Friday, December 13, 2024

-->

सामाजिक सञ्जालमा बालबालिकाको अनुहार देखाउँदा के कस्ता जोखिम आइपर्छन्?

फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालका पोस्टहरूमा आफ्ना बालबालिकाको अनुहार लुकाउनुले प्रविधिको क्षितिजमा के भइरहेको छ भन्ने अनुमान संसारका हरेक अभिभावकले लगाउन सक्छन्।

सामाजिक सञ्जालमा बालबालिकाको अनुहार देखाउँदा के कस्ता जोखिम आइपर्छन्

कोडी एलिसको नामबाट पोस्ट गर्ने ३५ वर्षीया टिकटकरले असहज अनलाइन अनुभवपछि आफ्ना तीन बालबालिकासहित सामाजिक सञ्जालमा पोस्ट गर्न बन्द गरिदिइन्। सन् २०२० मा उनले आफ्नी सानी छोरीले नृत्य गरेको एउटा भिडियो पोस्ट गरेकी थिइन्। त्यो भिडियो लाखौँले हेरेका थिए जसमधयेका एक पुरुषले डरलाग्दो टिप्पणी गरेपछि उनले पोस्ट गर्न बन्द गरिन्।

“यो इन्टरनेटमा द ट्र्म्यान शोजस्तै हो,” कोडीले भनिन्। उनको टिकटक अकाउन्टमा ४० लाख 'फलोअर' थिए। उनले 'कस्मेटिक ट्याटु आर्टिस्ट'का रूपमा आफूले गरेका काम र एकल महिला भएर बटुलेका अनुभवबारे टिकटकमा पोस्ट गर्दथिन्। “यस्ता पोस्टहरू कसले हेरिरहेको छ भन्ने तपाईंलाई कहिल्यै थाहा हुँदैन,” उनले भनिन्।

त्यो अनुभवपछि उनले इन्टरनेटबाट आफ्ना छोराछोरीका सबै तस्वीरहरू हटाइन्। फेसबुक र 'पिन्ट्रेस्ट'जस्ता सामाजिक सञ्जालमा रहेका अकाउन्ट ट्र्याक गरिन् र कतिलाई हटाइन् त कतिलाई अरूले हेर्न नमिल्ने गरी गोप्य अकाउन्टमा बदलिन्। त्यसपछि उनी टिकटकर्सको भन्डाफोर गर्ने समूहमा सामेल भइन्। त्यो अभियानमा जोडिएकाहरूले साथी तथा आमाबुवालाई आफ्ना बालबालिकाका बारेमा सार्वजनिक रूपमा पोस्ट नगर्न प्रोत्साहित गरिरहेका हुन्थे।

तर  एलिसले आफ्नो प्रयास पूर्ण रूपमा सफल नभएको पछि थाहा पाइन्। अनुहार पहिचान प्रविधिबाट सेकेन्डभरमै इन्टरनेटमा कुनै पनि व्यक्तिको तस्वीर खोजिदिन सक्ने अचम्मलाग्दो सर्च इन्जिन 'पिमआइज'मा उनले आफ्ना सात वर्षीय छोराको तस्वीर ‘अपलोड’ गरिन्। उक्त सर्च इन्जिनले पहिले कहिल्यै नदेखेको परिणाम उनीसामु ल्याइदियो। त्यो तस्वीर कहाँबाट आयो भनेर जान्नका लागि उनले २९.९९ डलर तिरेर सदस्यता लिनुपर्ने भयो।

केही समयअघि उनका पूर्वपतिले छोरालाई फुटबल खेल देखाउन लगेका थिए। उनका छोरा खेलमैदानमा गोलपोस्टको पछिल्लो पंक्तिमा बसेका थिए। त्यही बेलाको एउटा तस्वीरको पृष्ठभूमिमा देखिएको छोराको अनुहार समाचार संस्थामार्फत् अनलाइन खेल समाचार साइटमा पुगेर सार्वजनिक भएको रहेछ। 

समाचारमा प्रयोग भइसकेका कारण अनलाइनबाट त्यसलाई हटाउन नसकिने उनलाई थाहा थियो। तापनि उनले अनलाइन फारम भरेर पिमआइजबाट तस्वीर हटाउनका लागि अनुरोध गरिन् ताकि अन्य व्यक्तिले उनका छोराको अनुहार सर्च गर्दा उनको तस्वीर नदेखियोस्। 

