Friday, May 10, 2024

-->

डब्लूएचओ क्षेत्रीय निर्देशकका उम्मेदवार डा. शम्भु आचार्य: ३० वर्षदेखि स्वास्थ्य व्यवस्थापनका सारथि

डब्लूएचओ दक्षिणपूर्वी एशिया निर्देशकका लागि हुने निर्वाचनमा नेपालका डा. शम्भु आचार्यसँगै बंगलादेशकी सायमा वाजिद प्रतिस्पर्धामा छन्। को हुन् डब्लूएचओ दक्षिणपूर्वको उच्च पदमा पुग्न चाहिरहेका डा. आचार्य?

डब्लूएचओ क्षेत्रीय निर्देशकका उम्मेदवार डा शम्भु आचार्य ३० वर्षदेखि स्वास्थ्य व्यवस्थापनका सारथि
तस्वीर: कृपा श्रेष्ठ/उकालो

काठमाडौँ- विश्व स्वास्थ संगठन (डब्लूएचओ) दक्षिणपूर्वी एशिया कार्यालयले अक्टोबर ३० मा नयाँ क्षेत्रीय निर्देशकको लागि चुनाव गर्दैछ। उक्त पदमा नेपालका डा. शम्भु आचार्यसँगै बंगलादेश र क्यानडाको दोहोरा नागरिकता भएकी सायमा वाजिद उम्मेदवार छन्।

वाजिद मानसिक स्वास्थ्य र त्यसमा पनि अटिजममा दक्षता राख्छिन्। मानसिक स्वास्थ्य सम्बन्धमा डब्लूएचओको सल्लाहाकारसमेत छिन्। उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी हुन्।

डा. आचार्यसँग जनस्वास्थ्यमा काम गरेको ३० वर्ष लामो अनुभव छ। उनी डब्लूएचओको ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट’ विभागका निर्देशक छन्। डा. आचार्य र वाजेदमध्ये एक जनाले अबको करिब एक महिनामा दक्षिणपूर्वी एशियाको ११ देशको क्षेत्रीय निर्देशकको पद सम्हाल्ने छन्। क्षेत्रीय निर्देशकले नेपालसहित भारत, भुटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, बंगलादेश, इन्डोनेसिया र टिमोर लिस्टे हेर्ने गर्छन्।

हाल उक्त पदमा भारतकी पुनम क्षेत्रपाल सिंह छिन्। दोस्रो कार्यकालको उत्तर्राद्धमा रहेकी उनी सन् २०१४ र २०१८ मा निर्विरोध निर्वाचित भएकी हुन्। भारतीय पत्रिका द हिन्दुका अनुसार दुई छिमेकी राष्ट्रका उम्मेदवारबीचको प्रतिस्पर्धाले यो निर्वाचन भारतको लागि निकै जटिल हुनेवाला छ। अन्य केही सञ्चारमाध्यमले अनुभव र दक्षताका आधारमा डा.आचार्य उपयुक्त रहेको जनाएका छन्। 

को हुन् शम्भु आचार्य?
पाल्पाको भुटुकामा जन्मिएका डा. आचार्यले ६ वर्षदेखि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधनोम घेब्रेयेससको सुपरिवेक्षणमा काम गरिरहेका छन्। उनी डब्लूएचओबाट हुने उच्च पदाधिकारीहरूको प्रतिनिधिमण्डलका मुख्य सहभागी पनि हुने गरेका छन्। भुटुकादेखि स्वीट्जरल्यान्डको जेनेभासम्मको उनको यात्रा निकै संघर्षपूर्ण, रोचक र प्रेरणादायी छ।

स्वास्थ्य क्षेत्रमा उनको पहिलो पाइला परिवार नियोजन संघ नेपालको फिल्ड डिभिजन निर्देशकबाट शुरू भएको थियो। त्यसबेला परिवार नियोजनको विषय हालको जस्तो खुलस्त चर्चाको विषय थिएन। उनी युवावस्थामै थिए। त्यसैले काम पहिलो रोजाइ थिएन। तर त्यही पहिलो पाइलाबाट शुरू यात्रा अहिले डब्लूएचओको क्षेत्रीय निर्देशकको विन्दुसम्म आइपुगेको छ।

यो यात्रामा उनले लामो बाटो पार गरेका छन्। ४०–५० वर्षअघि पाल्पालगायत नेपालका पहाडी जिल्ला र त्यहाँका ग्रामीण भेगमा सडक, स्वास्थ्य, शिक्षालगायत सेवा थिएन। उनी पढ्नका लागि करिब ५० मिनेट हिँडेर विद्यालय पुग्थे।

