Monday, April 29, 2024

-->

टिकटकमाथि प्रतिबन्धको असर ‘भर्चुअल’ व्यापारमा

टिकटकका माध्यमबाट चलेको व्यापारले आत्मनिर्भर भई रोजगारी पनि दिइरहेकाहरू सरकारले संवेदनशीलता नदेखाएको गुनासो गर्छन्। तर यस्ता माध्यमबाट मात्र चलाइएका व्यवसाय करको दायरामा नआएको सरकारी अधिकारी बताउँछन्।

टिकटकमाथि प्रतिबन्धको असर ‘भर्चुअल’ व्यापारमा

काठमाडौँ– सामाखुसीस्थित ‘ज्याकेट हाउस’का सञ्चालक पासाङ तामाङ आफ्नो स्थापित भइसकेको व्यवसायको भविष्य नदेखेर चिन्तित बनेका छन्। सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल ‘टिकटक’को माध्यमबाट बजार प्रवर्धन गर्दै ग्राहकसँग जोडिएका व्यवसायीमध्ये उनी पनि एक हुन्। 

करिब साढे ८ हजार ‘फलोअर्स’ र झन्डै ७० हजार ‘लाइक्स’ भएको ‘ज्याकेट हाउस’ पेज टिकटक बन्द भएसँगै अवरुद्ध छ। आफ्नो व्यवसायको माध्यमलाई सरकारले बन्देज लगाएकोमा उनी असन्तुष्ट छन्। पारिवारिक एकता र सामाजिक सद्‍भाव बिथोलिन नदिन बन्द गर्नुपरेको भन्ने सरकारी दाबीबारे तामाङ भन्छन्, “यसको राम्रो पक्षलाई बलियो बनाएर नराम्रो पक्षलाई नियमन र नियन्त्रण गर्दै जानुपर्नेमा एकै पटक बन्द गर्नु मनासिब होइन।”

सरकारको निर्णयले व्यवसायी र सेवाग्राही दुवैलाई असर पारेको ‘भर्चुअल’ माध्यमबाट काठमाडौँमा भाडाका फ्ल्याट र कोठा खोजिदिने व्यवसाय चलाइरहेका अर्का एक टिकटक प्रयोगकर्ताले बताए। “कोठा खोजेर भिडियो नै देखाइदिन र लोकेसनदेखि भाडासम्बन्धी जानकारी पनि राखिदिन हामीलाई सजिलो थियो,” टिकटकमा ३० हजारभन्दा बढी फलोअर्स भएका तर आफ्नो नाम सार्वजनिक गर्न नरुचाउने ती व्यवसायीले भने, “ग्राहकलाई पनि घरमै बसिबसी कोठा/फ्ल्याट छान्न पाउने सुविधा टिकटकले दिएको थियो।”

त्यो व्यवसाय दर्ता भई करको दायरामा आए/नआएको प्रश्नमा भने उनी बोल्न चाहेनन्। 

पछिल्लो समयमा व्यवसाय गर्ने वैकल्पिक उपायको रूपमा समेत टिकटकको प्रयोग बढिरहेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य स्मरण गर्छन्। उनका अनुसार दर्ता व्यवसाय सञ्चालन गर्नेहरूमध्ये पनि कतिपयले पसल खोलेर व्यापार गर्ने स्थिति नहुँदा टिकटकलाई प्रयोग गरिरहेका थिए। करिब ३० प्रतिशत पसल दर्ताबिना सञ्चालनमा रहेजस्तै टिकटकमा आधारित व्यवसाय पनि सरकारको औपचारिक दायरामा आएका र नआएका दुवै थरी रहेको उनको बुझाइ छ। 

वज्राचार्य भन्छन्, “टिकटक घरेलु उत्पादन बिक्रीको माध्यमसमेत बनेकाले बीचमा बसेर नाफा गर्ने तह नहुँदा उपभोक्ताले सस्तो मूल्यमा वस्तु वा सेवा पाउने अवस्था बनेको थियो। पसलको भाडा, ढुवानी खर्च र अरू सञ्चालन खर्च घट्दा मूल्य पनि तुलनात्मक रूपमा कम भएकै कारण टिकटक हेरेर सामान किन्ने उपभोक्ता बढेका थिए।”

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको जानकारी पाएपछि यो विषयले सामाजिक सञ्जालहरूमा निकै चर्चा पाइरहेको छ। सरकारको निर्णयको समर्थन र विरोधमा बाँडिएर बहसहरू भइरहेका छन्। सामाजिक सञ्जालहरूलाई निषेधभन्दा नियमनको दायरामा ल्याउनुपर्ने तर्क पनि उठिरहेका छन्।

