विद्यावारिधिताकाका शुरूआती वर्षतिर न्युयोर्कमा रहँदा–बस्दा एक दिन नचिनेको नम्बरबाट फोन आयो। फोन न्युयोर्ककै स्वास्थ्यकर्मीबाट आएको रहेछ। मलाई तुरुन्त छातीको एक्स-रे गर्न र हप्ता बिराएर छालामा दुई पटक 'ट्युबरकुलिन' परीक्षण गर्न लगाइयो। कुरा के रहेछ भने, केही दिनपहिले क्यालिफोर्निया जाँदा केही नेपाली साथीलाई भेटेको थिएँ। तीमध्ये एक जनालाई खोकिरहेका थिए, उनलाई पछि क्षयरोग (टीबी) भएको पत्ता लागेछ। अमेरिकामा क्षयरोग लागेर औषधि नखाँदासम्म सम्पर्कमा आएका सबै व्यक्तिको बृहत्तर क्षयरोग परीक्षण गर्ने चलन छ। यो चलन नेपालमा भने छैन। किनभने नेपालमा धेरैलाई क्षयरोग लागेको हुन्छ। सम्पर्कमा आएका सबैको परीक्षण खर्चिलो र अव्यावहारिक हुन्छ। स्वास्थ्य परीक्षणबाट ममा क्षयरोग नसरेको देखियो र मैले त्योभन्दा बढी दुःख भोग्नु परेन।
यस उदाहरणले क्षयरोग नियन्त्रणका लागि सक्रिय रूपमा संक्रमित व्यक्तिको खोजी र उपचार गर्नु कति जरुरी छ भन्ने दर्साउँछ। क्षयरोगका संक्रमित व्यक्तिहरू दुई थरीका हुन्छन्। सक्रिय रूपमा संक्रमित व्यक्तिहरूको खकारमा जीवाणु भेटिन्छन् र ती जीवाणुले रोग सार्न मद्दत पुर्याउँछन्। सुषुप्त संक्रमित व्यक्तिहरूको खकारमा जीवाणु भेटिँदैन, अरू तरिकाले पनि यी व्यक्तिहरू निरोगी हुन्छन्। तर यिनीहरूमा सुषुप्त रूपमा जीवाणु लुकेर बसेका हुन्छन्। अवसर परेमा अरू कसैबाट जीवाणु नसरे पनि यी व्यक्ति सक्रिय बिरामी हुन सक्छन्। नेपाल र भारतजस्तो उच्च जीवाणुको भार भएको देशमा सुषुप्त बिरामीको संख्या समग्र जनसंख्याको एक तिहाइसम्म हुन्छ। एक तिहाइ जनतालाई औषधि खुवाउने गरिन्न। खालि सक्रिय बिरामीलाई मात्र औषधि खुवाउने गरिन्छ। अमेरिकाजस्तो कम जीवाणु भार भएको देशमा भने सुषुप्त बिरामीलाई पनि औषधि खुवाउने गरिन्छ।
कति छ त नेपालमा क्षयरोगको सक्रिय संक्रमण दर? धेरै पहिलेदेखि यो दरको अनुमान लगाइएको भए पनि साँच्चिकै सर्वेक्षण भने सन् २०१८ देखि २०१९ सम्ममा देशव्यापी रूपमा गरिएको थियो। यस्तो विस्तृत दर निर्धारण नेपालमा शायदै अरू कुनै रोगका लागि भएको छ। ५० हजार जनाको एक्स-रे परीक्षणबाट गरिएको अनुमानमा एक लाख नेपालीमा ४१६ जनामा सक्रिय क्षयरोग देखियो। अचम्मको कुरो त क्षयरोग लागेका ७० प्रतिशतमा लक्षण केही नदेखिई छातीको एक्स–रेमा मात्र खराबी देखिएको थियो।
नेपालमा क्षयरोग नियन्त्रणका लागि के गर्ने गरिएको छ त? राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको ठिमीमा छ। यहाँ कुनै व्यक्तिको जीवाणुविरुद्ध विभिन्न औषधिले काम गर्छन् या गर्दैनन् भन्ने परीक्षण गर्ने प्रयोगशाला पनि छ। यस केन्द्रअन्तर्गत देशभर विभिन्न प्रयोगशाला छन्, जहाँ सक्रिय क्षयरोग लागे/नलागेको पत्ता लगाउन सकिन्छ। क्षयरोग लागेको खण्डमा बिरामीलाई निःशुल्क औषधि दिइन्छ। चार वटा औषधि नियमित रूपमा ६ महिनासम्म खानुपर्ने हुन्छ। तर औषधि खाने कुरामै पनि कति बिरामी हेलचेक्र्याइँ गर्छन्। त्यस्तै हेलचेक्र्याइँको कारणले केही दशकयता यी चार औषधिले काम नगर्ने जीवाणुको विकास भएको छ। यस्ता जीवाणुले संक्रमण गरेको छ या छैन भनेर पत्ता लगाउन विशेष परीक्षण गर्नुपर्छ। अझ जटिल औषधि अझ लामो समय सेवन गर्नुपर्छ। यी सबै सेवा सरकारले नि:शुल्क प्रदान गर्छ। क्षयरोग नियन्त्रण गर्न सर्वप्रथम त क्षयरोगको शंका लागेर आएका बिरामीलाई देशव्यापी रूपमा चुस्त सेवा प्रदान गर्न सक्नुपर्छ।
माथि बयान गरेअनुसार सक्रिय क्षयरोग लागेका सबै बिरामीले लक्षण देखाउँदैनन्, तर रोग सारिराखेका भने हुन सक्छन्। नेपालको गणनाअनुसार ७० प्रतिशतले लक्षण देखाउँदैनन्, यिनलाई जनसमुदायमा गएर खोज्नुपर्ने हुन्छ। यसरी रोगको शंका लागेर आएकाबाहेक अरू बिरामी खोज्ने प्रणालीलाई सक्रिय बिरामीको खोज भन्ने गरिन्छ। सक्रिय बिरामी खोज गर्ने भन्नेबारे विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित एउटा पुस्तिका नै छ। नेपालमा सक्रिय बिरामीको खोज विभिन्न समयमा गरिएको छ र त्यसबारे शोधपत्र पनि लेखिएका छन्।
'विराट नेपाल मेडिकल ट्रस्ट'ले गरेको एक अध्ययनमा बिरामीको सम्पर्कमा आएका मानिसहरू, अरू रोग जँचाउन अस्पताल आएका मानिसहरू र दूरदराजमा रहेका मानिसहरूमा हेल्थ क्याम्प गरेर सक्रिय बिरामी खोज गरिएको थियो। बिरामी लक्षणको आधारमा छानिएका थिए। यी तीन प्रक्रियामध्ये अरू रोग जँचाउन अस्पताल आएका मानिसहरूबाट बढी रोगी भेटिएको थियो। यस्तो प्रकारको सक्रिय बिरामी खोज सबैभन्दा सजिलो क्षयरोग नियन्त्रणको उपाय हो। क्षयरोग दर साँच्चिकै घटाउन लक्षणको आधारमा छान्नुभन्दा छातीको एक्स–रेले बिरामी छान्दा बढी उपयुक्त हुन्छ। फेरि बिरामी केही जिल्लामा मात्र नभएर देशव्यापी रूपमा खोजिनुपर्छ। गाडीमा राखेर विभिन्न ठाउँ पुर्याउन मिल्ने एक्स-रे मेसिनको प्रयोग गरेर सक्रिय बिरामी खोज गरेका शोधपत्र इन्टरनेटमा भेट्न सकिन्छन्। कम जीवाणु भएका बिरामी एक्स-रे गर्दा भेटिने एउटा शोधपत्रको निष्कर्ष छ।
अस्पताल आएका बिरामीको राम्रो उपचार र सक्रिय बिरामीको खोज गर्दैमा नेपालमा क्षयरोगको अन्त्य भने हुनेवाला छैन। यसमा दुइटा मुख्य समस्या हुनेछन्: नेपाल-भारत लगायतमा आप्रवासन र औषधि प्रतिरोधक जीवाणुको विकास। आप्रवासनका कारण बढेको क्षयरोगको घटना अमेरिकालगायत विकसित देशले झेलेको समस्या हो। अमेरिकाको न्युयोर्क तथा बेलायतको लन्डनमा हुने प्राय: सबैजसो क्षयरोग आप्रवासीहरूबाट आएको हुन्छ। अलि अलि क्षयरोग आयात भयो भन्दैमा स्पष्ट रूपमा आप्रवासन रोक्ने कुरा त आएन। त्यसो भन्दाभन्दै पनि, विकसित देशले सकेसम्म कडाइ त गरेकै छन्। देशभित्र आउने सबैजसोको ट्युबरकुलिन परीक्षण गराएका हुन्छन्। रोग लागेकाको सम्पर्कमा आएका सबैको परीक्षण गर्छन्। सुषुप्त क्षयरोग लागेकालाई पनि औषधि खुवाउँछन्। यति गर्दा पनि क्षयरोग पूर्ण नियन्त्रणमा आउन सकेको छैन। त्यसैले नेपालले पनि देशभित्र पूर्ण क्षयरोग नियन्त्रण गरे पनि बाहिर, विशेष गरी भारतबाट नसर्ला भन्न सकिन्न।
