Thursday, May 02, 2024

-->

टिकटक प्रतिबन्धको निर्णय : मन्द समर्थन, चर्को विरोध

टिकटक बन्द गर्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। सरकारको निर्णयको विरोध जनाउँदै आएका प्रतिक्रियाभन्दा समर्थन मन्द देखिन्छ।

टिकटक प्रतिबन्धको निर्णय  मन्द समर्थन चर्को विरोध

काठमाडौँ–  सरकारले नेपालमा चिनियाँ भिडियो शेयरिङ एप टिकटक चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबाट यसको पक्षविपक्षमा टीकाटिप्पणी आइरहेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा राखिएका सामग्रीले सामाजिक सद्भावमा खलल पुर्‍याएको निष्कर्ष निकाल्दै उक्त एप नेपालमा चलाउन नमिल्ने बनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले ‍लगातार सामाजिक सद्भाव बिथोलेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको र बन्द गराउने प्रक्रिया थालिसकिएको बताएकी थिइन्।

सरकारको उक्त निर्णयलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सामाजिक सद्भाव प्रविधिले नभई प्रविधि प्रयोगकर्ताबाट बिथोलिने भन्दै नियमनतर्फ जोड दिनुपर्ने प्रतिक्रिया दिएका छन्। कतिपयका टिकटक बन्द गर्दैमा खासै फर्क नपर्ने टिप्पणी पनि आइरहेका छन्।

टिकटकमाथिको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘सरकार उल्टो बाटो हिँडेको’ टिप्पणी गरे। महामन्त्री थापाले सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहित गर्न नियमन आवश्यक रहेको तर नियमन गर्ने नाममा बन्द गरिनु गलत हुने तर्क गर्दै सरकारको नियतमाथि पनि प्रश्न उठाएका छन्।

“सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ, तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत 'अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,” उनले लेखेका छन्।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि टिकटक बन्द गराउने सरकारको निर्णयलाई ‘अलोकतान्त्रिक’ भन्दै अविलम्ब फिर्ता लिन आग्रह गरेका छन्। उनले प्रधानमन्त्रीलाई मेन्सन गर्दै सामाजिक सञ्जाललाई नियमन कसरी गर्ने भनेर खुला छलफल गरी तार्किक निष्कर्ष पहिल्याएर त्यसको पालना गर्न सुझाव दिएका छन्। प्रश्नको मुहान बन्द गरेर सही जवाफ खोज्न नसकिने उनको भनाइ छ।

“गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिम रहित उपचार खोज्ने? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, नो कमेन्ट। तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ। यो निर्णय अविलम्ब फिर्ता होस्,” उनले लेखेका छन्, “सामाजिक-धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने हो। सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौँ, तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौँ। प्रश्नको मुहान बन्द गरेर सही जवाफ खोज्न सकिन्न सरकार । टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर।”

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले छानेर सामाजिक सञ्जाल बन्द गरेको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा राखिने सामग्री नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। “सरकार, छनोट आधारित प्लेटफर्म बन्द गर्ने हैन, कन्टेन्ट नियमन गर, अभिव्यक्तिमा अराजकता नियन्त्रण गर,” उनले भनेका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले एउटै मात्र प्लाटफर्मले सामाजिक सद्भाव बिग्रियो भन्नु प्रविधिको विकासलाई नबुझ्नु हो भन्छन्। टिकटक बन्द गर्ने निर्णय ठीक नभएको, यस्ता निर्णयहरूले अभिव्यक्ति स्वतन्त्रलाई कुण्ठित गर्ने र सरकार अधिनायकवादी बाटोमा हिँड्न खोजेको उनको टिप्पणी छ।

“टिकटक बन्द गर्ने निर्णय ठिक हैन। सामाजिक सञ्जाल (लगायत अन्य माध्यम) को गलत प्रयोगलाई नियमन गर्नु पर्छ। तर एउटा मात्र प्लाटफर्मले गर्दा सामाजिक सद्भाव बिग्रियो, राष्ट्रियता कमजोर भयो भन्नु प्रविधिको विकासलाई नबुझ्नु हो । टिकटक त धेरैमध्ये एउटा माध्यम हो। सरकार अधिनायकवादी बाटोमा हिँड्न खोज्यो। यस्ता निर्णयहरूले अभिव्यक्ति स्वतन्त्रलाई कुण्ठित गर्छ। सरकारले यो निर्णय तुरुन्त फिर्ता गरोस्,” उनले भने।

पत्रकार तथा लेखक नारायण वाग्लेले पनि टिकटक बन्द गराउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्। राज्यको भूमिका नियन्त्रण गर्ने नभई नियमनको हुने उनको भनाइ छ। “सामाजिक सञ्जालमध्ये यो वा त्यो बन्द गर्न कसले भनेको थियो? कसको सिफारिस हो? आधार के हो? नियत के हो? राज्यको भूमिका नियमनको हो, नियन्त्रण होइन,” उनले एक्समा लेखेका छन्।

