Thursday, February 29, 2024

-->

टिकटकको रस र प्रतिबन्धको बहस

शतकौँदेखि मुठ्ठीभरका अभिजात वर्गको कब्जामा कैदी बन्न पुगेको ज्ञान एवं सूचनाको स्रोत र सत्तालाई विज्ञान प्रविधिको क्रान्तिले निम्न वर्गको पहुँचसम्म पुर्‍याइदिएको छ।

टिकटकको रस र प्रतिबन्धको बहस

प्रेमकुमार गैरे 'क्वान्टम'


टिकटक प्रतिबन्धबारे नेपाली सामाजिक वृत्त मूलतः दुई समूहमा विभाजित छ। कात्तिकको २७ गते साँझ मन्त्रिपरिषद्ले सामाजिक सद्‌भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको जिकिरसहित टिकटक बन्द गर्ने निर्णय गरेको थियो। निर्णयको चौबिस घण्टामा उक्त भिडियो प्लेटफर्म बन्द भएपश्चात् आम सञ्चारमाध्यम, सामाजिक सञ्जाल र भौतिक भेटघाटमा मानिसहरू पक्ष/विपक्षमा विभक्त भई यसबारे बहस र छलफलमा उत्रेका छन्।

सन् २०१६ मा बाईटडान्स लिमिटेडले चीनमा दविन नामक सामाजिक भिडियो प्लेटफर्म सार्वजनिक गरेको थियो। यहीजस्तै म्युजिकल्ली नाम गरेको अर्को प्लेटफर्मसँग २०१८ मा मर्ज भएलगत्तै 'टिकटक' (शाब्दिक अर्थ काउन्टडाउन वा घडीको चालको गन्तीको अनुकरणीय शब्द) प्लेटफर्म विश्वभर शुरू भयो। यद्यपि, चीनमा भने टिकटक नभई दविन नै प्रचलनमा छ। सन् २०१८ मा लोकप्रिय बन्दै गरेको टिकटक कोभिड–१९ को महामारीसँगै विश्वभर प्रचलित भयो। 

६ वर्षको अन्तरालमा टिकटकले समाजका बहुआयामिक क्षेत्रलाई प्रभावित पारेको देखिन्छ। आर्थिक, राजनीतिक र सांस्कृतिक गरी समाजका तीनै क्षेत्रमा टिकटकले पारेको प्रभाव, निम्त्याएको असर एवं उक्त असरको न्यूनीकरणका उपायबारे घोत्लिने प्रयत्न गरौँ:

१) अभिव्यक्तिमा नयाँ माध्यम र सांस्कृतिक बदलाव
सन् २०१८–१९ ताका अमेरिकी र्‍यापर लिल नस एक्सको ‘वर्ल्ड टाउन रोड’ भन्ने गीत टिकटकमार्फत बहुचर्चित बन्न पुगेपछि विश्व संगीत क्षेत्रले नै टिकटकलाई गीतसंगीतको प्रवर्द्धन गर्ने गतिलो माध्यमका रूपमा लिएको पाइन्छ। नि:शुल्क रूपमा आफ्नो कलाकौशल र क्षमतालाई विश्वसामु पुर्‍याउन सकिने हुनाले नवकलाकारलाई यो प्लेटफर्मले निकै महत्त्वपूर्ण भूमिका खेलेको छ। आम जनताको भावनालाई कब्जा गर्दै पुँजीवादी बजारले कलाकार र समर्थकको बीचमा निकै ठूलो फासला निर्माण गर्छ, साथै दुई फरक एवं असमान प्रकारको मानवीय पहिचान थोपर्छ।

