Wednesday, October 16, 2024

-->

बिछोडिएकी जीवनसंगिनीलाई कवितामा बचाइरहेका जोशी

तीन वर्षअघि जोशीको जीवनबाट कदम छुट्टिइन्। त्यसयता लेखनी नै उनको सहारा भएको छ, जहाँ उनी कदमलाई नै लेख्छन्, देख्छन्, पाउँछन्, संवाद गर्छन् र उनकै स्मृतिमा सयर गर्छन्।

बिछोडिएकी जीवनसंगिनीलाई कवितामा बचाइरहेका जोशी
तस्वीरहरू: प्रबिता/उकालो

काठमाडौँ– ८८ वर्षीय संस्कृति शिरोमणि तथा २०५८ सालको मदन पुरस्कार विजेता (अभिनव संस्कृति कोष) हरिराम जोशीको दैनिकी पाटनस्थित घरमै बित्छ। साढे दुईतले घरको पहिलो तलाको पूर्वतर्फ फर्किएको कोठामा बस्ने उनी खाटमा पलेटी कसेर आफ्ना पुस्तक र रचनामै व्यस्त हुन्छन्। खाटनजिकै छेउमा पुरानो टेलिभिजन सेट छ, जुनमा कहिले नेपाल भाषाका गिती भिडियो त कहिले रेस्लिङ च्यानल चलिरहेको हुन्छ। 

त्यसका अलावा किताबका चाङ, औषधीका खात र कदरपत्रले भरिएको उनको कोठा मधुरो प्रकाशमा आफैँ उदासिएझैँ लाग्छ, जसको छाया जोशीको अनुहारमा पनि झल्किन्छ। आँखाले बोलिरहेको उनको उदासिनताको कारण कम्ती पीडादायी छैन।

आम मानिसले बाँचिरहेको भागदौडको जीवनमा जोशीलाई देख्दा लाग्छ, उनको दैनिकी कति सुमधुर, सरल र थकानरहित छ। अर्को तरिकाले सोच्दा लाग्छ, एउटै दैनिकीको निरन्तरता कति विरक्तिलो हुँदो हो। तर जोशी भागदौड र विरक्तताबाट पर छन्। उनलाई आफ्नै कोठा विशेष लाग्छ, यसैमा भएभरको अपनत्व महसुस गर्छन् उनी। 


काखअघि खाटमाथिको ‘फोल्डिङ स्टडी टेबल’को कापीमा कलमले अक्षर कुदेर उनी कविता फुराउने गर्छन्। ती कवितामा तीन अक्षरको एउटा शब्दले स्थान पाइरहेको हुन्छ, ‘कदम’। हामी यसपटक पुग्दा भर्खरै एउटा कविता सकेर आफ्नो नातिलाई प्रिन्ट गर्न लगाएर ल्याएका थिए। कविताको एक अंश यस्तो थियोः

न रुन सक्छु न हाँस्न नै
त्यै पनि म बाँचेको छु
बेताल स्वरूप ढोकामा
लास समान भएर......

जोशीका हरेक कवितामा उनकी स्वर्गीय श्रीमती कदमको नाम कतै न कतै परेकै हुन्छ। जीवनबाट विछोडिएकी श्रीमतीप्रति उनको मायाप्रीति र स्नेह लोभलाग्दो छ। तीन वर्षअघि जोशीको जीवनबाट कदम छुट्टिइन्। त्यसयता लेखनी नै उनको सहारा भएको छ, जहाँ उनी कदमलाई लेख्छन्, देख्छन्, पाउँछन्, संवाद गर्छन् र उनकै स्मृतिमा सयर गर्छन्। 

कदम जीवित छँदैमा उनीबारे लेख्न र पोख्न समय निकाल्ने गरेका जोशीले २०७८ सालमा आफ्नी जीवनसंगिनीका सम्झना र सन्दर्भहरूको विविध पाटो समेटिएको ‘कदम : अभिनव मेरा अनुभूतिहरू’ नामकाे स्मृतिग्रन्थ प्रकाशित गरे। उनीहरूको २०१७ सालमा विवाह भएको थियो। विवाहकै साल उनले कदमको नाममा कविताको सानो पुस्तक लेखे जुन २०२५ सालमा प्रकाशित भयो। त्यसमा २७ वटा कविता छन्। 

