Wednesday, May 08, 2024

-->

कृषिक्षेत्र रूपान्तरण गर्न महिला र युवालक्षित कार्यक्रम

पालिकाहरूले कृषि समूह निर्माण गरेर, त्यहाँको माटोमा सबैभन्दा सुहाउँदो बाली लगाउन निर्देश गर्ने, बजारका लागि सहजीकरण गर्नुपर्छ। महिला र युवाहरूलाई केन्द्रमा राखेर कृषि कार्यक्रम सञ्चालन गर्नुपर्छ।

कृषिक्षेत्र रूपान्तरण गर्न महिला र युवालक्षित कार्यक्रम

२०८० भदौ ३ गते आयोजित अनलाइन कार्यशालामा क्यालिफोर्निया विश्वविद्यालय, फ्रेस्नोका प्राध्यापक डा. अनिल श्रेष्ठले आफ्नो प्रस्तुतिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका युवाका तस्वीर देखाउँदै प्रश्न गर्नुभयो– नेपालमा खेती अब कसले गर्ला? चर्चित टेलिभिजन पत्रकार विजयकुमारले केही पहिले एउटा वृत्तचित्रमूलक कार्यक्रमको शीर्षक बनाए– याद राखौँ, थालमा छैन भने त्यो कतै छैन! त्यो कार्यक्रम हेरेपछि कृषिका अनेक प्रसंगसँगै यो प्रश्नमा घोत्लिन मन लाग्यो– साँच्चै, अब नेपालमा खेती कसले गर्ला?

कृषि गणना २०७८/७९ अनुसार नेपालको करिब ६५ प्रतिशत जनता कृषिमा संलग्न छन्। तीमध्ये कृषिमा कुल जनसंख्याको ६६ प्रतिशत महिला छन्। सन् १९८१ मा महिला कृषकको जनसंख्या ३६ प्रतिशत थियो, सन् १९९१ मा ४५ प्रतिशत र २०१६ मा ६० प्रतिशत पुगेको थियो। केही दशकयता नेपालको कृषिमा महिलाकरण बढ्दै गएको छ। नेपालको  करिब ३ करोड जनसंख्यामध्ये सक्रिय युवा उमेर (२०-४० वर्ष) जनसंख्या १ करोड ५ लाख ८७ हजार ९३८ हो, जुन कुल जनसंख्याको ३४.३ प्रतिशत हो। 

यो उमेर समूहमा १८.७ प्रतिशत महिला र १५.६ प्रतिशत पुरुष छन्। सक्रिय पुरुष जनसंख्यामध्ये एक तिहाइ जनसंख्या उच्चशिक्षा र जागिरको अवसर खोज्दै बिदेसिएका छन्। हुन त महिला पनि बिदेसिने क्रम बढे पनि पुरुषको तुलनामा यो कम देखिन्छ। खेतीमा संलग्न हुनेहरूको संख्या युवाबाट क्रमशः वृद्धवृद्धातर्फ बढ्दो छ, जबकि यसैबीचमा कृषिमा नयाँ प्रविधिहरू भित्रिएका छन्, जसको अनुसरण प्रौढपुस्तालाई उति सहज हुनेछैन। त्यसो हुँदा बिस्तारै खेती गर्ने पुस्ता निष्क्रिय हुँदै जाने देखिन्छ। यसरी हेर्दा अबको खेतीको जिम्मेवारी ३५ देखि ५० वर्ष उमेर समूहको जनसंख्यामा निर्भर हुनेछ, जसमा महिलाको संख्या बढी हुनेछ।

साना किसानले भारत या अन्य देशबाट आयातित उत्पादनसँग बढ्दो प्रतिस्पर्धाको सामना गर्नुपर्ने भएकोले त्यसै पनि किसानहरू मारमा छन्। सँगसँगै बढ्दो बजार भाउ र खेतीमा सहजै लागत नउठ्ने भएकाले बढ्दो संख्यामा पुरुषहरू उच्च तलबको खोजीमा बिदेसिने क्रम बढ्दै छ। यस्तो अवस्थामा घरका वृद्धवृद्धा र बालबच्चाको हेरचाह गर्ने जिम्मेवारीसमेत सक्रिय महिला जनसंख्याको हुनेछ। यसरी हेर्दा कृषिमा महिलाकरण आगामी दिनमा झनै बढ्दै जाने छ। यद्यपि, हाम्रा कृषिनीति तथा कार्यक्रम, अनुसन्धान तथा प्रसार र प्रविधिको विकास महिलामैत्री  हुन सकेको देखिँदैन। समावेशितालाई आत्मसात् नगर्ने सोच पनि त्यसको कारण हो, जसमा व्यवहार परिवर्तनका लागि समेत कार्यक्रमहरू आवश्यक देखिन्छ। 

बहसको अर्को पाटो पनि छ, नेपालमा कृषिमा संलग्न महिलाहरू कृषक हुन् वा कृषि श्रमिक? अब यो विषयमा तार्किक बहस हुनैपर्ने देखिन्छ। धेरैजसो महिलालाई झारपात र बाली काट्ने काममा प्रयोग गरिन्छ, जुन श्रमजन्य काम नै हो। 

१२ डिसेम्बर २०२२ मा भारतकी खास्तीदेवीले उनका देशका पहाडी राज्यका अन्य महिला किसानलाई आत्मनिर्भर बनाउन, जलवायु परिवर्तनसँग 'ट्याकल' गर्दै कृषि तथा पोषण सुरक्षाका लागि बाली सघनीकरण प्रणालीमा उनले गरेको योगदानका लागि आईसीएससीआई २०२२-अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ट पुरस्कार प्राप्त गरिन्। भारतकै अर्की महिला हस्ति बन्दना शिवा रैथाने बिउबिजनको संरक्षणमा डटेर लागेकी छन् र धेरै अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी छन्। 