विशेष गरी टिकटक लाइभले उक्त दुई पक्षलाई एकै ठाउँमा 'डिजिटल भेट'समेत गराई दिएर अप्राकृतिक रूपमा गाडेको असमानताको जरालाई हल्लाइदिएको छ। क्रमशः 'सेलीब्रेटी' र 'फ्यान'को असमान द्वैध परिचयलाई चिर्दै बुझाइमा एकरूपता र समानता ल्याएको देख्न सकिन्छ। कलाक्षेत्रमा धेरै वर्ष संघर्ष र मिहिनेत गरेर स्थापित हुनुपर्ने पुरानो मान्यताको विनिर्माणमा टिकटकले अहम् भूमिका खेलेको छ।

कुनै गाउँमा राम्रो नृत्य गर्ने २० वर्षे युवाले शहरमा २०औँ वर्ष संघर्ष गरेको र स्थापित भइसकेको अर्को नृत्य गर्ने कलाकारभन्दा छिटो टिकटकमार्फत ख्याति कमाउन सक्ने स्थिति टिकटकले बनाइदियो। संघर्ष र कठिनाइका विभिन्न अवयवलाई पन्छाउँदै उक्त युवा भाइरल बन्न सक्छ र बनेका उदाहरण बग्रेल्ती भेटिन्छन्।

प्रेम एवं सामाजिक सम्बन्ध बदल्दै
भौगोलिक रूपमा फरक र भौतिक रूपमा निकै टाढा भए तापनि टिकटक लाइभमार्फत डिजिटल भेटघाट र परिचयद्वारा प्रेमसम्बन्धमा रहेका जोडीहरू नेपाली समाजमा समेत छिटपुट रूपमा देखिन्छ। नेपालका आयुष र दुबई बस्ने पाकिस्तानकी एलिजको प्रेमजोडीको हालसालै भएको 'इन्गेजमेन्ट' हामीसामु ताजै छ। टिकटक लाइभमार्फत जोडिएर चिनजान गरेका नेपाली गायक सुरेश लामा र उनको कलाबाट प्रभावित भएर निकट सम्बन्धमा रहेकी पाकिस्तानी डा. एलियाको सम्बन्धका उतारचढाव टिकटक लाइभमा देखिने गर्थ्यो। 

हेर्दा सामान्य देखिए तापनि यी केही उदाहरणले सांस्कृतिक, सामाजिक, धार्मिक, भौगोलिक एवं वर्गीय पर्खाललाई गर्ल्यामगुर्लुम ढालिदिएका छन्। विदेशमा एक्लोपन महसुस गरेको कुनै व्यक्ति टिकटकमा लाइभ बसी अन्य मुलुकका साथीसँग भावना साटासाट गरेर मनोरञ्जन लिनसक्छ। यी प्रतिनिधिमूलक घटनालाई विज्ञान र प्रविधिले सामाजिक सम्बन्धमा ल्याएको फेरबदलको दृष्टान्तको रूपमा लिन सकिन्छ।

ज्ञान र सूचना सञ्चारमा क्रान्ति
शतकौँदेखि मुठ्ठीभरका अभिजात वर्गको कब्जामा कैदी बन्न पुगेको ज्ञान एवं सूचनाको स्रोत र सत्तालाई विज्ञान प्रविधिको क्रान्तिले निम्न वर्गको पहुँचसम्म पुर्‍याइदिएको छ। सात हजार रुपैयाँको एन्ड्रोइड वा एक लाखभन्दा माथि मूल्य पर्ने एप्पल मोबाइल फोन बोक्ने दुवै वर्गका उपभोक्तामाझ सञ्चार हुने ज्ञान र सूचनामा कुनै भिन्नता हुन सक्दैन। घाम (प्रकृति)ले वर्ग नछुटाएझैँ प्रविधिले पनि आम रूपमा वर्ग छुटाउँदैन। प्रसारको द्रुतताको दृष्टिबाट हेर्दा हाल ज्ञान र सूचना ध्वनिको धीमा गतिबाट प्रकाशको गतिमा छ। सामाजिक सञ्जालमा नजोडिएको व्यक्तिको छेउछाउ कुनै घटना घटेको छ भने केही मिनेट वा घण्टामा जानकारी पाउन सक्छ, तर जोडिएको व्यक्तिले भने हजारौँ माइल टाढा रहेर पनि उक्त घटनाको सूचना सेकेन्डभरमा थाहा पाउँछ।