एलिसले त्यहाँ आफ्नी नौ वर्षीया छोरीको बाल्यकालको एउटा तस्वीर पनि भेटिन् जसको प्रयोग उनले भाग लिएको एउटा ‘समर क्याम्प’को प्रचारका लागि गरिएको थियो। आयोजकसँग अनुरोध गरेर त्यो तस्वीर हटाउन भने उनी सफल भइन्।  

“मलाई लाग्छ, जो कसैले पनि यस्तो जाँच गर्नुपर्छ,” एलिस भन्छिन्, “यसको राम्रो पक्ष भनेको कतै आफ्ना बालबालिकाका तस्वीरहरू पुनर्प्रयोग गरिएका छन् कि छैन भन्ने थाहा हुन्छ।” 

शेयर गर्दा अपनाउनुपर्ने सावधानी
अभिभावकले बालबालिकाका बारेमा अनलाइनमा कस्तो र कति पोस्ट गर्ने भनेर व्यापक चर्चा भइरहेका छन्। यसबारेमा गहन समीक्षा पनि भएको छ। यसको अलग्गै आफ्नै 'अफ पुटिङ् पोर्टमेन्ट्यु' (दुई शब्दका आधा-आधा भाग मिलाएर दुवैका अर्थ बुझाउन प्रचलनमा ल्याइने संयुक्त शब्द) छ– शेयरेन्टिङ (शेयरिङ प्यारेन्टिङ)।

ऐतिहासिक रूपमा अनलाइनमा अत्यधिक ‘शेयर’ गर्ने अभिभावकहरूमाथिको मुख्य आलोचना भनेको उनीहरूले आफ्ना सन्तानको गोपनीयतामा अतिक्रमण गरे भन्ने नै हो। किनभने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बुद्धिमतामा आधारित प्रविधिहरूमा भएको द्रुत विकासले खराब आचरणका व्यक्तिहरूलाई अनलाइन सामग्री दुरूपयोग गर्ने नयाँ उपाय मिलेको छ।  

नयाँ जोखिमका रूपमा बच्चाहरूको आवाजको नक्कल गर्ने 'डिपफेक' प्रविधि देखिएको छ। योसँगै अपरिचित व्यक्तिले तस्वीरको खोजीबाट बच्चाको नाम र ठेगाना पत्ता लगाउन सक्ने अर्को जोखिम पनि छ।

बच्चा हुर्काइरहेका आमाबुवालाई आवश्यक सतर्कताबारे सुझाव दिने एक गैरनाफामूलक संस्था 'कमन सेन्स मिडिया'का अनुसन्धान प्रमुख अमान्डा लेनहार्ट डोयचु टेलिकम नाम गरेको दूरसञ्चार कम्पनीले हालै सञ्चालन गरेको एक अभियानमा सार्वजनिक तथ्यांक सम्झँदै बालबालिकाबारेका जानकारी शेयर गर्दा सावधानी अपनाउन आग्रह गर्छिन्। 

त्यस अभियानका क्रममा एउटा भिडियो देखाइएको थियो जसमा एक कलाकारमार्फत नौ वर्षीया बालिका एला नामकी पात्रलाई प्रस्तुत गरिएको छ। उनका काल्पनिक आमाबुवाले अनलाइनमा उनका तस्वीर र भिडियो पोस्ट गर्दा सावधानी अपनाएका हुँदैनन्। फलस्वरूप 'डिपफेक प्रविधि'ले एलाको 'डिजिटल भर्सन' पूर्णरूपमा तयार पारिदिन्छ। 

त्यसपछि आफ्नो पहिचान चोरी गरी नक्कली स्वरूप तयार पारिएको भन्दै उनले आफ्ना आमाबुवालाई चेतावनी दिन्छिन्। यसबाट आफू अपहरणमा पर्न सक्ने र आफ्ना बाल्यकालका नग्न तस्वीरको दुरूपयोग हुनसक्नेतर्फ उनले सचेत पनि गराउँछिन्। 

