Sunday, April 28, 2024

-->

नेपाली सुनाखरी प्रजाति ५०० भन्दा बढी: संरक्षण र अनुसन्धान भने कम

नेपालमा धेरैजसो सुनाखरी या त खतरामा परेका छन् या त लोप हुने क्रममा छन्। यस्तो हुनुका मुख्य कारणहरू व्यापार, वासस्थानको नास, आगलागी, भौतिक संरचनाको निर्माण आदि हुन्।

नेपाली सुनाखरी प्रजाति ५०० भन्दा बढी संरक्षण र अनुसन्धान भने कम

मानिसले आफ्नो जीविकोपार्जनका लागि विभिन्न किसिमका वनस्पति प्रयोग गर्ने गरेको हुन्छ। आफ्नो दैनिक प्रयोग मात्र नभएर आयआर्जनका लागि पनि वनस्पतिहरूको उपयोग गर्ने गरिन्छ। संसारमा लगभग ४ लाख ५० हजार फूल फुल्ने प्रजातिका बिरुवा छन्। यी बिरुवालाई वैज्ञानिकहरूले विभिन्न समूह र परिवारमा विभाजन गरेका छन्। संसारमा ६ सयभन्दा बढी फूल फुल्ने बिरुवाका परिवार छन् र ती प्रत्येकको आ-आफ्नै विशेषता छ। फूल फुल्ने बिरुवासँग सम्बन्धित धेरै विभाजित परिवारमध्ये ‘आर्किडेसी’ दोस्रो ठूलो परिवार हो, जसमा लगभग सात सय ३६ ‘जेनेरा’ र २८ हजारभन्दा धेरै प्रजातिका ‘अर्किड’हरू छन्।

नेपालमा सुनाखरी
नेपालमा ६ हजारभन्दा धेरै प्रजातिका फूल फुल्ने बिरुवा छन्। यी सबैमध्ये अर्किडेसी परिवारले दोस्रो ठूलो परिवारको प्रतिनिधित्व गर्छ। अर्किडेसी परिवारमा पर्ने बिरुवालाई अंग्रेजीमा ‘अर्किड’ र नेपालीमा ‘सुनाखरी वा सुनगाभा’ भन्ने गरिन्छ। भक्तबहादुर रास्कोटी र रिता आलेको ‘न्यू स्पेसिस् अफ अर्किड् एन्ड नोट्स अन अर्किडेसी’ लेखअनुसार नेपालमा ५०२ प्रजातिका सुनाखरी छन् भने २०७७ चैत २९ गते ‘हिमाल’ मा प्रकाशित लेखअनुसार कमल मादेनले नेपालमा जम्मा ५०७ प्रजातिका सुनाखरी रहेको उल्लेख गरेका छन्। सुनाखरीका बोटबिरुवा फरक–फरक वासस्थानमा उम्रने गर्छन्। जमिनमा उम्रने सुनाखरीलाई स्थलीय वा ‘टेरीस्टेरियल’ भनिन्छ भने ढुंगामा उम्रनेलाई ‘ढुङ्गयाने’ वा ‘लिथोफाइट’ भनिन्छ। यसैगरी विशेषतः रुखमा वा अन्य बोटबिरुवामा उम्रने सुनाखरीलाई ‘एपिफाइट’ भनिन्छ भने आफू बाँच्नका लागि अन्य बिरुवामा निर्भर भई खाना प्राप्त गर्ने सुनाखरीलाई ‘स्याप्रोफाइट’ अर्किड भनिन्छ। यी विभिन्न प्रकारका सुनाखरीमध्ये नेपालमा सबैभन्दा धेरै एपिफाइट र टेरीस्टेरियल सुनाखरी पाइन्छन्। नेपालमा यिनीहरू करिब ६० मिटरदेखि ५ हजार २ सय मिटरको उचाइसम्म उम्रने गर्दछन्।

संरक्षणको अवस्था
‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि’ अर्थात् ‘साइटिस’ का अनुसार अनुसूची–१ मा नेपालबाट जमिनमा उम्रने सुनाखरी ‘पेफिओपेडिलम् भेनुस्टम्’ समावेश गरिएको छ। साइटिस अनुसूची–२ मा भने अरू सबै प्रजातिका सुनाखरी समावेश छन्। अनुसूची–१ मा पर्ने जुनसुकै प्रजाति लोप हुने स्थितिमा पुगेका र तिनको व्यापार संसारभरि निषेध गरिएको हुन्छ भने अनुसूची–२ मा भने लोप हुने स्थिति नजिक पुगेका र तिनको व्यापारमा नियमन र नियन्त्रण नगरे निकट भविष्यमा लोप हुन सक्ने प्रजातिहरू राखिएका हुन्छन्।

‘वन ऐन २०४९’ र ‘वन नियमावली २०५१’ अनुसार संकलन, प्रयोग, वितरण, ढुवानी र निर्यातका लागि प्रतिबन्धित गरिएको पाँचऔँले वा ‘डक्टाइलोरहिजा हटगिरिया’ संरक्षित अर्किड हो। वन नियमावली २०५१ को तेस्रो संशोधनअनुसार २०६२ सालमा पाँचऔँलेलाई व्यापार गर्न फुकुवा गरिएसँगै प्रतिकेजी निकासी दस्तुर रू. ५०० र पाँचौँ संशोधन २०७० अनुसार निकासी दस्तुर प्रतिगोटा रू. १००० कायम गरिएको छ। अन्य साइटिस अनुसूची–२ मा रहेका जुनसुकै सुनाखरीको निकासी दस्तुर प्रतिकेजी रू. २०० कायम गरिएको छ।