केही दशकदेखि क्षयरोग नियन्त्रणमा देखिएको अर्को समस्या भनेको औषधि प्रतिरोधात्मक जीवाणुको विकास हो। औषधि प्रतिरोध गर्ने जीवाणु भएका बिरामीको संख्या सन् १९७० को दशकदेखि बढ्दै गएर अहिले आएर स्थिर अथवा केही घटेको छ। यस्ता बिरामीको उपचार गर्न निकै कठिन र महँगो हुन्छ। थाहा हुनेबित्तिकै कुन–कुन औषधिलाई जीवाणुले प्रतिरोध गर्छ, २-३ महिना लगाएर जाँच गर्नुपर्ने हुन्छ। काम गर्ने औषधि मात्र बिरामीलाई दिइन्छ। अहिले नेपाल र विभिन्न विकासोन्मुख देशमा गरिने परीक्षणहरू ढिलो र अपरिपक्व हुने भएकोले 'सिक्वेन्सिङ'मार्फत परीक्षण गर्ने प्रविधिको विकास भएको छ। यो प्रविधि पनि पूर्ण रूपले विकास भएको छैन। प्रविधि लागु गर्न दक्ष जनशक्ति तथा बढी खर्च आवश्यक पर्छ। क्षयरोग नियन्त्रण केन्द्र र काठमाडौँ विश्वविद्यालय यस काममा लागि परेका छन्।
विश्व स्वास्थ्य संगठनले सन् २०३५ सम्म क्षयरोगको अन्त्य गर्ने लक्ष्य राखेको छ। तर अहिले जुन तरिकाले विकासोन्मुख र विकसित देशले क्षयरोगलाई प्राथमिकतामा राखेका छन्, यो लक्ष्य प्राप्त होलाजस्तो छैन। विकासोन्मुख देशमा रोगको भार अति उच्च छ। यी राष्ट्रसँग खर्च गर्ने पुँजी पनि कम छ। आप्रवासीका कारण केही समस्या भए पनि विकसित देशमा क्षयरोग लगभग नियन्त्रणमा आइसकेको छ। उनीहरू आफ्नो देशमा क्षयरोग नियन्त्रण गर्न कोसिसरत छन्। केही पैसा विकासोन्मुख देशलाई पनि दिन्छन्। नयाँ औषधि तथा खोपको खोजीमा लगानी पनि सीमित मात्रामा गरेका छन्। अमेरिकामा ठूला–ठूला अस्पतालका अनुसन्धान केन्द्रमा थुप्रै क्षयरोगमा अनुसन्धान गर्ने प्रयोगशाला छन्। तर यति खर्च पर्याप्त भइरहेको छैन। शायद विश्व एकै राष्ट्र हुँदो हो त क्षयरोगमा धेरै बढी लगानी हुन्थ्यो होला।
सन् २०३५ सम्म क्षयरोगको अन्त्य हुन एकदम प्रभावकारी औषधि अथवा खोपको आवश्यकता पर्नेछ। यसको लागि अनुसन्धानमा लगानी गर्नु पर्नेछ। अहिले प्रयोग हुने औषधि सबै एउटाभन्दा बढी खानुपर्ने र कमसेकम ६ महिना खानुपर्ने छन्। एक महिना, अझ एक हप्तामा निको पार्ने औषधिको आविष्कार भए क्षयरोग नियन्त्रणमा धेरै सहयोग पुग्ने थियो। अहिले प्रयोग हुने बीसीजीको खोप पनि त्यति प्रभावकारी छैन। यो खोप आजभन्दा सय वर्षभन्दा अगाडि विकास भएको थियो। सय वर्षभन्दा बढी समयमा खोपको विकास नहुनु विडम्बनाको विषय हो। यसको पछाडि मानवको क्षयरोग विरुद्धको प्रतिरोधात्मक क्षमताको पर्याप्त अध्ययन नहुनु एक कारण हो। प्रभावकारी खोप अथवा औषधिको विकास अहिलेकै लगानीले सम्भव छ। तर सम्भावना बढाउन बढीभन्दा बढी लगानी सहयोगी हुनेछ। अहिलेकै स्वास्थ्य उपायले लक्षसम्म पुग्न भने धेरै मिहिनेत लाग्ने छ।
भट्टराई काठमाडौँ विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उपप्राध्यापक हुन्। उनले कोर्नेल विश्वविद्यालय, अमेरिकाबाट विद्यावारिधि गर्ने क्रममा क्षयरोगको जीवाणुबारे ६ वर्षसम्म अनुसन्धान गरेका थिए।