तर नेपालमा महिलाको कृषिको सहभागिता कस्तो छ भने कुन बाली कहिले छर्ने भन्नेबारेसमेत महिलाले निर्णय गर्न सक्ने अवस्था छैन। युगौँदेखि पुरुष नेतृत्वको 'इकोसिस्टम'मा बाँचेका महिलाहरूले पुरुषहरू बिदेसिनेबित्तिकै परम्परागत कृषि ज्ञानको अभाव झेल्नुपरेको छ। यसले के पनि दर्साउँछ भने परम्परागत अन्य ज्ञानसँगै महिलाले कृषि ज्ञानबाट पनि वञ्चित गरिएको रहेछ। 'यो महिलाको काम, यो पुरुषको सीप' भन्ने खालका भाष्य भत्काउन आवश्यक देखिन्छ। जतिखेरै जोसुकैले जुनसुकै क्षेत्रको मोर्चा सम्हाल्नुपर्ने भएपछि कृषि क्षेत्रको आधारभूत ज्ञानमा महिलाको पहुँच आवश्यक देखियो। 

महिलाहरू घरायसी काम र बालबच्चाको हेरचाहमा पनि संलग्न हुनुपर्ने हुँदा अपेक्षित तिनको सहभागिता कृषिमा हुन सक्दैन। त्यसो भन्दाभन्दै गाउँठाउँको सत्य के हो भने घरायसी काम र बालबच्चाको हेरचाह सकेर पनि अधिकांश महिलाले कृषिकर्ममा सहभागी भएकै छन्। तर जति नै काम गरे पनि महिला कृषि मजदुरबाट कृषि उद्यमीमा बिरलै उक्लन सक्छन्। किनकि कृषि उपजको आम्दानी प्राय: लोग्नेहरूकै 'हक' हो। लोग्ने र परिवारका पुरुष सदस्य बिदेसिएका महिलाका हकमा भने कृषि स्वयं उद्यम बन्न कठिन छ। उसो त गाउँ र देहातको कृषि निर्वाहमुखी हो। अहिले पनि धेरैका लागि कृषि निर्वाहमुखी मात्र हो। 

यस्तो अवस्थामा कृषि व्यवसायका लागि महिलालाई प्रोत्साहन गर्न सकियो भने नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्छ। घरायसी र कृषि श्रमको समुचित वितरण गर्न सक्दा कृषि कर्म सहज हुन्छ, कामको व्यवस्थापन सजिलो हुन्छ। कृषि आफैँमा निरन्तर प्रक्रिया भएकाले बालीको उचित वृद्धिको लागि किसान समर्पित र समयनिष्ठ हुनुपर्छ, सानो गल्ती वा लापरबाहीले सम्पूर्ण उत्पादनलाई नोक्सान पुर्‍याउन सक्छ। 'बाली पात्रो' पालना गरेर काम नगर्दा बालीमा नोक्सान हुनसक्छ। 

हजारौँ वर्षदेखि एकोहोरो रूपमा पिँधमा पारिएका महिलालाई कृषिलगायत हरेक क्षेत्रमा सहभागिताका लागि सशक्तीकरण जरुरी छ, जसका लागि शिक्षा, चेतना, अधिकार र अवसर प्रदान गरिनुपर्छ। ग्रामीण महिलालाई कृषिमा प्रोत्साहन गर्न स्थानीय सरकारले विभिन्न कृषि तालिम दिनुपर्छ। 

कृषि सबै ठाउँमा सहज छैन। सिँचाइ, मलखाद, पशुपालकका लागि चरनको समस्या त छँदै छन्, सबैतिर उही परिमाणमा कृषि हुन छाडेका कारण बाँदरलगायतका जीवहरू कृषि बालीमा पसेर हैरान पार्न थालेका छन्। कृषि बालीलाई बजार लैजाने र बेच्ने कुरा पनि अझै चुनौतीपूर्ण छ, बोझपूर्ण छ। पहाडमा वर्षायाममा सामान ढुवानी कठिन छ।  

अर्को कुरा, कृषि अहिले पनि एकल परिवारको प्रयासमा हुने गरेको छ। एउटै भेगका उस्तै जमिनमा कसैले काउली खेती गर्छन्, कसैले मुला। कसैले स्ट्रबेरी लगाउँछन्, कसैले बन्दा। यस खालको खेतीका कारण त्यहाँ उत्पादित उत्पादन बजार पुर्‍याउन पनि कष्टकर हुने गरेको छ। त्यसमाथि, धान, मकै, कोदोको पुरानै बालीबाट अधिकांश किसान मुक्त हुन सकेका छैनन्।    

माथि नै उल्लेख गरियो, गाउँठाउँको कृषि एकल जिम्मा बिस्तारै महिलाको काँधमा जाँदै छ। यस्तो अवस्थामा स्थानीय तहले कृषि समूहहरू निर्माण गरेर, त्यस माटो र भेगमा सबैभन्दा सुहाउँदो बाली-खेती गर्न निर्देश गर्ने, बजारका लागि सहजीकरण गर्ने हो भने किसानका लागि लाभदायक हुनसक्छ। स्थानीय तहहरूले महिलालाई केन्द्रमा राखेर कार्यक्रम कृषि कार्यक्रम सञ्चालन गर्नुपर्छ। संघीय र प्रदेश सरकारले पनि कृषिमा महिला र युवालाई प्रोत्साहन गर्ने गरी कार्यक्रमहरू ल्याउनुपर्छ। 


अधिकारी पक्लिहवा कृषि क्याम्पस रुपन्देहीमा कृषि स्नातक तह पाँचौँ सेमेस्टरमा अध्ययनरत छिन्।


सम्बन्धित सामग्री