौँ- नाम, दाम र चर्चाको चुलीमा पुगेका व्यक्तित्वको वैवाहिक जीवन केही समयको सुन्दर कहानीबाट एकाएक बिषाक्तपूर्ण वियोगान्तमा पुगेर टुङ्गिएको। चर्चित अनुहारको  क्षणिक आदर्शभन्दा निकै सुन्दर छन् आम मान्छेका संघर्षपूर्ण वैवाहिक जीवनका कहानी। यदि हामीले आफ्नो प्रेम/वैवाहिक जीवनलाई संघर्ष र सुखको समानान्तर धारमा सन्तुलन बनाएर हिँड्न सकेका छौँ भने हाम्रो सम्बन्ध वा दाम्पत्य साँच्चै आदर्श हो। सफल सम्बन्ध नै खासमा नायकत्व हो। लेखनको सुरुमै संकेत गरेको 'द इन्ड अफ ग्रेट न्यारेटर'को थिम पनि सायद यस्तै हो। 

आदर्श सम्बन्ध कस्तो हुन्छ? अनि जाँच्ने चाहिँ कसरी? सजिलो छ, साना साना कुरामा औपचारिक नबन्ने, बरु ठाक्कठुक्कमै चल्ने। नुहाएर चिसो रुमाल बिस्तारामै छोडेको निहुँमा, तरकारी पिरो बनाएको बहानामा, बच्चालाई पोसाक कस्तो किनिदिने भन्ने विषयमा, सुत्दा घुरेको जस्ता सामान्य कुरामा माथापच्ची परोस् न। बिहानको खाना खाएर चुठ्न नपाउँदै दिउँसोको खाजा के खाने भन्नेमा या निकै मिहिनेत गरेर पकाएको परिकारको प्रशंसा नगरेका कारण एक छिन ठासठुस होस् न। तर आफ्नो जिम्मेवारीमा भने जोईपोइ इमानदार बन्‍नु पर्‍यो: दुवै जनाको आमा बुबाको स्याहार-सत्कार गर्न पाउनुलाई कामका रूपमा नभई कर्तव्यका रूपमा लिनुपर्‍यो। दुई सुन्दर परिवारका दुई हिमनदीको सम्मिश्रणबाट नै विवाहरूपी संस्थाले गंगा यात्रा गर्ने हो।

केही वर्षअघि लेखक सुबिन भट्टराईले गरेको एउटा ट्विट (अहिले एक्स) गरेका थिए, "सबैभन्दा अप्ठ्यारो परेका बेलाको समय सबैभन्दा सजिलै जोसँग कट्छ, यस्तो एकै जना मात्र भए बुझ्नु- जिन्दगीमा अथाह छ।" यस्तै सरल सूत्रहरू हुन्, प्रेम, प्रणय र वैवाहिक सम्बन्धको आदर्श नाप्ने। जीवनमा प्रेम हुनुको अर्थ ठाकठुक नहुनु होइन। कुनै जोडी या दम्पतीले "हामीबीच प्रेम मात्र छ, झगडा या नोकझोक छैन" भन्छ भने त्यहाँ कि त ढाँट छ, कि त प्रेम नै छैन। प्रणय/ विवाह : सूत्र होइन, नरम-गरम, माया र नोकझोक सहितको सहयात्रा हो। 

जोन किट्सको पंक्ति ‘अ थिङ अफ ब्युटी इज् ए जोए फरएभर’मै फर्कन्छु। 

२०६७ पुस १३ गते मंगलबारको बिहान बुटवल, बेलबासको प्रतीक्षालयमा कसैको कलेज बस कुरेर बसेका थियौँ। मणिमुकुन्द क्याम्पसको बस बेलबास चोकमा रोकेपछि दुई कलेज छात्रा ओर्लन्छन्। कलेज ड्रेसमाथि निलो कोट, हातमा मफलर, किताब कापीले लच्किएको ब्याग, फराकिलो निधारसहित हँसिलो अनुहार। छेउको चिया पसलबाट माइलो दाजुले संकेत गर्नु भो- तिम्रो विवाहका लागि प्रस्तावित केटी। मैले पछ्याउँदै गएँ, उनी अघिअघि म पछिपछि। कम्तीमा सय मिटर हिँडेपछि मेरो सन्देहात्मक पिछालाई नम्र शैलीमा प्रतिरोध गर्दै उनले सोधिन्, "तपाईं नयाँ हो यो ठाउँमा? कसैलाई खोज्दै हुनुहुन्छ?" मैले कुनै बनिबनाउ नक्कली उत्तर दिएँ। 

