Friday, May 03, 2024

-->

'शहरी र ग्रामीण स्वास्थ्य सेवामा खाडल छ'

शहरी र ग्रामीण परिवेशमा मातृ मृत्युदरदेखि सुत्केरी हुने स्वास्थ्य चौकीलगायत सेवामा ‘ग्याप’ छ। यो स्वास्थ्य सेवामा नपुगेको न्यायोचित पहुँचको सवाल हो। यद्यपि, यो आधारभूत मानव अधिकार हो।

शहरी र ग्रामीण स्वास्थ्य सेवामा खाडल छ

जनस्वास्थ्य सेवामा डा. रिता थापाले ३० वर्षभन्दा बढी समय काम गरिसकेकी छन्। उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण पूर्वी एशियाको डिपार्टमेन्ट अफ हेल्थ सिस्टम एन्ड कम्युनिटी हेल्थ सिस्टमको निर्देशकको भएर पनि काम गरेकी छन्। उक्त पद सम्हाल्ने उनी पहिलो महिला हुन्। भारतस्थित नयाँ दिल्लीमा भइरहेको डब्लूएचओ दक्षिण पूर्वी एशियाको क्षेत्रीय कमिटी (एसआईआरओ) बैठकबाट बुधबार नयाँ क्षेत्रीय निर्देशकको चयन हुँदैछ। यो पदमा नेपालका डा. शम्भु आचार्य र बंगलादेशकी साइमा वाजेद प्रतिस्पर्धामा छन्। सो पदको महत्त्व र उनले देखेका स्वास्थ्य सेवाका चुनौतीबारे उकालोका लागि प्रबिता श्रेष्ठले थापासँग गरेको कुराकानीः 

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशियाको क्षेत्रीय निर्देशक पदको लागि कसरी चुनाव हुन्छ? कसले मत दिन्छन्?
विश्व स्वास्थ्य क्षेत्रमा समर्पित अन्तर्राष्ट्रिय संघ विश्व स्वास्थ्य संगठन संयुक्त राष्ट्र संघको एउटा अंग हो। यसले विश्वभरका मानिसको स्वास्थ्यको लागि काम गर्छ। स्वास्थ्य भन्नाले अस्पताल सेवा मात्र नभई उनीहरूको स्वास्थ्यको हेरविचार,  स्वास्थ्यको प्रवृत्ति, रोगको रोकथाम, बिरामीले उपचार पाउनु पर्छ भनेर लागेको संस्था हो।

डब्लूएचओको सबैभन्दा पुरानो र पहिलो खोलिएको क्षेत्रीय कार्यालय एसआईआरओ दिल्लीमा नै हो। हाल भारतमा भइरहेको चुनाव डब्लूएचओको दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशकको लागि हो। यो संस्थाले हरेक चार वर्षको अन्तरालमा निर्देशकको चुनाव गर्छ। नेपाललगायत ११ वटा देश दक्षिण पूर्वी एशियामा पर्छन्। यसपालि म्यानमारले निर्देशक छान्न पाउने छैन। (यहाँको सैनिक सरकारलाई संयुक्त राष्ट्र संघले मान्यता नदिएको कारण बैठकमा सहभागी हुन पाउँदैन।) डब्लूएचओको स्वास्थ्य प्रिन्सिपललाई आधार मानेर कसरी हरेक देशका जनतासम्म स्वास्थ्य सेवा पुर्‍याउन सकिन्छ भनेर उपयुक्त, योग्य व्यक्तिको चयन गर्ने प्रक्रिया हो यो चुनाव।

क्षेत्रीय निर्देशकको काम र अधिकार के हृुन्छ?
यो नेतृत्व तहको पद हो। क्षेत्रीय निर्देशक समग्र ११ देश जनाउने क्षेत्रको स्वास्थ्य सेवाका प्रमुख हुन्, जसले विभिन्न (सदस्य) राष्ट्रहरूमा डब्लूएचओले तोकेको दीगो विकासका लक्ष्य, निमुखा जनताहरूलाई समेत हेर्न सक्ने क्षमता भएको जनस्वास्थ्यमा प्रखर अनुभव भएको व्यक्तिको लागि बनेको पद हो। यसको लागि खालि पढेर मात्र होइन, अनुभवले खारिएको व्यक्ति चाहिन्छ। त्यस्तो व्यक्तित्व छानियो भने समग्र दक्षिण पूर्वी एशियाको स्वास्थ्य क्षेत्र राम्रो हुन्छ।