टिकटक बन्द गर्ने निर्णयको विपक्षमा देखिएका पत्रकार शिव गाउँले ‘अयोग्यता उजागर गर्ने सार्वजनिक मञ्चमाथिको प्रतिबन्ध सर्वथा अनुचित छ’ भन्दै प्रतिबन्ध हटाउनुपर्ने बताउँछन्। “सरकारले सर्वसाधारणको पहुँचमा रहेको टिकटक बन्द गर्ने निर्णय गरेछ। सामाजिक सद्भावका नाममा आफ्नो अयोग्यता उजागर गर्ने सार्वजनिक मञ्च माथिको प्रतिबन्ध सर्वथा अनुचित छ। टिकटकमा नियमन गर, तर प्रतिबन्ध हटाऊ।”

मानवअधिकारकर्मी मोहना अन्सारीले टिकटक बन्द गर्ने निर्णयप्रति टिप्पणी गर्दै मन्त्रिपरिषद्बाट जथाभाबी निर्णय गरेर जनता नचिढ्याउन सरकारलाई आग्रह गर्छिन्। उनले टिकटक बन्द गर्ने निर्णयलाई सल्लाहकारको निरङ्कुश सोचका रूपमा चित्रण गर्दै सामाजिक सञ्जालको दुरुपयोग भए कानूनबमोजिम कारबाही गर्न सुझाव दिन्छिन्।

“पहिले निर्णय सामाजिक सञ्जाल नियमन निर्देशिका र दोस्रो निर्णय टिकटक बन्द गर्ने, सल्लाहकार निरङ्कुश सोच भएका छन्। सामाजिक सञ्जालको कसैले दुरुपयोग गर्छ भने कानूनबमोजिम कारबाही गर्ने हो। नेपाल सरकारको मन्त्रिपरिषद्ले जथाभाबी निर्णय गरेर जनतालाई चिढाउने होइन,” उनले एक्समा लेखेकी छन्।

वातावरणविद् उत्तमबाबु श्रेष्ठले टिकटक बन्द गर्ने सरकारको गरेको निर्णयप्रति विश्वस्त हुन सकेका छैनन्। उनले टिकटकलाई बन्द गर्नुभन्दा पहिला यसले पारेको नकारात्मक प्रभावबारे अध्ययन गरेर सरकारले जनतालाई सुसूचित हुँदा उपयुक्त हुने थियो भन्ने तर्क गर्छन्। उनले टिकटकलाई आफूले थाहा पाएको मध्येकै सबैभन्दा ‘टक्सिक एप’का रूपमा चित्रण गर्छन्।

“टिकटक बन्द गर्नुभन्दा पहिले यसको नकारात्मक प्रभाव: जस्तै मानसिक स्वास्थ्यको बारेमा राम्रो अध्ययन गरेर सरकारले जनतालाई सुसूचित गर्नुपर्ने थियो । यो जतिको टक्सिक एप मैले देखेको/पढेको छैन। हाम्रो जस्तो खाद्य वस्तुको त नियमन नहुने ठाउँमा यसलाई नियमन कसरी गर्ने होला?” उनले लेखेका छन्।

लेखक केशव दाहाल टिकटकलाई ‘पत्रु खाना’को संज्ञा दिँदै यसलाई प्रतिबन्ध लगाउँदैमा वाक स्वतन्त्रता नमर्ने मत राख्छन्। नयाँ पुस्तालाई सामाजिक विमर्शमा आउन प्रेरित गर्नुपर्ने भन्दै उनी एक्समा लेख्छन्, “पत्रु खाना रोक्नुलाई खाना खाने अधिकार कुण्ठित गरेको मानिँदैन। पत्रु प्लाटफर्महरूको दुर्व्यसन अति भयो। अभद्र र टिपटापे रोग। डिजिटल दुर्व्यसन। नयाँ पुस्तालाई सामाजिक विमर्शमा आउन प्रेरित गरौँ, टिकटकमा हैन, वाक स्वतन्त्रता आफैँ बलियो हुन्छ। टिकटक बन्द हुँदैमा वाक स्वतन्त्रता मर्दैन।”

सरकारले लगातार रूपमा सामाजिक सद्भाव बिथोलिएको, पारिवारिक संरचना तथा सामाजिक सम्बन्धलाई खलल पुर्‍याएको तर्क दिँदै टिकटक बन्द गर्ने निर्णय गरिएको बताएको छ।

“लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र विभिन्न हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल हुने गरी लगातार प्रचारप्रसार भइरहेका छन् यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरेको छ,” मन्त्री शर्माले मन्त्रिपरिषद्का निर्णय सुनाउँदै भनिन्।

टिकटक बन्द गर्ने निर्णयको कार्यान्वयन सञ्चार मन्त्रालय मातहतका निकायबाट गर्ने र सम्भव भएसम्म सोमबारबाटै बन्द गराउन प्राविधिक प्रक्रिया शुरू गरिएको पनि उनले बताएकी थिइन्।


सम्बन्धित सामग्री