Sunday, May 12, 2024

-->

महिलालाई पनि रमाउन मन लाग्छ चाडबाडमा

घरायसी कामको जिम्मा महिलाको मात्रै होइन। यस्तो हरितन्नम सोचबाट हामी निस्केर मात्र पुग्दैन, स्वास्थ्यले साथ दिँदासम्म श्रम विभाजन गरेर सबैले बराबर काम गर्नुपर्छ।

महिलालाई पनि रमाउन मन लाग्छ चाडबाडमा

आज दशैँको महानवमी। चाडमात्रै होइन दशैँ, जीवनलाई चाहेअनुरूप जिउन र आफ्नो तथा परिवारको गुजारा धान्न तथा अनेक उद्देश्यले लाखापाखा भएका परिवारका सदस्यलाई मिलन गराउने एक अवसर पनि हो। चारो खोज्न उडेका चरी साँझ आफ्नो गुँड फर्किएझैँ गाउँशहर छाडेर अन्यत्र काम गर्न गएका खास गरी नेपाली युवा आफ्नो थातथलो फर्कने महाअवसर पनि हो बडादशैँ।

हामीले धेरै पटक निबन्धहरूमा लेखिसकेका छौँ, आफ्ना गफगाफमा भनिसकेका छौँ- हामी नेपाली चाडपर्वमा साँच्चै धनी छौँ। भित्तेपात्राेभरि पर्व नै पर्व छन्। हरेक महिना हाम्रा घरआँगनमा कुनै न कुनै चाडपर्व आइरहेका हुन्छन्। चाडपर्वका आफ्नै सामाजिक, सांस्कृतिक महत्त्व र विशेषता छन् भने हामी सबैले गच्छेअनुसार मितव्ययी र सरल ढंगमा सामाजिक भाइचारा कायम गर्दै पर्व मनाउन सके चाडपर्व र समाज झनै सुन्दर हुन्थे होला।

चाडबाड भन्ने बित्तिकै घरभित्र-बाहिर सरसफाइ, रङरोगन, लुगा धुने भाँडा माझ्ने तथा गाउँघरको सन्दर्भमा घर लिपपोत गर्ने, दशैँभरका लागि घाँसदाउराको जोहो गर्ने तथा अन्य आवश्यक काम पर्छन्। दशैँको बेला अझ सबैभन्दा महत्त्वपूर्ण भएर आउँछ खानपिन। अन्य चाडबाडमा भन्दा धेरै खानपान र पकवानको काम दशैँमा हुन्छ। माथि उल्लेख गरिएका सबै कर्म परिवारको साझा जिम्मेवारी हो, तर यी कामहरूको एकलौटीजस्तो जिम्माचाहिँ प्राय: महिलालाई हुन्छ। अलि प्रगतिशील सोच भएका परिवारहरूमा चित्र थोरै फरक छ, तर औसत परिवारमा पुरानै चाला छ।

यस्ता काममा थोरै मात्रामा पुरुषको संलग्नता देखिन्छ भने घरका महिला सदस्यलाई अझ बढी घरायसी कामको बोझले शारीरिक र मानसिक दबाब पर्न जान्छ। यसो हुनुमा पितृसत्तात्मक प्रणालीद्वारा सञ्चालित अधिकांश मान्छेको सोच, विचार तथा सामाजिक अभ्यास नै जिम्मेवार छ।

मानव सभ्यता ढुंगे युगबाट कृषि युगमा प्रवेश गरेसँगै समाजमा पितृसत्ता व्यवस्थाले जरो गाडेको हो जहाँ कुनै कामलाई महिलाको र कुनैलाई पुरुषको भन्दै छुट्ट्याइयो। त्यहीँबाट लैंगिक विभेद शुरू भएको कतिपय समाज वैज्ञानिकहरूको मत छ।

घरबाहिरको काम पुरुषले गर्ने र घरभित्रको सम्पूर्ण काम महिलाले गर्ने भन्ने त्यस्तो चलन र अभ्यासले बिस्तारै समाज संकुचित घेरामा खुम्चिन थाल्यो। त्यसपछि महिलाहरू झनै आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा पूर्ण रूपमा पुरुषमा निर्भर हुन बाध्य भए। यसपूर्व र यसपछि पनि महिलालाई साङ्लोले बाँधेर किनबेच गर्ने, पुरुषको व्यक्तिगत सम्पत्तिको रूपमा प्रयोग गर्ने अमानवीय हर्कत हुने गर्थ्यो। सोही समयको मनोविज्ञान आज पनि कुनै न कुनै रूपमा विद्यमान देख्न सकिन्छ।

महिलाप्रति हुने विभिन्न विभेद तोड्न भन्दै उन्नाइसौँ र बीसौँ शताब्दीमा महिला आन्दोलनहरू भए। सन् १९०८ मा १५ हजार महिला श्रमिकहरूले अमेरिकाको न्युयोर्क सिटीमा काम गर्ने समय निश्चित हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै महिलाको स्वाभिमान र अधिकारका कुरा सार्वजनिक रूपमा प्रकट भए। त्यसअघि त महिलाले आफ्नो अधिकार माग्नुलाई नै अनुचित मानिन्थ्यो, जसरी यस लेख/तर्कलाई समेत कतिपय पितृसत्तावादी सोच भएकाले अनुचित ठहर्‍याउनेछन्।