यसको चुनावी प्रक्रिया कस्तो हुन्छ?
चुनावको प्रक्रिया ‘डेमाक्र्याटिक’ हुन्छ। यहाँ गोप्य मतदान हुन्छ। मनोनयन हुन पर्ने पारदर्शिताका साथ सम्बन्धित राष्ट्रले आफ्नो उम्मेदवार अघि सार्छ। नेपालमा पनि प्रजातान्त्रिक रूपमा चुनाव भइरहेको देखिरहनु भएको होला। यद्यपि, चुनावको पछाडि धेरै कुरा भइरहेको हुन्छ, जसमा ‘हाम्रो उम्मेदवारलाई भोट गर यति दिन्छु, उति दिन्छु’ भन्ने पनि हुन्छ। जनताले आफ्नो इच्छाले दिन लागेको भोटमा अनेक प्रकारको प्रभाव, दबाब हुन्छ। त्यस्तो यहाँ पनि देखिन सक्छ। 

अहिलेको चुनावमा यस्तो देखिएको गुनासो सुनिन्छ। यति भने प्रस्ट देखिन्छ कि, नेपालका उम्मेदवार डा. शम्भु आचार्य यस पदको लागि हुनु पर्ने योग्यता, दक्षता, अनुभव सबैले निपुण छन्। अर्का उम्मेदवार (साइमा वाजेद)को राजनीतिक लेभरेज (पहुँच) उच्च देखिन्छ। उहाँको दक्षता जनस्वास्थ्यमा छैन। यद्यपि, दुवै आ–आफ्नो स्थानबाट लडिरहनु भएको छ। चुनाव चाहिँ गोप्य मतदानबाटै हुने कारण नतिजाबारे यकिन भन्न सकिन्न।

मतदाता को–को हुनुहुन्छ? र गोप्य मतदानले कस्तो भूमिका खेल्छ?
यसपटक नेपाल, भारत, माल्दिभ्स्, इन्डोनेसिया, थाइल्यान्ड, उत्तर कोरिया, भुटान, श्रीलंका, बंगलादेश र टिमोर इष्ट गरी १० देशले भोट हाल्न पाउँछन्। नेपालबाट स्वास्थ्यमन्त्री र सचिव जानुभएको छ। स्वास्थ्यमन्त्रीले भोट हाल्नु पर्ने भन्ने छैन। उहाँले निर्देशन दिएअनुसार सचिवले पनि हाल्न सक्नु हुनेछ। चुनावको समयमा देशको प्रतिनिधित्व गरी मिटिङमा जाने प्रतिनिधिले नै भोट हाल्छन्। एउटा देशको एउटा भोट हुन्छ। ‘फस्ट राउन्ड’मै कुन देशले कति भोट पायो भनेर थाहा भइहाल्छ। सोही कारण चुनावकै दिन नतिजा थाहा हुन्छ।

यद्यपि, चुनावको समग्र दिन भने तीन दिनको हुन्छ। पहिलो र दोस्रो दिन क्षेत्रीय कमिटिको मिटिङ हुन्छ। त्यहाँ आ–आफ्नो देशका लिडरहरूले आ–आफ्नो देशमा के भइरहेको छ, के गर्दा राम्रो हुन्छ, देश र क्षेत्रको स्वास्थ्य क्षेत्रमा के गर्दा राम्रो हुन्छ भनेर ‘पोलिसी गाइडलाइन’ लगायतका विषयमा छलफल गर्छन्। यसबीच उम्मेदवारी दिएका देशहरूले अन्य देशसँग लबिइङ गर्छन्, द्धिपक्षीय सम्बन्धका कुरा गर्छन्। 

भारतको भोटले कस्तो प्रभाव पार्छ होला?
मलाई चुनावबारे अन्य ज्ञान भएन। भारतका प्रधानमन्त्रीले कसलाई के भनेका छन्, त्यो पनि थाहा भएन। तर सामान्य रूपमा हेर्दा भारत स्वास्थ्य क्षेत्रमा निकै अघि बढेको देश हो। त्यसकारण स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य विज्ञलाई नै भारतले चयन गर्नु पर्ने हो। अन्यथा केही छ भने अर्को कुरा हो। 