उक्त भिडियोलाई त्यति नरुचाएकी लेनहार्ट अहिले प्रविधि असाध्यै उन्नत हुँदै गएकोमा बच्चाका आमाबाबुले उच्च सतर्कता अपनाउनुपर्ने कुरामा भने नि:सन्देह सहमत छिन्। पहिल्यै इन्टरनेटमा उपलब्ध स्रोतहरूको प्रयोग गरेर एआई औजारमार्फत बच्चाको आवाज दुरुस्त उतार्दै स्क्यामरले आपराधिक उद्देश्यका साथ अभिभावकलाई कल गरेका घटनाहरू पनि सार्वजनिक भइरहेका छन्।

एरिजोनाकी एक आमा जेनिफर डेस्टेफानोलाई यसै वर्ष कसैको फोन आयो। उनकी १५ वर्षीया छोरीलाई आफूले अपहरण गरेको फोनमा बोल्ने व्यक्तिको दाबी थियो। “मैले फोनमा उत्तर फर्काएँ– हेलो। फोनको अर्कोतर्फ हाम्री छोरी ब्रियाना आमा, आमा भन्दै रोइरहेकी थिइन्,” डेस्टेफानोले संसद्समक्ष आफ्नो अनुभव सुनाउँदै भनिन्। तर आश्चर्य, आफ्नी छोरी सकुशल फिर्ता पाउनका लागि अपरहरणकर्तालाई ५० हजार डलर दिने विषयमा सौदाबाजी चलिरहेकै बेला उनले आफ्नी छोरी घरको कोठामै सुरक्षितसाथ आराम गरिरहेको थाहा पाइन्।

अनुहारले के भन्छ?
पछिल्लो समय 'फेसियल रिकग्नाइज' अर्थात् अनुहार पहिचान प्रविधिको क्षमता र विश्वसनीयतामा तीव्र प्रगति भएको छ। यसको प्रयोग गर्दा अनलाइनमा पोस्ट गरिएका अस्पष्ट तस्वीर र भिडियो भने अरू कसैको अनुहारसँग मिल्न पनि सक्छ।

“सचेत आमाबुवाले त साना बालबालिकाको तस्वीरमा अधिक नियन्त्रण राख्छन्,” डेटा गोपनीयता र नवीनतम प्रविधिबारे सल्लाह दिने डेबी रेनाल्ड्स भन्छन्, “तर बालबालिका बिस्तारै ठूला हुन्छन्। उनका साथीहरू हुन्छन्, पार्टीमा जान्छन् र स्कुलमा आफ्नो खुशीले तस्वीर लिन्छन्।”

त्यसरी खिचिएका तस्वीरको प्रभावबारे बुझ्न 'पिमआइज' या 'फेसचेक आईडी'जस्ता प्रविधिको प्रयोग गरी आफ्ना बालबालिकाको अनुहार अनलाइनमा सर्च गर्न रेनाल्ड्स अभिभावकहरूलाई सुझाव दिन्छन्। आफ्ना बालबालिकाका तस्वीर प्रयोग भएको भेटिएमा र त्यस्तो प्रयोग मन नपरेको खण्डमा ती तस्वीर हटाउन अनुरोध गर्न सकिने उनको भनाइ छ। आग्रह गरिएअनुसार हटाउन कतिपय अनलाइन सहमत हुन सक्छन् तर समाचार संस्थाहरूले भने नहटाउन पनि सक्छन्।

सन् २०२० मा भएको प्यू रिसर्च सर्वेक्षणमा ८० प्रतिशतभन्दा धेरै अभिभावकले सामाजिक सञ्जालमा आफ्ना बालबालिकाका तस्वीर, भिडियो र उनीहरूबारेका जानकारी शेयर गर्ने गरेको बताएका थिए। तर सञ्जालका आफ्ना गोप्य अकाउन्टहरूमा मात्रै कति अभिभावकले बालबालिकाका तस्वीर शेयर गर्छन् भन्ने यकिन गर्न उनीहरूले सक्दैनन्। हिजोआज गोप्य अकाउन्टमा व्यक्तिगत तस्वीरहरू शेयर गर्ने अभ्यास बढ्दो छ।