नेपालमा टिकटक प्रयोग भएका मोबाइल फोनको तथ्यांक राख्ने प्लाटफर्म ‘स्टार्ट आईओ’का अनुसार देशभर यसका २२ लाख प्रयोगकर्ता छन्। तीमध्ये व्यावसायिक गतिविधि प्रवर्धनको माध्यमका रूपमा यसको उपयोग गर्नेहरूको संख्या पनि उल्लेख्य मात्रामा बढिरहेको थियो।

अनौपचारिक अर्थतन्त्रको जोखिम कति?
सरकारी प्रणालीमा दर्ता नभई टिकटकजस्ता समाजिक सञ्जालबाट कारोबार र आर्थिक गतिविधि गर्नेहरूका कारण अनौपचारिक अर्थतन्त्र हाबी भएको कतिपय आर्थिक मामिलाका जानकारहरूको भनाइ छ। नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेल भन्छन्, “कहीँ दर्ता नभइकन टिकटकजस्ता माध्यमबाट चलेको व्यवसाय अनौपचारिक अर्थतन्त्रको हिस्सा बन्न जान्छ। किनभने त्यस्तो व्यवसाय करको दायरामा आएको हुँदैन।”

त्यस्तो व्यवसायको विज्ञापन गर्दा विदेशिने पैसा पनि अनौपचारिक माध्यमबाट बाहिर जाने पोखरेल बताउँछन्। उनले भनेजस्तै घरमै सामान राखेर व्यावसायिक फर्म दर्ता नगरी टिकटकको माध्यमबाट व्यापार गरिरहेका पेजहरू पनि सञ्चालनमा थिए। त्यसरी चलेका व्यवसायसँग प्रतिस्पर्धा गर्दा बजार अस्वस्थ भएको उद्यमी हिमाल अलीको अनुभव छ। रेडिमेड ज्याकेट उद्योगका सञ्चालक अलीका अनुसार उनको कुनै बिक्री कक्ष छैन। अनलाइन माध्यमबाटै सामान बेच्ने उनी ‘हाइफेसन नेपाल’ नामको पेज चलाउँछन्, जसमार्फत् जोडिएका अरू १५ भन्दा बढी व्यापारिक फर्महरूलाई उत्पादन आपूर्ति गरेर नै उनको उद्योग टिकिरहेको छ।

“व्यापार टिकटक र अरू अनलाइन एपहरूमा निर्भर छ। सीमावर्ती क्षेत्रका केही उत्पादनकर्ताले हामीले लिनेभन्दा निकै कम मूल्य राखेर सामान बिक्रीको लागि आफ्नो पेजमा हालिरहेका हुन्छन्,” अलीले भने, “उनीहरू सीमा पारिबाट सामान ल्याउने र वारि फिटिङ गरेर बिक्रीको लागि टिकटकजस्ता माध्यमको प्रयोग गर्ने भएपछि, बजारमा अस्वस्थ्य प्रतिस्पर्धाको अवस्था पनि छ। 

दर्तावाला व्यवसायी पनि उत्तिकै प्रभावित
नेपालका ठूला–साना शहरदेखि दूरदराजका बजारहरूमा पनि व्यवसायी र ग्राहकको बीचमा सम्पर्क माध्यमको रूपमा टिकटक प्रचलित थियो। टिकटक बन्द भएपछि त्यसरी भइरहेको व्यापार नराम्ररी प्रभावित भएको वीरगन्जमा बालाजी मोबाइल सेन्टर सञ्चालन गर्ने विजयकुमार कलवार बताउँछन्। घरायसी प्रयोजनका सरसामानदेखि घरजग्गा कारोबार तथा तयारी खानासम्मको व्यापारलाई ग्राहकसँग जोड्ने माध्यम बनेको टिकटक बन्द हुँदा व्यवसायी र उपभोक्ता दुवै पक्ष मारमा परेको उनको भनाइ छ। 

टिकटकमा १७ हजारभन्दा बढी फलोअर्स बनाएका कलवार भन्छन्, “मेरा ग्राहकमध्ये आधा जति टिकटकबाट आउने गरेका थिए। वीरगन्ज र आसपासका ग्राहक त्यत्तिकै आए पनि रौतहट र सर्लाहीसम्मका ग्राहक टिकटक हेरेर नै हामीकहाँ आउने गरेका थिए।” 