“विद्यालयमा रूखमुनि बसेर पढ्नु पर्थ्यो। पानी पर्दा त्यस्तै समस्या। हाम्रो लागि कहिलेकाहीँ  डोनेसन आउँथे,” उनी भन्छन्, “यी सबै कुराले मलाई केही राम्रो काम गर्न प्रेरित गरिरह्यो।”

विद्यालयको पढाइपछि उच्च शिक्षाका लागि आचार्य चार वर्ष तानसेन बसे। त्यहाँ हरेक विषय नेपाली भाषामा पढाइ हुन्थ्यो। त्यसपछि थप अध्ययनका लागि भारत गए। त्यहाँ उनले भाषिक समस्या भोग्नुपर्‍यो।

“भारतमा अंग्रेजी भाषाको प्रयोग हुन्थ्यो। म नेपाली माध्यममा पढेर गएको हुनाले भाषाको समस्या हुन थाल्यो। मैले लेख्न, बोल्न केही पनि सकिनँ,” उनी भन्छन्, “कुनै दिन त म कोठामा एक्लै बसेर रोएको थिएँ। त्यहाँको वातावरणमा घुलमिल हुन सकिरहेको थिइनँ।”

उनी यतिसम्म लघुताभास महसुस गर्न थालेका थिए, कि कलेज नै ‘ड्रप आउट’ गर्ने सोचसमेत बनाए। तर छाडिहालेनन्। बरु समाधानका उपाय पनि सोच्न थाले। राम्रो अंग्रेजी भएका साथीहरूको संगत थाले। “असम्भव भनेको केही पनि हुँदैन, आफूलाई विश्वास र लगन भने पक्कै आवश्यक पर्छ। मैले मेरो अंग्रेजी सुधार गरेरै छाडेँ,” उनी भन्छन्। 

विश्व बैंकबाट डब्लूएचओतर्फ
पढाइ सकेर आचार्य नेपाल फर्किए। शुरूमा केही व्यावसायिक संस्थामा काम खोजे। तर भनसुन गरिदिने चिनजानका कोही थिएनन्। उनी त पाल्पाको गाउँबाट आएको गाउँले ठिटो थिए। 

एक दिन एउटा विज्ञापन देखे। त्यसमा लेखिएको थियो ‘प्रोजेक्ट म्यानेजर फर फेमली प्लानिङ इन नेपाल।’ यो एक अमेरिकन संस्थाको प्रोजेक्ट थियो। योग्यतामा व्यवस्थापन अध्ययन चाहिने उल्लेख थियो। उनले निवेदन दिए र छानिए पनि। “शुरूमा त म त्यति उत्साही थिइनँ, कारण त्यो मेरो पहिलो रोजाइ थिएन,” उनी भन्छन्, “म युवास्थामा थिएँ, परिवार नियोजन नेपाली समाजमा खुला बहसको विषय थिएन। तर सरकारी जागिरभन्दा राम्रो तलब भएको कारण आकर्षित भएँ। ”

आज फर्किएर हेर्दा उनलाई त्यो निर्णय उत्तम लाग्छ। उक्त प्रोजेक्टमा काम गर्दा नेपाली जनस्वास्थ्यको परिवेशलाई नजिकबाट नियाल्न पाए। नेपालको ग्रामीण क्षेत्रहरूमा पुग्न पाए। पर्वतबाट बागलुङको ढोरपाटनसम्म गरिएको एक हप्ताको पैदल यात्रा उनको मानसपटलमा गाढा बसेको छ। त्यहाँबाट फर्कने क्रममा हिँड्न नसक्दा घोडा चढ्नु परेको थियो। त्यति विकट थियो त्यो क्षेत्र।

कामकै सिलसिलामा पश्चिममा डोटी, पूर्वमा संखुवासभा र तराईका जिल्लामा पुगे। उनी भन्छन्, “म यस्तो क्षेत्रमा काम गरिरहेको थिएँ, जहाँ मानिसको वास्तविक समस्या बुझ्न पाइन्छ। महसुस गर्न पाइन्छ। समाधानको बाटो देखाउन पाइन्छ। यो मेरो लागि आनन्दायी थियो। त्यसबेला हामी राष्ट्रियस्तरमा काम गर्न सक्छौँ भन्ने भाव उच्चरूपमा विकसित भएको थियो।” 