पितृसत्तात्मक चिन्तन प्रणालीमा धक्का
महिला उत्पीडन एवं यौनजन्य हिंसाका वर्षौंसम्म लुकाइएका घटनासमेत विभिन्न सामाजिक सञ्जालमार्फत सतहमा आउने गरेका छन्। एक वर्ष पहिले सुस्मिता रेग्मीले टिकटकमार्फत आफूलाई केही वर्ष पहिले सुन्दरी प्रतियोगितामा यौनजन्य हिंसा र शोषण भएको घटना सार्वजनिक गरेपश्चात् त्यस घटनाको पीडक सजाय भोग्न बाध्य भए। सो घटनाको सार्वजनिकीकरण भएसँगै विगतदेखि वर्तमानसम्म यौनहिंसा र शोषणमा परेका नेपाली महिला 'मिटु' अभियानमा निकै सशक्त ढंगले जोडिएको देखिन्छ। यस्ता अभिव्यक्ति स्वतन्त्रतालाई प्रश्रय दिने अभियानले सदियौँदेखि उत्पीडन र हिंसा सहन बाध्य पारिएका महिलालाई बलशाली बनाई शिर उचो बनाइदिने र पितृसत्ताको दम्भलाई पछार्ने काम गरेको छ।

२)आर्थिक क्षेत्र
मूलतः सामाजिक प्लेटफर्महरू अभिजात वर्गको स्वामित्वमा हुन्छन् र एकपक्षीय ढंगबाट उनीहरूले नाफा कुम्लाउँछन्। यसको बाबजुद अन्य वर्गका मानिसले पनि यस्ता प्लेटफर्महरूको प्रयोगद्वारा अर्थोपार्जन गर्ने स्थिति पैदा हुने गर्छ।

श्रमिक वर्गीय पहुँच
विज्ञान र प्रविधिलाई पीडक वर्गले आफ्नो नियन्त्रणमा लिएर उत्पीडितलाई शोषण गर्ने प्रपञ्च रचिरहेको हुन्छ। तर यसको सर्वव्यापकताको विशेषताले गर्दा वर्ग, लिंग, जात वा क्षेत्रको परिधिले रोक्न छेक्न सक्दैन। त्यस कारण श्रमिक वर्गले पनि आफ्नो अनुकूलतामा विज्ञान र प्रविधिलाई आर्थिक गतिविधिमा सामेल गर्न सक्छ। जात व्यवस्थाले थिलथिलो भएको विश्वकर्मा जातको एक युवाले आरनमा फलाम पिट्दै मुक्तक वाचन गर्दै लाइभमा बसेको संसारभरिबाट हजारौँ/लाखौँले अवलोकन गर्छन्। श्रम संस्कृतिको सम्मान गर्नेले 'गिफ्ट' दिएर आर्थिक सहयोगसमेत गर्छन्। जात व्यवस्थाले अछुत र तल्लो स्तरको कामको कोटीमा राखेको व्यक्ति र कामलाई समेत टिकटकले बेरोकटोक पहुँच दिन्छ र संसारभर व्यक्तिको सीप, कला र प्रतिभा उजागर एवं अर्थोपार्जनका निम्ति मद्दत गर्छ।

रोजगारी एवं अवसरको डिजिटल प्लेटफर्म
युट्युब,टिकटक वा अन्य सामाजिक सञ्जालको माध्यम प्रयोग गरी 'कन्टेन्ट क्रिएटर' वा सोसल मिडिया इन्फ्लुन्सरको रूपमा स्थापित हुँदै कुनै युवाले स्वरोजगारको बाटो पक्रन सक्छ। निश्चित व्यापारिक समूहले मिस नेपाल वा अन्य रियालिटी सोको आयोजना गरी एक पात्रलाई विजेता र अन्यलाई उपविजेता आदि घोषणा गर्दै तिनलाई वर्षौंसम्म अनुबन्धित गराई तिनबाट अनेक तरहले नाफा कुम्ल्याउने बजारवादी प्रवृत्तिलाई ध्वस्त पार्न सामाजिक प्लेटफर्महरू सफल भएको देखिन्छ। 

