Sunday, April 28, 2024

-->

नेपाली राजनीतिमा 'लेमन जुस' लूट

मुलुकमा भ्रष्टाचार नै एउटा त्यस्तो रसायन भएको छ, जसले विचार, सिद्धान्त, राजनीति आदिबारे आनका तान फरक धारणा भएका नेताहरूलाई पनि सँगै जोडेर राख्न सक्छ।

नेपाली राजनीतिमा लेमन जुस लूट

सन् १९९५। अमेरिकाको पिट्सबर्गमा एक हट्टाकट्टा युवाद्वारा बैंक डकैती भयो। डकैतीको रमाइलो पक्षचाहिँ के भने– ती युवा, म्याकआर्थर व्हीलर, सरासर बैंकभित्र पसे, टेलरलाई बन्दुक देखाए, पैसा लिए, अनि हिँडे। न भेष बदलेका, न अनुहार नै छोपेका। डकैती गर्न यसरी गएका, मानौँ निगरानी क्यामेरामा पनि उनी देखिने छैनन्। रिपोर्टहरूका अनुसार बैंक कर्मचारीले त उनलाई बिनाप्रतिरोध नै पैसा दिए, बरु फुस्किन लागेको हाँसो दबाउने प्रयास गर्दै। यस्तो खुल्लमखुल्ला डकैतीको पटाक्षेप कसरी भयो होला त? अनुमान गर्न गाह्रो छैन। उनी केही समयपछि नै प्रहरीको फन्दामा परी त हाले। 

सोधपुछका क्रममा दिएको बयानले चाहिँ प्रहरीलाई उनले चकित नै पारे– ‘तर, मैले त लेमन जुस लाएको थिएँ त!’ अर्थ थियो, उनले अनुहारभरि कागतीको रस दलेका थिए, तथापि किन अदृश्य भएनन्, कसरी निगरानी क्यामेरामा देखिए? 

उनको त्यो दुस्साहस एउटा हास्यास्पद धारणाको उपज थियो– ‘लेमन जुस’लाई अदृश्य मसीको रूपमा प्रयोग गर्न सकिन्छ भने अनुहारभरि त्यही दल्दा त उनी पनि निगरानी क्यामेराले समाउन नसक्ने गरी अदृश्य हुन पर्ने! कागतीको रसको मसी, जुन तापको स्रोतनजिक नआएसम्म अदृश्य रहन्छ, बनाउने परीक्षण सायद केटाकेटी बेलामा उनले पनि गरेकै थिए।

वर्तमान नेपालमा यस्तो लाग्छ कि जताततै म्याकआर्थर व्हीलरहरू छन्, विशेषगरी दलहरूमा, अझ ठूला दलहरूमा।

दल र नेताहरूको व्यवहार यस्तो छ, मानौँ उनीहरू व्हीलरले झैँ आफ्नो अनुहारमा लेमन जुस पोतेकाले जति नै लूट र दोहनमा लिप्त भए पनि हामीलाई कसैले देख्न सक्दैन भन्ने भ्रममा छन्।

नेपालमा भ्रष्टाचार छ भन्नु अहिले 'अन्डरस्टेटमेन्ट' नै भइसक्यो। पछिल्ला दिन समाचारमा विभिन्न आयतन र स्वरूपका भ्रष्टाचारका घटना उजागर भएकै छन्।

सरल रूपमा भन्दा राजनीति गर्नु भनेकै धन कमाउनु हो र धेरै धन कमाउनु हो, भलै तरिका खराब नै किन नहोस्, भन्ने बुझाइ नेताहरूमा छ। नेताहरू आफैँ भन्छन्, ‘नियमित तवरले कमाएर त चुनाव नै लड्न सकिन्न।’ 