व्यापार प्रवर्धन गर्न अन्य सामाजिक सञ्जालमा जस्तो ‘बुस्ट’को लागि पैसा खर्चिनु नपर्ने र टिकटकमा राखिएका सामग्री साथी नबनेका प्रयोगकर्तासम्म पनि निर्बाध रूपले पुग्ने भएकाले यो माध्यम सबैभन्दा बढी प्रभावकारी भएको कलवारको अनुभव छ। टिकटकका माध्यमबाट चलेको व्यापारले आत्मनिर्भर भई अरूलाई रोजगारी पनि दिइरहेका व्यवसायीप्रति कत्ति पनि संवेदनशीलता नअपनाई सरकारले बन्देज लगाउनु दुखद् भएको प्रतिक्रिया उनीजस्ता अन्य व्यवसायीले पनि दिएका छन्। 

काठमाडौँको वसन्तपुरस्थित ‘सारिका कलेक्सन’ले रेडिमेड कपडाको व्यापार प्रवर्धनका लागि २९८ वटा भिडियो टिकटकमा राखेको थियो। यसको टिकटक अकाउन्टमा साढे ४७ हजार फलोअर्स र ६ लाख ६९ हजार लाइक्स थिए। केहीलाई रोजगारी पनि दिइरहेको उक्त पसलका सञ्चालक नकुल ढुंगाना सरकारी निर्णयले दुःखी छन्। “आजको समयमा व्यापार सामाजिक सञ्जालबाट नै हुने हो,” उनी भन्छन्, “त्यसमध्ये पनि सबभन्दा बढी चलेको टिकटक नै बन्द गरिदिएपछि कैयौँको रोजीरोटी प्रभावित हुने नै भयो।”

उनले भनेजस्तै अहिले व्यापारचक्र नै सामाजिक सञ्जालमा निर्भर भएको उदाहरण पनि भेटिन्छ। काठमाडौको कलंकी चोकमा केही युवा मिलेर ‘ज्याकेट फ्याक्ट्री’ भन्ने शोरुम खोले। गत भदौ २५ गतेदेखि टिकटक अकाउन्ट बनाएर उनीहरूले ४३ वटा भिडयो अपलोड गरी झन्डै साढे ८ हजार फलोअर्स र ४७ हजारभन्दा बढी लाइक्स बटुलेका थिए। शोरुमसम्म आउने अधिकांश ग्राहक टिकटकबाटै जोडिएका थिए। 

उक्त पसलमा बिक्री हुने ज्याकेट, विन्डचिटर र अरू कपडा नजिकैको ‘सियोधागो रेडिमेड उद्योग’ले आपूर्ति गर्दै आएको थियो। त्यहाँको उत्पादन अरू एक दर्जनभन्दा बढी टिकटकमा आधारित बिक्रेताले होलसेलमा खरिद गर्थे। कारखानाले २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो। यसरी टिकटकबाट एउटा व्यापार चक्र नै चलेको थियो जुन अहिले खलबलिएको त्यसमा जोडिएका व्यवसायीहरू बताउँछन्। 

‘डिजिटल मार्केटिङ’मा किन बढ्यो टिकटकको क्रेज?
नेपालमा प्रचलित सामाजिक सञ्जाल र फराकिलो जनसमूहमा सञ्चार गर्न प्रयोग भइरहेका उस्तै प्रकृतिका एपहरूको संख्या एक दर्जनभन्दा बढी छन्। गुगल, फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, थ्रेड, एक्स, व्हाटस्एप, भाइबर, इमोजी, विच्याटजस्ता माध्यमलाई टिकटकले उछिन्न पुग्यो। रमाइलो गर्नेहरूले रुचाएजसरी नै यो सञ्जालले ‘डिजिटल मार्केटिङ’को मुख्य माध्यमकै रूप लियो। यसो हुनुको पछाडि एउटा खास कारण रहेको डिजिटल मार्केटिङका जानकार अनुप घिमिरे बताउँछन्।

उनी भन्छन्, “डिजिटल मार्केटिङका लागि प्लाटफर्महरू प्रशस्तै भए पनि पैसा नहालिकन धेरैभन्दा धेरै मानिससम्म पुग्ने माध्यम टिकटक नै हो। किनभने गुगल, मेटा वा एक्समा समय, मेहनत वा पैसा खर्च नगरी अर्गानिक रिच पाउन गाह्रो हुन्छ। तर टिकटकले अतिरिक्त लगानीबिना नै तत्काल ठूलो समूहमा पुर्‍याइदिन्छ। त्यसको बनावट नै त्यस्तै छ।” 