उनीहरूको एकाधिकार तोडेर आम सामाजिक सञ्जाल प्रयोगकर्ताबाट अनुमोदित र स्वीकृत भई अत्यधिक मात्रामा नयाँ पात्रहरू आउने क्रमले समेत पुँजीपति वर्ग अन्योलमा देखिन्छ। अहिले वृद्धावस्थामा पुगेका र आफ्नो युवा कालमा वर्गीय, जातीय र लैंगिक उत्पीडनले कलाकार बन्ने उत्कट चाहनालाई सुषुप्त अवस्थामा दबाएर राख्न कतिपय महिला (मूल रूपमा) बाध्य थिए र छन्।

टिकटकजस्ता भिडियो प्लेटफर्मले 'फर यु पेज'मा संसारभर छरिएका प्रयोगकर्ताका स्क्रिनमा ल्याइदिन्छ 'पाल्पाली शान्ति' जस्ता पात्र। उनको जमानामा गाइने गरेको र अहिले लोपोन्मुख तीज गीत,“आज मैले कपाल कोरे किलिप काँटा ठोकेर, उताबाट बाँदर आयो नानी बोकेर”टिकटकमार्फत क्षणभरमै भाइरल बनिदिन्छ। अमेरिकामा बस्ने नेपालीका नयाँ पुस्तासमेत त्यस्ता गीतमा लिप सिंक गरी नाच्दै  मनोरञ्जन लिने र दिने प्रक्रियामा सामेल हुन्छन्।

व्यापार क्षेत्र
पुँजीवादको उदयसँगै जन्मिएको बजार अर्थात् एकै स्थानमा मुख्य व्यापारिक केन्द्र खडा गर्दै सोही ठाउँमा पसल थापेर सेवा कम र नाफा धेरै कुम्ल्याउने दाउमा बसेका व्यापारीलाई चौपट अवस्थामा पुर्‍याइदिएको छ अनलाइन व्यापार प्रणालीले। काठमाडौँको मुख्य व्यापारिक केन्द्रका विक्री कक्ष भटाभट बन्द भइरहेका छन् भने छेउकुनामा रहेका पसलले टिकटक र अन्य सामाजिक प्लेटफर्ममार्फत भौतिक वा अनलाइनबाट 'होम डेलिभरी'को सुविधासहित टाढा–टाढासम्म सामान विक्री गर्न सक्ने अवस्था सिर्जना बनेको छ। 

बढ्दो डिजिटल मुद्राको प्रचलनका कारण युरोपका विभिन्न व्यापारिक केन्द्रमा एटीएम बुथ बन्द हुन पुगेको छ। अनलाइन र डिजिटल मार्केटको प्रभावकारिता एवं बढ्दो वर्चस्वका साथै उपभोक्ताको आकर्षणका कारण पुरानो व्यापार शैली र रणनीतिक पहलहरू धरमराएको पाइन्छ। तर, यसबीचमै उपभोक्तावादी संस्कृतिले निम्त्याएको समस्यालाई भने अनदेखा गर्नु कदापि जायज ठहरिँदैन।