कुन दलका नेताले ‘कति कमाए' भन्ने विषय अब यति सजिलो तरिकाले घर, बजार, चिया पसल, सरकारी अड्डा वा मन्त्रालयमै छलफल हुन्छ कि भ्रष्टाचारको अत्यधिक सामान्यीकरण नै भइसक्यो। खतरनाक कुरो, भ्रष्टाचार मौलाइरहेको छ भन्दा पनि जति भ्रष्टाचार गरे पनि कसले नै के गर्न सक्छ र भन्ने अतिआत्मविश्वास जुन तवरले बढेको छ, त्यो हो। प्रशासन, भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका निकाय, अड्डा, अदालतजस्ता राज्य संयन्त्रलाई आज नेताहरूले म्याकआर्थर व्हीलरको ‘लेमन जुस’ बनाएका छन्, मानौँ कि जति नै भ्रष्टाचार गरे पनि उनीहरू छोपिएकै छन्, देखिएकै छैनन्। 

न्युयोर्क टाइम्सका पत्रकार डेक्लन वाल्सको पुस्तक ‘नाइन लाइभ्स अफ पाकिस्तान’मा एक पाकिस्तानी व्यवसायीसँगको वार्ता प्रसंग छ। ती व्यवसायी भन्छन्, "हेर्नुस्, गेम फिक्स गर्ने ५० तरिका छन्, र यहाँ पाकिस्तानमा ९० प्रतिशत जति गेम फिक्स्ड नै हुन्छन्।" 

नेपालमा अहिले यस्तो लाग्छ कि गेम शतप्रतिशत नै फिक्स्ड छन्। यदाकदा भ्रष्टाचारका मुद्दामा कोही पक्राउ पर्नु या मुद्दा चल्नुलाई नेपाली समाजले ‘सेटिङ नमिलेको’ भन्ने बुझ्छ। जसको सीधा अर्थ के हो भने भ्रष्टाचार समाजको अभिन्न अंग बनिसकेको छ। बरु कुनै विकास परियोजनामा भ्रष्टाचार भएन भनियो भने त्यो अपवाद मानिने स्थिति छ। 

‘भ्रष्टाचारको अन्त्य’ आजका दिनमा सबैको सबैभन्दा प्रिय शब्दावली भए पनि दल र नेताहरूले भ्रष्टाचारको उन्मूलन त के घटाउन पनि सक्छन् भनेर समाजमा कुनै आशा बाँकी छैन। त्यसको एउटा मात्र कारण समग्र संयन्त्र नै भ्रष्ट हुनु हो।

आज जुन दल र नेताहरू राज्य सञ्चालनमा छन्, तिनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि गरेको त्याग अतुलनीय छ। तर, जुन व्यवस्थाले सामाजिक–आर्थिक रूपान्तरण, समावेशीकरण, विकाश, विभेदजस्ता मुद्दा सम्बोधन गर्न सकेन भनेर त्यसलाई बदल्न जुन नेताहरूले आवाज उठाए, उनै नेताले आज तिनै जनसरोकारका मुद्दालाई बेवास्ता गर्दै स्वार्थ निहित राजनीति गर्दा प्रश्न त स्वाभाविक रूपमा तिनैमाथि उठ्छ।  

नेताहरूले गाडी चढ्न हुँदैन, घर बनाउनै हुँदैन, राम्रो खानै हुँदैन भन्ने पक्कै हैन। तर, जनताको हितमा काम गर्छु भनेर राजनीति थालेकाहरूले आफ्नो जीवनशैली कस्तो छ र यसले समाजमा कस्तो सन्देश दिइरहेको छ हेर्नुपर्ने हुन्छ। र, कार्यकर्ताले पनि आफ्ना नेतामाथि प्रश्न गर्नुपर्छ; विशेष गरी आजको जस्तो अवस्थामा, जहाँ जनताका प्रश्न या अनुत्तरित छन् या बेवास्तामा।  