कदमका लागि लेखिएका पूर्वार्द्धधदेखि उत्तरार्द्धधसम्मका कवितालाई एकमुष्ट रूपमा ल्याउने जमर्कोमा छन् उनी। “कदमले ८ कक्षाभन्दा बढी पढेकी थिइनन्, मैले उनैलाई सम्झेर लेखेका कविता त्यति बुझ्दैनथिन्, तर सुनेर मुस्कुराइदिन्थिन्,” उनले भने।

६१ वर्षको सहयात्रा
उनको खाटको सिरानपट्टि एउटा कदरपत्र छ, जुन उनको लागि निकै विशेष छ। त्यसो त इतिहासकार भएर उनले धेरै कदरपत्र पाएका छन्। तर उक्त कदरपत्र भने उनकी श्रीमती कदमकेशरीलाई प्रदान गरिएको थियो, इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठ तथा विनोद राजोपाध्यायबाट। 


संस्कृति शिरोमणिको उपाधि पाएका जोशीलाई त्यो शिखरमा पुर्‍याबापत कदमकेशरी जोशीको सम्मानमा कदरपत्र प्रदान गरिएको त्यसमा उल्लेख छ। कदमले पाएको एक मात्र कदरपत्रलाई उनले आफ्नो सिरानीको ठ्याक्कै माथि फ्रेम गरेर राखेका छन्। त्यो कदरपत्र २०७३ सालमा दिइएको थियो। पुरुषप्रधान समाजमा घरायसी कामकाज सम्हालेर योगदान पुर्‍याउने महिलालाई यसरी सम्मान दिएको सायदै पाइन्छ।

“म जे छु, जतिसम्म छु त्यसमा कदमको ठूलो भूमिका छ। उनी हुनु र नहुनुले धेरै फरक पारेको छ,” जोशी भन्छन्, “लेख्नुपर्ने काम धेरै छ, तर लेख्नै सकेको छैन। उनी हुँदैमा थालेको महाभारत कोष पूरा गर्न सकेको छैन।”

जीवनका ६१ वर्ष सहयात्रा गरेको जोशी दम्पतीको विवाह सन्दर्भ पनि रोचक छ। हरिराम इतिहासको परीक्षा दिन बिहान घरको गेटबाट निस्कँदै थिए। त्यही बेला आमाबुवाको साथमा एक युवतीको नूतन अनुहार देखियो। उनले परीक्षा दिएर फर्किएपछि मात्र थाहा पाए कि कदमकेशरी उनै थिइन्। कदमलाई उनले पहिलो पटक देखेको त्यही बेला थियो। त्यसपछि उनीहरूको स्वयम्बर भयो। 

विवाह हुँदा जोशीको उमेर २६ थियो, कदम २४ वर्षकी थिइन्। सालअनुसार दुई वर्षको फरक देखिए पनि उमेरमा १४ महिनाको मात्र अन्तर भएको उनले बताए। “म १९९२ सालको चैतमा जन्मेको थिएँ, उनी १९९४ को भदौमा। जन्मँदा त्यसरी १४ महिनाले मात्र अघि–पछि भएका रहेछौँ।”

कदमको प्रवेशसँगै आफ्नो जीवनको गति अझ सुमधुर भएको उनी बताउँछन्। 

“म लेखिरहन, पढ्न मन पराउने मान्छे, राति अबेरसम्म पनि लेखेर बस्थे। चिया, कफी त दिनको २०–२५ कप खाइरहनपर्ने मलाई,” जोशी सम्झन्छन्, “त्यो बेला अहिलेजस्तो ग्यास थिएन। राति चिया, कफी खान मन लाग्दा आगो सल्काएर पकाइवरि साथमा आलुसमेत तारेर ल्याइदिन्थिन्। अब त मलाई कसले गर्ला त्यसरी माया?”