डिजिटल मार्केटिङका अरू माध्यममा पैसा हुनेले मात्र पहुँच पाउने अवस्था रहेकोमा टिकटकले त्यो सीमा मेटिदिएको घिमिरेको बुझाइ छ। “स्टार्टअप व्यवसाय शुरू गर्ने व्यक्तिको लागि टिकटक किन प्रभावकारी थियो भने कन्टेन्ट र प्रडक्ट राम्रो भएमा त्यसले चाँडै नै लक्षित समूहमा पहुँच पाइहाल्थ्यो,” उनले भने, “टिकटक नै बन्द भएपछि त डिजिटल मार्केटिङ् गर्न पहिलेजस्तै खर्चिलो हुने भयो नि।”

दर्ता नगरी टिकटककै भरमा व्यवसाय सञ्चालन गर्दा अनौपचारिक अर्थतन्त्र हाबी हुने भनी गरिएका टिप्पणीप्रति घिमिरेको दृष्टिकोण फरक छ। उनी भन्छन्, “व्यवसाय फस्टाउन पहिला कारोबार बढाउनुपर्छ। संसारको जुनसुकै अर्थतन्त्रलाई चलयमान बनाउने साना र मझौला व्यवसायले नै हो। बजारलाई हेर्दै, अनुभव गर्दै शुरू हुने त्यस्ता व्यवसाय बिस्तारै दर्तामा जाने हो। नेपालजस्तो गरिब देशमा यो विषयलाई हाम्रै अवस्थाअनुसार हेरिनु पर्थ्यो।”

टिकटकमा आधारित व्यवसायलाई अरू माध्यमबाट व्यवस्थापन गर्न कम्तीमा ६ महिनाको समय दिनु पर्नेमा मानिसहरू तिहार मनाइरहेका बेला सरकारले अचानक यसलाई बन्द गरिदिनु भनेको व्यवसायको घाँटी निमोठ्नु सरह भएको घिमिरेको प्रतिक्रिया छ। यसबाट चलयमान अर्थतन्त्र घट्दा देशलाई घाटा भएको उनी दाबी गर्छन्।

विद्युतीय व्यापारका लागि कानून बन्ने क्रममै
सामाजिक सञ्जालको माध्यमबाट गरिने व्यवसाय नियमन गर्न ‘विद्युतीय व्यापार विधेयक, २०८०’ कात्तिक १६ गते राष्ट्रियसभाबाट पारित भएको थियो। प्रतिनिधिसभाबाट पारित र प्रमाणीकरण हुन बाँकी रहेको विधेयकको दफा २ मा विद्युतीय व्यापारलाई परिभाषित गरिएको छ। 

सोही दफाको उपदफा (ट)मा भनिएको छ, “विद्युतीय प्लाटफर्म भन्नाले कम्प्युटर, मोबाइल वा यस्तै प्रकृतिका विद्युतीय उपकरणको प्रयोग गरी वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट लगायतका माध्यमबाट सूचना संकलन, सम्प्रेषण वा संग्रह गरी वस्तु वा सेवाको कारोबार गर्ने प्रयोजनको लागि बनाइएको प्रणाली सम्झनु पर्छ।” 

त्यस्तै, उपदफा (ठ)मा ‘विद्युतीय व्यापार (ई–कमर्श) भन्नाले विद्युतीय प्लाटफर्म मार्फत् कुनै वस्तु वा सेवाको खरिद वा बिक्री गर्ने प्रक्रिया सम्झनुपर्छ’ भनिएको छ। विद्युतीय व्यापारलाई सहजीकरण तथा नियमन गरी व्यवस्थित र कानूनसम्मत बनाउने प्रावधान विधेयकमा समेटिएको यसको व्याख्यात्मक टिप्पणीमा उल्लेख छ। 

सामाजिक सञ्जालमाथि नियमन गर्नकै लागि ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका’ गत बिहीबार मात्र मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। त्यसको चार दिन नबित्दै सोमबार सरकारकै अर्को निर्णयबाट टिकटक बन्दको घोषणा भएको हो। 

टिकटकको प्रयोगमा तत्काल रोक लगाइएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यससम्बन्धी व्यवस्था मिलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताएकी थिइन्। त्यसलगतै मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो। 

सामाजिक सञ्जालहरू आफैँमा अन्तर्राष्ट्रिय स्तरमा आर्थिक उपार्जन गर्ने उद्योगको रूपमा क्रियाशील छन्। नेपालमा सञ्चालित सामाजिक सञ्जालहरू पनि कानूनी रूपमा दर्ता हुनुपर्ने प्रस्ताव संसद्‍मा विचाराधीन विधेयकमा गरिएको छ। तर त्यसले कानूनी मान्यता पाउन कम्तीमा पनि संसद्को आगामी अधिवेशनसम्म पर्खनुपर्ने छ।


सम्बन्धित सामग्री