‘लेमन जुस' लूटसँगै अहिले मौलाइरहेको अर्को खतरा ‘लेमन सोसियलिजम’ पनि हो। दोहनको राजनीति यसरी फैलिरहेको छ कि संविधानमा समाजवाद उन्मुख नेपाल बनाउने प्रतिबद्धता गरेका दलहरू अहिले ‘लेमन समाजवाद’को अभ्यासमा लिप्त छन्। राजनीतिकर्मी र केही धनीमानीको समूहले जसरी राज्यसंयन्त्रको व्यापक दुरुपयोग गर्दै नाफाको निजीकरण र घाटाको सामाजिकीकरण गरिरहेको छ, त्यस्तो ‘लेमन समाजवाद’ संस्कृतिले देशलाई झनझन खोक्रो बनाउँदै छ। 

विगत केही समयदेखि नेताहरूले मिलीजुली रक्षा गरिरहेको अर्को विकृत अभ्यास ‘सर्वदलीय सहमति’ पनि हो। ‘सर्वदलीय सहमति’ नेपाली नेताहरूले आविष्कार गरेको मौलिक चरित्रको यस्तो लेमन जुस हो, जसलाई अनुहारमा लगाउँदा आफ्ना हरेक भ्रष्ट क्रियाकलाप जनताको आँखाबाट छोपिन्छ भन्ने उनीहरूलाई लाग्छ। उदाहरण त धेरै छन्, तर एउटा जल्दोबल्दो उदाहरणचाहिँ के हो भने, दुई/दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल थन्किएर बसेका मुलुकमा नेताहरूबीच अर्को एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा गजबको मतैक्य छ। गजब त के छ भने दल, नेता वा राज्यसँग हाल निर्माण सम्पन्न भइसकेका विमानस्थल कसरी उपयोगमा ल्याउने भन्ने नै नीति र योजना छैन। तर फेरि अर्को थप्दा एकअर्काको स्वार्थपूर्ति मज्जाले हुन्छ भन्ने कुरामा भने दलहरूमा प्रचुर प्रष्टता छ।    

मुलुकमा भ्रष्टाचार नै एउटा त्यस्तो रसायन भएको छ, जसले विचार, सिद्धान्त, राजनीति आदिबारे आनका तान फरक धारणा भएका नेताहरूलाई पनि सँगै जोडेर राख्न सक्छ। 

‘हामीले ल्याइदिएको लोकतन्त्रमा तिमीहरू रमाउन पाएका छौ त’ भन्ने भाष्य निर्माण गरेर नेता झन‍्झन् धनी हुँदै र जनता त्यही अनुपातमा गरिब हुँदै जाने जुन बढ्दो क्रम छ, त्यसले व्यवस्थाप्रति क्रुद्ध केही समूहलाई प्रतिगामी भाष्य निर्माण गर्ने राम्रो मौका दिएको छ। तर, लोकतन्त्रलाई जीवन्त राख्ने त आखिरमा जनता नै हुन्।

नेताहरूले आफूलाई जति लेमन जुसमा चोपले पनि वा अड्डा, अदालत, प्रशासन लगायतका राज्यसंयन्त्रलाई नै लेमन जुस बनाएर आफ्ना गलत गतिविधिहरू छोपिएको भ्रममा परे पनि जनताको नजरबाट चाहिँ उनीहरू उम्किन सक्दैनन्। 

जनताले पछिल्ला केही दशकमा आफ्नो विवेक उत्तम तरिकाले प्रयोग गरेकै छन् र आवश्यक परे फेरि पनि गर्ने नै छन्। म्याकआर्थर व्हीलर आफ्नो मूर्खताले गर्दा प्रहरीको फन्दामा परेझैँ, भ्रष्टाचारमा लिप्त जो कोही पनि जनताको कठघराबाट उम्कन पाउने छैनन् नै। नेताहरूले आफूलाई सुधार्नभन्दा पनि लेमन जुसको आडमा दोहन जारी राखे भने जनताले एक दिन उनीहरूको अनुहार मात्र होइन, चरित्र पनि मतदान पेटिकामा देखाउने नै छन्।


सम्बन्धित सामग्री