सो आन्दोलन क्लारा जेट्क्लिनलगायतका महिलाको अगुवाइमा भएको थियो। उनै क्लाराले यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने धारणा राखेकी थिइन्। नभन्दै संयुक्त राष्ट्रसंघ स्वयंले सन् १९७५ बाट अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थाल्यो। नेपालमा पनि अन्तर्राष्ट्रिय महिला आन्दोलनका प्रभावस्वरूप राजनीतिक दलहरूमै महिला संगठनहरू उदाए, तिनले निरन्तर समताको आह्वान गरे। मंगलादेवी सिंह, साधना श्रेष्ठ, साहना प्रधान र शैलजा आचार्यलगायत दर्जनौँ महिलाहरूले त्यसको नेतृत्व गरे। 

राणाकालको थालनीसँगै नेपाली महिलाहरू अधिकारका लागि राजनीतिक चेतनाका साथ संघर्षमा सहभागी हुँदै जाने क्रममा १९७४ सालदेखि केही महिलाहरूको संलग्नतामा राणा शासनको विरोधमा जनचेतना जगाउन भएको प्रयास महत्त्वपूर्ण मानिन्छ। नेपालजस्तो सानो देशमा २००७, २०३२, २०३६, २०४२, २०४६, २०६२/६३ आदि समयमा भएका निर्णायक आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रहेको पाइन्छ। राजनीतिक परिवर्तनपश्चात् नेपालको सामाजिक रूपान्तरणसमेत गर्ने नारा भए पनि पितृसत्तात्मक सोचले महिलालाई अघि बढ्न दिएको छैन।

लाजमर्दो के छ भने महिला मन्त्रीसमेत पुरुष हुने गरेका छन्। संविधानमा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनेर उल्लेख छ। तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। संविधानमा प्रगतिशील व्यवस्था भए पनि पितृसत्तात्मक सोचका कारण राजनीतिमा महिला उति सहजै अघि बढ्न सकेका छैनन्। त्यसमाथि पितृसत्ताको अर्घेल्याइँ दशैँलगायतका धेरैजसो चाडबाडमा पनि प्रष्टसँग प्रकट हुन्छ।

खानपानको जिम्मा महिलाको ठानिन्छ। पुरुषहरू तास र कौडामा भुलिरहँदा तिनका लागि भोजन र खाजाको धेरैजसो जिम्मेवारी महिलाको हुन्छ। सायद सोही कारण होला, महिलाहरूसँग चाडबाडको कुरा गर्दा उनीहरू उत्साहित हुनुको साटो भन्ने गर्छन्, "आ…हामीलाई चाडबाडको के मजा? खाजा बनाउनु र चिल्ला भाँडा माझ्नकै सास्ती!" पहिले नै बच्चाको रेखदेख, स्तनपान र सरसफाइको अतिरिक्त जिम्मेवारी भएका महिलालाई चाडबाड यसरी कयस बन्न पुग्छ।

जबकि, हरेक परिवारले आफ्ना महिला सदस्यलाई कामदार, सेवक र सहायकका रूपमा हेर्न छाडेर 'समान शेयरहोल्डर'का रूपमा बुझ्दै कामको बाँडफाँड गर्ने हो भने महिलाले पनि चाडबाड र उल्लासको मज्जा लिनसक्थे। आजका महिला सबै क्षेत्रमा काबिल छन्। शिक्षाबाट समृद्ध बनेका महिलाले हर क्षेत्रमा आफूलाई प्रमाणित गरिसकेका छन्। हिजोका दिनमा कतिपय धर्मशास्त्रले महिलालाई दोस्रो दर्जाको करार गरे पनि विज्ञानले महिला र पुरुषको क्षमतामा फरक देखेको छैन।

त्यसो हुँदा अब घरायसी कामको जिम्मा महिलाको मात्रै होइन। यस्तो हरितन्नम सोचबाट हामी सबै निस्केर मात्र पुग्दैन, स्वास्थ्यले साथ दिएसम्म र सक्दासम्म श्रम विभाजन गरेर सबैले बराबर काम गरौँ। कुनै पनि कामलाई लिंगको आधारमा वर्गीकरण गर्नु आफ्नो सोचलाई संकुचित बनाउनु मात्रै हो। खाना बनाउने, भाँडा माझ्नु, लुगा धुनु, कोठा/घर सजाउनु र बालबच्चाको रेखदेख गर्नु हाम्रा 'लाइफ स्किल्स' (जीवन चलाउन अत्यावश्यक ज्ञान/सीप) हुन् जुन हरेक व्यक्तिमा हुनु आवश्यक छ।

फलानो काम महिलाको हो र फलानो काम पुरुषको भन्ने सोच मध्ययुगीन हो। एउटा सुन्दर परिवार निर्माणका लागि सुखदु:ख, काम, मनोरञ्जन तथा यावत् पारिवारिक गतिविधिमा परिवारका हरेक सदस्यबीच परस्पर सहकार्य अत्यन्त जरुरी हुन्छ।

चाडबाड त पारिवारिक गरिमाको विषयसमेत भएकाले अझ यसमा सहकार्य झनै आवश्यक छ। यस्तो सहकार्य अझै पनि कम छ नेपाली समाजमा। त्यसमा बढोत्तरी आवश्यक छ। एउटाले पकाउने-तुल्याउने र अर्काले चाहिँ खाइरहने अमिल्दो अभ्यासले चाडपर्वहरू बिस्तारै विघटनतर्फ लाग्नेछन्। यसमा सबैले गम्भीर भएर सोच्न आवश्यक छ। भोजन कक्षबाटै समताको अभ्यास थाल्नुपर्‍यो, किनकि महिलाको पनि हो चाडपर्व। 


सम्बन्धित सामग्री