अध्ययन-अनुसन्धानको स्थिति  
सन् १८०२-१८०३ मा बुखानन्-हामिल्टनले शुरू गरेको नेपाली सुनाखरीको अध्ययन-अनुसन्धान नाथानीयल वालिख (सन् १८२०-१८२१) हुँदै डेबिड डन (सन् १८२५) र हालका अन्य प्रख्यात वैज्ञानिकहरूसम्म आइपुग्दा धेरै मात्रामा देखिन्छन्। ती विभिन्न अध्ययन-अनुसन्धानको वर्गीकरण निम्न किसिमले गर्न सकिन्छ। (क) प्रजातिहरूको वर्गीकरण वा नयाँ प्रजातिहरूको रिपोर्ट। (ख) प्राकृतिक स्थिति र स्रोत मूल्यांकन, स्थिति, खतरा, प्रजाति दस्ताबेज, संकलन-व्यापार र संरक्षणसम्बन्धी अध्ययन-अनुसन्धान। (ग) औषधिको रूपमा प्रयोग हुने प्रजातिहरूबारे अध्ययन-अनुसन्धान। (घ) निश्चित प्रजातिको सूक्ष्म जीवाणु र ढुसीविरुद्ध प्रतिरोधात्मक गुण, एन्टिअक्सिडेन्ट गुण, विषाक्त गतिविधि देखाउने अध्ययन-अनुसन्धान। (ङ) विभिन्न रसायनको अध्ययन-अनुसन्धान। (च) सूक्ष्म प्रजनन र विकास-प्रवर्द्धन गर्ने कारकको अध्ययन-अनुसन्धान। (छ) पारिस्थितिकसम्बन्ध विभिन्न अध्ययन-अनुसन्धान। (ज) विविधता र वितरणसम्बन्धी विभिन्न अध्ययन-अनुसन्धान र विभिन्न वातावरणीय कारकहरूको प्रभाव। (झ) आनुवंशिकसम्बन्धी विभिन्न अध्ययन-अनुसन्धान, जसले प्रकार र विविधताबारे जानकारी गराउँछन्। (ञ) झुन्डिएर उम्रने ‘एपिफाइटिक’ सुनाखरीसम्बन्धी विभिन्न अध्ययन-अनुसन्धान। (ट) सुनाखरीको जनसंख्या, परिवर्तनको ढाँचा र दिगो उपयोगसम्बन्धी अध्ययन-अनुसन्धान।

यति धेरै विधामा सुनाखरीको अध्ययन-अनुसन्धान भए तापनि अहिलेसम्म नेपालमा कुनै व्यक्ति वा सरकारी-गैर सरकारीस्तरबाट नेपालमा पाइने सम्पूर्ण सुनाखरी प्रजातिहरूको वानस्पतिक विवरण (अर्किड फ्लोरा) प्रकाशन भएको छैन। अर्किड फ्लोरा प्रकाशनका लागि इंग सून तेओहले लेखेको ‘हिमालय एन्ड दक्षिण एशियाका अर्किड’ महत्त्वपूर्ण सन्दर्भ सामग्री हुन सक्छन्।

नेपालमा धेरैजसो सुनाखरी या त खतरामा परेका छन् वा लोप हुने क्रममा छन्। यस्तो हुनुका मुख्य कारणहरू व्यापार, वासस्थानको नास, आगलागी, भौतिक संरचनाको निर्माण आदि हुन्। नेपालमा २१ वटा संरक्षित क्षेत्र भए पनि संरक्षित क्षेत्रको संख्या र सुनाखरीका प्रजातिबीच नकारात्मक सम्बन्ध रहेको पाइएको छ। त्यसैले नेपालमा सुनाखरीको संरक्षणका लागि तत्काल ठोस पहल गर्नु आवश्यक छ। यो गर्नका लागि हामीले कति सुनाखरीका प्रजाति विभिन्न रूपमा प्रयोग गर्छौं भनेर अनुसन्धान गर्न जरुरी छ। विशेषतः औषधीय गुण भएका र व्यापार गरिने प्रजातिको पहिचान गर्न जरुरी छ। ती प्रजातिको व्यापक रूपमा जनसंख्याको स्थिति र तिनमा देखिने परिवर्तनको ढाँचाको विस्तृत अध्ययनको पनि टड्कारो रूपमा आवश्यकता छ। यसो गर्दा हामीले दिगो रूपमा उपयोग गर्ने विभिन्न  ढाँचा र रणनीतिको विकास गर्न सक्छौँ।

निष्कर्ष
नेपाल सुनाखरी विविधतामा धनी छ। ब्रजेश नन्द वैद्यको ‘नेपाल: ए ग्लोबल हटस्पट फर मेडिसिनल अर्किड्स’ लेखअनुसार कुल १३० प्रजातिका सुनाखरीमा औषधीय गुण पाइन्छ। औषधीय गुण भएका सुनाखरीबाहेक यहाँ अन्य धेरै उपयोगी, महत्त्वपूर्ण, दुर्लभ र रैथाने सुनाखरीका प्रजाति पाइन्छन्। उपयोगका कारण धेरै प्रजातिहरू खतरामा छन्। त्यसैले यिनीहरूको संरक्षण गर्नु अत्यावश्यक छ। यसका लागि सुनाखरी प्रजातिहरूको सैद्धान्तिक र अनुभवजन्य ज्ञानको आवश्यकता छ।


 ‘नेपालमा पाइने सुनाखरीको पारिस्थितिकी र सम्भावित औषधीय गुण’ वियषमा विद्यावारिधि गरेकी तिम्सिना १२ वर्षदेखि ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट,चेक एकेडेमी अफ साइन्सेस, चेक रिपब्लिकमा कार्यरत छिन्।


सम्बन्धित सामग्री