अर्को कुरा, नेपालले भारतलाई यसअघि दुई पटकसम्म सोही पदको लागि साथ दिएको छ। उनीहरूको उम्मेदवार आउँदा र हामीले सपोर्ट गर्दा ‘अर्कोपटक नेपाललाई सहयोग गर्ने छौँ’ भनेको हामीले सुनेका छौँ। त्यस आधारमा पनि आशा गरेका छौँ। यद्यपि, भन्न त केही सकिन्न।

नेपालका उम्मेदवार उक्त पदको लागि निर्वाचित भए नेपालले कस्तो ‘एक्सपोजर’ पाउँछ?
नेपालबाट हालसम्म यतिको उच्च पदमा कोही निर्वाचित भएको छैन। नेपाल सन् १९५३ मै डब्लूएचओमा सदस्य भएको देश हो, धेरै पुरानो सदस्य राष्ट्र हो। तर हालसम्म क्षेत्रीय प्रमुख पदमा नेपाल पुगेको छैन। नेपालबाट यसपटक काबिल उम्मेदवार भएकोे कारण उनले जित्दा नेपालको सम्मान बढ्छ। 
नेपालले हासिल गरेको ‘हेल्थ माइलेज’ पनि राम्रो छ। हाम्रो स्वास्थ्य सेवा शुरू भएको धेरै भएको छैन। सन् १९५१ बाट प्रजातन्त्रको लहरपछि नै जनस्वास्थ्य भन्ने अवधारणा आएको हो, त्यसअघि थिएन। त्यहाँदेखि नेपालले स्वास्थ्य सेवामा छलाङ मारेको छ। यो विश्वमा उदाहरणीय छ। विश्वले यही कारण हामीलाई चिनेको छ।

सन् २०१५ को सहस्राब्दी विकास लक्ष्यअन्तर्गत महिला तथा बालबालिकाको स्वास्थ्यतर्फको लक्ष्य सबैभन्दा पहिले नेपालले हासिल गरेको थियो। यो दक्षिण एशियाको लागि उदाहरणीय छ। साथै हाम्रो उम्मेदवार जनस्वास्थ्य विज्ञ हुनुहुन्छ। डब्लूएचओले दिने एसडीजी (दीगो विकास)को लक्ष्य, स्वास्थ्यको लक्ष्य भनेको खालि सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले मात्र गर्ने होइन, यसमा विभिन्न क्षेत्रहरूको पनि सहयोग चाहिन्छ। सहकार्य चाहिन्छ। त्यस्ता सहकार्यको लागि दक्ष व्यक्ति यस्ता पदमा आवश्यक पर्छ। यो दक्षता हाम्रो उम्मेदवारसँग छ। यसले देशलाई पनि फाइदा हुन्छ।

डब्लूएचओ एसईआरओको एक विभागको निर्देशकको रूपमा तपाईंले पनि नेतृत्व सम्हाल्नुभएको छ। तपाईंको आफ्नै अनुभव कस्तो रह्यो?
डब्लूएचओ दक्षिण पूर्वी एशियाको डिपार्टमेन्ट अफ हेल्थ सिस्टम एन्ड कम्युनिटी हेल्थ सिस्टमको पहिलो महिला निर्देशक भएको थिएँ। मेरो काम रमाइलो र चुनौतीपूर्ण दुवै थियो। मैले विश्वव्यापी प्रतिस्पर्धामाफर्त उम्मेदवारी दिएर निर्देशक पदको लागि निर्वाचित पनि भएकी थिएँ। हरेकपटक पुरुष मात्र निर्देशक हुनेमा दक्षिण पूर्वी एशियामा म पहिलो महिला निर्देशक बने। यसमा मलाई गौरव लाग्छ।