यसको अर्थ घरपरिवारले माया गर्दैनन् भनेको होइन। तर कदमको अभाव भने महसुस भइरहने उनी बताउँछन्। घरमा आफूलाई भेट्न आउने जो कोही (पाहुना) लाई पनि केही नखुवाई पठाउन नहुने संस्कार आफूले कदमबाटै सिकेको जोशी सम्झन्छन्।  

“घरमा आएका पाहुनालाई कहिल्यै पनि खालीपेट पठाउन नहुने उनको मान्यता थियो,” जोशी भन्छन्, “आफ्नो गच्छेअनुसार पाहुनालाई सत्कार गर्नुपर्छ भन्थिन्। उनी बाँचुन्जेल यहाँ आएका कोही कसैलाई कहिल्यै पनि खालीपेट पठाउनु परेन।” त्यो क्रमलाई अझै पनि निरन्तरता दिने शतप्रतिशत प्रयास जोशीको हुने गर्छ। चिया वा पानी केही नखाई घरमा पुगेका कसैलाई पनि उनी विदा दिँदैनन्। 

सहयात्राका ६ दशक माया र उतारचढावमा बितेको उनी बताउँछन्। श्रीमान्–श्रीमतीको झगडाको प्रसंगलाई भने उनी महादेव र पार्वतीको झगडासँग तुलना गर्छन्। वैवाहिक जीवनमा मायाप्रेमसँगै सामान्य विमति हुनु स्वाभाविक ठान्छन् उनी। सँगै बसेपछि झगडा नहुने भन्ने हुँदैन। यस्तोमा उनी सदैव महादेव र पार्वतीको झगडाका कथाको सहयोग लिन्छन्।

सानातिना झगडा पर्दा महादेवले पार्वतीलाई फकाउन गरेका अनेक यत्न नै रासमय दम्पत्य जीवनको रहस्य भएको उनी बताउँछन्। “तर मैले महादेवले जस्तो पार्वतीलाई फकाउन चार महिनासम्म ताण्डव भने गर्नु परेन,” रसिलो भावमा उनले भने। 

कुराकानीको क्रममा पुनः गम्भीर देखिएका जोशीले सतीदेवी बित्दा महादेवले दक्षप्रजापतिको यज्ञ विध्वंशदेखि बहुलाहाजस्तो भएर हिँडेका कथन सम्झिए। “पार्वतीको आगमनसँगै उनी पुनः शिव बने, नत्र उनी केवल शव थिए। शक्तिबिना शिव शिव होइनन्, शव हुन्, जसलाई बेताल पनि भनिन्छ,” उनी भन्दै थिए, “मैले अघि सुनाएको कविता पनि त्यस्तै हो। म बेताल भइसकेँ, मेरी कदमबिना।”


अघिल्लो वर्षदेखि उनले आफ्नी जीवनसंगिनीको नाममा २५ हजार रुपैयाँ राशिको ‘कदम पुरस्कार’ स्थापना गरी उत्कृष्ट कलासंस्कृतिकर्मी महिलालाई दिँदै आएका छन्। 

डिमेन्सियाले पनि बिर्साउन नसकेको माया
तीन वर्षअघि कदमलाई सुगरसहित डिमेन्सिया देखियो। त्योसँगै उनले बिस्तारै आफन्त र नातागोता बिर्सिन थालेको जोशी बताउँछन्। “आमाबुबा, दाजुभाइ सबैले छाडेर गएको उनी बताउँथिन्, मैले पनि छाडेर जान्छ भन्ने उनलाई लाग्दोरहेछ,” उनी भन्छन्, “कोही पत्रकार तथा साथीभाइ आउँदा ध्यान दिएर हेरे भने उनको अनुहारको भय प्रष्ट देखिन्थ्यो।”

कदमलाई सुगर र डिमेन्सिया भएपछि उनको हेरचाह गर्न घरमै नर्स राखिएको थियो। तर कदम हरिरामलाई एकछिन पनि छोड्न नसक्ने भएकी थिइन्। हिमाल खबरपत्रिकामा प्रकाशित ‘वाह, प्रेम होस् त यस्तो’मा उल्लेख भएअनुसार कुराकानीको क्रममा पनि उनले जोशीलाई छोड्दैनथिन्। 

डिमेन्सिया यस्तो मानसिक रोगको अवस्था हो जहाँ कुनै पनि व्यक्तिको स्मरणशक्ति बिस्तारै क्षय हुँदै जान्छ। यद्यपि कदमले हरिरामलाई कहिल्यै बिर्सिइनन्। बिरामी भएपछि जीवनसाथीप्रतिको उनको माया र लगाव अझ बढ्यो। डिमेन्सियाका बाबजुद मृत्युको अन्तिम समयमा पनि कदम आफूसँगै भएको जोशी बताउँछन्। 