दुई वर्ष प्रोजेक्ट म्यानेजर पद सम्हालेपछि आचार्य अध्ययनका लागि अमेरिका पुगे। त्यहाँ युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको गिलिङ्स स्कूल अफ ग्लोबल पब्लिक हेल्थबाट ‘हेल्थ पोलिसी एन्ड फाइनान्सिङ’मा विद्यावारिधि गरे। विद्यावारिधि सकिनेबित्तिकै विश्व बैंकमा जनस्वास्थ्य क्षेत्रमै ‘इन्टर्न’को मौका पाए। उनी विश्व बैंकबाटै जनस्वास्थको क्षेत्रमा काम गर्न बंगलादेश गए। त्यहाँ काम गरिरहँदा विश्व बैंकले करिब २२० मिलियन डलरको योजना बंगलादेश पठायो।

बंगलादेश सरकारले उक्त रकम आफैँ खर्च नगरेर समन्वयका लागि डब्लूएचओलाई आग्रह गरेको थियो। “त्यत्रो रकम व्यवस्थापन गर्न सक्ने व्यक्तिको खोजी भयो। मलाई बंगलादश सरकारले पनि चिन्थ्यो र विश्व बैंकले पनि। काम र दक्षताको आधारमा मेरो नाम सिफारिस भयो,” डा. आचार्य भन्छन्, “यसरी मेरो यात्रा विश्व स्वास्थ संगठनतर्फ धकेलियो। मैले उक्त रकममध्ये ८५ मिलियन डलरको काम चार वर्षको लागि मिलाएँ।”

सन् १९९८ बाट उनले डब्लूएचको यात्रा शुरू गरे। उनको कामलाई डब्लूएचओका उच्च पदाधिकारीले हेरिरहेका थिए। अहिले उनी कार्यरत (कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट) विभागका तत्कालीन निर्देशकले उनलाई दक्षिणपूर्वी एशियाको क्षेत्रीय स्वास्थ्य प्रणाली र आर्थिक व्यवस्थापनको सल्लाहकार भएर काम गर्न ‘अफर’ गरे। सल्लाहकारको रूपमा काम गर्दा उनले जापानमा एशिया प्यासेफिक हेल्थ–इकोनोमिक नेटवर्कको स्थापनामा सहयोग गरे। उनले विशेषतः स्वास्थ्य र आर्थिक विषयलाई जोडेर काम गरेका थिए। 

अनि जेनेभातर्फ पाइला मोडिए
डब्लूएचओको वार्षिक रूपमा हुने क्षेत्रीय समितिको बैठकहरूमा संगठनका पदाधिकारीहरू हुन्छन्। बैठकपछिको ‘रिसेप्सन’मा डब्लूएचका तत्कालीन निर्देशक डा. ग्रो अर्डर्म वर्डसँग भेट भयो। उनले आचार्यलाई जेनेभा आउन अनुरोध गरे। त्यसको एक महिनापछि मुख्यालय जेनेभाबाट महासचिवको कार्यालयमा दुई वर्ष काम गर्न अनुरोध आयो। अनि उनी जेनेभा पुगे।

आचार्यका अनुसार डब्लूएचओका कार्यालय १५४ देशमा स्थापना भएका छन्। डब्लूएचओको मुख्यालयमा रहँदा स्वास्थ्य वैज्ञानिक, जनस्वास्थ अधिकृत, संयोजक, निर्देशकलगायत पदमा काम गरे। 

सन् २०१५ मा उनले आफैँ सबै देशका प्रतिनिधि बोलाएर ‘ग्लोबल मिटिङ एन्ड हेल्थ डाइलग’ सम्मेलन गरे। डब्लूएचओकी नयाँ निर्देशक डा. मार्गेट च्यानको नजरमा फेरि डा. आचार्य परे। उनले आचार्यको नेतृत्वको प्रशंसा गरिन्। सोही वर्ष डब्लूएचओमा उनले नयाँ जिम्मेवारी पाएपछि दुई वर्षका लागि जेनेभा पुगेका उनको बसाइ लम्बियो। उनले डा. च्यानसँग काम गर्न थाले।

सन् २०१६ मा उनलाई संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव बान कि मुनले ‘यूएन सिस्टम स्टाफ कलेज’को बोर्ड सदस्यमा दुई वर्षका लागि मनोनीत गरे। उनको कार्य क्षमताको कदर गर्दै महासचिव एन्टोनियो गुटेरसले कार्यकाल ३१ अक्टोबर २०१९ सम्मका लागि बढाए।