३)राजनीतिक क्षेत्र
सन् २०२० मा माइक्रोसफ्टले टिकटकको अल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्सलाई आफ्नो स्वामित्वमा राख्ने प्रस्तावलाई बाइटडान्सले अस्वीकार गरेसँगै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई संयुक्त राज्य अमेरिकाको धेरै राज्यहरूमा सुरक्षा संयन्त्रमा एवं डाटा चुहावटको खतरा औँल्याउँदै सरकारी डिभाइसहरूमा प्रतिबन्ध लगाएका थिए। चीनसंग लद्दाक क्षेत्रमा सीमा विवाद भएलगत्तै भारतले पनि योसहित अन्य धेरै चिनियाँ एप्सहरूको प्रयोगमा राष्ट्रिय सुरक्षा चासोलाई मध्यनजर गर्दै २०२० मै पूर्ण रूपमा रोक लगाएको छ। त्यसैगरी अफगानिस्तानमा तालिबानले २०२२ मा सत्ता कब्जा गरेसँगै युवा पुस्तामा नकारात्मक असर पार्ने भन्दै यसलाई बन्द गराएको देखिन्छ। कतिपय युरोपियन मुलुकमा समेत आंशिक रूपमा यसको प्रतिबन्ध लगाइएको पाइन्छ।

४) विकृतिका उद्दण्डता र प्रयोगमा संयम

लाइभमा गिफ्टको बिगबिगी
टिकटक लाइभमा बस्ने 'होस्ट' र 'गेस्ट'को डलरको ध्याउन्नले सिर्जनशीलतामा ह्रासका साथै उच्छृंखलतामा बढवा दिएको देखिन्छ। गिफ्ट पाउने व्यग्र इच्छामा खेल खेल्ने र हार्नेलाई अनावश्यक सजाय दिने प्रचलन मौलाएको छ, जुन न त कुनै सिर्जनात्मक काम हो न उपयोगी। चौबिसै घण्टा लाइभ बस्ने कुलतले आम युवा वृत्तमा निम्तिएको मानसिक एवं सामाजिक समस्यालाई समाधान नगर्ने हो भने भयावह स्थिति आउन पनि सक्छ।
विषयान्तरको समस्या
कुनै एउटा प्रसंगमा बोलिएको र कैद गरिएको भिडियो सामग्रीलाई छोटो बनाउँदा विषयान्तर हुन जान्छ र कतिपय अवस्थामा बिब्ल्याँटो बनिदिन्छ, जसले अनेकौँ अप्ठ्यारो परिस्थिति निर्माण हुन्छ। यो खतरालाई सचेत एवं संयमित ढंगले हेरिनु र बुझिनुपर्छ। तर धेरैजसो टिकटक प्रयोगकर्तालाई केबल धेरै भ्युज बटुलेर हिट हुने लोभ भएकाले जेसुकै सामग्री पोस्ट गर्ने अभ्यास छ।

अल्गोरिदम र एआईमा संशय
टिकटकलाई सञ्चालन गर्ने बाइटडान्सका मालिक झाङ यिमिङ चीनका दोस्रो धनी अरबपति हुन्। उनी कुनै समय माइक्रोसफ्टका समेत कर्मचारी भएकोले सोसम्बन्धी पर्याप्त ज्ञान र छिद्रको सूचना प्राप्त व्यक्ति हुन्। सोही कारण, पश्चिमा शक्ति र यसका पक्षधर राष्ट्रहरूले टिकटकलाई डाटा चुहावट र साइबर सुरक्षाका दृष्टिले विश्वसनीय मान्न सकिरहेका छैनन्। 

अन्य सामाजिक प्लेटफर्मको दाँजोमा टिकटकको अल्गोरिदम् र एआई निकै जटिल प्रकृतिको देखिन्छ। जस्तो किसिमको भिडियो प्रयोगकर्ताले हेर्छन्, उस्तै प्रकृतिका अनगिन्ती शृंखलाबद्ध भिडियो निरन्तर प्रकट भइरहन्छन्। एक मिनेटको निम्ति छिरेको प्रयोगकर्ता समय बितेको थाहै नपाई एक घण्टासम्म दुर्व्यसनीसरह झुम्मिएर बस्छ। कल्पनै नगरिएको र जेसुकै सामग्री कहिलेकाहीँ स्क्रिनमा आइपुग्छ। अर्को प्रश्न यसका सञ्चालकलाई, अन्य मुलुकमा चाहिँ टिकटक र आफ्नो मुलुकमा चाहिँ दविन सञ्चालन गर्नुपरेको किन? टिकटकमा उमेरको हदबन्दीलाई कडाइ नगर्ने, तर दविन प्रयोगकर्तालाई भने उमेर र हेर्ने समयको पाबन्दी लगाउनु पर्ने किन? यी र यस्ता निकै गम्भीर प्रश्न टिकटकसामु छ।