‘पब्लिक फेस सर्च इन्जिन’ अभिभावकका लागि उपयोगी औजार हो, तर यसको पनि दुरूपयोग हुन सक्छ। गोपनीयतासम्बन्धी शोधकर्ता बिल फिजगेराल्ड भन्छन्, "आफ्ना बालबालिकाप्रति चिन्तित अभिभावकले पिमआइज जस्ता सर्च इन्जिन ‘स्टकर’का रूपमा सजिलै प्रयोग गर्न सक्छन्।” तर किशोरावस्थाका छोराछोरीका गतिविधि निगरानी गर्न यस्ता प्रविधिको प्रयोग गर्ने अभिभावकप्रति उनी चिन्ता व्यक्त गर्छन्।

अनुचित तरिकाले बालबालिकाको अनुहार सर्च गर्ने २०० भन्दा धेरै अकाउन्टहरूलाई निष्क्रिय बनाइएको पिमआइजका सञ्चालक जियोर्गी गोब्रोनिजले बताएका छन्। 

कानूनको परिपालनाका लागि मात्रै सीमित गरिएको यस्तै प्रकृतिको फेस रिकग्नाइजेसन इन्जिन 'क्लियरभ्यू आई'लाई बाल यौन दुर्व्यवहारका तस्वीरहरूमा पीडितहरूको पहिचान गर्न प्रयोग गरिएको छ। मानव अधिकार संगठनद्वारा बालबालिकाको मद्दतका लागि पिमआइजलाई पनि त्यसै गरी उपयोग गरिएको गोब्रोनिज बताउँछन्। 

गोपनीयतासम्बन्धी अनुसन्धानकर्तासमेत रहेका फिजगेराल्डले आफ्ना बालबालिकालाई सामाजिक सञ्जालमा खोज्नका लागि यी औजारको प्रयोग गरेर अभिभावकहरूले अनजानमै 'पिमआइज अल्गोरिदम'लाई नाबालिगहरूको पहिचानमा अझ निपूर्ण हुन सघाइरहेकोमा चिन्तित छन् जसबाट बालबालिका झन् बढी असुरक्षित हुन्छन्।

क्यालिफोर्निया विश्वविद्यालय इर्विनका सांस्कृतिक मानवशास्त्री तथा 'कनेक्टेड लर्निङ ल्याब'की निर्देशक मिमीको इटो फेस रिकग्नाइजेसन प्रविधिमार्फत बालबालिकाका तस्वीरहरू अनलाइनमा रमाइलो गर्न प्रयोग भए त्यसले थप चुनौतीपूर्ण बनाउने खतरा औँल्याउँछिन्। “जागरूकता बढाउनुपर्ने देखिन्छ, किनकि एआईले स्रोतका रूपले लिने डाटामाथि हाम्रो नियन्त्रण छैन। अर्को कुरा, हामी सामाजिक सञ्जालको दुनियाँमा निरन्तर फैलिइरहेका छौँ,” उनले भनिन्।

'अनलाइन फूटप्रिन्ट' नियन्त्रण गर्ने अधिकार
लुसी र माइक पिजगेराल्ड मिजोरी राज्यस्थित अमेरिकी शहर सेन्ट लुइसका पेशेवर 'बलरूम डान्सर' हुन्। उनीहरू आफ्नो व्यवसायको विज्ञापन गर्न सामाजिक सञ्जालमा सक्रिय रहन्छन्। आफ्ना पाँच र तीन वर्षीया छोरीहरूका तस्वीर अनलाइनमा पोस्ट गर्न भने उनीहरू कहिल्यै अघि सर्दैनन्। साथीहरू र परिवारका सदस्यहरूलाई पनि बालबालिकाका सामग्री पोस्ट नगर्न आग्रह गर्छन्। 

आफ्ना छोरीहरूलाई आफैँ अनलाइन फूटप्रिन्ट सिर्जना गर्ने र नियन्त्रण गर्ने अधिकार हुनुपर्छ भन्ने उनीहरूको मान्यता छ। आफ्ना तस्वीरहरू कतै अनुपयुक्त तरिकाले प्रयोग भएको त छैन भन्नेमा पनि उनीहरू हमेशा सतर्क रहन्छन्।

