Wednesday, May 08, 2024

-->

दशहरा: शारदीय पर्व-शृंखलाको प्रारम्भ

दशहराको विस्तारित स्वरूप कोजाग्रत पूर्णिमासम्म हेर्न पाइन्छ। पूर्णिमाको १६ दिनपछि पर्ने दीपावलीलाई ‘सहरैया’ भनिन्छ। ‘धनतेरस’देखि ‘भैया दुज’सम्म चल्ने पाँचदिने पर्व ‘सहरैया’ सकिएको ६ दिनपछि छठ पर्छ।

दशहरा शारदीय पर्व-शृंखलाको प्रारम्भ

फरक भूगोल, भाषा, कला, संस्कृति र रीतिरिवाजयुक्त नेपाली समाज वर्षैभरि एकपछि अर्को पर्व मनाउँछ। यस्तो लाग्छ– हाम्रा संस्कृति र परम्परा हाम्रो जीवनभन्दा लामा छन्। अनेकौँ कारण नेपालको ठूलो जनसंख्याले एकसाथ मनाउने पर्व हो दशैँ। काठमाडौँ उपत्यका र अधिकांश पहाडी जिल्लामा दशैँको रौनक हुँदा तराई/मधेशतिर ‘दशहरा’ले उल्लास थप्छ।

नेपालका अन्य भूगोलमा झैँ तराई/मधेशको संस्कृतिलाई मूल रूपमा कृषि कर्ममा आधारित लोक जीवनका रूपमा बुझ्न सकिन्छ। धार्मिक र सामाजिक मान्यतामा आधारित तराई/मधेशको संस्कृति यसैको अंग हो। वर्षा ऋतु बिदा भएसँगै तराईमा ‘भदैया’ (बर्खे) धान घर भित्रिसकेको हुन्छ, यतिखेर असोजले शरद ऋतुको स्वागतसँगै गर्मीयामलाई बिदा गर्छ। बिहान–बेलुका जाडोले आफ्नो उपस्थिति देखाउन थालिसकेको हुन्छ। यतिखेर अगहनी (मंसिरमा हुने) मुख्य बाली धान रोपाइँदेखि ‘सोहनी’ (गोडलेम)सम्म सकिसकेको हुन्छ। धान काट्नेदेखि दाइँसम्मको चटारो आउन कम्तीमा सवा महिना बाँकी हुन्छ। 

कृषि कर्मबाट आंशिक अवकाशको समय हो यो। रमाइलो गर्न र खुशियाली साटासाटका लागि मात्र होइन घर, छानो, छत, भित्ता, आँगन, खलियान, भकारी, गोठको मर्मत र पुनर्निर्माण गर्ने अवसरका रूपमा समेत यस अवधिलाई सदुपयोग गर्ने गरिएको छ। सनातन मान्यताअनुसार देवीका नौ स्वरूपको आराधना गर्ने, मेला आयोजन गर्ने तथा भाग लिने, मीठोमसिनो खाने र खुवाउने समय हो यो त्यसै पनि। सवा महिनाको यो शारदीय पर्व शृंखला दशहराको घटस्थापनाबाट शुरू हुन्छ।  

दशहराका पक्षहरू
असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म सनातन संस्कृतिमा देवीका रूपमा पूजित दुर्गा भगवतीका नौ स्वरूपको दिनैपिच्छे आराधना हुन्छ। नवदुर्गाको नामले क्रमशः शैलपुत्री, ब्रम्हाचारिणी, चन्द्रघण्टा, कुशमान्दा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री स्वरूपलाई पूजा गरिन्छ। दशदिने यस पर्वमा प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्रीको रूपमा मनाउँदै शक्तिको आराधना गरिन्छ।

लोकमान्यताअनुसार दशहरा असत्यमाथि सत्यको विजयको पर्व हो। दश दिनको युद्ध उपरान्त दशमीका दिन देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेकी थिइन् भन्ने पौराणिक कथा तथा लोक मान्यतामा ‘दशहरा’ खडा भएको छ। दशहराको पहिलोदेखि नवौँ दिनसम्म उपासना गर्दै मनाइने व्रतलाई भने नवरात्रि भनिन्छ। 

अन्धविश्वास र झिँझिया
यसबीच मधेशतिर 'झिँझिया खेल्ने' चलन पाइन्छ। समाजमा विद्यमान बोक्सी मान्यता स्विकार्दै दशहराको समयमा अदृश्य दुष्टशक्तिहरू बलियो नहोउन् भन्दै झिँझिया नामक 'तान्त्रिक यन्त्र'लाई रातिको समयमा चेलीबेटीहरूले गाउँघरमा प्रदर्शन गर्ने परम्परा अझै पाइन्छ। माटोको घैँटामा अनेक प्वालहरू बनाएर त्यसभित्र दियो राखि अँध्यारोबीच साँझ गीत गाउनुलाई झिँझिया खेल्नु भनिन्छ। देख्दा रमाइलो लागे पनि यसभित्रको सन्देश भने अन्धविश्वास प्रवर्द्धक छ।