त्यो क्षणभरको जम्काभेट र सवाल जवाफ मेरा लागि नयाँ यात्राको सौन्दर्यानुभूति बन्न पुग्यो। अनि त, त्यही दिनको साँझ उनको घरमै औपचारिक कुराकानीका लागि हामी हाजिर थियौँ। सोही माघ १७ गतेको विवाह उत्सव सम्पन्न गरेसँगै हाम्रा तेह्र वर्ष बितिसके। कवि एवं प्राध्यापक रामप्रसाद ज्ञवालीले कुनै सन्दर्भमा भन्नुभएको थियो, "मेरो सफलता र सुखद जीवनका लागि मेरी आमाको जति शुभेच्छा सायद अरू कसैको छैन, तर मैले आमाको मुखबाट ‘बाबु तँलाई फलानो कामका लागि शुभकामना छ है’ भनेको मैले अहिलेसम्म सुनेको छैन।"  ज्ञवालीको यो भावपरक तर्क मलाई निकै घतलाग्दो छ। सम्बन्धहरूमा धेरै औपचारिकतालाई माथ गर्छ 'ज्ञवाली ज्ञान'ले।  

'भर्चुअल' माध्यममा  शुभकामनाको अर्मपर्म खुबै फस्टाएको छ अचेल। सायद यस्तै बेहोर्नु नपर्ने शुभकामनाको बाढीबाट दिक्क भएर होला, शक्तिशाली कवि विनोदविक्रम केसीले दुई वर्ष अघि एउटा कवितामार्फत 'शुभकामना'लाई फोहोरको नयाँ प्रजातिकै रूपमा परिभाषित गरिसकेका छन्। हामी दुवैले सहर्ष रोजेको र स्वीकार गरेको राजमार्ग हो यो विवाह। हाम्रो यात्रा र राजमार्गमा पर्ने प्रत्येक बिसौनी विशेष छन्, कुनै दिन विशेषको के कुरा? पाउलो कोएल्होका बहुचर्चित किताबमध्ये ´द अल्केमिस्ट` एक हो। त्यसमार्फत कोएल्होले दिएको सन्देश बडो जबरजस्त छ, "सुन्दर चिज आत्मसात् गर्न त्यो चिज आफ्नो निजी हुनुपर्छ भन्ने छैन।" 

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर पढेकाले छेउकै 'केन्द्रीय पुस्तकालय' हाम्रो अखडाझैँ थियो। पुस्तकालयमा ओहोरदोहोर गर्दा सामुन्नेको ´जाकिर हुसेन रोज गार्डेन`को पनि नियमित दर्शन हुने नै भो। त्यो गुलाफ-बगैँचा र त्यसको सौन्दर्य देख्दा "यो बगैँचा आफ्नै भइदिएको भए, आफ्नो सबैभन्दा प्रिय मान्छेलाई उपहार दिन पाए"झैँ लाग्यो। "सुन्दर चिज त आनन्द लिनकै लागि बनेका हुन्, सुन्दर चिजलाई इज्जत गर , माया गर र आफ्नो ठान" भन्ने कोएल्हो-चिन्तनकै प्रभावमा आफ्नी आस्थालाई मोटरसाइकल पछाडि राखेर कीर्तिपुर, केन्द्रीय पुस्तकालय लगेँ। केहीबेर पुस्तकालयमा बिताएपछि बाहिर निस्कियौँ, अनि उनलाई भनेँ, "दस सेकेन्ड आँखा चिम्ल न, मैले तिम्रा लागि विशेष उपहार दिन्छु!" गुलाफ बगैँचाको डिलमा लगेर उनलाई आँखा खोल्न लगाउँदै भनेँ, "यो बगैँचा तिमीलाई मेरोतर्फबाट उपहार भयो, यो गार्डेन अब तिम्रो भयो!" अहिले पनि कहिलेकाहीँ आस्थाले "मेरो रोज गार्डेन हेर्न कीर्तिपुर जाने होइन?" भन्छिन्। 


सम्बन्धित सामग्री