“तथ्य के हो भने, तपाईंले एक-दुई क्लिकमै कसैको तस्वीर चोर्न सक्नुहुन्छ र आफूले चाहेको ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ,” फिजगेराल्डले भनिन्, “आफ्ना बच्चाका तस्वीरहरू पोस्ट गर्न चाहने तपाईंहरूका आग्रह म बुझ्न सक्छु, तर अभिभावकबाट हुने यस्ता गल्तीका कारण उनीहरूले भविष्यमा अनपेक्षित परिणामको सामना गरून् भन्ने हामी चाहँदैनौँ।”

फिजगेराल्ड र उनका पति विशेषज्ञ त होइनन्, तर प्रविधिको दुनियाँमा के भइरहेको छ भन्नेबारे उनीहरू जानकार छन्। अहिले यसको क्षमताबारे अनुमान गर्न नसके पनि भविष्यमा यसले बालबालिकालाई समस्याग्रस्त अवस्थामा पुर्‍याउन सक्छ भन्ने अनुभूति उनीहरूले वर्षौंअघि नै गहिरोसँग गरेका थिए।


अमेरिकी राष्ट्रिय सुरक्षा नियोगका 'कन्ट्र्याक्टर' एडवर्ड स्नोडेन र फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालका पोस्टहरूमा आफ्ना बालबालिकाको अनुहार लुकाउनुले प्रविधिको क्षितिजमा के भइरहेको छ भन्ने अनुमान संसारका हरेक अभिभावकले लगाउन सक्छन्। छुट्टी मनाइरहेको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका जुकरबर्गले आफ्ना बालबालिकाको अनुहार छोप्न 'इमोजी' प्रयोग गरेका छन्। यता, स्नोडेन र उनकी पत्नी लिन्डसे मिल्सले कलात्मक रूपमा आफ्ना दुई छोराहरूमध्ये एकलाई बेलुनको पछाडि अस्पष्ट रूपमा 'पोज' गराएका छन्।

“म चाहन्छु, आफूलाई संसारसामु प्रस्तुत गर्ने विकल्प हाम्रा बालबालिकामा सुरक्षित रहोस् र त्यसलाई उनीहरूले चाहेको बेला अपनाउन सकून्,” मिल्सले भनिन्।

हुर्कंदै गरेका दुई बालबालिकाको अनुहार छोपेर एउटा ‍शिशुको चाहिँ किन देखाइएको थियो? फेस रिक्ग्नाइजेसन प्रविधिले शिशुहरूको अनुहार पहिचान गर्न नसक्ने भएर यसो गरिएको हो? यी जिज्ञासाबारे मागिएको जवाफमा जुकरबर्गका प्रवक्ताले टिप्पणी गर्न चाहेनन्।



‘अनलाइन भूत’
आफ्नो डिजिटल पहिचान कसरी लुकाउने भनेर किशोरकिशोरीहरूले धेरै सोच्ने गरेको विज्ञहरूको टिप्पणी छ। उनीहरूमध्ये केहीले आफ्ना आमाबुवा, शिक्षक र सम्भावित रोजगारदाताहरूबाट नचिनिनका लागि अनलाइनमा छद्म नाम प्रयोग गर्ने गर्छन्। तर उनीहरूका अकाउन्टमा अनुहार देखिने गरी तस्वीर पोस्ट गरिएको छ भने 'फेस सर्च इन्जिन'का माध्यमबाट उनीहरूसँग सजिलै जोडिन सकिन्छ।

“तपाईंको अनुहार वेबबाट टाढा राख्न धेरै गाह्रो छ,” पेन्सिल्भेनिया स्टेट विश्वविद्यालयकी सहायक प्राध्यापक प्रिया कुमारले भनिन्। उनले सामाजिक सञ्जालमा शेयर हुने सामग्रीबाट गोपनीयतामा पर्ने प्रभावका बारेमा अध्ययन गरेकी छन्। बालबालिकाहरू चार वर्षको पुगेपछि मात्रै उनीहरूका सामग्री अनलाइनमा पोस्ट गर्न उनी सुझाव दिन्छिन्। साथै, पोस्ट गर्नुभन्दा अघि बालबालिकासँग कस्तो सामग्री पोस्ट गर्दा उचित हुन्छ भनेर सोध्न पनि अभिभावकहरूमा उनको आग्रह छ। 