यस क्षेत्रको स्वास्थ्य प्रणाली कस्तो छ? अबको लागि केके पक्ष सम्बोधन हुनुपर्छ?
यस क्षेत्रका सबै देशेको स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको छ। समग्रमा राष्ट्रिय सूचकमा राम्रै अवस्था देखिन्छ। ‘म्याटेरनल मोर्टालिटी रेट’मा पनि कमी आएको छ। मैले ‘मातृशिशु तथा परिवार कल्याण’को प्रमुखको रूपमा काम गर्दा मातृ मृत्युदर कहालीलाग्दो थियो। सन् १९६० को दशकमा मातृ मृत्युदर प्रतिलाख १८ सय थियो। अहिले घटेर १५१ भएको छ। पहिले घरैमा सुत्केरी गराइन्थ्यो, अहिले नेपालका ८० प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा हुने गरेका छन्। स्वास्थ्य क्षेत्रमा यो हाम्रो राम्रो लगानी हो।

यद्यपि, सबै देशको शहरी र ग्रामीण परिवेशबीच स्वास्थ्य सेवामा भने खाडल कायमै छ। मातृ मृत्युदरदेखि सुत्केरी हुने स्वास्थ्य चौकीलगायतका सेवामा ‘ग्याप’ छ। त्यसलाई स्वास्थ्य सेवामा नपुगेको न्यायोचित पहुँच भनिन्छ। आधारभूत मानव अधिकार तथा नेपालको संविधान प्रदत्त अधिकारमा पर्छ, स्वास्थ्य सेवामा न्यायोचित पहुँच। तर यो अधिकार सबैले पाएका छैनन्। स्वास्थ्य क्षेत्रको लागि यो ठूलो चुनौती हो। 

यो पनि: डब्लूएचओ क्षेत्रीय निर्देशकका उम्मेदवार डा. शम्भु आचार्य: ३० वर्षदेखि स्वास्थ्य व्यवस्थापनका सारथि

अर्को चुनौतीको रूपमा रहेको छ, हाम्रो ‘पिरामिड हेल्थ सिस्टमको संरचना।’ यस संरचनालाई सन् २०१७ मा नयाँ संरचनामा परिणत गर्नु पर्ने अवधारणा आएको थियो। तर त्यसले निरन्तरता पाएन र भत्कियो। वडा–वडाका समुदायमा आधारित महिला स्वास्थ्य स्वयंसेविका जो छन्, उनीहरूलाई स्वास्थ्य प्रणालीमा पुनः जोड्न आवश्यक छ। 

ग्रामीण नगरपालिकासँग स्वास्थ्य स्वयंसेविका, हेल्थ पोस्टहरू जोडिनुपर्छ। समुदायमा आधारित स्वास्थ्य सेवा हुनुपर्छ। जबसम्म हामी त्यो गर्दैनौँ, निमुखा जनतामा सेवा पुग्दैन। यो स्वास्थ्य सेवाको अर्को खाडल हो। त्यसको लागि सामुदायिक प्रक्रियामा जोडिनु पर्छ। त्यस्तै, ‘ननकम्युनिकेबल डिजिज’ अर्थात् नसर्ने रोग अर्को चुनौती हो। नसर्ने रोग भन्नाले हृदयघात, स्ट्रोक, क्यान्सर, डाइबेटिज, इत्यादि पर्छन्। यसलाई हामीले रोकथाम गर्न सक्छौँ। यसको रोकथाम नवयुवा, बालबालिकाबाट शुरू गर्नु पर्छ।

सुर्तीजन्य पदार्थ, मदिरा, गुट्खा, पत्रु खानमा बढी निकटता हुँदा हाम्रा केटाकेटीमा शारीरिक निस्क्रियता देखिएको छ। यसको निदान आवश्यक छ, त्यो भनेको रक्षात्मक तरिका नै हुन्। रोग लाग्नै नदिनु उत्तम हो। नसर्ने रोग लाग्यो भने, एक त यसको उपचार असाध्य महँगो छ। अर्को, निकै दर्दनायक हुन्छ। कतिबेला जीवनको अन्त्य हुन्छ भन्न सकिन्न। यी कुरामा ध्यान दियौँ भने, यस क्षेत्रको मुख्य समस्या सम्बोधन होलान्।

नयाँ निर्वाचित हुने निर्देशकलाई तपाईको सन्देश के छ?
मेरो शुभकामना छ। स्वास्थ्य सेवामा रहेको ‘ग्याप’ र असमान पहुँचलाई कसरी पुर्न सकिन्छ त्यसमा उहाँहरूलाई चुनौती छ। त्यस पक्षको राम्रो सम्बोधन होस्।


सम्बन्धित सामग्री