त्यही बीचमा डब्लूएचओका नवनियुक्त महानिर्देशक डा. टेड्रोससँग उनको साक्षात्कार भयो। त्यसबेलासम्म डा. टेड्रोससँग चिनजान थिएन। टेड्रोसले स्वास्थ क्षेत्रका नयाँ कामका विषयमा आचार्यको राय बुझे।

“डब्लूएचओले सबै सदस्य देशलाई समान रूपमा व्यवहार गर्नुपर्ने, संगठनले देशहरूलाई निरन्तर केन्द्रमा राखेर काम गर्नुपर्ने र सबैलाई स्वास्थ्यमा समान पहुँच हुनुपर्ने उल्लेख गरेको थिएँ,” उनले भने, “साथै संगठनमा १९४ सदस्य राष्ट्रको विविधता झल्कनु पर्ने, जुन डब्लूएचओको बलियो पक्ष हुने बताएँ। मेरो यी तीन वटा धारणा उहाँले मन पराउनुभयो सायद, जसकारण ६ वर्षदेखि म डब्लुएचओमा उहाँसँगै काम गरिरहेको छु।”

क्षेत्रिय निर्देशक भए प्राथमिकताका पाँच क्षेत्र
स्वास्थ्यको क्षेत्रमा विश्वभरि नै धेरै समस्या यथावत रहेको डा. आचार्य बताउँछन्। हरेक देशका जनतालाई स्वास्थ्य र शिक्षामा चेतना दिनुपर्ने उनको भनाइ छ। खासगरी दक्षिणपूर्वी एशियामा पाँच वटा क्षेत्रमा आफ्नो विशेष जोड हुने उनले बताए।

“पहिलो, म दक्षिणपूर्वी एशियाको दीर्घकालीन स्वास्थ्य सेवाबारे केन्द्रित हुन चाहन्छु। यसमा समाज, जनतादेखि स्वास्थ्यमा सम्बन्ध राख्ने सरोकारवालाहरूसँग मेरो सम्बन्ध रहनेछ। प्राथमिक उपचार सेवाको जग बसाउन चाहन्छु। आगामी दिनमा विश्वमा १८ मिलियन  स्वास्थ्यकर्मीको संकट हुने एक अध्ययनले देखाएको छ। त्यसमा पनि काम गर्नु पर्नेछ,” उनले भने।

स्वास्थ्य संकटबाट सुुरक्षित राख्ने पनि उनको प्राथमिकताको क्षेत्र हो। त्यसका लागि उनी सदस्य राष्ट्रहरूसँग कुरा गरिहेका छन्। हरेक देशमा प्राथमिक उपचारको अवस्था बलियो भए महामारी र स्वास्थ्य संकटबाट धेरै हदसम्म जोगिन सकिने उनको भनाइ छ।

“डिजिटल क्षेत्र पनि मेरो प्राथमिकताको क्षेत्र हो। प्रविधिको सहयोगमा कसरी न्यूनतम स्तरको स्वास्थ्य क्षेत्रको जानकारी प्राप्त गर्न सकिन्छ भन्नेमा काम हुनुपर्छ। प्रविधिलाई मानिसको जीवनसँग जोड्न सके लाभ हुन्छ,” उनी भन्छन्, “यसका लागि हामीले डिजिटल टेक्नोलोजी, तथ्यांक संकलन, तथ्यांकको प्रयोगलगायत काम गर्नुपर्छ।”

वातावरण परिवर्तन स्वास्थ्यमा प्रभाव पार्ने अर्को पक्ष रहेको उनको भनाइ छ। यसै पनि वातावरण परिवर्तन विश्वकै टाउको दुखाइको विषय बनिरहेको छ। वातावरण परिवर्तनले हुने स्वास्थ्य परिवर्तनमा काम गर्ने डा. आचार्यको योजना छ। 

आफू क्षेत्रीय निर्देशक भए समानता, विविधता, लैगिंकताको सम्मान गर्दै संस्थामा नयाँ र उपयोगी योजना ल्याउने पनि डा. आचार्यले बताए। डब्लूएचओमार्फत  हरेक देशका नागरिक स्वास्थ्यका हिसाबले सुरक्षित रहेको आफूले देख्न चाहेको उनको भनाइ छ।


सम्बन्धित सामग्री