भावनात्मक समाजमा उत्तेजनाको सहायक
अधिकांश भारतीय रियालिटी शोमा एउटा नेपालीलाई 'फाइनल टप टेन'मा लगिन्छ र कतिपय अवस्थामा विजेता घोषितसमेत गरिन्छ। त्यसै गरी नेपालमा प्रचलित त्यस्ता शोमा समेत आदिवासी जनजाति र दलित समुदायको व्यक्तिलाई फाइनलसम्म पुर्‍याउने गरेको दृष्टान्त हामीमाझ छ। उत्पीडित समुदायको भावना एवं सम्प्रदायको विषयले निकै छिटो उत्तेजित पार्ने मनोविज्ञान बुझेका आयोजकहरूले धेरै जनसंख्या भएका उत्पीडित समुदायलाई सहज रूपमा आर्थिक शोषण गर्छन्, तर तार्किक हुने गरेका पीडक वर्गलाई भने त्यति सजिलो हुँदैन। यही किसिमको फन्डा टिकटकमा पनि लाइभ वा कन्टेन्ट क्रिएटरले इन्फ्लुएन्सरमार्फत मच्चाएर ठगीधन्दा चलाउँछन्।

आर्थिक सवाल मात्र नभएर सामाजिक रूपमा विद्वेष, भड्काउ, उद्दण्डता एवं उच्छृंखलता फैलाउन पनि टिकटकजस्ता सर्वसुलभ र व्यापक सञ्जालले प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्छन्। मधेशमा केही पहिले रच्न खोजिएको धार्मिक दंगामा पनि टिकटकको भरपुर उपयोग गरिएको सुरक्षा निकायहरूले बताएका थिए। 

समष्टिमा, टिकटक प्रतिबन्धबारे सरकारको निर्णय निकम्मापना र गैरजिम्मेवारीपन हो। यसको प्रयोगमा आएका विभिन्न समस्यालाई नियमन एवं  नियन्त्रणका उपायको खोज र अनुसन्धानमा लाग्नुको साटो हठात् बन्दको प्रपञ्च रचेर जनतालाई प्रविधिगत पहुँच र प्रयोगमा वञ्चितीकरण गर्नु गलत हो। ०६२ मा ज्ञानेन्द्र शाहले टेलिफोन एवं एफएम रेडियोको समाचारमा र हालको सत्ताले टिकटकमा लगाएको प्रतिबन्धमा तात्त्विक भिन्नता भेटिँदैन।

प्रवृत्तिगत विकृतिलाई बन्द गर्नु र प्रविधिगत विकासलाई रोक लगाउनु एउटै विषय हुन सक्दैन। उक्त प्रतिबन्धपश्चात् पनि भीपीएन र डीएनएसमार्फत नेपालमा टिकटक प्रयोग भइरहेकोले व्यक्तिगत डाटा तथा विवरणको चुहावट एवं अवैध बैंकिङ कारोबारको खतरा झनै बढेको छ। विद्रूप चेतनालाई क्रमशः उन्नत चेतनाको भट्टीमा गालेर सुन्दर स्वरूपमा रूपान्तरण गर्नु प्रगतिशील सत्ताको दायित्व हो। आम जनतालाई अभिव्यक्ति स्वतन्त्रताको हकबाट वञ्चित एवं बहिष्कृत गर्नु लोकतन्त्रको उपहास हो। काल चेतनालाई अनदेखा गर्नु हो।


गैरे वैज्ञानिक समाजवादी पार्टीका पूर्वसदस्य हुन्।


सम्बन्धित सामग्री