झिँझिया प्रदर्शन गर्दै गाइने गीतमा तथाकथित ‘डाइन’ वा ‘डइनी’ (बोक्सी) को जिकिर पटक–पटक दोहरिन्छ। दशहराका कैयौँ राम्रा पक्ष भए पनि झिँझियाको यो अभ्यासले गलत सन्देश बोकेको छ। बोक्सीजस्तो मानवताविरोधी प्रथाको अन्त्य आवश्यक रहेकाले झिँझियाजस्ता गलत सन्देश दिने संस्कृतिलाई दुरुत्साहित गर्नुपर्छ भन्ने एकखाले मत पाइन्छ। कतिपयले भने यसलाई केबल लोक नृत्य–संगीतको परम्पराको रूपमा अघि बढाउनुपर्ने राय राख्छन्। 

दशहराको पहिलो दिन जौको बीज छरेर ‘जई गिरावेके दिन’ अर्थात् जमरा हाल्ने दिनको रूपमा मनाइन्छ। यो दिनलाई कलश स्थापन भनिन्छ। यो भनेको घटस्थापना हो। घट अर्थात् घैँटो र स्थापनाको अर्थ राख्नु। यसरी पहाडको घटस्थापना र मधेशको कलश स्थापना उस्तै देखिन्छ। यस दिन गाउँघरका देवी मन्दिरहरूमा जौसहित पूजा गरिन्छ। हरेक दिन हुने पुजामा दुर्गा मन्त्रको पाठ हुन्छ। दशहराको सातौँ दिनसम्म मधेशमा मांसाहार वर्जित हुन्छ, जबकि पहाडतिर कुनै परहेज भएझैँ लाग्दैन। सातौँ दिनसम्म देवीको सात्त्विक पूजा हुन्छ भने अष्टमीको बलिसँगै मांसाहार शुरू हुन्छ। 

सप्तमीको दिनदेखि यहाँ देवीहरूको स्थानीयस्तरमा प्रचलित लोक मान्यताअनुसार पूजा चल्छन्। देवीस्थान नजिक मेला आयोजनजस्ता गतिविधि हुन थाल्छन्। सप्तमीको दिन घ्यूमा बनाइएका पुरीलगायत मिष्ठान्न, नरिवल र सिन्दूरलगायत चढाएर ढोग्ने चलनलाई ‘खोइच भरेके’ भनिन्छ। यो पूजा महिलाको अगुवाइमा हुन्छ, यसले देवीपुजनको मूल मान्यतातर्फ संकेत गर्छ। सात दिनसम्म जुँगादारी कपाल नकाटी बसेका पुरुषले आठौँ दिन 'हजामत' गर्ने अभ्यास पनि देवीपूजन संस्कृतिसँग जोडिएको छ।  

आठौँ तथा नवौँ दिन ठाउँ र प्रचलनअनुसार बलिको प्रचलन छ। बोका, कुखुरा र हाँसको बलि तराईमा बढी प्रचलित छ। पहिले परेवा चढाउने इच्छा गरेकाहरूले देवीस्थानमा जोर परेवा उडाइदिने गरेका छन्। बलि र परेवा उडाउनेजस्ता चलन भाकलसँग जोडिएको हुन्छ। देवीसामु पहिले कुनै मनोकामनाका लागि भाकल गरिएको हुन्छ, यसमा नरिवल चढाउनेदेखि पशु बलिसम्म सामेल हुन्छ। 

पशुबलिको अभ्यास अलि अगाडिसम्म धेरै हुने गर्थ्यो। जीवको बलिबारे समाजले बिस्तारै बदलाव चाहेको यसबाट बुझ्न सकिन्छ। देवीको व्रत नवौँ दिनमा सम्पन्न गर्ने सम्पन्न गर्ने अभ्यासलाई नवरात्रिको उद्यापन भनिन्छ। यस दिन समिधाको हवनसहित भगवतीको पूजा हुन्छ। देवीको स्वरूपमा अविवाहित कन्यालाई पूजा गरी तिनलाई प्रसाद अर्पण गर्ने, यथासक्य दक्षिणा दिने र आशीर्वाद लिने चलन तराई/मधेशमा बाक्लो छ। यस्तो अभ्यास पहाडमा कम देखिने जानकार बताउँछन्।

छोरीचेलीप्रति रहेका कैयौँ विभेदकारी सामाजिक परम्परा, हिंसा र उत्पीडनबीच छोरीचेलीलाई देवीको रूपमा पुज्ने अभ्यास आफैँमा सुन्दर हो। यति सुन्दर अभ्यासलाई कर्मकाण्डका रूपमा नलिने हो भने मधेशले मातृ जातिप्रति साँच्चै न्याय गर्न सक्थ्यो। 