कदमसँग गाँसिएका सम्झनाका बारेमा कुरा गर्दा हरेक कुरा ‘कदम’ हुने उनी बताउँछन्। यद्यपि विशेष लगाव भएको कुनै भौतिक सामग्रीमा भने उनी आफू बसेको खाटलाई लिन्छन्। “मेरी कदम यही खाटमा मेरो आङमा हात राखेर समाधिस्थ भएकी थिइन्। मुत्युको यकिन भने अस्पताल पुगेर मात्र गर्‍यौँ,” उनले कदमसँगको आखिरी पल सम्झिए। 

डाक्टरबाट नचाहेर पनि सुन्नुपरेको खबर जोशीको लागि सैह्य भएन। “म पनि मेरी कदमसँगै जान्छु, मलाई पनि इन्जेक्सन देऊ भनेको थिएँ त्यो बेला,” उनले भने, “तर भनेजस्तो, चाहेजस्तो नहुँदो रहेछ।”


“सहनै नसक्ने हुँदा पनि सहनुपर्ने हुँदो रहेछ, मर्छु भन्दा पनि मर्न नसकिने रहेछ,” तीन वर्षयताको जीवनलाई उनले सारमा सुनाए।

स्मृतिका पाना पल्टाउने क्रममा जोशी अझ भावुक हुँदै गए, “यो घर बनाउन पनि सजिलो थिएन। त्यतिबेला ७५ रुपैयाँको जागिर थियो। सबै कुरा मिलाउनुपथ्र्यो। उनी सँधै मेरो साथमा थिइन्।”

अहिले प्रेमको परिभाषा बदलिएको उनी बताउँछन्। “अधिकांशमा तिमीभन्दा म के कम भन्ने सोच हाबी छ, एकअर्कामा सम्मान छैन। गहिरो प्रेम, लगावको अभाव देखिन्छ, जबकि ती व्यक्ति पारिवारिकभन्दा पनि व्यक्तिगत रुचि, चाहनासँगै प्रेममा परेका हुन्छन्,” उनी भन्छन्, “माया सतही र विकल्पसहित देखिन्छ। हाम्रो समयमा मागी विवाह भए पनि मैले उनीबाहेक अन्यलाई कहिल्यै देखिनँ।” 

कदमको अभावमा निरासिएका जोशी चार महिनाअघि बिरक्तिएर मर्छु भन्ने सोचमा थिए। त्यही बेला उनको कानमा नेपाल भाषाको एउटा गीत ठोकियो। “संगीतले मानिसलाई साँच्चै प्रभाव पार्दो रहेछ। म शब्द, गीत बुझ्दिनँ। मेरो कानले सुन्छ मात्र, अर्थ ग्रहण गर्न सक्दैन। मेरो रोग यही हो,” उनले भने, “बिरक्तिएर मर्छुजस्तो लागेको बेला त्यो गीतको संगीतले ममा ऊर्जा भर्न थालेको महसुस भयो।”

नातिलाई युट्युबमा त्यही गीत लगाइमाग्छन् र सुनेर बस्छन्। गीतले आफ्नो उदास मनमस्तिष्कलाई केही राहत दिइरहेको जोशी बताउँछन्। 

कुराकानीको अन्त्यमा आफ्नी अर्धांगिनी कदमका लागि विवाहका वर्षमा लेखेका पाँच वटा कविता उनले सुनाए। त्यसमध्ये उनलाई सबैभन्दा मन परेको कविताको अन्तिम अनुच्छेद थियोः

अणुमा विश्व हाम्रो आफ्नोको अन्तर्दृष्टिमा निहित छ
नांगो नेत्रले हेरे हिमाल खालि हिँडेको ढिस्कोमै सीमित छ
त्यसैले,
ज्ञानको अन्तर्दृष्टि म चाहन्छु ‘कदम’ को अनि सुकविता
मेरो विज्ञानमा ज्ञानको आवश्यकता छ, दुःखमा पनि संयमता


सम्बन्धित सामग्री