प्रविधिकेन्द्रित व्यावसायिक परामर्शदाता, 'फ्युचर टुडे इन्स्टिच्युट'का प्रमुख कार्यकारी एमी वेबले एक दशकअघि स्लेट पोस्ट अनलाइनमा आफ्ना बालबालिकाका व्यक्तिगत तस्वीर या उनीहरूबारेका जानकारी पोस्ट नगर्ने वाचा गरिन्। केही पाठकहरूले यसलाई चुनौतीको रूपमा लिए। वेबले त्यसअघि नै अनजानमा पोस्ट गरेका पारिवारिक तस्वीरहरू उनीहरूले फेला पारे। यो उदाहरणले बालबालिकालाई इन्टरनेटबाट टाढा राख्न कति गाह्रो छ भन्ने चुनौतीको चित्रण गर्दछ। 

अहिले किशोरी अवस्थामा रहेकी उनकी छोरी यसलाई “अनलाइन भूत’को उपमा दिन्छिन्। यसबाट आफूलाई पेशागत रूपमा सफल हुन मद्दत मिलेको उनी बताउँछिन्। “भविष्यमा रोजगारदाताले मेराबारे कुनै पनि सामग्री फेला पार्ने छैनन् किनभने म कुनै प्लेटफर्ममा छैन,” उनले भनिन्, “यसले मलाई भविष्यमा सफल हुन मद्दत गर्नेछ।”

अनलाइनमा तस्वीर शेयर गर्ने युगमा हुर्किएका कतिपय युवाहरूले पनि आफ्ना अभिभावकप्रति आभार प्रकट गरेका छन् जसका आमाबुवाले उनीहरूका तस्वीरहरू सार्वजनिक रूपमा अनलाइनमा पोस्ट नगरी हुर्काएका थिए। एक हाईस्कुलकी १६ वर्षीया छात्रा श्रेया नल्लामोथुले बालबालिकालाई प्रभाव पार्नेहरूका बारेमा गरेको अनुसन्धानले इलिनोइस राज्यमा नयाँ कानून ल्याउन मद्दत गरेको छ। यो कानूनअनुसार आर्थिक रूपमा अम्दानी हुने अनलाइन सामग्रीमा बालबालिकाको अनुहार प्रयोग गरिएको छ भने तिनका अभिभावकले उनीहरूका निम्ति कमाइको अलग्गै हिस्सा निर्धारण गर्नुपर्ने हुन्छ। 

अनुसन्धानकर्ता श्रेया आफ्नो बाल्यकालको लज्जास्पद क्षणका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट नगरेकोमा आफ्ना अभिवावकप्रति कृतज्ञता व्यक्त गर्छिन्। “मेरो कक्षाका साथीहरू आफ्ना सहपाठीका अभिभावकहरूको फेसबुक अकाउन्ट खोजेर हेर्न खप्पिस छन्,” उनले भनिन्, “उनीहरू स्न्याप च्याटमा आफ्ना जन्मदिनको पोस्ट लुकाउन जुनसुकै प्रकारका उपाय प्रयोग गर्न पनि पछि पर्दैनन्।”

अमेरिकी राजधानी वाशिंटन डीसीको एक कलेजमा अध्ययनरत डिजिटल सुरक्षा पैरवीकर्ता २२ वर्षीया एरिएल गेस्मार सामाजिक सञ्जालमा अनुहार पोस्ट गरिनबाट जोगिनुलाई ‘व्यक्तिको डिजिटल पहिचान नबनाई हुर्कन पाउने विशेषाधिकार’ भनी वर्णन गर्छिन्। “अचेलका बालबालिकाहरू नयाँ प्रविधिका ‘गिनी पिग’ हुन्,” गेस्मारले भनिन्, "उनीहरूको राम्ररी हेरचाह गर्नु हाम्रो दायित्व हो।”


(न्युयोर्क टाइम्समा १४ अक्टोबरमा प्रकाशित यो आलेखको भाषानुवाद नेत्र पौडेलले गरेका हुन्।)


सम्बन्धित सामग्री