फेरिँदै ‘दशहरा’
तराई/मधेशतिर मनाइने दशहराको साबिक स्वरूपमा केही परिवर्तन आएको छ। त्यो बदलावमा श्रम आप्रवासन पनि कारण बन्न पुग्यो। केही दशक अघिसम्म भारतको कोलकता, पटना र अरू शहरहरूमा कामको सिलसिलामा मानिसहरू जाने गरेका थिए। लोकगीत नै छ : 

‘केहीएँ जहिँए, उर्वीपुर्वी, केही जइहेँ पाटना, आ 

कलकतवा नगरिया, केहीए जइए रे की।’

(कोही पूर्व वा कतै जानेछ, कोही पटना जानेछ, कोही कलकता नगरसम्म पनि पुग्नेछन्।) 

यसरी खासगरी पश्चिम बंगालको कोलकातामा व्याप्त दुर्गा मण्डप संस्कृति मधेशमा भित्रियो। अचेल मधेशका देवीस्थानहरूमा मात्र नभएर बेग्लै ठाउँमा भगवती, महिषासुर वध तथा अन्य देवताको मूर्ति स्थापना गरेर पूजा गर्ने चलन बढेको छ। माटोबाट बनाइने यस्ता अस्थायी मूर्ति बनाउन भारतबाट समेत कालिगढहरू झिकाइन्छन् या आइपुग्छन्। यस्ता मण्डपहरूबाट ध्वनि प्रदूषण बढेको भन्दै सुधारको समेत अचेल आवाज उठ्ने गरेको छ। मूर्ति बिर्सनमा हुने ध्वनि प्रदूषणले दशहराको मूल चरित्र र स्वरूपमा प्रहार गरेको छ। 

नवौँ दिनमा नवरात्रि र दशौँ दिनमा दशहराको समापन भए पनि पूर्णिमासम्म दशैँको प्रभाव रहिरहन्छ। विजयादशमीको दिन भवानीले असुर शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको किंवदन्ती सबैलाई थाहा भएकै हो। दशमीदेखि पूर्णिमासम्म विभिन्न तिथिमा अलगअलग ठाउँमा लाग्ने दशहरा मेला मधेशमा मसहुर छ। 

जागिर वा रोजगारीका लागि बाहिर गएकाहरू ‘दशहरा’मा घर आएका हुन्छन्। यसमध्ये केही भने छठ सकाएर मात्र फर्कन्छन्। बालबालिकामा दशहराको विशेष उमंग हुन्छ। दक्षिणाका रूपमा नगदनारायण हात परेका उनीहरूका लागि मेला गएर मन परेको खेलौना किन्न सहज हुन्छ। यद्यपि, मेलाको यस मनोविज्ञानमा थोरै कमी आएको छ, मेलाहरू भने कायमै छन्। 

पहिला गाउँघरका मान्छे शहरतिर मेला हेर्न पस्थे, तर त्यो घटेको धेरैको बुझाई छ। सवारी साधनको बिस्तार र स्रोतको पहुँचले किनमेलको लागि पर्व पर्खिने चलनसमेत हराएको छ।

दशहरा उपरान्त
दशहराको विस्तारित स्वरूप कोजाग्रत पूर्णिमासम्म हेर्न पाइन्छ। पूर्णिमाको सोरह दिनपछि पर्ने पर्व दीपावली (लक्ष्मीपूजा) लाई ‘सहरैया’ भनिन्छ। ‘धनतेरस’देखि शुरू भई ‘भैया दुज’सम्म चल्ने पाँच दिने पर्व ‘सहरैया’ सकिएको छ दिनपछि छठ पर्छ। भनाइ नै छ, ‘सरहे सोहरैया र छवे छठ’ अर्थात् कोजाग्रत पूर्णिमाको १६ औं दिन ‘सोहरैया’को मूल पर्व दीपावली (दिवाली) पर्छ। त्यो सकिएको छवौं दिन छठ। 

कोजाग्रत पूर्णिमापछि र सोहरैयाभन्दा अगाडिको समय घर आँगनलाई सफा स्वच्छ र चिटिक्क बनाउन खर्च हुन्छ। भकारीदेखि खलियानसम्म सफा सुग्घर बनाइन्छ। घरका ज्याबल अनि हातहतियार सफाइ गर्न र पशुधन श्रृंगार्नेसम्मको काम भ्याउनुपर्ने हुन्छ। नभन्दै ‘सोहरैया’ आइपुग्छ। त्यसपछि तराई/मधेशको महान् अनुष्ठान मानिने लोकपर्व छठको आगमन हुन्छ। छठको समापनसँगै खेतमा धान काट्ने बेला भइसकेको हुन्छ।

यससँगै तराई/मधेशको जीवन पर्वबाट कर्मतिर पुनः मुखरित हुन शुरू हुन्छ। शहरी क्षेत्रमा अनुभूति कम हुन सक्छ, गाउँमा अझै पर्वहरू सजीव छन्। प्रारम्भ बिन्दु हो दशहरा, सवा महिनाको लोकपर्व माला।


सम्बन्धित सामग्री